
भूमिका:
यतिबेला बोल्नुपर्ने कुरा धेरै छन्, तर बोल्न पनि अप्ठ्यारो छ । तपाईंले सोध्नुभएको प्रश्नको उत्तर म दिन सक्छु, र मैले सोध्ने प्रश्नको उत्तर तपाईं दिन सक्नुहुन्छ । तर, हामी दुवैलाई आफ्ना-आफ्नै प्रश्नहरूको उत्तर दिन भने आउन छाडेजस्तो छ । अहिले जसले जे बोले पनि ‘होला कि’ जस्तो लाग्ने वातावरण बनेको छ । सचेत युवा पुस्ताले उठाएको आन्दोलनपछि समाजमा अनिश्चितता र विश्वासघातको एउटा गहिरो छाया फैलिएको छ । हरेक भनाइलाई शंका र संशयको दृष्टिले हेर्न बाध्य भएको यो परिवेशमा ‘सत्य’ भन्दा पनि ‘हुनसक्छ’ भन्ने सम्भावनाले अग्रता लिएको छ ।
मलाई लाग्छ, यस्तो द्विविधामय अवस्थाले अब साहित्य मौन बस्न सक्दैन । किनकि यो समय भनेकै ‘सामाजिक चेतना निर्माण’को समय हो । अनि त्यो चेतना निर्माणको यात्रामा साहित्य अलग रहन सक्दैन ।
नेपालमा राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा निरन्तर परिवर्तन भइरहे पनि नागरिक चेतना, जिम्मेवारी बोध, उत्तरदायित्व बोध र सहकार्यको भावना अझै परिपक्व भइसकेको छैन । हिंसा, वैमनस्य, भ्रष्टाचार, निराशा, दूराचार, अत्याचार र सामाजिक असमानता जस्ता चुनौतीहरू अझै पनि यत्रतत्र विद्यमान छन् । करीब एक हप्ता बितिसकेको छ, यद्यपि यो अझै बढिरहेको छ । सकारात्मक सोच, सहयोगी भावना, सहानुभूति र सामाजिक उत्तरदायित्वको विकासबिना समाजको दीर्घकालीन रूपान्तरण सम्भव हुँदैन ।
आज लेख्न पनि कठीन छ, बोल्न पनि गाह्रो छ तर संवाद गर्न सकिन्छ । यही संवादकै धागोमा हामी एकअर्कासँग जोडिएका छौँ । हाम्रो दैनिकी बिथोलिएको छ, उत्तरहरू अस्वस्थकारी रूपमा टाढा जाँदै छन् । अरूको प्रश्नलाई जवाफ दिन हामी तयार छौँ, तर आफ्नै प्रश्नको उत्तर हामीसँग छैन । यही कारण म मेरा प्रश्नसहित तपाईंको सामु आएको छु, सम्भवत: तपाईंका उत्तरमै नेपाली समाजले खोजिरहेको उत्तर लुकेको हुनसक्छ ।
यति बेला तपाईं ‘उत्तर दिन सक्ने मानसिकता’मा हुनुहुन्छ भने यी प्रश्नको उत्तर र यी प्रश्नले समेट्न सकेको आफ्ना भोगाइहरू पनि साझा गरिदिनुहोला । यी प्रश्नहरू संवादलाई अगाडि बढाउने उपाय मात्रै हुन्, तपाईंले यस आन्दोलनप्रति उठेका आफ्ना कुनै पनि मनोभावना, अनुभूति र विश्वासहरू राख्न सक्नुहुनेछ ।
…

राजु उवरकोटी
क. राजु उवरकोटीसँग कुराकनी
१. व्यक्तिगत अनुभव र प्रभाव
जेनजी आन्दोलनमा तपाईंको व्यक्तिगत उपस्थिति/अनुभव के थियो ? यसले तपाईंको दैनिकी र सिर्जनामा कस्तो असर गर्यो ? जेनजी आन्दोलनलाई तपाईं एक वाक्यमा कसरी परिभाषित गर्नुहुन्छ ? जेनजी पुस्ता र निर्वाचन गराउन आएको यस सरकारप्रति तपाईंको आलोचना के छ ? सुझावहरू केके छन् ? तपाईंका नजरमा जेनजी पुस्ताको ठूलो शक्ति के हो ? अनि, कमजोरी के हो ?
यो सरकारबाट धेरै आशा गर्नु हाम्रो नै गल्ती हो । जे गर्नु हुनेछ त्यो पनि ठूलो कुरा हुनेछन् ।
सबै काम यो सरकारले गर्ने काम जति महत्त्वपूर्ण भएपनि भविष्यमाथिको प्रक्षेपणले गर्दा चुनाव नै विशेष हुनेछ । चुनाव अघि ल्याउन सक्ने अध्यादेश भनौँ भ्रष्टाचार छानबिन आयोगदेखि देशलाई भविष्यमा चाहिने वैचारिक आधारशिला बनाउने कामहरू पनि यो सरकारको साँच्चिकै ठूलो उपलब्धि हुनेछ !
जेनजी को ठूलो शक्ति आफैँ हो । पुस्ताको समिश्रणको स्वरुप । प्रविधिको प्राज्ञ र प्रविधिको प्रज्ञा भएको । चाहे कति हो कति गर्न सक्ने ! अल्छी हुनु परे के हो र कुम्भकर्ण ? (यो प्रायः क्षेत्रको लागि लागु हुने ) बुझेर मुर्ख जस्तो बन्ने, मुर्ख भएर सर्वस्व बुझेजस्तो । धेरै चिन्ता भएको र केही चिन्ता नभएको । भावना नै भावना । संवेदनशील र संवेदनाहीन एकसाथ । भन्नू त धेरै थियो अरू प्रश्न पनि छन् !
जेनजीको विशेषहरू जे जति छन् गनौँ ती कम्जोरी पनि हुन् ! भनौँ न विशेषता बनाउने कुरासँगै जेनजीको रुझानगत कम्जोरीहरू छन् ।
२. आशा, निराशा र भविष्य
२.१. आन्दोलनपछि तपाईं व्यक्तिगत रूपमा आशावादी हुनुहुन्छ कि निराशावादी ? किन ?
म दुवै भइसकेर अहिले साक्षी भावमा लाग्दैछु । अब साक्षी भएर आफ्नो क्षेत्रको अध्ययनमा मजबुत भएर लाग्नु नै मलाई विशेष गर्न पर्ने कुरा लागेको छ ।
२.२. तपाईंको दृष्टिमा यो आन्दोलन अस्थायी प्रतिक्रिया हो कि दीर्घकालीन रूपान्तरण ? भविष्यमा हामीले के पाउने वा गुमाउने सम्भावना देख्नुहुन्छ ?
यो रूपान्तरण हो, परिवर्तन हो । अस्थायी र दीर्घकालीन दुवै पनि हो । अस्थायी यो अर्थमा कि परिवर्तनको जरूरत सधैँ रहने छ, जहाँ धेरै तत्त्व खेल्ने Grand Design सधैँ गरिरहन्छन् । दीर्घकालीन परिवर्तन भइरहने छ। परिवर्तनको सनातन चक्र चलिरहनेछ जुन अजरअमर छ ।
३. साहित्य र सिर्जना
३.१. यस आन्दोलनले तपाईंलाई सिर्जनामा कस्तो ढङ्गले कसप्रकारले प्रेरित गरिरहेको छ वा चुनौती दिइरहेको छ छ ? तपाईं लेख्न सकिरहनु भएको छ कि छैन ? के लेख्दै हुनुहुन्छ ? कसरी लेख्न खोज्दै हुनुहुन्छ ?
मैले २४ गते बिहान लेखेको थिएँ :
“मस्तिष्क कालले मार्दैन
हृदय महाकालले मार्दैन
मान्छेलाई कालले मार्दैन ।
भनौँ एकएकको आवाज
सत्ताको शक्तिलाई मार्ने हामी महाकाल हो !
गोली आँसुको
आवाज रगतको
धुवाँ सत्ताको
यही सतही कुरामा कति झुन्डिएर बस्ने हो ?
मस्तिष्कको प्रत्येक तरङ्गलाई चण्डी बनाउनु छ
विचारलाई रूप दिनु छ काल भैरवको
अब रक्तको खेल नै हो भने
प्रत्येक थोपाबाट नयाँ रक्तविज बन्नेछन्
कति छौ तिमी, तिम्रो नाल गोली कति ?
थोपा थोपाबाट असङ्ख्य रक्तविज बन्दैछौँ।
रक्त पिपासुलाई खाने रक्तविज
भस्मासुरलाई भस्म बनाउने भस्मासुरहरू बन्दै छौँ !
रावणलाई मार्न राम पर्खिने समय होइन यो
रावणहरू बन्ने काल हो
रावणको सत्ताचुर घमण्डको शिरमा
मुत्र अभिशेखको काल हो ।”
यो भाव आवेश हो । अरू पनि धेरै । लेखन त अब मनोरोग भइसकेको जस्तै छ मलाई चाहिँ । म लेखिरहेको छु । २७ गते पनि लेखेँ । मलाई विशेष प्रतीकात्मक बनाउन मन लागिरहेछ यो बेला र केही मिथकलाई र थोरै दर्शनलाई जोडेर यो समयकाललाई लेख्न मन लागेको छ । लेखेँ पनि :
~ शून्यहरूको आत्मकथा: शून्यदेखि अनन्तसम्म ~ ।
३.२. राज्य (अर्थात संविधान राष्ट्रपति, प्रधानमन्त्री, संसद, र राजनीतिक दल)ले मात्रै राष्ट्रलाई मजबुत बनाइरहन सक्दैन । न सैनिक वा सुरक्षा दलले मात्रै । यसर्थ सांस्कृतिक उत्थान आवश्यक छ । साहित्य संस्कृतिकै एक अंश भएको हुँदा अबको साहित्य कस्तो हुनुपर्छ ? भाषाशैली र बिम्बहरू कता फर्किनेछन् ?
पहिलो कुरा त केही प्रतिष्ठानहरू अब केही वादको घेराबाट जागिदिए हुन्थ्यो । पार्टीको झोला बोकिरहन मन भए पनि भएको साहित्यिक मनको प्रयोग गरिदिए हुन्थ्यो ! (कम बजेटको समस्या त छँदैछ दशकौँको) सरकारले “साझा प्रकाशन” तिर विशेष ध्यान दिए हुन्थ्यो । यो कुरा पुर्याउन पाए मात्र पनि हुनेको वर्तमान सरकारसम्म । यो भन्न मन लागेको कुरा थाहा छैन प्रश्न सापेक्ष हो कि होइन तर यो समय सापेक्ष हो ।
हाम्रो साहित्य अहिले एकै स्वरूपमा धेरै कुरा बोलिरहेको साहित्य हो । जस्तो एकै कवितामा फरकफरक रस , विम्ब, प्रतीक, अलङ्कारको प्रयोग भइरहेको समय हो । केही सचेत छौँ केही अचेत तर धेरै कुराको समिश्रणको समयमा छौँ । यो कुरालाई अझ सचेत बनाएर हाम्रो पुस्ताको फरक अनुहार हुनेछ जस्तो लाग्छ मलाई । यसले सबै धार र अग्रज पुस्ता साथै इतिहासलाई समेटेर न्याय गर्ने छ ।
३.३. आन्दोलनपछि नयाँ पुस्ताका लेखक–कलाकार उदाउने संकेत देख्नुहुन्छ ?
संकेत म चाहिँ खासै देख्दिनँ यदि यो प्रश्न आन्दोलनको प्रभाव आधारित र प्रभावले बन्ने संकेत तिरको प्रश्न हो भने । आन्दोलनको साथमा साहित्य कम जन्मेपछि धेरै कुरा छुट्छन् ।
हामी हृदय भए जति (जोजो छौँ) भावुक र हृदयविदारक समयमा छौँ ! शोक धुनले मथिङ्गल खलबल खलबल नै छ ! यस्तो अवस्थालाई समेटर साहित्य बनाउन त परिपक्व साहित्यकारले कठिन गर्ने कुरा होला !
(यो एकोहोरो उत्तर मलाई मन परेको छैन तर यो भन्दा राम्रो उत्तर मबाट आउँदैन पनि लागेको छ)
४. साहित्यको भूमिका र जिम्मेवारी
४.१. साहित्यकार/कलाकारले अब कस्तो भूमिका निर्वाह गर्नुपर्ला ? अबको साहित्य प्रतिरोधी हुनुपर्छ कि उपचारात्मक ? यतिबेला साहित्य ‘सडक’कै भाषामा लेखिनुपर्छ कि ‘अलि परिपक्क’ लेखिनुपर्छ ?
साहित्यकार/कलाकारले अब कस्तो-कस्तो भूमिका छ भनेर खोज्नु र बोध गर्नु जरूरी होला हाउ दाइ ! अबको साहित्य प्रतिरोधी र उपचारात्मक दुवै एकसाथ भएर यतिमै नअड्किकन अघि बढे मन खाँदो हुन्थ्यो कि !
तर पहिले नेपाली साहित्यले आफ्नो विरोध-प्रतिरोध गर्नु छ, अन्तर उपचार गर्न छ । सिधै “अहम् ब्रह्म अस्मि” भन्दा पनि “अहम् अस्मि” बोधबाट लाग्नु जरूरत छ । तर …?
साहित्यको भाषा त भनेको कुरा बुझिने भाषा हुनु परो, त्यो भाषा परिपक्क र सडकको दुवै हुन सकोस् । धेरैको भाषा यस्तो छ तर पनि आम जनमानसमा प्रभाव बनाउन सकेको छैन । यसमा धेरै तिरको कम्जोरी छ सरकारदेखि आम जनमानवसम्म … मुख्य त साहित्यकार र साहित्यिक पाठक कि ?!?
४.२. राजनीति र समाज संशय र एकअर्काप्रति ‘अविश्वास’को अवस्थाबाट गुज्रँदा, साहित्यले disturb गर्ने कि आश्वस्त पार्ने भूमिका खेल्नुपर्छ ? त्यो कसरी गर्ने ?
– साहित्य हुनुपर्ने त सम्यक मार्गको मार्गदर्शक हो क्यार । तर हामीलाई बुद्धको के मतलब । हामीलाई बुद्धिजीवी हुनु छ । अनि हाम्रा साहित्यकारहरूलाई पार्टीतिरको हिसाले लेख्दा बरू केही भत्ता आउँदो हो सो अनुसार लेख्दा जस्तो बन्छ त्यस्तै हुँदो ।
साहित्यले गर्ने आश्वस्त पनि होइन कि Distrub पनि होइन होला, यी दुवैको मझधारमा के के छन् । यी दुईको निर्मिति लेख्नु कति सत्यम् शिवम् सुन्दरम् हुँदो हो । अझ यिबाट मुक्ति लेख्नु कुन उचाइ गहिराइ चुम्दो हो !?
(मलाई थाहा छ म सम्यक उत्तर दिइरहेको छैन। हो समय सम्यक उत्तर र प्रश्नको होइन । मार्गको हो । मार्ग बन्ने आधारशिला अरू धेरै तिरबाट आउनु पर्दो हो )
५. आलोचना र क्रान्ति
५.१. साहित्यले तल्लो भन्दा तल्लो स्तरको जनचेतना अभिवृद्धि गर्न निर्णायक भूमिका खेल्दछ । यसर्थ, यस आन्दोलनको मर्म जनस्तरसम्म पुर्याउन नेपाली साहित्यको तात्कालिक र दीर्घकालिन लक्ष्यहरू केके हुन् सक्दछन् ?
– त्यस्तो लक्ष्य नेपाली साहित्य आजसम्म बोक्न सकेको जस्तो त म बबुरोलाई लागेन ! यो यति नकारात्मक दृष्टि भयो होला तर यसको विरोधमा हामीसँग प्रमाण छैन ।
प्रमाणमा देवकोटाको “हातको मैला सुनको थैला” या “ मानिस ठूलो…” यही तेर्साएर टार्ने हो भने चाहिँ केही भन्नू छैन ! दिग्गज नाम छन् । बौद्धिक नाम छन् । सुललित कविका नाम छन् । प्रवाहमय साहित्यकारको श्रृङखला छन् तर पाठ्यक्रममा भन्दा बाहेक केही हजारले शिवाय पढ्दैनन् ।
“साहित्यले तल्लो भन्दा तल्लो स्तरको जनचेतना अभिवृद्धि गर्न निर्णायक भूमिका खेल्दछ ।” यो वाक्य हामीले (माने साहित्यिक वृत्तकाले) आफ्नो सन्तुष्टिको लागि भन्नू परेको हो बाध्यता भनौँ । अझ राम्रो भन्दा सान्त्वना ।
दिर्घकालिन लक्ष्यको लागि पहिला आधारभूत कुरामा आँखा जानू परो, त्यो आँखा कता छ ? यो देशले खासै धेरै पाएको छैन । भएकाको हामीलाई छु मतलब ..!…। बाल साहित्यको स्थिति के कसो छ ? अनि त्यो भाषा लोकगीतसँग मात्र, जसले हरेक स्तरसँग संवाद साधोस् !
५.२. के तपाईंलाई लाग्छ नेपाली साहित्य आफैँभित्र पनि नयाँ क्रान्तिको आवश्यकता छ ? कस्तो क्रान्ति ?
नयाँ क्रान्ति त धेरै आवश्यक छ, धेरै कुरामा त ढिलो नै भइसकेको जस्तो लाग्छ । पहिलो कुरा त हाम्रो पाठक र लेखक बिचमा धेरै कुरा अन्तर छैन तर ठूलो अन्तर भएको छ । बौद्धिक विकास कमको नै छ । लेखक अग्रसर कमै कुरामा । बरू पाठकको जिन्दगी बृहत् छ ।
कुनै पाठक मनलाई लाग्दो “ लेखकहरूको मृत्यु भइसक्यो” यो Roland Barthes को लेखकको मृत्युु होइन । लेखकको मृत्यु – दृष्टिकोणको सानो अति सानो परिधि । वैचारिकता पुनरावृत्ति । लेख्यवस्तुताको आयाम । भावमा भावुकता भन्दा अरू खासै फैलावट …
भाषाकै कुरामा पनि खतरा मोल्न डराउँछौँ ! हामीलाई शब्द गरिबिले त धेरै नै सताएको छ नै । साथै व्याकरणको ज्ञानको अभावले त कति कति । अब भाषा विज्ञ हुन जरुरी छैन । (यहाँ त सामान्य शुद्धाशुद्धीको कुरा गर्यो भनेपनि “म सिर्जना गर्ने मान्छे हुँ सम्पादक होइन/विज्ञ होइन” को अडान आउँछ) तर सिर्जनात्मक मान्छेले भाषाको संरचनालाई बुझ्नु हो भने शब्द आविष्कार नयाँ स्वादमा अझै मजाले हुँदो हो !
क्रान्ति हुन नयाँ चिन्तन नयाँ भाव नयाँ संरचना नयाँ परिवेश खोज्नु जरुरी छ जुन गर्न हामीलाई दन्ते ओखर जस्तो भए मात्र मन लाग्ने हो कि ? हाडे ओखरको मजा त परको कुरा देख्नु पनि कठिन हो कि ?
६. स्मृति र इतिहास
६.१. यो आन्दोलनले तपाईंलाई कुन लेखक/कलाकार वा साहित्यिक इतिहास सम्झाइदियो ?
मैले यतै नेपालको सम्झिँदा लेखनाथलाई मज्जाले सम्झिएँ । लेखनाथले क्रान्ति गरेको हो कि होइन त्यो विश्लेषणात्मक कुरा होला ! तर “पिँजडाको सुगा” अझ भनौँ उहाँको धेरै हदसम्मको अन्तर्मुखी काव्यको स्वरूप । देवकोटाको “राजकुमार प्रभाकर” र “भूतलाई झटारो” । पारिजात आफैँमा क्रान्ति । नजिकैको कुरा गर्दा श्रवण मुकारुङ आदि ।
तर यो आन्दोलनको पृष्ठभूमि साहित्य टाउको एउटा कपाल केस जति पनि भूमिका छैन भन्दा मलाई अनेकन बोध हुन्छन् । र लाखौँ साहित्य प्रेमी र साहित्यकार प्रति अनेकौँ भाव आउँछन् पहिले आफूबाट सुरु हुन्छ कुरो चाहिँ ।
६.२. तपाईंलाई लाग्छ, डिजिटल स्मृति (social media archives) पनि अब साहित्यको अंश बन्छ ?
– Social Media Archives साहित्यको अंश हुनुमा ठूलो फाइदा पनि छ । अंश भएपछि धेरै लेन्सहरूले प्रस्ट स्पष्ट देख्न सकिनेछ । तर हामीमा धेरै अँगाल्न सक्ने छाती कहाँ र ?
अर्को छ डर, सबै कुरा प्रस्तुत छन् भने लेख्नु नै के ? तब चुनौती हुन्छ कथा भित्रको कथा लेख्नु । प्याजको पत्रको अन्तिममा सानो स्पेस ! त्यो स्पेसको महत्त्व एब्क्ट्राक्यटमा खोज्नु भन्दा या भनिदिनु भन्दा अझ केही प्रतिमा देख्न सक्नु ठूलो प्राप्ति हुने जस्तै …
प्रमात्रा यान्त्रिक आफ्ना सारा सम्भावनाको सञ्झ्याल खोली नै त रहेछ ….
….
ख. महेश पौड्यालसँग कुराकानी
१. व्यक्तिगत अनुभव र प्रभाव

महेश पौड्याल
१.१. जेनजी आन्दोलनमा तपाईंको व्यक्तिगत उपस्थिति रअनुभव के थियो ? यसले तपाईंको दैनिकी र सिर्जनामा कस्तो असर गर्यो ? जेनजी आन्दोलनलाई तपाईं एक वाक्यमा कसरी परिभाषित गर्नुहुन्छ ?
जेन्जीको उमेरभन्दा माथिको भएको हुँदा म सडकमै त गइनँ । तर, जेन्जीको आन्दोलन हुँदैछ भनेकै बेलादेखि सामाजिक सञ्जालमा त्यसको आवश्यकताका पक्षमा लेखेको हुँ । पहिलो दिनको प्रदर्शन हुँदा म भोटाहिटीमा थिएँ । डिजाइनरसँगै बसेर एउटा किताबको प्रूफ मिलाउन लागेको थिएँ । शरीर काममा थियो, मन सडकमा । आधा दिन नबित्दै युवा मारिएको खबर आउन थाल्यो । मैले तत्कालै प्रतिक्रिया लेखिहालेँ । न कसैको डर भयो, न संशय । तर, मेरो प्रूफ रिडिङको कामलाई भने मनले निरन्तरता दिन सकेन । म भोटाहिटीमा, मैले काम गरिरहेको कक्षबाट निरन्तर बाहिर हेर्न थालेँ । वीर हस्पिटलअगाडिको बाटो हुँदै जुलुस रत्नपार्कतिर बढिरहेको देखेँ । एकैछिनमा ट्रमा सेन्टरमा थप ४ वा ५ जनको मृत्यु भयो भन्ने खबर अयो । अनि म काम छोडेर निस्केँ । उतै अड्किएका कवि महेश कार्की क्षितिजलाई पनि भोटाहिटी नै बेलाएँ र मेरै वाहनमा राखेँ । हामी दुवैलाई भक्तपुर आउनुपर्ने, छेत्रपाटीबाट शोभा भगवती हुँदै, कालीमाटी, अनि शङ्खमूल, र कोटेश्वर निस्किने लक्ष्य लियौँ । कोटेश्वर पुग्दा–नपुग्दै, अश्रुग्यासको पीरो गन्धले आँखा पोल्यो । बागमती किनारको भित्री सडकको किनारमा मोटरसाइकल रोकेर थचक्क बस्यौँ । हामी भएको ठाउँबाट एक सय मिटरको दूरीमा प्रहरीले अश्रुग्यास प्रहार गरेको रहेछ । धुवाँको मुस्लो पनि देखियो । केहीबेर रोकियौँ, र आँखा अलि शान्त भएपछि कोटेश्वार चोक हुँदै ठिमी पुग्यौँ । घर पुग्दा मसँग भोक, निद्रा, चैन…केही थिएन । म बाहिर भएको हुँदा परिवार पनि आतङ्कित थियो । मेरो भने मन सडकमा थियो, युवाहरूसँगै ।
एक वाक्यमा भन्नुपर्दा, करीब बीस वर्षदेखि देखाउँदै ल्याइएका झुटा सपनाका विरुद्ध युवाहरूको मनमा गुम्सिँदै आएको भँडास र असन्तुष्टिको एक प्रलयङ्कारी विष्फोटन थियो यो आन्दोलन ।
यस आन्दोलनले मेरो मानसमा ठूलो भूकम्प ल्याइदियो । म सर्जक — सिर्जना छोडेँ । पाठक हुँ, पढ्न छोडेँ । शिक्षक हुँ, शिक्षण छोडेँ । अनुसन्धाता हुँ, त्यो पनि छोडेँ । केवल, सञ्चारमाध्यममा के आउँछ, अब के भइरहेछ, केके हुने हो…त्यतैतिर ध्यान । अँ, फेसबुकमा लेख्न छोडिनँ । आफूलाई आन्दोलनसँग आत्मसात् गर्न छोडिनँ । चिनेजानेका युवाहरूसँग संवाद गर्न पनि छोडिनँ ।
१.२. जेनजी पुस्ता र निर्वाचन गराउन आएको यस सरकारप्रति तपाईंको आलोचना के छ ? सुझावहरू केके छन् ? तपाईंका नजरमा जेनजी पुस्ताको ठूलो शक्ति के हो ? अनि, कमजोरी के हो ?
पहिले जेनजीको शक्तिको कुरा गरौँ । उनीहरू निडर छन् । शिक्षित छन् । अन्तर्राष्ट्रिय परिवेश पनि बुझेका छन् । वैज्ञानिक दृष्टिकोणका छन् । डिजिटल्ली साक्षर छन् । कुनै पार्टीका झोले होइनन् । उनको मनमा यसबेला केवल राष्ट्र छ, र परिवर्तनको हुटहुटी छ । उत्तरको छिमेकी, दक्षिणको छिमेकी वा पश्चिमले के भन्ला, कुनै मतलब छैन । यहाँनेर जोडौँ — यो उत्तरको छिमेकीले के भन्दा, दक्षिणको के भन्ला भन्ने डर, शङ्का र संशय पनि नेपालको अवनतिको एउटा मूल कारण हो ।
तर केही कमजोरी पनि छन् । जेनजीसँग नेता छैन । गैरजेनजीले उनीहरूलाई चलाइरहेको जस्तो पनि देखिन्छ । उनको रोडम्याप पनि प्रष्ट छैन । उनीहरूले, आन्दोलनको आडमा ठूलो विध्वंश पनि हुन सक्छ, राष्ट्रिय सम्पत्तिको क्षति हुन सक्छ, र देशको एउटा ठूलो तप्काको जायज आलोचनाको पात्र हुनुपर्ने हुन सक्छ, त्यसको पूर्वानुमान गर्न सकेनन् । यस बेला चाहिँ उनीहरू जान्नेबुझ्नेहरूको कुरा पनि त्यति सुनिरहेका छैनन् । विजयको उन्माद अलि बढी भएजस्तो देख्छु । उनीहरूका मागलाई सम्बोधन गर्ने हो भने कि संविधान संशोधन गर्नुपर्छ, कि यो संविधानलाई पूरै निरस्त गरेर नयाँ संविधान लेख्नुपर्छ । अब, संविधान संशोधन गर्न सक्ने निकाय, संसद, भङ्ग भइसक्यो । फेरि, मौजूदा संविधानलाई निरस्त गर्ने मोडसम्म पनि आन्दोलनलाई लगिएन, गएन । अब, शासकीय पद्धति फेर्ने जेनजीको माग कसरी पूरा हुन्छ, थाहा छैन ।
सरकारसँग अहिल्यै केही आलोचना छैन । यसको मूल्याङ्कन गरिहाल्ने बेला भएको पनि छैन । अँ, ७० भन्दा बढी मान्छेको हत्या गर्ने–गराउने पत्ता लगाउन उच्चस्तरीय जाँचबुझ आयोग बनाउँछु भनेका, त्यो किन ढिलो गरिरहेको छ, थाहा छैन । मन्त्रिमण्डलले अझै पूर्णता पाएको छैन । त्यो किन होला, थाहा छैन । अहिलेसम्म बनेको सरकारमा युवाको प्रतिनिधित्व देखिनँ, किन होला भन्ने लाग्छ । बाँकी काम त सरकारले गर्दै होला । चुनाव गराउन र जाँचबुझ गर्न आएको सरकारसँग धेरै अपेक्षा गर्नु पनि त भएन ।
२. आशा, निराशा र भविष्य
२.१. आन्दोलनपछि तपाईं व्यक्तिगत रूपमा आशावादी हुनुहुन्छ कि निराशावादी ? किन ?
आन्दोलनपछि म निकै आशावादी छु । कारण धेरै छन् । म आफूलाई ‘लिबरल डेमोक्रेट’ भनेर चिनाउने गर्छु । निर्दलीय मान्छे हुँ । अँ, एकचोटि, २०७१ सालतिर ‘नेपाली लेखक संघ’ को सदस्यता लिएको थिएँ । पछि त्यो संस्थाले कुनै एक दलको सुभेच्छु संस्था हुने प्रस्ताव पारित गरेको थाहा पाएपछि जोडिन छोडेँ, जानै छोडेँ । त्यसको सदस्यता कहिल्यै नवीकरण गरिनँ । अर्थात्, कतै पनि पार्टीको गन्ध आउने ठाउँमा संस्थागत आबद्धता राखिनँ, राख्न चाहिनँ । विगत २२ वर्षदेखि काठमाडौँमा छु — लेखनमा छु, शिक्षणमा छु । साहित्यिक–समाजिक संस्थाहरूमा जोडिएको छु । जेनजी आन्दोलनपछि मलाई पहिलो पल्ट खुला हावामा साँच्चिकैको अक्सिजनमा सास फेरेको अनुभव भइरहेको छ । कल्पना गर्नुहोस्, स्वतन्त्र र निर्दलीय भएका कारण मजस्ता मान्छेहरू कस्तो गुम्फन, र कस्तो दबावको जीवन बाँचिरहेका हुन्छन् ! मेरा गुरु अभि सुवेदीले कुनै बेला भन्नुभएको थियो— ‘महेश, नेपालमा यस बेला स्वतन्त्र मान्छे भएर बाँच्न सबैभन्दा कठिन छ ।’ आज म भन्छु— नेपालमा स्वतन्त्र मान्छे भएर पनि हर्षविभोर भएर बाँच्ने दिन आएका छन् । यद्यपि, प्रश्नहरू बाँकी छन् ।
अर्को कुरा, यसरी स्वतन्त्र, नागरिक बुद्धिजीवी (पब्लिक इन्टेलेक्चुअल) हरूले निर्धक्क बोल्ने दिन आएपछि मात्रै सरकारको वास्तविक र आवश्यक आलोचना गर्न सकिन्छ । पहिलेको व्यवस्थामा पब्लिक इन्टेलेक्चुअल प्रायः भयभीत र मौन थिए । झोले बुद्धिजीवी नै बोल्थे । सरकारको पृष्ठपोषण गर्थे । सरकारलाई सचेत गराउनुपर्ने, वा परेको खण्डमा सरकारको आलोचना गर्नुपर्ने लेखक, कवि वा कलाकार, सरकारमा रहेका पार्टीका झोले भएवापत प्रज्ञा–प्रतिष्ठानहरूमा पुग्छन्, आयोगमा छिर्छन्, संस्थामा पुग्छन्, विश्वविद्यालयहरूका ठूला पदमा जान्छन् । अनि त्यहाँ अकल्पनीय विभेदहरू हुन्छन्, गरिन्छन् । अब सायद त्यो जमाना गयो । स्वतन्त्र बुद्धिजीवीसँग लोभ वा पाप हुँदैन । मनको कुरा भन्छन्, लेख्छन् । त्यसमा सत्यता हुने ठूलो सम्भावना हुन्छ । र, सरकारले पनि वास्तविक सुझाव र सल्लाह पायो भने सही बाटोमा हिँड्न सक्छ ।
२.२. तपाईंको दृष्टिमा यो आन्दोलन अस्थायी प्रतिक्रिया हो कि दीर्घकालीन रूपान्तरण ? भविष्यमा हामीले के पाउने वा गुमाउने सम्भावना देख्नुहुन्छ ?
यो आन्दोलन आधाउधो मात्रै पूरा भयो । त्यसैले, अहिले यसलाई अस्थायी नै मान्नुपर्छ । यो स्थायी र पूरा त्यो बेला मात्रै हुन्छ, जुन बेला पुरानो व्यवस्थाका मतियारले पुनः टाउको उठाउने वातावरण निमिट्यान्न हुन्छ, र नेपाल पनि र नेपाली पनि नयाँ बन्छन् ।
तर यस आन्दोलनले केही बलिया सन्देश दिएको छ —
१. सरकाले व्यापार गर्नु हुँदैन ।
२. सरकारले युवाको स्वतन्त्रता गुम्ने कुनै पनि कार्य गर्यो भने विष्फोटक हुन सक्छ ।
३. शान, सौकत र शक्तिको जति लामो इतिहास भए पनि, युवाशक्ति उठ्यो भने दुई दिनमा त्यो धूलोमा मिल्न सक्छ ।
४. कुनै दलको विचार समूहको झोला नसमातेको समान्य, गरीब र साँठगाँठ कतै नभएको मान्छे पनि अब देशको उच्च पदमा पुग्न सक्छ, निर्णायक ठाउँमा उभिन सक्छ ।
५. इमानदार, निर्भीक र कर्तव्यनिष्ठ मान्छेलाई समयले टिपेर राज्यको बागडोर सम्हाल्ने ठाउँमा पुर्याइदिन्छ ।
यस आन्दोलनले धेरै सम्भावनाका ढोका खोलेको छ । अब हामी कल्पना गर्न सक्छौँ — नेपालमा भ्रष्टाचारको, परिवारवादको र भाइभतिजावादको अन्त्य शुरू भएको छ । अब क्षमता, प्रतिभा र गुणवत्ताकै बलमा मान्छेले प्रगति गर्न सक्छ । यसको अर्थ, देश उन्नतिको पथमा अगाडि सर्छ । सानो मुलुक, सानो जनसङ्ख्या । सुशासन मात्रै आइदियो भने नि, यस देशले कोल्टे फेर्न कुनै समय लाग्दैन । म त्यो सपना साँचेर बाँच्न थालेको छु ।
गुमाउने सम्भावनाको म प्रक्षेपण गर्न चाहन्नँ यतिखेर । म त्यतातिर सोच्न पनि चाहन्नँ । अँ, एउटा कुरा सचेत गराउन चाहन्छु । जेन्जीभित्रै धेरै समूह देखिए । को असली, को नक्कली, धेरै बहस भइरहेको छ । यदि यो संगठित युवाशक्ति धेरै चिरामा बाँडियो भने, यसको आवाज कमजोर हुन सक्छ, यसको विश्वसनीयता गुम्न सक्छ । त्यसका ससाना चिरालाई पुराना दलले ‘मेनिप्युलेट’ गरिदिन सक्छन् । त्यतातिर सचेत रहनु जरूरी छ ।
३. साहित्य र सिर्जना
३.१. यस आन्दोलनले तपाईंलाई सिर्जनामा कस्तो ढङ्गले कसप्रकारले प्रेरित गरिरहेको छ वा चुनौती दिइरहेको छ? तपाईं लेख्न सकिरहनु भएको छ कि छैन? के लेख्दै हुनुहुन्छ ? कसरी लेख्न खोज्दै हुनुहुन्छ ?
आन्दोलन भएयता मैले सिर्जनाका नाममा केही लेखेकै छैन । त्यसैले, तत्काल कस्तो प्रभाव पर्यो, भन्न गाह्रो छ । मेरो सिर्जनात्मक कलम पूरापूर रोकिएको छ । यसको अर्थ, म आफैँ पनि गम्भीर आत्ममूल्याङ्कन गरिरहेको छु भने, अब के लेख्ने, त्यसमा म धेरै नै सचेत हुनुपर्छ । एउटा कुरामा भने म ढुक्क छु । मैले कहिल्यै पनि कुनै दलीय विचारको पक्षमा लेखिनँ, आम मान्छेकै पक्षमा लेखेँ । त्यसैले, मेरो ट्र्याक त्यति परिवर्तन हुँदैन । अँ, मैले युवालाई हेर्ने र बुझ्ने दृष्टिकोणमा चाहिँ ठूलो परिवतन आएको छ । त्यसले मेरो अबको लेखन प्रभावित पार्छ । अर्को कुरा, मेरो अबको लेखनमा भयको कुनै अंश रहँदैन । स्वस्थ आलोचना गर्न आइतबार बार्दिनँ । डर छैन ।
३.२. राज्य (अर्थात संविधान राष्ट्रपति, प्रधानमन्त्री, संसद, र राजनीतिक दल) ले मात्रै राष्ट्रलाई मजबुत बनाइरहन सक्दैन । न सैनिक वा सुरक्षा दलले मात्रै । यसर्थ सांस्कृतिक उत्थान आवश्यक छ । साहित्य संस्कृतिकै एक अंश भएको हुँदा अबको साहित्य कस्तो हुनुपर्छ ? भाषाशैली र बिम्बहरू कता फर्किनेछन् ?
अबको साहित्यमा गुम्फन वा कुण्ठा हुनु हुँदैन । अर्थात् कुनै लेखकले आवाज दबाएर लेख्नु जरूरी छैन । लेखनमा, स्वतन्त्र विचार राखेका कारण हीनताबोध पाल्नु पनि जरूरी छैन । यो मेरो व्यक्तिगत मत हो — हामीले अहिलेको परिवर्तनको पृष्ठपोषण गर्नेगरी लेख्नुपर्छ, यद्यपि, सचेत गराउने जिम्मेवारी पनि हाम्रै हो । यसअघिको हाम्रो साहित्यको ठूलो भँगालो विभाजनकारी थियो — हामीलाई वादहरूमा बाँड्ने, जातहरूमा बाँड्ने, क्षेत्रगत वा लैङ्गिक हिसाबमा बाँड्ने । ती विभाजनको पनि केही अर्थ छैन भन्ने यस आन्दोलनले प्रमाणित गरिदिएको छ । अबको साहित्यले विकासको कल्पना गरोस्, सम्यक र सन्तुलित विकासको दृष्टि देओस्, आम नेपालीले पनि उच्चतम सपना देख्न सक्छ भन्ने आत्मविश्वास देओस् । देशैभरि आत्मविश्वासको लहर छ, त्यसलाई अङ्गिकार गरोस् । मेरो यस्तो कल्पना छ ।
३.३. आन्दोलनपछि नयाँ पुस्ताका लेखक–कलाकार उदाउने संकेत देख्नुहुन्छ ?
देख्छु । हरेक ठूलो ऐतिहासिक घटना वा आन्दोलनपछि देशको ‘अनुभूतिको संरचना’ बदलिन्छ । अहिले नै हेरौँ न — हाम्रा मानक फेरिए, नायक फेरिए । अरू कोही शासक हो भनेर बाँचेको युवा ‘अब म आफैँ निर्णायक हुँ’ भन्ने ठाउँमा उभिएको छ । कतिपय लेखकका पारा, कुरा, लय र विचार अमानक बनेर जान्छन् । तिनको सान्दर्भिकता सकिन्छ । परिवर्तित समयको परिवर्तित स्वर लिएर नयाँ लेखक आउँछन् । अबको समय तिनको नै हो । अँ, आफूलाई परिवर्तित वा अध्यावधि गरेर आउने लेखकहरूको समय र सान्दर्भिकता कायम रहन्छ ।
आन्दोलनपछि मेरो इन्बक्समा थुप्रै युवा आइरहेका छन् । सिर्जना सुनाइरहेका छन् । लेख पढ्न अनुरोध गरिरहेका छन् । भिडियो, रिल वा पोडकास्टमार्फत अभिव्यक्त भइरहेका छन् । छोटो समयमै उनीहरूको लेखनको लय फेरिएको मैले अनुभव गरेको छु । संकेत नवीनताकै छ ।
४. साहित्यको भूमिका र जिम्मेवारी
४.१. साहित्यकार र कलाकारले अब कस्तो भूमिका निर्वाह गर्नुपर्ला ? अबको साहित्य प्रतिरोधी हुनुपर्छ कि उपचारात्मक ? यतिबेला साहित्य ‘सडक’कै भाषामा लेखिनुपर्छ कि ‘अलि परिपक्क’ लेखिनुपर्छ ?
साहित्यकारले दल, र दलीय दर्शनको बर्को फालेर आउनुपर्छ अब । यो दलीय लेखनले हामीलाई दशकौँ अल्झायो । स्वतन्त्रहरू प्रताडित भएर, अपमानित भएर बाँचे । कलाका अन्य क्षेत्रको पनि कथा उही हो । अहिले, जसप्रति प्रतिशोध साँध्नुपथ्र्यो, तिनलाई त हामीले उखेलेर फ्याँकिसक्यौँ । अब, आलोचनाकै शैलीमा पनि फेरि तिनकै कुरा गरिरहनु, लेखिरहनु हो भने, तिनलाई सान्दर्भिक बनाइरहनु हो भन्ने अर्थ लाग्छ । त्यसैले, ती गए । अबको साहित्य उपचारात्मक पनि हुनुपर्छ, र भविष्यद्रष्टा पनि हुनुपर्छ । सपना देखाउन सक्ने, उत्साह भर्न सक्ने, सम्भावनको सङ्कथनमा आधारित हुनुपर्छ भन्ने मेरो सोच छ । सपना अलि वैश्विक आयतानको होस्, अलि वृहत् होस्, सार्विक होस् ।
अँ, साहित्य सौन्दर्यको एउटा स्वरूप पनि हो नि । त्यसैले, भाषाको मर्यादा भने गुमाउनु हुँदैन । यो प्रतीकात्मक हुनुपर्छ, मर्यादित नै हुनुपर्छ । मर्म त सडककै लेख्ने हो, त्यसमा कुनै शङ्का छैन । तर त्यसको प्रस्तुतिमा कलात्मकता चाहिन्छ । त्यसैलाई ‘परिपक्वता’ भन्न मिल्छ भने भनौँ ।
तर, एउटा कुरा । कवि विलियम वर्डवस्र्थले ‘रस्टिक डिक्सन’ भन्थे । यानि, कवितामा ग्राम्य भाषा आओस् भन्थे । अबको समय, कविता वा साहित्य पढेलेखेका, थोरै उच्च वौद्धिक वा परिस्कारवादीहरूका लागि लेख्ने होइन । आम मान्छेकै लागि लेख्ने हो । आजको साहित्यले आज, अहिले नै, यसै बेला, लक्षित समूहसँग संवाद गर्छ, यद्यपि त्यसमा सार्विक र समयातीत कतिपय दृष्टि हुन्छन् । त्यसैले, भाषा चैँ सरल होस् । बोधगम्य होस् । क्लिष्ट नहोस् । तर मर्यादाको सीमा पनि नाघ्नु हुँदैन नै ।
४.२. राजनीति र समाज संशय र एकअर्काप्रति ‘अविश्वास’को अवस्थाबाट गुज्रँदा, साहित्यले disturb गर्ने कि आश्वस्त पार्ने भूमिका खेल्नुपर्छ ? त्यो कसरी गर्ने ?
सरकारले जनबोली दबाउन भय प्रयाग गर्छ, बल प्रयोग गर्छ । त्यो त देखिएकै कुरा हो । तर, दार्शनिक अल्थुसर भन्छन् — सत्ताले समाजको आवाज दबाउन आफ्ना संयन्त्रलाई नजानिँदो पाराले पनि प्रयोग गर्छ । ‘सत्य’ जस्तो वा ‘जायज’ जस्तो बनाएर प्रयोग गर्छ । अल्थुसरकै शब्दमा ‘इन्टरपेलेसन’ गर्छ । त्यस कुचक्रलाई भेदन गर्नु जरुरी हुन्छ । त्यतातिर आम पाठकलाई सचेत गराउनुपर्ने हुन्छ । त्यसैले, साहित्यले केवल आनन्द दिने भन्दा पनि मानिसहरूको मस्तिष्कलाई सकारात्मक हिसाबले थोरे डिस्टर्ब त गर्नैपर्छ । जगाउने, सत्यदर्शन गराउने, आँट दिने, हिम्मत दिने, प्रहार गर्नुपर्ने ठाउँ देखाउने आदि काम साहित्यको हो नि ।
५. आलोचना र क्रान्ति
५.१. साहित्यले तल्लो भन्दा तल्लो स्तरको जनचेतना अभिवृद्धि गर्न निर्णायक भूमिका खेल्दछ । यसर्थ, यस आन्दोलनको मर्म जनस्तरसम्म पुर्याउन नेपाली साहित्यको तात्कालिक र दीर्घकालिन लक्ष्यहरू केके हुन् सक्दछन् ?
मलाई लाग्छ, हाम्रो तत्कालको काम भनेको यस आन्दोलनको स्पिरिटलाई पृष्ठपोषण गर्ने, र यसका विरुद्ध उठिरहेको प्रतिक्रान्तिकारी स्वरहरूलाई निरस्त गर्ने नै हो । साथै, जायज, तर पूरा हुन बाँकी माग पूरा हुने दिशामा पनि वकालत गर्नुपर्छ । दीर्घकालको कुरा गर्ने हो भने, जनताबाट मूलतः ‘डर’ लाई भगाउने काम गर्नुपर्छ । अहिलेसम्म मानिसहरूले व्यथिति र भ्रष्टाचारका धेरै कुरा थाहा पाएर पनि सहेर बसेको, नबोलेका, सहु भएको…मूलतः डरले हो । त्यो डर हटाउने दिशामा कविलेखकहरूले ठूलो भूमिका खेल्न सक्छन् । उनीहरूले लेखेको साहित्यले आँटको सञ्जीवनी बन्न सक्छ ।
५.२. के तपाईंलाई लाग्छ नेपाली साहित्य आफैँभित्र पनि नयाँ क्रान्तिको आवश्यकता छ ? कस्तो क्रान्ति ?
साहित्यभित्रै पनि नयाँ क्रान्तिको आवश्यकता छ । पहिलो कुरो, एउटा विशेष राजनीतिक विचारमा उभिएर लेख्ने, र त्यही विचारका हिमायतीमाझ बेच्ने–बाँड्ने चलन छ । त्यसै विचारसमूहभित्रबाट वाहवाही गराउने । यो प्रवृत्ति छ । अर्को, आज कुनै घटना घट्यो, आजै लेखिहाल्ने । भोलिसम्म घटनाको वास्तविकता फेरिन पनि सक्छ । यस्तोमा, त्यो तात्कालीक साहित्यको भविष्य के हुन्छ ? तेस्रो —भागबन्डाको राजनीतिले साहित्यलाई यसरी गिजोलेको छ कि वास्तविक सर्जकको मूल्याङ्कन हुनै सक्दैन अहिलेको व्यवस्थामा । उदाहरणका लागि, संस्कृति मन्त्रालयले प्रतिभा पुरस्कार बाँड्छ, तर नाम चाहिँ जुन पार्टीको संस्कृति मन्त्री छ, उसैको पार्टी अफिसले तय गर्छ । यस्तोमा, पहुँच नभएको सर्जक कहाँ हुन्छ ? चौथो, नीति राजनीतिले बनाउने, र लेखकले त्यसलाई पछ्याउने परिपाटी छ । हुनुपर्ने ठ्याक्क उल्टो हो । कति छन् कति, समस्या ।
६. स्मृति र इतिहास
६.१. यो आन्दोलनले तपाईंलाई कुन लेखक/कलाकार वा साहित्यिक इतिहास सम्झाइदियो ?
यस आन्दोलनले मलाई चाल्र्स डिकेन्स सम्झायो । उनको उपन्यास ‘अ टेल अफ टु सिटिज’ सम्झायो । मूलतः फ्रान्सेली क्रान्ति सम्झायो । त्यो पूरा कथा फ्रान्सका क्रूर र भ्रष्ट शासकका विरुद्ध जनजागरणको प्रकटीकरणको आख्यान हो । त्यहाँका जनता स्वतःस्फूर्त जागे, बास्टाइलको कारागार ढाले, ‘भोक लाग्यो सरकार’ भन्दा ‘तिमीहरू घाँस खाऊ’ भन्ने खाद्यमन्त्री फौलुनलाई घाँसै कोचेर मारे, लुई सोह्रौँलाई मध्य सडकमा हँसियाले काटेर मारे । सत्ताधारीको भागाभाग भयो ।
अँ, त्यसपछि बनेको जेकोविनहरूको नयाँ गणतान्त्रिक सरकार पनि भ्रष्ट भयो, र जनता नै विरोधमा उत्रिए । फेरि राजशाही फर्कियो । त्यस्तो नहोस् भन्ने कामनाले पनि मलाई फेरि त्यही किताबतिर पुर्याइरहेको छ । मलाई थोरै सम्झना फ्रान्ज काफ्काको ‘द ट्रायल’ को पनि आइरहेछ । त्यसमा, शासन व्यवस्थाबाट दिक्क भएको तर न्याय कहिल्यै नपाएको पात्रले आत्महत्या गरेको प्रसङ्ग छ । मलाई विलियम वर्डस्वर्थको एउटा कविता ‘दि प्रिल्युड’ का दुई पंक्ति याद आइरहेका छन् । फ्रान्सेली क्रन्तिलाई नै लक्षित गरेर उनले लेखेका थिए—
त्यस प्रभातमा जिउँदो हुनु आह्लादको विषय थियो
तर त्यस बेला जवान हुनु स्वर्गको अनुभव गर्नु थियो ।
६.२. तपाईंलाई लाग्छ, डिजिटल स्मृति (Digital Memory) पनि अब साहित्यको अंश बन्छ ?
कुनै पनि युगमा स्मृति, साहित्यको मूल स्रोत हो । कवि कलेरिजले त भनेकै छन्, ‘सिर्जनाका लागि चाहिने कल्पनाशीलता मूलतः स्मृतिमै उभिएको हुन्छ ।’ त्यस स्मृतिलाई जस्ताको तस्तै उतार्ने अभ्यास ‘फेन्सी’ हो । त्यसमा लेखकीय विचारको लेपसहित पुनरसिर्जना गर्नु ‘प्राइमेरी इमाजिनेशन’ हो, र यसलाई अधिकांश लेखकहरूले प्रयोग गर्छन् । तेस्रो र उच्चतम कोटिको सिर्जना त्यो हो, जसमा, कुनै पनि स्मृतिले हामीमा उत्पन्न गर्ने अनुभूति वा तरङ्गलाई त्यसै तीव्रताका साथ पुनः उत्पन्न गर्न जब कविले उक्त स्मृतिसँग मिल्दोजुल्दो कुनै नयाँ बिम्ब वा प्रतीकको अविष्कार गर्छ । यो सेकेन्डरी इमाजिनेशन हो ।
अहिले हाम्रो प्राकृतिक स्मृति अलि क्षीण हुँदैछ र डिजिटल स्मृति ने केन्द्रीय स्मृति बन्दैछ । उदाहरणका लागि, पोहोर साल यसै बेला म कहाँ थिएँ, र त्यो बेला के भइरहेका थियो, त्यो म सम्झन्नँ, तर फेसबुकको मेमोरीमा गयो भने सम्झाइदिन्छ । र, म पुनः उसै गरी तरङ्गित हुन्छु । त्यसले मेरो सिर्जनालाई पनि प्रभावित पारिदिन्छ । त्यसैले, डिजिटल मेमोरीलाई अनरअन्दाज गर्नै सकिँदैन । अबका दिनमा, यो एकमात्रै स्मृति हुनेछ वा यसपछि हाम्रो प्राकृतिक स्मृतिको अर्थ हुँदैन भनेर त म भन्दिनँ, तर डिजिटल मेमोरी पनि हाम्रो मसयको ओभरअल मेमोरीको ठूलो हिस्सा हुने नै छ । त्यसैले, त्यसको सन्दर्भिकता र उपादेयता रहन्छ नै ।
(क्रमश…..)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

