श्रब्य साहित्य

१२ वर्षका लागि वनवासी बनेका सत्यसन्ध वीरवर अर्जुन यायावरी जीवन यापन गर्दै गहन अभिरुचिका साथ सदा तीर्थाटनमा सन्नद्ध रहन्थे । एक समय उनी दक्षिण समुद्रतटमा रहेको तपस्वीहरूको परमरमणीय पावन वस्तीमा पुगे । त्यहाँ उनले एउटा अनौठो कुरा के थाहा पाए भने– पाँचवटा तीर्थस्थलहरूलाई आजभोलि तपस्वीजनले परित्याग गरेका छन् । ती थिए : अगस्त्यतीर्थ, सौभद्रतीर्थ, पौलोमतीर्थ, कारन्धमतीर्थ र भारद्वाजतीर्थ । ती तीर्थस्थलहरूमा पहिले प्रशस्त तपस्वी महात्माहरूले बसोवास गरेका थिए । ती सबै अत्यन्त सुन्दर थिए, एकान्तस्थलमा थिए, शान्त र पावन थिए, तैपनि किन त आजभोलि तिनलाई सबैले परित्याग गरे ? भनेर जिज्ञासा राख्दा के बुझियो भने त्यहाँ भयङ्कर खूंख्वार गोहीहरू रहने गर्दछन्, तिनले जलाशयभित्रबाट स्नानार्थी ऋषिमुनिहरूलाई अपर्झट झम्टिन्छन् र बलपूर्वक खिँचेर लैजान्छन् अनि आफ्नो शिकार बनाउँछन् ।

यस्ता कुरा सुनेपछि महाबाहु अर्जुन सबैले रोक्दा रोक्दै पनि तिनै तीर्थहरूको परिभ्रमणमा निक्लिए । सबैभन्दा पहिले उनी सौभद्रतीर्थमा पुगे र स्नानार्थ जलशयमा प्रवेश गरे । नभन्दै त्यस अगाध जलराशिभित्रबाट एउटा बडेमानको गोहीले उनको गोडामा दाह्रा गाडिहाल्यो, तर वीरवर अर्जुनलाई यसको कुनै दुष्प्रभाव परेन, किनभने नागकन्या उलूपीको वरदानले त्यहाँ काम गरिरहेको थियो । उसले आफ्ना प्रियतम अर्जुनलाई कुनै जलचर जीवले केही हानि गर्न नसकोस् भनेर वर दिएकी थिई । उनी आफ्नो गोडामा दाह्रा गाडेर फडफडाउँदै गरेको त्यो गोहीलाई घिसार्दै त्यस जलाशयको किनारातिर लम्किए । पानीबाट बाहिर निस्कनासाथ त्यो गोही त एउटी सुन्दरीमा पो परिणत भयो ! पलभरमा दिव्य वस्त्राभूषणले विभूषिता एउटी सुन्दरी रमणी त्यहाँ प्रकट भइन् । छक्क पर्दै अर्जुनले सोधे:

हे सुन्दरी, तिमी को हौ ? कसरी जलचरको योनिमा पुग्यौ ? कसरी तिम्रो यो दुर्गति भयो ?

अनि तिनले सविनय प्रणामपूर्वक अर्जुनलाई भनिन्:

मेरो नाम वर्गा हो । म नन्दनवनमा विहार गर्ने अप्सरा हुँ । म धनपति कुबेरकी नित्यप्रेयसी हुँ । मेरा अरु चार सखीहरू पनि छन् । ती सबै इच्छानुसार सर्वत्र गमन गर्न समर्थ अप्सराहरू हुन् । तिनै सखीहरूका साथ म एकदिन धनराज कुबेरका दरबारतिर जाँदै थिएँ । बाटामा हामी सबैले एकजना उत्तम व्रत धारण गरेका तपस्वी ब्राह्मणलाई देख्यौँ । ती अत्यन्त तेजस्वी थिए । उनका तेजले त्यो समस्त वनोद्देश तेजोमय बनेको थियो । तिनको लोभनीय रूपसौन्दर्य देखेर हामी उनीप्रति आकर्षित भयौं । उनको तपोभङ्ग गर्न भनेर हामी सौरभेयी, समीची, बुद्बुदा र लता अनि म वर्गा उनका समीपमा गयौं । उनलाई आफ्नो रूपयौवन र हाउभाउ कटाक्षले आकर्षित गर्दै हाँस्न, नाच्न र गाउन लाग्यौं । तर, उनले मनलाई आफ्ना वशमा गरेका थिए । उनीमा कुनै प्रभाव परेन, बरु यो उद्दण्डता देखेर सहसा कुपित हुँदै उनले हामीलाई शाप दिए –

तिमीहरूले सय वर्षसम्म गोही बनेर पानीमुनि बस्नुपरोस् ।

शाप के थियो– हामीमाथि खसेको वज्रपात थियो ! दुःखित हुँदै, डरले थुरुथुरु काँप्दै हामीले उनका छेउमा गएर प्रणिपातपूर्वक क्षमा माग्यौं । हे शरणागतरक्षक ब्राह्मणदेव, हामीले प्रमादवश ठूलो अपराध गर्यौं । हामीलाई करुणापूर्वक क्षमा गर्नुहोस् ।

तिनले भने – मैले आजसम्म ख्यालख्यालमा पनि झूठ बोलेको छैन । हुन त शत र सहस्र जस्ता शब्दहरू असंख्यताका बोधक हुन्छन् । तर मैले बोलेको शत अर्थात् सय शब्द सयकै मात्र वाचक हो । त्यसैले हे नानीहरू, तिमीहरूले सयवर्षसम्म पानीमुनि बसिसकेपछि तिमीहरूलाई कुनै श्रेष्ठ पुरुषले पानीबाट बाहिर खिंचेर ल्याउनेछ । अनि तिमीहरूको उद्धार हुनेछ । तिमीहरूको उद्धार भइसकेपछि ती सबै तीर्थ नारीतीर्थका रूपमा विख्यात एवम् पुण्यमय बन्नेछन् । तथास्तु !

ब्राह्मणदेवलाई प्रदक्षिणापूर्वक सविनय प्रणाम गरेर हामी त्यहाँबाट निस्कियौं । शापका कारण दीन–हीन बनेर अब कहाँ गएर शाप काटौं, कसले हाम्रो उद्धार गर्ला भनेर चिन्तित भइरहेका बेला अनायास हामीले देवर्षि नारदको दर्शन पायौं । हाम्रो सविनय प्रणति स्वीकार गरेर हाम्रो दुर्दशाको कहानी सुनेपछि उहाँले भन्नुभयो : दक्षिण समुद्रका तटमा पाँचवटा रमणीय एवम् पावन तीर्थ छन्, तिमीहरू त्यहीं जाओ । अनि उहाँको आज्ञानुसार हामी यहाँ आयौं ।

अन्तमा तिनले भनिन् : हे अनघ, मेरा ती चार जना सखीहरू पनि जलभित्रै छन् । कृपया तिनको पनि उद्धार गरिदिनुहोस् ।

वीरवर अर्जुनले ती सबैको उद्धार गरे । सबै तत्काल परमसुन्दरी अप्सरामा रूपान्तरित भए र अर्जुनलाई कृतज्ञताका साथ प्रदक्षिणापूर्वक प्रणाम गरेर नन्दनवनतिर प्रस्थित भए । ती पाँचै तीर्थहरू कालान्तरमा नारीतीर्थका नामले विख्यात भए ।

त्यसपछि पुण्यात्मा अर्जुन आफ्नी प्रियतमा चित्राङ्गदालाई भेट्न भनेर पुनः मणिपूर गए । त्यहाँ छोरो बभ्रुवाहन र चित्राङ्गदालाई भेटेर प्रसन्न भए । उनीहरूलाई यथासमय इन्द्रप्रस्थमा बोलाउने वचन दिएर प्रियतमा चित्राङ्गदासँग विदा लिई अर्जुनले मोक्षदायी गोकर्णतीर्थको यात्रा सम्पन्न गरे ।

…….

अमितपराक्रमी अर्जुन पश्चिम समुद्रका तटवर्ती समस्त पुण्यस्थलहरूको परिभ्रमण गर्दै आखिरमा प्रभासक्षेत्रमा पुगे । त्यहाँ भगवान् श्रीकृष्ण हुनुहुन्थ्यो । आफ्ना गुप्तचरहरूबाट उहाँले प्रभासक्षेत्रमा अर्जुनको पदार्पण भएको कुरा थाहा पाउनुभयो । अनि आफ्ना प्रियसखा कुन्तीनन्दन अर्जुनलाई भेट्न भनेर स्वयं श्रीकृष्ण अर्जुनका समक्ष जानुभयो ।

तावन्योन्यं समाश्लिष्य पृष्ट्वा कुशलं वने

आस्तां प्रियसखायौ तौ     नरनारायणवृषी ।।  मभा, आप, २१७अ, ५श्लोक

दुवै नर–नारायणले एक अर्कालाई हृदयश्लेषपूर्वक कुशलक्षेम वार्ता सम्पन्न गरे अनि ती दुवै ऋषि रमणीय वनप्रान्तको एकान्त स्थानमा बसेर प्रणयमय संवाद गर्न लागे ।

हे वीरवर मध्यमपाण्डव, तिमी किन यसरी तीर्थहरूमा विचरण गर्न लागेका हौ ?

यसरी जब श्रीकृष्णले जिज्ञासा राख्नुभयो अनि अर्जुनले सबै कुरा बेलिविस्तार लगाए । सबै कुरा सुनेर मुसुक्क हाँस्दै श्रीकृष्णले भन्नुभयो : एवमेतत् — यो कुरा यस्तै हो ।

दुवैले प्रभासक्षेत्रमा यथेच्छ विहार गरिसकेपछि घुम्दै फिर्दै सुरम्य प्राकृतिक सम्पदाले सम्पन्न रैवतक पर्वततिर प्रस्थान गरे । त्यहाँ अर्जुनको स्वागतका लागि समस्त तैयारी गरिएको थियो । आजको रात त्यहीं रात्रिविश्राम गर्नु थियो ।

त्यहाँ पाण्डुनन्दन अर्जुनले देवकीनन्दन श्रीकृष्णका साथ सुमधुर स्वादिष्ट भोजनको आनन्द लिए । नृत्य–गीत–वादित्रको श्रव्य–दृश्य आनन्द पनि लिए । अनि सुकोमल स्निग्ध शय्यामा दुवै रात्रि–विश्रामका लागि तत्पर भए  । त्यहाँ विश्राम गरेर अर्जुनले श्रीकृष्णलाई आफूले गरेको तीर्थस्थल परिभ्रमण र देखेका सुन्दर रमणीय स्थानहरूको बयान गर्दै समस्त यात्रावृत्तान्त सुनाए । यसरी मीठा मीठा बात मार्दै उनीहरू कुनबेला भुसुक्कै निदाए– थाहै भएन ।

प्रातःकालमा मधुर गीत, कर्णप्रिय वीणासंगीत एवम् स्तुति तथा मंगलपाठका ध्वनिबाट उनीहरूको जागरण भयो । प्रातःकालीन समस्त नित्यकृत्य विधिवत् सम्पन्न गरेपछि श्रीकृष्णद्वारा अभिनन्दित भएका अर्जुन सुवर्णमय रथमा आरुढ भए । अनि,  दुवैले द्वारकापुरीतिर प्रस्थान गरे । त्यहाँ असंख्य जनता प्रीतिपूर्वक उनीहरूको स्वागतमा खडा थिए । अर्जुनको दर्शन गर्न भनेर अग्ला अग्ला स्थानमा बसेका सैकडौं हजारौं भोज, वृष्णि र अन्धक वंशका पुरुष नारीहरू त्यहाँ एकत्र भएका थिए । ती सबैको भव्य आदर सत्कारद्वारा अभिनन्दित बनेका अर्जुनले ती सबैलाई सप्रेम प्रणाम गरे, सबैको स्वागत स्वीकार गरे । यदुकुलका समस्त कुमारहरूले पनि उनको भव्य स्वागत गरे । यसरी द्वारकापुरीमा अर्जुनको उत्तम खातिरदारी गरियो ।

अन्त्यमा:

कृष्णस्य भवने रम्ये रत्नभोज्यसमावृते

उवास सह कृष्णेन बहुलास्तत्र शर्वरी ।। मभा, आप, २१७अ, २१श्लो

भगवान् द्वारकाधीश श्रीकृष्णका दरबारमा नाना प्रकारका रत्न र दिव्य भोज्य पदार्थले भरपूर रमणीय भवनमा अर्जुनले श्रीकृष्णका साथ दिव्य आनन्दपूर्वक अनेक रात्रि निवास गरे ।

……

महाभारत आदिपर्वको २१६ २१७ अध्यायमा आधृत

२०८२ ज्येष्ठ २३ गते शुक्रवार ॐअक्षरालयः