राष्ट्रको सर्वोच्च प्राज्ञिक संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति हुन्– तत्कालीन राजा महेन्द्र अर्थात् कवि मविवि शाह । नेपाल प्रज्ञा–प्रतिष्ठानका उनै संस्थापक कुलपति शाहको १०२ औँ जन्मोत्सवका अवसरमा सोमबार प्रज्ञा भवनमा अवस्थित शाहको प्रतिमामा माल्यर्पण गरी उनको योगदानको स्मरण गरियो । कुलपति गङ्गाप्रसाद उप्रेतीले संस्थापक कुलपति शाहको प्रतिमामा माल्यर्पण गरी श्रद्धा अर्पण गरेका थिए ।

माल्यर्पण पश्चात् बोल्दै कुलपति उप्रेतीले नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्ना संस्थापकहरूको स्मृतिमा कार्यक्रम आयोजना गर्ने परम्पराअनुसार संस्थापक कुलपति कवि शाहको जन्मोत्सवका अवसरमा उनको प्रतिमामा माल्यर्पण गरी श्रद्धा प्रकट गर्नुका साथै उनको विशिष्ट योगदानको स्मरण गरिएको बताए । कुलपति उप्रेतीले भने– “तत्कालीन राजा तथा प्रसिद्ध कवि मविवि शाहद्वारा आधुनिक नेपालको निर्माणका लागि बहुलतालाई आत्मसात् गरी भावनात्मक एकता कायम गर्नुपर्छ र त्यसका लागि एउटा प्राज्ञिक संस्था चाहिन्छ भन्ने सत्यलाई बुझेर नै त्यस समयका वरिष्ठ साहित्यकारहरूको सल्लाह, सझुाव र साथ लिएर नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना गरिएको हो । राष्ट्रका लागि यस्तो गौरवमय संस्थाका संस्थापक कुलपतिको स्मरण गर्नु हाम्रो कर्तव्य हो । नेपाली साहित्यको कविता विधामा कवि शाहको योगदान उत्तिकै स्मरणीय छ ।”

राजा महेन्द्रद्वारा वि.सं.२०१४ असार ९ गतेका दिन ‘नेपाली साहित्य कला एकेडेमी’का नामबाट नेपाल प्रज्ञा–प्रतिष्ठानको गठन गरिएको थियो । राजा महेन्द्र स्वयम् कुलपति रहेका थिए । ‘नेपाली साहित्य कला एकेडेमी’को ऐनमा लालमोहर सदर भने स्थापनाको ९ महिनापछि अर्थात् वि.सं. २०१४ फाल्गुन २ गते बिहीवारका दिन भएको थियो । यो ऐन २०१४ फागुन २० गते नेपाल गजेटमा प्रकाशित भएको थियो । ‘नेपाली साहित्य कला एकेडेमी’का रूपमा गठित यसको नाम उपर्युक्त मितिमा गजेटमा प्रकाशित ऐनअनुसार ‘नेपाल एकेडेमी’ रहन गएको थियो । त्यस्तै वि.सं. २०१९ मा नाम परिवर्तन गरी ‘रायल नेपाल एकेडेमी’ बनाइएको थियो ।

उक्त संस्थालाई तत्कालीन राजा श्री ५ महेन्द्रको देशका विभिन्न संस्थाहरूका नामलाई नेपालीकरण गर्ने इच्छाअनुरूप ‘रायल नेपाल एकेडेमी’लाई नेपालीमा ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’ नामकरण गर्ने र अन्तर्राष्ट्रिय व्यवहारलाई ध्यानमा राखी अङ्ग्रेजीमा रोयल नेपाल एकेडेमी नै कायम गर्ने तथा नेपाली र अङ्ग्रेजी दुवैमा सुरुदेखि चान्सलर र भाइस चान्सलर जस्ता शब्दहरू प्रचलनमा ल्याइएकामा अबदेखि नेपालीमा उक्त शब्दहरूलाई क्रमशः कुलपति र उपकुलपति लेख्ने गरी कुलपति राजा महेन्द्रमा प्रस्ताव गरिएकामा उक्त प्रस्ताव स्वीकृत भई वि.सं. २०२४ वैशाख ६ गतेदेखि नै लागु भएको थियो ।

यसरी स्थापनाको दश वर्षमै ‘नेपाली साहित्य कला एकेडेमी’ले ‘नेपाल एकेडेमी’, ‘रायल नेपाल एकेडेमी’ हुँदै ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’को स्वरूप प्राप्त गरेको थियो भने सुरुमा ‘चान्सलर’ र ‘भाइस चान्सलर’का रूपमा प्रयोगमा ल्याइएका अङ्ग्रेजी शब्दहरूका सट्टामा क्रमशः ‘कुलपति’ र ‘उपकुलपति’ जस्ता नेपाली शब्दहरूको प्रयोगलाई अनिवार्य गरिएको थियो । वि.सं.२०४६ सालको जनआन्दोलनपछि पुनःस्थापित संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा यो साबिककै ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’ नामबाट सञ्चालनमा रह्यो । वि.सं.२०६२/०६३ को पछि भने राजकीय शब्द हटाएर नेपाल प्रज्ञा–प्रतिष्ठान कायम गरिएको थियो । प्रज्ञा भवन रहेको पचास रोपनी जग्गा राजा महेन्द्रले आफ्नै पैसाले खरिद गरी प्रज्ञा–प्रतिष्ठानलाई सुम्पेका थिए । प्रज्ञा भवनको निर्माणसमेत उनले नै गराएका थिए ।