
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘भ्वाइस एण्ड स्पीच’ कार्यशाला सम्पन्न भएको छ । थापागाउँ, लेखन कुञ्जस्थित आरोहण गुरुकुलमा सञ्चालित कार्यशाला जेठ २९ गते सम्पन्न भएको हो ।
जेठ २६ गतेदेखि सञ्चालित कार्यशालामा वरिष्ठ नाट्य निर्देशक अनुप बरालले प्रशिक्षण दिनुभएको हो । उहाँका साथमा सहायक प्रशिक्षकका रूपमा देव न्यौपाने रहनुभएको थियो ।
कार्यशालाको समापनका क्रममा प्रशिक्षक बरालले कलाकारमा सधैँ तटस्थ हुने र आफूलाई स्विकार्ने गुण हुनुपर्ने बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरूसँग भन्नुभयो, “तपाईंहरू सर्वप्रथम आफूलाई स्विकार्नुस् । अग्लो, होचो, कालो, गोरो, दुब्लो, मोटो जस्तो हुनुहुन्छ, त्यो सबै तपाईं हो, यो कुरालाई स्विकार्नुस् । र, अन्य बाह्य वातावरणप्रति तटस्थ रहनुहोस् ।”
कार्यशालाको समापनमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति निशा शर्माको समेत उपस्थिति रहेको थियो । कार्यशालाको अनौपचारिक रूपमा समापन गर्दै हाँले प्रशिक्षार्थीहरूलाई निरन्तर साधनामा लाग्न सुझाव दिनुभयो । उहाँले प्रशिक्षार्थीहरूसँग भन्नुभयो, “अभिनय भनेको धेरै ठुलो कुरो होइन, तर तपाईंले महसुस र मनन गरेर पात्रको ठाउँमा आफूलाई राखेर आफूलाई विश्वास दिलाउन सक्नुपर्छ ।”
कार्यशालामा करिब ४३ जना प्रशिक्षार्थीहरूलाई आवाज तथा भाषण कला (भ्वाइस एण्ड स्पीच) का बारेमा प्रशिक्षित गराइएको हो । सहभागी प्रशिक्षार्थीहरूले कार्यशालाबाट कलामा तटस्थताको महत्त्व, आफू तथा वातावरणको स्वीकार्यता, भाषण र प्रस्तुति कला, आवाजको अभ्यासलगायत थुप्रै ज्ञानहरू हासिल गरेको बताएका छन् ।
नेपाल नाट्य तथा संगीत प्रतिष्ठानले कलाका विभिन्न विधामा रूचि राख्नेहरूका लागि विभिन्न तालिम दिने उदेश्यले वार्षिक क्यालेन्डर बनाएरै यस्ता विभिन्न कार्यक्रमहरू गरिरहेको छ । यसअघि आफूले विभिन्न जिल्लामा गरेका प्रशिक्षण अनुभवका आधारमा काठमाडौँमा यो कार्यक्रमको आयोजन गरिएको कुलपति शर्माले बताउनुभयो ।
आफूले पदमा नरहँदा पनि आरोहण गुरूकुलमार्फत लामो समय विभिन्न प्रशिक्षणका कार्यक्रमहरू गरिरहेकै अनुभवका आधारमा प्रतिष्ठानले अझ सुव्यवस्थित प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्न सक्ने भएकाले यस्ता कार्यक्रमहरूलाई जोड दिइरहेको छ । हाललाई प्रतिष्ठानको क्षमताले भ्याउञ्जेल आधारभूत प्रशिक्षण सञ्चालन गरिरहेको र भविष्यमा यही कुरालाई सरकारी संस्थामार्फत वृहत् स्तरमा गर्ने चाहना रहेको समेत कुलपति शर्माले बताउनुभयो ।
यसै वर्ष कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भेगमा नाटक प्रशिक्षणलाई निरन्तरता दिनेसमेत उहाँले बताउनुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

रिमाल पुरस्कार प्रेक्षितलाई, साहित्य सदनको अध्यक्षमा प्रा.डा. पौडेल
