भाषा र साहित्यका सिपाही न कहिल्यै थाकछन् न कहिल्यै हार्छन् । साहित्यलाई केस्रा केस्रा पारेर केलाउन निक्कै कठिन छ , यो जगत् नै साहित्यको उपमा हो । विभिन्न कालखण्डमा साहित्यलाई विद्वानहरू , विचारकहरूले फरक फरक परिभाषित गरेको पाइन्छ । भाषा साहित्य भनेको समाजको प्रतिबिम्ब हो ! जातीयताको पहिचान पनि हो ! शब्द र अर्थको सहभाव नै साहित्य हो । हितले युक्त भाव नै साहित्य हो । पश्चिमा मुलुक जहाँ हामी बसोबास बस्छौं यहाँ ‘साहित्य’ भन्नाले कल्पनाको प्रयोग गरी विशिष्ट शैलीमा लेखिएका कृति वा रचनालाई बुझ्ने गरिन्छ ।

पाश्चात्य विद्वानहरूका धारणा यसरी प्रस्तुत भएको भेटिन्छन् अरस्तु (एरिस्टोटल)को विश्लेषण यस्तो पाइन्छ: ‘मनोवेगहरूको विरेचनद्वारा आत्मिक स्वास्थ्य प्रदान गर्नु नै साहित्यको प्रयोजन हो ।’

शेली भन्छन् ‘मानव–मानवका बीच सहानुभूति र प्रेमको आनन्दमय विस्तार गर्नु नै साहित्यको प्रयोजन हो ।’

सिग्मण्ड फ्रायडको बिचार यस्तो छ : ‘मान्छेका दमित कुण्ठाहरूलाई प्रस्तुत गर्नु नै साहित्यको प्रयोजन हो ।’

आर्नल्डले भनेका छन् ‘आनन्दका माध्यमले जीवनोपयोगी ज्ञान प्रसार गर्नु, नैतिकताको विकास र जीवनको नयाँ व्याख्या प्रस्तुत गर्नु नै साहित्यको प्रयोजन हो ।’

रिचर्डस्को भनाइ यस्तो रहेको छ : ‘लोकमङ्गल नै साहित्यको प्रयोजन हो । साहित्य वास्तवमा कठिन, जटिल र व्यापक विषय हो ।

साहित्यस्रष्टा या पाठकहरूमध्ये कतिपयले विद्यालय–विश्वविद्यालयमा नेपाली, अङ्ग्रेजी या अरू कुनै माध्यमबाट साहित्यको विस्तृत र गहन अध्ययन गरेका छन् । तीमध्ये कतिपयले ती कुराहरूलाई व्यावहारिक रूपले आत्मसात् गर्न सकेका छन् त कतिले छैनन् । तर, धेरैले औपचारिक रूपमा साहित्यको अध्ययन नगरीकनै साहित्यसिर्जना या पठन गर्दै आएका छन् । तैपनि हाम्रो समाजमा आजभोलि साहित्यबारे सुरुदेखि नै र गहिराइपूर्वक अध्ययन–अनुसन्धानको रुचि घट्दै गएको देखिँदै छ । साहित्यको जति चर्चा गरे पनि सकिँदैन, यो सिङ्गो ब्रह्माण्ड नै साहित्य हो । साहित्य समाजको दर्पण हो भनी मातृभाषा जनजनको ढुकढुकी हो ।

नेपाली भाषा, साहित्य र सङ्गीतको उन्नयनमा २०१७ मा अमेरिकाको हेरिस्वर्गमा स्थापना भएको त्रिवेणी साहित्य मञ्च हेरिस्वर्गले नोभेम्बर ५, २०२३ का दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्मजयन्ती स्थानीय मन्दिरमा विविध कार्यक्रम गरेर भव्य र सव्य रूपमा मनायो । कार्यक्रममा नेपाली पोशाकमा सजिएका सय बढी साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो ।

साहित्यको उन्नयन संरक्षणमा जुटेका भाषा ,साहित्य ,सङ्गीत र कला प्रेमी सर्जकहरूले महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्बन्धित कविता, साङ्गीतिक कोसेली, मर्मस्पर्शी मिठा मिठा धुन प्रस्तुत गरिएका थिए। मञ्चका उपाध्यक्ष प्रेम घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भुटानी समुदाय ह्यारिसबर्गका अध्यक्ष तिलक निरौला थिए ।

विशेष अतिथि डा. ख्याम अधिकारी, डा. तुलाराम न्यौपाने, पत्रकार अतिथि साहित्यकार भक्त घिमिरे ,अतिथि दिपकजङ्ग, विश्वकर्म,टि बि गुरुङ, र टिका ढुङ्गाना रहनु भएको थियो भने साथै मञ्चका सल्लाकार प्रमुख समाजसेवी भाषाप्रेमी नारद अधिकारीबाट सम्पूर्ण कार्यक्रमको टिपोट गरेको थियो कार्यक्रमको उद्घोषणा मञ्चका अध्यक्ष केशव बैरागी माईलाले गरेका थिए ।

कार्यक्रमलाई औपचारिकता दिन मन्दिरका महाधिपति स्वामी चक्रपाणि अधिकारीले मंगलाचरण वाचन गर्दै दिपप्रज्ज्वलन र महाकविको तस्बिरमा माल्यार्पण गर्नु भयो। महाकवि देवकोटाको संक्षिप्त परिचय कवि,गीतकार,समाजसेवी श्री आविबाबु अधिकारीले प्रस्तुत गरे भने स्थानीय गायिका कान्छीमाया डुङ्गेलले “कुन मन्दिरमा जान्छौं यात्री ” गीतले कार्यक्रममा रौनक थपेको थियो भने गायक बालकृष्ण न्यौपानेको गायन, फुर्वा लामाको तामाङको बाँसुरीको धुन हिमेसश खेर्साङ्को सारङ्गी र यसराजले सुमधुर धनुले कार्यक्रम मनमोहक भएको देखियो ।

कार्यक्रममा ७ देखि १४ वर्ष उमेरका १० बालप्रतिभाहरू आयुस्मा रिजाल, कृपा दाहाल, सुवार्ना शर्मा, प्रनेस अघिकारी, प्रीसा अधिकारी निश्चल मिश्र, आध्या दाहाल, नमिता चिमोरिया, शमिक घिमिरे र साहिका घिमिरे नेपाली तथा अङ्ग्रेजी भाषामा देवकोटा सम्बन्धित उत्कृष्ट, प्रेरणादायी र शिक्षामूलक कविता प्रस्तुति गरेर दर्शकलाई आश्चर्यचकित परेका थिए । बालबालिकाहरू उत्साहमूलक प्रस्तुतिलाई कदर गर्दै प्रोत्साहन र सम्मानमा मञ्चले मायाको चिनो प्रदान गरेका थियो । देवकोटाको प्राण प्यारो मुना-मदन खण्डकाव्यको अत्यन्तै मर्मस्पर्शी श्लोकलाई कला गलाका धनी मातृ शक्ति बासुधा रिजाल, सुधा खतिवडा र सबिना पट्टराईले वाचन गरेर श्रोताको ध्यान आकर्षण गरेका थिए भनी देवकोटाको (पागल) कविता वरिष्ठ साहित्यकार गण्डकीपुत्रको प्रस्तुतिले हल नै मन्त्रमुग्न भएको थियो ।

स्रष्टा मधु घिमिरे, पातलो अन्तारे, त्रिविक्रम न्यौपाने, देबि दागाने, मदन पोख्रेल परमा अधिकारी र शेखर कोइरालाका मिठा मिठा कविता, गजल प्रस्तुति रहेको थियो । विदेशी भूमिमा नेपाली परम्परा र संस्कृति झल्काउने सामूहिक रूपमा तिहारमा गाइने परम्परागत लोकगीत देउसी भैलोले दर्शकलाई घुमिघुमी नचाएको थियो ।

यस कार्यलाई मनोरञ्जन प्रदान गर्न हाम्रै समाजका कर्तव्यनिष्ठा समाजसेवी श्रीधर खरेलले भूमिका निर्वाह गर्नु भएको थियो भने हिन्दु धर्म तथा सांस्कृतिक सङ्गठनले कार्यक्रम स्थलको उपलब्ध गराएर त्रिवेणी साहित्य मञ्चलाई सहयोग गरेको थियो! कार्यक्रम अवधि भरि सामाजिक सञ्जाल मार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण/लाइभ/गरेर फोटो/भिडियो खिचेर मञ्चका वर्तमान सचिव, समाजसेवी तथा साहित्य सर्जक नारद आचार्य सुदामाले सहयोगी भूमिका निर्वाह मात्र गरेनन् कार्यक्रमको संयोजन पनि गरेका थिए ।

कार्यक्रमका सभाध्यक्ष श्री प्रेम घिमिरेले सहभागिता व्यक्तित्व तथा संस्थाहरूप्रति आभार व्यक्त गर्दै कार्यक्रमको समापन गर्ने क्रममा त्रिवेणी साहित्य मञ्चले रोजगार पहिचान नम्बर (EIN) नम्बर प्राप्त गरिसकेको र ५०१ (c) (३) (आन्तरिक राजस्व कर छुट संहिता) कार्य तीव्र गति भइरहेको कुरा जानकारी गराउँदै कार्यक्रमको औपचारिक इतिश्री गरेका थिए ।