साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई करिब ४० देशको भ्रमण गर्नुभएको बिनोद खड्काकृत नियात्रासङ्ग्रह “घाउ” प्राप्त भएकाे छ ।

यसमा ‘पहिलो ब्याकप्याक यात्रा’, ‘सुरुङभित्रको सकस’, ‘युद्धको अवशेष तस्बिरहरूमा’, ‘माउन्ट मेरु कि सुमेरु ?’, ‘एङ्कोरवाटमा स्वर्गको यात्रा’ आदि २० थान नियात्रा सङ्ग्रहित छन् ।

“कुरूप नजरहरूका लागि समस्यै समस्या छ । स्वार्थी नजरहरूको सोचमा स्वार्थ नै बलवान् लाग्ने गर्छ । कुरूप नजरहरूले रोप्छन् अशान्तिको बिउ । स्वार्थले मलजल गर्छन् । युद्ध उमार्छन्, युद्ध हुर्काउँछन् । घाउ बाँड्नु नै उनीहरूका लागि उपलब्धि हुन्छ । बिर्सने गर्छन् उनीहरू कि यो पृथ्वीमा ओर्लिने हरेक मान्छेले एकदिन यो पृथ्वी छोड्नैपर्छ । उनीहरूले पनि एकदिन छाड्नै पर्छ । लिएर जान सक्दैन कसैले केही । सबै यही छोड्नुपर्छ । मालिक होस् वा नोकर, गरिब होस् वा धनी, शासक होस् वा धनी, शासक होस् वा जनता, सबैले छोड्नै पर्छ यो पृथ्वी एकदिन । बस्, यात्राले मलाई सिकाएको यही हो, यत्ति हो ।” मनका कुराहरूमा लेखक लेख्छन्, “भियतनाम र कम्बोडियाको यात्रा मेरा लागि यो पृथ्वीलाई फरक ढङ्गले हेर्ने एउटा अवसर थियो । इतिहासको चस्माले विगतलाई हेर्ने एउटा मौका थियो । मानवताको कसीले मान्छेहरूलाई नाप्ने एउटा समय थियो । खोइ कति बुझेँ, कति नापेँ, सायद यही पुस्तक स्वयंले बताउँला । निष्कर्ष यत्ति नै थियो कि मानवताभन्दा ठूलो अर्को कुनै धर्म छैन । मानवताभन्दा ठूलो अर्को कुनै कर्म छैन । खुसी बाँडेर जिउन सक्नुभन्दा ठूलो अर्को कुनै मानव जीवन छैन । घाउरहित समाजको सिर्जना गर्नुभन्दा ठूलो अर्को कुनै उपलब्धि छैन ।”

३ सय ३२ पृष्ठमा फैलिएको यस पुस्तकलाई शब्दार्थ प्रकाशनले बजारमा ल्याएको हो ।