यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ४ पुस्तक । भरत पाैडेलकाे ‘याद’देखि डा. बुद्धि मल्लकाे ‘सफलता सम्भव छ’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

० ० ०

१. पलक — लोकेन्द्र बञ्जारा

“पलक” गजलकार लोकेन्द्र बञ्जाराकृत तेस्रो गजल-कृति हो ।

यसमा ९१ वटा गजल सङ्ग्रहित छन् । पलकले नेपाली समाज बोलेको छ । गरिबीको कथा कहेको छ । विसङ्गत जीवनमा लय हालेको छ । पाठकलाई प्रभावित पार्ने गरी नै गजलहरू मार्मिक छन् ।

“यत्ति चैँ भनूँ कि ?”मा लोकेन्द्र बञ्जारा लेख्छन्, “म गजललाई असाध्यै प्रेम र स्नेह गर्न खोज्छु हृदयबाटै । त्यही एक कारण हो, न मैले कवि हुन बल गरेँ न आख्यानकार । गजल एक सिर्जना हुँदाहुँदै पनि यसले प्राविधिक पक्षमा पनि ध्यान पुर्याउनुपर्ने हुनाले धेरै ठाउँमा भाँती नपुगेको भने हुनसक्छ भन्ने चाहन्छ ।”

पुस्तकको आखिरी पृष्ठमा लेखिएको छ,

त्योमध्ये म पनि एक हुँ सम्झिराख्नू, नबिर्सिनू

सानो मान्छे, खुद्रा पैसा, अभर पर्दा काम लाग्छ ।

यसरी मैले पटक-पटक मेरा अनुहारहरू बेच्नुपर्यो

बाँच्न मै बलात्कृत लेखिएका अखबारहरू बेच्नुपर्यो ।

अनिवार्य बिर्सिनुपर्नेको सम्झन मुटुमा अझै रहेछ

मेरो त अर्को दुर्घटनाको संभावना मुटुमै अझै रहेछ ।

कुरै राख्न पाएन फँसीको सजाय पाएको व्यक्तिले,

पैसालाई न्यायको जिब्रो जफत गर्न सिकाइएको रैछ ।

पेज टर्नरबाट प्रकाशित ९२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।

= = =

२. आरु फुलेको साँझ — अनिल श्रेष्ठ

भाषा-साहित्य क्षेत्रमा सक्रिय रहँदै आएका कवि अनिल श्रेष्ठकृत कविता सङ्ग्रह हो — “आरु फुलेको साँझ” ।

तेस्रो संस्करण जनमत प्रकाशनले बजारमा ल्याएको हो । यसमा ‘के यी कविता तिम्रा आँखाजस्तै सुन्दर हुनेछैनन्’, ‘गाउँलाई सोध्याछ भन्दिनू है दाइ’, ‘तटबन्ध’, ‘लामखुट्टेको मुद्दा’, ‘नदी र गीत’लगायत ३७ थान कविता सङ्ग्रहित छन् ।

भूमिकामा रुद्र खरेल  लेख्छन्, “सेतो आतङ्कको मृत्यु-पीडालाई कवि अनिलले प्रकृतिका माध्यमबाट कति लोभलाग्दोसँग पस्किदिए । उनको कविताको गति, लय, संवेद्यता र विम्ब चयन हेर्दा, मलाई एउटा ठिटो भूपी जन्मन लागेको आभास हुन्छ, यद्यपि उसका आफ्नै युगसन्दर्भ र चटक्कै छुट्टिने विम्बहरू छन् ।”

भूमिकामा रोजेन्द्र सुवेदी लेख्छन्, “सत्यका परिधिमा वर्तमानलाई समेटेका प्रस्तुत सङ्ग्रहमा नेपाली समाजको बहुल यथार्थलाई सहज ढङ्गले प्रस्तुत गरेको देखिन्छ । नेपाली समाजका विश्वराजनीतिले अनपेक्षित ढङ्गले आत्मसात् गरेका पक्षलाई सिर्जनाको वस्तु बनाएका छन् अनिलले । यस सङ्ग्रहका कविताले वर्तमान शताब्दीमा रुग्ण बनेर बसेका ‘लाइ’परेका कीराहरू पहिल्याउन र टकटक्याउन प्रयत्न गरेका छन् । यस सङ्ग्रहका कविताले जाति, धर्म, संस्कृति, वर्ग, सत्ता र सामन्त् वर्गले जोगाइराखेका, सहज रूपमा पालेका ऐजेरुहरू विस्तारै धर्मराउन र खुस्काउन लागेका तथ्यहरू पनि आत्मसात् गरेका छन् ।”

१ सय ४३ पृष्ठमा बुनिएको पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।

= = =

३. सफलता सम्भव छ — डा. बुद्धि मल्ल

बैङ्कर डा. बुद्धि मल्लद्वारा लिखित पुस्तक हो — “सफलता सम्भव छ ।”

१ सय ८० पृष्ठभित्र ‘जिन्दगी सुन्दर छ’देखि लिएर ‘हट्ने होइन डटी लड्ने’, ‘टिमवर्क नै ड्रिमवर्क’, ‘आलोचकहरूबाट हतोत्साहित होइन, उत्साहित बनौँ’, ‘आफू खुसी हुन अरूलाई खुसी बनाउनोस्’सम्म जीवनपयोगी ४१ लेखहरू समेटिएका छन् ।

प्रकाशराज शर्मा लेख्छन्, “यस पुस्तकमा व्यवस्थापनका विभिन्न दृष्टिकोणहरूलाई एकदमै सरल तरिकाले प्रस्तुत गरिएको छ । मानिस सफल हुनका लागि धैर्यतादेखि महत्त्वकाङ्क्षासम्म र सोचदेखि खोजसम्मको विषयवस्तु समावेश गरी विविधता प्रदान गर्ने प्रयास गरिएको छ । यसबाट पाठकहरूले पढेर आनन्दका साथसाथै महत्त्वपूर्ण ज्ञान समेत हासिल गर्न सक्छन् । विभिन्न सफल व्यक्तिहरूका जीवनबाट झिकिएका सटीक शिक्षाले पुस्तक एकदमै प्रभावकारी छ ।”

पुस्तकका पछिललो पृष्ठमा उपेन्द्र पौड्याल लेख्छन्, “यस पुस्तकले आम मानिसमा आशा जगाउने प्रयास गरेको छ । आत्मविश्वासको कमीका कारण प्रयास नै नगर्नेहरूका लागि म गर्न सक्छु भन्ने भावना जागृत गराएको छ । जीवनमा सकारात्मक सोच राख्दै आफ्नो गन्तव्यमा अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ । आफूलाई कमजोर ठान्नेहरूमा आत्मविश्वास जगाउने र आफूमा रहेका सम्भावनाहरूलाई पहिचान गर्दै गम्भिरतापूर्वक अगाडि बढ्न प्रेरणा दिएको छ । पुस्तक जीवनमा सफलताका निचोड तथा सुझावबाट समाजमा व्याप्त नकारात्मकता हटाउन सफल छ ।”

शिखा बुक्सबाट प्रकाशिट पुस्तकको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।

= = =

४. याद — भरत पौडेल

गजलकार तथा कवि भरत पौडेलकृत दोस्रो गजलसङ्ग्रह हो — “याद” ।

यसमा ९३ थान  गजल सङ्ग्रहित छन् । ‘याद’ले प्रेम फुलाउँछ । जिन्दगीको यथार्थ झल्काउँछ ।  पुस्तकभित्र कतै आश त कतै निराश । यसरी ‘याद’ले याद जन्माउँछ ।

पुस्तकको पछिल्लो कभर पृष्ठमा लेखिएको छ,

प्रयास सधैँ खास हुन्छ, अल्छी जिउँदो लास हुन्छ

उही पुग्छ मूलसम्म, जसको आँतमा प्यास हुन्छ

एकैछिनको पूर्णिमाले चन्द्रमाको दाग खुल्छ

नगर माग मिलनको, सामु हुँदा राज खुल्छ

फूलबाट काँडाहरू अलग पार्न जानेदेखि

जीवन कति सरल लाग्छ, मैले हार्न जानेदेखि

त्यहाँ आउने-जाने आदत धेरैको छ

सायद त्यो घरमा लागत धेरैको छ ।

पेज टर्नरबाट प्रकाशित ९४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय २५ रुपियाँ रहेको छ ।