
थप नारी कविताहरूको पठन गर्नुपूर्व पारिजातकृत कविता ‘मानुषी’ को चर्चा गर्नु सान्दर्भिक हुनेछ। ‘मानुषी‘ कविताका केही महत्वपूर्ण अंशहरू तल दिइएका छन्।
मानुषी
तिमी जति गर्न सक्छौ
त्यति म पनि सक्छु
तिमी जत्तिकै पाखुरी बजार्न सक्छु
पसिना बगाउन सक्छु
……………….
तर इतिहासले आज
कहाँ ल्याएर पछार्यो कुन्नि मलाई
तिमी त मभन्दा कोसौं अघि गइसकेछौ ।
तिमी र म एउटै होइनौँ
एक–अर्काका पूरक मात्र हौँ
……………….
म तिम्रो मृतदेहसँग जिउँदै मर्नसक्छु
म तिमीहरूको सामूहिक बलात्कार खपेर बाँच्न पनि सक्छु
……………..
हो, म तिमीबिना आमा बन्न सक्दिनँ
…………
तथापि तिमी त्यो नैसर्गिक मातृत्व बुझ्दैनौ
…………
तिमीलाई स्वास्नीमान्छेले बलात्कार गर्यो ?
तिमीलाई स्वास्नीमान्छेले कलङ्कको टीका लगाइदियो ?
तिमीलाई स्वास्नीमान्छेले कतै बेच्यो ?
……………….
आजको सत्तारुढ तिमी
शताब्दी–शताब्दीअघि
झगडालु, इर्ष्यालु वनमानुष तिमीलाई
माया र सह–अस्तित्वको अँगालोमा बाँधी
आफ्नो ओढारको छानुमुनि भित्र्याएकी थिएँ
जसरी आज तिमी
दाइजोको लावा–लस्करसँग घुम्टोभित्र लुकाई
पशुलाई जस्तै रुवाउँदै भित्र्याउने गर्छ्यौ,
……………
हामी एक–अर्का बिना बाँच्नसक्ने प्राणी होइनौँ
म तिम्रो हात दह्रो गरी समाउँछु
तिमी मलाई तिमी पुगेको ठाउँसम्मै पुऱ्याऊ
त्यहाँ, जहाँ तिमीलाई मैले
सभ्यताको आदिकालमा पुऱ्याइसकेकी थिएँ ।
यस कवितामा प्रकट गरिएको पुरुष-सत्ताविरोधी विचार र विद्रोहको स्वर तात्कालीन समयमा व्यक्त नौलो, क्रान्तिकारी विचार थियो भन्छन् विद्वान समालोचक अभि सुवेदी (प्रतिनिधि नेपाली आधुनिक कविता, ने. प्र. प्र.) । नेपाली कविताले नेपाली नारीको बौद्धिकता , दार्शनिकता र विद्रोह-चेत जस्ता नयाँ विषय पनि पायो । यहाँ नेपाली कविताले एउटा नयाँ शैली पनि पायो । त्यो शैली हो- पुरुषलाई एउटा कोठाभित्र बन्द गरेर उसलाई एकतर्फी प्रश्न गर्नु, र कोठाभित्रै रहेर स्वतन्त्रता र समानता माग्नु । यो बन्द कोठा हो – विवाह । पारिजातकी विदुषी मानुषी पुरुषलाई कोठाभित्रै छोडेर आफ्नो जिन्दगी बाँच्न बाहिर निस्किन्न । यो शैलीमा सत्ता र शक्ति नारीसित हुन्छ र पुरुष चुप लागेर आफूमाथि लगाइएको आरोप सुन्छ । मानुषीले यत्रो बिघ्न आरोप लगाउँदा पनि पुरुष सिङ्गै कविताभरि शान्त छ, प्रतिक्रियाविहीन छ । पुरुषले खुलेर म सुध्रिएँ भन्दैन तर मानुषीलाई ऊ सुध्रियो भन्ने लाग्छ । अनि मानुषी पुरुषसित अर्को सभ्यतामा जान तयार हुन्छे । यो कवितालाई मार्क्सवादी दृष्टिले पठन गर्दा उत्कृष्ट देखिन्छ भने यसैलाई विनिर्माण गरेर पढ्दा तल चर्चा गरे अनुसार नारीविरोधी देखिन्छ।
यो कवितामा स्त्रीलिङ्गी मनुष्य ‘मानुषी’ले पुलिङ्गी मनुष्य पुरुषलाई कोठाभित्र थुनेर पुरुषको सातो जाने गरी प्रश्नहरू गरेकी छे । मानुषी पक्ष हो, पुरुष विपक्ष हो। पाठकहरू वकिल मानुषीको एकतर्फी बहस सुन्छन् । कवितामा मानुषी अत्यन्त विदुषी देखिन्छे किनकि उसले इतिहासदेखि वर्तमानसम्म पुरुषले गरेको अत्याचारको सूची तेर्स्याउँछे, ऊ क्रान्तिकारी पनि हो किनकि उसले पुरुषले गरेको उत्पीडनको कुरा पनि उठाउँछे । उसले पशुतुल्य पुरुषलाई आफ्नो प्रेमले मनुष्य बनाएकी दाबी गर्छे । ऊ जीव-वैज्ञानिक जस्ती पनि छे किनकि ऊ भन्छे – ऊ र पुरुष एकअर्काका पूरक हुन् । ऊ दया, करुणा र क्षमाकी खानी पनि हो किनभने आफ्नो बलात्कार गर्ने र आफूलाई सती बनाउन सक्ने पुरुषलाई क्षमा गरेर ऊसितै साम्यवादी सभ्यतातिर जान तत्पर छे । बलात्कारीलाई क्षमा दिने वैज्ञानिक मानुषीले घोषणा गर्छे कि ऊ र पुरुष अलग्ग रहेर बाँच्न सक्ने प्राणी होइनन् । दार्शनिक, इतिहासविद्, वैज्ञानिक, ज्ञानी, वकिल, विद्रोही मानुषी अन्त्यमा बलात्कारी पुरुषको हात दह्रो गरी समाएर साम्यवादमा जाने प्रस्ताव गर्छे । कविताले आफ्नो सम्पूर्ण ओज यहीँ गुमाउँछ । कोठाभित्र पुरुषलाई बन्द गरेर उसको सातो लिने पारिजातको यो शैली आजपर्यन्त नेपाली नारी कविहरूले उपयोग गरिरहेका छन् ।
कोठाभित्र थुनिएर समाधान खोज्नु पर्छ भन्ने रहस्यमय-ज्ञान मानुषीले कसरी प्राप्त गरिन्, स्पष्ट छैन । पुरुषलाई र्याखर्याख्ती पार्न सक्ने, सत्ता र शक्ति आफ्नो हातमा लिएकी, स्वतन्त्रता र समानता माग गर्ने दार्शनिक, इतिहासविद्, वैज्ञानिक, ज्ञानी, वकिल, विद्रोही मानुषी पुरुषलाई कोठाभित्रै छोडेर आफू किन बाहिर नगएकी हो, स्पष्ट छैन । दुईवटी नारीहरू समलैङ्गिक सम्बन्ध बनाएर जिन्दगी बाँच्न सक्ने हुँदाहुँदै नारी र पुरुष एकअर्काका पूरक हुन् भन्छिन् जीव-वैज्ञानिक मानुषी ! वनमान्छे पुरुषलाई आफ्नो प्रेमले मनुष्य बनाउन सक्ने अदभुत क्षमताकी मानव अधिकारवादी वकिल मानुषी बलत्कारीविरुद्ध न्याय प्राप्त नगरी उसकै हात समातेर साम्यवादतिर जान तम्तयार हुन्छे । पुरुषले सिङ्गै कवितामा ‘म सुध्रिएँ वा सुध्रिन्छु’ एकपल्ट पनि भन्दैन । तर दार्शनिक, वकिल मानुषीलाई साम्यवादतिर जान हतार भएकाले उसले पुरुषको मनको कुरा पनि गोप्य तरिकाले बुझेर पुरुषलाई क्षमा गरेकी जस्ती छ । वैज्ञानिक मानुषी पुरुषको हात नसमातिकन सँगसँगै साम्यवादतिरको यात्रामा किन जान नसक्ने हो, प्रष्ट छैन । बलात्कृत मानुषी न्याय प्राप्त नगरिकन साम्यवादतिर जान किन हतारिएकी हो, स्पष्ट छैन । जुन वनमान्छेलाई उसले मान्छे बनाई त्यसैसित सम्झौता गर्नुको हतारोलाई बुझ्न सकिन्न । न्याय माग्दैमा साम्यवादतिर जाने बस छुट्ने पनि होइन । न्यायका कुराहरू उठाउनासाथ वर्गीय लडाइँ ओझेलमा पनि पर्दैन होला । साम्यवादमा पुग्नुपूर्व बुर्जुवा न्यायप्रणालीको साटो कुन न्यायप्रणालीलाई विश्वास गर्ने हो, प्रष्ट छैन । बुद्ध, मार्क्स, गान्धीहरूका प्रवचन सुनेर मन नबदल्ने नेपाली पुरुषले मानुषीको कवितात्मक बहसपैरवी सुनेर मन बदल्छ भन्ने विश्वास उसमा कहाँबाट आयो भन्ने पनि जानकारी पाइन्न । माथिका कुनै प्रश्नहरूका पनि वैज्ञानिक उत्तर यो कविताबाट पाइन्न । यस्तो प्रतित हुन्छ, मानुषीलाई विश्वास गर्न मन लाग्यो, त्यसैले त्यो सत्य हो । उत्तरआधुनिक विमर्शहरूहरूलाई (नारी केन्द्री, तेश्रो लिङ्गी केन्द्री, पूँजीवादी न्यायप्रणाली, इतिहासको अन्त्य) चतुरतापूर्वक अस्वीकार गरेर मानुषी साम्यवादको यात्रामा निस्कन व्यग्र छे । रोचक के छ भने पारिजातले यो कविता लेख्दासम्म नेपाली साहित्यमा भित्रिसकेका अस्तित्ववाददेखि अराजकतावाद, विसंगतिवाद, विनिर्माणवादसम्मका कुनै पाश्चात्य दर्शन र चिन्तनहरूलाई कुशलतापूर्वक यो कवितामा स्थान दिइएको छैन । विद्रोही विचारहरू व्यक्त गर्नु यो कविताको उत्कृष्ट पक्ष हो भने तिनै विचारहरू भित्र अन्तर्निहित विरोधाभाषहरूले यसलाई कमजोर पनि बनाएको छ । ‘मानुषी’ रचनाकालको समयमा तात्कालीन नेपाली साहित्य प्रगतिवादी र गैरप्रगतिवादी खेमामा विभक्त भइसकेको थियो र त्यसको प्रभाव यो कवितामा पनि परेको देखिन्छ ।
डा. एटमद्वारा सम्पादित उपरोक्त ग्रन्थका निम्न नारी कविहरू सर्वश्री भवानी क्षेत्री, प्रसिद्धा शर्मा, गौरी दाहाल, सरिता तिवारी, मञ्जु काँचुली, प्रतिसरा सायमीका कविताहरू पढेपछि जानकारी पाइन्छ कि मानुषीले न्याय प्राप्त नगरी जुन पुरुषलाई सुध्रियो भनेकी थिई र क्षमा गरी त्यो पुरुष त अझैसम्म सुध्रिएको छैन । सत्ता र शक्ति आफ्नो हातमा लिएकी मानुषी नसुध्रिएको पुरुषलाई कोठाभित्र छोडेर अझै बाहिर निस्केकी छैन । नेपाली नारीहरूको बहुमूल्य समय अझै पनि कोठाबाट निस्केर रचनात्मक काम गर्नु भन्दा नसुध्रिने अडान लिएको पुरुषको अगाडि बौद्धिक, दार्शनिक, विद्रोही देखिनमै व्यतित भइरहेको छ । नारी कविका मानुषीहरूलाई अझैसम्म के विश्वास रहेको देखिन्छ भने कोठाभन्दा बाहिर निस्केर जिन्दगी बाँच्नुभन्दा उत्तम कोठाभित्रै रहेर पुरुषलाई एकतर्फी आरोप लगाउँदा बेस हुन्छ । कोठाबाट खुरुखुरु बाहिर निस्केर कविता लेख्नु श्रेष्ठत्तर कार्य हो भन्ने तथ्य मानुषीहरूले आजपर्यन्त नबुझेको देखिन्छ । उनीहरूलाई पारिजातझैँ के विश्वास छ भने बुद्ध, मार्क्स र गान्धीको विचारबाट परिवर्तन हुन नसकेको नेपाली पुरुष उनीहरूका कविताबाट परिवर्तन हुनेछ । स्वतन्त्रताकामी मानुषीहरूले सत्ता र शक्ति आफ्नो हातमा हुँदा त्यसको उपभोग गरेर स्वतन्त्र किन हुन नचाहेका हुन् भन्ने जान्न सकिन्न । नेपाली नारी कविताहरूमा यो रोचक, रहस्यमय र खोजको विषय हो ।
भवानी क्षेत्री
दुबो हुँ म !
खुर्केर फ्याँक चाहे चाहे उखेलेर मिल्काऊ पाइतालामुनि पिल्स्याऊ चाहे चाहे निर्ममतापूर्वक निमोठ म गन्धे झार होइन, म मर्ने झार होइन गर्भमै तुहाऊ चाहे चाहे लिङ्ग छुट्याई गर्भभित्र कुहाऊ दाइजोको बहानामा मार चाहे चाहे सल्काऊ स्टोब पड्काएर तर म मर्ने झार होइन
———- ———- |
प्रसिद्धा शर्मा
सावधान पुरुष !
ओ खसम ! मलाई सुत्न देऊ एक धर्का सिन्दुरमा अल्झिएर सयबाट शून्यमा झरेको बिर्सेकी छैन मैले ब्युँझिए झिएँ भने तिम्रो पैतृक विरासत हल्लाइदिन सक्छु ! ————– ओ पतिदेव ! भगवान् मानेको छु – समाजले सिकाए जसरी भगवान्, जसको नाममा अरुले शासन गर्छन् भगवान्, जसको डर देखाएर अरुहरू कज्याउन खोज्छन् तह लागिदिएकी छु। ————- |
गौरी दाहाल
मेरो सपना
अपहरित हुने गरेको छ दिनदहाडै स्कुले नानीहरूझैँ कक्षाकोठाबाटै मेरो सपना !
सपना देख्नु हो मेरो नैसर्गिक अधिकार चोर, कति चोर्छौ ? खोस, कति खोस्छौ ? म सपना देख्न छाड्ने छैन मेरा खुल्ला आँखाले देखेका सपना दिउँसै खोस्नेहरू ! तिमी थाकौला तर म थाक्ने छैन ! |
सरिता तिवारी
के तिमीले मलाई आविष्कार गर्यौ ? ——————– ए, यो हावा कसको हो ? यो माटो र पानी कसको हो ? कसका हुन् इतिहास, धर्म र कला ? कसका हुन् विचार, शब्द र लय ? को हो सृष्टिको उत्तराधिकारी ? को हुँ म ? केवल तिमीले प्रदर्शनीमा राखेको निर्जीव, निर्विवेक, निस्पृह पुतली ?
—————————– |
मञ्जु काँचुली
रङ्गमंचको पछाडि–अगाडि
म तिमीले चटकमा प्रयोग गरिएकी एक नर्तकी जुन कुरा तिमीलाई मात्र थाहा छ कसरी तिमीले मलाई एक दिन हुरीबतासको डोरीमा हेलिदियौ आफू पर्दाभित्र पस्यौ र ढोका बन्द गर्यौ म निसास्सिएँ अनि भुइँमा लडें हुरीकै डोरीमा लपेटिएँ आँधीकै बाँधमा बेरिएँ विस्तार विस्तार हुरीकै डोरीमा आड समातें आँधीको बाँधमा टेकेर निसास्सिएको मनलाई संयमले बाँधें पहिले डोरीमा टेकें त्यसपछि ताती गरेँ अनि हिँडे र दौडें —————– |
प्रतिसरा सायमी
जून , तिमी को हौ ?
जून तिमी को हौ ? मनमा के कुरा छ कति यति मौन छौ तिमी ? —————
मात्र टुलुटुलु हेरेर बस्ने के तिमी पनि मजस्तै हौ त ? मनको तहतहभित्र कति घाउ लुकाएर मझैँ अव्यक्त, निशब्द ! चुँक्क केही भन्न नसक्नेहरू ! सहनु आज धर्म होइन भनेर आकाश त्यस्तरी थर्किंदा पनि तिमीले केही सुनिनौ ? बहिरी त छैनौ तिमी मजस्तै कान भएर पनि ? लाटी त हैनौ तिमी मजस्तै मुख भएर पनि ? ——————— |
यो आलेखको पहिलो भागमा भनेझैँ यो शैलीमा कविता लेख्न नसकिने वा नमिल्ने होइन । तर यहाँ कोठाबाहिर पनि जिन्दगी छ भन्ने बिर्संदा कविताहरू एकनासको हुन लागेको छ । अन्तर्वस्तु हेर्दा माथिका कविताहरूमा प्रतिसरा सायमीबाहेकका पाँचवटै कविताहरू ‘मानुषी’ को विस्तारित अंश जस्ता लाग्छन् । कोठाबाट ननिस्केर कविता लेख्ने शैली प्रदान गरेकी पारिजातको एकालापको शैलीमा कविता लेख्दा मानुषीभन्दा उग्र प्रसिद्धा शर्माका नारी भएकी छे । यी नारीहरूका हालत त्यति बिग्रिसकेको छैन । सबैभन्दा खराब स्थितिमा प्रतिसरा सायमीकी नारी छे । सायमीकी नारी पुरुषसित यति दिक्क वाक्क भइसकेकी छे कि ऊ झ्यालबाट बाहिर हेर्दै चन्द्रमासित आफ्नो मनका कुरा राख्छे । धन्न त्यो कोठामा झ्याल रहेछ, र चन्द्रमा पनि देखियो ! कोठाबाट ननिस्केर अब पनि यही शैलीमा नारी कविता लेखियो भने नयाँ नारी कविले कि त सिरानी तलबाट पेस्तोल निकाल्दै पुरुषलाई भन्छे, ‘अब कि तलाईं मार्ने हो नभए म आफैँ मर्ने हो’? वा तीन तल्ला माथिको कोठाको झ्यालबाट हाम फाल्छु भन्न बेर छैन ।
नारीहरूका निजी भोगाइहरू कविताहरूमा आउनु स्वागतयोग्य हो । यसमा विमति राख्नुपर्ने केही छैन । जोखिम के भयो भने सबै कविहरूले एकै तरिकाले सोच्दा नवीनता र मौलिकता प्रभावित हुन सक्ने भयो । फ्रिडाले चित्रित गरेकी ‘घाइते मृग’ जस्तै हुन् नेपाली नारीहरू । तर घाइते मृगहरूलाई जतिसुकै पीडा भए पनि प्रत्येक कविताले त नवीनता माग्छ नै । नेपाली कविताबाट स्पष्ट देखिने गरी नवीनता र मौलिकता हराउन थालिसकेको चर्चा चलेको धेरै भइसकेको छ । यसो भन्नेमा मार्क्सवादी समालोचकदेखि उत्तरआधुनिक समालोचकसम्म छन् । विद्वान समालोचक डा. लक्ष्मणप्रसाद गौतम आफ्नो लेख “समकालीन नेपाली कविताको शिल्प” मा भन्छन्- ‘ …..हरेक कविको कविता पस्कने तरिका वा शिल्प आफ्नै हुन्छ र त्यो प्रत्येकको फरक हुन्छ, तथापि कतिपय समकालीन नेपाली कविहरूका कवितामा शिल्पगत साम्य पनि देखिन्छ । नाम छोपेर पढ्ने हो भने कतिपय कविहरूका कविता अन्तर्वस्तुका दृष्टिले मात्र होइन शिल्पका दृष्टिले पनि उस्तैउस्तै लाग्छन् र कतिपय कविहरूले आफ्ना कवितामा शिल्पगत निजत्व दिन सकेका छैनन, यो समकालीन नेपाली कविताको सीमा हो ।’ (समकालीन नेपाली कविताको शिल्प २०७९, सम्पादक डा हेमनाथ पौडेल, डा अमर गिरी ) ।
तसर्थ नेपाली नारी कविहरूले मानुषीको शैलीको विकल्प खोज्नु अनिवार्य भएको छ ।
फ्रिडाको वैवाहिक जीवन विश्वप्रसिद्ध चित्रकारहरू मध्येको सबैभन्दा धेरै उथलपुथलहरूले भरिएको विवाह मानिन्छ । तिनै फ्रिडाले भने पुरुषको सातो लिने गरी कुनै कविता लेखेकी छैनन् । उनले आफ्नो विवाहको बारेमा लेखेकी निम्न कविताले आफ्नो काव्य-धर्म छोडेको छैन ।
मेरो जीवनमा दुईवटा ठूला दुर्घटनाहरू घटे ।
एउटा दुर्घटना बस थियो भने
अर्को डिएगो ।
डिएगो चाहिं
सबैभन्दा भयानक थियो ।
फ्रिडाले आफ्नो पतिलाई भयानक दुर्घटनाको रूपक दिइन् र छोटो कविता लेखिन् । यो रूपक नै यति सशक्त छ कि उनले आफ्नो वैवाहिक जीवनको दुःख व्यक्त गर्न लामो वर्णन गर्नु परेन । नेपाली नारी कविहरू भने वर्णन गर्न थाल्छन् र वाच्यार्थले गर्दा नेपाली कविताहरू सशक्त हुन सकेनन् । फ्रिडाले सन् १९४० को दशको मध्यतिरबाट दैनिकी लेख्न थालेकी थिइन् । यो समयसम्म उनको र डिएगोको वैधानिक रूपमा सम्बन्धविच्छेद भएर उनीहरूको पुनः विवाह पनि भइसकेको थियो । माथिको उनको कविता पनि आफ्नो वैवाहिक सम्बन्ध बिग्रेपछि लेखेकी हुन् । उनका कविताहरू भनिने अधिकांश गद्यहरू यसैपछि लेखिएका हुन् । उनको वैवाहिक जीवन सुखद नभए पनि उनी व्यक्तिगत जीवनमा निराश भइनन् । उनका कविताहरू पुरुष-सत्ताप्रतिको आक्रोश, क्रोध, असन्तोषले भरिएको छैनन् न त जीवनका दुःखहरूले भरिएका छन् । फ्रिडा पुरुषसित वादविवाद गरेर पुरुषको ‘मन परिवर्तन’ गराउने चेष्टा नगरेर खुरुखुरु आफ्नो जिन्दगी बाँच्न कोठाबाट निस्किन्छे । नेपाली नारीहरू भने पुरुष-मन एकदिन परिवर्तन हुने आशामा उसलाई र्याखर्याख्ती पार्छन्, कठोर प्रश्नहरू गर्छन्, आरोप लगाउँछन्, दुष्ट भन्छन्, अत्याचारी भन्छन्, असभ्य भन्छन् । चुनौती दिन्छन्, समानता र अधिकारको कुरा उठाउँछन्, परम्पराविरुद्ध उभिन्छन् । ब्युँझे भने पुरुषको पैतृकसत्ता हल्लाइदिने हाँक दिन्छन् (मानौं यी कविताहरू निदाएर लेखेका हुन्) । नेपाली नारीहरूले पुरुषलाई कोठाभित्र बन्द गरेर अश्लिल गाली गर्नबाहेक भन्न शायदै केही बाँकी राखेका छन् । तर पुरुषसित वादविवाद गर्न छोडेर, उसलाई कोठामा छोडेर बाहिर निस्केर कविता लेख्न भने आँट गर्न सक्दैनन् । नेपाली नारीहरूलाई के अटुट विश्वास छ भने उनीहरूले यति गरेपछि पुरुष-मन बदलिन्छ । पारिजात झैँ सबै यही अन्धविश्वासमा छन् कि कविता लेखेर पुरुष मन बदलिन्छ । बदलिएन भने के गर्ने वा बदलिएको हेर्नलाई कहिलेसम पर्खिनु पर्ने हो भन्ने प्रश्नको जवाफ नेपाली नारीहरूसित छैन ।
समकालीन नेपाली नारी कविहरूले कविता लेखिरहेको समयको नेपाल र फ्रिडाकालीन मेक्सिकोको सामाजिक आर्थिक स्थितिमा समानता रहेकोले तिनीहरूका कविताहरूमा पनि प्रवृतिगत समानता देखिनुपर्ने हो । यस्तो नहुनुमा भाग-१ मा भनिए झैँ कारणहरू (क देखि च) त हुन सक्छन् नै । तीबाहेक यसो हुनुका थप सम्भावित कारणहरू निम्न हुन सक्छन् ।
(छ) यथार्थवादको सीमाहरू
कम्युनिष्ट फ्रिडाले आफ्ना पतिलाई भयानक दुर्घटना भनेर कविता लेखिन् तर त्यस कवितामा पति र पुरुषप्रधान समाजसित थप केही माग गरिनन् । उनले मार्क्सवादको वैज्ञानिक प्रयोग गर्दै पुरुष-सत्तालाई धम्क्याइनन्, चेतावनी दिइनन्, पाठ पढाइनन्, अन्यायको कुरा झिकिनन् । उनले नारी र उत्पिडीत-शोषितहरूको मुक्तिको कुरा झिकिनन् । उनले पतिलाई भयानक दुर्घटना भनेर यथार्थको कलात्मक चित्रण गरिन् भने नेपाली कविहरू वर्णनात्मक हुँदा यथार्थको स्थूल र भद्दा तस्वीर तयार भयो । यहाँ कवि विजय मल्लको तल दिइएको व्यङ्गमिश्रित कविता ‘यथार्थको खोज‘लाई सम्झनु सान्दर्भिक होला ।
‘यथार्थ’ लाई समात्न म भौंतारिरहें ।
बिहानको घाममा,
दिउँसोको चर्को गर्मीमा
अनि साँझको शीतलतामा ।
रूखको हाँगामा बसेकी एउटी चरीले
सुसेल्दै भनी – “यथार्थ भेट्टायौ त तिमीले ?”
अनि उसले भनी- “एक दिन बित्यो ।”
अनि फेरि दोहऱ्याई- “एक रात ढल्यो ।”
म यथार्थ खोज्न जताततै भौंतारिरहें ।
यथार्थ (सत्य) लाई खोजी रहेका मल्लले तात्कालीन नेपाली समाजलाई बुझेका थिएनन् र उनले भौंतारिरहनु पर्यो भन्न नमिल्ला । उनीसित नेकपाली समाजका बेथितिका अथाह विवरणहरू नै थिए । तर उनले ती विवरणहरूलाई मात्र पत्याएनन् । नेपाली नारी कविहरू यहीं चुकेका छन् । जे देखिन्छ त्यसलाई साहित्यमा त्यसरी नै देखाउँदा साहित्य हुन्छ कि अरुथोक हुन्छ भन्नेमा नारी कविहरू सचेत देखिन्नन् । भाग-१ मा भनिए अनुसार नेपाली सामाजिक आर्थिक विकासका सूचकाङ्कहरू उपयोग गरिएर नारी कविताहरू लेखिएका भए नेपाली कविताहरू पनि सम्भवतः फरक अन्तरवस्तु र शैलीका हुन्थे । तर त्यसो हुन सकेन । पुरुष-सत्ता र समाज परिवर्तन हुनुपर्ने अपेक्षा गरिएर लेखिएका माथिका नारी कविताहरू यथार्थवादी साहित्यमाथि लाग्ने गरेको कलाको अवमुल्यनको आरोपबाट मुक्त हुन सकेका छैनन् । जे देखिन्छ त्यही सत्य होइन भन्ने कुरा त नेपाली नारीहरूभन्दा खराब स्थितिमा मेक्सिकाली नारीहरू रहँदारहँदै पनि फ्रिडाले लेखेकी कविताहरूबाट पनि ज्ञात हुन्छ । उनले यथार्थको चित्रणको नाममा कवितालाई भद्दा र स्थूल हुनबाट जोगाइन् ।
यथार्थवादी हुनु भनेको वैज्ञानिक हुनु हो । यथार्थवादीले तयार गरेको बस्तुको छायाचित्र वस्तुको वैज्ञानिक चित्रण हुन पुग्छ । यथार्थवादले समाजको वस्तुगत र वैज्ञानिक चित्रणमा जोड दिन्छ र कलाको नाममा कवि र लेखकहरूलाई आफ्नो व्यक्तिगत धारणाहरू र सोचाइहरूलाई नियन्त्रण गर्ने सल्लाह दिन्छ । युरोपमा औद्योगिकीकरणको क्रममा तयार भएको श्रमिक वर्गको कष्टपूर्ण जीवनलाई तात्कालीन स्वच्छन्दतावादी लेखक कविहरूले आफ्नो लेखनको विषय नबनाएपछि त्यसको विरोधमा यथार्थवादी धाराको विकास भएको हो । यो दार्शनिक र साहित्यिक धारालाई टेकेर युरोपमा उत्कृष्ट कृतिहरूको सिर्जना भएका छन् । तर वैज्ञानिक चित्रण गर्ने अडानले गर्दा यसमा टेकेर लेखिएको पछिल्ला साहित्यिक कृतिहरू भने कला-शून्य र कल्पना-शून्य हुन थाले र यसलाई प्रतिस्थापन गर्न प्रतीकवादी धारको विकास भयो । विद्वान समालोचक डा. दयाराम श्रेष्ठ आफ्नो पुस्तक “यथार्थवाद र नेपाली कथा–परम्परामा आधुनिक कालको प्रणयन,” मा यथार्थवादको सीमाबारे भन्छन् “… यथार्थवादले गुणभन्दा परिमाणलाई महत्त्व दिन्छ । वस्तुको विस्तृत परिमाणहरूबाट वशीभुत भएर यथार्थवादी स्रष्टाहरू सत्यप्रतिको इमानदारी व्यक्त गर्न स्थलरूप (Topography) को सूक्ष्म विवरण दिन र ऐतिहासिक एवम् सामाजिक प्रलेख (Documents) र आँकडाहरू दिएर आफ्ना कृतिहरूलाई बढीभन्दा बढी इतिहास वा समाजशास्त्र बनाउने काम गर्दछन् । यसले गर्दा यथार्थवादी रचनामा कलागत अवमुल्यनको स्थिति उत्पन्न गरेको छ । पर्यटकहरूका लागि चाहिने ‘निर्देशन पुस्तिका’ (Guide Book) जस्ता सिर्जनाहरूमा तल्लीन भएर स्रष्टा भनाउँदाहरू साहित्यका नाममा गैरसाहित्यिक सामग्रीहरू उत्पादन गरिरहेका हुन्छन् ।”
समाजलाई बदल्नु पर्छ भन्ने मान्यताले कविता लेख्दा सामाजिक समस्याहरूको वर्णन र व्याख्या नगरी हुन्न । ती सामाजिक समस्याहरूका कारणहरू नखोतली हुन्न । कविहरूले यहाँ कमजोर सामाजिक-समूहको पक्ष नलिई हुन्न । कवितालाई चुनौती यहीँबाट शुरु हुन्छ । फलतः कविता सामाजिक न्याय प्राप्त गर्ने अस्त्र बन्न पुग्छ र कलात्मकता प्राथमिकतामा पर्दैन । मार्क्सवादी समालोचक डा. ऋषिराज बराल पनि नेपाली कविताबाट कलात्मकता विलुप्त हुन लागेको स्वीकार्दछन् । माथि उल्लेखित कविताहरू डा. श्रेष्ठले भने झैँ पर्यटकहरूका लागी आवश्यक निर्देशन पुस्तिका नै भइसकेका छैनन् । तर नेपाली नारी कविहरूले निजी नवीन शैलीको खोजी नगरेमा दुर्घटना घट्ने सम्भावना भने छ ।
नेपाली नारी कविहरूले यथार्थवादको सीमाहरू बारे पर्याप्त पूर्व-जानकारी लिनुपर्ने थियो । हुन त दर्शन, सिद्धान्त र वाद पढेर कविता लेख्ने होइन तर कविलाई तिनका जानकारी छन् भने आफ्ना कवितालाई यथार्थवादको सीमा-भञ्जन गरेर बाहिर निकाल्न सक्थे । नेपाली साहित्यमा पश्चिमी साहित्यको सबै वाद र दर्शनहरू भित्रिसकेकाले नारी कविहरूले ती सबै वाद र दर्शनहरूका उचित संयोजन र सम्मिलन गराएर आफ्ना कवितामा नवीनता आविष्कार गर्न सक्नु पर्थ्यो । यथार्थवादलाई वैज्ञानिक दर्शन ठानेर पनि नेपाली नारी कविताहरू लेखिएका हुन सक्छन् । तर विज्ञान पनि एक किसिमको अन्धविश्वास हो भन्ने बुझेमा कविहरूले आफ्नो कवितामा कलालाई जोगाइराख्न सक्नेछन् ।
थप नारी कविका कविताहरूको पठन तेश्रो भागमा गरिने छ।
क्रमशः
…
थप सन्दर्भ सामाग्री
नेपाल प्रज्ञा-प्रतिष्ठान (वि.सं. २०६७), प्रतिनिधि नेपाली आधुनिक कविता, प्र. सं.; नेपाल प्रज्ञा-प्रतिष्ठान
डा. गोपाल प्रसाद भण्डारी (वि.सं. २०६१), समालोचनाका केही बान्कीहरू, प्र सं; साझा प्रकाशन
ज्ञानु अधिकारी (वि.सं. २०७४), साइबर सिद्धान्त, प्रयोग र अन्य समालोचना; साझा प्रकाशन
डा. अम्बिका अर्याल, (वि.सं. २०७९), नारीवाद र नारीश्रष्टाका उपन्यास, प्र. सं.; पैरवी बुक हाउस प्रालि
डा. दयाराम श्रेष्ठ, (वि.सं. २०७८), यथार्थवाद र नेपाली कथा–परम्परामा आधुनिक कालको प्रणयन, प्र.सं., शिखा बुक्स
विजय मल्ल (वि.सं. २०६३), विजय मल्लका कविताहरू, चौ सं, साझा प्रकाशन
डा. केशव प्रसाद उपाध्याय, ( वि.सं. २०६२) , केही रचना: केही विवेचना, दो. सं., साझा प्रकाशन
अभि सुवेदी , (वि.सं. २०५१); सिर्जना र मूल्याङ्कन, दो सं, साझा प्रकाशन
थप वेबपेजहरू
https://www.vernellestudio.com/post/www-vernellestudio-com-blog-frida-kahlo-accidents-and-identity
https://www.vernellestudio.com/post/www-vernellestudio-com-blog-frida-kahlo-accidents-and-identity
https://www.vernellestudio.com/post/www-vernellestudio-com-blog-frida-kahlo-accidents-and-identity



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

कविले नेपाली कविताका नकारात्मक प्रवृत्तिहरू स्वीकारे तर पाठकले परिष्कृत सङ्ग्रह पढ्न पाएनन्

‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन’मा नयाँ प्रयोग र भिन्न स्वाद
