नेपाल प्रज्ञा प्रतिष्ठानको मगर भाषाकाे पत्रिका प्रकाशनमा ल्याएकाे छ । नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा विभागले ‘मिक’ नामक मगर भाषाको पत्रिका प्रकाशन गरेको हो ।

प्रतिष्ठानको मातृभाषा विभागले नियमित आयोजना गर्ने मातृभाषा श्रृङ्खलाअन्तर्गत सिर्जना, संवाद र विमर्शको छैठौं श्रृङ्खलाको अवसरमा कुलपति भुपाल राईले सो पत्रिकाको विमोचन गरेका हुन् ।

“मिक”का प्रधान सम्पादकमा प्राज्ञ परिषद् सदस्य डा. कृष्णराज अधिकारी , कार्यकारी सम्पादकमा प्रज्ञासभा सदस्य डा. विष्णुकुमार सिञ्जालीमगर, सम्पादक मण्डलमा जीवनप्रवेश रोकामगर, जगबहादुर बुढामगर, मनकुमारी ठाडामगर (मनु), हिरामती रानामगर र हेमा आलेमगर ‘बोगी’ रहेका छन् । त्यस्तै सल्लाहकारमा प्रा.डा. केशरजङ बरालमगर, लोकबहादुर थापामगर र कर्णबहादुर बुढामगर रहेका छन् ।

कुलपति राईले साहित्यिक पत्रिका “मिक”को विमोचन गर्दै समावेशी ढङ्गबाट सम्पूर्ण भाषाभाषीको स्वामित्वबोध हुने गरी प्रज्ञा-प्रतिष्ठानले काम गरिरहेको बताए । साथै, मगरभाषाको साहित्यिक पत्रिका मिक जस्तै तामाङ,राई र गुरुङलगायतका ओझेलमा परेका विभिन्न मातृभाषाका साहित्यिक पत्रिकाहरू प्रकाशित गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।

यसैगरी, स्वागत मनतव्यका क्रममा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कुष्णराज अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै मगरभाषा-साहित्य सबैको सम्पदा भएकाले संरक्षण, प्रवर्द्धन र विकासमा सबै मिलेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रमका सभाध्यक्ष, नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले मातृभाषा साहित्यको उत्थान गर्नमा प्रतिष्ठान लागिपरेको बताए । क्रमशः सम्पूर्ण मातृभाषीको साहित्य सिर्जनालाई उच्च प्राथमिकता दिने बताउँदै धन्यवाद ज्ञापनसहित उनले कार्यक्रमको समापन गरे ।

यस कार्यक्रममा मिक पत्रिकाक‍ो परिचय प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा. विष्णुकुमार सिञ्जाली मगरले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जीवनप्रवेश रोका मगरले ‘मगर खाम (भाषा) को साहित्यिक अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि पूरक सुझाव डा. टीपी धमला, कर्णबहादुर बुढामगर, नन्दबहादुर घर्तीमगर, सुमित्रा बुढामगर, गौबहादुर आलेमगर, गोपाल पुनमगर र गुप्तबहादुर रानामगरले राखेका थिए ।

कार्यक्रममा वाम्बुले राई भाषाका कवि एलिना वाम्बुले राई, गुरुङ भाषाका कवि छम गुरुङ र रानाथारू भाषाका कवि रोहित रानाथारूले आआफ्न‍ो मातृभाषामा कविता वाचनसमेत गरेका थिए ।

कार्यक्रमको सहजीकरण प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गरेका थिए ।