२०७८ साल साउन १ गते शुक्रबार ‘शिलापत्र’मा बिना थिङको ‘स्वतन्त्र महिलाको परिकल्पना गर्ने डेढ सय वर्षअघिको उपन्यास’ प्रकाशित हुन्छ ।
म पढ्दै गएँ, बढ्दै गएँ, … तर अङ्ग्रेजीले अझ मलाई अनुवाद र नक्कल बनाउन खोज्दछ, मलाई बराबर Exploiter (एक्सप्ल्वाएटर- अर्काको रचना, विचारको सामग्री बनाएर धनी हुन खोज्ने) भन्ने नाम पनि समालोचकले दिए, मानौं म अङ्ग्रेजीलाई नेपालीमा रूपान्तर ढङ्गले निकाल्थें, … मैले त्यसै बेला सम्झें पढ्नुको गफलत । हामी कति अनुवाद बन्दा रहेछौं ।
(लक्ष्मी निबन्धसङ्ग्रह, २००२)
वास्तवमा, बिना थिङले राजकमल प्रकाशनद्वारा प्रकाशित (?) निकोलाई चेर्नीशेव्स्कीको ‘ह्वाट ईज टु बी डन’को हिन्दी अनुवाद ‘क्या करें ?’ अध्ययन गरेकी छिन् । ललिजन रावलले हिन्दीबाट उल्लेखित पुस्तकको नेपाली अनुवाद पनि गरेका छन्, जुन विवेक सिर्जनशील प्रकाशनद्वारा २०६६ सालमा प्रकाशित छ ।
लक्ष्मीप्रसाद देवकोटाको ‘अङ्ग्रेजी हरिबिजोग’ बिना थिङमा लगाई हेर्दा के हुन्छ ?
‘शिलापत्र’मा उदाएको बिना थिङको लेख चेर्नीशेव्स्कीको उपन्यास ‘के गर्ने ?’ को ‘प्रस्तावना’को नक्कल होइन ?
‘प्रस्तावना’कार प्योत्र निकोलायेव लेख्छन्:
यस पुस्तकले जनतालाई कति साह्रो प्रभावित गरेको छ भने … रुसी सीमाबाहिर धेरैजसो अन्य देशका मानिसहरूको मन-मस्तिष्कमा वास गरेको छ ।
आफ्नो लेखको ‘शुभारम्भ’मा थिङ ठ्याक्कै स्वर मिलाउँछिन्:
अन्ततः वेरा पावलोव्ना मार्या अलेक्सयेव्नाको चंगुलबाट फुत्किई ।
अन्ततः उनी मार्या अलेक्सयेव्ना र उनीहरूले निर्माण गरेको सामाजिक सीमाबाट बाहिर निस्किइन् ।
सीमाबाट बाहिर निस्किएकी वेरा पावलोव्ना निकोलाई चेर्नीशेव्स्कीको उपन्यास ‘ह्वाट ईज टु बी डन’ बाट मेरो मनसम्म डेरा सरिन् ।
प्योत्र निकोलायेवले ‘रुसका सीमा नाघेर अन्य देशका मानिसहरू’को मनमा घर गरेको भन्नु र थिङले आफ्नो मनमा ‘डेरा सरेको’ भन्नु आत्मसातीकरण होइन, बालकृष्ण समको ‘नियमित आकस्मिकता’ हो ?
थिङको लेखको ‘शीर्षक’ र त्यसले अगाडि बताएको ‘आजभन्दा १ सय ५८ वर्षअघि लेखिएको थियो यो उपन्यास’ निकोलायेवको ‘प्रस्तावना’को शुभारम्भ हो:
८ फेब्रुअरी १८६३ का दिन पिटर्सबर्गस्थित लितैनी प्रोस्पेक्टमा एक जना साधारण क्लर्कले एउटा खाम भेटाएको छ, त्यसमा ‘के गर्ने ?’ शीर्षक गरेको कुनै पाण्डुलिपिको आरम्भको भाग छ ।
थिङ प्रस्तुत गर्छिन्:
चेर्नीशेव्स्कीले यो उपन्यास कुनै आरामदायी पुस्तकालयमा बसेर लेखेका थिएनन् । त्यसबेला उनी जारशासित रुसको पेत्रोपावलोस्की किल्लाको कुख्यात कालकोठरीमा ‘राजद्रोही’ करार भएर बन्दी जीवन बिताइरहेका थिए । लेख्ने तोड यति थियो नौ दिनको अनशनका समयमा पनि लेखिरहे । बन्दी जीवनका बन्धनहरू मात्र होइन, यो उपन्याससँगै उनलेे परम्परागत लेखनशैली पनि भत्काइदिए ।
कान नथुनौं, निकोलायेवलाई सुनौं:
ग्रन्थ कुनै सुविधासम्पन्न कोठामा अथवा सार्वजनिक पुस्तकालयमा बसेर होइन बरू पेत्रोपावलोस्की किल्लाको कुख्यात अलेक्सेयेव्स्की पर्खालहरूभित्रको कालकोठरीमा रचना गरिएको हो र त्यसको रचनाकार राजनीतिक बन्दी थिए । नौ दिनको अनशनका क्रममा पनि उनले लेख्ने कामलाई निरन्तरता दिइरहे – ‘राजद्रोही‘ निकोलाई चेर्नीशेव्स्की … रुसी उपन्यासहरूमा यस किसिमको अपरम्परागत सुरुवातको कारण सेन्सर गर्नेहरूको आँखामा छारो हाल्नु मात्रै होइन ।
थिङ अगाडि बढ्छिन्:
उपन्यास मूलतः राजनीतिक विचारले भरिएको थियोे । यसले शासक वर्ग बिथोलिने सम्भावना थियो ।
उनले बठ्याइँ गरे । चार सय पेज लामो उपन्यासको सुरु र अन्तिममा चलाखी गरेर विशुद्ध पारिवारिक उपन्यास जस्तो देखियो ।
सेन्सरमा बस्नेहरूले उपन्यासको सुरु र अन्त्य मात्रै पढे । उपन्यासले प्रकाशन अनुमति पायो ।
निकोलायेवको कथन:
सरसर्ती नजर फाल्ने हो भने पुस्तकमा राजद्रोही कुरा पाउन मुस्किल थियो, उपन्यासमा ‘मूर्ख’ नाउँ गरेको शीर्ष अध्याय छ, एउटा साधारण उपन्यासमा जस्तो त्यसमा पनि सनसनीखेज घटना ‘लितैनी पुलमा रहस्यमय आत्महत्याको बयान छ र अगाडिको अध्यायमा पारिवारिक कलहको’ …
चेर्नीशेव्स्कीको मनोवैज्ञानिक जुक्ति खेर जाँदैन … ‘पारिवारिक’ … उपन्यासका दुई अध्यायमा आँखा लगाएर उनीहरूले के ठहर गरे भने बाँकी सबै सोही किसिमले …
आफ्नो अनुवादमा थिङ पछारिएको उदाहरण:
चेर्नीशेेव्स्की साठीको दशकको रुसी क्रान्ति आन्दोलनको अगुवा थिए ।
कुन शताब्दीको साठीको दशक ? उन्नाइसौं शताब्दीको ? बीसौं शताब्दीको ?
पाठकको धर्म राख्नैपर्ने हुन्छ, निकोलायेवको मुख ताक्नैपर्ने हुन्छ:
उन्नाइसौं शताब्दीको साठीको दशकमा रुसमा भएको आन्दोलनबाट आतङ्कित छन् । आफ्नो बन्दीलाई उनीहरू विद्रोहीहरूको अगुवा सोच्छन् ।
‘उपन्यास प्रकाशन भएर बजारमा आयो,’ थिङ जानकार छिन्:
सत्य थाहा पाएपछि शासकहरू रनाहामा परे । तुरुन्तै बजारबाट सारा किताब जफत गरेर जलाए । तर किताबको स्वाद चाखिसकेकाबाट … समाजवादको वकालत गर्नेहरूले हातहातले किताब सारेर बाँडे … हस्तलिखित पुस्तक निकै उत्सुकताले पढ्न थालियो ।
पुस्तकको प्रकाशन तथा प्रचारप्रसार सन्दर्भमा निकोलायेव:
प्रकाशनको लगत्तै के भनेर प्रतिबन्ध जारी गरिएको छ भने रचना राज्यको अस्तित्वका खातिर निकै खतरनाक छ । त्यति सब भएर पनि हस्तलिखित प्रतिहरूमार्फत प्रचारित हुन्छ, जसलाई निकै उत्सुकताका साथ अध्ययन गरिन्छ ।
निकोलायेव ‘के गर्ने ?’ चेर्नीशेव्स्कीको ‘युटोपियनस्वरूप’ देखापरेको जिकिर गर्दै लेनिनलाई उद्धृत गर्छन्:
चेर्नीशेव्स्कीको समाजवाद युटोपियाली हो ।
थिङको ‘हा’मा ‘हा’ छ:
यो खासमा चेर्नीशेव्स्कीले परिकल्पना गरेको समाजवादी समाज हो ।
निकोलायेव सुनाउँछन्:
परिवारमा समानताका सम्बन्धहरूबिना नारीको पूर्ण मुक्तिको कल्पना गर्नु कठिन छ ।
थिङ अधरपत्र झिक्छिन्, लय टिप्छिन्:
पारिवारिक असमानताले महिलाको पूर्ण मुक्तिमा बाधा उत्पन्न गर्छ ।
उपन्यासकी नायिका वेरा पावलोव्नालाई लिएर थिङ:
लोपुखोवसँग भागेर विवाह गर्छिन् … मूलतः सफल दाम्पत्य जीवनको दुईवटा सर्त हुन्छन् एक पारस्परिक प्रेम । अर्को लोग्नेस्वास्नी दुवैको आर्थिक उपार्जन ।
लोपुखोव वेरालाई चोट पुर्याउन चाहँदैन । तसर्थ ऊ राजीखुशी पलायन भइदिन्छ वेराको जीवनबाट ।
निकोलायेव थिङलाई आफ्नो ऐना देखाउँछन्:
आरम्भमा वेरा पावलोव्नालाई लोपुखोवसँगको विवाह अहोभाग्य लागेको छ, जसले आफ्नो खुट्टामा आफैं उभिनु सघाएको छ … परस्पर चोखो प्रेम नभएको विवाहमा स्वतन्त्रताको हनन हुन्छ नै … सङ्कटमोचन कसरी भएको छ भने, लोपुखोव जीवनको रङ्गमञ्चबाट हटिदिएको छ । किरसानोवसँग विवाह गर्दा पावलोव्नालाई दाम्पत्य सुख हासिल भएको छ, जुनमा गहिरो प्रेम राज गरेको छ । … नारीको साँचो मुक्तिका निम्ति बाबुआमाको रुढीग्रस्त परिवारबाट बाहिरिएर दाम्पत्य सुखले भरिएको जीवन मात्र होइन, आर्थिक आत्मनिर्भरताको पनि आवश्यकता छ ।
थिङले लेनिनलाई ठाउँ दिएको हेरौं:
लेनिनले भनेका थिए, ‘जो साँच्चिकै मानवीय नैतिक र साँचो अर्थमा समृद्ध जीवनबारे प्रचार गर्न चाहन्छन्, तिनका लागि मात्र हो यो पुस्तक । तपाईंको ओठमा आमाको दूध सुकेको छैन भने त्यो पढ्नु बेकार हुन्छ । जटिल र गहन भएकोले … कलिलै उमेरमा बुझ्नु कठिन छ । मैले यो पुस्तक १४ वर्षको हुँदा पढ्ने कोसिस गरेको थिएँ । त्यतिखेर यो व्यर्थ, सतही पठन मात्र भयो, मेरो दाइलाई मृत्युदण्ड दिइएपछि फेरि मैले यो पुस्तक ध्यान दिएर पढें । किनकि, यो मेरो दाइको प्रिय पुस्तक थियो । कैयौं दिन, हप्ता पढिरहेपछि मात्र मैले यो पुस्तकको गहिराइ बुझें । यो यस्तो पुस्तक हो, जसले आजीवन उत्साह प्रदान गर्दछ ।’
कृपया ! यसको अन्तिम हरफ याद गरिदिनुहोला । स्रोत एउटै हुँदा अनुवादमा निकै समानता आउने हुनाले अन्तिममा ललिजन रावलको अनुवाद हेरौं:
“लेनिनसँगका भेटघाटहरू” पुस्तकमा भूतपूर्व मेन्शेविक न. वलेन्तीनोवले चेर्नीशेव्स्कीको कुनै आलोचकलाई लेनिनको कडा उत्तरको यो उदाहरण दिएका छन्: ‘तपाईंले कहिले पढ्नु भयो यो उपन्यास ? यदि तपाईंका ओठबाट आमाको दूध सुकेको छैन भने त्यो पढ्नु बेकार छ । चेर्नीशेव्स्कीको उपन्यास यति जटिल र गहन छ, त्यसलाई अल्पायुमा बुझ्नु असम्भव छ । मैले स्वयं, जहाँसम्म सम्झना छ, चौध वर्षको उमेरमा त्यो पढ्ने कोसिस गरेको थिएँ । त्यसबेला त्यो व्यर्थ, सतही पढाइ थियोे । तर दाजुलाई मृत्युुदण्ड दिइसकेपछि मैले त्यो ध्यान दिएर पढ्ने फैसला गरेँ किनकि मलाई थाहा थियो यो मेरो दाजुको प्रिय उपन्यास थियो । मैले कैयौं दिन, हप्तासम्म पढिरहेँ । त्यसपछि मात्र मैले त्यसको गहिराइलाई बुझेँ । यो यस्तो पुस्तक हो, जसले आजीवन उत्साह प्रदान गर्छ ।’
बिना थिङको ‘याम्बुनेर’ (फिनिक्स बुक्स, २०७७, साउन) मा सङ्ग्रहित -बाह्रौं कथा ‘ब्याड भाले’ र ‘बाह्र कथा’का रचनाकार गोविन्दबहादुर मल्ल ‘गोठाले’को ‘त्यसको भाले’को कुरा पछि अन्तै कतै गरौंला- सातौं कथा ‘ड्राइभरका आँखा’ (पृ. ९०-९) मा ड्राइभर बोल्छन्, भेद खोल्छन्:
तिमीलाई देखेपछि मलाई आफ्नो छोरीको याद आउँछ । मेरो पनि एउटी छोरी थिई –
रवीन्द्रनाथ ठाकुरको ‘काबुलीवाला’ (पृ. ९०-८) रहमान मिनीलाई देखेपछि हुरुक्क हुन्छन्, धुरुक्क रुन्छन्:
बाबूजी जैसी तुम्हारी लडकी है, वैसी मेरी भी एक लडकी मेरे देश में है । मैं उसकी याद कर तुम्हारी बच्ची के लिए थोडा-सा मेवा हाथ में लिए चला आता था । मैं यहाँ अब कोई सौदा बेचने नहीं आया था ।
(पृ. ९७: रवीन्द्रनाथ टैगोर की अमर कहानियाँ: धीरज पाँकेट बुक्स, दिल्ली)
रमाइलो संयोग हेर्नुस् न, ‘ड्राइभरका आँखा’ पृष्ठ ९० देखि सुरु भएर ९९ मा टुंगिएको छ भने ‘काबुलीवाला’ पृष्ठ ९० मै सुरु हुन्छ, तर पृष्ठ ९९ मा अर्को रवीन्द्रनाथ ठाकुरको कथा सुरु छ, ‘देशभक्त’ । ‘शोले’मा गब्बरले ‘तेरे हाथ मुझे दे दे ठाकुर’ भनेजस्तो थिङले … ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।