
माइकल मिल्केन
सन् १९५७ सम्म आइपुग्दा अमेरिकाको व्यापार, विज्ञान र संस्कृति कसैले पनि हल्लाउन नसक्ने ‘अंगद गोडा’ बन्न पुगेको सबैले निश्चय गरे । संसारकै ६ प्रतिशत जनसंख्याले ४० प्रतिशत आर्थिक उत्पादन गथ्र्यो त्यो बेला । अमेरिकाका वैज्ञानिकहरुले संसारकै बढी नोबेल पुरस्कार हात पार्थे । अमेरिकासँग संसारकै बढी टेलिफोन थियो, टेलिभिजन सेट थिए, कार र फ्रिज पनि उत्तिकै । जुन अन्य मुलुकले कल्पना मात्र गर्न सक्थे । अमेरिकाका महान् विश्वविद्यालयमा अध्ययन गर्न भनेर संसारका हरेकजसो देशबाट विद्यार्थी ओइरिन्थे । यो गर्व पृथ्वीभन्दा केही सय किलोमिटरमाथि बजेको एउटा ‘बिप’ आवाजले अमेरिकाको सारा गर्व र आत्मविश्वासलाई ध्वस्त बनाइदियो । उसलाई भित्रैबाट हल्लाइदियो ।
सन् १९५७ अक्टोबर ४ शुक्रबारका दिन सोभियत संघले कृत्रिम उपग्रह अन्तरिक्षमा सफलतापूर्वक छाडेको थियो । यसले अमेरिकाको विज्ञान र अन्तरिक्ष प्रतिस्पर्धालाई उछिनेको थियो ।
स्पुतनिकले अमेरिकीहरुलाई डराइदियो । पल डिक्सनले इतिहासको यस क्षणलाई ‘स्पुतनिकः द सक अफ द सेन्चुरी’ भनी नामकरण गरेका थिए र यसले पर्ल हार्बरले जत्तिकै मनोवैज्ञानिक धक्का दिएको उनको धारणा थियो । आर ७ नामक रकेटले स्पुतनिकलाई अन्तरिक्षमा पुर्याएर अब सोभियत संघले अमेरिकाका सहरहरुमा जहाँ चाह्यो त्यहीँ आणविक हतियार खसाल्न सक्छ भन्ने डरले घर गर्यो । यसले मलाई यति भित्रैदेखि हल्लायो कि त्यो बेला ११ वर्षको उमेरमा मैले राष्ट्रपति आइजनहावरलाई मेरो जे सहयोग चाहिन्छ, गर्न तयार भएको बताउँदै पत्र लेखेको थिएँ ।
म त्यो बेला गणित र विज्ञानप्रति आशक्त थिएँ । खासगरी अन्तरिक्ष यात्राका बारेमा बढी नै चासो राख्थेँ र भविष्यका लागि चाहिने अन्तरिक्ष प्रयासमा मेरो सहयोग राष्ट्रपतिलाई अवश्य नै आवश्यक पर्ला भन्ने सोच्थेँ ।
यो घटना इतिहास बनिसकेको छ । मस्कोको विजेता क्षण समयक्रममा कम्युनिस्ट प्रणालीको अन्त्यको शुरुवात भएको प्रमाणित भयो । तर त्यो बेला वैज्ञानिक अब्बलताको उनीहरुको दाबीले अमेरिकालाई सपनाबाट ब्युँझाइदियो ।
सन् १९५८ मा अमेरिकी कंग्रेस (संसद्)ले नेसनल एरोनटिक स्पेस एडमिनिस्ट्रेसन (नासा) र डिफेन्स एडभान्स्ड रिसर्च प्रोजेक्ट्स एजेनसी (डार्पा) जस्ता दुई महत्त्वपूर्ण संस्था स्थापना गर्यो । यी दुवै संस्था अमेरिका वैज्ञानिक तथा सैन्य अगुवाईमा कहिल्यै पछि नपारोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएका थिए । राष्ट्रपति आइजनहावरले यही बेला नेसनल डिफेन्स एडुकेसन एक्टमा हस्ताक्षर गरी एक अर्ब डलर निकासा गरे, जसले विज्ञान तथा प्रविधिको शिक्षामा विशेष गरी खर्च गर्ने नीति ल्याए ।
हुन त हामीलाई नासाको सफलता राम्रैसँग थाहा छ तर त्यो नासाको सबैभन्दा महानता चाहिँ यसले हाम्रो ब्रह्माण्ड प्रतिको बुझाइलाई फराकिलो बनाइदिनुमा रह्यो । यसलाई अझ फराकिलो तरिकाले बुझ्न आवश्यक छ भनी यो अभियानले बुझाइदियो । यता डार्पाको सफलता चाहिँ हाम्रो दैनिक जीवनसँग गाँसिन पुग्यो– इन्टरनेट, जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम), ग्राफिकल युजर इन्टरफेसहरु र आर्टिफिसियल इन्टेलिजेन्सका एप्लिकेसनहरुको खोजी घरघरमा पुग्यो । कालान्तरमा यी प्रविधि हाम्रो दैनिक जीवनका महत्त्वपूर्ण पाटो बने र यतिबेला सिरी तथा अलेक्साका रुपमा हामीसँग गाँसिन आइपुगेका छन् ।
त्यसो त २० औँ शताब्दीमा विज्ञानमा पहिले कहिल्यै नखोजिएका क्षेत्रका बारेमा पनि नयाँ नयाँ खोजहरु सम्भव भए । अणुको क्षयीकरण, ट्रान्जिस्टर निर्माण, संवादको क्रान्तिकारी प्रगति, औषधीका विविध आविष्कारले मानिसको जीवनलाई सहज बनाउन तथा रोगव्याधिबाट बचाउन भूमिका खेले । त्यसमाथि स्पुतनिकको सफलताले ‘पागल’ हुनु, वैज्ञानिक, गणितज्ञ अथवा इन्जिनियर बन्नु ‘नयाँ ग्ल्यामर’ हुन पुग्यो ।
अहिलेको कोभिडविरुद्धको लडाइँ हाम्रा लागि बेहोसीबाट ब्युँझने एउटा बिहानी घण्टी हो, जसले हामीलाई स्पुतनिकको समयको झल्को दिइरहेको छ । जसरी स्पुतनिकले नासा र डार्पा स्थापना गर्न अमेरिकालाई भूमिका खेल्यो, सोही स्तरको ब्युँझाइ अहिलेको आवश्यकता बन्न पुगेको छ । कोभिड १९ ले जसरी हामीलाई हाहाकारको अवस्थामा ल्याइपुर्यायो, त्यो हाहाकार हामीले भोग्नु पर्ने थिएन । हाम्रा नेताहरुले कोभिडले ल्याएको वैश्विक चुनौतीलाई बुझेका हुन्थे भने समयअघि नै हामीले यसलाई सम्हाल्न सक्थ्यौँ ।
तापनि ढिला भने भइसकेको छैन । सन् १९५८ ताका पनि डार्पाको स्थापनापछि भेन्चर क्यापिटल मोडलको लगानी जुटाइएको थियो । भेन्चर क्यापिटलले लगानी डुब्ने खतरा भएका, खोजअनुसन्धानमा आधारित नवीन आविष्कारका परियोजनालाई निर्धक्क शुरु गर्न सकिने र लामो समयसम्म अनुसन्धानका लागि कुर्न सकिने वातावरण बनायो । अन्य बेला भए लगानी अभावका कारण नयाँ खोज सपनामै सीमित हुन्थे । वैज्ञानिकहरुलाई ती सपना मार्न दिएनन् । पछि त कतिसम्म भने हरेक क्षेत्रमा जस्तो भेन्चर क्यापिटलको प्रयोग अनिवार्यजस्तो देखिन थाल्यो । सोही कारण स्वास्थ्यका क्षेत्रमा पनि डार्पा शैलीका परियोजना बने र स्वास्थ्य सुरक्षाको एउटा अंग बन्न पुग्यो । यही कारण अमेरिकी स्वास्थ्य क्षेत्र सबैभन्दा सबल भयो ।
यतिबेला राष्ट्रपति बाइडेनको २०२० को संघीय बजेटमा डार्पा शैलीको लगानी सुनिश्चित गर्न केही वर्षभित्रै ६.५ बिलियन डलर छुट्याइने घोषणा गरिएको छ । नेसनल इन्स्टिच्युट्स अफ हेल्थअन्तर्गत यो बजेट विभिन्न नयाँ परियोजनाका लागि छुट्याइने भएको हो ।
हुन त अमेरिकी सरकारले हरेक वर्ष ४ ट्रिलियन डलरभन्दा बढी बजेट बनाउने गर्छ । त्यसको तुलनामा नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच)का लागि छुट्याइएको ६.५ बिलियन निकै थोरै रकम हो । तापनि पछिल्ला समयमा केही चुनौतीलाई स्वास्थ्य क्षेत्रले राम्रोसँग समाधान गर्ने प्रयास गरिरहेको छ । उदाहरणका लागि अल्जाइमर्स, क्यान्सर, चिनीरोगको उपचारमा भइरहेका प्रगति ! पछिल्लो समयमा भएको विश्वव्याधि, दुर्लभ रोगका बारेमा भएका प्रगति पनि कम छैनन् । खासगरी हालै एमआरएनए प्रणालीअन्तर्गत क्यान्सर निको पार्ने खोप, अणुका जिप कोडहरुको मापन र त्यसबाट खास किसिमका रोगको खास औषधी (टार्गेट मेडिसिन) बनाउने जस्ता उपलब्धि भएका छन् ।
नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच)ले सरकारी औषध अनुसन्धानको बजेटलाई होशियारीपूर्वक बाँड्नु पर्छ । जसरी यसअघि सैन्य विभागले अमेरिकी सैन्य कार्यक्रमअन्तर्गत होसियारीपूर्वक सारा बजेटलाई खर्च गरेको थियो र इन्टरनेटजस्तो सारालाई सुविधा पुर्याउने चिज आविष्कार भयो, ठीक त्यस्तै कुरा भविष्यमा आविष्कार हुने बाटो खुलाउनु जरुरी छ । जस्तो कि अहिले पनि एक्टिभ र रेडेक्सजस्ता दुई वटा उद्योगमा आधारित गैरनाफामूलक कार्यक्रम चलिरहेका छन् । जसले स्वास्थ्य प्रविधिका क्षेत्रमा विकासका पाइपलाइन निर्माण हुने कुरामा विश्वास गर्न सकिन्छ ।
एनआइएचको स्थापना भने खतरा मोल्ने औद्योगिकताका लागि र ठूला रोगसँग सिधा जुझ्ने हिसाबले भने स्थापना गरिएको थिएन । यसको स्थापना त बायोमेडिकल खोजअनुसन्धानका लागि भएको थियो । उदाहरणका लागि, एक दशकभन्दा पहिलेदेखि ह्युमन जिनोम प्रोजेक्टलाई लिन सकिन्छ र यस्ता अनेक परियोजनामा काम भइरहेका छन् । यसले अमेरिकाको बायोसाइन्स अनुसन्धानमा निकै ठूलो भूमिका खेलिरहेको छ । यी अनुसन्धानले भविष्यमा मानव जीवनका लागि ठूलो प्रभाव पार्ने निश्चित छ ।
आर्थिक इतिहासकार एंगस मेडिसनले गएका दुई सय वर्षको आधा समय मेडिकल शोध र जनस्वास्थ्यका क्षेत्रमा लगानी भएको पाएका छन् । उनले एक लेखमार्फत भविष्यका प्रगति अझ योभन्दा वृहद् देखिएको भनी लेखेका छन् । कतिपय आविष्कारले शुद्ध खानेपानी, अस्थिर खाद्य उत्पादन, जैविक आतंकवाद, नवीकरणीय ऊर्जा आपूर्ति, वातावरणीय स्थिरताजस्ता कुरालाई समाधान गर्नेमा उनी ढुक्क छन् ।
सन् १९८२ ताका म र मेरा साथीहरुले खतरनाक रोगहरुलाई नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्यले केही सरकारी कार्यक्रम शुरु गरेका थियौँ । त्यसको परिणाम पनि राम्रो आएको थियो । तर १९९३ सम्म आइपुग्दा जति परिणाम आउनुपर्ने हो त्यति नआएको महसुस भयो । त्यसपछि नै डार्पा शैलीको केही नयाँ संस्था स्थापना गर्नुपर्ने आवश्यकताबोध हुन थालेको थियो । यसपछि हामीले केही ठूला संस्थाहरुसँगको सहकार्य गर्यौं । बौद्धिक सम्पत्ति अधिकारका कुराले यस्ता अनुसन्धानमा धेरै बाधा पुर्याएको पनि महसुस गर्यौँ र तिनलाई मिलाउने प्रयासमा लाग्यौँ । क्लिनिकल ट्रायल डिजाइनजस्ता कुरालाई ध्यान दियौँ । हुन त यसका लागि २००३, २०११, २०१६ सम्म कयौँ नीतिहरु ल्याउनु पर्यो । नयाँ कुराहरुका लागि हामीले दिमाग खुला राख्नु पर्यो । यी सबै कुराले नै कोभिड भ्याक्सिन तथा थेरापीका कुरामा हामीले निकै प्रगति गर्यौँ भन्ने मलाई लाग्छ ।
हाल एडभान्स रिसर्च प्रोजेक्ट्स एजेन्सी फर हेल्थको स्थापना स्वास्थ्यको तीव्र उपचारका लागि गरिएको छ । यसले भविष्यका लाखौँ वैज्ञानिकलाई यसतर्फ आकर्षित गर्नेछ, जसरी स्पुतनिकपछि आकर्षित गरेको थियो । कोभिडले देखाइसकेको छ, समयको महत्त्व कति छ । छोटो अवधिमा नै कोभिडको उपचारमा यति ठूलो प्रगति हामीले देखिसकेका छौँ । र, कोभिडलाई हामीले धन्यवाद दिनै पर्छ, संसारै आतंकित भएपछि बायोमेडिकलको क्षेत्रमा अहिले नयाँ क्रान्ति शुरु भइसकेको छ र अबका केही वर्षभित्र हामीले आश्चर्यलाग्दा नयाँ नयाँ परिणाम देख्नेछौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

