आइतबार साहित्यपोस्टले फरक भूमि र फरक भाषा बोल्नेहरुका बीच रहेर पनि नेपाली भाषा र साहित्यका लागि मरिमेट्नेहरुको अन्तर्वार्ता गरिरहेको छ । यसै श्रृंखलाअन्तर्गत यस साता भारतमा बसेर नेपाली साहित्य सृजनामा निरन्तर लागिरहेकी कवि तथा समालाेचक डा. कविता लामासँगकाे अन्तर्वार्ता प्रस्तुत गरेका छाैँ ।
समकालीन नेपाली भाषा साहित्यका सशक्त समालोचक डा. कविता लामा सिक्किम विश्वविद्यालय, नेपाली विभागमा प्राध्यापनरत छिन् । लामाका भानुभक्तका काव्यकृतिको भाषिक अध्ययन (सन् २००२), दिदृक्षा (सन् २००५), अनुशीलन (सन् २०१०) तथा कविता डिस्कोर्स (सन् २०१७) प्रकाशित कृति हुन् । पछिल्ला केही वर्षमा डा. लामा साहित्यिक र भाषिक क्षेत्रमा प्रत्यक्ष सहभागी भई भाषा र साहित्यको उत्थानमा विशिष्ट योगदान पुर्याउँदै आएकी छन् । प्रस्तुत छ, साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेलले डा. लामासँग गरेको अन्तरङ्ग कुराकानीकाे सम्पादित अंशः
हाल मातृशोकमा हुनुहुन्छ, यस संवेदनशील घडीमा आमालाई कसरी सम्झिनुहुन्छ ?
आमा सशरीर मसित हुनुहुन्न भन्ने सत्यलाई नै स्वीकार गर्न नसकिरहेको अवस्थामा छु म । मेरो निम्ति समय यति क्रूर अनि स्वार्थी भइदिन्छ, कहिल्यै सोचेकी थिइनँ । आमा केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँको देखरेखमा म ढुक्कैले विश्वविद्यालयबाट छुट्टी लिएर उहाँसितै थिएँ । १३ डिसेम्बरको बिहानदेखि उहाँ अझ धेर बिसन्चो हुनुभयो । दिनभरि दबाईपानी चलिरहेको भए पनि उहाँको स्वास्थ्यमा कुनै सुधार आउन सकेन । साँझपख हामी दुई छोरीहरूको काखमा बसेर हामीसित कुराकानी गर्दागर्दै उहाँले अन्तिम सास लिनुभयो । उहाँले छाडेर जानुभएको त्यो अन्तिम दृश्य अझसम्म मेरो आँखाअघि बारम्बार आइरहन्छ । त्यो विशेषक्षण मेरो निम्ति असह्य पीडादायक रह्यो ।
आमासित म आत्मगत रूपले जोडिएकी छोरी हुँ । उहाँ मेरो निम्ति आकाश र धरती दुवै । मेरो जीवन आमाबाट सुरु भएर आमामा नै शेष हुन्छ। आमाबाहेक मेरो प्राथमिकता केही रहेन, कहिल्यै पनि । यस्तो स्थितिमा अब तपाईँ नै भन्नु होस्, मैले आमालाई कुन घडीमा कसरी सम्झिनु ? सम्झिनु भनेको आमालाई मैले बिर्सनुजस्तै हो । बिर्सिएको मान्छेलाई पो हामी सम्झने गर्छौँ, होइन र कृष्णजी ? उहाँलाई बिर्सिएर म कसरी बाँच्न सक्छु र ? उहाँ मभित्र हर समय बाँचिरहनु हुन्छ र मात्र आज म जीवित छु तपाईँहरूमाझ ।
अब मातासँगै मातृत्व पनि भौतिक रुपमा तपाईँबाट टाढा भयो । तर के कस्ता रुपमा माता र मातृत्वलाई आफूसँगै पाउनु हुन्छ ? बताइदिनुहोस् न ।
यस प्रश्नले मलाई अत्यन्तै भावुक बनायो। हो, भौतिक रूपमा म आमालाई पुनः पाउन सक्तिनँ । संसारमा सबैथोक पाए पनि आफूलाई जन्म दिने आमालाई हामी फेरि उही रूपमा कहिल्यै पाउन सक्तैनौँ। यो कुरो सर्वविदित हुँदाहुँदै पनि मेरो परिवारमा आमापछि अब मेरी ठूलो नानालाई नै म आमाको रूपमा पाउँछु । आमासँग म आफ्नो मनको कुरा खुलेर गर्थेँ, खुसी बाँड्थेँ, आमा मेरो साथी हुनु हुन्थ्यो । अझ धेरै, आमा म बाँच्नुको कारण हुनु हुन्थ्यो । आमासितै ती सबै कुराहरू मदेखि एक मुल्को साससित चुँडिएर गए तर भित्री मनले भन्यो ममाथि नाना छिन् र अब नानासित मेरो मूल्य र मान्यता उही रहनेछ जो आमासित थिए । अहिले नानाको मुहार र उनको मनको ऐनामा म आमाको मुहार देख्छु । तसर्थ माता र मातृत्वको दुवै रूप मेरी नानामा पाउँछु । त्यस दृष्टिले म आफूलाई भाग्यमानी ठान्छु । आमाको माया, स्नेह र आशीर्वाद यी सबै नानाबाट पाइरहेकी छु । यसरी नानाको सामिप्यले मलाई जीवन बाँच्न सहज बनाइदिएको छ।
मलाई जानकारी भएसम्म, तपाईँ सिक्किम विश्वविद्यालयको प्रथम गोर्खा महिला डीन हुनुहुन्छ, त्यो पनि नेपाली विभाग । यसले नेपाली भाषा तथा साहित्यको उन्वयनका लागि एक साहित्यकारको रुपमा सहयोग मिलेको छ जस्तो लाग्छ ?
सिक्किम विश्वविद्यालयअन्तर्गत छवटा सङ्कायमध्ये भाषा अनि साहित्य सङ्काय एउटा हो । यस सङ्कायमा सातवटा भाषा विभागहरू छन् (चिनियाँ, हिन्दी, अङ्ग्रेजी, भुटिया, लेप्चा, लिम्बू अनि नेपाली) । आफू यसै सङ्कायमा पहिलो गोर्खा महिला डीनको रूपमा नियुक्त हुँदा धेर हर्षित हुनाको साटो यो पद मेरो निम्ति चुनौतिपूर्ण थियो । डीन हुनु एउटा प्रशासनिक प्रक्रियामा एक सोपान बढोत्तरी मात्र हो । यो पद सम्हाल्न अघि म नेपाली भाषा साहित्यकी विद्यार्थी थिएँ, आज पनि आफूलाई विद्यार्थी मान्छु र सधैँ विद्यार्थी भएर रहन चाहन्छु । यो पद आज छ भोलि नहुन पनि सक्छ ।
फरक भूगोलमा रहेर नेपाली भाषा साहित्यको प्राध्यापनमा लाग्दाका केही खास अनुभवहरु छोटोमा बताइदिनुहोस् न ।
फरक भूगोलमा बसे पनि हामीले बोल्ने नेपाली भाषा एउटै हो । भाषाप्रतिको प्रेम र सम्मान भाव पनि एकै हो । आफू यस प्राध्यापनमा लाग्दाको प्रारम्भिक अनुभव मेरा सहकर्मीहरूका अनुभवभन्दा नितान्त फरक छ । पहिलो स्थायी नियुक्ति पत्र लिएर उत्साहित भई बिजनबारी डिग्री कलेजमा ज्वाइन गर्न जाँदा म खालि मन र रित्तो हात घर फर्केकी हिजो जस्तो लाग्छ । मानसिक यातना, अपमान, आँखामा आँसु अनि शारीरिक शिथिलता साथ लिएर फर्कन पर्दा म कुन अवस्थामा थिएँ होला तपाईँ आफैँ अनुमान गर्नुहोस्, कृष्णजी ।
यो मेरो जीवनको असाध्यै तिक्त, पीडादायक र सङ्घर्षमय क्षण रहेको अनुभव मसित छ । पटक पटकको प्रयासपछि पनि कलेज ज्वाइन गर्ने अनुमति नदिँदा मैले उच्च न्यायलयमा केस जितेर आफ्नो नोकरी सुनिश्चित गर्नु परेको कुरा आज इतिहास भइसकेको छ । यसबारे निकै लामो कथा छ, कुनै दिन मौका परे सुनाउनेछु । तर आज त्यही कठिनाइ र विकट परिस्थितिले मलाई आत्मविश्वासी बनायो । नेपाली भाषा साहित्य गत २१ वर्षदेखि यता अध्यापन गर्न पाउनु मेरो निम्ति खुसीको कुरो हो । आफ्नो प्राध्यापनसित इमानदार रही विद्यार्थी (शोधार्थी नानीहरू) सित एउटै परिवारसरह जोडिएर रहनु मेरो निम्ति योभन्दा अन्य सन्तुष्टिको कुरा के हुन सक्छ र ? भाषा साहित्यसित जोडिएकी छु र जीवनलाई सधैँ नयाँ स्वरूपमा बुझ्ने र बाँच्ने हौसला पाउँछु । नेपाली भाषा साहित्यले मलाई मेरो परिचय दिएको छ । आज म कविता लामाको रूपमा तपाईँहरू समक्ष प्रस्तुत हुन सक्नुको कारण नै यस प्राध्यापन पेशाले सम्भव भएको हो । साहित्य अध्ययन अध्यापनले आफूमा सकारात्मकता भरिदिएको अनुभूत हुन्छ । विद्यार्थी नानीहरूले मलाई कहिल्यै उदास र निराश हुन दिँदैनन्, उनीहरू सदैव मेरा निम्ति ऊर्जा र बिहानीको मुस्कान भएर हरेक परिस्थितिमा मसित उभिदिन्छन् । जीवनमा प्राप्त भएका यी साना साना खुसीहरू मेरो प्राध्यापनसित सम्बद्ध छन् ।
बालसाहित्यका हस्ताक्षरहरुको कुरा गर्दा तपाईँको नाम अग्रपंक्तिमा आउँछ । नेपाली बालसाहित्यको अवस्था कस्तो पाउनु भएको छ ?
बालसाहित्यमा मेरो असीम रुचि र चासो छ । तर बालसाहित्यकारहरूको पंक्तिमा म अघि छु भन्ने कुरामा मेरो सहमति छैन । म यस विधा विशेषसित जोडिएर अवश्यै केही काम गर्न चाहन्छु । नेपालको नेपाली बालसाहित्यको दाँजोमा भारतीय नेपाली बालसाहित्यले लेखन र चिन्तन दुवैका साथ डटेर काम गर्न पर्नेछ । यहाँको बालसाहित्य सुस्त गतिमा आफ्नै सुविस्ता हेरेर लेखिँदैछन् । हाम्रा बालबालिकाहरूले ती पुस्तकहरू पढ्दैछन् कि पढेका छैनन् ? यसको चिन्ता कसैले गर्दैनन् । न लेखक, न अभिभावक वा न कसैले । बालबालिकाको निम्ति जे जति बाल सामग्री लेखिँदैछन्, त्यसबारे कहीँ चर्चा छैन, विमर्श छैन, लेखाजोखा छैन । यसको जिम्मेदारी को हुने ? यसको हेक्कासम्म कसैले लिँदैनन् । तसर्थ म अहिलेसम्मका बालसाहित्यको प्रकाशनलाई यथेष्ट मान्दिनँ । भारतीय परिप्रेक्ष्यमा बालपाठक, बालसाहित्यकार, सङ्घ संस्था, र विद्यालय, कुनै पनि पक्ष गम्भीर रहेको छैन । उनीहरूले नेपाली बालसाहित्यको विकासको निम्ति समग्रमा समुचित पहल र प्रयास गरे मात्र यस साहित्यले एउटा सुदृढ परम्परा स्थापित गर्न सक्नेछ ।
हाम्रा अभिभावकहरुलाई अरोप छ, पढ्दैनन् भन्ने । यस्तो अवस्थामा बालबालिकाहरुलाई कसरी बालसाहित्यतिर आकर्षित गर्न सकिएला ?
सबै अभिभावकहरूमाथि यो आरोप लागू हुँदैन । माथिल्लो प्रश्नमा पनि यसको उत्तर पाउनु हुनेछ । प्रतिशतको हिसाबले हेर्दा हाम्रो समाजमा पुस्तक पठन संस्कृतिको विकास ठूलाहरूमा नहुनुको प्रभाव आफ्ना छोराछोरीहरूमा प्रत्यक्ष वा परोक्ष रूपले परिरहेको छ । हाम्रा धेरैजसो परिवारमा नानीहरूलाई पुस्तक उपहार दिने चलन छैन । घरमा ठूलाहरूले पुस्तक त के दैनिक समाचार पत्रसम्म पढ्दैनन् तब छोराछोरीहरूमा त्यो संस्कार कसले रोपिदिने, कसले हुर्काउने ? नानीहरूलाई पुस्तक पठनप्रति कसरी आकर्षण गराउने ? यसलाई म हाम्रो सामाजिक समस्याको रूपमा पाउँछु।
बालबालिकाहरूलाई नेपाली भाषामा पनि बाल पुस्तकहरू लेखिँदैछन् भन्ने सामान्य ज्ञान छैन । यसबारे नानीहरूलाई जानकारी गराउन अभिभावकको परम् कर्तव्य हो तर त्यसलाई वहन गरिदिने सचेत र शिक्षित अभिभावकको कमी हाम्रो समाजमा छ । बालबालिकालाई पुस्तक पसलमा लिएर जाने, पुस्तक किन्ने बानी बसाउने अनि ठूलाहरूले पनि पुस्तक किनेर उपहार दिने अभ्यास गरे हाम्रा नानीहरू पुस्तक पठनप्रति निश्चय आकार्षित हुनेछन् । उपहारस्वरूप प्राप्त पुस्तकप्रति रुचि बढाउन सके, उनीहरूले त्यस पुस्तकको महत्त्व र मूल्य बुझ्ने छन् । अभिभावकहरूले बालबालिकालाई ‘पुस्तक नै तिम्रो अभिन्न मित्र हो’ बुझाउन सके, त्यो नानीहरूको बौद्धिक विकासमा मनग्गे आधार हुनेछ ।
तपाईँकृत कविता डिस्कोर्सलाई महत्वपूर्ण समालोचनात्मक कृतिका रुपमा लिने गरिन्छ । तपाईँको अनुभवमा साहित्यको विकासका लागि समालोचनाले कस्तो भूमिका खेल्नुपर्छ ?
साहित्यको विकासमा समालोचनाको भूमिका अहम् छ । समालोचनाले त्यस साहित्य विकासको स्वरूप र समकालीन प्रवृत्तिलाई चिनाउनका साथै पाठक समूहको ध्यान नवीन अवधारणा र साहित्यिक सिद्धान्तप्रति पनि आकर्षित गर्ने प्रयास गर्छ । अचेलका सचेत लेखकहरूले पनि अनेकौँ नवीन धारणाहरूको निर्माण गर्दै, आधारहरूको खोजी गर्दै, समाजको संरचना बुझेर, पर्गेलेर, अनुसन्धान तथा अध्ययन गरेर मात्र सिर्जना गर्ने गर्छन् । समालोचकहरू मनमा जे आयो त्यसको प्रभावस्वरूप समालोचना लेख्दैनन् । त्यस अभ्यासलाई धेरैपछि छोडिसकेको छ । समालोचना लेख्नका निम्ति धेरै अध्ययन, चिन्तन र धैर्यको खाँचो पर्छ । यस दृष्टिले हेर्दा समकालीन समालोचकहरूअघि असंख्यौँ चुनौती खडा भएको छ । गहन अध्ययनले मात्र समालोचनालाई बलियो आधार प्रदान गर्न सकिन्छ भन्ने मेरो मान्यता छ । कविता डिस्कोर्स (सन् २०१७) पनि यसै मान्यता लिएर हिँड्ने मेरो एउटा प्रयास मात्र हो ।
नेपाली साहित्यमा भइरहेका सिर्जना र समालोचनाको सन्तुलन कस्तो पाउनु हुन्छ ? जे भइरहेको छ, त्यो प्रयाप्त छ त ?
नेपाली साहित्यममा प्रकाशित सिर्जना र समालोचनामाझ त्यति असन्तुलन कायम भएको छैन। यसको स्थिति सन्तोषजनक मान्न सकिँदैन तर यसको अर्थ समालोचना विधा मृतप्रायः भएको कुरा बारम्बार चर्चामा आएको कुरामा मेरो सहमति छैन । हो साँचो हो, सिर्जनात्मक कृतिहरूको जुन बढ्दो संख्या छ त्यसको तुलनामा समालोचनाको संख्या कमै छ । त्यस हिसाबले समालोचनामा कलम सुस्ताएको छ । सिर्जनाको झैँ कलमको गति समालोचनामा तीव्र रूपले चलिरहेको छैन । नेपाली साहित्यको विकासमा समालोचनाले निर्वाह गर्न पर्ने महत्वपूर्ण भूमिका अझै धेरै छ, अहिले जे भइरहेको छ त्यो पर्याप्त छैन ।
पश्चिमा समालोचकीय सिद्धान्तको तुलनामा हाम्रा स्थानीय साहित्यको विश्लेषण गर्दा के कस्ता कठिनाइहरु भेटिन्छन् ?
यो प्रश्न स्वयम्-मा कठिन छ । पाश्चात्य समालोचना सिद्धान्तको दृष्टिले हाम्रो नेपाली साहित्यको विश्लेषण हुनै पर्छ भन्ने कुनै कर वा बाध्यता छैन । हाम्रा केही समालोचकहरू नेपाली साहित्यलाई हेर्ने आधार पूर्वीयतिर फर्केको हुनुपर्छ भन्ने मान्यता राख्छन् । केही पाठक-समालोचकहरू हामीले आफ्नो नेपाली सिद्धान्तको विकास गर्नुपर्छ भन्ने मन्तव्य राख्छन् । सायद यी कुराहरू नै समालोचना क्षेत्रमा देखा परेका कठिनाइहरू, चुनौतीहरू हुन सक्छन् । वास्तवमा पश्चिमी समालोचना सिद्धान्तले नेपाली साहित्यको अध्ययन विश्लेषण गर्नु हाम्रो साहित्य विश्व साहित्यको विकासमा कुन ठाउँमा उभिएको छ त्यसबारे जानकारी प्राप्त गर्नु पनि हो । यसबारे आज यति नै कुरा गरौँ होला ।
समालोचकीय दृष्टिमा नेपालमा लेखिने र नेपाल बाहिर लेखिने नेपाली साहित्यको मूलभूत विशेषता तथा अन्तरसम्बन्ध कस्तो पाउनु हुन्छ ?
यस प्रश्नमाथि लामो लेख नै तयार गर्न सकिन्छ । नेपालमा लेखिने नेपाली साहित्य र नेपाल बाहिर भन्नाले विशेषतः भारतीय नेपाली साहित्यको सन्दर्भमा कुरा गर्दा केही भिन्नता र केही समानता दुवै पाइन्छ । समकालीन साहित्य प्रवृत्तिको आधारमा चर्चा गर्दा यी दुईवटा मुलुकका साहित्यमा गहिरो अन्तरसम्बन्ध स्थापित भएको पाइन्छ । जस्तै, जनजातीय स्वर, नारीवादी चिन्तन, परिवेश विर्मश, विनिर्माण, दलित विमर्श, उत्तरऔपनिवेशिकतावाद आदि ।
विश्व साहित्यमा नेपाली साहित्यको स्थान कस्तो पाउनु हुन्छरु विश्वव्यापीकरणमा नेपाली साहित्यका गाह्रा अप्ठेराहरु के कस्तो पाउनु हुन्छ ?
विश्व साहित्यमा नेपाली साहित्यको चर्चा नभएको होइन। विश्वव्यापीकरणमा नेपाली साहित्यसित रहेको चुनौती भनेको अनुवाद साहित्यको विकास गर्नु हो। यस अतिरिक्त विश्व स्तरमा आयोजना गरिने संगोष्ठी, साहित्य महोत्सव, सम्मेलन आदिलाई पनि महत्त्वका साथ एउटा बलियो मञ्च बनाउन सकिन्छ। यसको निम्ति लेखकहरूले आफ्नो व्यक्तिगत स्तरमा भन्दा सङ्घ संस्थाहरूको सहयोगमा यो कार्य सम्पन्न गर्न सके आजसम्म नेपाली साहित्यकारले बेहोर्दै आएका अप्ठ्यारा परिस्थितिहरूलाई निश्चय समाधानको मार्ग बनाउन सक्नेछ। प्रज्ञा प्रतिष्ठान, नेपाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, विश्व नेपाली साहित्य महासङ्घ, गैर आवासीय नेपाली सङ्घ, तथा विश्व भुटानी साहित्यिक संगठनको निरन्तर प्रयासले नेपाली साहित्यलाई विश्व साहित्यको समकक्षमा उभ्याउन सकेको कुराको म खुलेर प्रशंसा गर्छु।
अन्त्यमा, वर्तमान भारतीय नेपाली साहित्यको अवस्था कस्तो पाउनु हुन्छ ?
वर्तमान भारतीय नेपाली साहित्य सक्रिय, ऊर्जाशील, सिर्जनशील र विकसित अवस्थामा छ। यसमा युवा साहित्यकारहरूको उत्साहजनक सहभागिता र सिर्जनाले यहाँको साहित्य समृद्ध छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।