नेपाल गजल प्रतिष्ठानले यस वर्ष वरिष्ठ गजलकार एक जना तथा नवोदित गजल साधक एक जना गरी दुई जना गजल साधकहरूलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ ।
स्थापनापश्चात् पहिलो पटक प्रदान गर्न लागिएको ‘पद्मिल गजल बहार पुरस्कार तथा सम्मान- २०८०’ एवं ‘के लत बस्यो मलाई गजल पुरस्कार तथा सम्मान- २०८०’ क्रमश: वरिष्ठ गजलकार प्राज्ञ बूँद राना र नवोदित गजल साधक विनोद बिम्बितलाई प्रदान गरिने भएको छ ।
३५ हजार रुपैयाँ नगद राशिको ‘पद्मिल गजल बहार पुरस्कार तथा सम्मान’को स्थापनाकर्ता काठमाडौं महानगरपालिका- १४ निवासी दीपशिखा शर्मा हुन् भने १५ हजार रुपैयाँ नगद राशिको ‘के लत बस्यो मलाई गजल पुरस्कार तथा सम्मान’को स्थापनाकर्ता कालिन्चोक- ९, दोलखा निवासी गजलकार प्रदीपकुमार मैनाली हुन् ।
उक्त दुवै पुरस्कार एवं सम्मान प्रतिष्ठानले आफ्नो वार्षिक उत्सवको अवसर पारेर २०८० चैत १७ गते आयोजना गरेको ‘साङ्गीतिक गजल गुञ्जन’ कार्यक्रमका अवसरमा प्रदान गरिनेछ ।
यस पटकको साङ्गीतिक गजल गुञ्जनमा स्थापित र नवगायक/गायिकाले गजल प्रस्तुत गर्ने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले बताए । प्रतिष्ठानले हरेक २ महिनामा ‘गजल मुशायरा’समेत गर्दै आएको उनले जानकारी दिए ।
यस पटकको साङ्गीतिक गजल गुञ्जन चैत १७ गते दिउँसो १२ बजे राष्ट्रिय नाचघर, जमलमा हुने बताइएको छ ।
दुवै पुरस्कार तथा सम्मान छनोट समितिमा गजलकारहरू रवि प्राञ्जल, करुण थापा, टक गुरुङ, आवाज शर्मा र प्रमोद थापा थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।