साहित्य सदन नेपालले यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार वरिष्ठ कवि, समालोचक, दर्शनविद्, निबन्धकार तथा बालसाहित्यका स्रष्टा प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’लाई प्रदान गरेको छ । बौद्ध रामहिटीस्थित सदनकै सभाकक्षमा आयोजित साहित्य सदन नेपालको साधारण सभा तथा पुरस्कार अर्पण समारोहमा नगद रु. बिस हजार राशिसहित उक्त पुरस्कार प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठी र विशिष्ट अतिथि गङ्गाप्रसाद उप्रेतीबाट प्रदान गरिएको हो ।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि महासमालोचक प्रा.डा. त्रिपाठीले पञ्चायत कालमा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान जनताको बन्न नसकेका बेलामा कवि केदारमान व्यथित, वैकुण्ठमान लाकौल, रमेश विकल, अमिर थापालगायतका दूरदर्शी व्यक्तित्वहरूको पहलमा स्थापना भएको साहित्य सदन नेपालले गौरवशाली साहित्यिक एवम् प्राज्ञिक इतिहास बोकेको संस्था भएको, यसले विभिन्न पुरस्कारहरू प्रदान गर्दै आएको र यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार प्रा. जगत्प्रसाद उपाध्यायलाई प्रदान गरेर संस्थाको गौरवलाई अझै माथि उठाएको विचार व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथिका रूपमा रहनुभएका नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले गोपालप्रसाद रिमाल परिवर्तनका पक्षधर रहेको, साहित्य सदन सोही विचारको संवाहक बनेर विगत झन्डै चार दशकदेखि क्रियाशील रहेको र रिमालका नामको पुरस्कार त्यस्तै सशक्त र सक्रिय व्यक्तित्वलाई प्रदान गरिएको हुँदा सबै कुरा सार्थक भएको विचार राख्नुभयो ।

स्रष्टा रिमाल र पुरस्कृत व्यक्तित्व प्रेक्षितका बारेमा बोल्दै कवि तथा समालोचक प्रा.डा. देवी नेपालले आफूले रिमाललाई प्रत्यक्ष देख्न वा भेट्न नपाए पनि उहाँका कृतिहरूलाई पढ्दा तत्कालीन रिमालभित्र रहेको प्रखर चेतना, निर्भीकता, क्रान्तिकारिता तथा परिवर्तनको चाहना र अहिलेका जगत् उपाध्यायमा रहेको सोही प्रवृत्तिका बिचमा सामीप्य पाइने कुरामा जोड दिनुभयो । उहाँले थोरै लेखेर पनि रिमालले आन्तरिक सङ्गीत चेतनासहितका विचार प्रधान गद्य कविता र नारी समस्या र नारी जागरणले भरिएका नाटकहरूका क्षेत्रमा युगान्तकारी भूमिका खेलेको विचार व्यक्त गर्नुभयो ।

साथै पुरस्कृत व्यक्तित्व प्रेक्षितमा रिमालका धेरै गुणहरू पाइने कुराको चर्चा गर्दै कविता, खण्डकाव्य, समालोचना, निबन्ध, बालसाहित्य, दर्शन, इतिहास, अनुवाद आदि क्षेत्रका झन्डै तीन दर्जन कृतिहरू नेपाली साहित्यलाई प्रदान गरेर आफ्नो स्रष्टा एवम् द्रष्टा व्यक्तित्वको परिचय दिएको, २३ वर्षको उमेरमा लक्ष्मी मावि सल्यानको प्रधानाध्यापक, ४३ वर्षको उमेरमा नेपाल संस्कृत विश्वविद्यालयको प्राध्यापक, सोही उमेरमा विश्वविद्यालयको रजिस्टार र २०७५-२०७९ मा नेपाल प्रज्ञा-प्रतिष्ठानको सदस्य सचिव भएर आफ्नो प्रशासनिक व्यक्तित्वको समेत परिचय दिइसकेको र कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव जगत् उपाध्याय रहेको प्राज्ञ परिषद्ले चार वर्षमा झन्डै चार सय ऐतिहासिक महत्त्वका कृतिहरू प्रकाशन गरेर र अन्य दर्जनौँ अविस्मरणीय कामहरू गरेर कीर्तिमान कायम गरेको कुरामा पनि जोड दिँदै निर्भीकता, सक्रियता, निष्ठापूर्ण अडान, प्रामाणिक तथा आधिकारिक लेखन, कामप्रतिको समर्पण र सत्यतथ्यमा आधारित वस्तुपरक कार्यसम्पादन नै प्रेक्षितको विशिष्ट चिनारी भएको धारणा प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा वाग्मती प्रदेश सरकारका पूर्वमन्त्री रामेश्वर फुयालले पुरस्कृत व्यक्तित्व प्रेक्षितको सक्रियताको प्रशंसा गर्दै उहाँहरूको सफल नेतृत्व र सक्रियताले गर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण कार्य सम्भव भएको र सो कार्यकाल प्रज्ञाको इतिहासमा नै उल्लेखनीय रहेको कुरामा जोड दिनुभयो ।

पुरस्कृत व्यक्तित्व प्रा. उपाध्यायले आफ्नो जन्मस्थल दैलेखको घरमा आजसम्म पनि सुरक्षित प्राचीन महत्त्वका अभिलेख, ग्रन्थ तथा पुरातात्त्विक सामग्रीहरूको स्मरण गर्दै र आफ्ना पितापुर्खादेखिको प्राज्ञिक वंशगौरवप्रति सम्मान गर्दै आफ्नो लेखनमा होस् वा जुनसुकै जिम्मेवारीमा होस् निष्ठामा आँच आउन नदिने र वैचारिक आत्मगौरवलाई गिर्न नदिने प्रण गर्दै यस पुरस्कारले आफूलाई थप सक्रिय बन्न र निष्ठापूर्ण लेखनलाई नछोड्न खबरदारी गरेको विचार व्यक्त गर्नुभयो ।

सदनका कार्यवाहक अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलको अध्यक्षता र कवि प्रह्लाद पोखरेलको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा पूर्वमन्त्री शान्ता मानवी, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, काठमाडौँ महानगरपालिका वडा नं. ६ का सदस्य नरेन्द्र थापा, साहित्य सदनका अध्यक्ष अमिर थापा, सचिव मित्रलाल पंज्ञानीलगायतका व्यक्तित्वहरूले साहित्य सदन, स्रष्टा रिमाल र पुरस्कृत व्यक्तित्व प्रेक्षितका बारेमा आफ्ना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

पुरस्कार अर्पण समारोहपछि सोही सभाकक्षमा आयोजित साहित्य सदन नेपालको साधारण सभाले प्रा.डा. हेमनाथ पौडेलको अध्यक्षतामा सत्र सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । स्रष्टा केदारमान व्यथितदेखिको सुदीर्घ परम्परालाई निरन्तरता दिँदै गठन भएको नयाँ कार्यसमितिमा प्रा.डा.हेमनाथ पौडेल (अध्यक्ष), मित्रलाल पंज्ञानी (उपाध्यक्ष), प्रह्लाद पोखरेल (सचिव), कृष्ण सुवेदी (सहसचिव), वसन्त रिजाल (कोषाध्यक्ष) तथा विमल अर्याल, सीता भट्टराई, नवराज चालिसे, मणिराज लामिछाने, डा. गीता त्रिपाठी, केशव सिलवाल, रमेश खनाल, त्रिलोचन आचार्य, माधवलाल श्रेष्ठ, श्याम खतिवडा, सुनीता बुढाथोकी र विश्वनाथ तामाङ (सदस्य) रहनुभएको जानकारी नवनिर्वाचित अध्यक्ष प्रा.डा. पौडेलले दिनुभएको छ ।

साथै साहित्य सदनलाई स्रष्टाग्रामका रूपमा विस्तार गर्दै लैजाने उद्देश्यले केही नयाँ कामहरू भइरहेका, महानगरपालिकाको सहयोगमा स्रष्टा आवाससहितको भव्य भवन निर्माण भइसकेको, चाँडै उक्त भवनको उद्घाटन सम्पन्न गरिने, बौद्धनाथ क्षेत्र विकास समिति तथा महानगरपालिका वडा नं. ६ को सहयोगमा निकट भविष्यमा नै पुरानो भवनको मर्मत सम्भार गरिनुका साथै नयाँ पर्खाल तथा आकर्षक प्रवेशद्वार निर्माण गरिने कुराको जानकारीसमेत नवनिर्वाचित अध्यक्ष पौडेलले दिनुभएको छ ।