‘आचोमा’ अर्थात ‘आयु चोर्ने मानिस’ नामक प्रथम अध्यायमा के प्रमाणित गर्ने प्रयत्न गरेका छौं भने, एकजना पल्पुलिस्ट वा पपुलिस्ट स्वघोषित ‘फिक्सन डिजाइनर’ केपी ओलीनिष्ठ हुनगएको छ, आवाँ गार्द अथवा ‘युद्धमोर्चाको अग्रिम सेना’ हुनुपर्ने ठाउँमा ओलीव्यसनको ‘साइबर ड्राइभर’ वा ‘अरिङ्गाल सेना’मा भर्ती भएको छ । ‘महाकाली सम्झौता’मा ओली पनि हुन् दाहिने हात, तर ‘लिपुलेक फिर्ता’को मुद्दामा ‘आई लभ यु केपी बा’ भन्दै कुर्लिन्छन् साइबर सिपाहीका जात । एकदिन अमरावती कान्तिपुरी नगरीमा सेलिब्रिटी नगरकोटीका एकजना घनघोर सेल्फीब्रिटी पाठक आत्मउद्घोष गर्छन्, ‘म उनलाई केही बुझ्दिनँ, रमाइलो हो । मेरो दिमागले भ्याउँदैन, किनभने उनी विद्वान हुन् ।’ सञ्चार हुन नसक्ने विद्वानको ज्ञानलाई हामी महान भन्छौं । हामीले के बुझ्नुपर्ने भो भने, ‘सेल्फीब्रिटी’ फ्यानलाई कुनै कुराको ध्यान हुँदैन, ज्ञानको मान हुँदैन; उनीहरू आफ्नो सेलिब्रिटीलाई हुन्छन् महापण्डित भनिरहेका तर आफू भने महामूर्ख बनिरहेका ।
गुरु ज्ञानसिंह’को कृतिको सञ्चार हुन नसक्ने ज्ञानको प्रवृत्ति द्वितीय अध्यायको ‘अच्छाखासा’ सुरुवात हुनसक्छ । नगरकोटीको कथामा एउटा नेपाली ‘सबाल्टर्न’ निमुखाको चरित्र कार्ल मार्क्सको ‘कम्युनिस्ट घोषणापत्र’ फ्रान्सेली र जर्मन संस्करणमा पढ्नु समर्थ छ, ‘दास क्यापिटल’ वा ‘पुँजी’ त झन् उसलाई कण्ठस्थ छ, आफ्नो मालिकलाई इटालेली अन्तोनियो ग्राम्चीको ‘कारागारका पत्रहरू’ पढेर सुनाउन सक्छ, Eric Hobsbawm को ‘How to Change the World: Tales of Marx and Marxism’ को मार्क्सेली उद्धरण गुनगुनाउन सक्छ, – The proletarians have nothing to lose but their chains. They have a world to win. – ; उदेकलाग्दो विषय भने, त्यतिको अध्ययनशील, समझदार नगरकोटीको कर्महारा ‘सर्वहारा’ चरित्र आफ्नो मुक्तिको लागि वरको खुट्टा एक पाइलो पर सार्दैन, ‘मालिक’को बत्तीस बङ्गारा झार्दैन, बदलामा ऊ मालिकको ओठको जुठो ‘खुक्स’ उडाउन सक्छ । गैरऐतिहासिक ! इतिहासको उपहास ! यथास्थितिवादी ! ‘मोक्षान्त: काठमान्डू फिभर’को पात्र मार्क्सको ठाउँमा कोठाको भित्तामा सनी लियोनीको तस्बिर टाँग्छ, किनभने जुँगेदाह्री मार्क्सले उसको टाउको दुखाउँछ, ज्वग्रस्त तुल्याउँछ, तर सनी लियोनीलाई देखे आनन्द आउँछ, जसलाई हेर्दै ऊ ‘एकान्तक्रिया’ गर्न मन पराउँछ । गत मङ्सिरमा एकजना पत्रकार मित्रले प्रदीप गिरिको ग्रन्थ ‘लेनिन’ उपलब्ध गराउने ‘सदबीज’ छर्नुभो, तर उहाँ ‘एक पाइला अगाडि दुई पाइला पछाडि’ सर्नुभो, र सनी लियोनीको ‘स्ट्यान्ड अफ कमेडी’मा झर्नुभो; लियोनीको कमेडी वक्रोक्ति ‘क्याप्टेन अमेरिका, नटी अमेरिका’मा उहाँ मर्नुभो ।
गणेश खनिया बिहीबार, १० भदौ, २०७८ को ‘हिमालखबर’मा प्रकाशित ‘कल्पग्रन्थ : प्रयोग अथवा विलास’मा नगरकोटीको लेखनको सामाजिक महत्त्व नदेख्ने नेपाली ‘लालफित्ताशाही’हरूको उछित्तो काढ्छन् र ‘झ्यालिन्चा’, ‘बुख्याँचा’, ‘भल्चरावलोकन’, ‘कलब्रेकर्स’, ‘फ्याक्ट्री’ र ‘कोरागाउँका किरियापुत्रीहरू’को पर्चा बाँड्छन् । खनियाले नबुझेको के भने, ‘कलब्रेकर्स’ (पृ. १०१-१२) को महत्ता हङकङ एक्सन कमेडी फिल्म ‘गड अफ ग्याम्बलर्स’ भन्दा बढ्ता छैन । आदिवासी छाती फुकाएर तर खनियाको ‘माखाको’ चित्त दुखाएर भन्नुपर्दा, ‘फ्याक्ट्री’ (पृ. ३७८-८६) George Miller निर्देशित सन् २०१५ को ‘Mad Max: Fury Road’ को ‘मिल्किङ पार्लर’ वा ‘दुग्ध-दोहन-कक्ष’को ‘प्यारोडी’ दृश्य होइन, त्यसलाई ‘किस’ गरेको होइन ? -Fury Road- मा महिलाहरूका स्तनहरू औद्योगिक पम्पिङ यन्त्रहरूमा टाँसिएका छन्, गाँसिएका छन् ।
हजुरले मेसिनमा गाईभैंसीको दूध दुहेको दृश्य टिभीमा अवश्य पनि हेर्नुभएको होला । यो फ्याक्ट्रीमा चाहिँ गाईभैंसीको नभई हामी आइमाईहरूको दूध दुहुन्छौं । … दुग्ध-यन्त्र डाक्टरले झुन्ड्याउने स्टेस्थेस्कोपजस्तै प्रतीत हुन्थ्यो, जसको दुई मुख महिलाका दुई स्तनमा जोडिएका थिए र टुप्पाचाहिँ भुइँको जारभित्र लत्रेको थियो ।
(पृ. ३८३-८४, फ्याक्ट्री)
-Fury Road- मा आदिवासी ‘सुकुम्बासी’ महिलाहरूको गन्ध छ, जसको उच्च मध्यमवर्गीय गोरा महिलाहरूसँगको सम्बन्ध छ । Melanie Light को ‘प्रथम नारीवादी भेगन हरर फिल्म’ – The Herd – (सन् २०१४) को गाई जस्तो व्यवहार र उपचार गरिएका महिलाहरू अर्थात उनीहरूको जानवीयकरण वा पशुकरण र नर्सहरूसँग उनीहरूको सम्बन्धलाई सम्झना गर्न सकिन्छ ।
सर्वप्रथम उसले महिलाहरूको स्तन-मुन्टालाई आयोडिन जलले पखाल्यो । महिलाहरूले कुनै प्रतिक्रिया जनाएनन् । … सुकुम्बासी बस्तीका ती भोका नाङ्गा सुत्केरीहरूको स्तनबाट दुग्ध-धारा बग्दै गयो । … जसको दूधबाट बनेको आइसक्रिम शहरका सम्भ्रान्त एवं उच्च घरानियाँ वर्गमा निकै लोकप्रिय थियो ।
(पृ. ३८४, फ्याक्ट्री)
– Fury Road – को ‘दूधको शुद्धता वा पवित्रता’ अथवा ‘सुरक्षाको आतंकवाद’ जस्तो ‘फ्याक्ट्री’मा ‘आयोडिन जल’ छ । अन्ततोगत्वा, – Fury Road – को Wasteland मा ‘दूध दिने आमाहरू’बाट नै जलप्रवाह हुन्छ, उनीहरूले यन्त्रबाट आफ्ना स्तनहरू अनप्लग गरेका छन् । ‘फ्याक्ट्री’ (पृ. ३८५) मा महिलाहरू दूधका जारलाई एक-एक गरी मिल्क बैंकमा डिपोजिट गर्छन् र प्रस्थानद्वारबाट बाहिरिन्छन् ।
सृजना सिंह योञ्जनलाई सम्प्रेषण गरेको नगरकोटीको ‘पोस्टकार्ड स्टोरिज’को ‘उमेर‘ (पृ. १९८):
फुटपाथमा बसी जोखाना हेर्ने ज्योतिषलाई मैले एक साँझ सोधें, ‘पण्डितजी, म कति वर्ष बाँच्छु ? मेरो उमेर कति लामो छ ?
मेरो हातका रेखाहरूलाई सूक्ष्म अध्ययन गरीवरी उनलेे भने, ‘निकै भाग्यमानी रहेछौ बाबु ! लामो आयु पाएका रहेछौ । … ‘ अघिल्तिर तेर्सिएको सडकतर्फ इशारा गर्दै उनलेे थपे, ‘तिम्रो उमेर यो सडकझैं लामो छ ।’
सडकझैं लामो उमेर पाएकोमा दङ्ग पर्दै सडक पार गर्दा जेब्राक्रसिङमा एउटा शव-वाहनले मलाई ठोकिदियो ।
म त मरें तर फुटपाथको ज्योतिष अझै ज्युँदै छ । तपाईंका हातका रेखाहरू पढ्दै छ ।
‘घुम्ने मेचमाथि अन्धो मान्छे’ (२०२६ साल)लाई डाकौं:
भारी ट्रकमुनि थिचिएर
मर्यो एउटा कलिलो ठिटो
हत्केला खोलेर
उसको आयुरेखा लामो थियो
लामो थियो
लामो थियो
मेरा विगत असफल सपनाहरू जस्तै ।
(२०१८ साल, रूपरेखा)
गणेश खनियाले ‘माखेसाङ्लो’ले बेरेको, ‘सामाजिक प्रगतिशीलता’को जोखाना हेरेको नगरकोटीको ‘फ्याक्ट्री’ले – Mad Max: Fury Road – को आयुरेखा, लामो उमेर पाएको छ । ‘शिलापत्र’को नगरकोटीको ‘ऊ कम्युनिस्ट मेनिफेस्टो पढिरहेको छ’ लाई खनियाले झनै सामाजिक महत्त्वको देखेको हुनुपर्छ । नगरकोटीले वाचन गरेबमोजिम, ‘कम्युनिस्ट घोषणापत्र’को ‘दिमाग खलबलिएको‘ छ, ‘सोभियत संघको विघटन‘ भएको उसलाई अत्तोपत्तो छैन, उसको तनमा ‘इतिहासको लेउ‘ लागेको छ । ‘फिडेल क्यास्त्रो र चे ग्वेभाराको सिगार‘ निभेको ठान्ने ‘खुक्स’ तान्ने निकै जान्नेभान्ने नगरकोटी ‘इतिहासको लेउ’मा चिप्लिएर फ्रान्सिस फुकुयामालाई फुकुवा गर्दै ‘द एन्ड अफ हिस्ट्री’को छेउ आइपुगेका छन् ।
तर, नगरकोटीको उसलाई विनोदविक्रमको नवीनतम कृति ‘भेन्टिलेटरमा आमा’को बाल मतलब छैन, हिसिला यमीको ‘आत्मप्रकाशन’मा उत्सुकता छैन । हामीलाई अवगत हुनुपर्छ, नगरकोटीले शुभचिन्तन गरेका उल्लेखित दुई पुस्तकहरू औसत दर्जाका पनि होइनन्, अध्ययन नगर्दा हर्जा हुँदैन । उसको मस्तिष्कमा यद्यपि ‘उन्नाइसौं शताब्दीको शोकधुन‘ गुञ्जिरहेको छ, ऊ ‘युगौंदेखि‘ – कम्युनिस्ट मेनिफेस्टो – पढिरहेको छ । उनकै मनपसन्द इतिहासकार युवल नोह हरारीले – 21 Lessons for the 21st Century – मा ‘एक्काइसौं शताब्दीमा स्टिभेन स्पिलबर्गभन्दा मार्क्स नै प्रभावकारी’ उल्लेखनीय घोषणा गरेपनि उनको मुखमा बुजो लागेको छैन ।
‘इतिहासको अन्त्य’कार फुकुयामाले समेत ‘पुँजीवादको प्रतिद्वन्द्वी समाजवाद’ भनेर स्वीकार गरिसकेको अवस्था छ । – Tales of Marx and Marxism – (लण्डन: सन् २०११, लिटिल ब्राउन, पेपरब्याक एडिसन (सन् २०१२), अबाकस) मा इतिहासकार Eric Hobsbawm सञ्चार गर्छन्:
– Marx and Engels described not the world as it had already been transformed by capitalism in 1848, but predicted how it was logically destined to be transformed by it.
– We now live in a world in which this transformation has largely taken place, even though readers of the Manifesto in the third millennium of the western calendar will no doubt observe the continued acceleration of its advance. In some ways we can even see the force of the Manifesto‘s predictions more clearly than the generations between us and its publication.
(पृ. ११४)
नगरकोटीले व्यक्त गरेको ‘उन्नाइसौं शताब्दीको शोकधुन’ बज्नु बन्द हुनुपर्छ; उनको उसले ‘युगौंदेखि’ पढ्दै मात्रै आइरहेको छैन, ‘पश्चिमी भित्तेपात्रो’को ‘तृतीय सहस्राब्दी’सम्म अर्थात युगदेखि युगसम्म ‘कम्युनिस्ट घोषणापत्र’ को अध्ययन, चिन्तनमनन गर्नेछ । ‘कम्युनिस्ट घोषणापत्र’ खराब देख्नेले आफ्नो आँखा ‘समाजवाद’लाई दान गरे हुन्छ ।
चैतन्य मिश्रको ‘लोकतन्त्र र आजको मार्क्सवाद’को गुरुवचन उनलाई प्रिय हुनुपर्छ: ‘हालसम्म दार्शनिकहरूले संसारको व्याख्या गरिरहे, प्रमुख कुरा भने बदल्नु हो, होइन ‘बुझ्नु’ पो हो ।’ बदल्नु महत्त्वहीन हो, बुझ्नु महत्त्वपूर्ण मान्ने पानीमरुवाहरूले – understanding the world and changing it are one – (पृ. ३२२, मार्क्स र मार्क्सवादी गाथा) को मुद्दाबाट भड्केर ‘युगौंदेखि’ खरानी घसेका छन् र कोही मनुजबाबु मिश्र र नगरकोटी झैं ‘गुफा’ पसेका छन् भने कोही राजमहलमै बसेका छन् । स्वामी महाराज ! कस्तो महसुस हुन्छ भने, बिरालो मरेको मुसो ढाडमा बोकेर हिँडिरहेछ ।
अभया सुब्बालाई थोपरिएको ‘हेलमेट’ नामक ‘पोस्टकार्ड स्टोरिज’ (पृ. १८१) मा उनको विचार छ, ‘मलाई के लाग्यो भने हेलमेट भनेको वास्तवमा अनेक खालका सिद्धान्त, दर्शन, धारणा र वादहरू हुन् । अधिकांश मनुष्यले कुनै न कुनै हेलमेट लगाएका छन् तसर्थ गिदीले काम गर्दैन ।‘ हेलमेटको प्रयोग कहाँ हुन्छ, बिचरालाई ज्ञान छैन । मोटरसाइकल चढ्दा उनलाई हेलमेट लगाउनुपर्दैन । त्यसैले, – Mad Max: Fury Road – मा ‘फ्याक्ट्री’ मालिकको दुर्घटना भइसक्यो ।
आधुनिताको ‘आवाँ गार्द’ वा ‘युद्धमोर्चाको अग्रिम सैनिक’ सोचेर ‘समकालीन साहित्य’मा भित्र्याएका अर्थात ‘डेब्यु गराएका’ अविनाश श्रेष्ठलाई नगरकोटीले ‘गुफा’को शरण परेको, ‘किस’को पावन चरणस्पर्श गरेको थाहा छ, छैन, कर्ण फुसफुस अर्थात मोबाइल वार्ता कथाले मागेको छ, ज्यान निकारामै होला क्यारे, साह्रो न्यास्रो लागेको छ ।
अविनाश श्रेष्ठका गुरु ईश्वर बरालको ‘मोहन कोइरालाका कविता’को ‘सम्पादकीय’मा पुनः डुबुल्की लगाऔं:
मोहन कोइरालाका शैलीजन्य दोषमध्ये दुर्बोध्यताको चर्चा पनि गरिन्छ । अचेलका कवि बिनसित्ति दुर्बोध्य हुन्छन् पनि । दुर्बोध्यताका चार प्रमुख कारण छन् । प्रथमतः पाठकलाई पनि आफूसरह बौद्धिक अपेक्षा गर्ने कविको मानसिकता; द्वितीयत: अनुभव तथा प्रघातलाई अर्थ्याउने क्षमता नहुँदा कविका आफ्ना ध्येयको परिपाकको अभाव; तृतीयत: भावनाका तुमुलतालाई निर्मर्याद हुन नदिने साधनाको ह्रास औ चतुर्थत: व्याकरणका अनेकविध प्रमाद औ ‘ढंगमरु’ रचनाकारिता ।
(पृ. ब)
अग्रज महिला कवि गफ्फिन्छिन्, ‘नगरकोटीमा भाषालाई कर्याककुरुक, मर्याकमुरुक पारिदिने शक्ति छ ।’ उनले भन्नु खोजेको बरालको ‘चतुर्थ’ पदअन्तर्गत परेको हो ? नगरकोटीका ‘फ्याक्ट्री’का नेपाली मजदुरहरू फ्रान्सेली-जर्मन संस्करणमा ‘पुँजी’ पढ्नसक्छन्, त्यसैले पाठक पनि उनीजत्तिकै, उनका पात्रहरूजस्तै बौद्धिक हुनुपर्छ । तर उनकै रचनामा, कुनै पात्रको कोठामा मार्क्स, लेनिन, माओको तस्बिर हटाएर पोर्नस्टारको फोटो टाँगिएको हुनसक्छ । स्वयंलाई मार्क्सवादी-अराजकतावादी दाबी गर्ने मित्र लेघ्रो तान्छन्, ‘पोर्नको महिमा अपरम्पार छ, जसलाई बुझ्नु भाषा पनि चाहिँदैन । आवालवृद्धवनिताले बुझ्छ अर्थात बच्चाको आँखा परे पनि बुझ्छ, जवान, बूढाले नैनसुख गरे पनि बुझ्छ ।’ भाषालाई विकृत तुल्याएर गैरक्रान्तिकारी लेखक तिनका चरित्रमार्फत कसरी पुुँजीबजारको ‘नग्नता’ वा ‘अश्लीलता’मा ऐक्यबद्धता जाहेर गर्दछन्, त्यसलाई प्रकट गर्न मार्क्सवादी-अराजकतावादीको भन्दा अर्को धमाकेदार अभिव्यक्ति हुनसक्छ ?
[कृषिमन्त्री] बोले, ‘स्वास्नी हाम्रो प्राइभेट प्रोपर्टी भएकोले त्यसमा हामी लोग्नेहरूको वैधानिक हक लाग्छ । उसलाई हतकडी लगाउन मिल्छ तर जहाँसम्म गर्लफ्रेन्ड र प्रेमिकाहरूको कुरा छ, तिनीहरू पब्लिक प्रोपर्टी हुन् । तिनीहरूमा हाम्रो वैधानिक हक लाग्दैन । तसर्थ गर्लफ्रेन्ड र प्रेमिकाहरूलाई हतकडी लगाउन मिल्दैन ।’
(पृ. १०५, कलब्रेकर्स)
भाषाको जञ्जालमा गैरक्रान्तिकारी रचनाकारको आवालवृद्धवनिता सामु नग्नताको चर्चापछि हामी वाल्ट ह्विटम्यानको ‘लिभ्स अफ ग्रास’ वा ‘घाँसका पातहरू’ (सन् १८५५) टिप्नु जाँदै छौं ।
हामीले पछि जान्यौं त्यो, अघि जन्म लिनेहरू ।
ती बामे अघि नै सर्छन्, अघि नै बोल्न जान्दछन् ।।
– बालकृष्ण शमशेर
रोबर्ट फ्रैंकले के जानकारी पेश गर्छन् भने, ह्विटम्यानले सन् १८५० मा ‘लिभ्स अफ ग्रास’ लेख्नु सुरु गरेका छन्; ब्रुकलिनको स्थानीय प्रिन्ट शपमा काम गर्ने कविले प्रकाशनको लागि स्वयंले भुक्तान खेपेका छन् । आर्थिक संकटका कारणले उनले ७९५ – ट्रेडमार्क हरियो कपडाको आवरणमा २०० – प्रति मात्रै छाप्नु सकेका छन् ।
१७१ वर्षपछि ‘एसिड फ्री’ अर्थात अम्लरहित, बाक्लो गातावाल ‘कल्पग्रन्थ’मा ‘लिभ्स अफ ग्रास’को सन्दर्भ जोडेर के परिकल्पना गर्नु सहज हुनेछ भने, ‘कल्पग्रन्थ’कारले ह्विटम्यानको जस्तो सीमित प्रतिहरू निकाल्नु चाहेको हुनुपर्छ । ह्विटम्यानको आर्थिक बाध्यता हो भने, नगरकोटीको के हो ? ह्विटम्यानको कविता छ, ‘आई सेलिब्रेट माईसेल्फ’ । ‘कल्पग्रन्थ’ नगरकोटीको ‘पुस्तक उत्सव’ हो ।
‘हिमाद्री बिहान ठीक ७:५५ बजे (पृ. ३, ज्ञ) वा ‘अन्ना करेनिनाले आत्महत्या गरेको पेज नं. ७५५ (पृ. ७, अक्षरगञ्ज, काठमाडौं: साङ्ग्रिला पुस्तक प्रा.लि., २०७१)’ अथवा ‘कल्पग्रन्थ’को हुने भनिएको पृष्ठ ७७७ को सङ्ख्यामा ‘कल्पग्रन्थ’को पाठक प्रति आउन सक्नेथियो । ‘कल्पग्रन्थ’को अन्तिम ‘खग्रास’ नामक ‘टाइपोग्राफिक स्टोरी’ पृष्ठ ५३१ देखि ७९८ सम्म फिँजारिएको छ, त्यसैले सम्भावना ७९८ को पनि हुनसक्थ्यो । किनभने, उल्लेखित सङ्ख्याहरूलाई हामीलाई ह्विटम्यानको ७९५ को समीप लैजाने दायित्व वहन गर्दछन् ।
स्मरणीय छ, वसन्त बस्नेतले ‘नेपाली साहित्यका प्रथम साहित्यिक दलाल’ भनेर व्यङ्ग्य गरेका नगरकोटीका ‘लिटररी एजेन्ट’ राजन गोदार ‘एक कुशल फिक्सन डिजाइनरको ठगाहा काम : अक्षरगञ्ज‘ शीर्षकको ‘र्यान्डम रिडर्स सोसाइटी अफ नेपाल’को पचासौं छलफल कार्यक्रमको आलेख आफ्नो ‘ब्लग’मा राख्छन्:
प्रिय जीवन,
यो किताब भोलि लेखिएको थियो । हिजो छापिनेछ ।
तिम्रो उही मृत्यु ।
उनी प्लेजियारिस्ट हुन् : अरू लेखकले दु:खले बनाएका पात्र र चरित्रले दिने संवेदनालाई ठाडै सोहोरेर आफ्ना कथामा लादिदिने प्लेजियारिस्ट ।
अर्काको कामलाई मात्रै टोन दिने मान्छेलाई क्रियटर वा राइटर भन्दा डिजाइनर भन्नु नै वेश होला । उनले यत्ति कुरामा इमानदारिता देखाएका छन् । … एक क्लेप्टोमेनिक चोरी जुन आर्थिक नाफाघाटाको लागि गरिँदैन ।
वेबसिरिज ‘मिर्जापुर’को द्वितीय शृंखलाको कथन उल्लेखनीय छ, ‘हजुर राजनीतिज्ञ, म व्यापारी । तर, बीचमा यो जेपी यादव दलाल के गरिरा’छ ? अबदेखि हाम्रो सम्झौता आमनसामने हुनेछ ।’ लेखकले सम्पर्कको तोरण प्रत्यक्ष पाठकसँग बाट्नु खोजेको हो भने, ‘सीमित प्रति’ बाँड्नु खोजेको हो भने ‘अग्रिम बुकिङ’को नाम दिएर त्यसलाई किन ‘असीमित’ तुल्याएको ? लेखकलाई आर्थिक घाटा किन हुनसक्दैन भने, ह्विटम्यान जस्तो स्वयं उनी प्रकाशक होइनन् । आफ्नो सिर्जनाको ‘लिमिटेड’ प्रति निर्धारणमा हस्तक्षेपकारी भूमिका खेल्न नसक्ने र ‘निमा’का ‘गेसपेपर’हरू जस्तो बजारले सफलताको जति ‘अनलिमिटेड’ प्रति माग गरेको छ त्यति नै दिने हो भने, कुनै पनि हालतमा ‘कल्पग्रन्थ’लाई ‘लिमिटेड एडिसन’ भनेर हचुवामा छाती ठोकुवा गर्नु सकिँदैन, ‘आई सेलिब्रट माईसेल्फ’ भन्नु सुहाउँदैन ।
ह्विटम्यानको श्लेष ‘लिभ्स अफ ग्रास’को अर्थ छ । ‘ग्रास’को माने कुलीन वर्गले ‘घाँस’ ठहर्याएको वा घाँस नहालेको, सम्भ्रान्त वर्ग घाँस नचरेको पुस्तक र ‘लिभ्स’ घाँस किताबका पातहरू अर्थात पाताहरू । नगरकोटीको ‘अक्षरगञ्ज’मा पनि ‘पेग’का ‘पेज’हरू छन् । उदाहरणका निम्ति, ‘७ पेग’मा तोरीको फूल -माफ गर्नुहोला – ‘लास्ट स्टेसन’ (पेज, ६१-७३) देखिन्छ ।
‘कल्पग्रन्थ’ ह्विटम्यानको जस्तो ‘डु-ईट-योरसेल्फ’ योजना भने होइन । ह्विटम्यानको ९५ पृष्ठको प्रथम संस्करण केवल एक दर्जन कविता सङ्ग्रहित सानो ग्रन्थ हो । एकातिर ब्रुकलिनको स्थानीय प्रिन्ट शपमा काम गर्ने ह्विटम्यान छन् भने अर्कोतिर ‘होलटाइमर राइटर’ नगरकोटी ।
सबैभन्दा महत्त्वपूर्ण के भने, ‘लिभ्स अफ ग्रास’को ‘आई सेलिब्रेट माईसेल्फ’ – संसारका मजदुरहरू एक होऔं – को आह्वान गर्छ, तर नगरकोटीको ‘मोक्षान्त’ – संसारका प्रेमीहरू एक होऔं – को नारा लगाउँछ ।
फ्रेडरिक एङ्गेल्सको ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’को ‘ओरिजिन अफ लभ’ वा ‘यौनिक प्रेमको उत्पत्ति’ सम्बन्धित हरफहरू ध्यानपूर्वक अध्ययन गर्नुपर्ने टड्कारो जरुरत छ । नगरकोटीको ग्रन्थले कथित माथिल्लो वर्गसँग ‘पेग’माथि ‘पेग’ चढाउँछ, ‘पाठक’लाई – idiot, namely ‘a person concerned with his own private affairs and not with those of the wider community’ – (पृ. १०८, मार्क्स र मार्क्सवादी गाथा) हुन लगाउँछ ।
‘लिभ्स अफ ग्रास’को प्रथम संस्करणमा ग्रन्थकार-प्रकाशक – दुवै ह्विटम्यान – को नाउँ राखिएको छैन । ‘सन्दर्भ सूची’को बुर्कुसी पनि मारेको छैन । कुनै पनि कवितालाई ‘शीर्षक’को खुशी पनि बाँडेको छैन । नगरकोटी बताउँछन्, ‘कल्पग्रन्थबाट नगरकोटी हटाइदिए पनि हुन्छ ।’ तर, ‘कल्पग्रन्थ’ले पब्लिसिटीको सारा दसगजा मिचेको छ । ‘कल्पग्रन्थ’कार र ‘बुक हिल’ले ‘अनलिमिटेड’ हल्ला मच्चाएको छ । पुस्तकमा बल्ढ्याङ्ग्रे अक्षरमा लेखक तथा प्रकाशकको नाउँ फिँजाएको छ । ‘कल्पग्रन्थ’का सन्दर्भ सूची ‘कथाक्रम’ पुस्तक हात लागेको छैन, तर सञ्चारमाध्यममा ‘बाह्र सत्ताईस’को फत्तुर लगाएको छ । ६८ शीर्षकका विविध ‘स्टोरिज’ छन्, तर एउटामा मात्र पनि ६४ कला छैन । जुन उत्सवमा कुनै कला हुँदैन, सो बेअर्थको हल्ला हुन्छ ।
आफ्नो ‘पुस्तक गोजीमा अटाओस्’ भन्ने ह्विटम्यानको उद्देश्य छ,’मानिसहरूले मलाई आफूसँगै लैजान सकून्, खुला हावामा मलाई पढ्नु प्रेरित होऊन् । खुला हावामा मलाई अध्ययन गरिरहेका पाठकहरूले नै मेरो सफलताको निर्धारण गर्नेछन्, मलाई जीवन्त तुल्याउनेछन् ।‘ भूपेन्द्र खड्काको ‘कल्पग्रन्थ कीर्तन’मा ‘खुला हावा’को कुनै चिन्तन छैन, ‘घरको लाइब्रेरीमा, कोठाको दराजमा सजाएर राख्ने हो ।’
‘लिभ्स अफ ग्रास’को प्रेरणास्रोत एमर्सनलाई ‘पेपर-बाउन्ड’ प्रतिको कोसेली पठाइन्छ; एमर्सन आह्लादित हुन्छन्, जवाफी पत्रमा हार्दिक धन्यवाद भन्छन्, नतमस्तक बन्छन्, ‘अमेरिकाको अहिलेसम्मको असाधारण बौद्धिकताको योगदान ।’ हावामा कावा खानुपर्ने काव्यले ह्विटम्यानको ‘डिपार्टमेन्ट अफ द इन्टेरियर’को जागिर चुँडायो । किनभने, ‘इन्टेरियर’का सेक्रेटरी जेम्स हार्लेमले ‘घाँसपात’ ग्रन्थलाई ‘आपत्तिजनक’ सोचेका छन् । कवि – John Greenleaf Whittier – ले आगोमा झोसेका छन् । ‘द स्याटर्डे पोस्ट’ले पुस्तकको आलोचना गर्दै लेखकलाई देहत्याग गर्ने सल्लाह दिएको छ । तर, शिक्षण पेसाबाट स्वअवकाश लिएर पूर्णकालीन लेखक बनेका नगरकोटीको टीकाराम यात्रीसँगको आत्मप्रकाशन छ, ‘मलाई जन्तभन्दा मलामी जान आनन्द लाग्छ ।’ कसको ? स्वयंको ?
– Robert Frank – सुस्केरा हालेको सुनिन्छ:
It’s unclear what Whitman—a man hounded throughout his life by poverty and devoted to the common man—would make of his book selling for $305,000 to a wealthy buyer. He may be rolling in his grave. Or he may be reciting the first line of “Leaves of Grass”: “I celebrate myself.”
ह्विटम्यानको काव्यिक कृतिको प्रथम संस्करणको एक प्रति वर्तमानमा ३०५,००० डलरमा बिक्री हुन्छ । ‘लिभ्स अफ ग्रास’को प्रथम संस्करणको एक प्रतिको अघिल्लो कीर्तिमान २३०,५०० डलर छ । अर्को चर्चायोग्य विषय छ, ह्विटम्यानले आफ्नो कृतिको हरेक संस्करण परिष्कार गरेका छन् । एक दर्जन कविता सङ्ग्रहित प्रथम संस्करण ‘मृत्युुशैय्याको संस्करण’ अर्थात नवौं संस्करणमा आइपुग्दा चार सय ज्यादा कविताको सङ्ग्रह हुन्छ । एमर्सनको प्रतिको हाराहारी नभनौं, तर ‘बुकहिल’का अनुसार ३७१३ प्रति बुकिङ भएको ‘कल्पग्रन्थ’ अठहत्तर असार तेह्रमा नारायण वाग्लेलाई प्रथम ‘पूर्व-भुक्तान-प्रति’ नगरकोटीले टक्राउँछन् र त्यसको वितरण सुरु हुन्छ । वाग्लेको अभिव्यक्ति छ, ‘निकै प्रयोगशील ! कल्पनाशील !’ उनलाई जवाफ हामीले माथि पस्किसकेका छौं । एमर्सन जस्तो वाग्ले ‘कल्पग्रन्थ’को प्रेरणास्रोत हुन्, होइनन्, सोको जवाफ हामी ‘तृतीय खण्ड’मा खोज्ने प्रयत्न गर्नेछौं ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।