१. भावुक निर्मोही
काठमाडौंबाट लेखक–साहित्यकारहरुको टोली महेन्द्रनगर पुगेको थियो । महेन्द्रनगर पुगेका बेला नेपालको सिमाना शारदा बाँध जाने कार्यक्रम बन्यो । तर भारतीय प्रहरीले जान दिएन । रोक्यो । साहित्यकार स्वभावले भावुक, तर त्यहाँ सबै आक्रोशित बने । उनीहरुको आक्रोश भारतीय प्रहरीभन्दा पनि बढी नेपालका नेताहरूप्रति थियो । भनिरहेथे – हाम्रो भूमिका जान हामीलाई नै रोक्ने ? यो त अति भयो । यो सब हाम्रै खराब साला नेताहरूले गर्दा भएको हो ।
त्यो साहित्यकारहरूको भीडमा निर्मोही व्यास पनि थिए । उनी खुरर्… महाकाली नदीमा पुगेर बोतलमा पानी लिएर आए । र, भने – ‘‘मैले मेचीबाट पनि पानी लिएर आएको छु, महाकालीबाट पनि पानी ल्याएँ । अब म मेरो देशलाई कोठामा सुरक्षित राख्छु ।’’
कुरो सकियो । पत्याउनु–नपत्यानु तपाईंको कुरा । बरु निर्मोही व्यासभन्दा भावुक र संवेदनशील अर्को प्राणी देख्नु–भेट्नु भएको छ भने अवश्य बताउनुहोला ।
===
२. पारिजातका अन्तिम इच्छा
नेपाली साहित्य लेखनकी सशक्त हस्ताक्षर पारिजातलाई कुनै परिचय वा शब्द अलङ्कारको आवश्यकता छ भन्ने स्तम्भकारलाई लाग्दैन । यो पनि लाग्दैन कि, पारिजातको ‘शिरिषको फूल’ उपन्यास नपढी कोही पनि नेपाली साहित्यको सयरमा रहन सक्छ ।
कुरा पारिजातको जीवनपूर्वको होइन । जीवनीको पनि होइन । कुरो त उनको मृत्युपश्चातको हो । अर्थात्, अन्तिम इच्छाको हो ।
नेपाली साहित्यकी एक शिखर पारिजातको देहान्त २०५० साल बैशाख ५ गते, बिहान ४ बजे वीर अस्पतालको सघन कक्षमा भएको थियो । देहान्तपछि उनका अन्तिम इच्छाहरू ठुलो बहसका विषय बने । कोहीले पारिजातले आफू सारसौंदो हुँदै पाँच अन्तिम इच्छा राखेको दाबी गरे । कतिले त्यसलाई मनगढन्ते भने । जसले जे भने पनि, उनका पाँच अन्तिम इच्छाहरूको उद्घोषण अन्त्येष्टिका लागि शव उठाउनुभन्दा ठिक पहिले खुल्ला मञ्चमा आयोजित शोकसभामा गरिएको थियो ।
ल, यो त ठीक छ कि ! तर पारिजातका पाँच अन्तिम इच्छा चाहिँ के–के थिए ? भन्नु पर्दैन !
पर्छ पर्छ । ल सुन्नुहोस्, पारिजातका अन्तिम इच्छा यसप्रकार थिए:–
– मेरो शवलाई एकेडेमीमा नलानू
– मेरो शवमा हरियो सल ओढाइदिनू
– सिरानीमा लेलिनको फोटो राखिदिनू
– अन्तेष्टि स्वयम्भूमा गरिदिनू
– सम्भव भए मेरो शवलाई महिलाले पनि काँध दिनू
यो प्रशंगलाई पारिजातको जीवनी ‘सुश्री पारिजात’मा गोविन्द गिरी प्रेरणाले पनि उल्लेख गरेका छन् ।
===
३. भूपीको अन्तिम साहित्यिक यात्रा
सायदै, भूपी शेरचनको अन्तिम साहित्यिक भ्रमण थियो त्यो । उनी एक गायिकालाई साथै लिएर पोखरामा हुने मुक्तक कार्यक्रममा प्रमुख अथिति भएर पुगेका थिए । तर त्यहाँ उनले जे–जस्तो व्यवहार देखाए त्यो आयोजकको कल्पनाबाहिर थियो । उनको जुन मानसिक अवस्था देखियो त्यो आम–साहित्यकारहरूको सोचबाहिर थियो ।
त्यसबेला उनलाई सबैभन्दा ठुलो डर थियो, तत्कालीन प्रधानमन्त्री मरिचमानको । उनलाई लाग्थ्यो, प्रधानमन्त्रीले उनलाई मार्न जासुस खटाएका छन् । बन्दुक त थिएन, आफ्नो सुरक्षाका लागि भनी भूपीले बन्दुकका गोली भने बोकेका थिए ।
कार्यक्रम सुरु भयो । माथि नै भनिसकेँ, भूपी कार्यक्रममा प्रमुख अथिति थिए । तर उनले आफूसँगै ल्याएकी गायिकालाई समेत आफूसँगै राख्न जोड दिए । कार्यक्रम सुरु भएपछि उनी सोफाअगाडि भुइँमा पलेटी कँसेर बसे, र ती गायिकालाई आफ्नो सिटमा राखे । अनि खल्तीबाट बन्दुकका गोली झिकी भुइँमा लहरै राखे । मन्तव्यको क्रममा उनले आफूलाई मरिचमानले मार्न चाहेको, त्यसैले साथमा गोली बोकेर हिँड्नु परेको जिकिर गरे । मन्तव्यपछि साथै लगेकी गायिकाको तारिफ गर्दै भूपी आफैँले माइक हातमा समाइदिए ।
कार्यक्रम सकिएपछि ती गायिका र भूपी होटलमै बसे । पछि खबर फैलिए – ती गायिकाले भूपीलाई दुर्व्यवहारमात्र गरिनछिन्, भूपीको साथमा भएको सबै नगदसमेत लिएर हिँडिछिन् । भूपी साथीहरूसँग नगद सापटी लिएर काठमाडौं फर्किए छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।