एपेक नेपाल स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा एपेक राष्ट्रिय काव्यमहोत्सवको आयोजना गर्दै छ । साउन १२ गते, शनिवार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने उक्त कार्यक्रममा सातै प्रदेशका १४ कविले आफ्ना कविता प्रस्तुत गर्दैछन् । त्यसमध्ये एक हुनुहुन्छ – लिला अनमोल ।

प्रस्तुत छ, कवि प्रज्वल अधिकारीले लिला अनमोलसँग गरेको कुराकानी :

 

कवि, रेडियो प्रस्तोता, व्यापार, राजनीति पनि गर्नुहुन्छ क्यार, घर परिवार यति धेरै ठाउँमा आफूलाई विस्तारित गरिरहँदा कविता लेख्ने समय या कविता प्रति चिन्तन गर्ने समय कसरी निकाल्नुहुन्छ ?

– खासमा भन्ने हो भने नेपाली महिलाहरू कामकाजी भए पनि, आर्थिक हिसाबले सक्षम भए पनि विवाह पश्चात् घरका काम धन्दा सबै व्यवस्थापन गरेरै सामाजिक गतिविधिमा निस्किनु पर्ने अवस्था छ । यी सबैको व्यवस्थापन गरेर रातिको समय म पढ्ने लेख्ने काम गर्छु ।

माथि भनिएका कामहरू मध्य तपाईंका शोखहरू कुन हुन् र व्यवसाय कुन हो ?

– म कविता नलेखी बस्न सक्दिन । मलाई कवितामा आफूलाई पोख्न पाउँदा, समाजलाई उतार्न पाउँदा सबैभन्दा ठूलो खुशी मिल्छ । विगत २२ वर्ष देखि सञ्चार क्षेत्रमा कार्यरत छु र म सञ्चार उद्यमी पनि हुँ । यसका अलावा मेरा केही व्यवसायहरू पनि छन् ।

नारी लेखनका मुद्दाहरूमा साहित्यहरू लेखिँदै आइरहेका छन् यसबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ र नारी लेखन भनेको नारीले मात्र लेख्नुपर्ने भन्ने पनि यदाकदा सुनिन्छ, यसमा तपाईंको धारणा के छ ?

– खासमा महिला उन्मुक्ति र समानताका सवालहरूमा थुप्रै साहित्य सिर्जना भएका छन्, साहित्यिक बिचार, विमर्शहरू भएका छन् । तर त्यो अझै व्यावहारिक रूपमा हेर्ने हो भने पर्याप्त लाग्दैन । साहित्यभित्र भाषण, छलफल र बिचारको प्रवाह चैं भएको छ । फेरि यो विषयमा मेरो आफ्नो एउटा व्यक्तिगत धारणा पनि छ, कि महिला आफू स्वयं पनि जागरूक हुन पर्छ । पुरुषलाई दोषारोपण गरेर महिला अधिकार र समानताको वकालत हुँदैन । यो समाज निर्माणमा महिला पुरुषको समान सहभागिता जरुरी छ ।

तसर्थ एक अर्काको सहयोगी भएर मात्र समानता प्राप्त हुन्छ।  अर्को कुरा नारी लेखनमा नारीले नै मात्र आवाज उठाउन पर्छ होइन, महिलाका निम्ति पुरुषको होष्टे हैसे चाहिन्छ, पुरुषका निम्ति महिलाको । एकले अर्कोलाई उठाउनु चैं सामाजिक दायित्व हो मेरो बिचारमा ।

यही लेखनको दौरानमा कोशी प्रदेशको प्रतिनिधि कविको रूपमा एपेक नेपालले सम्झिदा कस्तो महसूस भइरहेको छ ? 

– साहित्य मार्फत समाज रूपान्तरणमा सक्रिय स्रष्टाहरूलाई पहिचान गरी यति सुन्दर मञ्च प्रदान गर्ने यो आयोजकले जुन कर्म गरिराख्नु भएको छ एपेक नेपालप्रति आभारी छु, देशमै साहित्यिक कार्यक्रमको अर्थबोध गर्ने मलाई कार्यक्रमको प्रतिनिधि कविको रूपमा मेरो नाम चयन हुनु एउटा कविलाई लाग्ने खुसीको म शब्द बयान कसरी गर्छु, अनुमान लगाउनुस् ।