वरिष्ठ पत्रकार तथा साहित्यकार कलम रिजालकृत दार्शनिक निबन्धसंग्रह हो – “दर्शनभित्रको दर्शन” ।

रिजालका प्रकाशित कृतिहरू मध्ये ‘सुकर्म’ उपन्यास हिन्दी र अङ्ग्रेजी भाषामासमेत अनुदित भई प्रकाशित छन् ।

‘दर्शनभित्रको दर्शन दार्शनिक’ – दार्शनिक पृष्ठभूमिमा लेखिएको लेख-निबन्धको सँगालो हो । हाल सुदूर पश्चिम विश्वविद्यालयको दर्शन विषयक पिएचडी पाठ्यक्रममा समावेश भएको र अनौपचारिक रूपमा त्रिविविमा समेत पठनपाठन भइरहेको यस पुस्तकमा वेदवेदान्त र तिनका वादसँगै पश्चिमका केही फिलोसफीका विषयवस्तु समेटिएका छन् ।

दर्शनभित्रको दर्शन

दर्शनभित्रको दर्शन

दोस्रो संस्करणको रूपमा शब्दमिडिया प्रा.ली. तथा साहित्यपोस्ट परिवारबाट प्रकाशित यस पुस्तकलाई तीन खण्डमा वर्गीकरण गरिएको छ । वैदिक दर्शन खण्डमा १९ थान लेख, अवैदिक दर्शन खण्डमा ७ थान लेख, विविधदर्शन खण्डमा २७ थान लेख समावेश छन् ।

वैदिकसाम्यवाद किन र कसरी ?मा प्रस्तुत छ, “वैदिकसाम्यवाद भनेको श्रद्धेय पूर्वजहरूको यस्तो धरोहर हो, जो प्रकृतिसित नजिक छ र प्राकृतिक नियमले ओतप्रोत छ । आधुनिक राजनीतिक शास्त्रमा समाजवाद, पुँजीवाद, साम्यवाद, जनवाद र पछिल्लो समयमा आएर थपिएको नौलो जनवाद आदि अनेकथरि वाद देखिएका छन् । यी सबैका आ-आफ्नै क्षेत्र र उद्देश्य पनि होलान् र खोज्दै गए लम्बाचौडा व्याख्यान पनि मिल्लान् तर जसले जे जस्तो वादको कुरो गरे पनि सबैको मूल उद्देश्य समाजको साधन, स्रोत र शक्तिलाई परिचालन गरी हरेक कुरा बढी भएको स्थानबाट कम वा नभएको स्थानमा पाँजेर सबै वर्ग र समूहको जीवनस्तरलाई समान हैसियतमा ल्याउने प्रयास गर्नु नै रहेको यथार्थ भने सबैलाई थाहा भएकै विषय हो । यस अर्थमा भन्नुपर्दा प्राकृतिक नियमसित ओतप्रोत रहँदै आएको वैदिकसाम्यवाद जति सफल देखिएको छ त्यति अन्यवादमा पाउन गाह्रो पर्दछ ।”

“२०७४ सालमा अर्कै प्रकाशन गृहबाट प्रकाशित भएको यसको पुरानो प्रति सकिएकाले पुनः प्रकाशन गर्न लागिएको हो । बजारमा पुस्तकको माग बढ्दै गएको भए पनि पुनः प्रकाशनका लागि पूर्व प्रकाशन गृहको चासो नदेखिएकाले अर्कै प्रकाशन गृहबाट प्रकाशित गराउन बाध्य भएको हुँ ।” आत्मनिवेदनमा कमल रिजाल उल्लेख गर्छन्, “…शीर्षकहरूका नाम र शिलशिलामा सामान्य परिवर्तन गरी मिल्दोजुल्दो विषयका लेखनिबन्धलाई एकै स्थानमा राखिएका छन् । यसबाट पनि पठन पाठनमा थप सहज हुने विश्वास लिएको छु । …प्रकाशन तथा विक्रीवितरणको चाँजो पाँजो मिलाउने शब्दमिडिया प्रा.ली. तथा साहित्यपोस्ट परिवारलाई धन्यवाद ।”

२ सय ६३ पृष्ठमा आबद्ध यस पुस्तकको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।