अस्ति कुरोकन्थो उठ्यो इतिहासको ।

प्रसङ्ग थियो यात्री प्रकाश पाण्डेको उपन्यास ‘साइन’ माथिको परिचर्चा ।

कुरा जोत्नु थियो, जोतियो । खरै पो जोतियो त ! भनियो— ‘नेपालको इतिहास’ भन्नु किरातको, लिच्छवीको, मल्लको, शाहको, राणाको वा ‘ठूला’ को कथा ।

एउटा तर्क यस्तो पनि उठ्यो — आख्यान वा सिर्जनाका अन्य विधामा छरिएको इतिहासको सिलो टिप्दै टिप्दै टिप्दै टिप्दै हिँड्नु हो भने असली इतिहासको बोरा भरिन्छ । ‘इतिहास’ नै भनेर लेखिएका किताबमा दरबारको काँचो वायुको बास हुन्छ । सास परेको हुन्छ साहेबहरूको । सेतोको पर्यायवाची कालो हुन्छ त्यता । कालोको सेतो । हरियोको? हैट् ! हरियो पनि फुस्रो देखिने तिलस्मी ठाउँ होइन र दरबार ?

काव्य—महाकाव्य आम मान्छेको साहित्य बन्दा इतिहास चैँ, जहिले पनि, थोरै चुनिन्दा ज्ञानविलासीहरूकोे अम्मल किन भयो? किन हाम्रा विश्वविद्यालयका इतिहास विभागमा डाइनोसरले गुँड लायो? मने, डाइनोसरको जागित्रले । डाइनोसर त उहिल्यै जमिन छोडेर इतिहास विभागका कोठातिर कुलेलम ठोकेको कुरो झण्डै बिर्सेछु गाँठे ।

कुनै पनि कुरालाई मान्छेले स्वतस्फूर्त पढ्ने भनेको त्यस आलेखमा कतै न कतै आफ्नो अनुहार वा मर्म भेटेपछि हो । इतिहारभरि खोजौँ न — यो ‘लेखनका कुरा’ पढ्ने कति जनाको अनुहार वा मर्म भेटिन्छ नेपालको इतिहासमा? त्यसैले पनि, नेपालको इतिहास चैँ मेरो ठूलो चासोको विषय हो भन्ने मान्छे नि, दिनभरि खोज्दा साढे सातजना भन्दा बढी भेटिने संभावना किनै कम छ । अब त विभागहरू नै मरणासन्न छन् । विगत लामो समयदेखि नेपालमा, नयाँ पुस्ताबाट ‘इतिहासकार’ वा ‘इतिहासविद्’ उम्रिए अरे भनेको सुनेको छुइनँ ।

इतिहास चैँ भयो कस्तो भने — भूत कराउने खेतजस्तो । जाऔँ, भूतले गाँजिहाल्छ । आफ्नो भाषा पनि बोल्दैन । कुरो पनि बुझ्दैन । नजाऔँ — आफ्नो किपट हो । बिर्ता हो ।

कस्तो भने— यतिसम्म प्रीति गरी गरी, न यता भएँ, न उता भएँ !

नयाँ विम्ब आयो । ‘इतिहास’ नै भनेर लेखिएका किताब कस्ता भए भन्दा बारुलाका चाका जस्ता । जति भेला पारेर निचोरे पनि हाम्रो अनुहार देखाउने मह एक पित्को झरे त नि, एउटा मफलर बोकेर गोदावरीतिर हिँडिहाल्नु जस्तो, ‘सहिद’ हुन । (द्रष्टव्य — सुन्दर गोदावरीलाई लेखकहरूले आत्महत्या गर्ने उपयुक्त ठाउँको रूपमा बदनाम गर्दा गर्दा, तिनका पाठक, विशेष गरी युवाहरू यस सुन्दर स्थललाई आत्महत्याको विम्बका रूपमा प्रयोग गर्न थालेका छन् । एउटा आख्यानकार जिम्मेवार पनि हुनुपर्छ कि सबलाई गोदावरी वा श्माशानतिर लगेर निघुर्मुन्ट्याउने हो?)

इतिहास ‘वर्जित भूगोल’ बन्दै गएको सत्य हो । कारण, इतिहासको स्रोत कहिल्यै पारदर्शी हुन सकेन । कहिल्यै तटस्थ हुनै सकेन । कहिल्यै साझा हुनै सकेन । हत्तपत्त मान्छे नपुग्ने, हत्तपत्त कसैले नदेख्ने र हत्तपत्त छुनै नसक्ने चिलाउने रुखमा बारुलाले लाएको चाका भइदियो । एक पित्को मह झरे पनि त दालचिनीको धूलो मिसाएर बालखलाई चटाउनु । खोकी निको हुन्छ । तर, इतिहासले अलिकति पनि खोकी निको नपार्ने देखियो ।

होइन, इतिहासप्रति ज्यादै नै पूर्वाग्रही भइयो कि क्या हो? हो । आफैँ कुनै इतिहास बनाउन सकिएन । अनि, अरूले बनाएको इतिहासप्रति थोरै जलन भएको पनि हुन सक्छ ।

कस्तो भने — ताजमहल कसले बनायो भन्दा शाहजहाँले भनेजस्तो ।

धरहरा कसले भन्दा, भीमसेन थापाले भनेजस्तो ।

ग्रेटवालको कुरा नगरम् । गारो लाउँदा लाउँदै मरेका, र त्यसै गारोमा, ढुङ्गासँगै च्यापिएका अज्ञात इतिहास निर्माताको आत्मा छटपटिन्छ । भो, त्यता लागिनँ ।

अब इतिहासलाई नचलाऔँ होला । कुरो थप बिग्रिन्छ ।

तर्क थियो — साहित्यका पानाभरि छरिएर आएको इतिहास माहुरीको चाका हो । निचोर्न सक्ने हो भने मह आउँछ । तर, यस्तो चाकामा पनि अलि अलि सेता छावा हुँदैनन् भन्न सकिँदैन । नछानी निचोरियो भने सेतो मह आउँछ फेरि । यस्तो सेतो महको सामुद्रै छ नि छनलाई नेपाली साहित्यमा पनि । हैट्, जता पनि अप्ठ्यारो !

हामीले तर्क ग-यौँ — इतिहासमा उभिएर लेखिएको उदात्त साहित्यमा इतिहासको अनुहार प्रस्ट आउँछ ।

लु, यो कुरो बुझिएन ! अलि गाजेमाजे भो !

बेलायतको इतिहास, त्यहाँका इतिहासकै भनेर छापिएका किताबमा कति आयो, भन्न गाह्रो । आर कोलिङवुड र एस राधाकृष्णनजस्ता इतिहासकै निर्मितिमाथि कलम चलाउने विद्वानहरूलाई सोध्नु हो भने कालोलाई सेतो र सेतोलाई कालो बनाएर लेखिएको छ भन्छन्, बेलायतको मात्रै होइन, सबैतिरको इतिहास । त्यहाँको ‘अफिसियल हिस्ट्री’ पढ्दा कुरो एउटा देखिन्छ । साहित्यतिर, कतिपय काव्य वा आख्यान पढ्दा, त्यस इतिहासमा आम मान्छे भेटिन्छन् । उदाहरण — डिकेन्स । वा, वाल्टर स्कोट । उता, अमेरिकातिर अलिकति ह्विटमेन, अलिकति थोमल पिन्चोन । थोरै एल्लेन गिन्सबर्ग । कवितातिर चिहाउँदा डब्ल्यु एच अडेनहरू । रोबर्ट लवेलहरू । स्टेफेन क्रेनहरू ।

नेपालतिर यसो चिहाउँछु । इतिहासको त चाङ छ ! हरिभक्तले किन चैँ भने होला, ‘बा, पाठशाला जान्नँ म । त्यहाँ इतिहास पढाइन्छ मरेका दिनहरूको ।’ तिनले, इतिहास भन्ने शास्त्रकै विरोध गरेको होलान् ? त्यत्तिका मापाका थिए होलान् त हरिभक्त ? अहँ, त्यस्तो त मलाई लाग्दैन । लाग्छ चैँ के भने — आफू र आफूजस्ताका अनुहार किचिपिची पारेर, श्रीपेच र तरबारधारीकै मात्रै अनुहार देखिाउने इतिहासलाई खुच्चिङ भनेको हुनुपर्छ ।

राखौँ एकातिर लहरै — नयराज पन्त । बाबुराम आचार्य । महेशराज पन्त । राजाराम सुवेदी । राजेश गौतम । त्रिरत्न मानन्धर । दायाँबायाँबाट पनि जोडौँ — टर्नर । जोह ह्वेप्टन ।

अनि खोजौँ पूर्णता । खोजौँ हाम्रा अनुहार । कहाँ छन् । कस्ता छन् ।

यी इतिहासकार पूर्वाग्रही थिए भन्ने तर्क पटक्कै होइन । यिनको इतिहास प्रमाणिक होइन भन्ने पनि होइन । पन्तहरूले त संशोधन मण्डल नै बनाएर, अघिका इतिहासमा भएका भुलहरू सच्याए । तर कुरो नि, इतिहास फेरि पनि शक्तिकेन्द्रकै सापेक्षतामा उभियो । त्यस बेला, त्यसो गर्नु गलत पनि होइन । इतिहास भनेको सत्ता र शक्तिको कथा हो भन्ने परिभाषा विश्वव्यापी छ । त्यसै र, उसो भएको हो ।

इतिहासकारहरूले हातै नहालेको दरबारी विषयमा, अथवा दरबारइतरका विषयमा नजानिदो पाराले साहित्यकारले हात हाले । कृष्णलालका राता–सेता कीरा वास्तविक थिएनन् भने उनी किन मारिए? मारिनु किन पर्थ्यो काल्पनिक कीराको कथा लेख्नेलाई ?

सुनेको तर इतिहासमा प्रस्टसँग नभेटेका पात्र आख्यानमा भेटिन्छन्, कवितामा भेटिन्छन् र प्रस्ट देखिन्छन् । इतिहासमा घुर्मैलो घुर्मैलो मात्र देखिने, र देखिइहाले पनि खलपात्रको रूपमा देखिने योगमाया, आखिर, साहित्यमै अवतरित भएपछि प्रस्ट भएकी होइनन् र ? उत्तम पन्त, लेखनाथ अधिकारी, पवन आलोक हुँदै नीलम कार्की निहारिकामा पुगेपछि उनी आम मान्छेको जायद विद्रोहकी एक प्रतिनिधि बन्न पुगेकी होइनन् र?

बहस गरौँ न, डायमण्ड शमशेरको सेतो बाघमा देखिने राणाजीहरू इतिहासमा देखिए । नाम देखियो । पद देखियो । कथा देखियो होला तर अन्तरकथा नि ? इतिहास अन्तरकथा पनि हो कि गाता मात्रै ? प्रेतकल्पमा नारायण ढकालले उधिनेको प्रेत कसको हो ? को हुन् भुवनहरिकी रमिला नानी ? कुन इतिहासमा लेख्खिइन् ? आखिर, कथा त दरबारकै रहेछ त ! दरबारकै कथामा पनि सेलेक्टिभ ? यो सेलेक्टिभिज्मको आधार के ? कारण के ? जदौ मालिक भन्ने थारुको इतिहास के ? किन लामबद्ध आउनुप-यो भुवनहरिहरूले, महानन्द ढकालहरूले, मनोज थारुहरूले ?

इतिहासको चाका निचोर्दा एक पित्को अनाउने मह, आख्यानको गाम्चा निचोर्दा लदद आउँछ अचेल — लिएर अदृश्य र अपृश्य मान्छेको कथा । आख्यानलाई ‘काल्पनिक’ भएको आरोप अवश्य आउँछ । तर, कतिपय आख्यानभित्रको काल्पनिकता, इतिहासको वास्तविकताभन्दा पनि टडकारो छ, प्रस्ट छ र इमानदार छ । भारतमा, इतिहासकारले दशकौँदेखि ढाँट्दा ढाँट्दा गाजेमाजे बानइदिएको ऐतिहासिक सत्य सहादत हसन मन्टोका कथामा आइदिन्छ मह बनेर ।

चेखभका कथातिर लागौँ न एकछिन् । उनका कथा इतिहास होइनन् । इतिहासमा आधारित पनि होइनन् । उनले इतिहाससँग गोरु बेचेको साइनोसम्म पनि राख्न खोजेको देखिन्न । तर, उनका कथाको एउटा वैश्विक मूल्यको चर्चा गर्नुपर्छ । सो के भने, रुसमा पुरानो व्यवस्थाको उच्छेदन र नयाँ व्यवस्थाको राजतिलक भयो । मानियो । यसमा, पुरानो सामन्यवाद ढलेको कथा छ । नयाँ क्रान्ति उठेको कथा छ । ढल्ने र उठ्नेको कथा छ, र कथा छ शक्तिकै सेरोफेरोमा । तर नि, पुरानो व्यवस्था र नयाँ क्रान्तिको जुधाइमा मिचिएका आम मान्छेको कथा कहाँ छ ? छ रुसको इतिहासमा ? छ कुनै लाल किताबमा ? छ भने पनि, क्रान्तिकारीको कोणबाट छ । अथवा, सामान्तको कोणबाट । यी दुवै कोण तटस्थ होइनन्, हुँदैनन् । तटस्थ कोण चेखभहरूको हो, जसमा यस्ता ठूला ठूला महाआख्यानको बीचमा किचिएका आम मान्छेको इतिहास छ । कथा छ । कसैले रुसमा आम मान्छेको कोणबाट इतिहासको पुनर्लेखन गर्छु भन्नु हो भने पुग्ने ठाउँ इतिहास होइन, साहित्य हो । अँ, साहित्य लेख्ने साहित्यकारमा इतिहासको झुसिलो डकारले हस्तक्षेप गरेको छ वा छैन, त्यो चाहिँ हेर्नु जरुरी छ ।

एउटा द्रष्टव्य जरुरी छ । इतिहासले बेइमान गरिरहेको यस बेला, वैकल्पिक तर विश्वसनीय इतिहासको जग बनाउने साहित्यकार पनि तटस्थ, बलियो र प्रमाणिक हुनु चैँ जरुरी छ । ऊ आफ्नो आग्रह, विचार, जात, वर्ग, लिङ्ग वा क्षेत्रको भासबाट अलि माथि उठेर मन्टो, गिन्सबर्ग वा पिन्चोन बन्न सक्यो कि सकेन हेर्नुपर्ने हुन्छ । नत्र पूर्व लडाकुले लेखेको डायरीजस्तो, अथवा पूर्व सेना अधिकारीले लेखेका संस्मरणजस्तो हुन्छ, जसमा माओवादी द्वन्द्वको इतिहास रागेपाटे रागेपाटे देखिन्छ । वा भनौँ, देखिन सक्छ ।

किन सधैँ पुराना कुरा गर्नु? हाम्रै समयको घेरोमा रहेका दुई दशकलाई हेरौँ न नेपालमा । यी दुई दशक — माओवादी युद्ध । दरबारको पतन । गणतन्त्रको उदय । ठूलै हो उथलपुथल, भलै, केही भएको छैन भान्सामा, करेसा बारीमा । विमानस्थालको अध्यागमन विभागमा । मेचीपुल वारिपारि सुपारीको तस्करी कथामा । छ भने, भनुङ है !

यी दुई दशकका बारेमा इतिहासकै पुस्तकमा के लेखियो, थाहा नाइँ । लेखियो पनि कि, थाहा नाइँ । तर जेजति लेखियो, कि पूर्व लडाकुको कोणबाट लेखियो र रोमान्टिक फेसिनसनबाट ग्रस्त कुरा लेखियो । कि माओवादीको घोर विरोधी केही पत्रकार, सेना अधिकारी अथवा सरकारी मान्छेको कोणबाट लेखियो । यी दुई ‘अति’ हरूको बीचमा अल्झिएका यी दुई दशकको साहित्यले पनि वैकल्पित तर तटस्थ बन्ने सौभाग्य पाएन ।

इतिहासकारिताकै घेरोभित्र रहेर तटस्थ इतिहास लेख्न गाह्रो छ । यो गाह्रो भएको कुरा हेरोडोटसको हत्याबाट पनि बुझिन्छ । हुन त उनले इतिहासै लेखेका हुन् वा होइनन्, थाहा छैन । तर, पोलोपोनिसयन युद्धको आँखो देखा हाल लेखेका हुन् । जे देखे, त्यही लेखे । मारिए ।

यो क्रम इतिहासैभरि देखिएको छ । धेरै इतिहासकारहरू मारिए कालक्रममा । त्यसैले, साहित्यको जलपभित्र साँचो इतिहास लेख्ने उपक्रम समातेका हुनुपर्छ लेखकहरूले । इतिहासकारैले पनि आफ्नो इलममा साहित्यकारको जलप लगाएको हुनुपर्छ । यद्यपि, यता पनि १०० प्रतिशत सुरक्षित रहन्नन् भन्ने कुरा त मकै पर्वबाटै थाहा हुन्छ नि । हुन्न र?

अब यता पनि गाह्रो, उता पनि गाह्रो । सजिलो चाहिँ सुतेर खोआ वा लिटो खानै हुन्छ, किनिदिने मुर्खा भेट्न पाए ।

एउटा कुरा के देखिन्छ भने दरबार, सरकार वा शक्ति केन्द्रको निगाहमा इतिहास लेख्न सकिन्न । यी केन्द्र बाहिर पनि, थोरै लोभ, थोरै डर वा थोरै पाप पालियो भने पनि सकिन्न ।

लेखकहरूबाट सत्य आउन सक्छ भन्ने विश्वास पुरानै हो । यसै पुरानो विचारमै टेकेर देशले, समाजले, सभ्यताले र कतिपय सन्दर्भमा सरकारले पनि लेखकहरूलाई सम्मानको दृष्टिले हेरेको हो । यो सत्य र कविको सम्बन्ध दुईजना पश्चिमी चिन्तकका विचार मननीय लाग्छ । पहिलो प्लोटिनस, जसले भने, सत्य र दैवीय सत्ताबीच सम्बन्धसेतु कसैले स्थापित गर्न सक्न भने त्यो कविले हो । उनले कवि भने पनि लेखकको अर्थमा भनेको हुन् । कुराको ताँदो कहाँ पुगेर मिसिन्छ भने, प्लेटोले सत्यमाथि कतै आदर्श सत्तामा मात्रै छ, सिर्जना त त्यसैको सिको मात्रै हो भनिरहँदा, त्यो उनले कल्पना गरेको आदर्श सत्तासम्म मान्छेको चेतनालाई कसले पु-याउन सक्छ भन्दा, कविले भन्ने बुझाइ थियो प्लोटिनसको । अलि बुझिने भाषामा भन्दा, सत्य बोल्नकै लागि कोही सिर्जनामा अवतरित भएको हुन्छ । यहाँ पुगेरै पनि झुटै बोल्छ भने त, कसको के लाग्छ र? कस्तो भने, भट्टीमा पुगेर पनि ‘दूध खाएर आइयो’ भन्नेलाई सलाम गर्नु कि सहानुभूति दिनु, लाइफ ड्यामेज !

र अर्को भनाइ, मेथ्यू आर्नोल्डको । उनले, हामीले आज व्यवहारमा उतारेको ‘धर्म’ यानि रिलिजनको उनी त्यति बलियो भविष्य देख्दैनन् । धर्मको भविष्य नदेख्नु भनेको, सत्यको पनि भविष्य नदेख्नु हो, प्रकारान्तरमा । किन कि, सत्यं वद, धर्मं चर । उनको भनाइ थियो — भविष्यमा धर्मले आफ्नो ठाउँ गुमाउँदै लगेपछि, त्यसको ठाउँ लिने भनेको कविताले हो । कविता हाम्रो भविष्यको धर्म हो ।

कविता भनेर उनले कवितै भनेका होइनन् । सिर्जना भनेका हुन्, साहित्य भनेका हुन् । फेरि उनले, धर्म माने पूजापद्धति भनेका पनि होइनन् । सत्यको पक्षधरता भनेका हुन् । इतिहासभरि नै लेखक वा कविहरूलाई सत्यवक्तको रूपमा हेरियो । सत्य सङ्कटमा प-यो भने एउटा कविले आफ्ना अन्य पद, मर्यादा, ओहदा, जागिर, उपाधि, पदवी…सबै सबैलाई मिल्क्याएर सत्यको पक्षमा उभिन्छ भन्ने विश्वास हो ।

अब एउटा साहित्यकारले सत्यलाई डग्न दिँदैन । यो एउटा तर्क ।

इतिहास सत्यताको अभिलेख हो । यो अर्को तर्क ।

यी दुई तर्कको गठबन्धन गरौँ न एकचोटि ।

इतिहास सत्यको अधिलेख हो, र सत्यचाहिँ एउटा साहित्यकारले लेख्छ । त्यसो हो भने, वास्तविक इतिहास, अथवा साँचो इतिहास खोज्न, साहित्यकारको सिर्जन–नगरीमा पुग्नु जरुरी छ । त्यसबाहिर चाहिँ, खै के खै के भेटिन्छ । त्यै खै के खै केलाई इतिहास मान्दा मान्दा मान्यताकै मान मर्दन भइसकेको छ । हुर्किंदै गरेको नेपाली पुस्ताले इतिहास पढ्न रुचाइरहेको देखिँदैन । भोलि पनि रुचाउला भन्ने आधार छैन । किन? कारण माथि नै छरपस्ट छ त !

घुमेर कुरो ‘सइन’मा आऔँ फेरि । एउटा सैनिकले, जागिरमा रहँदा रहँदै, सेना र माओवादीको भिडन्तको कथा लेख्छ । न सेनाले, न माओवादीले देशको भले गरे, वा गर्लान् भन्ने निचोड निकाल्छ । दुवैलाई देश छाडेर पलायन गराइदिन्छ । उसलाई न स्पष्टीकरणको डर भयो, न निलम्बनको त्रास, न कोर्ट मार्सलको फिक्री । कसरी लेख्यो होला ‘सइन’ ?

सामान्य कुरा नि ! टोबा टेक सिंह भन्ने ठाउँमा जन्मे हुर्केको पञ्जाबी । सुतेको भारतमा, उठ्यो पाकिस्तानमा । उताकाले यताको हो भन्छन् । यताकाले उताको होस् भन्छन् । ऊ मनले कताको हुनु ? र जमिनले नि ? ऊ बहुलाउनुको विकल्प छैन । इतिहासकारले विभाजनको राजनीतिले लेखे । मन्टोले यसरी बहुलाएका आम मान्छेको फेहरिस्त लेखे । चखेभको ‘चेरीको बगैँचा’मा, बेच्नेले चेरीको बगैँचा बेच्यो । किन्नेले, चेरी काटेर प्लटिङ ग-यो, घरैघर बनायो । तिनै चेरीको रखवाली गरेर बसेको बूढो माली ‘फर्स’ को भविष्य कहाँ छ? उसको नाम आउँछ कि आउँदैन इतिहासमा? ऊ म-यो । इतिहासले लेखेन । किनकि, कुनै शासक वा राजा मरेको होइन । ऊजस्ता हजारौँ मरे तर इतिहासले लेखेन ।

त्यसैले, साहित्यले चिनुवा अचेबे जन्माएको हुनुपर्छ ।

त्यसैले, साहित्यले नारायण ढकाल जन्माएको हुनुपर्छ, जससँग आग्रही हुने आधार हुँदाहुँदै पनि कहिल्यै आग्रही भएनन् । जोखिम मोले, आफैँलाई फन्दामा पारे, तर सत्य बोले, लेखे । लेखिरहेका छन् ।

त्यसैले सल्मान रुसदी जन्मायो । निर्वासन रोजे, तर इतिहासलाई बाङ्गिन दिएनन् नि !

यी र यस्ता नाम थप्दै जान सकिन्छ । यो गृहकार्य पाठकको भयो ।

जब जब इतिहास बाङ्गिन्छ, साहित्यले सोझ्याउँछ । जब जब इतिहासको आँखामा मोतीविन्दु हुन्छ, शल्यक्रिया गर्ने प्रयोगशाला साहित्य हो । अँ, इतिहासलाई कमलपित्त चैँ जन्मैदेखि हुन्छ । साहित्यको उखुरसले उपचार गर्न सकियो भने, ठिकै पनि हुन्छ । सकिएन भने ब्रह्मनालमा भेटिन्छ ।
राम नाम सत्य हो ।