पारिजात स्मृति केन्द्रको आयोजनामा साहित्यकार पारिजातको ९१ औं जन्मजयन्तीको अवसरमा परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

पारिजातको प्रतिमामा माल्यार्पण गरेसँगै सुरू गरिएको कार्यक्रममा प्रगतिवादी समालोचक निनु चापागाईंसँग करिब दुई घण्टा पारिजात परिसंवाद सञ्चालन गरिएको थियो ।

पारिजातका जीवन र सिर्जनाका विविध आयामहरूबारे छलफल गरिएको उक्त कार्यक्रममा रामेश, डा. रजनी ढकाल, प्रदीप बमजन, विना थिङ लगायतले जिज्ञासा राख्नु भएको थियो । परिसंवादको सहजीकरण पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष डा. महेश मास्केले गर्नुभएको थियो ।

प्रगतिवादी समालोचक निनु चापागाईं प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा वि.सं. २०८० का लागि स्मृति केन्द्रले प्रदान गर्दै आएका विभिन्न सम्मान एवम् पुरस्कारहरूको पनि घोषणा गरिएको थियो । जसअनुसार  ‘पारिजात बालसाहित्य सम्मान – २०८०’ बाट बालसाहित्यकार प्रा. डा. ध्रुव घिमिरेलाई, ‘पारिजात कला सम्मान – २०८०’ बाट जनवादी गीतकार उदय श्रेष्ठलाई, ‘पारिजात सृजन सम्मान – २०८०’ बाट कवि शोभा दुलाललाई, ‘पारिजात संघर्षशील नारी सम्मान – २०८०’ बाट संघर्षशील नारी सम्मान  निर्मलादेवी साहलाई समर्पण गर्ने निर्णय गरिएको जानकारी केन्द्रका अध्यक्ष मातृका पोखरेलले दिनुभयो।

घोषित सम्मान एवम पुरस्कारहरु वि.सं. २०८१ साल वैशाख ५ गते पारिजात स्मृति दिवसमा  समर्पण गरिने जानकारी उक्त कार्यक्रममा केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले गराउनुभएको थियो । उक्त कार्यक्रम पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।