नेपाल प्रज्ञा प्रतिष्ठानले १० पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको पुरस्कारमा सामान्य संशोधनका साथमा केही पुरस्कार थप्दै १० पुरस्कारको घोषणा गरेको हो ।

पुरस्कृत हुनेहरूमा खगेन्द्र संग्रौलालाई ‘प्रज्ञा अनुवाद पुरस्कार’ तथा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई ‘प्रज्ञा दर्शन पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको नेपाल प्रज्ञाप्रतिष्ठानले जनाएको छ। त्यस्तै, शान्ता श्रेष्ठलाई ‘प्रज्ञा सामाजिकशास्त्र पुरस्कार’, घनश्याम शर्मा पौडेललाई ‘प्रज्ञा संस्कृति र लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार’ र कृष्ण गौतमलाई ‘प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार’ प्रदान गरिनेभएकाे छ ।

त्यसैगरी, प्राडा देवीप्रसाद गौतमलाई ‘प्रज्ञा भाषा पुरस्कार’, वम देवानलाई ‘प्रज्ञा साहित्य पुरस्कार (पद्य)’, राजवलाई ‘प्रज्ञा साहित्य पुरस्कार (गद्य)’, गंगा कर्माचार्यलाई ‘प्रज्ञा बालसाहित्य पुरस्कार’ र पदम विश्वकर्मालाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कारबाट पुरस्कृत’ गर्ने निर्णय भएको प्राज्ञ चेतन धमलाले बताए।

यसअघि अन्तर्राष्ट्रिय मातृभाषा दिवस- २०२४ को अवसरमा मातृभाषा साहित्य पुरस्कार पहाडी/हिमाली क्षेत्रबाट डा. योगेन्द्रमान प्रधानाङ्गलाई र मधेश क्षेत्रबाट बेचन उराँवलाई  प्रदान गरिएको थियो।

नेपाल प्रज्ञाप्रतिष्ठानले प्रदान गर्ने उक्त पुरस्कारहरूको राशि जनही एक लाख रुपैयाँ रहेको छ।