
साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई करिब ४० वर्षअघिबाट लेखनका लाग्दै आएका लेखक युवराज भण्डारीको कवितासङ्ग्रह “अर्को कर्नाली” प्राप्त भएकाे छ ।
१ सय ४४ पृष्ठमा फैलिएको यस कृतिमा ‘नमन’, ‘भावनाको नक्सा’, ‘राजनीतिको रङ’, ‘तिमी मेरो भूगोल’, ‘अजम्मरी’, ‘रेक्स’, ‘मेरा बा’, ‘बेवारिसी नोट’, ‘आँसुको कर्नाली’लगायत ५६ थान कविता सङ्ग्रहित छन् ।

अर्काे कर्नाली
“युवराज भण्डारीको ‘अर्को कर्नाली’मा सङ्कलित कविता समसामयिक समस्या, चिन्ता, मुद्दा र परिवेशसँग कविताको भावनाले अन्तरक्रिया गरेपछि अभिव्यञ्जित आलोकका काव्यगुच्छा हुन् । यी कविता भौतिक संसार, लौकिक जीवन र अध्ययन-अनुभवका विविध स्रोतबाट माथि उठ्दै गरेको कविका गहन चिन्तनसार हुन् । उनका कविता भावावेगमा प्रवाहित छन्, जसले गर्दा तिनले पाठकको गूढ अनुभूतिलाई प्रदीप्त पार्छन् र भाषिक कलाका रूपमा कविताको पृथक् सौन्दर्यशास्त्रीय विशिष्टता स्थापित गर्छन् ।” भूमिकामा डा. नेत्र एटम लेख्छन्, “भावको आवेगले कवितालाई हाम्रा ज्ञानेन्द्रियको संज्ञानसँग जोड्छ । यसैका कारण हामी कवितामा दृश्य देख्छौँ, ध्वनि सुन्छौँ, स्पर्श अनुभूत गर्छौँ, स्वाद पाउँछौँ अनि बास्ना लिन्छौँ । यसले कवितालाई ठोस बनाउँछ, कविताको अमूर्त चिन्तनलाई आकार दिन्छ र ग्रहण गर्न सहज तुल्याउँछ । भण्डारीले आफ्ना कवितामा भावावेगलाई सांसारिक वस्तुसँगको तुलना, प्रतीकीकरण एवम् विम्बका रूपमा प्रस्तुत गरेर पाठकको सुषुप्त संवेदनालाई जागरूक बनाउन सकेका छन् ।”
कवि लेख्छन्, “जीवनमा आउने आरोह-अवरोहको प्रभाव मेरो साहित्य-यात्रामा पनि पर्ने नै भए । परिणामतः सिर्जनाका प्रवाह अविच्छिन्न रहेन । बाँधहरूमा अल्झिएँ कतै, बगरहरूमा बल्झिएँ कतै । म बगे पनि रोकिए पनि मेरो कलिलो मनमा फुटेको त्यो भाषा-साहित्यप्रतिको अनुराग भने अविरल बगी नै रह्यो र कविता-रसमा भिज्दै पहिलो कविता लेखेको झन्डै ४० वर्षपछि जन्मियो – ‘अर्को कर्नाली’ ।”
बेवारिसी नोट
एक्लैएक्लै हिँड्दै थिएँ बाटामा
अचानक देखेँ- हजारै हजारका नोट
थामिएर हेरे, कोही देखिएन वरिपरि ।
एक बटुवा आएर सोध्यो मलाई
के यो पैसा तपाईंको हो, दाइ ?
मैले होइन भन्न भ्याउँदै
ऊ हिँड्यो निमेषमै गोजी भरेर ।
खुशी लाग्छ
जिन्दगीमा कहिल्यै चोरी गर्न जानिएन
कहिलेकाहीँ लाग्छ
आफ्नै बगैँचाको फल टिप्न पनि जानिएन ।
भुँडीपुराण प्रकाशनबाट बजारमा ल्याएको यस पुस्तकको मूल्य २ सय ९० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

