
एउटा किशोर, सुदेश सत्यालले केही वर्षअगाडि नै गर्जन दिएको थियो —
छाँटोस् दर्शन धर्मले जुनसुकै एउटा कुरा सार छ
नारीको उपहास गर्दछ भने त्यो शास्त्र बेकार छ ।
तर ठिटो भनेर समालोचनाको वृत्तले बाल दिएन । बाल दिएको भए, उसको गर्जनभित्र कत्रो आँट र विद्रोहको स्वर थियो, थाहा पाउने थियो ।
शास्त्रको ‘कमा’ पनि चलाउनु हुन्न भन्ने सोचका मानिस अझ पनि भेटिन्छन्, अवशेषमा । कराइरहन्छन् । आक्रोश पोखिरहन्छन् । नारीको उपहास गर्ने शास्त्र बेकार नै छ भने त सुदेशले । अब सुदेशलाई के गर्ने त उनीहरूले ?
गर्न त केही गर्दैनन् ।
तिनलाई यस्ता कुराले पिनास चैँ अवश्य हुन्छ (होला) । पिनास फुक्नुपर्छ — श्री पाँडे कन रुद्र बढा पाटन नगरमा थिया । गाउँका तटमा अनेक तरहका सर्पै अनेकै थिया …
लोप भइसक्यो पिनास फुक्ने यो मन्त्र । तर पिनास बाँकी छ ।
लेख्नुको एउटा ठूलो ध्येय भनेको समाजलाई अगाडि लानु हो । समाजको गति सोचहरूले निर्धारण गर्छ । सोचहरू बनाउने भनेको धेरै कुराले होला । तर तिनमा धर्म र संस्कृति सबैभन्दा दीर्घजीवी सोच बनाउने तन्तु हुन् । तिनलाई पनि चलाउनुपर्छ, हल्लाउनुपर्छ, फिट्नुपर्छ, छान्नुपर्छ । यो काम, सबैभन्दा सुन्दर र सुरक्षित तरिकाले लेखकहरूले गर्छन् । त्यसैले, यस्तो विद्रोहका लागि लेखक सतीसाल बनेर उभिनु जरुरी हुन्छ ।
कारण ? कारण त उही – उछितो काड्नेहरू विषका कचौरा बोकेर एथेन्सका गल्लीहरूमा आए झैँ आइपुग्छन् । भन्छन्— यिनले युवा भाँडे । उही सुकरातको कथा । अरू केही गर्न सकेनन् भने फेसबुकका पानामा विषवमन गरेर जान्छन् ।
किन हुनु सतीसाल लेखकले ?
कुरा एक – आइपर्ने समस्या झेल्न । नियति पेल्न । आलोचना सहन । सत्यसँग उभिन ।
कुरा दुई – शास्त्रको कमा पनि चलाउनु हुन्न भन्ने रुढ, अन्धविश्वासी र परम्परावादी सोच तोड्न ।
तयार ? सायद तयार ।
उसो भए अगाडि बढौँ ।
माथिको कुरा नम्बर दुई छ नि, त्यसले पिनास निम्त्याउँछ । पिनास ? कसलाई ?
एक – लेखकलाई । जोखिम त छ, यसमा । इतिहास साक्षी छ ।
दुई – ठेकेदारहरूलाई, जो धर्म र संस्कृतिलाई अपरिवर्तनीय मान्छन् । छिरिक्कै कतै छुनु् हुन्न भन्छन् । छोइयो भने – देशद्रोही, धर्मविरोधी, संस्कृतिविरोधी, पश्चिमपन्थी… के के पो भन्दारहेछन् त । छुट्टै शब्दकोश हुँदोरहेछ । भँडास । मलाई त थाहा पनि थिएन ।
के के । विषपुराण ।
छोरीले किरिया बसेको सुन्दा हुन् त । के भन्लान् ? किरियाकै बारे पनि बहस चेलेको छ, समाजमा ।
छुवाछूत भत्कँदैगएको र मन्दिर, घर र मनका द्वार, क्रमशः सबैका लागि खुल्दै गएको देख्दा हुन् त ! विभेदको ठाउँमा प्रेम उमार्ने नवपुस्ता अगाडि देखापरेको पनि देखेका होलान् । के पूर्वाग्रहको कालो चस्माले भव्य उदाएको सूर्य छल्छ ?
उहिले उहिले हेरेजी, यानि ईश्वर निन्दा गरेको भनेर लेखकहरूमाथि ठूला ठूला कार्बाही भए । अचेल यस्तो त्यति सुनिँदैन ।
परिवर्तनका लागि लेख्नु, लेख्नुको एउटा विशाल सार हो । ‘कमिटेड राइटिङ’ भन्ने पनि गरिएको छ । फ्रेङ्कफर्टमा बसेर लेख्ने चिन्तकहरूको एउटा समूह थियो – फ्रेङ्कफर्ट स्कुल । त्यसका विद्वानहरूले विशेषतः यस्तो लेखनको वकालत गरेका छन् ।
जुन कुरा समाजमा धर्म वा संस्कृति बनेर स्थापित हुन्छ, त्यो फलामका अक्षरमा अङ्कित अपरिवर्तनीय सूत्र हो भनियो भने यो बहस बेकार छ । तर, बहस अगाडि बढाउनलाई दुइटा कुरा बुझ्नु नितान्त आवश्यक छ —
(क) धर्म वा संस्कृति, पूर्ण रूपमा, मानवनिर्मित हो । नहुँदो हो, र भगवान्ले बनाएर जारी गरेको हुँदो हो त संसारभरि एउटै धर्म हुने थियो । एउटै संस्कृति हुने थियो । र, सदाकाल एउटा स्वरूपमा हुने थियो । तर, त्यसो त भएन । यिनका निर्माणमा लामो समय अवश्यै लागेको छ, तर पनि यी मानवनिर्मित हुन् भन्ने कुरामा अब, प्राज्ञिक वृत्तमा बहस गरिरहनु पर्ने समय नै छैन । रेमन्ड विलियम्सले संस्कृतिका सन्दर्भभा ‘कल्चर इज मटेरियल’ किन भने ? संस्कृति मानवनिर्मित भएरै भनेका हुन् । उनीले हो, प्रभावमा रहेको कुनै संस्कृति, समयसँगै ह्रासोन्मुख पनि हुन्छ, र अर्कै नयाँ संस्कृति पनि जन्मिन्छ भने । उनका शब्द हुन् — डोमिनेन्ट, रेसिडुवल र इमेर्जेन्ट कल्चर्स ।
संस्कृतिका ठूला व्याख्याता ई. बी. टाइलरले लेखे – “संस्कृति त्यो विविधतापूर्ण समग्रता हो, जसमा मान्छेले, समाजको सदस्यका रूपमा आर्जन गरेको ज्ञान, विश्वास, कला, कानुन, नैतिकता, रीतिरिवाज अथवा त्यस्तै कुनै अरू क्षमता वा बानी सामेल छन् ।”
ध्यान दिनुपर्ने वाक्यांश हो — ‘आर्जन गरेको’ । यति बुझ्दा, संस्कृति स्वर्गबाट विभूतिजस्तै झरेको हो भन्ने भ्रमबाट मुक्ति लिन सजिलो हुन्छ । नबुझ्दा, गाह्रो । अब, संस्कृति मानवनिर्मित हो भने समाजले यसलाई आफ्नो हित चिताएर बनायो होला । तर नि, समय फेरिएपछि हितहरू अहित हुन पुग्छन्, र अहितहरू हितमा परिणत पनि हुन्छन् । अथवा, समाजले नयाँ आवश्यकता जन्माउँछ । अब, संस्कृति चैँ उही आदियुगको मानिरहनु हो भने, के त्यसले नयाँ समयका नयाँ आवश्यकतालाई सम्बोधन गर्छ ? गर्दैन । त्यसैले, संस्कृतिमा विद्यमान अमानक, आपत्तिजनक र विभेदकारी कुराहरूलाई फेर्नु, परिमार्जन गर्नु, परिवर्तन गर्नु, आवश्यक परे तोड्नु, फुटाउनु र तिनलाई यु्गसापेक्ष बनाउनु आवश्यक हुन आउँछ । यसका लागि लेखकहरूले गाण्डीव लिएर उभिनुपर्छ । भिड्नुपर्छ ।
(ख) सबै ‘सत्य’, हामीले सोचेजस्ता सार्विक हुँदैनन् । धेरैजसो ‘सत्य’ हरू निर्मित हुन्, प्रायोजित हुन् । यानि कन्स्ट्रक्टेड । यस्ता कतिपय सत्य निर्दोष हुन्छन्, अथवा सबैको हितका लागि निर्मित हुन्छन् । तर, कतिपय ‘सत्य’हरूलाई भने कुनै एउटा वर्गले, आफ्नो हित साँध्ने हेतुले बनाएको हुन्छ । अधिकांश अवस्थामा शासन र सत्तामा रहेको वर्ग, अथवा समाजमा विविध कारणले प्रभावशाली बन्न पुगेको वर्गले, आफूलाई सत्ता वा प्रभावमा टिकाइराख्ने हेतुले निर्माण गर्दछ । वास्तवमा, त्यस्ता सत्यहरू सत्य नभएर सङ्कथन हुन् । मिचेल फुकोले यसै त भने । कि होइन हौ ?
त्यस्ता सत्यको निर्माणप्रक्रिया सजिलो भने पक्कै हुँदैन । कुटिल ढङ्गले, बौद्धिक वर्गको प्रयोगद्वारा, आफूअनुकूल तर्क, साहित्य, पूजापद्धति, वा परम्पराको निर्माण गरेर तिनलाई प्रचलनमा ल्याउने कार्य गरिन्छ । कालान्तरमा तिनले जनसाधारणको दिमागमा सत्यको, धर्मको, कर्तव्यको, मोक्षको वा अपरिहार्यताको रूप धारण गरेर जरा गाड्न पुग्छन् । उदाहरणः राजा विष्णुको अवतार हुन् !
भनौँ न — यस्ता अधिसंरचनाहरू बनाइन्छन् ।
यिनमा शास्त्र पनि एक हुन् । यिनका प्रावधानहरू संस्कृतिमा छिर्छन्, र तिनका घटक बन्छन् ।
शास्त्रलाई, त्यसैले ब्रह्मवाणी, देववाणी, अमृतवाणी, अक्षयवाणी, आकाशवाणी…जेजे भनिए पनि ती मान्छेले लेखेका साहित्य हुन् । त्यसैले, तिनमा मानवजन्य गुण, दोष, आग्रह, पूर्वाग्रह वा कमजोरी पनि छिरेका हुन्छन् । हो, तिनलाई गोड्नु, सच्याउनु र आवश्यक परे फाल्नु हाम्रो काम हो । यसका लागि अध्येताहरू र लेखकहरू अगाडि आउनु नै पर्छ ।
यसो भनिरहँदा यी शास्त्रहरूले राम्रा कुरा गरेकै छैनन् भन्ने पनि होइन । शास्त्रले विश्वबन्धुत्व, मान्छे र प्रकृतिको अविछिन्न सम्बन्ध, नैतिकताको उच्च आदर्श, मन, वचन र कर्मको शुद्धता, प्रेम र सद्भाव, त्याग, योग र तपस्या आदि अनेक अनेक सदगुण सिकाएको पनि हो, जसले समाजलाई संयमित बनाएको छ । विविध दृष्टि दिएको छ । आफूलाई र अरूलाई चिन्ने सूत्र बताएको छ । काव्यशास्त्र दिएको छ । दर्शन पढाएको छ । भाषा ज्ञान र व्याकरण बुझाएको छ । आरोग्य, सङ्गीत, साहित्य, कला र विज्ञान बुझाएको छ । यो कुराका लागि समाज सदैव शास्त्रप्रति कृतज्ञ र ऋणी त रहने छ नै ।
तर, शास्त्रमा दोष पनि छन् । देववाणी भन्दिएर सबै दोष पिउँदै जानु ? प्रश्न नगर्नु ?
त्यो हुँदैन ।
हुन त, शास्त्रको कामै छैन र यिनलाई फाल्नुपर्छ भन्ने अतिवादी, उग्र र एकाङ्गी, एजेन्डाधारीहरूको एउटा जमात पनि नेपाली समाजमा विकसित हुँदैआएको देखिएको छ, जसले धर्म, संस्कृति वा शास्त्रलाई पूर्ण रूपमा खारेज गरेको देखिन्छ । त्यसले यसभित्र छिरेर यसका सकारात्मक पाटा खोदल्ने प्रचेस्टा नै गर्दैन । निषेध गर्दियो, सिध्यो । त्यसैले, त्यस जमातका सन्दर्भमा यस प्रकारको कुनै बहस गर्नु नै बेकार छ । समाजमा शास्त्रको विशाल प्रभाव छ, र तिनै प्रभावका कारणले विभेद भएको छ भने, म ठान्छु, शास्त्रको पूर्णतामा गरिएको निषेध प्रत्युत्पादक हुन आउँछ । विभेदकारीहरूलाई आत्मग्लानि गराउन र परिवर्तित हुन प्रेरित गर्नुको सट्टा त्यसले आक्रोश बढाउँछ, सद्भाव खल्बल्याउँछ । तर, शास्त्रको सम्यक विनिर्मण, विपठन र पुनर्व्याख्याले शास्त्रलाई विस्थापित पनि गर्दैन, र सञ्चाउँछ पनि । शास्त्रसम्मत दोषहरूबाट निवृत्ति लिने सबैभन्दा उत्तम माध्यम भनेको शास्त्रको सम्यक विनिर्माण वा विपठन हो, जसले गुणहरूलाई अक्षुण्ण राख्छ, र दोषहरूको दाह गर्दछ ।
दुर्गुणको वस्तुपरक आलोचना पनि गर्ने, र सदगुणलाई स्वीकार पनि गर्ने आँट र मानिसक तदारुकता भएकाहरूका लागि यी तर्क गरिएको हो । म ठान्छु, कुनै धर्म, सभ्यता वा संस्कृतिभित्र हुर्किएका अध्येताहरू एकाङ्गी, आत्मगत वा पूर्वाग्रही हुनु हुँदैन । अँ, आक्रामक रूपले आलोचकीय भने हुनुपर्छ । वस्तुपरक हुनुपर्छ । सम्यक हुनुपर्छ । अध्येताहरूले, अध्ययनको वस्तुलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्नुपर्छ ।
यो समालोचनाको पनि सूत्र हो । शास्त्रमा लागू हुन्छ ।
बहस हो । अलि झ्याउ भयो कि क्या हो ?
लेखकहरूले धर्म, संस्कृति वा शास्त्रमाथि प्रश्न गरे त ? विद्रोह गरे त ?
किन नगर्नु ? भरपूर गरे । धर्मशास्त्रका कतिपय प्रसङ्गको पुर्जोर विरोध गरे । प्रसङ्गहरू सच्याउनुपर्छ भने । सच्याए पनि । तिनका विचारहरूको आज पनि गहन अध्ययन हुन्छ ।
प्रसङ्ग १ः
मार्टिन लुथरले प्रोटेस्टेन्ट इथिकलाई जन्माए । बाइबलकै पुनर्व्याख्या गरेका हुन् । यसैमा टेकेर पछि मेक्स वेबरले प्रोटेस्टेन्ट इथिकमा आधारित अर्थतन्त्रको सूत्र नै बनाए । आज, इसाई जगतमा प्रोटेस्टेन्टहरूको सङ्ख्या बढी किन छ ? शास्त्रलाई रुढ मान्नुको परिणति हो । शास्त्रको कमा पनि फेर्नुहुन्न भन्ने क्याथोलिकहरूको अडानको परिणाम हो ।
प्रसङ्ग २ः
महिलावादी लेखक र समालोचकहरूले बाइबलको प्रथम पाठ ‘जेनेसिस’ को खोइरो खने । जेनेसिसमा महिलाले वर्जित वृक्षबाट फल खाइदिनाले मान्छेको जात स्वर्गबाट धरतीमा झर्यो र रोग, व्याध, जरा, मृत्यु र अनेक प्रकारका अन्य समस्याको भागी हुन पुग्यो । अब, यस्तो कुरा मान्नु त नारीहरूले ? अथवा, पुरुषहरूले ? भर्सना गरे नि ।
प्रसङ्ग ३ः
एल ह्वाइट जुनियरले, मान्छेले प्रकृतिको दोहन गर्नुको कारण बाइबललाई माने । बाइबलले मान्छेलाई भगवानकै प्रतिनिधि मान्यो र आफूमातहतका प्राणीलाई उपभोग गर्नू भन्ने अधिकार दियो । फलस्वरूप मान्छे स्वेच्छाचारी बन्यो । दुहुनुसम्म दोह्यो । आज सङ्कटमा पर्यावरण । पीडमा पृथ्वी ।
प्रसङ्ग ४ः
असिसीका सन्त फ्रान्सिस आफैँले बाइबलको ‘अर्डर अफ द बिइङ’ को विरोध गरे । मान्छेलाई सबैभन्दा माथि, र अन्य प्राणीलाई तल मान्ने बाइबालको दृष्टिकोणलाई सच्याउनुपर्छ भने, सच्याए । उनले त अब, कमिलालाई पनि भाइ कमिला, दाइ कमिला भन्नुपर्छ भने । यानि, मान्छे र कमिलालाई उही तहमा हेर्नुपर्छ भने ।
प्रसङ्ग ५ः
मार्सा नोर्मनको नाटक “नाइट मदर” मा एउटा पात्रले भन्छ— यशुले त आत्महत्या पो गरेका हुन् । यशुले मानवमुक्तिका लागि बलिदानी दिए भनिरहँदा यो ईश्वर निन्दा भएन ? काउन्टी कुलेन एउटा कविता “हेरिटेज” मा लेख्छन् — हैट, यशुको अनुहार वा कपाल मेरोजस्तो छैन । मान्दिनँ उनलाई । गुगल हरेर हुर्नुहोला है ।
पाश्चात्य सन्दर्भ छोडौँ । पूर्वीय सन्दर्भतिर लागौँ ।
क. ब्रह्माकै शरीरका विविध अङ्गबाट चार वर्ण आए रे । कोही शिरबाट, कोही पाउबाट । अब, यो कुरा मानिरहनु ? यो प्रतीकात्मक कुरा हो भन्दिएर पन्छिन मिल्दैन । यसको विपठन जरुरी छ ।
ख. छोराले मात्रै किरिया गर्नु, छोरीले नगर्नु । मानिरहनु ? विभेद फैलाइरहनु ?
ग. मृत्युसंस्करामा, स्वर्ग जानका लागि अनेकथरीका डरलाग्दा दानः शै्यया दान, दश दान, गोदान, नारायण बली, अष्टदान…कति कति । गरिब कहाँ जानु ? नफेर्नु यी कुरा ?
घ. जति पाप गरे पनि, मर्ने बेलमा झुक्किएरै पनि नारायणको नाम लिइयो भने स्वर्ग । मान्नु ?
ङ. गायत्री एउटा निश्चित वर्गका पुरुषले बाहेक कसैले नगाउनू । गुरुले शिष्यलाई सुनाउँदा पनि कानमा सुनाउनू । अरूले सुन्लान् । अनि, अनुराधा पौड्यालले गाएको रेकर्ड जताततै बजेको सुन्छु त ? सबले गाएका छन् त त्यो ‘गीत’ — ॐ भुर्भूवः स्वः तत्सवितुर्वरिण्यं ।
अर्थमा चाहिँ भगवान्को स्तुति त रहेछ – हामी त्यस्ता ईश्वरको महिमाको ध्यान गर्दछौँ, जसले यस संसारको सृष्टि गरे, जो पूजनीय छन्, जो ज्ञानका भण्डार हुन्, जो पाप र अज्ञानतालाई हटाउँछन्, उज्यालो देखाउँछन् र हामीलाई सत्यको बाटोमा डोर्याउँछन् । मलाई त लाग्छ, सामूहिक व्रतबन्धका गायत्री कानमा होइन, ठूलो माइक राखेरै गाउँटोलले नै सुन्ने गरी बजाउनुपर्छ । स्तुति नै त हो । किन कानमा भन्नु ? ईश्वर मान्नेले विश्वास गर्छन्, नमान्नेले गीत मानेर सुन्छन् । के बिग्रन्छ ?
च. थप कुराका लागि चाहिँ ‘भौज्याहा’ पढ्नुहोला – चन्द्रप्रकाश बानियाँको । धेरै छन् कुरा त्यसमा ।
यहाँ शास्त्रको विरोध गरेको पटक्कै होइन । आलोचना गरेको । समालोचना गरेको । शास्त्रलाई दोषहरूले युक्त मान्छेले लेखेको साहित्य हो भनेको । यो दोषरहीत छ भन्ने बुझाइको प्रस्ट विरोध गरेको । यसमा लेखक र अध्येताहरूको दृष्टि परोस् भनेको । यसो गर्नु भनेको शरीरमा आएको ट्युमर फाल्नु र उपचार गर्नु भनेको । शरीरको हत्या गरौँ भनेको होइन । उपचारको कुरा हो । यो काम हामीले नै गर्नुपर्छ । अन्य भूगोलको मान्छे आएर गर्दैन । गरिहाल्यो भने फगत आलोचना गर्छ, र होच्याउने प्रचेष्टा गर्छ ।
गरे नि । कति गरे गरे शास्त्रको आलोचना । विपठन गरे । शास्त्रको प्रावधान तोडेर नयाँ साहित्य लेखे ।
— महाभारतमा खलपात्र बनाइएका धृतराष्ट्रलाई नायकत्व दिएनन् घनश्याम कँडेलले ? आँट त हो नि ? मदन पुरस्कारै पाए त । किन ?
— रामायणका खलपात्र कैकेयी र शूर्पणखालाई नायकतत्व दिएनन् कवि गोविन्दराज विनोदीले ? दिए नि । आँट होइन ?
— दौपदीको दृष्टि अघि सारे नवीनबन्दु पहाडीले ‘कृष्णा’ मा र युधीष्ठीर तथा अन्य पाण्डवको लाछी चरित्रको उछितो काडे । धरावसीको ‘राधा’ मा कस्ता देखिन्छन् कृष्ण ? छामापारका नाइकेदेखि मल्ल युद्धका योजनाकारदेखि, के के हो के के । नीलम कार्कीको ‘चीरहरण’ धेरैले पढकै छन् । प्रतीभा रायाको द्रौपदी त झन् कति भाषामा अनुवाद नै भइसक्यो ।
— कर्ण नि ? कर्णका दृष्टिबाट हेर्दा पाण्डवहरू कत्तिका न्यायी देखिए ? नवराज लम्साललाई सोध्दा हुन्छ ।
— डा. दीनवन्धु उपाध्यायको एउटा कथा छ ‘उर्मिला’ । वनवास गएका राममात्रै होइनन्, लक्ष्मण पनि हुन् । रामकी श्रीमती सीतालाई सबैले सोधे । उनी सँगै जान पाइन् । लक्ष्मणकी उर्मिलालाई कसैले सोध्यो ? जान पाइन् ? चौध वर्ष एक्लै बस्नु, धुम्धुम्ती । ठट्टा कुरा हो ? हैट ।
— कुमार भट्टराईको उपन्यास ‘अश्वत्थामा’ पढ्नेले कसो भन्लान् ? यसमा त दुर्योधन, अश्वत्थामा र कर्ण पो नायक बनेर उदाएका छन् त ।
शास्त्र देववाणी भनिए पनि, साहित्य हो । नत्र, रामायणका यति धेरै फकर फरक कथा र रूप किन भए ? तुलसीदासको रामचरित मानसमा राम शाकाहारी । भानुभक्तको रामायणमा मांसाहारी । नत्र किन लेख्थे — गंगा पार तरि मिर्ग मारि पकुवा तारेर खाँदा भए । अथवा, किन भन्थे– तरकारी भुटुवा बनाउनू असल मिठा मसाला धरी । शास्त्रको ‘कमा’ त हल्लियो त ? अब भानुभक्त धर्मविरोधी भए ? साहित्यकार हुन् – नेपाली संस्कृतिको सापेक्षतामा अनुकूलन गरे ।
गुणदोष सबै शास्त्रमा छन् । शास्त्रका रचयितामा छन् । । गुणको प्रशंसा हुन्छ, दोषको आलोचना । कुरा साफ ।
रामायण त थाइलेन्डमा पनि, इन्डोनिशियामा पनि । वाल्मीकिको रामायणसँग कति हो कति छ भिन्नता । देववाणी – कसरी फेरियो ? अनु्कूलन हो ।
अयोध्या ठोरीमा सर्यो भन्न पनि त पाए । भने । समर्थन गर्ने पनि निस्किए ।
देउतालाई पनि अनुकूलन गर्छ संस्कृतिले ।
- मणिपुरमा कृष्णको अनुहार मणिपुरीको जस्तो मङ्गोल । बङ्गालमा बङ्गालीको जस्तो । बिहारमा बिहारीको जस्तो, आर्य । अलि लक्षिणतिर अझै फरक । नेपालमा, नेपाली ।
- बामियानमा बुद्ध, जुँघावाला । हिमालमा चिम्सा आँखा । चीनमा अर्कै । बोध गयामा उतैका बुद्ध । कति हो कति अनुहार । किन ? एउटै होइनन् र ?
- यशु नि ? अफ्रिकामा काला । युरोपमा सेता । आआफ्ना ।
- बेङ्ककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थालमा ट्रान्जिट पर्यो भने, माथिल्लो तल्लामा जनुहोला । समुद्रमन्थनको मूर्तिचित्र छ । देउता पनि, दैत्य पनि सबै थाइलेन्डवासी । मङ्गोल । गोला अनुहार, चिम्सा आँखा । यताका चित्रमा त अर्कै छन् त ? कलाकारले आफूअनुकूल बनाउँछ भगवानको आकृति । हामी फलाम ठान्छौँ । कमा हल्लिनु हुँदैन भन्छौँ ।
कुरा हाइब्रिडाइजेसनको ।
अब यो हाइब्रिडाइजेसनतिर चैँ नलागौँ होला । टाउको दुखाउँछ ।
अलि कामको कुरा गरौँ । लेखनको कुरा ।
लेखकहरूसँग अधिकतम स्वतन्त्रता हुन्छ । वा, स्वतन्त्रतताको आग्रह वा बोध हुन्छ ।
शास्त्र, धर्म, रीतिरिवाज र परम्पराको कलेबरमा आउने भ्रामक, विभेदकारी र दमनकारी प्रसङ्गमाथि प्रश्न गर्न, तिनको प्रतिरोध गर्न, आवश्यक परे तिनलाई फाल्न अथवा तिनका ठाउँमा नयाँ व्यवस्थाको वकालत गर्न एउटा लेखक जति स्वतन्त्र, सक्षम, प्रतिबद्ध र विश्वसनीय हुन्छ, अरू त्यति हुँदैनन् । त्यसैले समाजलाई न्यायिक, समतामूलक, विवेकशील र अग्रगामी बनाउन लेखकहरूले गलत परम्परामाथि प्रश्न गर्नु सर्वथा वाञ्छनीय छ । पाठकले पनि ।
प्राध्यापक गोविन्दराज भट्टराई, गफगाफमा भन्नुहुन्छ — मुङ्ग्रो लिएर आउलान् है ?
म भन्छु — कहिले पो नआएका छन् र ?
तार्किक कलमका अगाडि मुङ्ग्राको बल कहिल्यै टिक्दैन । टिक्दै टिक्दैन ।
लेखौँ । विनिर्माण गरौँ । विपठन गरौँ ।
अँ, विनिर्माण भनेको विध्वंश बुझ्ने जमात पनि छ । होसियार ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

