झाडाबान्ता, प्लेग र ब्ल्याक डेथ (इन्फ्लुएन्जा)जस्ता अनगिन्ती महामारी सामना गरिसकेको यो संसारले एक पटक पुनः कोभिड १९ जस्तो घातक महामारीसँग जुझिरहेको छ ।
नेपालजस्तो खोपको जोगाड गर्न नसक्ने देशहरूका लागि भने यो महामारीले लामो समयसम्म दुःख देला कि भन्ने डर पनि उत्तिकै छ ।
त्यसो त संसारभरि नै अन्य राहतहरूसँगै भ्याक्सिन पनि तत्काल पुर्याउन सकियोस् भन्ने प्रयास जारी छ । यदि भ्याक्सिनको समुचित उपयोग हुन सके, पुनः हामी खुला हृदयले सात फेर्न सक्नेछौँ ।
अनि, कोरोनाभाइरस पनि अन्य किसिमका महामारीजस्तै इतिहासको एउटा कालखण्डको पाठ बनेर बस्नेछ ।
इतिहासलाई चिहाउने हो भने पोलियो, हेपाटाइटिस, एचआइभी एड्सजस्ता अनेकन् महामारीलाई नियन्त्रणमा लिन हालसम्म मानिस सफल भइसकेको छ र यसमा भ्याक्सिन (खोप)ले ठूलो भूमिका खेलेको छ ।
मानिसको निरन्तरको खोजको परिणाम खोप हो । यही खोप विभिन्न महामारी तथा रोगबाट जोगाउन हाम्रा लागि ढालझैँ बनेर उभिएको छ । खोपको आविष्कारले गएका २ सय २५ वर्षयता मानिसलाई चैन दिएको छ ।
बिफरकै उदाहरण लिऊँ न ! हजारौँ वर्षदेखि यो रोगले संसारलाई हैरान बनाइरहेको थियो । खोपको आविष्कारपछि भने यो रोग संसारबाटै गायब भइसकेको छ । संसारकै पहिलो खोप बिफरविरूद्ध बनेको थियो । यो रोग कहाँबाट शुरू भयो भन्ने कुनै ठोस जानकारी भने पाइँदैन । तर १० हजार वर्ष पहिले जब दक्षिणपूर्वी अफ्रिकामा मानिसले खेती गर्न थाल्यो, त्यसै बेला सम्भवतः पहिलो पटक मानव जातिले बिफरको यातना झेल्न पुग्यो । ईशापूर्व दोस्रो तथा तेस्रो शताब्दीताका मिश्र (इजिप्ट)का चिहानमा मम्मी बनाएर राखिएका कतिपय लाशमा बिफरका लक्षणहरू देखिएका थिए । जब चीन र भारतजस्ता देश मिश्र तथा यमनजस्ता मुलुकसँग सामुद्रिक तथा रेशम मार्गका माध्यमबाट जोडिन पुगे, बिफरले ती देशमा महामारी मच्चाए । यसैगरी युरोपमा यो रोग पाँचौँ या सातौँ शताब्दीतिर पुग्यो । जताजता व्यापारका माध्यमले देशहरू जोडिन थाले, त्यतात्यता बिफरले पश्रय पाउँदै र फैलँदै जान थाल्यो ।
१६औँ तथा १७ औँ शताब्दीसम्म आइपुग्दा बिफरका कारण संसारका कुना कुनाका मानिस प्रभावित हुन थालेका थिए र हरेक वर्ष लाखौँको संख्यामा मानिसहरू मर्न थालेका थिए । बिफरका कारण संक्रमितमध्ये एक तिहाईको मृत्यु हुन्थ्यो । बचेका मानिसहरूमध्ये पनि कतिपयको आँखा बिग्रन्थ्यो त कतिपयले शारीरिक अपाङ्गता बेहोर्नु पर्थ्यो । एक हिसाबले भन्ने हो भने यस रोगको कुनै उपचार थिएन । तर यो रोगले एउटा शिक्षा दियो र त्यो शिक्षा थियो- एक पटक बिफर भइसकेको मानिस बाँच्यो भने उसलाई अर्को पटक दुःख दिँदैन । यो ज्ञान पाएपछि वैद्यहरूले बिफरबाट बच्नका लागि खोपजस्तै एउटा तरिका विकसित गरे र त्यही तरिका भविष्यमा आधुनिक खोपको एउटा आधारशीला बन्न पुग्यो ।
उदाहरणका लागि, चीनमा बिफरका रोगीहरूको घाउका पाप्रालाई सुकाएर त्यसको धूलो जम्मा गरिन्थ्यो । यो धूलोलाई बाँसका साना ढुङ्ग्रीलाई नाकमा घुसाइन्थ्यो र फुकेर शरीरभित्र छिराइन्थ्यो । भारत र नेपालजस्ता देशमा आयुर्वेदमा दादुराको उपचारका लागि कयौँ जडिबुटी खोजिएका थिए । खास किसिमका कपडा, जल चिकित्साजस्ता कुरा पनि पाइन्छन् । टर्की र अफ्रिकाका केही देशमा चिनियाँ तथा आयुर्वेदका तरिकाहरू प्रचलनमा रहँदा व्यापारका माध्यमबाट त्यो उपचार पद्धति र शैली युरोप पुग्यो ।
बिफरका लागि भेरिओला भाइरसले काम गरेको हुन्छ । सोही भाइरसको नाममा भेरिओलेसन उपचार पद्धति बनाइयो । भेरिओलेसनको उद्देश्य मानिसहरूलाई थोरै संक्रमित गरी तिनमा प्रतिरक्षा प्रणााली (इम्युनिटी) विकसित गर्नु थियो । तर यस किसिमको उपचारले कयौँ अवस्थामा मानिस अझ बढी गम्भीर बिरामी हुन्थे र यसैका कारण तिनको मृत्युसमेत हुने गर्थ्यो ।
एडवर्ड जेनर भन्ने बेलायती बालकलाई पनि बाल्यकालमा भेरिओलेसन गरिएको थियो । बालापनमा उनले भेरिओलेसनको यति ठूलो त्रासदि बेहोरे कि जीवनभर त्यसको असर उनले बिर्सिएनन् । पछि त उनी चिकित्सा क्षेत्रमा आए र डा. एडवर्ड जेनरका रूपमा प्रख्यात बन्न पुगे । उनी शुरूमा चिकित्सक थिएनन् । उनी त जीव र वनस्पति तथा भूगर्भमा रूचि राख्थे । पछि उनी त्यो बेलाका चर्चित सर्जन जोन हन्टरका सहयोगी बने । यस्तै सहयोगी बन्ने क्रममा बेलायतका गाउँगाउँमा गई उनले भेरिओलेसन गराउँथे । सो कार्य निकै पीडादायी हुनाले पीडा पनि कम होस् र रोगबाट पनि बचाउन सकियोस् भन्ने कुराको खोजमा सधैँ उनी लागिरहे ।
अठारौँ शताब्दीको अन्तिम दशकतिर उनले गाईतिर पनि हेरे । उनले के पाए भने गाईलाई पनि बिफरझैँ देखिने र यो रोगसँग मिल्दोजुल्दो रोग लाग्ने गर्दोरहेछ भन्ने थाहा पाए र सो रोगलाई काउ पक्स भनिन्थ्यो । कयौँ पटक त गाईको संसर्गमा रहने, नजिक बस्ने मानिसलाई पनि सो रोग सर्ने गर्थ्यो । तर यो रोग बिफरजस्तो गम्भीर भने हुँदैनथ्यो । दूधको व्यवसाय गर्ने गोठालाहरूबाट उनले के पनि थाहा पाए भने यदि कसैलाई काउ पक्सले सताएको छ भने त्यस्ता मानिस वा बालबालिकालाई बिफर हुँदैन रहेछ । अपठित ग्वालाहरूबाट यो कुरा सुनेपछि एडवर्ड जेनरले पहिलो खोपको परीक्षण गरे ।
सन् १७९६ ताका उनले काउ पक्सबाट पीडित एक महिलाको शरीरका पाप्राहरू निकालेर आठ वर्षीय एक बालक जेम्स फिपलाई संक्रमित गरिदिए । जेम्सलाई केही दिन ज्वरोले सतायो र त्यसपछि उनी स्वस्थ भए । पछि उनलाई ठेउलाले सतायो तर ठेउलाले पार्ने गहिरो घाउले देखिने दाग नै गायब भएर गयो । यसरी संसारको पहिलो खोप जन्मियो । यसलाई डाक्टर जेनरले भ्याक्सिनेसन नामकरण गरे, जुन ल्याटिन शब्द ‘वाका’ (Vacca) अर्थात् गाईबाट बनेको थियो ।
त्यसैले हरेक वर्ष १४ मेका दिन संसारभर खोपको आविष्कार भएको मानिन्छ र यस दिनलाई विशेष दिन मानिन्छ । यससँगै कतिपयले डाक्टर जेनरलाई रोग प्रतिरोधी क्षमताका पिता पनि मान्छन् । कतिले चाहिँ मान्दैनन् पनि । नमान्नुको कारण चाहिँ जेनर अगाडि नै एसियाली तथा अफ्रिकी मुलुकहरूमा यसबाट बच्ने अनेकन् प्रयोग पहिलेदेखि नै गरिएको तर्क अघि सार्छन् । साथै, उनीहरूले परम्परागत ज्ञानलाई कम आँक्नुका रूपमा पनि यसलाई लिन्छन् ।
केही मानिस भने जेम्स फिप र गाई गोठालाका कथा पनि काल्पनिक हो भन्छन् । कयौँ वर्ष अनेकन् प्रयोग गरिरहेका एडवार्ड जेनरको त्यो बेला धार्मिक मतका मठाधीशहरूले चर्को आलोचना गरिरहेक थिए । धार्मिक संगठनले त यो धर्मको विरोधमा गरिएको र ईश्वरविरूद्धको षडयन्त्रका रूपमा पनि हेर्थे । यस्तै आफ्नो ज्यान जोगाउनका लागि गाईको दुरूपयोग गर्नु, कसैलाई जानाजान संक्रमित गर्नु अमानवीय रहेको समेत बताउँथे । असल नियतले गरिएको प्रयोगका कारण डा. जेनरको छवि ध्वस्त भएकाले त्यसको नवीकरण तथा उनको नायकत्वका लागि जीवनी लेखक विलयम वुडविलले यो कथा रचना गरेको आरोप केहीले लगाउने गरेका छन् । यो जीवनी निस्किएपछि त खोपप्रतिको सर्वसाधारणको विश्वास ह्वात्तै बढ्यो र खोप लगाउनेहरू लाइन लाग्न थाले ।
अंग्रेज विद्वान फ्रान्सिस गेल्टनले कतै भनेका छन्, ‘विज्ञानमा श्रेय त्यसले पाउँदैन, जसले शुरूमा यसबारे सोचेको हुन्छ । बरू उसैले पाउँछ, जसले मानिसलाई विचारहरू (आइडियाज्) प्रति विश्वास दिलाउन सफल हुन्छ ।’
एडवार्ड जेनरले खोपको सिद्धता प्रमाणित मात्र गरेनन्, तुलनात्मक रूपमा सजिलो र सुरक्षित तरिका पनि विकसित गरे । उनैका कारण मानव इतिहासमा सबैभन्दा बढी मानिसको ज्यान लिने, कयौँलाई अपाङ्ग बनाउनबाट रोक्ने काममा उनले अगुवाई गरे । यो कति खतरनाक रोग थियो भन्ने कुरा बीसौँ शताब्दीमा यसबाट मर्नेहरूको संख्या ३० करोडभन्दा बढी थियो भन्नेबाट नै प्रमाणित हुन्छ ।
यो खोप संसारको पहिलो आधुनिक खोप मात्र बनेन, यसले अन्य रोगका लागि पनि अनुसन्धान गर्ने बाटाहरू खुला गरिदियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।