कवि विनय भण्डारीको कवितासङ्ग्रह हात परेपछि दुईवटा कुरा मनमा उब्जिन्छ, भनौं द्विविधामा परिन्छ – कविता मानवीय संवेदनाको बौद्धिक अभिव्यक्ति हो कि सचेत मस्तिष्कको मथाइबाट निस्कने बौद्धिक उपज हो ? कवितालाई मूर्त बनाउने कि अमूर्त ? त्यो सर्जकको स्वायत्तताको विषय हो ।

‘राजा नरेन्द्रदेवका हाड पाइरहेको छैन’– यसले मानसिक द्विविधामा पार्ने काम गर्छ । पाठकमा मानसिक भूकम्प ल्याउने काम काव्यले गर्दा समालोचक वा बौद्धिक पाठक खुशी हुन्छन् । हरेक बौद्धिक कृतिले मानसिक ऊहापोह, बबन्डर ल्याउनुपर्छ । सिर्जनात्मक तनाव ल्याउनु पर्छ । यस्तो बबन्डर वा तनावले कृतिप्रति झन् गहिरिन पाठकलाई शक्ति दिन्छ । सिर्जनाको आस्वादनले पुनः सिर्जना गराउँछ ।

ठीक यही बेला दुईवटा कृतिका आकृतिहरू मेरो स्मृतिपटमा आसन जमाउन आइपुगे, कवि ईश्वर बल्लभका ‘आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्’ र जगदीश शमशेरको ‘नरसिंह अवतार’ । यी कृतिसँग ‘राजा नरेन्द्रदेवका हाड पाएको छैन’ को नाता कत्ति छ थाहा छैन तर मलाई भने तीन कोणमा तीन कृति राखेर हेर्ने मेरो अर्द्धचेत तहले जबर्जस्त ऐँठन नै गर्‍यो ।

पाठक भएर काव्य पढ्दा निख्खर, निश्छल भएर पढ्नु पर्छ, आग्रह राख्ने काम त समालोचक, समीक्षकहरूले गर्छन् । म पाठक भएर नै पढ्ने प्रयास गरेँ ।

कविता पढ्दा प्रश्नहरू मनभरि फैलिए– कवितामा अभिव्यक्ति दिन शब्द, कार्य र कला (वर्ड, एक्सन र आर्ट) को प्रयोग  कतिसम्म हुनुपर्छ ? कविको व्यक्तित्व विकास, चेत अवचेत तहमा थिग्रिएर रहेका भावना र परिवेशको अभिमुखीकरणले सिर्जनालाई प्रभाव पार्ने हुन् ?

उपनिषद्मा भनेको ‘अहम् ब्रहस्मि’ सम्झेँ । काव्य कविको अन्तस्करण हो । अन्तस्करणको अभिव्यक्ति जसरी दिएपछि पनि हुन्छ । अन्तस्करणको अभिव्यक्तिमा कवि निजी स्वयत्ततताको उपयोग हुन्छ । कविता जन्मनका लागि अन्तस्करणले एउटा आकृति वा विश्वको रचना गरेको हुन्छ । स्वच्छन्दतावादी सर्जकमा यो झनै देखिन्छ । ‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाएको छैन’ ले अन्तस्करणका यस्तै आकृति कोरेका छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका थिए – आधुनिकतामा विश्वास राखे पनि हामी प्राचीनताका पुजारी हौं ।

हामी सबै आधुनिक बन्न चाहन्छौं, उत्तर आधुनिक बन्न चाहन्छौं । तर यो कुरा चाहिँ हामी भुल्छौं– हाम्रै परम्परा र पुस्ताबाट अलिअलि परिष्कार मात्र भएर आउँछौं । परम्परा भुलेर आधुनिक बन्न सक्दैनौं । विनयका कविताले इतिहासका विषय उठाएर वर्तमानलाई परिष्कार गर्न खोजेको छ । इतिहासले गर्ने काम यही हो, कविताले पनि मूर्त अमूर्त रूपमा गर्ने यही हो ।

कविताको संरचना हेर्दै गएँ, अभिव्यक्ति हेर्दै गएँ, सके जति भावभित्र पस्दै गएँ । कविताहरू एब्स्ट्र्याक्ट पनि लागे । एब्स्ट्र्याक्ट कविताका आलोचकहरू यसलाई अड्किएको अभिव्यक्ति भन्न रुचाउँछन् । वास्तविकता त्यसो होइन, मानिस भावमा गुम्फिएको हुन्छ र सार्वांश अभिव्यञ्जना गर्ने सामर्थ्य शब्दशक्तिमा हुँदैन ।

यस अवस्थामा अमूर्त भाषा, शब्द–ध्वनि सन्धान हुने गर्दछन् । आलोचना गर्नेहरू पाब्लो पिकासोलाई क्यान्भासमा रङ्ग फालेर कलाकार बनेका हलुका अभिव्यक्ति दिन पुग्लान् । तर तिनै पोतिएका रङ्गले मनको अमूर्त वा एब्स्ट्राक्ट प्रकाशन गर्न पुग्यो । पछि यो घनत्व वाद (क्यूविज्म) को नामले विख्यातिमा रह्यो । यसले कलाका अन्य माध्यमलाई पनि प्रभाव पार्‍यो ।

चालिसको दशकमा काव्यमा एब्स्ट्र्याक्ट शैलीको चलन उल्लेख्य विस्तार थियो । ज्याक्सन पुलोक, मार्क रोथ्को, विलियम कोनिङहरूले विकास गरेको यो शैलीको उधुम पारखी नेपालमा मोहन कोइराला, ईश्वर वल्लभहरू देखिएका थिए । एब्स्ट्र्याक्ट शैलीबाट प्रभावित पाठकमध्ये म पनि हुँ ।

यसखाले कवितामा अभिव्यक्ति, ध्वनि, सङ्केत जस्ता मार्क–मेकिङले कवितालाई बेग्लै धरातल र अर्थवत्ता दिन्छ । पाठकले आफ्नै अर्थमा बुझ्ने स्वतन्त्रता पाउँछन्, कविको अभिव्यक्तिको बुझाई आग्रहबाट पाठक मुक्त हुन्छ । अर्थ, बोध र भाव ग्रहणमा पाठक मनको आफ्नै क्षितिज सामर्थ्यलाई सम्मान गर्छ । मूलतः यो एब्स्ट्र्याक्ट आर्टको साहित्यमा परेको प्रभाव भए पनि अव आर्टबाट कवितामा, निबन्धमा, नाटकमा विस्तार भएको छ ।

कवि विनयका कविताका शीर्षक एब्स्ट्र्याक्ट लाग्छन्, अभिव्यक्ति पनि एब्स्ट्र्याक्ट छन् र यसै अनुरूप पङ्क्तिहरू छन् । शीर्षक जस्ता अभिव्यक्ति छैनन्, अभिव्यक्तिका अर्थ ध्वनि र परिवेशले बुझ्नु पर्छ । तर भुल्नु हुन्न, एब्स्ट्र्याक्ट कविताले पनि खोज्ने अस्तित्व नै हो । अस्तित्वमा अलमलिएर निराश भएकाहरू पनि आफैलाई एब्स्ट्र्याक्ट बनाएर अस्तित्वकै खोजाइमा हुन्छन् । जतिखेर एब्स्ट्र्याक्ट लेखन शुरु भयो, एक हूल विटल्सहर जीवन खोज्न बाजा लिएर सङ्गीत छर्दै हिंडेथे । रिङ्गो स्टार, जोहन लेननहरूले संसारमा उधुम नै मच्चाएका थिए । आज त धेरै प्रविधि, मेसिन भाषा र मेसिन सङ्गीतले यसखाले अभिव्यक्तिलाई अर्कै सहजतामा पुर्‍याएको छ ।

विनय भण्डारीका कविता ब्लाङ्क भर्समा लेखिएको छ । यस ढाँचाले संरचना र सन्धानले अभिव्यञ्जना रोक्दैन भन्ने अर्थ लाग्छ । यस अर्थमा पनि विनय भण्डारीका कविताले कवित्वलाई ग्रहण गरेको छ । यसको अर्थ छन्दलहरीले भाव रोक्छ भन्न खोजिएको होइन । तर कतिपय अभिव्यक्तिलाई सूत्र र लयमा राख्दा भावनिस्पादन र यसको प्रवाहलाई छेक्न सक्छ मात्र भन्न खोजिएको हो ।

टी यस एलियटले भने झैं कविता भनेको कविको व्यक्तित्वको प्रकाशन हो । वैयक्तिक प्राज्ञ र परम्पराले कवितालाई प्रभाव पार्छ, व्यक्तित्व विकासको सिद्धान्त पनि यही हो । त्यसैले कवि वा सर्जकहरू धेरै अर्थमा आफ्नै परिवेश, परिवार र परम्पराका उपज हुन् । विनय भण्डारी यसका अपवाद पक्कै होइनन् ।

धेरैजसो कविहरू वर्तमानलाई लेख्छन्, भविष्यलाई देख्छन्, भनौं आकलन गर्छन् । विनय भण्डारी भने इतिहासलाई लेख्छन् । तर विषय इतिहासबाट टिपिए पनि ती बिम्बात्मक छन् । उनका सबै कविता शीर्षकले यस्तै इतिहासका बिम्बात्मक झल्को दिन्छन् । विद्वानहरू इतिहास वा हिस्ट्रीलाई हिज स्टोरी सम्झन्छन्, याने कि यो ठूलाको कथा हो । बहुधा इतिहास शासकको कथा हो । तर कवि विनय भण्डारी इतिहासलाई हाम्रो भविष्य बनाउन खोजिरहेका छन् । इतिहासलाई जनस्तरमा ओराल्न खोजिरहेका छन् ।

इतिहास रुखो हुन्छ, कविता मीठो हुन्छ । इतिहासमा कविता मिसिएपछि त्यो षड्रस हुन्छ । यही रस यौगिकता ‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन’ ले दिएको छ । कृति इतिहासको आकृतिमा भावनाको विश्व खोज्न लाग्छ । त्यसैले यौगिकताको उत्पादन कविताले गरिरहेका छन् ।

कविता शब्दबाट शुरु हुन्छ । कवि बारम्बार भन्ने गर्छन् ‘म शब्द हुँ’ । कविले शब्दलाई शक्ति सम्झेका छन् । शब्दलाई इतिहास र संसार मानेका छन् । शब्दलाई साछी राखेर नै यक्ष मल्ल, लक्ष्मी नरसिंह, मानवदेव, नरेन्द्रदेव, जयदेव, धर्मदेव, बसन्तदेव, शिवदेव, जगज्जय, यलम्बर, भृकुटी, राजेन्द्रलक्ष्मी, लालमती, पृथ्वी नारायण, मणिमुकुन्द सेनहरूलाई बताइरहेका छन् । शब्दबाट संसार, शब्दबाट इतिहासको तस्विर खिचेर  भविष्यको अभीष्टप्रति सङ्केत गरिरहेका छन् ।

शब्दबाट इतिहास उठाउँदा अक्षरलाई सहारा दिन कविले चित्रको सहयोग लिएका छन् । चित्रलाई भाव दिन आग्रह गरिरहेका छन् । शब्द र अक्षरले भाव दिन नसक्दा चित्रको सहारा लिने गरिन्छ । कविले त्यसै गरेका छन् ।

‘जसलाई तिमी रानी राजेन्द्र लक्ष्मी भन्छौं’ मा इतिहासका पात्रहरू दन्त्यकथा बन्ने धारणा राखेका छन् । सबै कविताहरूको यो प्रतिनिधि कवितामा लिन सकिन्छ । इतिहास जीवन्त रहने कारण सम्झनामा हो । जीवन्त इतिहास साह्रै छोटो हुन्छ । इतिहास विस्मृतिमा नपर्ने आधार सिर्जना हो । कविले कविताका शीर्षकबाट त्यसो भन्न खोजिएको हो कि झैं लाग्छ ।

टी एस इलियटका अनुसार कवितामा केही नभई नुहुने अनिवार्य बस्तु छ, जसलाई उनी प्रमुख धार (भाइटल स्ट्रीम) भन्न रुचाउँछन् । उनका अनुसार वैयक्तिक प्राज्ञ र परम्परा कवित्वका रूपमा रहन्छ । रोमान्टिक कविहरू अभिव्यञ्जनामा प्राज्ञ र परम्पराबाट अलग रहँदैनन् । रहरले लेख्नेहरू रहरमा रमाउँछन् । तर प्रज्ञा र रोमान्टिसिज्मले कवितालाई निर्वैयक्तिक बनाइ दिन्छ । यस आधारमा कवि र पाठक दुवै रमाउँछन् । कवितासङ्ग्रमा कवि भण्डारी यही प्रवृत्तिमा छन् । भावना, संवेग र बौद्धिकता तीनैको संयोजन कवितामा छ ।

कवि समाजको उत्पत्ति, संसारको पिण्ड र युगको चेतना भएकाले जति नै नवीन भए पनि संस्कार घुसेको हुन्छ भन्ने जगदशी शमसेरको भनाई कवितामा पाइन्छ । सरल भाषामा महाकवि देवकोटाले घुमाउरो रूपमा टी एस इलियटले पनि यही भनेका थिए । स्रष्टा र द्रष्टा व्यक्तित्व कमाएकाहरूले भनेका कुरालाई कवि विनयले पुष्टि गरेका छन् ।

हो, हामीले आफ्नै जरा फेला नपारी लेखिरह्यौ भने न मौलिक हुन्छौं, न आयामिक । न हाम्रो स्वत्व नै बाँकी रहन्छ । विनयले त्यसैले परम्पराको प्रेरणा र इतिहासको चेतनामा अन्तस्करणका भाव पस्केका छन् ।

कवितामा आशक्ति छ, निराशा छ, दोहोर्‍याइ छ । भावनाको आवृत्तिमा रहनु कविको विशेषता हो । भलै शीर्षक इतिहासका, पात्रहरू इतिहासका छन् ।

म शब्द हु, म जून हुँ, इन्द्रावती हुँ, म गन्ध हुँ, म स्वर हुँ, म जङ्गल हुँ, म सूर्य हुँ, म आँसु हुँ, म रज हुँ, म खुसी हुँ, आदि भनिरहँदा कवि भावातिरेक स्वैरकल्पनामा भेटिन्छ र मैले पटक पटक फर्सीको जरो सम्झेको छु । तर मोहन कोइराला भन्दा विनय सरल छन् । विद्रोहको सन्देश छ । कविहरूका विद्रोहका शैली पनि फरक हुन्छन्, कोही शब्दमार्फत विद्रोह गर्छन्, कोही चाहिँ शब्दप्रति, अक्षर प्रति नै विद्रोह गर्छन् । भारतीय विद्रोही कवि रमाशंकर ‘विद्रोही’ ले शब्द, अक्षर र कागजप्रति नै विद्रोहको बिगुल फुकोका थिए । कवि विनयका विद्रोह श्लील र मिठासपूर्ण छन् ।

कवितामा कविको मन इतिहास र प्रकृतिमा यता–उता गर्छ । भाव र भौतिकीमा यता–उता गर्छ । भावनामा स्वतन्त्र छन् तर जताततै कैदको बाध्यता देख्छन् । अन्तर भावमा रमाउने कविहरू यही अवस्थामा रहन्छन् ।

कवितामा प्रश्नहरू छन्, अनगिन्ती प्रश्नहरू । ती प्रश्नहरू अरूप्रति मात्र नभएर आफैप्रति पनि छन् । कहिलेकाहीँ त ती प्रश्नहरूले कविलाई व्यङ्ग्य गरेजस्तो पनि लाग्छ । स्वाभाविक हो कि कवि आफ्नै मनको यात्रामा संसार हिंडिरहेको हुन्छ । कविले चलनभन्दा पृथक् धारबाट कविता लेखेर भिन्न स्वाद दिएका छन् ।