तीर्थराज अधिकारी

प्रसाद भनेर अभक्ष वस्तु खाँदै खाइँदैन

कागजको फूलमा अत्तर छरेर लाइँदैन

मन्दिरभित्र जाँदा मनै झुकाउनु पर्छ मित्र

मात्र शिर झुकाउँदैमा वरदान पाइँदैन।

X

म अमिन हुँदो हुँ त तिम्रो माया नाप्ने थिएँ

जे दिन्थ्यौ तिमीले मेरा दुवै हात थाप्ने थिएँ

साच्चै नै तिमी मेरो साख्खै भैदिने भए त प्रिय !

समाधिमा बसेर तिम्रै नाम मात्र जप्ने थिएँ।

X

हुन त दागै नभएको मान्छे कतै भेटिदैन

शरीरमा दाग छ भन्दैमा कोही लखेटिदैन

कपडाको दाग त धोएर जान सक्छ मित्र !

चरित्रको दाग भने जिन्दगी भर मेटिदैन।

X

न यो तक्मा जस्तो छातीमा लाउने कुरा हो

न यो उपाधि स्वरुप दिएर पाउने कुरा हो

यो त प्राकृत गुण हो सित्तैमा बन्दैन साथी !

सज्जनता त अन्तर मनबाट आउने कुरा हो।

X

वसन्तले नयाँ पालुवा लिएको हुनसक्छ

बेजोड आँधीले खसालिदिएको हुनसक्छ

झरेको पात भन्दैमा कुल्चेर नहिँड साथी

डालीमा छँदा शितल छहारी दिएको हुनसक्छ ।

X

भगवानले हात्ती बनाए, उसलाई खेल्न झील बनाए

सुन्दर पंछी डाँफे बनाए, मयूर बनाए, चील बनाए

पहाड बनाए, बेसी बनाए, सोचे सारा संसार बनाए

मेरो मात्रै होसै नगरी साह्रै कमजोर दिल बनाए।

X

न उसलाई लाज छ, न सरम छ

न आन्तरिक ताकत छ, न दम छ

व्यर्थै अरुलाई होच्याएर बोल्छ ऊ

जस्को आफ्नै आत्मविश्वास कम छ।

 

पोखरा-१०

हाल-ओहायो, संयुक्त राज्य अमेरिका