कृष्ण ढुङ्गेलको सिर्जनात्मक निबन्धहरुको संग्रह हो ‘समयको नक्साबाहिर’ । नेपालको सुदूरपूर्वी जिल्ला झापाको सेरोफेरोको सुन्दर पृष्ठभूमिमा उभिएको यस कृतिले अति सामान्यता, अभाव र भयलाई चिरेर एउटा मान्छे कसरी आत्मबलको सिँढी चढ्छ, र चिरन्तर आत्मविश्वास र उचाइतिर उन्मुख हुन सक्छ भन्ने देखाएको छ ।
‘ढुङ्गेल छरितो भाषा, सूक्ष्म दृष्टि र ललित अभिव्यक्तिका लागि चिनिएका छन् । उनको बाल्यकाल, किशोरवय र स्कुले जीवनका मिहिन, रोचक, प्रभावशाली र स्मरणीय घटना–परिघटनाका शृङ्खलाबद्ध आलेख नै ‘समयको नक्साबाहिर’ हो ।’, पुस्तकको अन्तिम पृष्ठमा लेखिएको छ, ‘यसमा उनको व्यक्तित्व तथा विश्वदृष्टि प्रस्ट आएको छ । कृतिले युवा पाठकलाई विशेष ध्यानमा राखेको प्रतीत हुन्छ, यद्यपि यो सबैका लागि पठनीय छ । पाठकले कृतिभित्र आफ्नै सुदूर अतीतको प्रतिविम्वन भेट्टाउनेछन् ।’
पुस्तकमा ढुङ्गेल लेख्छन्, ‘मलाई विश्वास गर्नुहोस्, व्यथाहरु समयका उपज हुन् । कथाहरु पनि समयकै उपज हुन् । यदि तपाईं व्यथालाई कथामा ढाल्न सक्नुहुन्छ भने त्यो पनि मीठो अनुभूति बन्न सक्छ । व्यथाकै फूलहरु कथा बनी फुले भने तपाईंको दिल गार्डेन गार्डेन बन्न सक्छ ।’
‘मिराज’ उपन्यासमार्फत साहित्यको लेखनमा प्रवेश गरेका ढुङ्गेल साहित्यिक पत्रकार तथा स्तम्भकार हुन् । साहित्यक अनलाइन दैनिक ‘साहित्यपोस्ट’का सम्पादकसमेत रहेका ढुङ्गेलको यो दोस्रो कृति हो ।
१५ थान संस्मरणात्मक निबन्धहरु सङ्ग्रहित पुस्तकलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो । १ सय ९२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
१४ असार २०८३, आईतवार 









