भयवादका प्रतिपादक तथा साहित्यकार देश सुब्बा  हङ्कङलाई कर्मथलो बनाएर निरन्तर नेपाली  भाषा र साहित्यको क्षेत्रमा काम गरिरहेका छन् । उनका दोषी कर्म (२०५०), अपमान (२०५२), सहिद (२०५६) र आदिवासी (२०६४) गरी चार उपन्यास प्रकाशित छन् । तर उनकाे मुख्य क्षेत्र भने  भयवाद हाे । जसअन्तरगत उनले भयवाद (दर्शन) र सपना, कल्पना र फूल ( दर्शन काव्य )  प्रकाशित छन् ।

हरेक आइतबार साहित्यपोस्टले फरक भूमि र फरक भाषा बोल्नेहरुका बीच रहेर पनि नेपाली भाषा र साहित्यका लागि मरिमेट्नेहरुको अन्तर्वार्ता गरिरहेको छ । प्रस्तुत छ, भयवादका प्रतिपादक देश सुब्बासँग साहित्यपाेस्टका लागि कृष्ण ढुङ्गेलले गरेकाे भयवादवार्ताकाे सम्पादित अंशः

देशजी, कुरा भयवादबाटै सुरू गरौँ, तपाईँकृत भयवादमा गरिएको चिन्तन र यसको औचित्यबारे छोटोमा बताइदिनुहोस् न ।

जीवन र जगत्लाई हेर्ने विभिन्न दर्शन हुन्छन् । भयको आधारमा हेरिने दर्शन नै ‘भयवाद’ हो । झट्टै सुन्दा अपत्यारिलो लाग्छ । परन्तु धेरै दर्शन मानवीय स्वभावबाट आएका छन् । इतिहास, भाषा, दैनिक जीवन, व्यवहार, समाजको संरचना र शरीर विज्ञान सबै मिलाएर हेर्दा भयबाट जीवन, समाज र राष्ट्र सञ्चालित, नियन्त्रित र निर्देशित देखिन्छ । जल्वन्त उदाहरणको रूपमा कोरोना भाइरसको संक्रमणमा हेरौं । भयवादको यही भनाइ सबै दर्शनभन्दा सान्दर्भिक देखिन्छ ।

मानिसका सबैभन्दा आधारभूत आवश्यकता खानु, बस्नु र कपडा हुन् । माक्र्सवादले आधारभूत आवश्यकतालाई आधार बनाएर जीवन, राजनीति र जगतको व्याख्या गरेको पाइन्छ । आधारभूत आवश्यकता पूरा भएन भने मरिन्छ भन्ने भय हिजो थियो, आज छ, भोलि पनि रहनेछ । समाज, धर्म, संस्कार, भाषा, राजनीति यतैबाट आए । यसलाई विस्तार गर्ने क्रममा तपसीलका व्याख्या भए । भयवादले यसैलाई आधार बनाएर दार्शनिक चिन्तन शुरू गरेको हो । जसरी कोरोना कालमा यो व्यवहारिक देखियो, समय र कालसँगै यसको औचित्य रहिरहन्छ । व्यापक हुँदै जानेछ । मेरो भनाइलाई पुष्टि गर्न विभिन्न लेखहरू लेखेको छु । नयाँ पुस्तक पनि छिटै प्रकाशित हुन्छ ।

भय शब्द आफैँमा नकरात्मक उर्जा पैदा गर्ने शब्द हो । भयवादको कभरमै लेखिएको छ, ‘जीवनलाई भयले सञ्चालन, निर्देशन र नियन्त्रण गर्छ’ । यसको अर्थ जीवन नकरात्मक उर्जाको उपज हो ? यसलाई कसरी व्याख्या गर्ने ?

भय नकारात्मक भन्ने शास्त्रीय चिन्तन हो । कुनै पनि अर्थ समय, चेतना, संकेतिक प्रवृत्तिमा भर पर्दछ । अर्थको उत्पत्तिको व्याख्या, अनुसन्धान नभई भाषाको व्याख्या अधुरो हुन्छ । भाषाको जतिको गहन तरिकाले व्याख्या, अध्ययन भएको छ, त्यतिको अर्थको भएको छैन । भाषामा संसार अडेको छैन, अर्थमा अडेको छ । भय जान्न भयको उत्पत्ति जान्न आवश्यक छ । म पढिन भनेँ असफल हुन्छु भन्ने भय राख्नु नकरात्मक होइन । मैले पैसा कमाइन भने भविष्यमा दुःख पाउँछु भनेर डर मान्नु कसरी नकरात्मक हुन्छ ? चालकले सवारी चलाउँदा दुर्घटना हुन्छ कि भनेर डर मान्नु सबै सकारात्मक हुन् । दार्शनिक सुकरातले झूठ, असत्य, अपराधलाई पनि परिस्थिति अनुसार सकरात्मक व्याख्या गरेका छन् । पैसालाई पनि नकरात्मक आँखाले हेरियो भने, दोष मात्र देखिन्छ ।

भय सबैभन्दा सकारात्मक चेतना हो । कर्मचारीलाई कामबाट निकालिदिन्छु भनेर डर देखाउन, नानीहरूलाई चकचक नगर भनेर भनेर डर देखाउनु सबै सकारात्मक हुन् । चिनी कति पिउने यसमा भर पर्छ, मात्रा भन्दा बढी भयो भने अमृत विष बन्छ । यस्ता धेरै छन्, आफैँ गमेर हेर्नुहोस्, समाजबाट पुलिस, अदालत, कानुन निकालिदिने हो भने समाज जंगली युगमा प्रवेश गर्छ । मानिसलाई डरबाट निकाल्न नै राज्यको परिकल्पना गरिएको हो । थमस हब्सको ‘दि लिभियथान’ र ‘सामाजिक सम्झौता’ यसका नजिर हुन् ।

तपाईँ साहित्य, त्यसमा पनि आख्यान लेखिरहेको मान्छे । पछिल्लो समय भयवाद नयाँ दर्शन बनेर आयो । कि यो पनि दर्शनात्मक आख्यान नै हो ?

भयवाद दर्शनात्मक आख्यान होइन, दर्शन हो । भाषाको बनावटले आख्यानात्मक दर्शन बन्दैन बरू दर्शनात्मक आख्यान बन्छ । सवाल पैदा हुन्छ, दर्शन आख्यानमा आधारित हुन्छ या आख्यान दर्शनमा । यो प्रश्न त पानीमा समुद्र हुन्छ कि समुद्रमा पानी भन्ने जस्तै हो । समुद्रमा नै पानी हुन्छ, पानीमा समुद्र हुँदैन । ‘आदिवासी’ उपन्यास भयवादमा आधारित आख्यान हो । त्यस्तै हालै प्रकाशित भएको ‘सपना, कल्पना र फूल’ भयवादमा आधारित काव्य हो । एउटा दर्शनभित्र धेरै विधा अटाउन सक्छ । त्यसैले मैले दर्शनको परिभाषा गर्दा भनेको छु, “दर्शन भनेको सुत्र हो, आवश्यकतानुसार उपयोग हुन्छ ।” मैले आख्यान र काव्यमा प्रयोग गरेको छु । दिपक सुबेदीले समालोचनामा गरेका छन् । न्युयोर्ककी Nonye Aghanya अमेरिकी स्वास्थ्यकर्मी हुन् । उनी ३० वर्षदेखि न्युयोर्कमा स्वास्थ्य सेवामा सेवारत छिन् । उनले स्वास्थ्य उपचारमा लागू गरिरहेकी छिन् । उनका भयवादसँग सम्बन्धित लेखहरू अमेरिकी स्वास्थ्य जर्नलमा प्रकाशित छन् । त्यस्तै Dr. Atanas Radinov ले बुल्गेरियन जर्नलको पब्लिक हेल्थमा सन्दर्भ गरेर लेख लेखे । यस्ता धेरै आइरहेका छन् । प्रारम्भिक छ, समय लाग्छ ।

प्रारम्भमा लेख, कथा, कविता, उपन्यास लेख्ने गर्थे, भयवादको धारणा जन्मिएपछि यतै छु । विश्व दृष्टिकोणबाट अध्ययन गर्दै, अनुसन्धान गर्दै जाँदा प्रशस्त सन्दर्भ भेटें । विश्वमा भयलाई प्रमुख दर्शन बनाएर व्याख्या गरेको पाइनँ । दुःख, खुशी, इच्छा, आवश्यकता, अस्तित्व, विसंगतिलाई सिद्धान्त बनाएर व्याख्या भएको पाएँ । त्यसैले यता तानिएँ ।

दर्शनशास्त्र लेखिनु र त्यसले वैश्विक रूपमा मान्यता पाउनु पक्कै पनि फरक कुरा हुन् । विभिन्न वादहरूमा अल्मलिइरहेको विश्वमा भयवादले आफ्नो हस्तक्षेप राख्ला ? हालसम्मको परिदृश्यले के बताउँछ ?

मेरो LinkedIn account मा तेह्र हजार फलोअर छन् । उनीहरूको प्रोफाइलको पछाडि प्राध्यापक र दार्शनिक लेखिएको छ । धेरैले दर्शन लेख्न खोजेको देख्छु । तर लेख्नु खोजिदैमा लेखिन्दैन, वैश्विक मान्यता दिलाउन चाहँदैमा सकिदैन । दर्शन दर्शनको लागि लेखिनुपर्छ । दर्शन बजारको लागि लेखिनु हुँदैन । सुकरातले भनेको जस्तो ज्ञान पढेर र पढाएर आउँदैन । डाइलेक्टिक मेथकबाट आउँछ । यसमा सत्यता छ । मेरो विचारमा दर्शन जन्मिनु आफैँमा इन्लाइटमेन्ट हो । यसलाई भाषा, तर्क, उदाहरण, मिथले व्यापक र पुष्टि गर्दै जान्छ । जब एउटा बिन्दुमा पुग्छ, वैश्विककरण हुन्छ । अहिलेको विश्वमा सोसियल मेडियाले दौडाउँछ । यो दौडिएर म्याराथुन जित्ने दौड होइन, तर्क, ज्ञानले उचाइमा पुग्ने शिखर हो । हामीमा दर्शनको व्याख्या गर्ने जोगी, सन्यासीलाई महान् दार्शनिक मान्ने संस्कार बसेको छ । व्याख्या कर्ता, आविष्कार कर्ता र मौलिक आविष्कारक फरक हुन् । कुनै एक व्यक्तिले संसारकै धर्म, दर्शन, विज्ञानको व्याख्या गर्छ भन्दैमा ऊ महान् दार्शनिक हुँदैन । ऊ व्याख्याता हुन सक्छ । यस्ता व्याख्याता छिटै वैश्विक हुन्छ, उसका पछिलग्गू धेरै बन्छन् । किनभने उसमा दर्शक, श्रोतालाई लटठ्याउने कला हुन्छ ।

दर्शनको संस्कार हाम्रोमा छैन । दर्शनमाथि गहिरो बहस गर्ने विद्धान् छैनन् । केही सानोतिनो व्याख्याता देखिए । उनीहरू कपी दर्शन छुटयाउन नसक्ने खालका छन् । पश्चिमका दर्शन भित्राउने होडमा छन् । माक्र्सवादको असली सन्तान को भन्ने हकदारको युद्धमा छन् । जो कपी सिद्धान्तमा हक जताउँछ, उसले मौलिक चिन्न र जन्माउन सक्दैन । ऊ त्यसैको कालकोठरीमा बन्द हुन्छ एक दिन त्यस विस्वासमा मर्छ । धेरै अगाडि प्लेटोले व्याख्या गरेको ‘अलेगोरी अफ केभ’को कैदी जस्ता हुन्छन् । गुफामा राखेर कैदीलाई भित्ता नै सत्य भन्न लगाइएयो । उनीहरूलाई समाजका ठगुवाहरूले मान्न बाध्य पारेका थिए । हाम्रोमा आफैँले क्वारेन्टाइनमा राखेका छन् । अहिले पनि माक्र्सवादी, अस्तित्ववादी, उत्तराधुनिक भित्ता समाएर ठूलो स्वरले मञ्च थर्काइरहेका भेटिन्छन् । तपाईँले भन्नु भएसरी सन् १९६० को दशकदेखि विश्वको चिन्तन हराएको छ । पुरानो बोतलमा नयाँ रक्सी भर्ने काम मात्र शेष छ । यस अवसरमा भयवादले हस्तक्षेप गरिरहेको छ ।

भयवादको पुस्तक सन् २०१४ प्रकाशित भयो । सन् २०१६ बाट डा. माइकल फिसर क्यानाडा, बि. मारिया कुमार भारत, ओसिनाकाची अकुमा कालु नाइजेरिया, भवानी शंकर अधिकारीसित संयुक्त लेखिएको पुस्तक प्रकाशित भएका छन् । माइकल इनोयोको दुई पुस्तक र बिं मारिया कुमारको पुस्तकमा भयवादमाथि आंशिक खण्डन गरिएका छन् । ‘इकोफिरिज्म’ भवानी शंकर अधिकारी, ओसिनाकाची अकुमा कालु र म भएर पर्यावरणमा परिरहेको अवसरको बारेमा लेखेका छौं । यो पर्यावरणमा परिरहेको असरको बारेमा लेखिएको पहिलो सैद्धान्तिक पुस्तक हो । डा. माइकल फिसरले ‘इको फिलोसोफी अफ फियरिज्म’ भनेर धेरै टेक्निकल पेपर लेखेका छन् । यस्तै ‘फियर, ल एण्ड क्रिमिनोलोजी क्रिटिकल इस्सु इन अपलाइङ्ग दि फिलोसोफी अफ फियरिज्म’ भन्ने डर, कानुन र अपराधमा आधारित पुस्तक हो । ‘इण्डिया नेशनमा फियर एण्ड प्रेजेडाइज’ भन्ने भयवादी समाज शास्त्र पुस्तक हो । यस्ता प्रयोग हुँदै आएको छ । पुस्तक प्रकाशन हुन मात्रै महत्वपूर्ण भएन, नयाँ विषयमा सैद्धान्तिक हस्तक्षेप गर्नु महत्वपूर्ण कुरा हो । भयवादको आधारबाट, कानुन, समाज, लिङ्ग, जात, पर्यावरणको नवीन व्याख्या हुनुले विशिष्टता राख्छ ।

माथि चर्चा भएका पुस्तक, जर्नल र सन्दर्भको आधारमा भयवादको विश्वमा विशिष्ट स्थान बन्दैछ ।

नेपालकै कुरा गरौँन, नेपालमा तपाईँबाट प्रतिपादित यो नयाँ वादले पाउनु पर्ने आवश्यक मलजल तथा गोडमेल पाएको छ ?

मैले माथि नै भनेँ, हामीमा मौलिक विचारमा चिन्तन गर्ने प्रचलन छैन । प्रचलन महत्वपूर्ण कुरा हो । यो सामाजिक चेतना हो । जुन आँखाले माक्र्सवाद, आधुनिकता, उत्तराधुनिकता, सबाल्टर्न, फिमिनिज्म मात्र देख्छ, त्यो आँखाले नवीनतालाई अस्वीकार गर्छ । स्थापित विचारलाई वाह वाह गर्नेले नयाँलाई केलाएर हेर्न सक्दैन । किनभने उनीहरूको ज्ञान पुरानाको जालमा फँसेको हुन्छ । यो मानवीय चलन हो ।

प्लेटोको कैदीले जसरी नयाँ संसार देखेन, त्यसरी नै गुफाबाट जति नै महत्वको विषय भए पनि देख्दैनौँ । नयाँ कुरा देख्न गुफाबाट बाहिर निस्किनुपर्छ । जुन दिन कैदी गुफाबाट बाहिर निस्कियो, उसका पुराना विस्वास, सत्य सबै बदलिए । नेपालका लेखक, समालोचक, पत्रकार, राजनेता, सामाजिक कार्यकर्ता शास्त्रीय कैदबाट मुक्त नभई भयवादले मलजल तथा गोडमेल पाउँदैन । अर्को खराब संस्कारको विकास भइरहेको छ, त्यो हो जलन, धोका, चाकडी, अहं । यसले कसैको हित गर्दैन ।

तपाईँले मानवले जति पनि आविष्कार तथा विकास गरेका छन्, त्यसलाई भयको उपजको रूपमा व्याख्या गर्नु भएको छ । आदिकालका सामुदाय र अहिलेको विश्वको भय बीच के कस्ता फरक छन् ?

२५ करोड वर्ष अगाडि मानवले ढुंगाको हतियार आविष्कार गरे । यो नै अहिलेसम्म पाइएको प्रथम मानव आविष्कार हो । हतियारको आविष्कार भयले गर्दा नै गरिएको थियो । आदिमकालका समुदाय र आधुनिक समुदायका आधारभूत भय बदलिएको छैन र बदलिन्दैन । ज्याक डेरिडाले भनेको जस्तो अर्थ पर पर सर्दैन । अर्थले बोली र लेखाइलाई बदल्दा अर्थ सरेको भ्रम हुन्छ । उहिले पनि मानिस बाघ देखेर डराउँथे, अहिले पनि डराउँछन् फरक कहाँ छ र ?

हिजो र आजमा संकेतक, बोली र लेखाइ फरक भएका छन्, भेषभुषा फरक छ, प्रविधि र यन्त्र फरक छ । तर आधारभूत आवश्यकता, अर्थ र भय कहिलै फरक हुँदैन । खानु, बस्नु र लाउने आधारभूत आवश्यकता फरक भएन, मृत्युको अर्थ फरक भएन । यो जान्न मैले आइन्सटाइनको सापेक्षवाद सिद्धान्त हेरेर सिकेको हुँ । त्यहाँ प्रकाशको गति स्थायी हुन्छ, यो गतिले समय र स्थान बदल्छ भनेको छ । मानिसको जीवनमा नबदलिने आधारभूत आवश्यकता, अर्थ र भयले भाषा र लेखाइ बदल्दो रहेछ । गुफा, जंगली जनावरको सिकार र बोक्राको रूप समय र स्थान अनुसार बदलिएको छ । यसको अर्थ मूल अर्थ बदलिएको होइन, स्थायी अर्थले संकेत बदलिदिएको हो । ढुंगाको हतियारलाई आणविक हतियारमा बदलियो । गुफालाई गगनचुम्बी महलमा बदलियो तर भय बदलिएको छैन ।

त्यसो भए, आदिकालबाटै स्थिर भयहरू के के हुन् ?

जुनै भय पनि स्थिर हुन्छन् । यी स्थिर भयले वरिपरि आउने परवेश बदलिदिन्छ । जब मानिसलाई भय चेतना, ज्ञान हुन थाल्यो, त्यहीबेलादेखि मृत्युको भय हुन थाल्यो । त्यो अहिले पनि बदलिएको छैन । त्यसैलाई ढाकछोप गर्ने सिलसिलामा सिद्धान्त, विज्ञान, आविष्कार आए । जब कोरोना भाइरसको भय शुरू भयो, यसले कानुन, सम्बन्ध, राजनैतिक, आर्थिक, सामाजिक सबै बदल्दै गएको हामीले भोगिरहेका छौ । हिजो बेलायती, जापानिजहरूलाई सबैले भिसा दिन्थे, अहिले सबैले रोकिरहेका छन् । लकडाउनको कानुन सबैतिर लागू गरिएको छ । यी सबै मरिने भयबाट सञ्चालित, निर्देशित, नियन्त्रित हुन् । कोरोना भाइरसको यो महामारी के मानिसको जीवनको प्रत्यक्षाता होइन ?

यस्तो महामारी, भोकमारी, प्राकृतिक प्रकोप समय समयमा हुँदै आएको छ । यसले अभाव, भोकमरी जन्माएको छ । जब भोकमारी जन्मिन्छ, अनि संघर्ष जन्मिन्छ । यसलाई सैद्धान्तिक रूपमा आजभन्दा ६ वर्ष अघि भयवाद पुस्तकको पाना ४४ मा ‘भाइरस युग’ भनेर उल्लेख गरेको छु । हालै मैले अरिस्टोटलको ‘चार कारण’को सिद्धान्तलाई भयवादी व्याख्या गरेको छु । लकडाउनको अन्तिम कारण लकडाउन होइन, मरिने भयबाट बचाउने हो । अरिस्टोटलका अनुसार लकडाउनको अन्तिम कारण खुशी हुन्छ, भयवादमा लकडाउनको अन्तिम कारण मृत्युबाट बच्न हुन्छ । माक्र्सवाद यसमा मौन छ ।

भयवादलाई विश्वमा स्थापित गराउन के कस्ता पहलहरू गरिरहनुभएको छ ? राज्यस्तरबाट के हुनु आवश्यक छ ?

पहिलो कुरा स्थापितको मापदण्ड हुँदैन । जब अनुसन्धानकर्ताले, प्राध्यापकले, विद्यार्थीले, विभिन्न अध्यापन, खोज, अनुसन्धान संस्थाले यसलाई खोज र अध्ययनको विषय बनाउन थाल्छ, तब स्थापित हुँदै जाँदोरहेछ । एक दुई पेपरको प्रचारबाजी, हल्लाले स्थापित गर्दैन । कुनै पनि लेखन, दर्शन, आविष्कार, सृजना खोजको विषय हुन् । यो समय, काल परिस्थिति अनुसार उपयोगी हुनु पर्दोरहेछ । जुनबेला मैले भयवाद लेखें, त्योबेला मलाई थाहा भएन यसको महन्व । नजानेरै लेखियो । जब यसका प्रतिक्रिया, खोज, जर्नल देख्न थालें, त्यसले मलाई नयाँ बाटो देखाउँदै लग्यो । निष्कर्ष बन्दै गयो, कुनै पनि विचार स्थापित हुन ठूलो आकारको पुस्तक लेखेर हुँदैन, धेरै पढेर मात्र हुँदैन । जब मैले Existence precedes essence लाई खण्डन गरेर Existence of fear precedes essence   लेखेँ, त्योबेलामा आएको डा. फिसर, डा. अच्यत नारायण झा, बि. मारिया कुमारको प्रतिक्रिया देखेपछि त्यो ज्ञान भएको हो । मैले यो तर्क दिन पागल, नाबालक मानिसको प्रयोग गरेको छु । यो कुरा अस्तित्ववादीहरूले ख्याल गरेनन् ।

अस्तिववादमा धेरै दार्शनिक छन्, ती सबैभन्दा अगाडि जाँ पाल सात्र्र छन् । उनी बीसौं शताब्दीका ठूला अस्तित्ववादी दार्शनिक मानिनुको कारण नै माथिको भनाइ हो । सबाल्टर्नको सवालमा समाज संरचनाको सवालमा यस्ता धेरै भयवादी तर्क छन् । मैले गायत्री चक्रवर्ती र मिसेल फुगोको सबाल्टर्न तर्कलाई खण्डन गरेर Fear Free Zone  को तर्क सारें । अर्को तर्क दिउँ, अहिलेसम्मको समाजको इतिहास वर्ग संघर्षको इतिहास भनेर माक्र्सवादी मान्दछन् । यसैको पछि भेलका भेल मान्छे लागेका छन् । तर कसैले कहाँ भएको छ भनेर चियाएर हेरेका छैनन् । नेपालमै पनि मजदुर मालिकको कतिपटक संघर्ष भयो भनेर सोधे, उत्तर पाइन्दैन । कमलरी प्रथाको उन्मूलन भयो । ती कमलरीको कतिपटक जमिदारसित विद्रोह भयो भनेर अभिलेख छैन । कमलरीको कमलरीसित धेरै संघर्ष भएका छन् । संघर्ष जहिले पनि पत्रकारको पत्रकारसित, पुँजिपतिको पुँजिपतिसित हुन्छ ।

आदिमकालमा वर्ग नै थिएन भनिएको छ, वर्ग नै नभएपछि कसरी इतिहास चाहिँ वर्ग संघर्षको भयो ? एक जना मानिस होस् वा धेरै मानिस, भय सधैं हुन्छ । त्यही भयले संघर्ष गर्छ, त्यसैले मैले भनेँ, वर्ग संघर्ष हुँदैन, भयसंघर्ष हुन्छ । कम्युनिष्ट घोषणा पत्रको भनाइ हो, “The history of all hitherto existing society is the history of class struggle.”  मैले खण्डन गरेर भनेँ, “The history of all hitherto existing society is the history of fear struggle.”   झटट् सुन्दा मानिस अवाक् रहला । झटका लाग्ला । यथार्थ यही हो । यस्ता धेरै तर्कहरू स्थापित हुँदै गएपछि विचार आफैँ स्थापित हुँदै जान्छ । दर्शनमा एउटै शब्द प्रयोग गरेर सिङ्गो दर्शनको स्वरूप बदलिन्छ । अझ तार्किक बनाउन नयाँ नयाँ खोज अनुसन्धान गरिनुपर्छ, त्यो म गर्दैछु ।

यी त भए भयवादका कुरा, हङ्कङमा बसेर निरन्तर नेपाली भाषा र साहित्यमा काम गरिरहनु भएको छ, तपाईँ समग्र विश्व साहित्यको पनि राम्रो जानकार हुनुहुन्छ । अब बताइदिनुहोस् कि, नेपाली साहित्यको स्तर विश्वमा कहाँ छ ?

यो प्रश्न समालोचक, लेखकहरूले गम्भीर भएर सोच्नुपर्ने कुरा हो । केही समय अघि एउटा अनलाइनमा एक जना नेपाली समालोचकको अन्तरवार्ता आयो । गहिरिएर पढें । अन्तराष्ट्रिय नेपाली लेखक भनेर दुई जनाको लेखकको नाम उल्लेख थियो । ती लेखक, समालोचकहरूलाई निकैबेर गमे । जो नाम उल्लेख थिए, उनीहरूको अनलाइन प्रोफाइल खोजे, गुगल साइटेशन खोजें, कतै सन्दर्भ, खोज गरेको पाइनँ । न कसैले उनीहरूको बारेमा केही लेखेको भेटें, तर समालोचकले निकै मलजल गरेर उठाउन खोजे । समालोचकले भने जस्तो ती लेखकको स्तर भएन भने पाठकको औँला समालोचकतर्फ सोझिन्छ । उनीहरूलाई आधार मान्ने हो भने, हाम्रो विश्वस्तर त्यति नै हो ।

नेपाली साहित्यको विश्वस्तर कमजोर छ । हाम्रा सृजना, सञ्चार, परिवेश र विषय वस्तु कमजोर छन् । हामीले सृजना गरिरहेको आविष्कारले विश्वको ध्यान केन्द्रित गर्न सकेको छैन । विश्वस्तरीय घटना, दुर्घटना, साम्राज्यवादी हस्तक्षेप, उपनिवेश, दासप्रथा, नहुनु साहित्य लेखनको कच्चा पदार्थ अभाव खडकिएको हो । त्यसको अभाव छ । कच्चा पदार्थको अभाव भयो भने उत्पादन हुन सक्दैन । युरोप, रसिया, र उपनिवेश राष्ट्रको घटना नै विश्वस्तरका साहित्य सामाग्री भए । उनीहरूले भोगेको कष्ट, अन्याय, अत्याचारलाई लेखकले पस्केपछि आफ्नो पीडा आएको भेटे र पढे, लेखे, प्रचारप्रसार गरे । त्यसलाई मलजल गर्न पुरस्कारको स्थापना भयो । त्यो पाउने ठूला साहित्यकार भए । हामी ती सबैमा अटाएनौँ । नअटाउनु भनेको छोडिनु हो । हामी छोडियौँ । हाम्रा राणाकाल, शाह वंश, केही जातिगत कुरा विश्वको चासोको विषय भएन । हामीसित भएको राम्रो कच्चा पदार्थ जनयुद्ध हो । त्यसलाई वैश्विक शैलीबाट प्रस्तुत भएन, त्यो त्यतिकै सेलाउँदै गयो । हामीसित रूढिवादी, अन्यविस्वास, संस्कार, जीवित देवी, आञ्चलिकता जस्ता केही सामाग्री छन्, त्यसलाई मजबुत ढंगले उठाउन सकिएको छैन । केही दुर्लभ कच्चा पदार्थ छन्, त्यसलाई साहित्यमा क्यास गर्न सकिएन । जसरी सगरमाथा, लुम्बिनी र प्राकृतिक सौन्दर्यलाई क्यास गर्न सकेका छैनौं, साहित्यमा पनि त्यही हाल भयो ।

डा. कविता राम श्रेष्ठको ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ अंग्रेजीमा ‘लाइट अफ दी हिमालय’ जस्ता विश्वस्तरीय उपन्यासलाई हाम्रा समालोचक, पत्रकारले कुनामा थन्काइदिए । सस्तो बेसारका साहित्य अगाडि सारे । जब कि हर्मन होसले ‘सिद्धार्थ’ लेखेर नोबेल पुरस्कार जिते । विश्वस्तरीय चलचित्र बन्यो । कुमार नगरकोटी विश्व स्तरीय छन्, केही आसेपासेका साथ उनी श्लेष्मानतक वन घुमिहिँड्छन् । वनबाट निस्किन सकेका छैनन् । कृष्ण धरावासीका राधा, शरणार्थी विश्व स्तरीय उपन्यास हुन् । यसमा विश्व स्तरीय प्रविधि र विषय छन् । राधालाई अंग्रजी अनुवाद गरेर प्रचारप्रसारमा उनी कुदे, अहिले थाकेको देख्छु । यसरी थाक्नु हुँदैन यात्रामा । एकपटक उनले भने, “विदेशमा बस्ने दोस्रो पुस्ताका नेपालीले नेपाली साहित्य पढ्नु, अन्तराष्ट्रियकरण हो ।” मैले भने, “त्यसरी अन्तराष्ट्रियकरण हुँदैन, अन्तराष्ट्रियकरण हुनलाई गैरनेपालीले पढ्नु, सन्दर्भ गर्नु, समीक्षा गर्नु र विश्वविद्यालयमा लेखिनु पढिनु पर्छ ।” नेपाल बाहिर बसेका हाम्रा प्राध्यापक, वैज्ञानिक सबै जागिर जोगाउनमा नै लागिरहेका छन् । यस्तो अवस्थामा साहित्यले मलजल पाउन सक्दैन । अमेरिकन प्रणालीले सिकाउँछ, “मेरो जति सबै राम्रो ।” हामी भन्छौं, “अमेरिकन सबै राम्रो ।” फरक यही छ ।

किताब अंग्रेजीमा अनुवाद हुँदैमा वा अंग्रेजीमा लेख्दैमा विश्वस्तर भइहाल्दैन । यस्तो हुने भए सबै नेटिभ अंग्रेजीमा लेख्नेहरू विश्वस्तरका हुन्थे । यो त भाषा हो । धेरै पुस्तक बिक्री भएको आधारमा पनि विश्वस्तर भयो भन्ने लाग्दैन । पुस्तक बिक्री हुने धेरै कारण हुन्छन् जस्तै ओबामा, रूकमान कटुवालको पुस्तक धेरै बिक्री भएको समाचार आयो । उनीहरू आफैँ लोकप्रिय वा कुनै घटना परिवेशबाट आएका हुन् । पाठकलाई केही उत्सुकता लाग्छ घटना परिेवशबारे जान्न । घटना जान्न पाठकले पुस्तक किन्छन् । ओबामाको पुस्तक उसको जीवनी, राजनीति बुझ्न किनिएको हो, साहित्य होइन । यसैको भरमा विश्वस्तरको साहित्य भन्न सकिन्दैन । पुस्तकको वर्गिकरण हुन्छ, साहित्य, सृजना, दर्शन, घटना, भूगोल विविध विधाका हुन्छन् । हामीले भन्न खोजेको साहित्य हो । विश्व स्तरको साहित्य हुनलाई विश्वका साहित्यकार, समालोचक, पाठकले साहित्यको आधारबाट मन पराएको हुनु पर्यो । दर्शनको पाठकलाई साहित्य मन नपर्न सक्छ । लेख्दा पनि यसरी लेखिनु पर्यो । दर्शन लेख्दा दर्शनको लागि लेखिनुपर्छ । पाठकको लागि लेखिने होइन । विज्ञानको अनुसन्धान विज्ञानको लागि हुनुपर्छ, साहित्य पाठकको लागि होइन । हामी यता पनि अलमलिएका छौं । अलिकति पुस्तक बिक्री भयो भने महान् साहित्यकार भन्ने भ्रममा छौं । यी वर्गिकरणको कसीमा राखेर हेरिनुपर्छ । हामीले लेखिरहेको कथा, कविता, उपन्यास हाम्रो लागि उम्दा होला, उता हुँदैन । उम्दा साहित्यले प्रचार नै पाएको छैन । प्रचार पनि ठूलो कुरा हो । बेलायतीले लेखेको पुस्तक, आविष्कारको हल्ला छ्याप्छयाप्ती हुन्छ, अरूले लेखेको हुँदैन, कम्मनवेल्थको लेखेको हल्ला हुन्छ, ननकम्मनवेल्थले लेखेको हुँदैन, नेपाली सबै कोर्टबाट बाहिर छ । हामीले गर्ने संघर्ष र भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, नाइजेरियाका लेखकले गर्ने संघर्ष फरक छ । उनीहरूका लागि ब्रिटिश औपनिवेशले खुड्किला बनाइदियो, हामीले खुड्किला पनि आफैँ बनाउनु छ ।

भयवादबाट बाहिर आएर निर्भयका साथ भन्दा नयाँ कृतिको तयारी के छ ? कि अबका तपाईँको कलम तथा मष्तिस्क भयवादकै वरिपरि घुम्ने हुन् ?

नयाँ पुस्तक लेखिरहेको छु । छ, सात महिनापछि आउँछ । यसमा के छ, हेर्नुहोला ।

पहिलो कुरा निर्भय भन्ने नै हुँदैन । यो केही सन्यासी जोगीले प्रयोग गर्ने शब्द हो । उनीहरूले भयको गहिराइलाई नबुझेर यसो भन्छन् । निर्भय पशुपन्छी, वनजंगल पनि हुँदैन भने मानिस कसरी हुन्छ ? निर्भय हुनलाई निर्जीव हुनुपर्छ । दिमागको चार भागमध्ये सबैभन्दा पहिला विकास भएको भागको नाम Amygdala हो । यसले हेर्ने नै भय हो । अमेरिकन वैज्ञानिकले मुसाको यो भाग निकालेर प्रयोग गरे । नतिजा के भयो भने, मुसा बिरालोसित जिस्कन थाल्यो । उसको होसै गुम भयो । मानिसको यो भाग निकालिदियो भने मानिसको होसै हराउँछ । होसै हराउने भनेको अर्को अर्थमा चेतनाशून्य हुनु हो । मानिस जीवजन्तु, लेखन, समालोचना सबै भयकै वरिपरि घुमिरहेका हुन्छन् । हाम्रै अगाडि कुनै अमूल्य वस्तु लडिरहे पनि नचिनेपछि मूल्यहीन हुन्छ, चिन्नु भनेको ज्ञान हुनु हो । ज्ञानबाट मात्र भय हुन्छ, र हामी त्यो भयबाट गुज्रिन थाल्छौं । यसलाई मैले सुत्रबद्ध गरेको छु, जीवन, चेतना, ज्ञान र भय । भय भएपछि हामी निस्कने बाटो खोज्छौं । एउटा आस्था, सिद्धान्तमा अडिएपछि अन्यत्र मोड्न मुस्किल पर्छ । वाण अर्जुनको जस्तो हुनुपर्छ । जताततै लक्ष्य गरेर लक्ष्यमा पुग्न सकिँदैन ।

अन्त्यमा, तपाईँले भन्नै पर्ने र मैले सोध्न छुटाएको केही थियो कि ?

मलाई लाग्छ, हामीले ‘कागले कान लग्यो’ भन्दा कागको पछाडि कुद्ने परम्परा त्याग्नुपर्छ । फलानाले भनेको फलाना दर्शन, पुस्तक राम्रो रे, त्यो पढ्नु पर्छ, भन्ने प्रवृत्ति छोड्नुपर्छ । ए मेरो साथीले पुस्तक लेखेछ, त्यसलाई प्रबद्र्धन गरौं, वाह वाह गरौं, भन्ने पनि छोड्नुपर्छ र स्वविवेकले आफ्नो विवेक प्रयोग गर्ने चलनको विकास गर्नुपर्छ । सिद्धान्तको कुरामा डा. सञ्जीवले लेखेका छन्, टच साहित्यको बारेमा । माथ्यु आर्नोल्डको कुरा काट्दै रेमण्ड विलियमले भनेका छन्, सेक्सपियरको पुस्तक कसले पढ्छ, कसले पढाउँछ, कसले प्रचारप्रसार गर्छ, कसले पाठयक्रममा समावेश गर्छ, सबै उच्च वर्गकाले । नेपालमा पनि यही भइरहेको छ । कुनै प्रोफेसरले पुस्तकले लेख्यो भने, कसले पढाउँछ, कसले पढ्छ, कसले प्रचार गर्छ, सबै उसका विद्यार्थी, साथीभाइले । एउटा प्राध्यापकले बीस वर्ष अध्यापन गर्छ भने उसका दुई लाख विद्यार्थी हुन्छन्, ती विद्यार्थीले नै उनलाई सहयोग गरिरहेको देखिन्छ । विद्यार्थीभन्दा बाहिर निस्किने कोसिस गर्नुपर्छ । दुई चार जना साथीभाइ, आफन्तले समीक्षा गर्यो, पुस्तक किनिदिएको आधारमा उम्दा साहित्यको मूल्यांकन हुँदैन । जसको साथीभाइ, विद्यार्थी, प्राध्यापक हुँदैन, उसको पुस्तक जति नै स्तरीय भए पनि छोडिन्छ । यस प्रवृत्तिलाई छोड्नुपर्छ र विशुद्ध साहित्यको लागि समर्पित हुनुपर्छ अनि जन्मिन्छ उम्दा साहित्य, होइन भने आत्मरति मात्र होला । केही प्राध्यापक छन्, नेपाली साहित्य पढाउँछन् र महिनाको अखिरमा तलब बुझ्छन् र मैले नेपाली साहित्यको सेवा गरें भनेर गर्वसाथ भन्छन्, यो प्रवत्ति पनि छोड्नुपर्छ । डाक्टरले बिरामीको उपचार नगरे के गर्ने त ?

अन्त्यमा ‘भयवाद’ बारेमा केही जानकारी राख्ने मौका दिनु भएकोमा साहित्यपोष्ट र तपाईलाई धन्यवाद दिन चाहन्छु ।