चार्ल्स डार्विनको ‘दी ओरिजिन अफ स्पेसिस’बाट प्रभावित उपरोक्त शीर्षकमा फ्रेडरिक एंगेल्सको सन् १८८४ को कृति ‘दी ओरिजिन अफ द फ्यामिली, प्राइभेट प्रोपर्टी एण्ड द स्टेट’ (परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति) मा समावेश अध्याय ‘परिवार’को मदतले प्रेमको उत्पत्तिको इतिहासलाई अध्ययन गरिएको छ; ‘परिवार’को अनुवादको निम्ति ‘फरअन ल्याङ्ग्वेजेज प्रेस, पेकिङ, सन् १९७८, प्रथम’ संस्करणलाई छनौट गरिएको छ । भन्नुपर्ने थोक, अध्ययन-अनुवाद गर्दागर्दै अनुवादकको मस्तिष्कमा जस्ता विचारहरू उब्जिन्छन्, तिनलाई पनि ढल्के अक्षरमा प्रस्तुत गरिएका छन् ।
– अनुवादक
‘दाजुले बहिनीलाई दुलहीको रूपमा अंकमाल गरेको सुन्नुभएको छ ?’ जर्मन संगीतकार विल्हेल्म रिचर्ड वाग्नरको पाठ छ । कार्ल मार्क्सको जवाफ छ, ‘प्राचीनकालमा बहिनी पत्नी हुन्थिन्, जुन अनैतिक भने थिएन ।’ आदिमकालमा दाजुभाइ, दिदीबहिनीहरूले मात्रै दम्पति अर्थात पतिपत्नीको भूमिका निर्वाह गरेका थिएनन्, यद्यपि धेरै जनजातिहरूमा मातापिता र सन्ततिका बीचमा यौनसम्बन्ध अवरोधको विषय छैन । ‘द न्याटिभ्स रेसेज अफ द प्यासिफिक स्टेट्स अफ नर्थ अमेरिका’ (उत्तरी अमेरिकाका प्रशान्त महासागरीय राज्यहरूका आदिवासीहरू, सन् १८७५, खण्ड १) मा अमेरिकी इतिहासकार ह्युबर्ट हो बैनक्रफ्ट के बताउँछन् भने, बेरिङ जलसंयोजक तटका कावियाक, ब्रिटिश उत्तरी अमेरिकाको आन्तरिक प्रदेशका तिन्नेह जस्ता जनजातिहरूमा अझै पनि मातापिता-सन्तति यौनसम्बन्धलाई अनुमति छ । हाडनाता करणीको आविष्कार हुनुपूर्व अभिभावक र सन्तानको यौनसम्बन्ध दुई भिन्न पुस्ताका व्यक्तिहरूको सहवास सम्बन्धभन्दा अधिक घृणित, निन्दनीय, प्रतिकारको विषय हुन सक्दैन । दुई अलगअलग पुस्ताका व्यक्तिहरूको यौनसम्बन्ध हालका आधुनिक भनाउँदा देशहरूमा समेत पाइन्छ; साठी वर्षे लाठी समाएका बूढीकन्याहरू पनि एकदम आर्थिक सम्पन्न छन् भने कहिलेकाहीँ झन्डै तीस वर्षको दशकमा कदम बढाउँदै गरेका युवाहरूसँग विवाह सम्बन्ध गाँस्छन् ।
अनुवादक: ‘ह्वाट द फ्लप’मा सन्दीप क्षेत्री प्रश्न गर्छन्, ‘मधुशाला भन्नेबित्तिकै तपाईंको दिमागमा के ख्याल आउँछ ?’ राजेश हमाल सहज उत्तर पस्कन्छन्, ‘मधु र उसको भाइ ।’ राजेश हमाल-मधु भट्टराई । ज्याङमु शेर्पा-शेरधन राई । श्रीकृष्ण श्रेष्ठ-श्वेता खड्का । करिश्मा केसी-विनोद मानन्धर । माथि भनेअनुसार केही नेपाली दृष्टान्त हुनसक्छन् । गाब्रिएल गार्सिया मार्खेजको ‘लभ इन द टाइम अफ कोलेरा’ (सन् १९८५) मा फ्लोरिन्टिनो एरिजाले, ‘उसने गुस्से में अपने आप से कहा, ‘मेरे दिल में वेश्यालय से ज्यादा कमरे हैं ।’ माई हार्ट ह्याज मोर रुम्स देन अ होरहाउस ।
जबसम्म हामी प्राचीन परिस्थितिहरूलाई वेश्यालयको आँखाले हेर्नु बन्द गर्दैनौं, तबसम्म बुझ्नु गाह्रो छ । अभिभावक-सन्तानको यौनसम्बन्ध प्रतिबन्ध परिवारको संगठनात्मक विकासमा प्रथम कदम हो, दोस्रो दाजुभाइ-दिदीबहिनीको यौनसम्बन्ध प्रतिबन्ध । दाजुभाइ-दिदीबहिनीको उमेरको उच्च समानताले गर्दा द्वितीय कदम अत्यधिक महत्त्वयुक्त तर जटिल चरणको थियो । ‘साक्खै’ आमाका सन्ततिको यौनसम्बन्ध निषेधबाट आरम्भ भएको सो प्रक्रिया एकैपटकको ‘होस्टे हैंसे’मा पार लागेन । हाडनातामा आधारित परिवारबाट पुनालुआ परिवार विकसित हुन्छ । हवाई प्रथाअनुसार, साक्खै वा टाढाको नाता पर्ने दिदीबहिनी समूह साझा पतिहरूका साझा पत्नीहरूका रूपमा रहन्थ्यो, तर पतिहरूका दाजुभाइहरूको सहभागिता छैन, कसैले पनि एकअर्कालाई दाजुभाइ भनेर सम्बोधन गर्दैन, किनभने उनीहरू कोही पनि साक्खे हैन, पुनालुआ अर्थात हित्तचित्तको साथी, समीपका साझेदारी मात्रै हुन् । सोही किसिमले, साक्खै वा टाढाको नाता पर्ने दाजुभाइको एक समूहले स्त्रीहरूको एउटा समूहलाई अपनाएको हुन्छ, जुन उनीहरूका दिदीबहिनी होइनन्, साझा पत्नी हुन् र तिनीहरू एकअर्कालाई पुनालुआ भनेर सम्बोधन गर्छन् । अधिकतर अवस्थामा, गोत्र संस्थाको उत्पत्ति प्रत्यक्ष रूपले पुनालुआ परिवारबाट भएको हुनुपर्छ ।
सामूहिक परिवारका सबै रूपहरूमा बालकका जनक वा पिता को हुन् निश्चित हुँदैन तर आमा को हुन् निश्चित हुन्छ । सामूहिक परिवारका आमाले सबै बालबालिकालाई छोराछोरी भनेर बोलाउँछिन्, मातृदायित्व पालन गर्छिन्, जसको अर्थ आमालाई आफ्नो कोखको सन्तानको बारेमा थाहा छैन भन्ने हैन । सामूहिक विवाह प्रचलित भएका स्थानमा आमाको तर्फबाट वंशावली प्रमाणित हुन्छ । जंगली तथा बर्बर युगको निम्न चरणका सम्पूर्ण मनुष्यहरूमा यही लागू हुन्छ । जुन कुरा ‘मदर राइट’ (मातृसत्ता) कृतिका रचयिता, स्वीट्जरल्यान्डका इतिहासकार तथा कानुनवेत्ता योहान याकब बाखोफनको देन हो, जसले आमाको आधारमा विकसित उत्तराधिकारी सम्बन्धलाई ‘मातृसत्ता’को संज्ञा प्रदान गरेका छन् । सहजताको हिसाबले म सोही संज्ञा ‘मदर राइट’को उपयोग गर्नेछु, जुन उति उपयुक्त भने हैन, कारण समाज विकासको यस चरणमा कानुनी अर्थमा ‘राइट’ वा ‘सत्ता’जस्तो कुनै कुराको जन्म भइसकेको थिएन ।
अनुवादक: उदाहरणका निमित्त, सात सालपूर्व ‘विकास’ भन्ने शब्दको नाकमुख देखिएको थिएन । राणाका दरबारमा बेलाइत, जापानका देशोन्नतिका बेग्लै गफसफ हुन्थे । एउटा दृष्टान्त, लौहपथगामिनी (लौह = फलाम, पथ = बाटो, गामिनी = सवारी) अर्थात नागबेली रेललाई उन्नति भनेर नाक फुल्याइन्थ्यो । २००७ माघ १० गतेको अमेरिकी ‘प्वाइन्ट फोर प्रोग्राम’को सम्झौताले नेपालको ‘डेभलपमेन्ट’को निम्ति पहिलो वैदेशिक सहायता बाइस सय रूपैयाँ टक्रायो । नेपाली बिचरी ‘उन्नति’लाई ‘डेभलपमेन्ट’ले डाँडो कटायो । अमेरिकी राष्ट्रपति ह्यारी ट्रयुमानको सन् १९४९ जनवरी २० को भाषणको चार बुँदाको चौथो बुँदाले ‘अविकसित’ राष्ट्रहरूलाई वैदेशिक सहायताको ललिपप चखाएर आर्थिक सम्पन्नताको मन्न (कुरान: मीठो अन्न, मिष्ठान्न) खुवाउने लक्ष्य राखेको छ । जुन देशमा कहिल्यै ‘विकास’ भन्ने शब्द थिएन, सो देशलाई अमेरिकी ‘चौथो बुँदा’ले ‘अविकसित’ घोषित नभई चैनले बस्ने छुट दिएन । देश दरबारमा उन्नतिको कुरा गर्थ्यो, अब एकाएक अविकसित घोषित भयो । विकासको राक्षसी भाष्यले ‘एक भुइँमा खुट्टा टेक, दुई आ मेरो बुइ’देखि नै के भान पारिदिएको छ भने, देश विकास वैदेशिक सहायतामार्फत नै हुने हो । एकदम पछिल्लो नमुना हेरौं, ‘एमसीसी’को सत्य मालुम हुने युवाहरूलाई समेत ‘विकास’को भाष्यले भुल्याएको छ, प्रकृति भट्टराई बस्नेत तुल्याएको छ ।
‘मदर राइट’ वा मातृसत्ताको पतन स्त्रीजातिको विश्व ऐतिहासिक पराजय थियो । घरको हर्ताकर्ता पुरुष भयो, नारीको ‘मदर राइट’को पद गयो, उनी दासको रूपमा श्वास फेर्न थालिन्, वासनाकी पुतली बनेर पाइला चालिन्, बच्चा पाउने मेसिनको रूपमा घुम्टो हालिन् । पुरुषहरूको सर्वोच्चता स्थापनाको परिणाम सर्वप्रथम पितृसत्तात्मक परिवारमा देखापर्छ । जसको लाक्षणिक विशेषता निश्चित सङ्ख्यामा स्वतन्त्र तथा परतन्त्र मनुष्यहरू संगठित परिवार हो, जसमा परिवारको गोसा वा अगुवाको पितृसत्तात्मक अधीन हुन्छ । ‘सेमिटिक जातिमा परिवारको अगुवाले एकभन्दा अधिक पत्नी राखेको हुन्छ, परतन्त्र व्यक्तिका भने एउटी पत्नी र केटाकेटी हुन्छन् (पृ. ४६५-६, प्राचीन समाज (सन् १८७७, लण्डन), लेविस हेनरी मोर्गन) ।’ जुन परिवारको मूलभूत विशेषता पारिवारिक सदस्यहरूको रूपमा परतन्त्र मनुष्यहरूको मान्यता र पितृसत्ता हो; त्यसैले रोमको पारिवारिक रूप नै सो प्रकारको परिवारको जल्दोबल्दो रूप हो ।
वास्तवमा, ‘फ्यामिली’ (फ्यामिलिअ) शब्दको माने भावुकता र गृहकलहको ‘दुई नदीको संगम’ होइन । रोमवासीहरूले ‘फ्यामिली’ विवाहित दम्पति र तिनीहरूका सन्ततिलाई नभई केवल दासहरूलाई जनाउन प्रयोग गर्दथे । ‘फ्यामुलुस’को अर्थ हुन्छ गृहदास वा घरेलु दास र ‘फ्यामिलिअ’ले एउटा व्यक्तिको अधीन वा स्वामित्वमा रहेका सम्पूर्ण दासहरूको सङ्ख्यालाई जनाउँछ । जुन शब्दको आविष्कार रोमबासीहरूले एउटा नौलो सामाजिक संगठनलाई बुझाउन गरेका थिए, जहाँ घरको अगुवा श्रीमती, केटाकेटी र केही दासहरूको हर्ताकर्ता हुन्छ, रोमको पितृसत्ताले उसको छत्रछायामा रहेका सबै मनुवाहरूको जीवन-मृत्युको निर्णयको सम्पूर्ण अधिकार उसैलाई सुम्पेको हुन्छ ।
अनुवादक: सुरुमा, फ्यामिलीको अर्थ ‘होम ईज ह्वेर मम ईज’ होइन ? ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ जस्तो ‘गृहकलह’ पनि होइन ? सञ्जीव कुमार, माला सिन्हा अभिनीत ‘जिन्दगी’ (सन् ११९७६) वा त्यसको निरन्तरता अमिताभ बच्चन, हेमा मालिनी अभिनीत ‘बागबान’ (सन् २००३) को भावुकता पनि त्यसमा अटाउँदैन ? ‘फ्यामिली’ भनेको त्यही होइन, जसले नारीलाई बालापनमा बाबुको, जोवनमा पतिको र बुढेसकालमा छोराको स्वामित्व वा अधीन गराउँछ ? कहाँ जालिस मछली मेरै ढडिया बताउँछ ?
अनेक पत्नी बटुल्ने प्रथा दासप्रथाको उपज हो । जहाँ संरचनात्मक लाभांशले काम गरिरहेको हुन्थ्यो, अर्थात केवल सर्वोच्च स्थितिमा रहेका व्यक्तिहरूको हकमा उपलब्ध थियो । सेमिटिक पितृसत्तात्मक परिवारमा केवल गृहस्वामी वा कुलपति र उसका केही छोराहरूबाहेक अरूले एउटै स्त्रीबाट सन्तुष्ट हुनुपर्दथ्यो ।
मार्क्स थप्छन्, ‘आरम्भबाट नै परिवारको सम्बन्ध कृषि सेवासँग हुनाले आधुनिक परिवारमा दासप्रथा मात्र नभएर भुदास प्रथा समेत जोडिएको छ । जसमा सूक्ष्म तवरमा सारा अन्तरविरोधहरू विद्यमान छन्, जुन कालान्तरमा समाज र त्यसको राज्यमा विकसित हुन्छन् ।’
एकनिष्ठ परिवारमा पतिको आधिपत्यको उद्देश्य सन्ततिको पितृत्वमा विवाद खडा नहोस् भनेर हो । युगल विवाहबाट एकनिष्ठ विवाह किन भिन्न छ भने, विवाह सम्बन्धको कसिलो गाँठो अब दुईमध्ये एक पक्षको इच्छाले फुकाउनु वा तोड्नु सकिँदैन । अबको निमय, पुरुषले मात्रै फुकाउनु वा तोड्नु सक्दछ र स्त्रीलाई छोड्नु सक्दछ । स्त्रीधर्म वा पत्नीनिष्ठामा नरहने हक पुरुषलाई हुन्छ । ‘नेपोलियन ऐन’ले पुरुषलाई त्यस्तो हक दिएको छ, मात्र उसले आफ्नी रखैल, रखौटीलाई घर भित्र्याउन पाउँदैन । पत्नी भने सहिष्णु हुनुपर्छ, आफ्नो सतीत्व डगमगाउनु दिनुहुँदैन, पतिव्रता धर्म तलमाथि हुनुहुँदैन । दासप्रथाको साथसाथै एकनिष्ठ परिवारको अस्तित्वले, पुरुषहरूको आधिपत्यमा जवान, सुन्दर दासीहरूको हाजिरीले के साबित गरेको छ भने, पुरुषहरूको लागि नभई नारीहरूको लागि मात्र एकनिष्ठ परिवारको निर्माण भएको हो । एकनिष्ठ परिवारको सो चरित्रमा आजसम्म पनि तलमाथि भएको छैन ।
अनुवादक: बालकृष्ण समको ‘मुकुन्द इन्दिरा’को हरफले बताउँछ, ‘देशभक्ति त मर्दैन, चुत्थै देश भएपनि । पतिभक्ति त मर्दैन, पापी पति भएपनि ।’ मारे पाप पाले पुण्य ! गुरु दत्त, मीनाकुमारी अभिनीत ‘साहिब बिबी और गुलाम’ (सन् १९६२) ले ‘नेपोलियन ऐन’लाई सम्झाइरहेको छ । नारी हरेक प्रकारले पुरुषको पाउमा लम्पसार हुन्छिन् । लक्ष्मीले विष्णुको पाउ मोलेको मात्रै तस्बिर देखिन्छ, विष्णुले लक्ष्मीको पाउ मोलेको भने ?
एकनिष्ठ विवाह व्यक्तिगत यौन प्रेमको नतिजा थिएन । इतिहासमा नारीपुरुषको आपसको सहमतिको रूपमा देखापरेको हुँदै होइन । स्त्रीमाथि पुरुषको आधिपत्य कायम गर्न, विगतकालमा कहिल्यै अनुहार नदेखाएको अन्तरविरोधका रूपमा सामुन्ने आएको हो । सन् १८४६ मा संयुक्तरूपमा मार्क्स र मैले लेखेको एक अप्रकाशित लेखमा फेला पारेको छु, ‘प्रथम श्रमविभाजन सन्तानोत्पादनका खातिर पुरुष र नारीका बीचमा फत्ते भएको हो ।’
एउटा एथेन्सबासीको लागि नारी बच्चा पाउने मेसिनबाहेक केही थिइनन् । स्वामी अखडामा गएर व्यायाम गर्थ्यो, सार्वजनिक जीवनमा सहभागिता जनाउँथ्यो, पत्नीको भने कुनै उपस्थिति थिएन । तर नारीले नारी हुन सर्वप्रथम हेटेरा वा रखौटी हुनुपर्ने, एथेन्सको परिवार व्यवस्थामा जिब्रो टोक्नुपर्ने विषय होइन ? हेटेरिज्म वा बहुपुरुषगमन प्रथा के हो ? एकनिष्ठ विवाहको साथसाथै विवाह सम्बन्ध बाहिर पुरुषहरू र अविवाहित स्त्रीहरूमा कायम हुने यौनसम्बन्ध, जुन सभ्यताको युगमा विकसित हुन्छ र प्रत्यक्ष वेश्यावृत्तिमा रूपान्तरित हुन्छ । बेबीलोनका स्त्रीहरूले स्वयंलाई सालमा एकपटक मिलित्ताको मन्दिरमा चढाउनुपर्थ्यो; जहाँ उनीहरूले चयन गरेका मनपसन्द पुरुषहरूसित स्वच्छन्द कामकलाको अभ्यास गर्थे, त्यसपछि मात्र उनीहरूले वैवाहिक जीवनमा प्रवेश गर्ने अनुमति पाउँथे ।
सोही तवरका रीति धार्मिक आवरणमा भूमध्य सागर र गंगा नदीका भूभागमा बसोबास गर्ने झन्डै सबैजसो एसियाली जातिहरूमा प्रचलित छ । हेटेरिज्मको मूल्यमा नारीहरूले परपुरुषसमक्ष लम्पसारिर स्वयंको सतीत्वको हकको सन्धि गर्नुपर्ने भयो । दाम लिएर स्वयंलाई चढाउनुपर्ने प्रथा पहिले एक धार्मिक कार्य थियोे; जुन कामदेवीको मन्दिरमा सम्पन्न हुन्थ्यो, उपलब्ध दाम मन्दिरको कोषमा भित्रिन्थ्यो । भारतका मन्दिरहरूका देवदासीहरू इतिहासमा सर्वप्रथम देखापरेका वेश्याहरूमध्ये एक हुन् । परपुरुषसमक्ष स्वयंको बलिदानी, जुन पहिले हरेक नारीको दायित्व थियो, देवदासीहरूको भागमा मात्रै आइलाग्ने भयो, मानौँ अब उनीहरू यो दायित्वको निर्वाह बाँकी नारीहरूको निम्ति पनि गरिरहेका छन् ।
अनुवादक: बाखोफनले ‘मातृसत्ता’मा भनेजस्तै, प्रत्येक साल पुनरावृत्ति हुने ‘उत्सव’मा अब एकपटक बली चढे पुग्छ; विवाहित स्त्रीहरूको हेटेरिज्मले आफ्नो सिंहासन युवतीहरूको हेटेरिज्मलाई त्याग गरिदिन्छ । पाकिस्तानी लेखक गुलाम अब्बासको कथा ‘आनन्दी’मा निर्मित श्याम बेनेगल निर्देशित शबाना अज्मी, स्मिता पाटिल अभिनीत सन् १९८३ को चलचित्र ‘मण्डी’मा ‘परपुरुषसमक्ष स्वयंको बलिदानी, जुन पहिले हरेक नारीको दायित्व थियो, देवदासीहरूको भागमा मात्रै आइलाग्ने भयो, मानौँ अब उनीहरू यो दायित्वको निर्वाह बाँकी नारीहरूको निम्ति पनि गरिरहेका छन्’ लाई सही साबित गर्दै ‘कोठी’ मालिक्नी रुक्मिणीको स्वर गुञ्जन्छ, ‘अरे हम हे तो समाज हे । मर्द खरीदता है तभी तो औरत बेचती हे अपने आपको ।’ सुदूरपश्चिमको देउकी प्रथा धार्मिक आवरणको ‘मण्डी’ नै हो । ‘प्रस्टिट्युता’ शब्दको अर्थ नै ‘पब्लिकली एक्स्पोज्ड’ वा सार्वजनिक रूपमा नाङ्गेझार तुल्याइएकी भन्ने हुन्छ । कुमार नगरकोटीको भाका त्यस्तै सुनिन्छ, ‘मेलले फी तिर्नुपर्ने हुनाले फीमेल भनेको हो ।’
सभ्यताले हासिल गरेको समूह विवाहको फल द्वन्द्वात्मक चरित्रको हुन्छ । एकातिर एकनिष्ठ विवाह छ, अर्कातिर वेश्यावृत्तिसहितको हेटेरिज्म । हेटेरिज्म पनि एउटा सामाजिक प्रथा हो । आदिम यौन स्वतन्त्रताको एउटा प्रतिध्वनि हो, जुन अब केवल पुरुषहरूको निम्ति हो । जसरी आधा स्याउ दाँतले टोकिसकेपछि पहिलेको सिंगो स्याउ फेरि हातमा राख्न सकिँदैन, अन्तरविरोधको एक पाटोविना अर्को पाटोको अस्तित्व असम्भव हुन्छ । एकनिष्ठ विवाहको साथमा दुई सामाजिक चरित्र अगाडि झुल्किन्छन्, एउटा पत्नीको प्रेमी वा नाठो र अर्को पत्नीपीडित पति । एकनिष्ठ विवाह र हेटेरिज्म सँगसँगै प्रतिबन्धित परपुरुषगमनले पनि एउटा सामाजिक रीतिको रूप ग्रहण गरेको छ । पहिले सन्तानको बाबु को हो सुनिश्चित गर्ने माध्यम नैतिक विश्वास थियो, अब सो अन्तरविरोधको ओखती ‘नेपोलियन ऐन’को ‘धारा ३१२’ मा कुँदिएको छ: ‘श्रीमान नै विवाहित कालमा गर्भाधारण गरेको बालकको बाबु ठहर्छ ।’ हरे ! तीन हजार साल पुरानो एकनिष्ठ विवाहको अन्तिम नतिजा !
युनानीहरूमा जस्तो एकनिष्ठ परिवारको कठोरतम उपस्थिति जहाँतहीं जहिल्यै भने थिएन । युनानी स्त्रीहरूको भन्दा रोमवासीहरूका सङिनीहरू बढी स्वतन्त्र र आदरणीय थिए । स्वयंले हासिल गरेको पत्नीको जीवनमरण छिनोफानो गर्ने अधिकार रोमन पुरुषले सङिनीको सतीत्वको रक्षासम्मलाई उपयोग गर्थ्यो; पत्नीलाई पनि पतिसमान राजीखुशीले सम्बन्धविच्छेद गर्ने हक थियो । जर्मन स्त्रीहरूको विशेष मान हुन्थ्यो, विशिष्ट सामाजिक प्रभाव थियोे, जुन एकनिष्ठ विवाहको पुरुष हर्ताकर्ताको उत्तर-दक्षिण वा विपरीत हो । रोम साम्राज्यको फिनिक्स पन्छीले सम्झिएको, पानी छम्किएको एकनिष्ठ विवाहले पुरुष हर्ताकर्तालाई एकदमै उदार रूपमा ढाल्यो र स्त्रीहरूलाई पहिले कहिल्यै हासिल गर्न नसकेको सम्मानको हकदार तुल्यायो । अन्ततोगत्वा, नतिजा के प्रकाशित भयो भने संसारमा कहींकतै अस्तित्वमा नभएको आधुनिक यौन प्रेम प्रकट भएको छ । जसको कारण, जर्मनहरू युगल परिवारमै रमाइरहेका हुन्छन् र एकनिष्ठ विवाहमा समेत स्त्रीको स्थितिलाई युगल परिवारअनुसार बनाउँछन्; वास्तवमा एकनिष्ठ परिवारको नैतिक अन्तरविरोधबाट युगल परिवार अलग छ ।
एकनिष्ठ विवाहको रूपमा नै आधुनिक यौन प्रेम विकसित हुनसक्छ । इतिहासमा ‘प्यासन’ वा अनुरागको रूपमा प्रकट भएको यौन प्रेमको प्रथम दृष्टि हरेक मनुष्यमा परेको हुन्छ, शासन गर्ने खलकको व्यक्ति अनुरागको दृष्टिबाट ओझेल पर्ने सवाल झनै उठ्दैन । प्रेमको प्रथम रूप अर्थात अनुरागको अर्थ दाम्पत्य प्रेम भने कहिल्यै होइन ।
अनुवादक: एंगेल्सले प्रस्तुत गरेको दृष्टान्त ‘अल्वास’ अध्ययन गर्दा बालकृष्ण समको वियोगान्त महानाटक ‘प्रेमपिण्ड’का सविता-नहकुलको स्मरण हुन्छ । हरेक मनुष्यमा अनुरागको भाव हुन्छ; शासक वर्ग त्यसबाट दूर हुँदैन । ‘प्रेमपिण्ड’मा एडविल सवितालाई विरह पोख्छन्, ‘यहाँ बसुन्जेल तैंले तेरो छातीलाई स्पात बनाइस् । अब यताबाट जाँदाजाँदै तैंले त्यसलाई करौंती पार्न लागिस् । तँ भर्याङ ओर्लंदै जान्छेस्, मेरो नौनीजस्तो छाती चिरिँदै जान्छ, पग्लँदै जान्छ ।’ यौन प्रेमको प्रथम रूप अनुरागले ‘प्रेमिकालाई विवाह गर्नुपर्ने भन्ने छैन, विवाहितालाई प्रेम गर्नुपर्ने छैन’ भनाइलाई मनाही गर्दैन ।
हाम्रो युगमा दुई किसिमले बुर्जुवावर्गको विवाह हुन्छ । क्याथोलिक राष्ट्रहरूमा मातापिताले बुर्जुवा सुपुत्रको निम्ति सुहाउँदो जीवनसाथी खोज्छन्, जसको नतिजा एकनिष्ठ विवाहको अन्तरविरोध ‘रात रहे अग्राख पलाउँछ’ । पतिदेव परस्त्रीगमन वा हेटेरिज्मतिर लाग्छ, विरहिनीले पनि पतिप्रतिको कर्तव्य पालन गर्दिनन् । कालको ओखती हुँदैन, व्यभिचार व्यवस्थापन गर्ने उपाय पनि छैन । यही कुरालाई मूलमन्त्र सम्झेर क्याथोलिक चर्चले सम्बन्धविच्छेद प्रथामा बन्देज लगाएको धारणा अस्वाभाविक लाग्दैन । प्रोटेस्टेन्ट राष्ट्रहरूमा भने बुर्जुवा सुपुत्रलाई स्वयंको वर्गबाट पत्नी चयन गर्ने अलिकति भएपनि स्वतन्त्रता दिइएको छ । केही हदसम्म प्रेम घरजमको आधार हुनसक्छ; तर प्रेम भएपनि, नभएपनि प्रोटेस्टेन्टहरूको लोकरिझाइँपनले त्यसलाई प्रेमकै संज्ञा दिन्छ । विवाहले जुनसुकै रूपधारण गरे तापनि मानिसहरूको चरित्र भने फेर्नु सक्दैन । दाम्पत्य सुखको नाउँ दिइएको प्रोटेस्टेन्ट एकनिष्ठ विवाह पतिपत्नीको पट्यारलाग्दो मधुमास बाहेक केही होइन ।
अनुवादक: पानी खानु मूलको, बिहे गर्नु कुलको ! मार्गरेट मिचेलको औपन्यासिक कृति ‘गन विथ द विन्ड’ (सन् १९३६) की चरित्र स्कारलेटको विवाहमा प्रेम कम, लोकाचार ज्यादा छ । एंगेल्सका अनुसार, क्याथोलिक विवाहको सार तथा प्रोटेस्टेन्ट विवाहको स्वरूप बुझ्न क्रमशः फ्रान्सेली र जर्मन उपन्यासहरू अध्ययन गरे पुग्छ । दुवैमा पुरुषले आफूले चाहेको फल प्राप्त गर्दछ । जर्मन उपन्यासमा युवकले युवती फेला पार्दछ भने फ्रान्सेली उपन्यासमा पतिले नामर्दको पदवी प्राप्त गर्दछ; दुईमध्ये कसको हालत खराब हो छुट्याउनु सहज छैन ।
दुवै किसिमका विवाहमा दुलहीको वर्गले अधिक महत्त्व राखेको हुन्छ; विवाह फल अर्थात लाभकै लालसाले हुन्छ; दुवै विवाहको परिणति अन्ततोगत्वा वेश्यावृत्ति हो । पत्नी वेश्याबाट कुन दृष्टिकोणले भिन्न छिन् भने, उनले ज्यालादारी मजदुरले जस्तो हरेक दिन निश्चित ज्यालामा ‘देह’व्यापार गर्नुपर्दैन, उनी सदाको निम्ति देह बेचेर दासी भएकी हुन्छिन् । ‘आगोले नपोल्ने होइन आगोले पोल्छ ।’ व्याकरणका दुई नकारहरू मिलेर सकार बनेजस्तो विवाहको नैतिकतामा वेश्यावृत्ति तथा वेश्यागमनको योगफल सदाचार हुन्छ ।
अनुवादक: इन्डस्ट्रियल भजाइना ? मन्टोको कथा पढ्नुभएको होला । सिर्जनात्मक उद्विकासको सकारात्मक सिद्धान्तमा आधारित जर्ज बर्नार्ड शको विवाह सम्बन्धित दृष्टिकोण छ, ‘विवाह लाइसेन्सप्राप्त वेश्यावृत्ति हो ।’
नारीको सम्बन्धमा यौन प्रेम हाम्रो समयमा केवल सर्वहारा वर्गका खातिर हुनसक्छ । यहाँनेर पुरानो एकनिष्ठ विवाहको जग गर्ल्यामगुर्लुम हुन्छ । कुनै पनि किसिमको स्वामित्व बच्दैन, जसको रक्षा र उत्तराधिकारको खातिर नै एकनिष्ठ विवाह र पितृसत्ताको शोधखोज गरिएको थियो । जसको निम्ति सर्वहारासँग हातेमालो गर्ने कुनै साधन हुँदैन । ‘साम, दाम, दण्ड, भेद’को सत्ताको सुरक्षार्थ बनेको बुर्जुवा कानुन बिनाकामको किन हुन्छ भने, बुर्जुवा न्याय प्राप्त गर्न दाम चढाउनुपर्छ र मजदुरको खल्तीमा पैसा हुँदैन । ठूला उद्योगले नारीलाई घरबाट हुत्याएको छ र श्रमबजार र कारखानामा ल्याइपुर्याएको छ; परिवारले रोजीरोटीको जिम्मेवारी उनको काँधलाई छुट्याएको छ । सर्वहाराका छाप्रामा पितृसत्ताका बचेखुचेका निर्णायक आधारशिला समाप्त भएका छन् । अहिले केही शेष छ भने, एकनिष्ठ विवाहको स्थापनाकालदेखिको पुरुष चरित्रको हिस्सा रहेको स्त्रीप्रति ज्यादतीको व्यहोरा ।
अनुवादक: पुरुषलाई निजी स्वामित्व वा विशेषाधिकार आफ्नै सन्ततिमा लैजान निजी पत्नी वा श्रीमती आवश्यक हुन्थ्यो । ‘मातृसत्ता’को विनाश भयो; नारीको लागि निजी श्रीमान भन्ने भएन । दास तथा भुदास प्रथा मास छर्न गएको छ, जसको फलस्वरूप दासमोचन भएको छ, भुदास मुक्त हुनगएको छ । जसरी दास युगमा पुरुषभन्दा महिला दासहरू उत्पीडित हुन्छन्, दासमोचनको अर्थ पुरुष दासको मुक्ति हो, नारी दास जहाँको तहीं । हाम्रो समयको पुँजीवादले पनि सोही पथ पक्रेको छ । पुँजीपति वर्गभित्र पनि महिला मुक्तिबाट बञ्चित छिन्, श्रमिक वर्गभित्र पनि नारी उत्पीडित छन् । माक्सिम गोर्कीको ‘आमा’की प्रमुख श्रमिक स्त्री चरित्र पेलागेया निलोभ्नालाई उनको पति मिखाइल भ्लासोभ मातेर दिनहुँ कुटपिट गर्छ । एंगेल्सको पद ‘स्त्रीप्रति ज्यादतीको व्यहोरा’ले इंगित गर्ने त्यही हो । त्यसैले हामी के भन्न सक्छौं भने, महिला वर्ग नहोला तर नारीको उत्पीडनको समस्या वर्गकै उत्पीडनको स्तरको समस्या हो । पेलागेया आफ्नो खप्परलाई दोष दिन्छिन्, जुन सामन्तवादले पुँजीवादलाई दिएको ‘भाग्यवाद’को सहारा हो । नेपाली ‘सती’ नारीवादीहरू पतिसँगको सम्बन्ध नबिगार्ने शर्तमा नारीवादी हुन खोज्छन् । उनीहरूको समीक्षा हुन्छ, ‘नारीवादी हुनुपर्छ तर घर बिगार्नुहुँदैन ।’ उनीहरूलाई हैरान गरिदिने ‘लेकिनका बात’ के छ भने, ‘आज’ जस्तो घर छ, त्यसलाई नढाली ‘भोलि’को नारी मुक्ति सम्भव छैन । प्रदीप गिरिका शब्दमा, ‘क्रान्ति हिजो छिटो हुन्थ्यो, भोलि ढिला हुन्छ ।’ नारी मुक्ति क्रान्ति गर्ने वर्गको अन्तरको समस्या हो ।
आधुनिक सभ्य देशहरूमा बनेका नियमकानुनले दुईवटा कुरालाई अगाडि सारेको छ: प्रथम, विवाहको औपचारिकताको लागि दुई पक्षले नै स्वेच्छाले वैवाहिक सम्झौता; र द्वितीय, वैवाहिक जीवनकालमा समान कर्तव्यबोध र हक । मजदुर र पुँजीपतिले परस्पर श्रम सम्झौता गर्दछन् । सो सम्झौता विना दबाब नै भएको सोचाइ किन राखिन्छ भने, कागजमा गरेको करारअनुसार कानुनको लागि दुई पक्ष बराबर । मजदुर हुनु आफैंंमा दबाब हो, कोही राजीखुशी सर्वहारा हुँदैन; एक पक्षको सामाजिक’आर्थिक’ आधिपत्यको चापमा बराबरी भन्ने नै हुँदैन र त्यसमा कानुनले आँखा लगाउँदैन, आँसु बगाउँदैन । कानुनले ध्यान दिने भनेको, एक पक्षले आफ्नो हक कायम राखेको छ र श्रम सम्झौताकालमा दुई पक्षमा बराबर अधिकार छ । विवाहको सवालमा, दुई पक्षले नै स्वेच्छाले वैवाहिक सम्झौता गरेका छन् र विवाह दर्ता छ भने प्रगतिशील कानुनलाई समेत यही निर्णायक हुन्छ । कानुनको दृश्यभन्दा पर दैनिक जिन्दगीमा स्वेच्छिक सन्धिको कसरत कस्तो हुन्छ कानुनको क्षेत्र अध्ययनभित्र पर्दैन ।
अनुवादक: सामन्तवादले ‘साहिब बिबी और गुलाम’की छोटी बहु वा ‘प्रेमपिण्ड’की सवितालाई जस्तो महल, दरबारको चार पर्खालमा कैद गरेको छ । छोटी बहु र सविताको चित्तमनाउविन्दु दोषी खप्पर वा भाग्यवाद नै हो । राणाहरूका दरबारका ‘अन्त:पुर’ वा नानीगृह जस्ता व्यभिचारका अखडाहरूले वेश्याबजार वा ‘मण्डी’खानाको रूप कतिखेर लिन थाल्छन् भने, सामन्तवादले दरबारको कोठीमा जिउ बेच्नु लगाउँथ्यो; पुँजीवादले त्यही कामलाई अब महिला सौन्दर्यशास्त्रको परिणाम भन्छ अर्थात त्यसलाई उद्योगको साँचोमा ढाल्छ, निष्फिक्री बजारमा बिक्री गर्छ । उदाहरणका निमित्त, सनी लियोनीको ‘क्याप्टेन अमेरिका’ले ‘नटी अमेरिका’को पथधारण गर्छ । आधुनिक यौन प्रेमका दुईवटा पाटा छन्, जसअनुसार जोडी छनौट मात्रै प्रेमको अङ्ग होइन, समानता पनि त्यसको हिस्सा हो । घरबाहिर हामी समानताको भाषण ठोक्छौं तर घरभित्र पसेमा जिब्रो टोक्छौं । ‘डेड पोएट्स सोसाइटी’को ‘क्याप्टेन ओ क्याप्टेन’लाई मानेर ‘साहित्यक तत्त्व’ ग्रन्थका अग्रिम पृष्ठहरू च्यातेजस्तो ‘आज’को घर भत्काएर ‘भोलि’ नारीलाई मुक्त बनाउने त भन्छौं, तर घरबाहिर जे समान भनिन्छ, घरभित्र त्यसको रूप अर्कै हुन्छ । प्रेमजोडी छनौट भएको छ, घरजम हुनगएको छ तर गृहप्रवेशपछि घरायसी कामकाजमा एउटाले हाइ नकाढ्नु सक्दैनन्, अर्कोले नाइँ भन्नु, अस्वीकार्नु सक्दैनन् । पुरुषको जिउमा बोसो थपिन्छ, नारीको मुहारमा किचेन वा भान्छाकोठाको कालोपोतो, मोसो थपिन्छ । नारीपुरुष दुवैले राजीखुशी एकअर्कालाई रोजे, प्रेम त्यतिमा नै सीमित भयो । तर प्रेमको मुहारको देब्रे गाला ‘समानता’ भने लुप्त रह्यो, कतै लुक्यो । क्याप्टेन अमेरिका नटी भयो; दम्पतीको घरायसी यात्रा प्रेमबाट उत्पीडनतिर चुलियो ।
स्त्रीपुरुषको कानुनी असमानता आर्थिक उत्पीडनको कारण होइन, नतिजा हो । अनेक दम्पती र उनीहरूका सन्तति समावेश आदिम कुटुम्ब प्रणालीमा नारीको काँधको घरायसी धन्दा पुरुषको भोजन जुटाउने दायित्व जत्तिकै महत्त्वपूर्ण सामाजिक क्रियाकलाप मानिन्थ्यो । पितृसत्तात्मक परिवारको जन्म, खासगरी एकनिष्ठ परिवारको उदयले नारीको घरधन्दाको सामाजिक चरित्र हरण गर्यो । घरेलु कामकाज सामाजिक महत्त्वको विषय बन्नु छाड्यो । हाम्रो युगको उद्योगले उनलाई सामाजिक उत्पादनको द्वारमा स्वागत गरेको छ । जब नारी पारिवारिक सेवा पस्कने निजी दायित्वमा बाँधिएकी हुन्छिन्, सामाजिक उत्पादनमा सहभागी हुन असमर्थ छिन्; सामाजिक श्रममा हाजिरी जनाएर स्वयं कमाइधमाइ गर्न चाहन्छिन् भने घरधन्दालाई फुर्सत पाउँदिनन् । जुन सत्य कारखानामा जोतिने महिलामा मात्रै होइन, डाक्टरी अथवा वकालत क्षेत्रका महिलामा पनि लागू हुन्छ । आधुनिक समाज वैयक्तिक परिवारकै संयोजन हुनाले आधुनिक परिवार महिलाको खुलेआम सँगसँगै गुप्त दासतामा आधारित छ । पुरुषले कमाइ गरेर परिवारको पेट पाल्ने हुनाले ऊ परिवारको गोसा अर्थात मालिक भएको छ । पति परिवारको बुर्जुवा हो, पत्नी सर्वहारा ।
जंगली युगमा समूह विवाह, बर्बरकालमा युगल विवाह र सभ्यताको संसारमा एकनिष्ठ विवाह प्रचलनमा छन् । एकनिष्ठ परिवारसँग पतिव्रता धर्म मात्रै जोडिएको छैन, वेश्यावृत्ति पनि गाँसिएको छ । समूह विवाहको यौन स्वतन्त्रता नारीहरूबाट पार लगाइएको छ, पुरुषहरूबाट होइन । पुँजीवादी वस्तु उत्पादनले आदिम हेटेरिज्मलाई ‘चोकबजार’को वेश्यावृत्तिमा रूपान्तरित गर्छ । पतिलाई होइन नारीका निमित्त मात्र एकनिष्ठताको ‘कर्फ्यु’ लगाइएको छ । एकनिष्ठ विवाहको उद्भव आर्थिक कारणले नै भएको हो भने, आर्थिक कारणहरू डाँडामाथिको घाम भएपछि एकनिष्ठ विवाहको अस्तित्व पनि नष्ट नहोला ?
एकनिष्ठ विवाहले अन्तिम श्वास छोड्ने मात्रै होइन, त्यसको साँचो रूपले पनि दर्शन पाउनेछ । सामाजिक सम्पत्तिअन्तर्गत उत्पादनका साधनहरू परेपछि वैयक्तिक परिवार सामाजिकआर्थिक एकाइ हुनेछैन । घरधन्दा सामाजिक चरित्रको एउटा उद्योगमा रूपान्तरित हुनेछ । बालबालिकाको पालनपोषण र शिक्षा सार्वजनिक दायित्व हुनेछ । विवाहित र अविवाहित युवतीहरूबाट जन्मधारण गरेका सबै केटाकेटीहरूलाई समाजले समान रूपले लालनपालन गर्नेछ । अविवाहित नारीको आफ्नो प्रेमीसमक्ष समर्पणको ‘आज’को समस्याबाट उनी मुक्त हुनेछिन्; जसले स्वच्छन्द यौनसम्बन्ध सँगसँगै कुमारीत्व एवं महिला लज्जालाई छेउकुना नलगाउला ? एकनिष्ठ विवाह र वेश्यावृत्ति एउटै सामाजिक सिक्काका दुई मुहार हुन्, जसलाई अलग गर्न असम्भव छ ? वेश्यावृत्तिले जिब्रो टोक्नेछ, उसोभए एकनिष्ठ विवाह पनि त्यसको मलामी जानेछ ?
यहाँनेर आएर एउटा नवतत्त्व झुल्कन्छ, जुन एकनिष्ठ विवाहमा भ्रुणको रूपमा हुन्छ, सो नवतत्त्व हो, वैयक्तिक यौन प्रेम । जसको मध्ययुगसम्म अतापता मालुम थिएन । मध्ययुगमा शारीरिक सुन्दरता, मैत्रीपूर्ण सम्बन्ध, एकैखाले रूचि इत्यादि थोकले नारीपुरुषमा सहवासको इच्छा प्रकट नहुने भन्ने थिएन । तर विवाहको छिनोफानो अभिभावकले नै गर्दथे । प्राचीनकालको यौनिक चाहना ‘इरोस’बाट आधुनिक यौन प्रेम एकदम अलग छ । आधुनिक यौन प्रेममा पारस्परिक प्रेम जोडिएको हुन्छ, ‘इरोस’मा नारीको सहमति लगातार आवश्यक भने हुँदैनथ्यो । यौन प्रेम कति गहन र दिगो वा चिरस्थायी हुनसक्छ भने, प्राप्ति र वियोग महान थोक नभए तापनि एकदोस्रोलाई प्राप्त गर्ने मामिलामा प्रेमजोडी ज्यान फाल्न तत्पर हुन्छन् । आदिमकालमा भने विवाह सम्बन्ध लत्याएर गाँसिने सम्बन्धमा मात्र सो किसिमको ‘दशा’ आइपर्थ्यो, जसलाई प्रेमको नाउँ भने दिइएको थिएन । युगल विवाहमा युवायुवतीको विवाहको छिनोफानो विशेषगरी आमाहरू गर्थे । सामूहिक सम्पत्तिको ठाउँ निजी स्वामित्वले ओगटेपछि पितृसत्ताले शिर उठायो, एकनिष्ठ विवाहले हिम्मत जुटायो, फलस्वरूप विवाह पहिलेभन्दा अधिक मात्रामा आर्थिक कारणहरूले निर्धारण हुन थाल्यो । युवतीको ‘बत्तीसै लक्षण’ सँगसँगै पुरुषको वैयक्तिक गुणले नभएर सम्पत्तिको आधारले विवाहको छिनोफानो हुन थाल्यो; जुन सीधा पुँजीवादी उत्पादनको दिशातिर बहँदैन ?
ओथारो बस्ने बखत पोथी चरीलाई सहायताको आवश्यकता पर्दछ । पन्छीहरूको एकनिष्ठ सहवासको दृष्टान्तबाट मनुष्यको विषयमा कुनै कुरा साबित गर्न किन सकिँदैन भने मनुष्यको उत्पत्ति पन्छीबाट भएको होइन । एकनिष्ठ यौनसम्बन्धलाई नै नैतिकताको सर्वोत्तम विन्दु मान्ने हो भने फित्ते जुकालाई विजेता घोषणा गर्न कुनै कसर छाड्नुहुँदैन, जसको पचास-दुई सय देहखण्डहरूमा नै स्त्रीपुरुष यौनाङ्गहरू हुन्छन् र जिन्दगी देहखण्डहरूमध्ये प्रत्येकमा स्वयंसित मैथुन गर्नमा नै व्यतीत हुन्छ ।
वैवाहिक जीवनमा पुरुषको आधिपत्य उसको आर्थिक आधिपत्यको परिणाम हो । विवाह सम्बन्धविच्छेद गर्नमा लगाइएको प्रतिबन्ध आर्थिक परिस्थितिहरूको नतिजा हो, जसको कारणले एकनिष्ठ विवाहको उत्पत्ति भएको छ । प्रेमविवाह मात्रै नैतिक हुन्छ भने, त्यतिबेलासम्म नैतिक मान्नु सकिन्छ, जबसम्म पारस्परिक प्रेम हुन्छ । एकदोस्रोलाई प्रेम गर्नु दम्पतिको दायित्व हो भने प्रेमजोडीको लागि पनि अरू कसैसँग नभएर आपसमा विवाह सम्बन्ध जोड्नु त्यतिकै महान दायित्व होइन ? यौन प्रेमको आवेगको काल, खासगरी पुरुषको निम्ति, फरकफरक हुन्छ; आवेगको आगो निभेपछि नवअनुराग जन्मिन्छ, जसको लागि सम्बन्धविच्छेद दम्पति सँगसँगै समाजको लागि पनि घातक हुँदैन । मानिसहरूलाई सम्बन्धविच्छेदसम्बन्धी बेकारका झन्झटिला मामिलाबाट भने मुक्त गर्नुपर्दछ ।
अनुवादक: ‘नारीपुरुष बराबर’को कालखण्डमा हामी आइपुगेका छौं । हाम्रो पुस्ताले आफ्नो जोडी आफैंले छान्छ । जसलाई हामी ‘प्रेम’ भनेर पुकार्ने गर्छौं । ‘प्रेम’ले जन्माएको अन्तरविरोध के हो भने, प्रेम भनेको जोडी हुनु वा ‘जोडिनु’ हो तर ‘अर्कोतिर मोडिनु’ पाउनु अर्थात अर्कालाई ‘छोड्नु’ भने त्यसमा पर्दैन; त्यसलाई धोकाको नाउँ दिइएको छ । प्रेमजोडी चयन गर्ने हक छ, छोड्ने हक भने छैन । छनौट र छोड्ने कुरा भएको प्रेमको एकै सिक्काको दुई पाटा हाम्रो समाजमा किन चल्दैन ? छनौट गर्न सकिन्छ भने छोड्नु मिल्दैन ? परस्पर प्रेमको आवेग खतम भएपछि एकै ठाउँ रहनुको कुनै अर्थ छैन । हामी निकोलाई चेर्निशेव्स्कीको ‘के गर्ने ?’ को वेरा पावलोव्ना किन नहुने ?
पूँजीवादी उत्पादनले सिल्टिमुर खाएपछि त्यसको नतिजास्वरूप स्वामित्वका नवसम्बन्धहरूले जीवनसाथी छनौटमा निकै असर गर्ने एकएक आर्थिक एवं अन्य धारणालाई भीरबाट धकेलेपछि स्वतन्त्रतापूर्वक विवाह सम्बन्ध र सो चलनलाई साझा रूप दिने कार्यको प्रारम्भ हुन सक्दछ; त्यसबेला पारस्परिक प्रेमको अलावा विवाहको अर्को ध्येय हुनेछैन । पूँजीवादी उत्पादन शुलीमा टाँगिएको अवस्थामा नारी र पुरुषको सम्बन्ध कस्तो रूपमा अघि बढ्ला ? यी सम्बन्धहरूको ठाउँ केले ओगट्ला ? निचोड निस्कला, जतिबेला पुरुषहरूको एउटा नवपुस्ताले अर्थ तथा सत्ताका अन्य सामाजिक साधनहरूको दाममा स्त्रीदेह किन्ने काम नगर्ला र नारीहरूको पुस्ताले चोखो प्रेमको अलावा अन्य कुनै पनि कारणले पुरुषसमक्ष स्वयंलाई समर्पण गर्नु नपर्ला, आर्थिक परिणामहरूको त्रासले प्रेमीसित यौनसम्बन्ध राख्ने बाध्यता पर सर्ला ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।