‘के होला त हालत तिम्रो लुकाएको भेटिएपछि
केले छोप्छौ काला धब्बा शरीरमा देखिएपछि
आठै प्रहर खेल्छौ पासा बाजीमा देश नै थापेर
तिम्रो अस्तित्व रहन्छ र सिङ्गै देश सकिएपछि ! (पृ. ३०)

मुक्तककार नानुमैया दाहालको नवीनतम मुक्तकसङग्रह हो, ‘खुला आकाशमुनि’ । विचार प्रधान मुक्तकहरूको बाहुल्यता रहेको सङ्ग्रहमा भाव र कलाले त्रिवेणी बनाएका छन् । शब्दसौन्दर्य, लयमाधुर्य र भावगम्भीर्य दाहालको शक्तिका रूपमा मुक्तकमा देखा परेका छन् ।

‘धन भएकाहरूसँग मन भेटिएन
मन भएकाहरूसँग धन भेटिएन
कस्तो विडम्बना रहेछ दुनियाँमा
धन र मन दुवै भएको जन भेटिएन । (मु. ७१)

‘यो याम मुक्तकको याम हो । नेपाली मुक्तकको मौलाउँदो याममा आयाम पनि फैलँदो छ । मुक्तकको आयाम यति फराकिलो भएको नारी हस्ताक्षरको हस्तक्षेपपूर्ण उपस्थितिले नै हो ।’, पुस्तकमा रमेश पौडेल लेख्छन्, ‘नानुमैया दाहालको ‘खुला आकाशमुनि’ नारी हस्ताक्षरमै रोज्जा मुक्तक कृतिको रूपमा आएको छ । मुक्तकमा आवश्यक सबै तत्त्वले भरिपूर्ण यो कृति मुक्तकका पारखी र आम पाठकका लागि पठनीय र सङ्ग्रहणीय छ ।’

पुस्तकलाई नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले प्रकाशनमा ल्याएको हो । १ सय ५२ थान मुक्तक सङ्ग्रहित पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।