१२ वर्षका लागि वनवासी बनेका सत्यसन्ध वीरवर अर्जुन यायावरी जीवन यापन गर्दै गहन अभिरुचिका साथ सदा तीर्थाटनमा सन्नद्ध रहन्थे । एक समय उनी दक्षिण समुद्रतटमा रहेको तपस्वीहरूको परमरमणीय पावन वस्तीमा पुगे । त्यहाँ उनले एउटा अनौठो कुरा के थाहा पाए भने– पाँचवटा तीर्थस्थलहरूलाई आजभोलि तपस्वीजनले परित्याग गरेका छन् । ती थिए : अगस्त्यतीर्थ, सौभद्रतीर्थ, पौलोमतीर्थ, कारन्धमतीर्थ र भारद्वाजतीर्थ । ती तीर्थस्थलहरूमा पहिले प्रशस्त तपस्वी महात्माहरूले बसोवास गरेका थिए । ती सबै अत्यन्त सुन्दर थिए, एकान्तस्थलमा थिए, शान्त र पावन थिए, तैपनि किन त आजभोलि तिनलाई सबैले परित्याग गरे ? भनेर जिज्ञासा राख्दा के बुझियो भने त्यहाँ भयङ्कर खूंख्वार गोहीहरू रहने गर्दछन्, तिनले जलाशयभित्रबाट स्नानार्थी ऋषिमुनिहरूलाई अपर्झट झम्टिन्छन् र बलपूर्वक खिँचेर लैजान्छन् अनि आफ्नो शिकार बनाउँछन् ।
यस्ता कुरा सुनेपछि महाबाहु अर्जुन सबैले रोक्दा रोक्दै पनि तिनै तीर्थहरूको परिभ्रमणमा निक्लिए । सबैभन्दा पहिले उनी सौभद्रतीर्थमा पुगे र स्नानार्थ जलशयमा प्रवेश गरे । नभन्दै त्यस अगाध जलराशिभित्रबाट एउटा बडेमानको गोहीले उनको गोडामा दाह्रा गाडिहाल्यो, तर वीरवर अर्जुनलाई यसको कुनै दुष्प्रभाव परेन, किनभने नागकन्या उलूपीको वरदानले त्यहाँ काम गरिरहेको थियो । उसले आफ्ना प्रियतम अर्जुनलाई कुनै जलचर जीवले केही हानि गर्न नसकोस् भनेर वर दिएकी थिई । उनी आफ्नो गोडामा दाह्रा गाडेर फडफडाउँदै गरेको त्यो गोहीलाई घिसार्दै त्यस जलाशयको किनारातिर लम्किए । पानीबाट बाहिर निस्कनासाथ त्यो गोही त एउटी सुन्दरीमा पो परिणत भयो ! पलभरमा दिव्य वस्त्राभूषणले विभूषिता एउटी सुन्दरी रमणी त्यहाँ प्रकट भइन् । छक्क पर्दै अर्जुनले सोधे:
हे सुन्दरी, तिमी को हौ ? कसरी जलचरको योनिमा पुग्यौ ? कसरी तिम्रो यो दुर्गति भयो ?
अनि तिनले सविनय प्रणामपूर्वक अर्जुनलाई भनिन्:
मेरो नाम वर्गा हो । म नन्दनवनमा विहार गर्ने अप्सरा हुँ । म धनपति कुबेरकी नित्यप्रेयसी हुँ । मेरा अरु चार सखीहरू पनि छन् । ती सबै इच्छानुसार सर्वत्र गमन गर्न समर्थ अप्सराहरू हुन् । तिनै सखीहरूका साथ म एकदिन धनराज कुबेरका दरबारतिर जाँदै थिएँ । बाटामा हामी सबैले एकजना उत्तम व्रत धारण गरेका तपस्वी ब्राह्मणलाई देख्यौँ । ती अत्यन्त तेजस्वी थिए । उनका तेजले त्यो समस्त वनोद्देश तेजोमय बनेको थियो । तिनको लोभनीय रूपसौन्दर्य देखेर हामी उनीप्रति आकर्षित भयौं । उनको तपोभङ्ग गर्न भनेर हामी सौरभेयी, समीची, बुद्बुदा र लता अनि म वर्गा उनका समीपमा गयौं । उनलाई आफ्नो रूपयौवन र हाउभाउ कटाक्षले आकर्षित गर्दै हाँस्न, नाच्न र गाउन लाग्यौं । तर, उनले मनलाई आफ्ना वशमा गरेका थिए । उनीमा कुनै प्रभाव परेन, बरु यो उद्दण्डता देखेर सहसा कुपित हुँदै उनले हामीलाई शाप दिए –
तिमीहरूले सय वर्षसम्म गोही बनेर पानीमुनि बस्नुपरोस् ।
शाप के थियो– हामीमाथि खसेको वज्रपात थियो ! दुःखित हुँदै, डरले थुरुथुरु काँप्दै हामीले उनका छेउमा गएर प्रणिपातपूर्वक क्षमा माग्यौं । हे शरणागतरक्षक ब्राह्मणदेव, हामीले प्रमादवश ठूलो अपराध गर्यौं । हामीलाई करुणापूर्वक क्षमा गर्नुहोस् ।
तिनले भने – मैले आजसम्म ख्यालख्यालमा पनि झूठ बोलेको छैन । हुन त शत र सहस्र जस्ता शब्दहरू असंख्यताका बोधक हुन्छन् । तर मैले बोलेको शत अर्थात् सय शब्द सयकै मात्र वाचक हो । त्यसैले हे नानीहरू, तिमीहरूले सयवर्षसम्म पानीमुनि बसिसकेपछि तिमीहरूलाई कुनै श्रेष्ठ पुरुषले पानीबाट बाहिर खिंचेर ल्याउनेछ । अनि तिमीहरूको उद्धार हुनेछ । तिमीहरूको उद्धार भइसकेपछि ती सबै तीर्थ नारीतीर्थका रूपमा विख्यात एवम् पुण्यमय बन्नेछन् । तथास्तु !
ब्राह्मणदेवलाई प्रदक्षिणापूर्वक सविनय प्रणाम गरेर हामी त्यहाँबाट निस्कियौं । शापका कारण दीन–हीन बनेर अब कहाँ गएर शाप काटौं, कसले हाम्रो उद्धार गर्ला भनेर चिन्तित भइरहेका बेला अनायास हामीले देवर्षि नारदको दर्शन पायौं । हाम्रो सविनय प्रणति स्वीकार गरेर हाम्रो दुर्दशाको कहानी सुनेपछि उहाँले भन्नुभयो : दक्षिण समुद्रका तटमा पाँचवटा रमणीय एवम् पावन तीर्थ छन्, तिमीहरू त्यहीं जाओ । अनि उहाँको आज्ञानुसार हामी यहाँ आयौं ।
अन्तमा तिनले भनिन् : हे अनघ, मेरा ती चार जना सखीहरू पनि जलभित्रै छन् । कृपया तिनको पनि उद्धार गरिदिनुहोस् ।
वीरवर अर्जुनले ती सबैको उद्धार गरे । सबै तत्काल परमसुन्दरी अप्सरामा रूपान्तरित भए र अर्जुनलाई कृतज्ञताका साथ प्रदक्षिणापूर्वक प्रणाम गरेर नन्दनवनतिर प्रस्थित भए । ती पाँचै तीर्थहरू कालान्तरमा नारीतीर्थका नामले विख्यात भए ।
त्यसपछि पुण्यात्मा अर्जुन आफ्नी प्रियतमा चित्राङ्गदालाई भेट्न भनेर पुनः मणिपूर गए । त्यहाँ छोरो बभ्रुवाहन र चित्राङ्गदालाई भेटेर प्रसन्न भए । उनीहरूलाई यथासमय इन्द्रप्रस्थमा बोलाउने वचन दिएर प्रियतमा चित्राङ्गदासँग विदा लिई अर्जुनले मोक्षदायी गोकर्णतीर्थको यात्रा सम्पन्न गरे ।
…….
अमितपराक्रमी अर्जुन पश्चिम समुद्रका तटवर्ती समस्त पुण्यस्थलहरूको परिभ्रमण गर्दै आखिरमा प्रभासक्षेत्रमा पुगे । त्यहाँ भगवान् श्रीकृष्ण हुनुहुन्थ्यो । आफ्ना गुप्तचरहरूबाट उहाँले प्रभासक्षेत्रमा अर्जुनको पदार्पण भएको कुरा थाहा पाउनुभयो । अनि आफ्ना प्रियसखा कुन्तीनन्दन अर्जुनलाई भेट्न भनेर स्वयं श्रीकृष्ण अर्जुनका समक्ष जानुभयो ।
तावन्योन्यं समाश्लिष्य पृष्ट्वा च कुशलं वने ।
आस्तां प्रियसखायौ तौ नरनारायणवृषी ।। मभा, आप, २१७अ, ५श्लोक ।
दुवै नर–नारायणले एक अर्कालाई हृदयश्लेषपूर्वक कुशलक्षेम वार्ता सम्पन्न गरे अनि ती दुवै ऋषि रमणीय वनप्रान्तको एकान्त स्थानमा बसेर प्रणयमय संवाद गर्न लागे ।
हे वीरवर मध्यमपाण्डव, तिमी किन यसरी तीर्थहरूमा विचरण गर्न लागेका हौ ?
यसरी जब श्रीकृष्णले जिज्ञासा राख्नुभयो अनि अर्जुनले सबै कुरा बेलिविस्तार लगाए । सबै कुरा सुनेर मुसुक्क हाँस्दै श्रीकृष्णले भन्नुभयो : एवमेतत् — यो कुरा यस्तै हो ।
दुवैले प्रभासक्षेत्रमा यथेच्छ विहार गरिसकेपछि घुम्दै फिर्दै सुरम्य प्राकृतिक सम्पदाले सम्पन्न रैवतक पर्वततिर प्रस्थान गरे । त्यहाँ अर्जुनको स्वागतका लागि समस्त तैयारी गरिएको थियो । आजको रात त्यहीं रात्रिविश्राम गर्नु थियो ।
त्यहाँ पाण्डुनन्दन अर्जुनले देवकीनन्दन श्रीकृष्णका साथ सुमधुर स्वादिष्ट भोजनको आनन्द लिए । नृत्य–गीत–वादित्रको श्रव्य–दृश्य आनन्द पनि लिए । अनि सुकोमल स्निग्ध शय्यामा दुवै रात्रि–विश्रामका लागि तत्पर भए । त्यहाँ विश्राम गरेर अर्जुनले श्रीकृष्णलाई आफूले गरेको तीर्थस्थल परिभ्रमण र देखेका सुन्दर रमणीय स्थानहरूको बयान गर्दै समस्त यात्रावृत्तान्त सुनाए । यसरी मीठा मीठा बात मार्दै उनीहरू कुनबेला भुसुक्कै निदाए– थाहै भएन ।
प्रातःकालमा मधुर गीत, कर्णप्रिय वीणासंगीत एवम् स्तुति तथा मंगलपाठका ध्वनिबाट उनीहरूको जागरण भयो । प्रातःकालीन समस्त नित्यकृत्य विधिवत् सम्पन्न गरेपछि श्रीकृष्णद्वारा अभिनन्दित भएका अर्जुन सुवर्णमय रथमा आरुढ भए । अनि, दुवैले द्वारकापुरीतिर प्रस्थान गरे । त्यहाँ असंख्य जनता प्रीतिपूर्वक उनीहरूको स्वागतमा खडा थिए । अर्जुनको दर्शन गर्न भनेर अग्ला अग्ला स्थानमा बसेका सैकडौं हजारौं भोज, वृष्णि र अन्धक वंशका पुरुष नारीहरू त्यहाँ एकत्र भएका थिए । ती सबैको भव्य आदर सत्कारद्वारा अभिनन्दित बनेका अर्जुनले ती सबैलाई सप्रेम प्रणाम गरे, सबैको स्वागत स्वीकार गरे । यदुकुलका समस्त कुमारहरूले पनि उनको भव्य स्वागत गरे । यसरी द्वारकापुरीमा अर्जुनको उत्तम खातिरदारी गरियो ।
अन्त्यमा:
कृष्णस्य भवने रम्ये रत्नभोज्यसमावृते ।
उवास सह कृष्णेन बहुलास्तत्र शर्वरी ।। मभा, आप, २१७अ, २१श्लो ।
भगवान् द्वारकाधीश श्रीकृष्णका दरबारमा नाना प्रकारका रत्न र दिव्य भोज्य पदार्थले भरपूर रमणीय भवनमा अर्जुनले श्रीकृष्णका साथ दिव्य आनन्दपूर्वक अनेक रात्रि निवास गरे ।
……
महाभारत आदिपर्वको २१६ र २१७ अध्यायमा आधृत ।
२०८२ ज्येष्ठ २३ गते शुक्रवार । ॐअक्षरालयः ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ माघ २०८२, शुक्रबार 










