बिना थिङ तामाङ, यो नाम सुन्ने धेरैले थिङलाई कवि भनी चिन्दथे । हुन त उनी कवि हुनुअघि नै कथाकार बनिसकेकी थिइन्, कथासङ्ग्रह “छुकी“ मार्फत् । तर उनको कथाहृदय कविवृत्तमा धुमिल धुमिल देखिन्थ्यो । त्यही धुमिल हृदयलाई थिङले अर्कोपटक उज्यालो बनाएकी छन्, कथासङ्गह “याम्बुनेर” मार्फत् ।
स्टेजको ग्लामराइजेसन र पाठक झुक्याउने विज्ञापनबिना नै लकडाउनको अफ्ट्यारो समयमा कथा बजारमा ल्याएकी विना थिङ र जोखिम मोलेरै सम्भव भएका स्थानमा पाठकसामु पुस्तक पुर्याइरहेको फिनिक्स बुक्सलाई धन्यवाद दिँदै कथासङ्ग्रहमाथिको यो दृष्टि अघि बढाऊँ ।
कथाहरूको कथा
याम्बु अर्थात् तामाङ जातिले काठमाडौँँलाई बुझ्ने शब्द । काठमाडौँ अर्थात् देशको सत्ता र शक्तिको केन्द्र । याम्बुनेर अर्थात् काठमाडौँ वा शक्ति र सत्ता वरिपरिको ठाउँ । याम्बुको खाल्डोबाहिरको बाँकी देशले सोचिरहन्छ, याम्बुनेर पनि याम्बु जस्तै छ ।
तर वास्तवमा याम्बुनेर याम्बु जस्तो छैन, काखैमा याम्बु बसाएका याम्बुनेरका डाँडाहरूले याम्बुभन्दा फरक कथा बाँचिआएका छन् । यिनीहरूका दुःखका आआफ्नै शृङ्खलाहरू छन् र जीवनको फरक फेहरिस्त । लामो समयअघि याम्बुको लोभले कथाकार बिना थिङलाई याम्बुनेर पठाएका थिए थिङका परिवारले । र यहीँ आएपछि उनले बुझेकी थिइन्, याम्बुनेर याम्बुबाटै शोषित र पीडित छ । उनले यो बुझ्न जीवनको उर्जाशील समय कटाइन् तर बुझेरै छाडिन् । उनी यत्तिमै रोकिईनन्, उनको यो बुझाइ बाँड्न चाहिन्, फैलाउन चाहिन्, र त्यही चाहनाले जन्मायो “याम्बुनेर” । कथासङ्ग्रहको जन्मकथा यस्तै यस्तै छ ।
कथामा विविधताः
१७३ पेजभित्रका १३ कथामा थिङले स्वादको विविधता पस्केकी छन् । पुस्तकमा थिङले कहिले साधनाको कठोर स्वरूप मानिने “छाम”मा बस्न लागेकी आनी पेमामार्फत् प्रेम नै जीवनको सुन्दर सत्य हो भनिदिन्छिन् । कहिले विधिको विधानसँग लाचार बनेका भगवान् तामाङहरूको कुरा गर्छिन्, त कहिले आफन्तबाटै बम्बैको कोठीमा पुर्याइएकी सेर्मोको कारुणिक कथामा अब्बासको प्रेम मिसाउँछिन् । हरेक कथामा कथाको जन्मकथा, परिवेश र पात्रको सामाजिक अवस्था फरक फरक छ । प्रत्येक नयाँ कथामा अघिल्ला कथाहरूको क्लेस नभेटिँदा पाठकलाई कहीँ पनि मोनोटोनस बन्नु पर्दैन । बरु कथामा धेरै तामाङ भाषाका शब्दहरू छन्, पूरा कथामा थिङले केवल ५९ ओटा तामाङ शब्दहरूको अर्थ खुलाएकी छन् भने अन्य शब्द र वाक्यांशहरूको अर्थ हलुका मात्र खुल्नेगरी प्रयोग गरेको हुँदा कथामा कहीँकतै पाठकले थोरै घोरिनुपर्ने चाहिँ हुन्छ ।
तोर्मोको टुक्रा जस्ता मीठा कथ्य
तोर्मो तामाङ संस्कृतिमा प्रचलित खाद्य परिकार हो । घिउमा भातलाई मिहिन गरी बनाइएको यो परिकार ज्यादै मीठो हुन्छ । सङ्ग्रहका कथा र कथाभन्दा ज्यादा कथाको कथ्य शैलीले सङ्ग्रह तोम्रो जस्तै मीठो बनेको छ । कथामा कतै प्रेम छ कतै घृणा । कतै समर्पण छ त कतै स्वार्थ । तर सबै घटना परिघटनामा कथ्य शैली निकै सुन्दर छ । प्रेम कसरी दर्शाउने र घृणा कसरी व्यक्त गर्ने ? आक्रोशको अवस्था वा सन्तुष्टिको पल ! यी सबै सामाजिक जीवनका भिन्दाभिन्दै अनुभूतिलाई शब्दमार्फत् कसरी न्याय दिने ? कथाकार यस विषयमा पूर्ण सचेत देखिन्छन् । जसले गर्दा कथाको कथन तोम्रो जस्तै बनेको छ ।
हाम्रै सामाजिक जीवनमा हामीले नै देख्दै र भोग्दै आएका र हामीलाई सामान्य लागिरहेका विषयवस्तु साँच्चै कति गहन रहेछन् र तिनै गहिरा विषयवस्तुलाई समेत कति सरल तरिकाले प्रस्तुत गर्न सकिँदो सकिन्छ ! यही प्रश्नको उत्तर भेटाउन याम्बुनेर पढ्नुपर्ने छ, र यही विशेषताले याम्बुनेरलाई थप विशेष बनाएको छ ।
उज्यालोको संकेत, विद्रोहको अभाव
सङ्ग्रहको पहिलो र निकै सुन्दर कथा हो, आनि पेमा । भर्खरै चार कक्षा उतिर्ण गरेकी म्हेन्दो तामाङ कथामा आनि पेमा बनेकी छन् । कोपिला जस्ता स–साना नानीबाबुहरू फुल जसरी गुम्बामा चढाएर पुण्य प्राप्तिको आस्था राख्ने हाम्रो सामाजिक कुरीतिको विरुद्ध आनि पेमाको हृदयमा विद्रोहको झिल्को पाठकले कथाभरी खोजिरहन्छन् । याम्बुको खाल्डोमा निसास्सिएर कथाको नायक पदम गुम्बा आइरहन्छ । गुम्बाको शान्त र सौम्य वातावरण साथै आनि पेमासँगको सुन्दर समयले पनि पदमलाई गुम्बातिर तानिरहन्छ । समय बितिजाँदा पदम र आनि पेमाको हृदयमा प्रेमको टुसा पलाउँछ । तर उनीहरू बेखबर छन् आफ्नै हृदयको प्रेमको सँग । गुम्बाभरि उनीहरूको प्रेम चर्चाको विषय छ । थाहा पाएर वा नपाएर आनिहरू आजीवन अविवाहित रहेर भगवान् बुद्धको शरणमा रहनलाई प्रवजित भएका हुन्छन् । तर आनि पेमा र पदमको बढ्दो सामिप्यताले गुम्बा र रिम्पोछेलाई अतिरिक्त तनाव दिइरहन्छ । रिम्पोछेका बुद्धवाणीले आनि पेमालाई प्रेममुक्त बनाउँदैन, बरु सजिलो बाटो रोजेर आनि पेमालाई छाममा (तीन वर्ष, तीन महिना, तीन दिन, तीन घन्टा, तीन मिनेट, तीन सेकेन्ड ध्यानमा रहनु) लैजाने निधो गर्छन् । तर ध्यानमा जाने बिहानको झिस्मिसैमा आनि पेमा कपडाको पोको बोकेर याम्बु झरिदिन्छिन् ।
कथा यसरी अन्त्य हुनु पनि विद्रोहको अर्को स्वरूप हो । हाम्रो अँध्यारो संस्कार विरुद्ध उज्यालोको संकेत हो । अरू केही कथामा पनि यस्तै उज्यालोको संकेत छ । बाउ बन्ने क्षमता नभएको श्रीमानले गरेको कटाक्ष विरुद्ध गाउँकै मर्दसँग स्याङ्म्हेन्दोले विवाह गर्नु वा वनमा सुकेका दाउरा काटिरहेका महिलालाई हकारिरहेका सैनिकहरूसँग प्रश्न वा प्रतिप्रश्न गर्नु, बेच्नलाई सहर ल्याइपुर्याएको रक्सी पोखिदिने पुलिसहरूसँग झगडा गर्नु वा सत्ताको मात लागेर घरभित्रै पसेर जाँडको घ्याम्पा पोखिदिने, रक्सी पार्ने भाँडा फुटाइदिने पुलिसहरूसँग सोममायाले प्रतिकार गरिरहनु– उज्यालोको संकेत अवश्य हो । तर सत्ताको मातमा अन्धो बनेको सरकारका आँखा जुनकीरी जस्तो उज्यालोले उघ्रिदैनन् । सत्तालाई ब्युँझाउन विद्रोहको मशाल चाहिने भएको छ । तर कथाकार शालिन विद्रोहमा विश्वास गर्छन् ।
नलेखिएका कथाः
नेपाली कथा वा साहित्यमा नलेखिएका कथाहरू धेरै छन् । सामाजिक दमन र उत्पीडनको उच्च चपेटामा परेका समुदाय धेरै छन् । ती सबै समुदायमा जीवनका आआफ्नै लयहरू छन् । दुःख छन् । गुनासा छन् । समग्रमा देशभित्रका यी विविध संस्कृति वा समुदायका छुट्टाछुट्टै कथाहरू छन् । तर दुःखद पक्ष नेपाली साहित्यले एउटा लामो समय पार गरिसक्दा कथाको मुलधारमा यी कथाहरू आउन सकेनन् अथवा विभेदको उत्पीडनमा रमाउने एकल जातीय राज्य व्यवस्थाले बिजातीय कथाहरूमा दमन गरिरह्यो ।
समय विस्तारै फेरिदै छ । उपेक्षाको लामो इतिहासको पीँधमा परेका समुदायले आफूलाई समयको मुलधारमा ल्याउँदै छन् । उनीहरूलाई लागिरहेको छ, सदियौंदेखि नलेखिएका कथा अब नलेखिएर हुँदैन । अब नलेखिए यी कथा कहिल्यै लेखिने छैनन् । कथाकारलाई यस्तै लागेपछि जन्मिएको हो, “याम्बुनेर” ।
याम्बुनेरमा छन् छप्पेनी दिदीका गुमनाम विद्रोहको कुरा, एउटा मधेशीलाई पहाडिया आँखाले हेर्ने नजर । यहीँ छ आइतिमाया र दावाको सांस्कृतिक प्रेम र रोमान्सको कुरा । र यहीँ छन् हिन्दू परिवारकी सितामाथि मुश्लिम परिवारको जुनेदोले गरेको प्रेम र प्रेममाथिको सामाजिक सकसको विषय ।
हामीलाई सामान्य लाग्ने यी विषयहरू र यिनै विषयमा लेखिएका कथाहरू यस अर्थमा पनि विशेष छन् कि, यी कथाहरू कल्पिएर लेखिएका होइनन् । भोगेर लेखिएका हुन् । देखेर लेखिएका हुन् । हरेक कथामा कथाकार कहीँकतै आफैँ पुगेकी छन् । यसर्थमा यी कथाहरू बन्द कोठामा बसेर लेखिएका कथाहरू होइनन्, स्वयम् पात्रले लेखेका हुन् जो आजसम्म लेखिएका थिएनन् वा पात्रले नभएर अरू कसैले लेखेका थिए ।
कथामा सुन्दर विविधता छ तर प्रायःजसो कथाहरूको कथ्य एङ्गल एकातर्फि मात्रै छ ।
कथाभित्र छुटेका कथा
याम्बुनेर भित्रका १३ कथाहरू नयाँ हुन् । फेरि यिनै कथाभित्र अरू केही थप कथा र उपकथाहरू जरुर छन् । सर्सर्ती कथा भनिरहँदा ती उपकथाहरू कतै छुटेजस्तो लाग्छन् । हाम्रो राज्यव्यवस्थाले धेरै समुदायलाई लामो समय उत्पीडनमा राखिरह्यो । जात, धर्म, वर्ग वा क्षेत्रको आधारमा राज्यले सदियौँदेखि दमन गरिरह्यो थप आफ्नै समुदायबाट उत्पीडनमा परिरहेको अर्को सानो समुदाय हरेक समुदायभित्र छन् र तिनीहरूको कथा पक्कै थप कारुणिक छन् र हुन्छन् । तर कथासङ्ग्रहमा ती दमनको दोहोरो मारमा परेका कारुणिक कथाहरू छुटिरहेका छन् । कथामा सुन्दर विविधता छ तर प्रायःजसो कथाहरूको कथ्य एङ्गल एकातर्फि मात्रै छ । समाजको अर्को पाटोमा यस्तै सुन्दर कथाहरू छन्, तर ती कथाहरूले सङ्ग्रहमा ठाउँ पाएका छैनन् । हुनसक्छ, कथाकारले अर्को सङ्ग्रहको तयारी गरिरहेकी छन् ।
याम्बु बाहिरको याम्बु
कथाकार याम्बु नजिकै छन्, यसैले उनलाई थाहा छ याम्बुको रवाफ । याम्बुको दमन । साथसाथै हाम्रो राज्यव्यवस्थामा याम्बुबाहिर पनि धेरै याम्बु छन् । याम्बुबाहिरका याम्बुहरूको अनुहार, स्वाभाव र मानसिकता पनि याम्बुसँग दुरुस्तै मिल्दछ । देशभरिका यी याम्बुहरूले याम्बुनेर बग्ने प्रत्येक पसिनाका थोपाथोपामा शोषण गर्छन् । याम्बुनेरका मान्छेहरूको मुल्य ज्यादै सस्तो छ, याम्बुको बजारमा । देशैभरिका याम्बु र याम्बुनेरको दूरी, र यो असमान व्यवस्थाको प्रतिनिधि कथाहरू “याम्बुनेर” मा छन् । साथसाथै दमनका अझै कारुणिक कथाहरू लेखिँदै छन् भन्ने संकेत पनि “याम्बुनेर“ मा छ ।
कथ्यमा चिप्लिएको स–साना ठाउँ
सुन्दर कथाहरू लेख्दा लेख्दै पनि कथाकार कहीँकतै स–साना कुराहरूमा चिप्लिएको महसुस हुन्छ । सङ्ग्रहको सुरुमा कथाकारले लेखेकी छन्, “याम्बुका कामुक आँखाले यो भूगोलका युवतीको यौवन देख्थ्यो तर तिनका मेहेनत देख्दैनथ्यो ।”, यो वाक्य आफैँमा विरोधाभाष पूर्ण छ । मेहेनतको तुलना त्यसको उत्पादन सँग हुने हो, यौवनसँग होइन ।
कथा भन्नुअघिको कथामा कथाकारले लेखेको अर्को वाक्य हो, “टाढाबाट याम्बुनजिकै देखिने यो थुम्कोमा आएपछि थाहा पाएँ, याम्बु यहाँबाट त झनै टाढा रहेछ ।”, यो वाक्य पनि भावनामा बहकिएर लेखिएको हो, जो सुन्दा र लेख्दा मात्र सुन्दर हुन्छ । कथाकारले यो लेख्दै गर्दा भुलेकी छन् कि उनी कम्तिमा जात्रा र चाडवाडको फेरो समाएर पुग्न सकिने याम्बुमा कोही बिरामी परिहाले भने पनि डोकोमा बोकेर लैजान सकिन्छ । दूरीमा नजिक भएकैले याम्बुनेरले केही राहत जरुर पाएको छ । आकाशमा हेली आउला र बिरामीलाई बोकेर लैजाला भन्ने आसामा रहनुपर्ने दूरदराजका मानिस याम्बुबाट उनीभन्दा ज्यादै टाढा छन् ।
अप्टिस (दृष्टि र प्रकाश) का सामान्य नियमहरूलाई आधार बनाउँदा ड्राइभरले कहाँ हेरिरहेको छ भन्ने कुरा ठोकुवा गर्न सकिँदैन ।
“भगवान् निवास“ शीर्षकको कथामा भगवानले बनाएको नयाँ घरमा बिहानैदेखि पूजापाठ चलिरहेको छ । कथाले नै बताएअनुसार पूजापाठको विधि पनि लामो छ । तर लामो पूजाविधि, आफन्तहरूको सत्कार, भातभान्सा, लामहरूलाई दानदक्षिणा गरी गरिने बिदाई, ज्यामीहरूलाई दिनुपर्ने रकम बुझाएर उनीहरूलाई पठाउने र घरको सारा व्यवस्था गरेर भगवान् तामाङ स्कुल पुग्ने समय ज्यादै छोटो देखिएकोले यस कथामा समयको तारतम्य कतै नमिले जस्तो देखिएको छ ।
“ड्राइभरका आँखा” शीर्षकको कथामा कथाकी पात्र श्याममायाले ट्रकको ऐनमा हेरेर ड्राइभरका आँखा आफ्ना चिचिला छातीमा गाडिएका थिए भनेकी छन् । तर अप्टिस (दृष्टि र प्रकाश) का सामान्य नियमहरूलाई आधार बनाउँदा ड्राइभरले कहाँ हेरिरहेको छ भन्ने कुरा ठोकुवा गर्न सकिँदैन । “ब्याड भाले“ शीर्षकको कथामा (१३८ पेजमा) स्याङ्म्हेन्दोका अगाडिका दुई दाँत धेरै नै पर उछिट्टिएका पाइएको छ भने १४९ पेजमा तिनैका ओठहरू एकअर्कामा टम्म भएका छन् । कथा सुन्दर हुँदाहुँदै पनि कहीँकतै यस्तै स–साना विषयमा ख्याल नगरिएको पाइन्छ ।
समग्रमा, १७३ पेजभित्र १३ कथाबाट कथाकार बिना थिङले कथाको नयाँ स्वाद पस्किएकी छन् ।
मोफसलले काठमाडौँ नै देख्ने काठमाडौँ नजिकैको भूगोल काठमाडौँबाटै दमनमा परेको छ । जीवनको उर्जाशील समय काठमाडौँ नजिकैको भूगोलमा बिताएर कथाकारले यो बुझेकी छन् र कथामा यही पस्केकी छन् । थप कथामा आएका आनि पेमा, भगवान् तामाङ, आइतिमाया र सेर्मोहरू काठमाडौँ नजिकैका पात्र मात्र होइनन्, वर्षौँदेखि राज्यसत्ताको दमन खेपेका देशैभरिका प्रतिनिधि पात्रहरू हुन् ।
त्यसैले यी कथाहरुले याम्बु नजिकैको याम्बुनेरका मात्र आवाज होइनन्, देशैभरि उत्पीडनमा परेकाहरूको प्रतिनिधि आवाज हुन् । यी कथा लेखिएका थिएनन् वा अरूले लेखिदिएका थिए, तर याम्बुनेरका हरेक पात्रहरू आफैँले कथा भनिरहेका छन् । त्यसैले सुन्दर छन्, सौम्य छन्, कारुणिक छन् र यथार्थ पनि छन् ।
सरल र सुन्दर कथ्यमा यस्तो गहन विषयवस्तु पस्किएपछि कथाकारबाट बाँकी कथाहरूको आसा गर्नु पाठकको हक हुनजान्छ । “याम्बुनेर“ पढेपछि पाठकले विना थिङबाट अर्को कृतिको आस र माग जरुर गर्नेछन् । कथाकारलाई यसको लागि बधाईसहित अग्रिम शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।