नेपालमा लामो समयसम्म सरकारी सेवामा रहेर सेवानिवृत हुनुभएका तीर्थराज अधिकारी हाल ओहाओ, अमेरिकामा हुनुहुन्छ । नेपालमा हुँदा उहाँले विभिन्न कृतिहरूको लेखन एवं प्रकाशन गर्नुभएको पाइन्छ । जूनकिरी (कवितासङ्ग्रह), ऐना (कवितासङ्ग्रह), तीन लय तेह्र गीत (गीतिसङ्ग्रह), झटारो (मुक्तकसङ्ग्रग), झटारो (अङ्ग्रेजी अनुवाद), यो कस्को हात ? (कवितासङ्ग्रह), बिरिमफुल (मुक्तकसङ्ग्रह), जुनका टुक्राहरु (मुक्तकसङ्ग्रह, नेपाली -अङ्ग्रेजी), सिडी, लमजुङको सम्झना,  सिडी, माया अमेरिकाबाट उहाँका प्रकाशित कृतिहरू हुन् ।

तीर्थराज अधिकारी, साहित्यमा एक सुपरिचित नाम भए तापनि मुक्तकसाहित्यमा भने उहाँको नाम विशेष किसिमले लिने गरिन्छ । उहाँलाई “मुक्तकमणि” भन्ने गरिन्छ । मुक्तक लेखनमा उहाँको महत्त्वपूर्ण योगदान छ । अधिकारीका मुक्तकहरू पाठकहरूबाट अति नै रुचाइएका छन् ।

प्रस्तुत छ, विश्वराज अधिकारीले तीर्थराज अधिकारीसँग लिएको अन्तरवार्ताको सम्पादित अंशः

 

साहित्य के हो ? मुक्तक र कविताबीच के अन्तर छ ? साहित्यमा कविको दायित्व विषयमा प्रकाश पारिदिनुहाेस् न ।

कुनै लेखन वा पङ्क्तिहरूबाट जिन्दगीलाई स्पर्श गर्नु नै साहित्य हो । साहित्यलाई हामीले पानी जस्तै निर्मल बनाउनु पर्दछ, जस्तो पानी जस्ले पिउँछ उसैको तृष्णा मेटिन्छ, त्यस्तै साहित्य पनि जसले पढ्यो उसैको जीवन बोल्नु पर्दछ । यदि कुनै साहित्यकार आफ्नो भाषाको आग्रह गर्दछ भने ऊ आफ्नो सारा स्मृति तथा संस्कारको आग्रह गर्दछ, स्वतन्त्र राष्ट्रको आफ्नो भाषामा विशुद्ध अस्मिता बाँचेको हुन्छ ।

तीर्थराज अधिकार

भनिन्छ, मानव चेतनाको वाणी नै साहित्य हो, आधुनिकता समयसापेक्ष माग हो । साहित्य विशिष्ट मानसिकताको उपज हो । साहित्यमा नवीनता आउन भाषामा विचलन आउँछ । साहित्य मनोरञ्जनको लागि पढिन्छ भने शास्त्र ज्ञानको लागि । साहित्यले हार्दिकता दिन्छ भने शास्त्रले बौद्धिकता । कवि केवल आफ्नो लडाइँमात्र लड्दैन, न त आफ्नै मात्र कथाव्यथाको लेखाजोखा गर्दछ । कवि त बिउँझन्छ, हिँड्छ हर घडी हर पल नजिक वा टाढा हर मौसम, हरेक सम्बन्धको भाग र गुणाको साथ, इतिहासको फैसला र फासलाको साथ । साहित्यकार आफ्नो भूमिकाबाट कदापि विचलित हुँदैन । अब रह्यो कुरा कविता र मुक्तकको सम्बन्ध । मुक्तक काव्य कविताको एक सूक्ष्म रूप हो जसमा प्रबन्धकीयता हुँदैन । यो आफैँ स्वतन्त्र रहन्छ ।  अर्थात् मुक्तक काव्यको त्यो विधा हो जसमा कुनै कथानकको पूर्वापर सम्बन्ध रहँदैन, स्वपूर्ण हुन्छ ।

मुक्तक लेखनको कुनै सिद्धान्त छ ?

मुक्तक चार पदको रचना हो,जसको पहिलो, दोस्रो र चौथो पद तुकान्त र तेश्रो पद अतुकान्त हुन्छ । मुक्तकको केन्द्रविन्दु अन्तिम दुई पङ्क्तिमा रहन्छ । मुक्तक यस्तो रचना हो जसले आफ्नो अर्थ आफैँ लगाउँछ । अन्य कुनै पनि सहयोगी साधनको भर पर्नु पर्दैन । यो देख्नमा सानो, मर्मस्पर्शी र चोटिलो हुन्छ । त्यसैले मुक्तकलाई तिखो र प्रहारिलो भन्ने गरिन्छ ।

मुक्तकका चारै पङ्क्ति पढेपछि यसको अर्थ लगाइरहनु पर्दैन, आफैँ प्रष्ट भैहाल्छ । प्रथम पङ्क्तिले विषय प्रवर्तन (भाव विचारोद्घाटन), द्वितीय पङ्क्ति प्रवर्तित वा उद्घाटितले भाव विचारको संवर्द्धन गर्दछ भने तेस्रो पङ्क्तिले एउटा सोपान तयार गर्दछ र चौथो पङ्क्ति पूरा मुक्तकको प्राण बन्दछ । यही चौथो पङ्क्तिलाई प्राण दिन अरु तीनवटा पङ्क्तिले तयारी गरेका हुन्छन् ।

जस्तै-
न रोएर मुक्तक बन्दो रहेछ,
न धोएर मुक्तक बन्दो रहेछ ।
बाँधेर होइन भित्री मनलाई,
फोएर मुक्तक बन्दो रहेछ ।

यहाँलाई मन परेको क्षेत्र कुन हो ? अर्थात् कविता वा मुक्तक ?

अन्तर्वार्ताकारः विश्वराज अधिकारी

मुक्तकको उत्तमता र अनुत्तमता फेला पार्न बुद्धिको प्रयोजन खासै रहँदैन । एउटा सुन्दर मुक्तक पाठक वा श्रोताको मनोवेग उत्तेजित पार्न प्रयाप्त हुन्छ । यसले पाठकको उच्छवासित जीवनमा एउटा नयाँ अङ्ग स्थापित गरिदिन्छ । जीवनलाई उन्नत बनाउँछ । उत्कृष्ट तथा अलौकिक आनन्दसित परिचित गराउँछ । कुनै पनि मुक्तकको शिष्टता, सरलता र मारक क्षमताले पाठकलाई सहज बनाउँछ । एक सानो मुक्तकमा पूर्ण भाव समाहित हुन्छ । गुम्फित हुन्छ । र अभिव्यक्तिको शैली पनि अति प्रभावपूर्ण हुन्छ । यसैले गर्दा कुनै साहित्य सम्मेलन वा साँस्कृतिक प्रदर्शन हुँदा आरम्भमा नै कुनै आकर्षक मुक्तक वाचन गरेर सुरुवात गर्ने प्रचलन रहेको थियो जसले गर्दा आमन्त्रित महानुभावहरुको ध्यान आकर्षण गरोस् । यिनै कारणले गर्दा म स्वयम् पनि मुक्तक विधासित आकर्षित भएको हुँ ।

मुक्तकलाई परिभाषित गर्नुपर्दा के भन्नुपर्ने हुन्छ ?

“शब्द र अर्थको बीचको भाव नै मुक्तक हो।” प्रबन्ध काव्य एक वनस्थली हो भने मुक्तक एक फूल गुच्छा भनिन्छ । मुक्तक काव्यको यस्तो विधान छ जसमा कुनै कथाको पूर्वापर सम्बन्ध हुँदैन, प्रत्येक बनावट आफैँ पूर्णत स्वतन्त्र र सम्पूर्ण अर्थ दिन सक्ने हुन्छ । वास्तविक मुक्तकमा जीवनको कुनै रूप वा प्रकृतिको कुनै पक्ष विशेषको चित्रमात्र उपस्थित हुन्छ । कुनै मार्मिक दृश्य वा अनुभूतिलाई सफलतापूर्वक प्रस्तुत गरिएको रचनालाई मुक्तक भनिन्छ । कौशलतापूर्वक सृजन गरिएको स्वयंमा पूर्ण, अपेक्षकृत लघु रचनालाई मुक्तक भनिएको छ । ”मुक्तकंश्लोक एबैकश्चमत्कारक्षमःसताम्”, अर्थात् चमत्कार पूर्ण क्षमता राख्ने एउटा श्लोकलाई मुक्तक भनिन्छ ।

नेपालको मुक्तक जगत् अहिले सुरक्षित हातमा पुगेको छ । गम्भीर र सम्प्रेषण युक्त मुक्तकहरु आउन थालेका छन् । पुरानो वर्जना (पावन्दी) तोडेर नयाँ आयम थपिएका छन् । यो पुस्ताले मुक्तकको सृजनामा बुद्धिको भन्दा हृदयलाई बढी महत्त्व दिएका छन् । नेपाली मुक्तक संहिताबद्ध नहुँदासम्म सबै प्रकारका छोटा छोटा कविता पनि मुक्तक भनिए । तर हाल नेपाल मुक्तक प्रतिष्ठान स्थपना भएर सबै मुक्तकको बनावटमा पनि संहितीकरण भैसकेको छ ।
मुक्तकका विशिष्ट गुणहरुः-

(१) काव्यको एक लघु परिक्षेत्र हो।

(२) साहित्यमा काव्यको एक विशिष्ट विधा हो । यसको विशिष्टता यसकै पूर्णतामा हुन्छ ।

(३) “मच धातुमा “कन प्रत्यय लागेर मुक्तक शब्दको व्युत्पत्ति भएको हो ।

(४) मुक्तकलाई चोइटा, टुक्रा,झुल्का,उद्वेग,ठून्का,चुड्का,छिर्का,झड्का,केस्रा ,मट्याङ्ग्रा आदि नामले पनि पुकारिन्छ ।

(५) जुन वाक्यांश पढ्दा पाठकको अन्तस्करणमा रस-सलिला प्रभाहित हुन्छ त्यही मुक्तक हो ।

(६) जब एक पद अर्को पदसँग मुक्त रहन्छ अनि मुक्तक हुन्छ ।

मुक्तक लेख्नका लागि अन्य साहित्य (पुस्तकहरू) पनि पढ्नु पर्छ कि केवल अनुभव मात्र प्रस्तुत गरे हुन्छ ?

निरन्तर साधनारत हुँदा लेखनमा परिपक्कता विकसित हुन्छ । आफ्नो वरपरको जीवनबाट प्रेरणा लिनु अति आवश्यक छ । जीवनमा अध्यायन, विचार विमर्श, अनुभव र यात्रा मुक्तक वा कविता रचनाका महत्त्वपूर्ण सामाग्री हुन् । जति जति अध्यायनको दायरा फराकिलो बनाउन सक्यो उति नै लेखनमा प्रवीणता निखरित हुँदै जान्छ ।

मुक्तक किन बढी अर्ति उपदेशतिर केन्द्रित रेहको पाइन्छ ?

कुनै पनि कविको आत्माभिव्यक्ति चाहे त्यो मुक्तक होस् वा कविता, सृजन र प्रकृति फरक हुनसक्छ, आकार फरक हुन सक्छ, प्रस्तुति फरक हुन सक्छ, पहुँच र प्रभाव फरक हुन सक्छ तर आफ्नो परिवेशको प्रभाव साहित्यमा परेकै हुन्छ । आफ्नो जीवनसम्बन्धित भोगाइ नै मुक्तक रचनाको सामाग्री हुन सक्छ । आन्तरिक प्रेरणा, स्वविचार, अनुभव, आरोह अवरोह, दुःख तथा निराशाको झलक मुक्तकमा प्रतिबिम्बित हुन्छ नै । युवा पिँढीका रचनामा अनुराग, वयस्कका रचनामा लहर र प्रौढहरुको रचनामा यथार्थ झल्किएको हुन्छ । सीर्जना आन्तरिक अनुभूतिको अभिव्यक्त रुप हो ।

मुक्तकलाई व्यङ्ग्य भन्न सकिन्छ ?

भनिन्छ, “व्यङ्ग्य मानव सहानुभूतिबाट उत्पन्न  हुन्छ र यसले मानिसको जीवनलाई उत्तम बनाउने उद्देश्य राखेको हुन्छ” । व्यङ्ग्य सार्थक र परिपक्क हुनु जरुरी छ । गहन मानवीय संवेदना, विसङ्गति, बिडम्वनाले निम्त्याएको खाडलबाट उम्रिएको विषय हो, व्यङ्ग्य । तसर्थ मुक्तकमा व्यङ्ग्य समावेश हुँदा संवेदनशीलता, विसङ्गतिप्रति असन्तोष र फलदायी परिवर्तनको अपेक्षा गर्न सकिन्छ । सबै मुक्तकहरु व्यङ्ग्यात्मक हुन्छन् भन्ने सोचाई भ्रममात्र हो ।

आजभोलि मुक्तकभन्दा लघुकथा लोकप्रिय भएको हो ?

विशेषत, बाल मनोभवना आकर्षित हुने एउटा माध्यम लघुकथा पनि हो । हुन त रामायण तथा महाभारत ग्रन्थ पनि लघुकथाहरुको सङ्ग्रह हो भन्ने प्रसङ्ग पनि उठ्न थालेको छ । पौराणिक कथा वा आख्यानले बालमस्तिष्कलाई सहजै प्रभाव पार्दछ । यसको अतिरिक्त वर्तमान कम्प्यूटर युगमा लामा तथा भद्दा सामाग्रीभन्दा छोटा र मिठा लघुकथाहरु प्रासङ्गिक बन्दै गइरहेका छन् । अर्कोतर्फ साहित्यमा प्रबन्ध काव्य वा लामा आकारका कविताभन्दा मुक्तक विधाले ठाउँ लिँदै आएको छ । वर्तमान समयमा मुक्तकको महत्त्व बढ्दै गएको भान हुन्छ । मुक्तक यस्तो विधा हो, कवि सम्मेलन, फेसबुक, कुनै सभा सम्मेलन, वनभोज, पार्टी अत्रतत्र मुक्तकको वर्चस्व बढ्दो छ । कुनै सभामा श्रोतालाई आकर्षित गर्न चोटिला मुक्तकको प्रयोग गरिन्छ । सफलतापूर्वक सिर्जना गरिएको मुक्तकले श्रोताको मनमस्तिष्कमा एउटा उच्छवास पैदा गर्दछ । तुलनात्मक रूपमा हेर्दा मुक्तक र लघुकथाले समाजमा आआफ्नो प्रतिष्ठा कायम गर्दैआएको आभास पाउन सकिन्छ ।

मुक्तक पढ्ने कुनै खास समूह छ जस्तै, उमेर, शिक्षा, मनोविज्ञान ?

मुक्तक यस्तो काव्य विधा हो जुन विश्वभरमा नै सर्वाधिक लोकप्रिय भएको छ । मुक्तक लेखनमा आदर्श, उपदेश, मायाप्रिति, अनुराग, दर्शन आदि विषय समेटिने हुँदा सबै उमेर समूहका पाठकहरु मुक्तकसँग जोडिएको महसुस हुन्छ । मुक्तकको वर्चस्व सर्वत्र देख्न सकिन्छ ।

लघुकथाभन्दा मुक्तक कम लेखिने गरेको हो ?

वास्तविक कुरा गर्दा लघुकथा मइक्रोस्कोपिक दृष्टिको उपज हो । यो कथाको छोटो अंश होइन, कथा नै छोटो हो । वर्मान विश्वको विद्यूतीय रफ्तारले अनुत्पादक क्षेत्रमा अधिक समय खर्च गर्ने धेरैको मनसाय हराउँदै गएको भेटिन्छ । यसै परिप्रेक्ष्यमा लघुकथाको पठनपाठन लोकप्रिय हुन पुगेको ठान्दछु । यस्तै मुक्तक पनि कविताको सूक्ष्म रुप हुनु , अभिव्यक्तिमा प्रभावकारिता र चोटिलो तथा प्रहारिलो प्रकृतिको हुँदा युवा वर्गमा फराकिलो आयतन स्थापित गरेको छ । खास गरेरभन्दा मैले वास्तविक मापन त गरेको छैन तैपनि मुक्तक लेखनमा शिथिलता आएजस्तो लाग्दैन ।

अनुभव र लेखन दुबै किसिमले अग्र पङ्कतिमा रहनुभएको आधारमा साहित्य साधनारत नयाँ पिढीलाई केही भन्न चाहनु हुन्छ ?

एउटा साहित्यकार वैचारिक रुपबाट प्रतिबद्ध हुनै पर्दछ । वैचारिक प्रतिबद्धताले लेखकीय स्वतन्त्रतामा कुनै आँच आउँदैन । यदि कुनै साहित्यकार आफ्नो भूमिकाको पालना गर्दछ भने उसको विचार सबै सभ्य समाजको लागि सहज रुपमा ग्राह्य हुन जान्छ । अन्यथा लेखकीय स्वतन्त्रतामा प्रतिघात उत्पन्न हुने सम्भावना बढेर जान सक्दछ ।

साहित्यकारले सामाजिक न्याय,आस्था ,विश्वास एवं दर्शनको हस्तान्तरण गर्दैआएको हुन्छ । ऊ कहिल्यै पनि आफ्नो भूमिकाबाट चिप्लिएको हुँदैन । यसकै निरन्तरता स्वरुप वर्तमान समयका साहित्यकारहरु समाज र राष्ट्रको सच्चा पहरेदार बनेर सुदृढ समाज निर्माणमा समर्पित हुन सकेका देखिन्छन् ।

साहित्यमा पहुँच र प्रभाव दुई कुराको ठूलो महत्त्व रहेको हुन्छ । सानो सङ्ख्यामा रहेका भाग्यमानी साहित्यकारहरुलाई छाडेर अधिकांश साहित्यकारहरुको भावना र विचार पाठकसमक्ष पुग्न सकेका हुँदैनन् । थोरैले मात्र सरकारी तथा सञ्चार माध्यमको मलजल पाएका हुन्छन् । सबैले समानरूपमा सहुलियत पाउन नसके पनि केवल हौसला मात्र पाए पनि, रोयल्टी र सरकारी सहायता नभए पनि आफ्नो कटिबद्धता हराउने थिएन । बजार खोज्दै हिँड्नुपर्ने अवस्था आउने थिएन । आफ्ना सृजना बाकसमा बन्द गरेर राख्न मन लाग्ने थिएन ।

हाम्रो समाजमा प्रबुद्ध पाठकको एउटा जमात तयार भैरहेको अवस्था छ । शब्दहरू खतराको मापदण्डबाट छुटकारा पाइरहेछन् । यस घडीमा प्रत्येक शब्दबाट स्वर निस्कनु पर्दछ । कविता सत्य र सुन्दरताको बयान हो । साहित्य आन्तरिक अनुभूति र संवेदनाको अभिव्यक्त रुप हो । मान्छेका आन्तरिक भावहरु समान हुन्छनन् । प्रकट गर्ने, महसुस गर्ने र सोच्ने तरिका फरक भए पनि घृणा, मोह, प्रेम र वात्सल्यता जस्ता भाव मानव जातिमा समान रुपमा पाइन्छ । तसर्थ साहित्यको मूल भाव पनि समान छन् । हाम्रा भावनाहरु पनि समान छन् ।

यहाँको चर्चित मुक्तकसङ्ग्रह ‘बिरिमफुल’ को माध्यमबाट कुनै खास किसिमको सन्देश दिने उद्देश्य राख्नुभएको छ ?

कविको संवेदनशीलता पाठकको संवेदनशीलताभन्दा केही अगाडि हुनु पर्दछ । साहित्य अभिव्यक्त मात्र हुँदैन यो सम्प्रेषित पनि हुन्छ । जहिलेसम्म साहित्य पाठक वर्गसम्म पुग्दैन तबसम्म अधुरो रहन्छ । पाठक वर्गले सहज अनुभूत गर्न सक्ने साहित्य नै खास साहित्य हो । कविले केवल कविताको लागि मात्र लेख्नु हुँदैन । कविता समाजको लागि लेखिनु पर्दछ । मानवताको लागि लेखिनु पर्दछ । समाजभित्र प्रिय कविता सङ्कलन गर्नु पर्दैन, आफैँ सङ्कलित हुन्छ । कहिलेकहीँ आफैँले बनाएको घर बाहिरबाट हेर्न जरुरत पर्दछ । त्यस्तै कहिलेकहीँ साहित्यिक जगत्लाई गैह्रसाहित्यिक आँखाले हेर्न जरुरत हुन्छ । अन्याय, भेदभाव र कुरीतिको विरुद्ध लेखिएको साहित्य जनप्रिय हुन्छ ।

 मुक्तक नेपालको मौलिक विधा हो वा ऊर्दूमा लेखिने शेर वा गजलको नेपाली रुप हो ?

मुक्तक शब्दको सुरुवात संस्कृत भाषाबाट भएको हो । यद्यपि रुबाई शैली भने फारसी, अरवी, हिन्दी हुँदै नेपालीमा अवतरण गरेको हो । नेपालीमा मुक्तकको सुरुवात १८३९ सालतिर शक्तिबल्लभ अर्ज्यालले गरेको भन्ने देखिन्छ । त्यसपछि मोतिराम भट्टको नाम आउँछ । नेपाली साहित्यकाशमा २०३० सालपछि मुक्तक रचनामा निकै नै प्रचुरता आएको देखिन्छ । यस अवधिमा कृष्णप्रसाद पराजुली, भूपि शेरचन, हरिभक्त कटुवाल, यादव खरेल, ज्ञान उदास, ज्ञानु वाकर पौडेल, तीर्थ श्रेष्ठ, सरुभक्त आदि कविहरु सक्रिय रहे । साँच्चैभन्दा मुक्तकको श्रीवृद्धिमा अग्रिम कलम चलाउनेहरुमा लेखनाथ पौडेल, केदारमान व्यथित, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, भीम दर्शन रोका, सिद्धि चरण श्रेष्ठ, माधव घिमिरे, रत्न शम्शेर थापा, टेक बहादुर नवीन आदि हुन् ।

मुक्तकको, परिचय, प्रकार, प्रवृत्ति र प्राप्तिको विषयमा व्यापक जानकारी गराउनेमाथि उल्लेखित नामहरुको अतिरिक्त मात्सुओ वासोले जापानमा हाइकुको विकास गरेको पाइन्छ । संस्कृत साहित्यमा भर्तृहरि र अमरुक (सातौँ, आठौँ शताब्दी) ले विकास गरेको पाइन्छ । यसैगरी फारसीका विद्वान् उमर खैयाम (११ शताब्दीका) ले विकास गरेको पाइन्छ । ब्रिटिश लेखक फिट्जजेराल्डले १८ औँ शताब्दीमा खैयामका रुबाईहरू (मुक्तकहरु) अङ्ग्रेजीमा अनुवाद गरेर मुक्तकलाई विश्व प्रसिद्ध बनाए । भरतमा हरिवंश राय वच्चनकृत “खैयामकी मधुशाला” अति प्रशिद्ध तथा लोकप्रिय भएको छ । मैथिली शरण गुप्ताले पनि खैयामको रुबाईको अनुवाद गरेका छन् ।

केही तथ्यगत जानकारी

(क) पहिलो पुस्तकाकार मुक्तकसङ्ग्रह “चोइटा” (२०१६ साल) हो र यसका लेखक टेकबहादुर नवीन हुन् ।

(ख) पहिलो अङ्ग्रेजीमा अनुदित मुक्तकसङ्ग्रह “झटारो” हो र यसका लेखक तीर्थराज अधिकारी हुने भने अनुवादक भोजराज न्यौपाने हुन् ।