महाभारतीय आख्यानका अनुरागी प्रिय बन्धु ! अहिलेसम्म हामीहरूले पढ्यौं –

राजा ययातिको दैत्यगुरु शुक्राचार्यकी छोरी देवयानीसँग विवाह भयो ।

उनीबाट दुई पुत्र जन्मिए : यदु र तुर्वसु ।

देवयानीकी दासी बनेर गएकी दैत्यराज वृषपर्वाकी पुत्री शर्मिष्ठाबाट –

फेरि उनका तीन पुत्र भए : द्रुह्य, अनु र पूरु ।

पूरुबाट पौरववंशको विस्तार भयो ।

उपरान्त –

राजा ययातिले आफ्ना कान्छा छोरा पूरुसँग जवानी लिएर एक हजार वर्षसम्म समस्त विषयवासना–भोगको कामना पूरा गर्ने प्रयत्न गरे । तर त्यो पूरा हुन सकेन, उनलाई अनुभव भयो : कामना दुष्पूर हुँदो रहेछ । अन्त्यमा उनलाई वैराग्योदय भयो । छोरालाई उसको जवानी फिर्ता दिएर, उससँग आफ्नो बुढ्याईं फिर्ता लिएर लामो समयसम्म वनमा तपोपूत जीवन व्यतीत गरे ।

उनले आफ्नो मनलाई शान्त र शुद्ध बनाए, क्रोधमाथि विजय प्राप्त गरे । प्रतिदिन देवता र पितृहरूलाई तर्पण गरे । वानप्रस्थ विधिअनुरूप अग्निहोत्रकर्म पनि सम्पन्न गरे । तिनले शिलोञ्छवृत्ति (शिला खोजेर एक एक दाना जम्मा गरेको अन्नबाट जीवनरक्षा गर्ने साधना)  स्वीकार गर्दै यज्ञशेषबाट अन्नग्रहण गरी प्राणरक्षा गरे । उनी वनमा उपलब्ध फल, मूल आदि हविष्यद्वारा अतिथिगणको उनी आदर सत्कार गर्दथे । यस्तो साधनमय जीवनमा रमाउँदै पूरा एक हजार वर्ष बित्यो ।

मन र वाणीमा संयम साधेर उनले तीस वर्षसम्म केवल जलाहार गरेर जीवन धाने । त्यस पछि आलस्यमुक्त बनेर एक वर्षसम्म वायुपान गरी जीवनरक्षा गरे । अनि अर्को एक वर्ष पञ्चाग्नि तापेर तपस्या गरे । त्यसपछि अरु छ महिना केवल वायुसेवन गरी एउटै पाउमा खडा भएर तपस्या गरे । यसरी निरन्तर मनोयोगका साथ तपस्या गरिसकेपछि आफ्ना पुण्यकर्मको प्रभावले राजा ययातिले स्वर्गलोक प्राप्त गरे ।

त्यहाँ उनलाई देवगण, साध्यगण, मरुद्गण एवम् वसुगणले भव्य स्वागत सत्कार गरे । देवलोक र ब्रह्मलोक भ्रमण गर्दै उनी दीर्घकालसम्म स्वर्गलोकमा रहे ।

…….

एक दिन  उनी स्वर्गका राजा इन्द्रका समीपमा पुगे । त्यहाँ देवराज इन्द्रले राजा ययातिसामू जिज्ञासा राखे : हे राजन्, तिमीले अगि भूलोकमा रहँदा आफ्ना कान्छा छोरा पूरुलाई राज्य दिएर के आदेश उपदेश दियौ ?

ययातिले भने :

गङ्गायमुनयोर्मध्ये कृत्स्नोऽयं विषयस्तव ।

मध्ये पृथिव्यास्त्वं राजा भ्रातरोऽन्त्याधिपास्तव ।।

आदिपर्व ८७ अध्याय, ५ श्लोक ।

हे देवराज, मैले आफनो कान्छो छोरो पूरुलाई यसो भनें : हे बाबू, गङ्का र यमुनाका बीच रहेको यो समस्त प्रदेश तिम्रो अधिकारमा रहने छ । यो पृथ्वीको मध्यभाग हो । यसको एकमात्र सम्राट् तिमी हौ । तिम्रा अरु सबै दाजुहरू सीमान्त देशका मात्र अधिपति बन्नेछन् ।

न च कुर्यान्नरो दैन्यं शाठ्यं क्रोधं तथैव च ।

जैह्म्यं च मत्सरं वैरं सर्वत्रैव न कारयेत् ।।

मनुष्यले दीनता, शठता, र क्रोध कदापि नदेखाओस्, कुटिलता, मात्सर्य, र वैर कदापि नगरोस् ।

मातरं पितरं चैव विद्वांसं च तपोधनम् ।

क्षमावन्तं च देवेन्द्र! नावमन्येत बुद्धिमान् ।।

माता, पिता, विद्वान्, तपस्वी एवम् क्षमाशील मनुष्यलाई बुद्धिमान् व्यक्तिले कहिल्यै पनि अवहेलना नगरोस् ।

शक्तस्तु क्षमते नित्यमशक्तः क्रुध्यते नरः ।

दुर्जनः सुजनं द्वेष्टि दुर्बलो बलवत्तरम् ।।

जो शक्तिशाली छ ऊ सदा क्षमा गर्दछ, जो शक्तिहीन छ ऊ सधैं क्रोध गर्दछ । जो दुर्जन छ ऊ सदा सज्जनको द्वेष गर्दछ, जो दुर्बल छ ऊ सदा बलशालीको रीस गर्दछ ।

रूपवन्तमरूपी च धनवन्तं च निर्धनः ।

अकर्मी कर्मिणं द्वेष्टि धार्मिकं च न धार्मिकः ।

निर्गुणो गुणवन्तं च शक्रैतत् कलिलक्षणम् ।।

कुरूप मनुष्य रूपवान्सँग, निर्धन मनुष्य धनवान्सँग, अकर्मण्य मनुष्य कर्मनिष्ठसँग अनि अधार्मिक मनुष्य धर्मात्मासँग विद्वेष गर्दछ , गुणहीन मनुष्य गुणीजनको डाह गर्दछ । हे देवराज इन्द्र ! यही कलियुगको लक्षण हो ।

अक्रोधनः क्रोधनेभ्यो विशिष्ट–

    स्तथा तितिक्षुरतितिक्षोर्विशिष्टः ।

अमानुषेभ्यो मानुषाश्च प्रधानाः

    विद्वांस्तथैवाविदुषः प्रधानः ।।

क्रोध गर्नेभन्दा त्यो व्यक्ति विशिष्ट हो जो कहिल्यै क्रोध गर्दैन । त्यसै गरी सहन नसक्ने भन्दा सहनशील विशिष्ट हो । मनुष्येतर प्राणीभन्दा मनुष्य श्रेष्ठ हो अनि मूर्खभन्दा विद्वान् उत्तम हो ।

आक्रुश्यमानो नाक्रोशेन्मन्युरेव तितिक्षतः ।

आक्रोष्टारं निर्दहति सुकृतं चास्य विन्दति ।।

यदि कसैले निन्दा या अपमान गरेर आक्रोश पैदा गर्न खोज्यो भने पनि त्यसको बदलामा आफू आक्रोशित नहुनू । किनभने जसले त्यो निन्दा या अपमानलाई चूपचाप सहन गर्दछ त्यस मनुष्यको आन्तरिक मनोवेदनाको आगोले नै त्यस निन्दक वा अपमानकर्तालाई जलाउँदछ अनि उसको पुण्यसम्पदा पनि त्यसै सहनशील व्यक्तिले स्वतः हासिल गर्दछ ।

नारुन्तुदः स्यान्न नृशंसवादी

    न हीनतः    परमभ्याददीत ।

ययास्य वाचा पर उद्विजेत

    न तां वदेदुषतीं पापलोक्याम् ।।

क्रोधवश कसैको पनि मर्मस्थलमा चोट नपुर्याउनू, कसैप्रति पनि कठोर वाणी मुखबाट ननिकाल्नू, शत्रुलाई वशमा ल्याउन नै पनि कदापि अनुचित उपाय प्रयोग नगर्नू, मर्मवेधी उद्वेगकारी वाणी कहिल्यै मुखमा नल्याउनू, किनभने पापीजनले मात्र अर्कालाई चोट पुर्याउने बोली बोल्दछन् ।

अरुन्तुदं परुषं तीक्ष्णवाचम्

    वाक्कण्टकैर्वितुदन्तं मनुष्यान् ।

विद्यादलक्ष्मीकतमं जनानां

    मुखे निबद्धां निर्ऋतिं वहन्तम् ।।

जो स्वभावैले कठोर छ, जो अर्काको मर्मस्थलमा प्रहार गर्दछ, कटुवचन बोल्दछ, कठोर वचनरूपी काँडाले अर्काको मुटु छेड्दछ, त्यस्तो व्यक्ति अत्यन्त दीन हीन र लक्ष्मीहीन, दरिद्र अनि अभागी रहेछ भनेर बुझ्नू । किनभने त्यस्ता व्यक्तिले कटुवचनका रूपमा आफ्नै जिभ्रामा अनिष्टकारिणी  पिशाचिनीलाई बोकेर हिंडिरहेको हुन्छ ।

सद्भिः पुरस्तादभिपूजितः स्यात्

    सद्भिस्तथा पृष्ठतो रक्षितः स्यात् ।

सदासतामतिवादांस्तितिक्षेत्

    सतां वृत्तं चाददीताऽर्यवृत्तः ।।

तिम्रो जीवन यस्तो होस्, जसलाई साधु पुरुषले सामुन्ने त सत्कार गरोस् नै, पछाडि अपरोक्ष अवस्थामा पनि सदा तिम्रो रक्षण गरोस् । दुष्ट व्यक्तिले भनेका अनुचित कुरा पनि सहन गर्नू, अनि श्रेष्ठ पुरुषहरूका सदाचारहरूको अनुसरण गर्नू र सदा सत्पुरुषोचित आचरणको अभ्यास गर्नू ।

वाक्सायकाः वदनान्निष्पतन्ति

       यैराहतः शोचति रात्र्यहानि ।

परस्य नामर्मसु ते पतन्ति

    तान् पण्डितो नावसृजेत् परेषु ।।

दुष्ट व्यक्तिका मुखबाट कटु वचनरूपी वाणहरू सदा छुटीरहन्छन् जसले आहत बनेको मनुष्य रातदिन चिन्तामा डुबीरहन्छ । ती वाग्वाणहरूले अर्काको मर्मस्थलमा नै चोट पुर्याउँछन् । त्यसैले विद्वान् पुरुषले कसैप्रति पनि त्यस्ता कठोर वाणीको प्रयोग नगरोस् ।

न हीदृशं संवननं त्रिषु लोकेषु दृश्यते ।

दया मैत्री च भूतेषु दानं च मधुरा च वाक् ।।

सबै प्राणीप्रति दया र मित्रताको व्यवहार, दान, अनि सबैप्रति मधुर वाणीको प्रयोग यी तीन कुरा जत्तिको वशीकरण मन्त्र वा मानिसको मन जित्ने सूत्र यो तीनै लोकमा पनि अरु केही देखिंदैन ।

तस्मात् सान्त्वं सदा वाच्यं न वाच्यं परुषं क्वचित् ।

पूज्यान् सम्पूजयेद् दद्यान्न च याचेत् कदाचन ।।

६ देखि १३ श्लोक ८७ अध्याय, आदिपर्व ।

त्यसैले कहिल्यै कठोर वचन नबोल्नू, सदा सान्त्वनापूर्ण मधुर वचन नै बोल्नू । पूजनीय पुरुषहरूको सदा पूजा, आदर सत्कार गर्नू । सदा अरुलाई दिनू, तर कसैसँग केही नमाग्नू ।

भगवान् वेदव्यासमा सविनय वन्दना ।

……..

२०८१ साल श्रावण मासान्त, शुक्रवार,

अक्षरालय ।