सन् १९०७ मा मेक्सिको सिटी नजिकैको एक गाउँमा जन्मेर १९५४ मा मरेकी मेक्सिकन चित्रकार फ्रिडा कालौ (Frida Kahlo) लाई आफ्नो चित्रहरूमा स्थानीय परम्परागत शैलीका चित्रहरूबाट मेक्सिकन पहिचान, उत्तरउपनिवेशबाद, लिङ्ग, वर्ग र मेक्सिकन समाजका जातीय प्रश्नहरू अभिव्यक्त गर्ने बीसौं शताब्दीको एक महत्त्वपूर्ण स्त्रीवादीको रुपमा चिनिन्छ। परम्परागत एज्टेक गहनाहरूमा सजिन मन पराउने फ्रिडाको व्यक्तिगत जीवन भने डरलाग्दो दुःस्वप्न जस्तो थियो।

उनी मुख्यतः चित्रकार थिइन् । उनले कविता पनि लेख्थिन् भन्ने कुरा संसारले उनको मृत्युपछि उनको डायरीबाट मात्र थाहा पायो । उनले लेखेका कविताहरू कुनै पत्रिकामा वा कुनै संग्रहका रुपमा प्रकाशित छैन । न त उनले यी कविताहरूका कुनै शीर्षकहरू नै राखेकी छिन् । उनका भावनाहरू अभिव्यक्त यी कविताहरूले उनको वर्णनातीत दुःख त व्यक्त गर्छन् नै तीभन्दा बढी आशा र जिन्दगी प्रतिको मोह व्यक्त गर्छन् । उनले कवितामा प्रयोग गरेकी बिम्बहरू बिर्सन सकिन्न । अतियथार्थवादी लाग्ने उनका कविताहरूले जो सुकैलाई पनि हतप्रभ पार्ने क्षमता राख्दछ।

फ्रिडाको जीवन नबुझी उनका कविताहरू नबुझिने हुँदा यहाँ उनको संक्षिप्त जीवनी र कविता सँगसँगै दिइएको छ। सबै कविताहरू अंग्रेजीबाट भावानुवाद गरिएका हुन् ।

(१) अभागी फ्रिडा
उनी ६ वर्षकी हुँदा उनको दायाँ खुट्टामा पक्षघात भयो जसले गर्दा त्यो खुट्टा छोटो र पातलो भयो । यो शारीरिक स्थितिले गर्दा प्राथमिक विद्यालयमा उनी हास्यको पात्र बनिन् र अन्तमा उनले विद्यालय नै छोड्नु पर्यो। केही वर्ष विद्यालय नगइकन घरबाटै अध्ययन गरिन् । पछि उनी अर्को विद्यालयमा भर्ना भइन् । तर त्यहाँ टिक्न सकिनन् किनकि शिक्षकहरुको अवज्ञा गरेको आरोपमा उनीलाई विद्यालयबाट निकालियो। उनले अर्को विद्यालयमा भर्ना त पाइन् तर त्यहाँ एउटी शिक्षिकाबाट यौन दुर्व्यवहारको शिकार भएपछि त्यो विद्यालय पनि छोड्नु पर्यो।

जसोतसो विद्यालय शिक्षा पूरा गरेर उनी चिकित्साशास्त्रको पढाइ गरिरहेकी थिइन्। अठार वर्षको उमेरमा एक बस दुर्घटनामा उनी गम्भीररूपमा घाइते भइन् । यो दुर्घटनाले उनले चिकित्साशास्त्रको अध्ययन परित्याग गर्नु पर्यो र यो दुर्घटनाले उनको बाँकी जीवनको खाका पनि तयार पारिदियो। यसपछि उनी चित्रकलातिर पूर्ण सपर्पित भइन् । यसैक्रममा उनको भेट उनीभन्दा एक्काइस वर्ष जेठो डिएगो रिभेरा (Diego Rivera) सित भयो जोसित उनी प्रेममा परिन् र पछि उनीहरूको विवाह पनि भयो । फ्रिडाकी आमा यो विवाहको विपक्षमा थिइन् तर छोरीको महँगो औषधी उपचार खर्च, खराब स्वास्थ र कमजोर आर्थिक स्थितिको कारणले गर्दा उनको बुवाले भने यो विवाहलाई स्वीकार गरे।

विवाह पश्चात फ्रिडा र डिएगो मेक्सिकोको ग्रामीण क्षेत्रतिर बस्न थाले र फ़्रिडाले त्यहीं चित्रहरू बनाउन थालिन् । फ़्रिडाले विवाहपश्चात अमेरिकाका विभिन्न शहरमा आफ्नो निजी चित्रकला प्रदर्शनी गरिन् । यसैबीच फ़्रिडा र डिएगोको वैवाहिक सम्बन्ध बिग्रन थाल्यो । डिएगोले अन्य महिलाहरूसित विवाहेत्तर सम्बन्ध राख्न थालेका थिए । फ़्रिडाको शारीरिक स्थिति यति कमजोर थियो कि उनले दुई पटक गर्भपतन गराउनु पर्यो । डिएगोले नचाहे पनि फ़्रिडाको जिद्दीले गर्दा दुवै जना अमेरिकाबाट मेक्सिको फर्के । तर फ़्रिडाको भाग्यमा अरु नै केही लेखेको थियो । डिएगोले अब फ़्रिडाकी कान्छी बहिनीसित विवाहेत्तर सम्बन्ध राख्न थाले । यो घटनाले दुखित फ़्रिडा डिएगोसित छुट्टिएर एक्लै बस्न थालिन् र कानुनीरुपमा पारपाचुके गर्ने योजना बनाउन थालिन् । फ़्रिडाको पनि एक अमेरिकी कलाकारसित विवाहेत्तर सम्बन्ध रहन गएको थियो । यसैबीच उनकी बहिनी दुई सन्तानकी आमा भइसकेकी थिइन् ।

औपचारिक रुपमा वैवाहिक सम्बन्धको अन्त्यपछि फ़्रिडाले केही उत्कृष्ट चित्रहरू बनाइन्। यही समयमा उनले कविताहरु पनि लेखिन्। कमजोर शारीरिक स्थिति र एक्लोपनाले गर्दा उनमा मद्यपानको लत बढ्दै गयो। फ़्रिडाले अब समलिङ्गी सम्बन्धहरू पनि बनाएकी थिइन्। आफ्नो पूर्वपति र बहिनीसितका मतभेदहरु साम्य पारेर फ़्रिडा पुनः आफ्नो पतिसित बस्न थालिन् । बाहिरबाट त दुवै जना सँगै बस्थे तर दुवैका विवाहेत्तर सम्बन्धहरू कायमै थिए र दुवै एक अर्काप्रति इमानदार हुन सकेनन् । फ़्रिडाको विवाहेत्तर सम्बन्ध निर्वासित रुसी कम्युनिष्ट नेता लियो ट्राटस्की ( Leon Trotsky ) सित पनि रहेको थियो । सन् १९३९ मा औपचारिक रुपमा फ़्रिडा र डिएगोको सम्बन्ध विच्छेद भयो।

फ़्रिडा र डिएगोले सम्बन्धविच्छेद पछि पुनः एकआपसमा विवाह गरेका थिए । तर यसपछि पनि उनीहरूको आनीबानीमा सुधार आएन । दुवैले विवाहेत्तर सम्बन्धहरू कायमै राखे।

डिएगोसितको विवाहपश्चात फ्रिडाले प्रस्तुत कविता लेखेकी थिइन्। अतियथार्थवादी शैलीको प्रस्तुत कवितामा प्रयुक्त बिम्ब र वाक्यावलीहरूले जीवनप्रतिको मोह र आशालाई गहिरोसित व्यक्त गरेको छ। प्रस्तुत कवितामा प्रयोग गरिएका छाया, प्रकाश, रङ्ग, रेखा, आकारजस्ता शब्दहरू उनीभित्रको चित्रकारबाट आएका हुन् । ‘तिम्रो शब्द ब्रह्माण्डभरि गुञ्जिदै मेरो शरीरको कोषसम्म पुग्छ’ वाक्यले एकैपल्ट आत्मालाई परमात्मासित, आत्मालाई संसारसित, बाह्यलाई अन्तरसित, एउटा व्यक्तिलाई अर्को व्यक्तिसित जोडेर व्यक्तिको देहलाई वैश्विक बनाउँछ र व्यक्तिको अस्तित्वलाई वैश्विक परिघटनाको रुपमा अनुभूत गराउँछ र झक्झक्याएर भन्छ कि व्यक्ति आफू नै संसार हो। यो वाक्यले जोसुकैको अन्तरलाई संसारसित जोड्छ । पेशेवर कवि (Professional Poet, समाजले कविको पगरी गुथाइदिएको र आफूलाई कवि ठान्ने व्यक्ति) भन्दा गैर-पेशेवर कविले लेखेको कविता कति सुन्दर हुन सक्छ भन्ने यो एउटा अनुपम उदाहरण हो।

 

मेरो डिएगो 

रातको ऐना ।
तिम्रा आँखाहरु मेरो मासुभित्रको हरित तलवार हो
जुन हाम्रा हातहरु बिच छाल झैँ आउँछन् र जान्छन् ।
छायामा र प्रकाशमा
आवाजहरुले भरिएको ठाउँमा सम्पूर्ण तिमी।
तिमी रंग लिने परमाणु हौ
म रंग दिने परमाणु।
जिन्दगीको संख्याहरुका
सबै सङ्ग्रह हौ तिमी।
म रेखा, आकार, छाया, गति बुझ्न चाहन्छु।
तिमीले मलाई बुझाउँछौ र म बुझ्दछु।
तिम्रो शब्द ब्रह्माण्डभरि गुन्जिंदै मेरो शरीरको कोषसम्म पुग्छ
जुन मेरा ताराहरु हुन्
अनि तिम्रो कोषसम्म पुग्छ
जुन मेरो प्रकाश हो ।