साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई आख्यानकार मनीषकुमार शर्मा ‘समित’कृत दोस्रो लघुकथासंग्रह “खास्टो” प्राप्त भएको छ ।

८८ पृष्ठमा बुनिएको यस संग्रहमा ‘लौ बित्यास !’, ‘साहुकार’, ‘पक्राउ पुर्जी’, ‘तेस्रो नियम’, ‘गणतन्त्र’, ‘आत्मघात’, ‘दण्डनीय’, ‘हल्लुँडो’, ‘बहुमुखी प्रतिभा’, ‘खरिदार’ लगायत ४९ थान लघुकथा समावेश छन् ।

पुस्तकको बारेमा ममता मृदुल लेख्छिन्, “आफ्नो वरिपरिका परिवेशलाई मुख्य आधार बनाएर लेखिएका लघुकथा पढ्दा समाजले विकृति विसङ्गतिलाई घेरेर बसेको आभास हुन्छ । धेरै समस्या आफ्नो भएको लाग्छ । लघुकथामा उठान गरिएका विषय हामीले देखेका भोगेकाबाहेक फरक विषयमा छैनन् । प्रस्तुति फरक छ । प्रसङ्ग फरक छ । अलग छाप छोड्न सफल भएको छ । कर्मअनुसारको फल पाइन्छ । आफ्नो बुबाआमालाई सम्मान नगरे आफ्ना सन्तानले पनि सम्मान गर्दैनन् भन्ने भावमा लेखिएका लघुकथाले कर्तव्यपथमा हिँड्नुपर्छ भन्ने सिकाउँछ । समाज परिवर्तनको सोच लिएर लेखिएका विषय छन् ।”

“आमाको एउटा फरक सन्दर्भको कथा हो ‘खास्टो’ । खास्टो लघुकथा सरसर्ती हेर्दा लेखकको नितान्त कल्पना र सतही रचना हो कि भन्ने लाग्छ । जाडोको वेला सहिद छोराको सालिकलाई आमाले चिसोबाट जोगाउन खास्टो ओढाएको विषय छ, यस कथामा । सररती रूपमा हेर्दा पाठकलाई यो सामान्य लाग्न सक्छ । यो त कथाको आवरण मात्र हो ।” ध्रव मधिकर्मी लेख्छन्, “तर कथाको अन्तर्य यति मात्र होइन । यहाँ एउटी आमाको भावुकता र मातृत्व त छदै छ साथमा राज्यले सहिदहरूप्रति देखाएको उदासीनता, लापरवाही र उपेक्षा निहित छ । देश र जनताका लागि बलिदान गरेका सहिदहरूका बारेमा बोल्दा नेताहरूले आकाशपाताल जोडेर अनेक कुरा गर्छन् । तर देश र जनताको अवस्था कति दयनीय र त्रासदीपूर्ण बन्दै गएको छ भन्ने विषयमा सायदै कोही अनभिज्ञ होला । राज्यले जिउँदाका लागि त उपलब्धिपूर्ण कार्य गर्न सकेन भने ढुङ्गाको सालिकका लागि के गर्ला कथाले देखाउन खोजेको अन्तर्य यही हो ।”

लघुअभिव्यक्तिमा लेखक खुलाउँछन्, “सिद्धान्तको पर्खालभित्र रहेर लघुकथा लेख्न कठिन नै हुन्छ । लघुकथा लेखन त्यति सहज छैन जति हामी ठान्छौँ र त्यति धेरै  जटिल पनि छैन जब हामी बुझ्छौं । २०७९ मा पहिलो लघुकथासंग्रह ‘हराएको सहर’ प्रकाशित गरेको थिएँ । त्यति बेला लघुकथाको मानकभन्दा पनि छोटो कथा पढ्न सहज र छाेटोमिठो भन्ने भावनाले ओतप्रोत भएर लेखेको थिएँ । ती स्वाभाविक रूपले आभ्यासिक प्रकृतिका थिए ।”

हाम्रो लघुकथा केन्द्रबाट प्रकाशित यसको मूल्य २ सय रुपियाँ रहेको छ ।