आज नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औँ वार्षिकोत्सवको दिन । आजकै दिन २०१४ साल असार ९ गते नेपाली साहित्य कला एकेडेमीका नामबाट यस नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना भएको थियो । पछि ऐन जारी हुँदा नेपाल एकेडेमीको नाम पाएको यो प्रज्ञा–प्रतिष्ठान बिचमा रोयल नेपाल एकेडेमी र नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै २०६२\०६३ को लोकतान्त्रिक गणतन्त्रात्मक आन्दोलनको सफलतापछि जनभावनाअनुरूप २०६४ मा जारी ऐनअनुसार हाल नेपाल प्रज्ञा–प्रतिष्ठानका रूपमा सञ्चालित छ ।
नेपालका भाषा, साहित्य, कला, दर्शन, इतिहास, संस्कृति, पुरातत्त्व, सङ्गीत, समाजशास्त्र, मानवशास्त्र, विज्ञान आदि विषय र तिनका विभिन्न विधा–उपविधाहरूको अध्ययन–अनुसन्धान, विमर्श र प्रकाशन गर्ने र नेपालको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार समेत गर्ने उद्देश्यले स्थापित यो नेपाल प्रज्ञा–प्रतिष्ठान हाल भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र जस्ता पाँचओटा विषय क्षेत्रमा विशिष्टीकृत भएको छ । हाल यी पाँचओटा विषय क्षेत्रका ११ ओटा विभागहरू क्रियाशील छन् । यी प्रत्येक विभागअन्तर्गत वार्षिक रूपमा अध्ययन–अनुसन्धान, गोष्ठी, कार्यशाला, अन्तरक्रिया एवम् प्रकाशनका कार्यहरू भइरहेका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापनाको ६२ औँ वर्ष पूरा गरी ६३ औँ वर्षमा प्रवेश गर्दै गरेको वर्तमान अवस्थासम्म आइपुग्दा यसले नेपाली वाङ्मयका क्षेत्रमा युगीन महवका अनेकौँ कामहरू सम्पन्न गरिसकेको यथार्थ सर्वविदित नै छ । अहिले हामीले नेपाल चिनाउने बृहत् ग्रन्थ ‘नेपाल दर्पण’ लेखन कार्यको प्रारम्भ गरेका छौँ । हरेक प्रदेशका सम्पूर्ण पक्षहरू समेटिएका एक एक ग्रन्थ र ती सबैको एउटा सिङ्गो रूप ‘नेपाल दर्पण’ तयार गरी त्यसलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशन गर्ने राष्ट्रिय गौरवको योजनाको सम्पन्नता अहिलेको हाम्रो मूल अभीष्ट रहेको छ । यसरी नै महाकवि देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने, ‘नेपाली बृहत् शब्दकोश’लाई युगानुकूल प्रविधिमुखी बनाउन एपमा लैजाने, ‘नेपाली बृहत् शब्दकोश’को परिमार्जित दसौँ संस्करण प्रकाशन गर्ने, नेपालका सम्पूर्ण साहित्यकारहरू र कलाकारहरूको परिचयात्मक ग्रन्थ साबिकको ‘साहित्यकार–कलाकार परिचयकोश’ लाई परिमार्जनसहित ‘लेखक–कलाकार परिचयकोश’ का रूपमा प्रकाशन गर्ने, लगभग डेढ लाख शब्दहरू समेटिएको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशन गर्ने, नेपाली भूमिमा उत्पत्ति भएका सम्पूर्ण दर्शनहरू समेटिएको ‘नेपाली दर्शन’ ग्रन्थ प्रकाशन गर्ने, पहिले प्रकाशन भएका तर हाल अप्राप्य ऐतिहासिक सामग्रीहरूलाई खोजी गरी पुनः प्रकाशन गर्ने तथा विभिन्न मित्रराष्ट्रहरूसँग सांस्कृतिक तथा साहित्यिक सम्बन्ध विस्तार गरेर नेपाली वाङ्मयलाई विश्वव्यापीकरण गर्ने जस्ता दूरगामी प्रभाव पार्ने खालका कामहरूलाई हामीले योजनाबद्ध तरिकाले अगाडि बढाएको कुरा समस्त वाङ्मयप्रेमीहरूका माझमा राख्न पाउँदा गौरवबोध भएको छ ।
वर्तमान परिवेशमा विश्वव्यापी रूपमा देखापरेको कोरोना भाइरस (कोभिड १९) को महामारीबाट वाङ्मय क्षेत्र पनि निकै प्रभावित भएको छ । यसै बिचमा पनि हामीले सुरक्षाका विधिहरूलाई अपनाउँदै अनुसन्धान, सम्पादन र प्रकाशनका कामहरूलाई निरन्तरता दिइरहेका छौँ । तर यसै सङ्क्रमणका अवधिमा नै आएको नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औँ वार्षिकोत्सवलाई भने हामी सदा झैँ विभिन्न कार्यक्रमहरूका साथै राष्ट्रिय कविता महोत्सवको आयोजना गरी भव्यताका साथ सम्पन्न गर्ने अवस्थामा छैनौँ । यही विषम परिस्थितिका कारण नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औँ वार्षिकोत्सव समारोह र राष्टिय« कविता महोत्सव– २०७७ सहज अवस्था नआएसम्मका लागि स्थगित गर्नुपरेको कुरा सार्वजनिक सूचनामार्फत पहिले नै सबैमा जानकारी गराइसकिएको छ । राष्ट्रिय कविता महोत्सवका लागि तोकिएको समयभित्रमा प्राप्त ५०२ ओटा कवितालाई हामीले सिलबन्दी र लाहाछाप गरी सुरक्षित रूपमा राखेका छौँ । अनुकूल समयमा नेपाल प्रज्ञा–प्रतिष्ठानले महोत्सवको आयोजना गरी सम्बन्धित कविताहरूको समुचित मूल्याङ्कनका साथै पुरस्कार प्रदान गर्ने कुरा सम्बन्धित सबैमा अवगत गराउँदछु ।
अन्त्यमा, यस्तो विषम परिस्थितिमा पनि हाम्रा योजनाहरूमा साथ र सहयोग गर्ने नेपाल सरकार, संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालय, हाम्रो अनुसन्धान र सम्पादनको कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण विद्वद्वर्ग, हाम्रा कामहरूप्रति निरन्तर चासो राख्नुहुने शुभचिन्तकहरू, हाम्रा योजनाहरूलाई सुसूचित गरेर हौसला प्रदान गर्नुहुने पत्रकार मित्रहरू, आफ्नो कामलाई कर्तव्यनिष्ठ भएर पूरा गर्ने प्राज्ञ परिषद् र आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरिरहने कर्मचारीहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औँ वार्षिकोत्सवका अवसरमा समस्त नेपालीहरूमा सामाजिक र भौतिक दुरी कायम गर्दै स्वस्थ रहौँ, सुरक्षित रहौँ, सिङ्गो मानव जातिमाथि आइलागेको विश्वव्यापी सङ्कटको समाधानमा सबै एकजुट भएर लागौँ र विश्वमानवता एवम् बन्धुत्वको रक्षा गरौँ भन्ने आह्वानसहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।
गङ्गाप्रसाद उप्रेती, कुलपति



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

