साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’कृत निबन्धसंग्रह “अर्थहीन अर्थहरू” प्राप्त भएको छ ।
उत्तमशान्ति पुरस्कार २०५५ बाट पुरस्कृत “अर्थहीन अर्थहरू” निबन्धसंग्रहको दोस्रो संस्करण अहिले बजारमा आएको छ ।
१ सय २८ पृष्ठमा मौलाएको यस संग्रहमा ‘ठीक भएकै हो त !’, ‘भनौँ कि नभनौँ’, ‘निम्ताहरूको जुलुस’, ‘रङ्गीन जिजीविषा’, ‘शीर्षकको प्रतीक्षामा’, ‘यो बाहिर निस्कने बेला होइन’, ‘अनभिज्ञ छु अहिलेसम्म’, ‘जे छु ठीकै छु’ लगायत २१ थान निबन्ध समावेश छन् ।
श्रीओम श्रेष्ठ ‘रोदन’ उल्लेख गर्छन्, “अहिले ‘अर्थहीन अर्थहरू’ को दोस्रो संस्करमा त्यही समयमा लेखिएका चारवटा निबन्धहरू थप गरेको छु । पहिलेका केही शीर्षकलाई परिवर्तन गरिएको छ । निबन्धमा प्रयोग भएका पहिलेकै भाषा, शैलीमा कुनै परिमार्जन गरिएको छैन ।”
“श्रीओम श्रेष्ठ ’रोदन’ का निबन्ध निकै खिरिला र भरिला छन् – सरल, सहज, आडम्बरहीन । शब्दका झरिझुट्ट गहना र फोस्रो सिँगार-पटार होइन, प्रकृतिको स्वच्छताजस्तै गाउँको सरलता र मानिसको आत्मीयता छ । नभनेजस्तो भनेर मनग्गे भनिदिने सीप, ससाना कुरा गरेर दुःखको सत्य उप्काउने शैली, आफैभित्र रुमल्लिएर बाहिरको यथार्थ छुने कला, क्यै होइनजस्तो लाग्ने भइकन पनि केके भनिदिएको ध्वनिभित्र कति बिब्लेटाँहरू उम्रन्छन्, विषमताहरू उप्किन्छन्, कटुताहरू धोइन्छन् । ती सबै दुःखाइ, भोगाइ र वर्तमानप्रति नै संवेदित हुन आमन्त्रित गर्छन् ।” भूमिकामा कृष्णचन्द्रसिंह प्रधान लेख्छन्, “स्वच्छन्दतापूर्वक लेखिने आत्मनिष्ठताभित्र निबन्धको यात्राले बेग्लै आनन्द दिन्छ । त्यसकारण नियमभित्र होइन, क्रमिकताभित्र होइन, उठान र टुङ्ग्याइको समरसताभित्र होइन, जे भन्न चाहेका हुन् त्यसको सोझो अर्थ्याइमा पनि होइन, नङ्ग्याइमा पनि होइन- चक्रपथको घुम्ती लाग्यो र केही फन्को मारेर त्यस ठाउँमा पुग्ने प्रयत्न गर्छन् जो यात्राको गन्तव्य हो । अलिकता सङ्केत, अलिकता लाक्षणिकता, अलिअलि बिम्बकीय जलप लागेको आस्वादन तारा जडिएको रातको आकाशझैँ तिखारिन्छ । यताउति पोखिएको कवितात्मक सहजताले मीठो मात्रै होइन, सशक्त र सार्थक तुल्याइदिएको छ ।”
माधवलाल कर्माचार्य लेख्छन्, “यी केही पङ्क्तिमा यस्तै अनुभूतिगम्य अभिव्यञ्जना रहेका छन् – उदाहरण स्वरूप : श्रीओमका निबन्धहरू अलिकति कवितात्मक, अलिकति कथात्मक, अलिकति चिन्तनशील, अलिकति जनजीवनको अनुभूतिको ग्रहणशील, अलिकति प्रेरकशील, अलिकति आफूले ठम्याएको कुरालाई प्रतिस्थापन गर्ने अन्तरअभिलाषा, अलिकति आत्मप्रकाशनशील अनि अलि बढी एकलापको सङ्ग्रह बनेको छ ‘अर्थहीन अर्थहरू’ ।”
प्रा. डा. शैलेन्दुप्रकाश नेपाल लेख्छन्, “सूत्रात्मक कथनका माध्यमले समसामयिकताको स्पर्श गर्नु श्रीओमको निबन्धगत वैशिष्ट्य हो । व्यङ्ग्यात्मकताले उनका निबन्धमा उल्लेख्य स्थान ओगटेको पाइन्छ । उनको विचार प्रवाह भने विश्रृङ्खलित छन् । उनका निबन्ध पढ्दै जाँदा कतैकतै शङ्कर लामिछानेको शैलीको सम्झना हुन्छ ।”
पुस्तकलाई लूनकरणदास-गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले प्रकाशनमा ल्याएको हो र यसको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।