मूलः जोरिश मौरिस

अनुवाद: गोविन्द गिरी प्रेरणा

 

उसले आफ्नी स्वास्नी लाइजलाई यो कहिल्यै बताएन, उसको अनुपस्थितिमा उनीहरूको प्यारो कुकुर मौलीलाई के भयो ? त्यो यसरी मर्‍यो ?

उसले सिँढीहरूमा बिछाइएका टाटहरूमा लागेको रगत‌को टाटो निकै नै सावधान भएर पुछपाछ पारेको थियो । वास्तवमा, अत्यन्त भारी काठको दराज डरलाग्दो आवाजसहित सिँढीमा ढलेको थियो र कुकुर त्यसैमा च्यापिएर मरेको थियो ।

स्वास्नीको व्यवहार देखेर उसलाई सधैँ लाग्थ्यो लोग्ने नाउँको अस्तित्व उसमा छँदै छैन । ऊ मलाई कमारो झैँ व्यवहार गर्छे । मैले घरबाहिर जे गरे पनि उसलाई चासो नहुने रे । यस्तो पनि हुन्छ ? फेरि ऊ आफ्नै सुरमा राती दुई बजे घर आएर पनि पानी पिउन मलाई नै उठाउँछे । यस्तो पनि कहीं हुन्छ ? जस्तो सुकै बर्षातको बेला होस् ऊ मलाई यस्ता चीजहरू किन्न बजार पठाउँछे जुन ऊसँग मौजुद हुन्छ । खाँचो परेकै हुँदैन । ऊ आफ्ना लुगा पनि मलाई नै धुन दिन्छे र मलाई तलतल  लागेको बेला चुरोट खान पनि दिन्न ।

“आज बेलुकी वेन बुनसुम्स आउँदैछ, घर राम्रोसँग सफा सुग्घर गर्नु, एकदम नयाँ घर जस्तो लागोस् ।” उसले भनी ।

उसले स्वास्नीको मुहारमा मालिक्नीको रोव र चमक देख्यो । उसले भन्यो – “हुन्छ प्रिय !”

त्यत्ति नै बेला उसले चिच्याएर डाँकोले निल्दै भनी, “त्यसो भए तिमी काम  किन शुर गरिहाल्दैनौ त ?”

ऊ ठाँटसँग निश्चिन्त भएर कुर्सीमा बसी अनि ठूल ठूलो स्वरले यसो गर, उसो गर, यो गर, त्यो गर भनेर आदेश दिइरही । उसको आदेश यस्तो लाग्थ्यो, मानौं कुनै कमारोको पिठ्यूँमा कोर्रा हानिंदैछ ।

“अब सिंढी सफा गर !”

“हुन्छ ।” भनेर उसले एउटा आज्ञाकारी कमारोले झैं सिँढीहरू सफा गर्‍यो, खुट्‌किलामा राखिएका टाटहरू सफा गर्‍यो । ताँवाको रेलिङ पनि चम्कायो ।

यतिन्जेल ऊ कुर्सीमा ढसमस्स बसिरहेकी थिई । बल्ल उठी र सिँढीमा चढेर सफाइकोको निरीक्षण गरी अनि सिँढीमै बसेर अर्को थप आदेश दिई – “अब दराज सफा गर !”

“तर !” उसले प्रतिरोध गर्न चाह्यो, यति नै बेला उसको दिमागमा अस्ति घटेको घटना याद‌ आयो मौली-कुकुर यसरी नै त सिँढी चढेर बीचमा आइपुगेथ्यो । र एकाएक दराज ढलेर उसलाई रोटी तुल्याइदिएको थियो । त्यही डरलाग्दो दराज अहिले उसको हातमा घातक हतियार‌को रूपमा छ। …. यदि त्यस्तै घटना दोहोरियो भने ? के ऊ हत्यारा ठहरिएला त ?”

यति नै बेला फेरि स्वास्नीको कडा आवाज सुनियो, “छिटो गर, म पर्खिरहेकी छु ।”

“अब तिमीलाई धेरै पर्खिन पर्ने छैन प्रिय !” उसले बिस्तारै ओठ चलायो र न्वारनको बल निकालेर दराजलाई सिँढीतिर धकेलिदियो ।