काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको ‘गजल मुशायरा’मा यस पटक ३ जना गजल स्रष्टा प्रस्तुत हुँदै छन् ।
२३ मङ्सिर शनिबार राष्ट्रिय नाचघर जमलमा गजलकारहरू रश्मि असफल, आँचलकुमार शर्मा र ‘अविनास’ सापकोटाले सुन्दर र सशक्त गजल प्रस्तुत गर्ने आयोजकले बताएको छ ।
सोही कार्यक्रममा प्रतिष्ठानले अन्य गजलकारहरूलाई समेत प्रतक्ष्य रूपमा आफ्नो सहभागिता रहेको अनुभूति गराउने उद्देश्यले मञ्चमा उपस्थित तीन गजलकारहरूबाट थप तीन गजलकारको १/१ ओटा गजल प्रस्तुत गर्ने परम्परालाई यस मुशायरामा पनि निरन्तरता दिनेछ ! यसका अलावा १० गजलकारका १० उत्कृष्ट शेरहरूलाई कार्यक्रमका सहजकर्ता वरिष्ठ गजल साधक भुवन निश्तेज वाचन गर्नुहुनेछ ।
यसअघि गजल मुशायरा- १ मा डा. प्रदीपकुमार मैनाली, आवाज शर्मा र शान्ति शर्मा प्रस्तुत भएका थिए भने गजल मुशायरा- २ मा राधा कणेल, अनजान यात्री र मिलनकुमार ढुङ्गानालाई प्रस्तुत गरिएको थियो ।
‘नेपाली गजलको विकास र विस्तारका लागि’ मूल मन्त्र लिएको प्रतिष्ठानले हरेक महिना गजल सुन्ने/सुनाउने गर्दै आएको छ भने बहर बहार र मोती पाठशाला मार्फत गजल प्रशिक्षण पनि दिँदै आएको छ ।
साथै निकट भविष्यमा “गजल आइडल” आयोजना गर्ने योजना समेत बनाइरहेको प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए ।
साथै आागामी चैत १८ गते दोस्रो साङ्गीतिक मुशायराको समेत आयोजना हुने जनाइएको छ ।
यस कार्यक्रमका प्रायोजक रूपमा ग्लोबल आइएमई बैँक, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, सूर्य ज्योति, सूर्य नेपाल , एभरेष्ट बैंक लिमिटेड , नागरिक लगानी कोष, टेम्पल टाइगर , भायनेट तथा मिडिया पार्टनरमा युनिभर्सल टेलिभिजन आदि रहनेछन् ।
कार्यक्रमको अनलाइन पार्टनरका रूपमा साहित्यपोस्ट अनलाइन (इ) पत्रिका रहेकाे छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










