काठमाडौं । यशस्वी प्रज्ञा प्रतिष्ठानले साहित्यकार गोविन्द गिरी प्रेरणालाई यशस्वी पुस्तक अवार्डबाट सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली वाङ्मयका विद्वान् प्राडा. वासुदेव त्रिपाठीले अवार्ड समर्पण गरेका हुन् ।

समारोहमा यशस्वी प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष रञ्जना निरौलाले फूलमालाले सम्मानित गरेकी थिइन् ।

प्रमुख अतिथि त्रिपाठीले स्रष्टा गोविन्द गिरी प्रेरणाको लेखनीमाथि प्रकाश पार्दै उनको बहुआयामिक प्रतिभाको प्रशंसा गरेका थिए । कसैको पनि जीवनी लेख्नु सजिलो काम नभएको उल्लेख गर्दै पारिजात जस्ती विशिष्ट प्रतिभाको जीवनी लेखेर उनका बारेमा पाठकलाई जानकारी गराउन सक्नु प्रेरणाको विशेषता रहेको बताए ।

समालोचक ज्ञानु अधिकारीले ‘सुश्री पारिजात’ पुस्तक र सर्जक प्रेरणाको बारेमा समीक्षात्मक टिप्पणी गर्दै जीवनी लेखनमा मौलिक शैली रहेको चर्चा गरिन् ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्रष्टा गोविन्द गिरीको संक्षिप्त जीवनीमाथि प्रकाश पार्दै उनको लेखन यात्राका बारेमा बोलेका थिए । उनले गोविन्द केही न केही नगरी बस्न नसक्ने बानी भएको स्रष्टा भएकाे बताउँदै उनी साहित्य लेखनदेखि सम्पादन, सृजना र संगठनमा सधैँ अग्रसर हुने गरेको बताए ।

कार्यक्रममा सम्मानित स्रष्टा प्रेरणाले आफ्नो लेखनयात्राबारे चर्चा गर्दै यशस्वी पुस्तक अवार्ड प्राप्त पुस्तक ‘सुश्री पारिजात’ लेख्न शुरू गर्दादेखिको सुखदुःख तथा आत्मसन्तुष्टिका बारेमा चर्चा गरेका थिए ।

प्रतिष्ठानकी अध्यक्ष रञ्जना निरौलाले आफ्नो स्वागत मन्तव्यमा बहुप्रतिभाशाली स्रष्टा गोविन्द गिरीलाई यश्वसी पुस्तक अवार्डबाट सम्मान गर्नुकाे खुशी व्यक्त गरेकी थिइन् ।

पारिजात स्मृति केन्द्रका अध्यक्ष साहित्यकार मातृका पोखरेलले शुभकामना मन्तव्य व्यक्त गर्दै “सुश्री पारिजात” कृति पारिजातको विषयमा जान्न चाहनेका लागि जरूरी ग्रन्थ भएको बताए ।

कार्यक्रमको सञ्चालन साहित्यकार ठाकुर बेल्वासेले गरेका थिए ।