नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आफ्नो ६४ औँ वार्षिकोत्सवका अवसरमा असार ९ गते प्रज्ञा भवन, कमलादीमा आयोजित राष्ट्रिय कविता महोत्सव–२०७८ प्रथम हुन सफल टेम्केमैयु–९, पान्धारे, भोजपुरकी कवि कविता राई सम्मानित हुनुभएको छ ।

राज्यकै सर्वोच्च प्राज्ञिक संस्थाले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा प्रथम भई जिल्लाको गौरव बढाएबापत् नेकपा एमाले भोजपुर–काठमाडौँ सम्पर्क मञ्चले राईलाई बधाईसहित सम्मानित गरेको हो । राईको ‘देशको नक्सा’ शीर्षकको कविता महोत्सवमा देश÷विदेशबाट सहभागी ७६४ ओटा कवितालाई उछिन्दै प्रथम भएको थियो ।

बागबजारमा आइतबार आयोजित विशेष समारोहमा प्राज्ञ शशी लुमुम्बू, भोजपुर जिल्ला कमिटी सदस्य रेजिन श्रेष्ठ एवम् मञ्चका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले कवि राईलाई खादा र सम्मानपत्र अर्पण गरी सम्मान गर्नुभएको थियो । कार्यक्रममा मञ्चका पदाधिकारीहरूका साथै समालोचक डा. हरिप्रसाद सिलवाल, कवि शुक्र राई, समाजसेवी शरणदेव राई, अम्बिका राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण मञ्चका सचिव फुर्वातेन्जिङ शेर्पाले गर्नुभएको थियो ।