डा. गाउँले बलदेव अधिकारी एक प्रतिष्ठित विद्वान् र विचारक हुन्, जसले भाषाशास्त्र र यसको दार्शनिक पक्षमा महत्त्वपूर्ण योगदान दिएका छन् । उनका विशेषज्ञता सांस्कृतिक अध्ययन, साहित्यिक आलोचना र भाषाशास्त्रमा मात्रै सीमित नरही भाषाको गहिरो आयाम र चेतनाको अध्ययनमा समेत उनको योगदान महत्त्वपूर्ण छ ।

डा. गाउँलेको शैक्षिक यात्रा भाषाको दार्शनिक पक्षमा गहिरो चिन्तनको परिचायक हो । उनले भाषा केवल सञ्चारको माध्यम मात्र नभई मानव चेतना र सांस्कृतिक पहिचानको महत्त्वपूर्ण तत्त्वको रूपमा व्याख्या गरेका छन् । भाषाको क्षति केवल बोलेको शब्दको मात्र कुरा होइन, यो सांस्कृतिक र बौद्धिक धरोहरको गहिरो हानी हो, जसलाई उनले सार्वजनिक बहसमा उठाएका छन् ।

कृत्रिम बुद्धिमत्ता (ए.आई.) द्वारा विकसित भाषाहरूको भाषिक र सभ्यतासम्बन्धी असर, अन्तरीक्ष अन्वेषणको सन्दर्भमा भाषा परिवर्तनको सम्भावना र नयाँ साङ्केतिक वा वैकल्पिक भाषाको प्रयोगको सम्भावना, भाषिक विविधता संरक्षण र मानव सञ्चारका गहिरा आयामहरूको बुझाइका सन्दर्भमा राजु झल्लु प्रसादले डा. गाउँलेसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ:

Indian Cultural Activist, Literary Critic and Former Professor of English, GN Devy को लल्लनटपमा दिएको अन्तर्वार्ता सुनेँ । जहाँ प्रोफेसर डेभी भन्छन् कि, ‘अहिले भाषाको जेनोसाइड (नरसंहार) हुँदै छ ।’ अहिले विश्वमा ७ हजार भाषा छन्, तर ५०/६० वर्षमा ४/५ सय भाषा मात्रै रहनेछन् । नेपाल यसबाट कसरी जोगिने ? नेपालको अवस्था कस्तो देख्नुहुन्छ ?

संसारमा जति पनि भाषाहरू लुप्त भएका छन्, कथ्यमा सीमित हुनाले भएका छन् । कथ्यभाषा वैखरी हो । लेख्य मध्यमा हो । मध्यमा भाषा मन र बुद्धिको भाषा हो । वैखरी भाषाको स्थूल शरीर मर्छ तर मध्यमा भाषाको सूक्ष्म स्वप्न शरीर मर्दैन बरु अर्को स्थूल शरीरमा सर्छ । मध्यमा भन्दा भित्रका अथवा माथिका पश्यन्ती, परा, सूक्ष्म, संवित् र शून्य भाषाका सम्बन्धमा आधुनिक भाषाविज्ञानको ध्यान गएकै छैन ।

प्रोफेसर डेभी, ‘भाषाकै माध्यमबाट मानव सभ्यताको विकास भएको तर, पछिल्लो AI Generated भाषाले मानव सभ्यतालाई खतरामा पार्दैछ, भाषाविद्हरू सचेत हुनुपर्छ’ भन्दैछन् । ए.आई. को निर्माणले मानव सभ्यता कत्तिको जोखिममा छ ? हामीले नै हाम्रो भाषा हामीभन्दा पनि रामोसँग बोल्ने अर्को प्रजाति निर्माण गरेका छौं, के त्यो प्रजातिले हाम्रो भाषामा आधारित भएर उसको आफ्नै सभ्यता निर्माण गर्दैन ? कि उसले हाम्रो भाषा सिकेर हामीलाई नै सिकाउन् सक्ने हैसियत निर्माण गर्ला ? ए.आई.ले नेपाली भाषा दमन गरिरहेको महसुस कत्तिको गर्नुहुन्छ ?

हो, मानव-सभ्यता भाषाबाटै विकसित भएको हो । मानवबाट उसको भाषा झिकिदिनेबित्तिकै उसको परिचय सकिन्छ । मानवताको परिचय केवल भाषा हो । सम्पूर्ण जीव र जगत् भाषाबाटै उत्पन्न भएका हुन् । निरञ्जन निराकार परब्रह्म परा भाषारूपिणी योगमायाको आधारमा सगुण, साकार परमात्मा अथवा भगवान् बन्दछन् । सम्पूर्ण भाषाको लोप भएको दिन महाप्रलय हुन्छ । पाश्चात्य भाषाविद्-मध्ये कतिपयलाई यस रहस्यको पत्तोफाँट छैन । भाषाका सात तहको अध्ययन, अनुसन्धान गर्नै पर्छ । भाषा भगवान् हुन्, भगवान् भाषा हुन् पुस्तक भाषाविज्ञानको प्रस्थानबिन्दु हो ।

ए.आई. मात्र नभएर विकसित हुँदै गएका प्रविधिमा मात्र भर पर्ने हो भने नेपाली भाषाले मात्र नभएर अङ्ग्रेजी भाषाले समेत दुर्घटना भोग्दै छ ।

 

पछिल्लो समय इमोजी, थम्ब्स अप, एलेक्सा, मिम, कार्टुन, स्ल्याङ वर्ड्सका साथसाथै दृश्य भाषाका अनेकन् रूपहरू देखिएका छन् । यी भाषाको कुन प्रजाति हुन् ? कि यिनीहरू SIGN Language को विस्तृत रूप हो ?

आधुनिक प्रविधिबाट विकसित भाषाहरू वैखरी र मध्यमाकै विकृत रूप हुन् । भाषालाई विकृतिबाट सुरक्षित राख्नु छ भने लेख्यको नजिक रहेको कथ्यलाई मानक मानेर सुनाइ, बोलाइ, पढाइ र लेखाइको अभ्यासलाई सँगसँगै लैजानुपर्छ । अङ्ग्रेजहरूले यही उपाय अवलम्बन गरेका छन् । दुर्भाग्यवश नेपाली भाषालाई पनि उपर्युक्त चारवटै प्रक्रियाबाट सिकाउनका लागि पाठ्यक्रम विकास केन्द्रले ध्यान दिएको देख्तिनँ ।

फेरि, हामीले अहिले बोलिरहेको भाषा सम्प्रेषण हुनका लागि हावापानी चाहिन्छ, पृथ्वीको वातावरण अनुकूल भएकाले नै तपाईंले बोलेको मैले सुन्छु या मैले बोलेको तपाईंले सुन्नुहुन्छ । तर, मानव चन्द्रमा र मङ्गलग्रह ताकिरहेको छ । त्यहाँ पृथ्वी अनुरूपको वातावरण छैन । यस मानेमा अबको विश्वले आगामी १०० वर्षमा अहिले बोलिरहेको भाषा छोडेर अर्कै साङ्केतिक वा अन्य प्रकारको भाषा माध्यम अपनाउने सम्भावना कत्तिको देख्नुहुन्छ ?

गम्भीर प्रश्न उठाउनुभयो । आकाश, वायु, अग्नि, जल र पृथ्वीविना सृष्टि नै सम्भव छैन । जहाँसम्म मङ्गल ग्रहको सन्दर्भ छ, त्यहाँ चाहिं उपर्युक्त पञ्चमहाभूत उपलब्ध छन् । हाम्रा सनातन शास्त्रहरूले मङ्गललाई धरतीका पुत्र भनेका छन् । आमासँग भएका तत्त्वहरू सन्तानसँग पनि हुनु सामान्य हो ।