वर्तमान अवस्थामा नेपाली साहित्य बजार “कल्प–ग्रन्थ”ले तताएको छ । फिक्सन डिजाइनरका उपमा पाएका सेलिब्रेटी लेखक कुमार नगरकोटीको यस कथासङ्ग्रह हालै मात्र बजारमा आएको हो । तर बजारमा आएर पनि किनेर पढ्ने सुविधा भने छैन । प्री–बुकिङबाट अर्डरअनुसार प्रकाशनमा ल्याएको यस पुस्तक नेपाली साहित्यमा नयाँ प्रयोगको रुपमा हेरिएको छ । बुक हिल प्रकाशन गृहले बजारमा ल्याएको यस पुस्तकको चर्चा चुलिनुको पछाडि पनि यही प्री–बुकिङको नयाँ प्रयोगको हात छ ।

प्रस्तुत छ, बुक हिलका सञ्चालक, लेखक तथा रेडियो कार्यक्रम प्रस्तोता भुपेन्द्र खड्कासँग साहित्यपोस्टका लागि “कल्प–ग्रन्थ”को सेरोफेरोमा रहेर कृष्ण ढुङ्गेलले गरेको कुराकानीको सम्पादित अंश;

“कल्प–ग्रन्थ” पाठकको लामो प्रतीक्षपछि बजारमा आयो । यसको प्रकाशनको बारेमा छोटोमा बताइदिनुहोस् न !

कल्प ग्रन्थ कुमार नगरकोटीको साहित्यिक प्रयोगको सम्मान हो र प्रकाशनमा पनि यतिसम्मको नयाँ प्रयोग गर्न सकिन्छ भन्ने प्रयास हो । नगरकोटीको लेखनलाई मन पराउने पाठकले हामीले उद्घोष गरेको ‘प्री-बुकिङ’मा सहभागिता जनाइदिनुभयो । नेपालमा यस्तो प्रयोग थिएन, कोसिस गर्‍यौं र सफल पनि भयौं जस्तो लाग्छ । प्री-बुकिङका लागि हामीले गत वर्षको ४ महिना समय दिएका थियौं, सो समयमा बैंकिङ र इसेवामार्फत पाठकले प्री-बुकिङ गर्नुभएको थियो ।

नेपाली साहित्यको बजार सानो भएरै पनि होला, लेखक तथा प्रकाशकहरुले नयाँ प्रयोग गर्न आँट गरिहालेको अवस्था देखिदैन । तर तपाईँले सफल बनाएरै देखाइदिनु भयो । यो कसरी सम्भव भयो ?

हरेक सम्भावनाका पछाडि चुनौती त अवश्य छन् । हाम्रो समाज अझै चेतनाको उपल्लोस्तरमा पुग्न सकिरहेको छैन । गरिबीका कारण दैनिक उपभोग्य वस्तु र अन्य जन्जालमै जीवन बितिरहेको छ तथापि हाम्रो समाज विलासिताका समान खरिदमा उद्दत देखिन्छ तर पुस्तक पठनमा पछाडि छ । बजार नभएकै ठाउँमा प्रयोग गर्ने हो । त्यसैले यो प्री-बुकिङको कन्सेप्ट आएको छ । यसको सफलताको पछाडि नगरकोटीको प्रयोग र हाम्रो आँटको कुरा छ भने पाठकको पनि ठूलो लगानी छ ।

पाठकहरुबाट कस्तो रेस्पोन्स पाइरहनु भएको छ ? सञ्जालहरुमा त मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् नि !

प्री-बुकिङको उदघोष गर्ने बित्तिकै नानाथरी प्रतिक्रिया आएका थिए, जुन स्वाभाविक पनि थिए । किनकि हामीले कहिल्यै यस्तो प्रयोगको कल्पना पनि गरेका थिएनौँ । लेखकलाई बिकाउ बनायो भन्नेसम्मका कुतर्क सुनिए । मलाई के लाग्छ भने बिक्नलाई नै लेख्ने हो भने बिकाउ भन्नुको कुनै तुक छैन तथापि लेखनी अब्बल र स्तरीयचाहिँ चाहिन्छ नै ! प्रकाशनअघिका सबैका अडकल फेल खाएका छन् । किताबको बारेमा हामीले गरेको काम र पाठकको अनुमानमा भिन्नता पक्कै छ । सबै पाठक खुसी मात्रै होइन चकित पनि छन् – २०२१ मा यस्तो किताब कसरी आयो ? सामाजिक सन्जालको रोइलोले हामीलाई खासै प्रभाव पार्दैन, हामीले काम गर्ने हो, र नतिजा पाठकले देखाउने हुन् । किताबै नदेखी त तर्क-वितर्क गर्नुको त के नै तुक रह्यो र !

नेपालका कतिपय सेलिब्रेटी लेखकहरुले नै पनि “कल्प–ग्रन्थ”को नयाँ प्रयोगलाई नरुचाएको पाइयो, किन होला ?

को सेलिब्रेटी लेखक ? कसैले किताबको अनुहार नै देख्या छैन, किताब के हो थाहा छैन, किताबको कन्टेन्टका बारेमा अत्तोपत्तो छैन, तिनलाई मन पर्नु र नपर्नुको कुनै अर्थ रहन्न । कुनै सेलिब्रेटी लेखकले किताबको प्री-अर्डर गरेका छैनन् – एकाध जो छन्, तिनमा सम्मान छ । यसमा विशुद्ध पाठकको माया र सद्भाव मिसिएको छ । अब चाहिँ म भन्न सक्छु, नेपाली लेखकले आफ्ना समकालीनका किताब किनेर पढ्नुपर्छ, समकाल बलियो भयो भने इतिहास बन्छ भन्नु भ्रम मात्रै रैछ । नेपाली साहित्य बलियो नभएको कथित लेखकहरूको ढोँग मात्रै हो ।


पहिलो प्रश्न त, तपाईँले आट्नुभएको नयाँ प्रयोग सफल हुन्छ कि हुँदैन भन्ने नै थियो । सफल भयो । अब यो किसिमको प्रयोग नेपाली प्रकाशनमा स्थिपित होला ? बुकहिलकै कुरा गर्दा अब यसको प्रयोग कसमाथि गर्ने सोच बनाउनु भएको छ ?

प्रयोग सफल नहुने भए प्रयोग नै गरिन्न । यसमा मलाई अरुले घमण्डी पनि भन्न सक्नुहुन्छ । प्रकाशनमा गरेका प्रयोग आजसम्म असफल भएका छैनन् । पहिलोपटक पुष्कर शाहको पुस्तकको ५६ जिल्लामा ‘बुक-टुर’ हामीले गरेपछि त्यो फेसन नै बन्यो र बजार बिस्तारमा त्यसले मद्दत पनि गर्यो । हामीले लोकार्पण शैलीमा पनि प्रयोग गर्दै आइरहेका छौँ । पुस्तकको प्रचार शैलीमा पनि प्रयोग नै गरिरहेका छौँ । लेखकको लेखनी अनुसार प्रकाशनमा प्रयोग गर्ने हो । भोलिका दिनमा प्रयोग अवश्य हुनेछन् तर यो लेखकमा निर्भर रहनेछ ।

पुस्तकको घोषणापश्चात् नै नेपाली साहित्यमा लेखक, पुस्तक, प्रकाशक तथा मूल्यलाई लिएर पक्ष विपक्षमा तर्क वितर्कहरु चले । त्यसले विचलित बनाएनन् ? साहित्य र बजार बिगारेको आरोपलाई कसरी लिनुहुन्छ ?

संसारमा केही रचनात्मक र नयाँ काम गर्न खोज्दा तीबारे तर्कवितर्क हुनु स्वाभाविक नै मान्नुपर्छ । हामीले गर्दै गरेको काम के हो भन्ने र त्यसको नतिजा के हुन्छ भन्ने हामीलाई थाहा भएकोले यसले विचलित बनाउने त कुरै भएन । हामीले बजारको नयाँ शिरा खोजेका हौँ, बिगारेका होइनौँ । यस्ता प्रयोग संसारमा पहिल्यै भैसकेका छन्, हाम्रा लागि मात्रै नयाँ हो । साहित्यको श्रीवृद्धि र प्रकाशन इतिहासमा कल्प-ग्रन्थ कोसेढुङ्गा हुनुपर्छ भन्छु म त !

आरोपकै कुरा गर्दा तपाईँलाई प्रकाशकको हैसियतमा लाग्ने आरोप भनेको “नगरकोटीलाई बढी नै प्राथमिकता दियो, सेलिबे्रटी बनायो” भन्ने पनि एक प्रमुख हो । के यो साँचो हो त !

यो आरोप मिथ्या हो । नगरकोटीले आफ्नो बनाएको छवि र लेखनीले चर्चा पाउँदा हामीले प्रकाशनमा पनि केही नयाँ प्रयोग मात्रै गरेका हौँ । जसको लेखनीलाई प्रयोग गर्न सकिन्छ, उसलाई नयाँ तरिकाले बजारमा ल्याउने हो । भोलि अरु लेखकका किताब पनि बजारमा आउलान्, बिस्तारै यस्ता कुरा हराउँदै जानेछन् ।  हाम्रा हरेक लेखकलाई उत्तिकै प्राथमिकता हुन्छ – लेखनी अनुसार । अब यसले अझै फराकिलो बाटो अरु प्रकाशकका निम्ति पनि बन्दै जानेछ ।

एकथरीका मान्छेहरुको तर्क के पनि पाइयो भने, कल्प ग्रन्थको प्रिबुकिङ १ हजारभन्दा बढीले गरेका छैनन् । यसबारे प्रस्ट पारिदिनुहोस् न !

बजारमा यस्ता एकथरी मान्छे सधैँ हुन्छन्, हामीले सबैथरीको कुरा गर्ने हो । कि ती थरी मान्छेलाई नामसूची नै प्रकाश्न गर्नुपर्‍यो ? जस्तो कि, तपाईंले प्री-बुकिङ गर्नु भएको छैन । तपाईँलाई लाग्छ, मैले गरेको छैन भने मजस्ता धेरैले गरेका छैनन् । आत्मकेन्द्रित धारणा हो यो । यो त जे भैरहेको छ, त्यसको रापले जलिरहेकाको आरोप हो ।

अन्त्यमा, प्रिबुकिङ गर्न छुट्नुभएका धेरै हुनुहुन्छ, जो “कल्प–ग्रन्थ” आफ्नो बनाउन चाहानुहुन्छ । अब उहाँहरुले पनि यस पुस्तक प्राप्त गर्नसक्ने आधार केही छन् ?

सबै किताब सबैले पढनु पर्छ भन्ने पनि छैन । सबैले पढ्नुपर्छ भन्ने बोध भएको भए यो किताबको प्री-अर्डर करिब २-३ करोड प्रति आउँदो हो । प्री-बुकिङको खबर सार्वजनिक गर्दा लेखक र प्रकाशकलाई उडाएर बस्नेहरू नै हुन् अहिले कल्प-ग्रन्थका बारेमा अफवाह फैलाउने । ४ महिनाको समयमा त्यति धेरै सूचना आउँदा संसारभरका नेपालीले थाहा पाए तर आफूलाई यसमा संलग्न गराउन चाहेनन् । अहिले किताब देख्दा छुट्यो भन्ने लाग्नु स्वाभाविक पनि हो । देशभरका सार्वजनिक लाइब्रेरी र केही स्कूल-कलेजका लाइब्रेरीमा यो पुस्तक पुग्नेछ । त्यतै पढ्न पाइनेछ । वा कसैसँग मागेर पढ्दा हुन्छ । हाम्रो पूर्व उद्घोषमा हामी प्रतिबद्ध छौँ, यसको पुन: मुद्रण हुँदैन । हामीलाई प्री-बुक्ड गरी पाठकले दिएको माया नै अथाह छ ।