
विष्णुप्रसाद आचार्य
१.
कहिलेकाहीँ अलि बढी खुसी दिन्छ जिन्दगीले
निम्ठो मात्र माग्दा पनि झुसी दिन्छ जिन्दगीले
अब चाहिँ दु:ख गए ,सुख आयो भन्यो फुर्क्यो
पलभरमै खुसीको रङ चुसिदिन्छ जिन्दगीले ।
२.
जसरी सुकै बुझून् त्यो मलाई मतलब भएन
दुत्कारून् कि पुजून् त्यो मलाई मतलब भएन
छातासम्म दिएकै हो घनघोर बर्सातको बेला
ओत लागून् कि रुझून् त्यो मलाई मतलब भएन ।
३.
भोलिभोलि भन्दाभन्दै सारा समय घर्केजस्तो
आधी बाटो हिँडेपछि सोही बाटो फर्केजस्तो
आफ्नै अलमल-आलटाल हेर्दा यस्तो लाग्छ अचेल
वयोवृद्ध घण्टाघरले पराकम्पन पर्खेजस्तो !
४.
गर्दन दियो, अहँ! पुगेन भन्छन्
आँखा र मुटु पनि दे न भन्छन्
म भन्छु ,म पनि त बाँच्नुपर्ला!
-“जवाफ लगायो,सहेन भन्छन्”।
५.
कमाएँ भन्नेहरूले नि केही कमाएका हुँदैनन्
रमाएँ भन्नेहरू पनि पटक्कै रमाएका हुँदैनन्
यी सबै भन्ने र सुन्ने कुरा मात्र रहेछन् साथी
रित्तै जान्छन् ,मुठीमा केही समाएका हुँदैनन् ।
मुक्तककार-
विदुर- ५, नुवाकोट



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 









