‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ३ पुस्तक – शिव सस्मितको ‘कुरैकुराको खेती’, आर.बी. निश्चलको ‘उल्टो धार’, नहकुल जोशीको ‘नाजवाफ’, मोहनप्रसाद काफ्लेको ‘फिराद पत्र’ ।
====
१. कुरैकुराको खेती — शिव सस्मित
म्याग्दी जिल्लामा रहेर विविध विधामा कलम चलाउने शिव सस्मितको पाँचौँ कृति हो – “कुरैकुराको खेती” ।
१ सय २ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘लाइन’, ‘बेर’, ‘झोला सम्मेलन’, ‘नगदनारन प्रभु’ , ‘दारीगन्थन’, ‘कुरैकुराको खेती’, ‘आलुगन्थन’, ‘चाप्लुस मास्टर’, ‘अदवत्रकारकी जय’, ‘कुर्चीशास्त्र’, ‘नातिबाजेका कुरा’, ‘नामै निक्लेन’ र ‘वाद’ गरी १३ थान हास्यव्यङ्ग्य निबन्ध संग्रहित छन् ।
“‘आलुगन्थनु’ – नेपालको ब्युरोक्रेसीमा हास्यव्यङ्ग्य छ । आलुलाई वस्तु बनाएर शिवले राजनीति, धर्म, दर्शन तथा इतिहासमा प्रकारान्तर प्रशस्त हास्यव्यङ्ग्य सिर्जना गरेका छन् । ‘चाप्लुस मास्टर’ – शिवका शब्दवाण अत्यन्त तीव्र छन् र लक्ष भेद गर्न सफल छन् । यहाँ संस्कृतको गुरु र नेपालीको शिक्षक शब्दलाई बाह्र हात पर उछिट्ट्याएर मास्टर शब्द आएको हो । हीनतालाई साधन बनाएर गुरु शब्दबाट हास्यव्यङ्ग्य सिर्जना गरेका छन् । मास्टरका प्रकार धेरै बनाएर हास्यव्यङ्ग्य सिर्जना गरेका छन् । चाप्लुस मास्टर आत्मारामहरूको दोहोलो काढ्छ । यस्ता एक्जाजरेसन पेस गरेर उक्ति वैचित्रयबाट हँसाउँछन् । यसमा शिक्षा र शिक्षकमा आएको विकृति र विसङ्गतिको अतिरञ्जना, परिहास, व्यङ्ग्य गरेर शिवले उछितो काढेका छन् ।” भूमिकामा होमनाथ सुवेदी उल्लेख गरेका छन्, “‘अलपत्रकारकी जय’ – यसमा शिवले पत्रकारहरूमा आएको पत्रकारिता र पीत पत्रकारिताको उछितो काढेका छन् । हास्यव्यङ्ग्य हो तर हास्यव्यङ्ग्य मात्र हैन यो यथार्थ पनि हो कि पत्रकारहरू नेताहरूलाई दोष लगाउँदा लगाउँदै आआफैँ पथभ्रष्ट भएर झूटो समाचार दिने सके नेताभन्दा पत्रकार नै महामना हो, राजनीतिभन्दा पत्रकारिता नै महामहा हो भनेर सीमा नाघ्नेहरूको हास्यव्यङ्ग्य गरेका छन् तर त्यो सबैमा नभए पनि धेरै पत्रकारमा यथार्थ हो जसमा सुधार हुनुपर्छ नभए ती दण्डित हुनुपर्छ । राज्यको चौथो अङ्ग हो भन्दै बेइमानी गरेर पैसा कमाउन कसैलाई छुट छैन । यो पनि यथार्थ हो ।”
आफ्नै कुरामा शिव सस्मित लेख्छन्, “कुरैकुराको खेती लेख्न उक्साउने, लेखेर कसैलाई देख्न उक्साउने यही समाजको परिवेश र देशकाल परिस्थिति र आफ्नै भोगाइ नै हुन् । सामाजिक, राजनीतिक, शैक्षिक आदि क्षेत्रका विकृति र विसङ्गति असह्य हुँदा मनको बाटो भएर कुराहरू मुखबाट हुरुरुरु निस्किएका मात्र हुन् र यहाँहरूसँग जिस्किएका मात्र हुन् ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
० ० ० ०
२. उल्टो धार — आर.बी. निश्चल
जीवन, अस्तित्व रसमयका गहन चिन्तन–दर्शनका कविता लेख्ने दार्शनिक कवि आर.बी. निश्चलकृत पछिल्लो कवितासंग्रह हो – “उल्टो धार” ।
९७ पृष्ठमा मौलाएको यस पुस्तकलाई ‘समयचिन्तन’, ‘प्रश्न’ र ‘आफ्नै आँखा’ गरी तीन परिच्छेदमा विभाजन गरिएको छ । ‘समयचिन्तन’मा १८ थान, ‘प्रश्न’मा १२ थान र ‘आफ्नै आँखा’मा १८ थान कविता समाविष्ट छन् ।
भूमिकामा डा. लक्ष्मणप्रसाद गौतम लेख्छन्, “प्रस्तुत कवितासंग्रहको शीर्षकविता ‘उल्टो धार’ कथ्य र कला दुवै दृष्टिले गम्भीर छ । कवितामा प्रयुक्त बिम्ब, प्रतीक र विभिन्न सादृश्य विधानले कवितालाई प्रभावपूर्ण बनाएको देखिन्छ । उल्टो धारमा उनले जीवनको विपर्यास देखेका छन् र पहिचानको पीडा, किनारीकृत हुनुको विडम्बना तथा दलित हुनुको अपमान आदि उनका कविताका दृष्ट र भुक्त सन्दर्भ हुन् । यस्ता अनेक सन्दर्भलाई उनका कविताले यसरी बिम्बात्मक रूपमा प्रस्तुत गरेका छन् –
मरेको माछो
नदीको धारसँगै उत्तानो बग्छ
जिउँदो माछो
नदीको उल्टो धारमा
जीवन खोज्दै पौडिन्छ ।”
पुस्तकको पछिल्लो पृष्ठमा प्रा.डा. गोविन्दराज भट्टराई उल्लेख गर्छन्, “आर.बी. निश्चल ‘अज्ञात सत्यका झिल्काहरू टिप्तै र जोड्दै सुन्दर कविता रच्न सिद्धहस्त बनिसके । उनी मेरा एक ज्ञानी विद्यार्थी हुन्, जसले साहित्यको अमरपथ पक्रे । जहाँ धेरै दुःख, कष्ट, हताशा, विचलन आउँछन् तर थोरै आशा जोगाउन नित्य संघर्षको बाटो रोज्नुपर्छ । कविताको सत्य भनेको कोइलाखानीको हीरा निकाल्नुजस्तै हो । त्यसैले १९५२ का नोबेल लरेट अर्नेस्ट हेमिन्ग्वेले भनेका छन् – ‘द क्राउन अफ् लिटरेचर इज पोएट्रि ।’ किनभने कविताको प्रकाशले नै बिस्तारै समाजका असत्य र अन्धकार चिर्दै लान्छ । निश्चलको यो संग्रह केही दर्शन, केजी चिन्तन र धेरै चिन्ताले निर्मित एक प्रशंसनीय कला हो । हार्दिक बधाई ।”
राजकुमार बानियाँ लेख्छन्, “तपाईंको कविता अरूको जस्तो वाचाल छैन । मौन छ । आक्रोश छैन । सन्त टाइपको छ । मलाई त मनपर्यो । तपाईंको काव्यिकता गहिरो छ । पीडालाई अभिव्यक्त गर्ने कला गज्जब छ । अभिव्यक्तिमा प्रौढता आइसकेको छ । यस्ता कविता दीर्घजीवी हुनसक्छ । तपाईंले जसरी लेख्ने कवि छैनन् यतातिर । तपाईं वनफूलजस्तो कवि हो, आफ्नै परिवेशमा रमाउने । प्रकृतिले नै तपाईंलाई कविता लेखाएको छ । कृत्रिमता पटक्कै छैन । कवितामा विश्राम नलिनु होला । बधाई ।”
पुस्तकलाई फिनिक्सु बुक्सले प्रकाशनमा ल्याएकाे हो ।
० ० ० ०
३. नाजवाफ — नहकुल जोशी
पत्रकार तथा कवि नहकुल जोशीकृत नवीनतम उपन्यास हो – “नाजवाफ” । उपन्यास कर्णाली क्षेत्रमा जन्मिएको छ ।
“प्रस्तुत उपन्यास आञ्चलिक हो । कुनै खास क्षेत्रमा रहेर वा रोजेर त्यहाँको सामाजिक सांस्कृतिक मौलिकता एवं विशेषता प्रस्तुत सिद्धान्त एवम् मान्यतालाई आञ्चलिकता भनिने हुन्छ । लेखकले बाजुरा तथा आसपासको क्षेत्रलाई केन्द्रमा राखेर आफ्ना कथाहरूको माला उ अवस्था छ । कुनै पनि व्यक्ति आफू जन्मे हुर्केको ठाउँ र समाजलाई बिर्सन सक्दैन ।” भूमिकामा डा. राजेन्द्रकुमार आचार्य लेख्छन्, “जन्मिनेबित्तिकै देखेको धर्तीमा आकर्षित हुनै पर्दछ । त्यसो भएन भने उसले धर्तीप्रति नै अन्याय गरेको हुन्छ । आफू रहेको हुर्केको ठाउँ, जाति, संस्कृति आदिबाट प्रभावित भएर सो स्थानलाई केन्द्रमा राखेर वरपरको पर्यावरण, कुनै जाति, क्षेत्र र संस्कृति विशेषलाई साहित्यमा उतार्न खोज्दा आञ्चलिक साहित्यको जन्म हुन्छ । लेखकले पनि एक आञ्चलिक शिशुको जन्म दिएका छन् । शिशु जन्माउँदा हुने पीडाका बारेमा जन्माउनेलाई मात्र थाहा हुन्छ । अरूले आहा कति राम्रो भन्ने मात्र हुन् । राम्रोभन्दा पनि राम्रो त हो नाक लामो, आँखा चिम्रा, कपाल कैलाजस्ता टिप्पणी त हामी जोकोहीले गर्दछौँ । यस्तै टिप्पणी प्रस्तुत नाजवाफ शिशुमा पनि छ । त्यो हेर्ने, अवलोकन गर्नेले कसरी बुझ्छ त्यसमा भर पर्दछ । ‘नाजवाफ’ पढ्दा यसले गम्भीर भएर सोच्न बाध्य बनाउँछ । उपन्यास पढेर नेतृत्व तहमा बसेकाको चेत खुलोस् र पटकपटक प्रश्न तेर्साउन नपरोस् ।”
पछिल्लो पृष्ठमा डा. नवराज लम्साल लेख्छन्, “ नेपाली सन्दर्भमा युद्धसाहित्य लेखिन बाँकी छ र साहित्यिक बहसको झन् बढी आवश्यकता छ । यसै त कम लेखिएको भनिएको कर्णाली र सुदूरपश्चिम र लेखिएका मध्ये पनि कतिपय लेखकलाई त्यता टेक्दै नटेकी सुनेको भरमा लेखेको आरोप लागेको बेला बाजुराबाट यो पुस्तक आउनु नै एउटा सुन्दर पक्ष हो । जात, सम्पत्ति, युद्ध, राजनीति, प्रेम, संस्कृति र स्थानीय आकांक्षा एउटै कथा भएर बग्दा किशोर चेतना कसरी खलबलिन्छ र मनमा कसरी कुत्ती खेल्छन् परिवर्तनका आँधीबेहरी ? सरल तर सम्प्रेष्य मनोद्वन्द्व छ यसमा । यो नहकुलको आफ्नै वा आफ्नै पुस्ताको द्वन्द्व हो । सत्ताको इतिहास त जित्नेकै लेखिएला, लेखिन्छ पनि तर यही इतिहास र संवेदना हो साहित्यले लेख्ने, जुन कुरा बाजुराका नहकुलले कोसिस गरेका छन् । ती सीमान्तकृतलाई नछोए त साहित्य कसरी साहित्य बन्ला र ?”
भुँडीपुराणबाट प्रकाशित, १ सय ९५ पृष्ठमा आधारित यस पुस्तकको मूल्य ४ सय ३० रुपियाँ रहेको छ ।
० ० ० ०
४. फिराद पत्र — मोहनप्रसाद काफ्ले
४० वर्ष शिक्षा सेवामा रहनुभएको कथाकार तथा कवि मोहनप्रसाद काफ्लेकृत आख्यानात्मक कृति हो – “फिराद पत्र” ।
१ सय ४ पृष्ठमा बुनिएको यस पुस्तकमा ‘अधुरो भाषण’, ‘बालोदरी’, ‘विश्वशान्ति’, ‘चिन्तामणि’, दुखमाथि दुःख’, ‘गौरीप्रसाद र कुर्सी’, ‘ज्येष्ठ नागरिक’, ‘के हालत होला’, ‘खुद्र छैन’, ‘मित्रता’, ‘रहर’, ‘सदाकम्पन’, ‘फिराद पत्र’, ‘सानेकी आमा’, ‘सन्नाटा’, ‘शिक्षाको अवसर’, ‘त्यो २० रुपियाँ’ आदि १७ थान कथा समावेश छन् । यस संग्रहमा लेखकले आफ्ना मीठा र आकर्षित भाषाशैलीबाट समाजमा, देशमा भइरहेका विकृति–विसङ्गतिप्रति सूूक्ष्म व्यङ्ग्य गर्न गर्न सफल भएका छन् । कथाअनुसारको पात्र जन्माउन सक्नु लेखकको विशेषता हो ।
“घरमै थन्किएर अनि पत्रपत्रिकामा छरिएर रहेकामध्ये उपलब्ध १६ थान कथा र लघुकथा फिराद पत्रमा समेटिएका छन् । सामान्य परिमार्जनसहितका केही कथा निकै पुराना भए पनि सान्दर्भिक नै होलान् । नयाँ–पुराना सबै कथा हाम्रो सामाजिक धरातलमा आधारित होलान् भन्ने मेरो अपेक्षा छ । केलाउने जिम्मा प्रबुद्ध पाठकगणमा सुम्पिएको छु ।” लेखक व्यक्त गर्छन्, “कथाभित्रका कतिपय संवाद र मनोवादमा पात्रानुकूल भाषिक प्रयोग हुनु अन्यथा नहोला भन्ठान्छु । त्यसबाहेक यथासम्भव मानक भाषाको वर्णविन्याससँग नजिकिने प्रयत्न गर्दागर्दै पनि कतैकतै चिप्लिएको हुन सक्छु, त्यसलाई अन्यथा नठानिदिनुहुन अनुरोध गर्दछु ।”
‘शिक्षाको अवसर’कथांश यस प्रकारको छ, “‘दोष यिनको होइन, यिनका बाबाको हो । उनले मृत्युवरण गरिसके । दोष अन्जानमै मेरो पनि हुन सक्छ । म पनि चाँडै मृत्युवरण गर्न सक्छु । तर यी निर्दोष टुहुरा बालकलाई समाजले किन शिक्षाबाट वञ्चित गर्छ ? समाजले त यिनको संरक्षण पो गर्नुपर्छ, होइन र ? मेरा निर्दोष छोराहरूले पढ्ने अवसर पाउनुपर्छ । राज्यले यो कुरा सुनोस्…। सरकारले यस कुरालाई गम्भीरताका साथ सोचोस्… । बोल मानवअधिकारकर्मीहरू ! बोल बालअधिकारका हिमायतीहरू ! यिनले शिक्षाको अवसर पाउनुपर्छ ! खबरदार…!’
एउटा एउटा हात दुवै छोराका टाउकामा राखेकी लक्ष्मी आँखाबाट बरर आँसु बर्साउँदै प्रिन्सिपलका अगाडि चिच्याइरहेकी थिइन् । दुवै छोराले आँसु बर्साउन आमालाई सघाइरहेका थिए । प्रिन्सिपल अवाक् थिए । सबै शिक्षकशिक्षिका मौनता छर्दै प्रिन्सिपलका पछाडि खडा थिए । प्रे–लाइनमा उभिएका सबै छात्रछात्रा मूर्तिवत् देखिन्थे ।”
पुस्तकलाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।