गजलकार युवराज भण्डारीका आधा दर्जन गीत रेकर्ड भइसकेका छन् र यो हो तेस्रो कृत गजलसङ्ग्रह – “भावनाको तस्वीर” । साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई प्राप्त भएको यस पुस्तक १ सय १९ पृष्ठमा आबद्ध छ ।
यस पुस्तकमा १ सय १ थान गजल सङ्ग्रहित छन् । गजलमा सुन्दर सम्प्रेषण छ । मौलिक र सूत्रात्मक कथनले पनि गजलमा कल्पनाशीलताको प्रखर पाइन्छ ।

भावनाकाे तस्वीर
भूमिकामा बुँद राना लेख्छन्, “गजलमा विवादको खेती पनि छ । हुन त हाम्रो वाङ्मय आकाशमा पद्य र गद्य कविता बीचको गड्याङगुडुङ त अझै सकिएको छैन भने गजलको त के कुरा भयो र ! तर मेरो हिसाबले हेर्दा स्वस्थ छलफल हुनु गजल उन्नयनको लागि नराम्रो नहोला । कहिलेकाहीँ भने यो अतिरञ्जित पनि भइराखेको छ । यदाकदा यो विवाद यस्तरी चुलिन्छ कि मलाई गजल भनेर दिनरात लागि परेका गजलकारहरूमा निराशा पो झ्याङ्गिन्छ कि भन्ने त्रास हुन्छ । यो सब परिस्थिति झेल्दै जन्मभूमिभन्दा पर सङ्घर्ष गर्दै सशक्त गजल कृति नेपाली गजललाई दिने स्रष्टा भण्डारीको लगन उदाहरणीय छ । हेरौं यो शेरमा उनले देशलाई कसरी सम्झेका छन् ः
जब नक्साभित्रै देश एक्लिएको देख्छु
मेरा नयनमा आँसुको राराताल हुन्छ ।
…
हाम्रो सर्वोच्च हिमाल देउतै लाग्छ मलाई
स्वर्गभन्दा सुन्दर भूमि एउटै लाग्छ मलाई ।”
“केही देशका कुरा केही परदेशका कुरा, केही नीतिका कुरा, केही राजनीतिका कुरा, केही मनका कुरा, केही धनका कुरा, केही दर्शनका कुरा, केही मननका कुरा, केही शिक्षाका कुरा केही भिक्षाका कुरा –!” भूमिकामा गोवर्द्धन पूजा लेख्छन्, “‘भावनाको तस्वीर’ यस्तै–यस्तै विषयमा लेखिएका गजलहरूले बनेको छ । यो तस्वीर केवल गजलकार भण्डारीको मात्र भावनाको तस्वीर नबनेर आम पाठकको मनको तस्वीर बनेको छ । समसामयिक विषय बस्तुलाई आफ्नो सिर्जनाको रङले रङ्ग्याएर समयानुकूल आकर्षणको जलप लगाउन सक्नु गजलकारको खुबी हो । यस अर्थमा गजल सङ्ग्रह पठनीय र मननीय बनेको छ ।”
भुँडीपुराणबाट प्रकाशित यस पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ कार्तिक २०८२, सोमबार 










