सत्यवतीले समग्र मनोयोगका साथ स्मरणमात्र के गरेकी थिइन्– द्वैपायन व्यास त त्यहीं प्रकट भइहाले । उनी कहाँबाट टुप्लुक्क आइपुगे– त्यो कसैले सुइँको पनि पाएन ।
आफ्नी वात्सल्यमयी माता सत्यवतीले एकान्त स्मरण गरेको थाहा पाउनासाथ उनी प्रसन्नभावले त्यहाँ प्रकट भएका थिए । उनका मुखारविन्दबाट पवित्र वेदमन्त्रको मधुर ध्वनि गुँजिरहेको थियो । व्यासजीको भव्य काया कृष्णवर्णी थियो, उनको जटाकलाप कैलो वर्णको थियो, उनी उच्च कद–काठीका थिए, उनको मुहार खैरो रंगको जुँगा दाह्रीले झपक्कै ढाकिएको थियो, नेत्रद्वय तेजोमय थियो अनि शरीरबाट एउटा अनौठो ह्वास्स गन्ध पनि आइरहेको थियो, जो प्रीतिकर अवश्य थिएन ।
आफ्ना पुत्रलाई देख्नासाथ भावाभिभूत बनेकी योजनगन्धाले वात्सल्यमय ममत्वावेगका साथ तिनलाई न्यानो आलिङ्गनमा बाँधिन्, उनका स्तनद्वयबाट अनायास समारब्ध पयःप्रस्रवणले व्यासलाई अभिषिक्त तुल्यायो । उनलाई स्नेह–सत्कार गरिसक्दा–नसक्दै सत्यवतीका नयनयुगल वात्सल्यानन्दले अश्रुपूरित बने ।
आफ्ना हातमा रहेको कमण्डलुका जलले माताको मस्तक अभिषिक्त गरेर व्यासले प्रणाम गरेपछि सत्यवती प्रकृतिस्थ बनिन् । व्यासले भने : हे मात ! आज्ञा दिनुहोस् । म हजुरको के प्रिय कार्य गरूँ ?
तत्पश्चात् मन्त्रोच्चारणमय विधि–विधानद्वारा पुरोहितवर्गले उनको पूजन गर्यो । प्रसन्नतापूर्वक पूजा ग्रहण गरेर जब व्यास आसनस्थ बने अनि माता सत्यवतीले प्रथमतः उनको सकल कुशल–क्षेमबारे प्रश्न गरिन् । प्रिय पुत्रका उत्तरले आश्वस्त बनेपछि आफूमाथि आइलागेको समस्याको यथारूप बेलिविस्तार लगाइन् र अन्त्यमा भनिन् : हे पुत्र ! तिम्रा दुवै भाइबुहारीहरू अम्बिका र अम्बालिका रूप–यौवनवती भइकन पनि दुर्भाग्यवश सन्तानहीना छन् । तिनका मनमा तीव्रभावले पुत्रेच्छा रहेको छ । यता राज्यका उत्तराधिकारीको अभावमा हस्तिनापुरको भविष्य पनि संशयारूढ बन्न पुगेको छ । यस परिस्थितिमा हे पुत्र, तिमी ती दुवै वधूसँग समागम गरेर तिनको गर्भमा यसरी वीर्यदान गर– जसबाट जन्म लिएका सन्तानले हाम्रो कुल–परम्पराको रक्षा गर्न सकून् । यसका लागि तिमी सर्वथा सक्षम एवम् सुयोग्य छौ ।
व्यासले माताजीको आज्ञालाई सविनय शिरोपर गर्दै भने : मात ! यसका लागि ती दुवै वधूले मैले बताए–अनुसारको विधिपूर्वक एक वर्षसम्म व्रतधारण गर्नुपर्ने हुन्छ अनि मात्र ती शुद्धा बन्नेछन् । व्रतपालन नगरेका कुनै पनि स्त्री मेरा समीपमा आउन सक्दैनन् ।
सत्यवतीले भनिन् : हे पुत्र, जसरी हुन्छ तिनीहरूलाई शीघ्रातिशीघ्र गर्भधारण गराऊ । किनभने राज्य उत्तराधिकारी–विहीन भएको छ । यस स्थितिमा प्रजाका यज्ञ दानादि सकल सत्कर्म अवरुद्ध भएका छन् । त्यसैले विलम्बका लागि कुनै अवकाश छैन । तिमी यस विषयमा अधिक चिन्ता नगरी यी दुवै वधूलाई चाँडै गर्भवती बनाऊ । सन्तानको पालन–पोषणका लागि कुमार देवव्रत तैयार छँदै छन् ।
व्यासले संयतभावले भने : मात, यदि तपाईँलाई यति हतारो छ भने– हुन्छ, म अवश्य हजुरको मनोरथ पूरा गर्दछु । तर, पहिले तिनलाई समागमका निम्ति कसरी तैयार पार्नुहोस् भने तिनीहरू मेरो रंग, रूप, वेश, र गन्धका साथ मेरो शरीरलाई सहन गर्न सकून् । सबै तारतम्य मिल्यो भने आजै तिनीहरूका गर्भमा म उत्तम बालक प्रदान गर्दछु ।
अन्त्यमा– हुन्छ त, ऋतुस्नान पश्चात् तिनीहरू शुद्ध वस्त्र र उत्तम शृंगार धारण गरेर एकान्त शय्यामा समागमका लागि मेरो प्रतीक्षा गरून्, तथास्तु ! – यति भनेर व्यास अन्तर्हित भए ।
यता सत्यवतीले यी सबै कुरा भलिभाँति सम्झाएर आफ्ना दुवै बुहारीलाई यथासमय तैयार गराइन् । ऋतुस्नान पश्चात् उत्तम परिधान र आकर्षक शृंगारले सुसज्जिता बनेकी जेठी बुहारी अम्बिकालाई एकान्त शय्यामा बसाएर भनिन्– तिम्रा एकजना जेठाजु छन्, तिमीसँग समागम गर्न आजै उनी आउँदैछन् । सावधानतया उनको प्रतीक्षा गर । ठीक आधी रातमा उनी आउनेछन् ।
अम्बिका पनि सुसज्जित शय्यामा शयन गर्दै एवम् श्रेष्ठ कुरुवंशीय पुरुषहरूको स्मरण गरेर रोमाञ्चित हुँदै प्रतीक्षारत रहिन् । नभन्दै आधी रातमा द्वैपायन–व्यास उनका सामू प्रकट भए । त्यसबेला शयनकक्षमा प्रज्वलित स्निग्ध दीपावलीका आलोकमा अम्बिकाले– आपाद–मस्तक कालो वर्ण भएका, लामा–लामा कैला जटाले आच्छन्न, तेजिला आँखा टलक्क टल्किरहेका व्यासको भयावह रूप देखिन् । किञ्चित् संकोच एवं अधिक सन्त्रासले काँपेकी उनका आँखा स्वतः निमीलित भए । माताका आज्ञानुसार व्यासले उनीसँग समागम गरे, तर काशीराजपुत्री अम्बिका यति भयभीत थिइन् कि– समग्र कृत्यका माझ एक पटक पनि आँखा खोलेर उनलाई हेर्ने हिम्मत गर्न सकिनन् ।
कृत्य सम्पन्न गरेर व्यास शयनकक्षबाट निस्कनासाथ माता सत्यवतीले सोधिन्– अब अम्बालिकाले सुयोग्य सन्तान जन्माउँछिन् त ? उनले भने– आमा, अवश्य जन्माउँछिन् । त्यो दश हजार हात्तीका समान बलवान्, विद्वान्, सौभाग्यशाली, महापराक्रमी र बुद्धिमान् हुनेछ । उसका सय पुत्र पनि हुनेछन् । तर हे मात ! माताका दोषले गर्दा त्यो बालक अन्धो जन्मनेछ ।
माताले भनिन् : त्यसो भए अब तिमी कुरुवंशको संरक्षक अर्को सन्तान देऊ ।
तथास्तु ! भनेर व्यास अन्तर्हित भए ।
नभन्दै यथासमय अम्बिकाले एउटा जन्मान्ध छोरो जन्माइन् ।
….
फेरि यथासमय सत्यवतीले अम्बालिकालाई पूर्ववत् तैयार पारिन्, अनि व्यासलाई आवाहन गरिन् । यथासमय आधी रातमा व्यास उनका सामू प्रकट भए । उनलाई देखेर अम्बालिका स्तब्ध भइन् । उनको सारा शरीर रगत सुकेजस्तो कान्तिहीन पाण्डुवर्णको भयो । उनीसँग समागम गरेर बाहिर आएपछि माता सत्यवतीलाई व्यासले भने : माताको दोषका कारण यो बालक पाण्डुवर्णको जन्मनेछ ।
नभन्दै पाण्डुवर्णको बालक यथासमय जन्मियो ।
माता सत्यवतीले पुनः जेठी बुहारी अम्बिकालाई ऋतुस्नानपश्चात् समागमका लागि तैयार रहने आज्ञा दिइन् । तर वेदव्यासको त्यो कुत्सित रूप र उनको शरीरबाट निक्लने त्यो असह्य गन्धको स्मरण गर्दै देवकन्याजस्ती सुन्दरी ती काशीराज–नन्दिनीले सासूको आज्ञालाई सम्मानित गर्न सकिनन् । बरु उनले चूपचाप एउटी सुन्दरी दासीलाई सिँगार–पटार गराएर महर्षि द्वैपायनको सत्कार गर्न पठाइन् ।
ती दासीले गहन श्रद्धाका साथ व्यासको स्वागत गरिन् । प्रणाम गरिन् र उनको आज्ञा शिरोपर गरी शय्यामा आरूढ भइन्, अनि सत्कारपूर्वक उनको सेवा गरिन् । तिनीसँगको एकान्त–समागमपछि व्यास पनि परमसन्तुष्ट भए । सहवासपश्चात् व्यास जब शय्याबाट उठे अनि भने : हे शुभे ! तिमी अब दासी रहिनौ । तिम्रा गर्भमा एउटा अत्यन्त श्रेष्ठ बालक आएको छ । त्यो यस लोकमा धर्मात्मा र सर्वश्रेष्ठ बुद्धिमान्का रूपमा प्रख्यात हुनेछ ।
शयनागारबाट निस्किएर व्यासले माता सत्यवतीलाई भने– हजुरकी जेठी बुहारीले छल गरेकी छे । उसले मसँग समागम गर्न भनेर आफ्नी दासीलाई पठाएकी थिई । यो समागम अत्यन्त सफल बनेको छ । अब शूद्र जातिकी त्यसै दासीको गर्भबाट पुत्र हुनेछ । त्यो अत्यन्त धर्मात्मा, यशस्वी र उत्तम बुद्धिले सम्पन्न हुनेछ । त्यो सर्वथा निर्दोष जन्मनेछ ।
यसरी माताको कार्य सम्पन्न गरेर, मातृऋणबाट उऋण बनेर, महात्मा कृष्ण–द्वैपायन वेदव्यास माता सत्यवतीलाई सश्रद्ध प्रणाम गरेर त्यहाँबाट तत्काल अन्तर्हित भए ।
…..
राजा विचित्रवीर्यका क्षेत्रबाट अर्थात् उनका दुवै महारानीका गर्भबाट र शूद्रा दासीबाट यसरी वेदव्यासका कृपाले तीन पुत्र जन्मिए । ती अत्यन्त तेजस्वी थिए । कुरुवंशको विस्तार गर्नेवाला थिए ।
ती मध्ये जेठा धृतराष्ट्र भए । ती जेठी बुहारी अम्बिकाका पुत्र थिए । समागमका बेला माता अम्बिकाले डरका मारे आँखा चिम्लिएकी हुँदा ती जन्मान्ध बन्न पुगे, तर तेजस्वी वेदव्यासका अमोघ–वीर्योत्पन्न भएकाले ती अत्यन्त बलशाली र बुद्धिमान् पनि थिए ।
माइला पाण्डु भए । ती कान्छी बुहारी अम्बालिकाका पुत्र थिए । व्याससँग समागमका बेला उनको विकट रूप देखेर तिनी स्तब्ध भएकी थिइन्, सारा शरीरको रक्त सुके झैं पीतवर्णा बनेकी थिइन् । माताको शरीर पहेँलो वर्ण भएका कारण पुत्र पनि पाण्डुवर्णका जन्मिए । तर, तिनी पनि पराक्रमी र यशस्वी थिए ।
कान्छा भए– विदुर । ती शूद्रजातीया दासीका सन्तान थिए । अम्बिकाले व्यासलाई सहन गर्न नसकेर दासीलाई समागमका निम्ति पठाएकी थिइन् । तिनैबाट उनको जन्म भयो । ती सर्वथा निर्दोष थिए । धर्मात्मा, बुद्धिशाली र परम–नीतिज्ञ । वास्तवमा ती स्वयं धर्मका अवतार थिए । ऋषि अणिमाण्डव्यका शापका कारण स्वयम् धर्मराजले मर्त्यलोकमा झर्नुपरेको थियो, मान्छे बनेर जन्मनुपरेको थियो– तिनै थिए विदुर ।
यसरी हस्तिनापुर राज्यका उत्तराधिकारी बनेर तीन पुत्र जन्मिएपछि माता सत्यवती र कुमार देवव्रत भीष्मका चित्तमा बल्ल शान्ति र सन्तोषको शीतलता छाएको थियो ।
….
२०८१ साल कार्तिक ९ गते मंगलवार, राधाष्टमी ।
ॐ अक्षरालय ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१२ कार्तिक २०८२, बुधबार 










