साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई प्रा.डा. विष्णुराज आत्रेय (लाटोसाथी) स्मृति प्रतिष्ठान, कपिलवस्तुबाट बजारमा ल्याइएको पुस्तक “स्मृतिमा प्रा. डा. विष्णुराज आत्रेय लाटो साथी” प्राप्त भएको छ ।

डा. अलका आत्रेय चूडाल यस पुस्तकका प्रधान सम्पादक हुनुहुन्छ । ४ भागमा विभाजित यस पुस्तकमा परिशिष्ट समेत समावेश छन् ।

पुस्तकमा भाग १ ‘जीवनवृत्तमा प्रा.डा. विष्णुराज आत्रेय’, भाग २ ‘स्मृतिमा प्रा.डा. विष्णुराज आत्रेय’, भाग ३ ‘कृति परिचर्चामा प्रा.डा.विष्णुराज आत्रेय’, भाग ४ ‘कवितामा प्रा.डा. विष्णुराज आत्रेय’ गरी वरिष्ठ साहित्यकार प्रा.डा. विष्णुराज आत्रेय (लाटो साथी)का बारेमा साहित्यकार तथा उहाँका परिवारले सम्झनाकासाथ आफ्नो अभिव्यक्ति प्रस्तुत गरेका छन् ।

“उहाँ व्यक्तिगत रूपमा हेर्दा अत्यन्तै मिलनसार, बच्चादेखि वृद्धसँग उत्तिकै मिल्न सक्ने र सहयोगी भावनाका व्यक्ति हुनहुन्थ्यो उहाँमा घमण्ड भन्ने कुरा रत्तीभर थिएन आफू काठमाडौँमा बसोबास गर्ने भए पनि कपिलवस्तुमा आई यस क्षेत्रको साहित्यिक विकासमा लाग्नको लागि हरेकलाई प्रोत्साहित गर्नुहुन्थ्यो। कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु साहित्यिक समाजको स्थापनामा उहाँको निकै महत्त्वपूर्ण योगदान रह्यो र आफू आजीवन त्यस संस्थाको संरक्षक समेत रहनुभयो । त्यसै गरी बाणगङ्गा साहित्यिक प्रतिष्ठान कपिलवस्तु र शिवगढी साहित्यिक प्रतिष्ठानलाई पनि कपिलवस्तु जिल्लाको साहित्यिक विकासका लागि घचघच्याइ रहनु हुन्थ्यो ।” विष्णुप्रसाद भण्डारी लेख्छन्, “बाणगङ्गा- ९, कपिलधाममा विभिन्न राष्ट्रिय स्तरका साहित्यकारहरू भेला गराई कपिलधाममा नेपाली भाषा साहित्यका महान् साहित्यकारहरूको सालिक स्थापना गर्न समेत उहाँ अहोरात्र खट्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्दै कपिलधामलाई एउटा साहित्यिक वाटिकाको रूपमा विकास गर्ने कार्यमा समेत उहाँ निरन्तर रूपमा लागिरहनुभएको थियो । कपिलवस्तुलाई राष्ट्रिय स्तरमा साहित्यिक क्षेत्रमा अगाडि बढेको देखाउन ‘कपिलधाम’, शान्तकुञ्ज मधुवनधाम, “कपिलवस्तु” लगायत थुप्रै कतिहरू प्रकाशन गर्नुभएको छ । यो हामी कपिलवस्तुवासीको लागि गौरवको विषय हो ।”

प्रकाशकीयमा डा. अलका आत्रेय चूडाल उल्लेख गर्छन्, “संस्कृत, नेपाली, पाली, प्राकृत, अवधी, हिन्दी आदि भाषाका मर्मज्ञ मनीषी संस्कृतानुरागी, संस्कृतिसमर्पित, राष्ट्रभक्त विद्वान् प्राध्यापक विष्णुराज आत्रेयको योगदान, यश र गरिमालाई चिरस्थायी बनाउने हेतुले उहाँको स्मृतिग्रन्थ प्रकाशनको पुनीत उद्देश्य राखी प्रा. डा. विष्णुराज आत्रेय लाटोसाथी स्मृति प्रतिष्ठानद्वारा ‘स्मृतिमा प्रा. डा. विष्णुराज आत्रेय लाटोसाथी’ प्रकाशन गर्नका लागि स्मृति ग्रन्थ प्रकाशन समिति गठन गरेको थियो । यस समितिले अराएको अभिभारा ग्रहण गर्दै यो स्मृति ग्रन्थ यहाँहरू समक्ष यस्तो रूप र कलेवरमा प्रस्तुत गरेका छौं ।’

६ सय २२ पृष्ठमा आधारित यस पुस्तकको मूल्य १ हजार रुपियाँ रहेको छ ।