बहुआयामिक व्यक्तित्वका धनी मुक्तकमणि तीर्थराज अधिकारी (२००१) को ‘साधनाको स्वर्ण वर्ष : मुक्तकमणि तीर्थराज अधिकारी’ २०७८ सालमा प्रकाशित भएको देखिन्छ । समालोचना विधाको रूपमा प्रकाशित यस ग्रन्थ पठनीय र संग्रहणीय भएको पाइन्छ । यसलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समिति, अमेरिकाद्वारा प्रकाशकको भूमिका निर्वाह गरिएको देखिन्छ । यसको सर्वाधिकार पनि अनेसासले नै ग्रहण गरेको पाइन्छ । यस कार्यले अनेसासको गरिमालाई अझ उच्च बनाउन सफल भएको देखिन्छ । असफल गौतम र कल्याण पन्तद्वारा सम्पादित यस कृति १,१११ प्रति छापिएको छ । यसमध्ये सादा कभरको मूल्य ५५० र हार्ड कभरको मूल्य १,१०० राखिएको छ भने विदेशमा २५ डलर कायम गरिएको छ । विषयवस्तु, गहनता, र साहित्यिक उचाइ प्राप्त गरेको ४८० पृष्ठको गुणस्तरयुक्त ग्रन्थको मूल्य सान्दर्भिक देखिन्छ । यस कृतिको प्रकाशन सहयोगीका रूपमा स्रष्टा तीर्थराज अधिकारीकी सुख र दुःखको सहयात्री तथा जीवन संगिनी सीतादेवी अधिकारीले आफ्नो उदारमना स्वभावलाई प्रस्तुत गरेकी छन् । यस ग्रन्थको ISBN नम्बर 9789937-0-9124-4 रहेको छ ।

सर्वप्रथम किताबको आवरणको चर्चा गरौं । आवरण ज्यादै आकर्षक देखिन्छ । किताबको नाम ‘साधनाको स्वर्ण वर्ष : मुक्तकमणि तीर्थराज अधिकारी’ राखिएको छ । केन्द्रमा मुक्तकमणिको आकर्षक तस्बिर देखिन्छ । तस्बिरको वरिपरि निलो रङको घेरा बनाइएको छ । अन्तिममा सम्पादक द्वय असफल गौतम र कल्याण पन्तको नाम उल्लेख भएको देखिन्छ । स्रष्टा अधिकारीको ठुलो तस्बिरले उनको व्यक्तित्वलाई राम्रोसँग उजिल्याउन सफल भएको पाइन्छ । शिरमा सगरमाथा हिमालको प्रतिकको रूपमा रङ्गीचङ्गी ढाकाटोपी शोभायमान भएको देखिन्छ । निधारको बिचमा छाला खुम्चिएर एउटा लामो तेर्सो धर्रा पर्नुको साथै आँखिभौं र परेलाका रौंहरू केही मात्रामा पातलिदै गएको पाइन्छ । अनुहार हेर्दा प्रष्ट रूपमा चारवटा काला कोठीहरू देखिन्छन् । देब्रे आँखाको आँखीभौँ र परेलाको बिचमा एउटा कोठी, दाहिने आँखाभन्दा तल र गालाको माथिल्लो भागमा एउटा कोठी, दाहिने कानको लोती नजिकै गालामा अलि ठुलो डल्लो परेको कोठी र देब्रे कानको माथिपट्टि चश्मा अड्याउने ठाउँ नजिक केही मात्रामा ठुलो कालो कोठी प्रष्ट देखिन्छ । मझौला खालको दुवै कानको बिचमा झुसिले रौं र टाउकोमा तिल र चामल जस्तो देखिनलागेको छोटो कपालले आकर्षण थपेको छ । दारी काटेझैँ जुँगालाई पनि सिनित्त पारेर काटिएकोले अनुहार झन् सफा र उज्यालो बनाएको देखिन्छ । लाम्चो र गहुँगोरो अनुहारमा पावरवाला चस्मा, चुच्चो नाक, मन्द मुस्कानयुक्त ओठ, जीवनप्रति सकारात्मक सोच र दूरदृष्टि राखेर सुन्दर भविष्यको कल्पना गर्दै हेरिरहेका दुइटा आँखाहरूले चमकता थपेका छन् । निलो, कालो र खैरो मिश्रित रङको कोट, सेतो कमिजमा मसिना चारपाटेयुक्त धर्सा, खैरो टाइमा मसिना सेतो रङका थोप्लाहरूले आकर्षण थपेको देखिन्छ । समग्र रूपमा स्रष्टा अधिकारीको बहुआयामिक व्यक्तित्वलाई यस तस्बिरले राम्रोसँग न्याय गरेको पाइन्छ ।

यस ग्रन्थका सम्पादकद्वयको भनाइअनुसार ‘साधनाको स्वर्ण वर्ष : मुक्तकमणि तीर्थराज अधिकारी’ ग्रन्थलाई पठनीय बनाउने क्रममा लेख रचना स्रष्टाका विचार भएकाले हामीले स्रष्टाको भावनामा आँच आउने कुनै काम गरेका छैनौं । प्राप्त रचनालाई अग्रजहरूको सल्लाह, सुझावलाई मनन गर्दै विविध भावभूमिका लेख, रचना, अनुभूति र अनुसन्धानलाई विभिन्न खण्डमा विभाजन गरिएको कुरा उल्लेख भएको पाइन्छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ले स्रष्टा तीर्थराज अधिकारीको प्रस्तुत कृतिले नेपाली साहित्यको विकास र उन्नयनमा नयाँ आयाम थपोस् भन्ने शुभकामना दिएका छन् । नेपालको चितवन जिल्लामा जन्मेर जापानको योकोहामा सहरलाई कर्मक्षेत्र बनाएका प्रकाश पौडेल ‘माइला’ले आदरपूर्वक उल्लेख गरेका छन्– ‘होमनाथ सुवेदीको उपन्यास ‘द्यौराली’बाट सुरु भएको प्रकाशन यात्राले उपन्यास, कवितासङ्ग्रह, पत्रसाहित्य र बालसाहित्यलगायत दर्जनौं कृति प्रकाशित गरिसकेको छ । यसै कडीमा तीर्थराज अधिकारीको व्यक्तित्व एवम् कृतित्वको समग्र लेखाजोखा विविध स्रष्टाबाट लेखिनुले प्रकाशनमा नयाँ विधाको सुरुआत भएको छ । अब प्रवासमा रहेर साहित्य साधना गरिरहनु भएका स्रष्टाका विषयमा पनि यस किसिमका पुस्तक प्रकाशन सुरु हुनेछन् ।’ अनेसासका केन्द्रीय अध्यक्षबाट यस किसिमको विचार प्रकट हुनु नेपाली साहित्यको लागि खुशीको कुरा भएको छ ।

यस ग्रन्थलाई सात खण्डमा विभाजन गरिएको छ । ‘खण्ड एक’ शोध अनुसन्धानमा केन्द्रित रहेको देखिन्छ । जसलाई त्रिभुभव विश्वविद्यालयको नेपाली स्नोतकोत्तर स्तरको एउटा पत्रको प्रयोजनका लागि सुरेश बरालले शोधपत्र तयार गरेको देखिन्छ । यस शोधपत्रले नै यस ग्रन्थको प्रकाशनको लागि मलिलो माटोमा बिउको रूपमा भूमिका निर्वाह गरेको पाइन्छ । जसले गर्दा मुक्तकमणि तीर्थराज अधिकारीको समग्र जीवन र साधनाको साथै व्यक्तित्व तथा कृतित्वको विषयमा अन्य महत्त्वपूर्ण लेख र अनुसन्धानात्मक रचनाहरू सङ्कलन गर्न ठूलो टेवा पुगेको देखिन्छ ।

‘खण्ड दुई’ जीवनी र व्यक्तित्व झल्कने खालका सातवटा लेखहरू रहेका छन् । ‘खण्ड तीन’मा कृति विवेचना र प्रवृत्ति राखिएको छ । ‘खण्ड चार’मा संस्मरण र अनुभूति रहेको छ । यसमा धेरै लेखहरू अटाएका छन् । यसैगरी ‘खण्ड पाँच’मा संवाद राखिएको छ । यसले पनि मुक्तकमणिको धारणा बुझ्न मर्मज्ञ पाठकहरूलाई सजिलो बनाएको देखिन्छ । ‘खण्ड छ’मा अङ्ग्रेजी साधना रहेको छ । ‘खण्ड सात’ लाई परिशिष्ट शीर्षक दिइएको छ । यसको ‘परिशिष्ट क’ मा पारिवारिक रेखाचित्र, जन्मकुण्डली, वैयक्तिक शब्दचित्र, योग्यता, अनुभव र सम्मानका प्रतिलिपि राखिएको छ भने ‘परिशिष्ट ख’ मा पारिवारिक, उमेरजन्य र साहित्यिक छायाछवि अर्थात् तस्बिरहरू राखिएको देखिन्छ । यस ग्रन्थको सिंहावलोकन गर्दा सबै खण्डहरू रोचक भएको पाइन्छ ।

यस ग्रन्थमा समेटिएका विभिन्न किसिमका उत्कृष्ट लेखहरू तीनवटा भाषामा लेखिएका छन् । कतिपय लेखकहरूले एक पृष्ठको छोटो लेख लेखेको देखियो भने कसैले धेरै लामा लेखहरू प्रस्तुत गरेको देखिन्छ । यसमा विभिन्न किसिमका लेखकहरूद्वारा नेपाली भाषामा लेखिएका ८४ वटा, हिन्दी भाषामा एउटा र अङ्ग्रेजी भाषामा लेखिएका ८ वटा लेखहरू समेटिएको देखिन्छ । तसर्थ यस ग्रन्थमा ९३ वटा लेखहरू समेटिएको पाइन्छ ।

मुक्तकमणि तीर्थराज अधिकारीको व्यक्तित्व र कृतित्वमा आधारित यस ग्रन्थले उनको जीवनका विभिन्न पक्ष र साहित्यिक कृतिहरूको परिचय, दृष्टिकोण, सन्देश र योगदानको बारेमा जानकारी दिन सफल भएको देखिन्छ । नेपाली साहित्यकै क्षेत्रमा यो ग्रन्थ एउटा महत्त्वपूर्ण प्राप्तिको रूपना ग्रहण गर्नु हामी सबैको कर्तव्य हुनआउँछ । प्रायःजसो सबै लेखहरू पठनीय र मननीय छन् ।

लमजुङ जिल्लाको प्राकृतिक दृष्टिले सुन्दर गाउँ दुराडाँडा चन्द्रेश्वर–७ देवतापानीका पिता नारायणप्रसाद अधिकारी र माता रुक्मिणा अधिकारीका कोखबाट २००१ साल कार्तिक १२ गते शनिवार तीर्थराज अधिकारीको जन्म भएको हो । तर चिनामा लेखिएको जन्ममिति प्रयोगमा नल्याइ औपचारिक रूपमा उनको जन्ममिति २००३ साल कार्तिक ३० गते उल्लेख भएको देखिन्छ । उनका पिता नारायणप्रसाद जिम्वालको रूपमा लोकप्रिय थिए । मध्यम परिवारका कवि तीर्थराज सानै उमेरदेखि नै तीक्ष्ण बुद्धिका थिए । ज्यादै चलाख भएकै कारण उनले विद्यालयमा अध्ययनरत रहँदा परीक्षामा राम्रो नम्बर ल्याउँथे । सानै उमेरमा उनले  कविता रचना गर्न सिकेका थिए । त्यसैले त उनले तीर्थराज ‘आँकुरा’ उपनाम पनि राखे । तर त्यस उपनामलाई उनले निरन्तरता दिएको देखिदैन ।

सिकारु कवि तीर्थराज अधिकारी १५ वर्षको किशोरावस्थामा नै राजनीतिक मुद्धा लागेर तत्कालीन सरकारले लमजुङको सदरमुकाम कुन्छाको कारागारमा छ महिनासम्म थुनेर राखेको इतिहास छ । त्यस अवस्थामा केहिलेकाहीं हतकडी र नेलसमेत लगाएर चिसो छिडीमा सुताएको घटना सुन्दा पनि जिउ सिरिङ्ग हुन्छ । उनले गाउँकै विद्यालयमा अध्ययन गर्ने अवसर पाएका थिए । विद्यार्थी नेताको रूपमा चर्चित अधिकारी कुन्छाको कलेजमा अध्ययनरत रहँदा सभापतिसमेत भएका थिए । उनी बिहान कलेजमा अध्ययन गर्दा दिउँसो शान्ति हाइस्कुलमा अध्यापन गर्ने अवसर पनि पाएको देखिन्छ । उनले शान्ति हाइस्कुल कुन्छा, लमजुङ, सर्वोदय माद्यमिक विद्यालय, दुराडाँडा लमजुङ र दोलखा जिल्लाको जिरी बहुउद्देश्यीय हाइस्कुल, जिरीमासमेत गरेर जम्माजम्मी पाँच वर्ष अर्थात् २०२२ सालदेखि २०२७ सालसम्म अध्यापन गर्ने अवसर पाएर अविस्मरणीय अनुभव हाँसिल गरेको देखिन्छ । विद्यालयीय शिक्षणमा उनी दक्ष देखिन्छन् ।

स्रष्टा तीर्थराजलाई यस्तो पनि भन्नेगरिन्छ । जस्तै :

तीर्थराज उमेर पुगेर पनि जुरो नआएको

अवसर पाएर पनि नजोडेको

अभावले होइन स्वभावले दुःख पाएको ।’

कवि तीर्थराजका रचनामा नेपाली जनजीवन, नेपाली हावापानी र माटो, प्राकृतिक सुन्दरता, विसङ्गति विरुद्ध प्रहार, नेपाली संस्कृति, प्रणयभाव, बालमनोविज्ञान र नारी संवेदनालाईसमेत समेटिएको भेटिन्छ । उनमा यत्रतत्र राष्ट्रप्रेम मौलाएको पाइन्छ । मानवतावादी र यथार्थवादी भाव धाराका कवि तीर्थराज अधिकारी मानवमनका भावना र प्रकृतिको चित्रण गर्ने कला भएका स्रष्टा हुन् । उनका रचनामा मातृभूमिप्रति अपार प्रेम र आस्था भएको पाइन्छ । स्वाध्ययनद्वारा नै उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर स्तरको उच्चशिक्षा हाँसिल गर्न सफल अधिकारीले नेपाल सरकारको अधिकृत स्तरको जागिर सुरु गरेर नेपालका विभिन्न जिल्लाका सदरमुकाममा रहेर देश र जनताको सेवामा दत्तचित्त भएर आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गरेको पाइन्छ । विभिन्न जिल्लामा साहित्यिक संस्थाहरू स्थापना गर्न अधिकारीले प्रोत्साहन र अनुकूल वातावरण मिलाइदिएको पनि भेटिन्छ । धादिङ जिल्लामा सेवारत रहँदा आदिकवि भानुभक्त आचार्यको अर्धकदको सालिक निर्माण गराउन पनि अधिकारीकै सक्रियता रहेको पाइन्छ । विभिन्न प्रतिष्ठित साहित्यकारहरूसँगको सामीप्यताले उनलाई साहित्यिक क्षेत्रमा निरन्तर रूपमा लागिरहन प्रेरणा र हौसला प्रदान गरेका छन् ।

सहृदयी स्वभावका अधिकारी जन्मथलो लमजुङको महिमा गाएर कहिल्यै थाक्दैनन् । तीनजना छोरी र एकजना छोराका पिता कवि अधिकारीले जागिरको सिलसिलामा प्राकृतिक दृष्टिले सुन्दर सहर पोखरालाई नै स्थायी बसोबासको क्षेत्र बनाएको देखिन्छ ।

पोखराको कुष्ठरोग विकास योजनामा २०३८ सालमा सरुवा भएका तीर्थराजले कार्यालयको नाम कुष्ठरोग नियन्त्रण आयोजना नामाकरण गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । आइ. एन. एफ (International Nepal Fellowship) को आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यालयका हाकिमहरूले कर्मचारीहरूलाई विभिन्न किसिमको त्रास देखाइरहन्थे । कर्मचारीहरूलाई जागिरबाट निकाल्ने धम्की दिएर थर्काउने गरेकाले कर्मचारीहरू ज्यादै पीडित भएको अवस्थामा सहृदयी स्वभावका तीर्थराज घरपायक सरुवा मिलाएर त्यहाँ पुग्दा धेरै कर्मचारीहरूले राहतको सास फेरेका थिए । पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चलको क्षेत्र आइ. एन. एफ. को आर्थिक सहयोगमा सञ्चालित थियो । त्यहाँ करिव ३०० कर्मचारीहरूलाई आयोजना अवधि भर स्थायी नियुक्ति र सञ्चय कोषकट्टी गर्ने सुविधा पनि तीर्थराज अधिकारीकै पहलमा सम्पन्न भएको थियो । विदेशी र नेपाली कर्मचारीहरूलाई एउटै भवनमा काम गर्ने बन्दोबस्त मिलाउने कार्यमा पनि अधिकारीकै पहल रहेको बुझिन्छ ।

स्रष्टा अधिकारीको विशेषता भनेकै कुनै पनि रोचक विषयलाई थोरै शब्दमा धेरै कुराहरू पाठकको मनभित्र पुग्नेगरी व्यक्त गर्नसक्नु नै रहेको पाइन्छ । नम्र र सहनशील भएर मीठो बोलीमा आफ्नो विचार सूत्रात्मक तरिकाले प्रस्तुत गर्ने कला र दक्षता उनमा भएको पाइन्छ । सहृदयी स्वभावका तीर्थराज सबैको भलो चिताउँछन् । उनका साहित्यिक रचनाहरू वोधगम्य हुन्छन् । त्यसकारण पाठकहरूलाई उनका कविताका प्रवृत्ति बुझ्न सजिलो बनाएको देखिन्छ । उमेरजन्य पाठकहरूको मनोभावनालाई जस्ताको तस्तै रमाइलो तरिकाले प्रस्तुत गर्नसक्नु उनको वैशिष्ट्यता हो । उनका रचनामा परिष्कृत शैली भेटिन्छ । उनले आफ्नो साहित्यिक, सामाजिक, साङ्गठनिक र सांस्कृतिक अनुभवलाई सिर्जनशीलताको कलमले उच्चस्थरको रचना निर्माण गर्न बल पुर्याएको पाइन्छ । उनी जनजीवनका लोकबोली, लोकसामाग्री, स्थानविशेषका नामहरू र जीवनका यावत भोगाइहरूलाई सरल शब्द चयनको माध्यमद्वारा प्रस्तुत गर्न दक्ष देखिन्छन् । कविता, गीत, निबन्ध, मुक्तक र हाइकु रचनामा पनि उनी सिद्धहस्त भएको पाइन्छ । साहित्य सिर्जना गर्दा उपयुक्त शब्दहरूको कुशलतापूर्वक व्यवस्थापन गर्न उनलाई मनपर्छ । साहित्यले पाठकको जीवन बोल्न सकोस् भन्ने दृष्टिकोण राख्ने कोमल हृदय भएका स्रष्टा अधिकारी नियमानुसार आर्थिक र प्रशासनिक कार्य गर्नमा पनि अब्बल देखिन्छन् ।

तनहुँ जिल्लाको चिसापानी चोक सिमलचौरबाट लमजुङको सुन्दर बजारमा बसाइँ सरेका प्रसिद्ध वैद्य श्री रेसराज पोखरेल र श्रीमती कृष्णमाया पोखरेलकी माहिली छोरी सुश्री सीतादेवीसँग कवि तीर्थराजको २०२५ साल वैशाख १८ गते मागी विवाह भएको पाइन्छ । सीतादेवीको जन्म चिसापानी सिमलचौरमा नै भएको थियो । ‘तीर्थराज अधिकारी : जीवनी, व्यक्तित्व र कवित्व’ शीर्षकमा अनुसन्धान गरेका शोधार्थी सुरेश बरालले तीर्थराज अधिकारीले गन्धर्व विवाह गरेको कुरालाई स्वयं साहित्यकार तीर्थराज अधिकारीले खण्डन गरेका छन् । स्रष्टा अधिकारीको दाम्पत्य जीवन अत्यन्त सफल भएको पाइन्छ । दुईजना बीच ज्यादै आत्मीयता भएकै कारण कवि तीर्थराजले आफ्नो इमेल ठेगानाको अगाडि तीर्थराजको त र सीतादेवीको क राखेको देखिन्छ । जीवनको हरेक सुखदुःखमा सहृदयी भएर मन बचन र कर्मले साथ दिने जीवनसंगिनी सीतादेवीको  सहयोगले सफल नागरिक, राष्ट्रसेवक र मुक्तकमणि बन्ने सफलता उनलाई प्राप्त भएको प्रष्ट हुन्छ । साहित्यकार तीर्थराज र सीतादेवीको दाम्पत्य जीवन परेवाको जोडी जस्तै रमाएर बसेको देखिन्छ । त्यसैले त उनीहरू प्रायःजसो जीवनका हरेक सुखदुःख र यात्रामा रथको पाङ्ग्रा जसरी सँगै हिंडेको देख्न पाइन्छ । करुणा र स्नेहकी प्रतिमूर्ति सीतादेवी समाजमा एक कुशल गृहिणी भएका कारण धैर्यताकासाथ सासूससुरा, श्रीमान्, सन्तान र समग्र परिवारको सेवा गर्न सफल भएको देखिन्छ । सकारात्मक सोचका साथ समाजमा असल नारीको परिचय दिइसकेकी सीतादेवी आफ्ना श्रीमान् कवि तीर्थराज अधिकारीलाई  गौरवगर्न लायकको उच्चपदस्थ कर्मचारी, समाजसेवी र साहित्यिक क्षेत्रमा मुक्तकमणि बन्नसक्ने अनुकूल वातावरण बनाउन सक्षम भएकाले उनी धन्यवाद र बधाईको पात्र भएकी छन् ।

शालीन र शिष्ट स्वभावका गीतकार तीर्थराजको वैवाहिक सम्बन्ध सुशील स्वभावकी कन्या सीतादेवीसँग हुनु र जीवनसंगिनीको हैसियतले जीवनका सुखदुःखमा हातेमालो गर्दै धैर्यता कायम गरेर अगाडि बढ्न आवश्यक सहयोग र हौसला प्रदान गरेकी छन् । त्यसकारण कवि तीर्थराजलाई निर्भिकतापूर्वक उद्देश्य प्राप्तिका लागि अगाडि बढ्न सहज भएको पाइन्छ । दैनिक रूपमा सञ्चालन गर्नुपर्ने जीवनका हरेक पक्षहरू र साहित्यिक यात्रामा पनि सधैं सकारात्मक उर्जा प्रदान गर्ने अधिकारीको जोडी नेपाली समाजमा एउटा उदाहरणको रूपमा लिन सकिन्छ ।

साधनाको स्वर्ण वर्ष मनाएका साहित्यकार श्री अधिकारीलाई हरेक दृष्टिकोणले हेर्दा सफल देखिन्छन् । नेपाली भाषा, साहित्य र संस्कृतिको उन्नयनमा अधिकारीको लगनशीलता र योगदान सह्राहनीय भएको पाइन्छ । जीवनका विभिन्न क्षेत्रका व्यक्तिसँग चाँडै घुलमिल हुनसक्ने खुवी उनमा पाइन्छ । मृदुभाषी तीर्थराज कसैसँग रिसाउन जानेनन् । सधैं नम्र भएर बोल्ने बानी भएकाले उनी सबैको प्रिय हुन सक्षम भएको पाइन्छ । जुनसुकै उमेरका मानवीय संवेदनालाई टपक्क टिपेर साहित्यको माध्यमद्वारा अभिव्यक्त गर्नसक्ने कला उनमा भएको देखिन्छ । बालबालिका, किशोर–किशोरी, युवक–युवती र जेष्ठनागरिकको भावनालाई पनि समेट्न उनी सफल छन् । जवानीमा उर्लने विचार र मनोभावनालाई कलात्मक तरिकाले प्रस्तुत गर्न उनी ज्यादै सिपालु देखिन्छन् । उनका कुनै पनि कृति अध्ययन गर्दा पाठकको मनलाई आकर्षण गरेर पढिरहूँ जस्तो बनाउनसक्नु नै उनको अर्को वैशिष्ट्यता रहेको पाइन्छ ।

अत्यन्त मिलनसार कवि अधिकारीका रचनामा श्रृङ्गारिक रस पनि आकर्षक तरिकाले प्रस्तुत भएको देखिन्छ । जवानी अवस्थामा मायालुका प्रेमिल नसालु आँखाका भाकाहरू बुझ्न त्यति सजिलो हुँदैन । यस्तो अवस्थामा नायकले नायिकालाई यसप्रकार आग्रह गरेको पाइन्छ—

आँखाहरूका ती भाखाहरू

बुझ्नै नसकी कति छटपटिएँ

            धारा सरी ती बलिन्द्र आँसु

सुक्दै नसुकी कति तप्तपिएँ ।

मुक्तकमणि अधिकारी अझ परिष्कृत रूपमा जवानी कस्तो रहेछ भन्ने कुरालाई यसप्रकार व्याख्या गर्न सफल भएको देखिन्छ—

उल्टो देख्ने पनि जवानी रहेछ

भीरमा टेक्ने पनि जवानी रहेछ

बल्ल यसबेला आएर होस् पाइयो

बाटो छेक्ने पनि जवानी रहेछ ।

यसक्रममा कविले प्रियशीलाई अनुरोध गर्दै मलाई बास दिनु है भनेर अनुनय विनय गरेको प्रस्ताव यहाँ प्रस्तुत भएको देखिन्छ—

घुम्तीको बाटो धाइ फाल्दै आउँला

पर्खिबस्नु है मलाई बास दिनु है

सुसेली हाली बोलाउँदा तिम्लाई

सुनीदिनु है, भेट हुन दिनु है

मलाई बास दिनु है ।

कवि अधिकारी जताततै शान्ति भएको हेर्न चाहन्छन् । त्यसकारण उनी भन्छन् सम्पूर्ण प्राणीको अशान्ति हटाउन बुद्ध तिमी फेरि जन्म ।

ठूलालाई सत्कार र सम्मान, सानालाई ज्यादै माया गर्ने बानी भएका अधिकारीका कविता सर्वकालिक देखिन्छ । केही वर्ष अगाडि रचना भएको कविता अहिलेको नेपालको वर्तमान अवस्थालाई जस्ताको तस्तै मिलेको पाउँछौं । हामी यसको उदाहरण हेर्नसक्छौं—

वर्तमानमा यहाँ

इमानदारको कुनै लेखाजोखा छैन

अवसरवादीको लीला मच्चिएको छ

खै जनजीवनको समस्या हटेको ?

खै देश निर्माणको योजना ?

खै हटेको बेरोजगार ?

स्रष्टा तीर्थराजमा प्रशस्त मात्रामा व्यङ्ग्यचेत भएको पाइन्छ । उनले ‘लाज नभएको तीर्थे’ कवितामा समाजको विसङ्गतिलाई सटिक तरिकाले झटारो हानेको देखिन्छ—

कपालका रौंहरू एउटा पनि कालो छैन

तापनि जागिर भने छोड्न सक्दैन

सकी नसकी हुत्तिदै, हुत्तिदै

दशै बजे अफिस छोप्न पुग्छ तीर्थे

विद्यार्थी हुँदाको गफ चुटेर,

जागिर पचाउँछ ।

सकारात्मक कालजयी र सन्देशमूलक रचनाहरू पनि साहित्यकार तीर्थराजमा भेटिन्छन् । स्वदेशमा होस् अथवा विदेशमा बसेर पनि मातृभूमि, जनजीवन, देशको अवस्था, नेपाली साहित्य र संस्कृतिप्रति सधैं दत्तचित्त रहने अधिकारीका रचना अहिलेको  राजनीतिक जल्दोबल्दो अवस्थालाईसमेत ठ्याक्कै मिल्ने खालको विषयलाई कलात्मक तरिकाले यसप्रकार सशक्त र व्यङ्ग्यात्मक मुक्तक मार्फत् प्रस्तुत गरेको पाइन्छ—

धेरैको मुखमा चपाउँदै गरेको पानै देख्छु

राजनैतिक सागरमा मिलन र दोभानै देख्छु

देश डुब्यो डुबाए भनेर जति कराए पनि

खै म त जसलाई हेर्यो उसलाई ओभानै देख्छु ।

वरिष्ठ संस्कृतिकर्मी चेतन कार्कीले आशीर्वचन शीर्षक दिएर आफ्नो भनाइ प्रस्तुत गर्दै तीर्थराज अधिकारीसँगको मेरो नजिकको परिचय ‘झटारो’ मार्फत् नै भएको हो भनेका छन् । उनले चतुष्पदीय मुक्तक लेख्ने कविहरू नेपालमा आजभोलि जताततै पाइन्छन्, छ्याप्छ्याप्ती पाइन्छन् तर चतुष्पदीय मुक्तक लेखन व्याकरणको अनुशीलन गर्ने कमै पाइन्छन् भनेका छन् । उनले ती सशक्त शिल्पीमध्ये ‘झटारो’का कविलाई छुट्टै पहिचान दिलाउन समर्थ छन् झटारो भित्रका झटाराहरू भन्दै कलमका पुजारीहरू स्वयमप्रति, समाजप्रति, राष्ट्रप्रति र समस्त मानवताप्रति इमानदार हुन सकेनन् भने ती साधक नै हैनन्, स्रष्टा नै हैनन् र शिल्पी नै हैनन् भन्ने मेरो मान्यता रहेकाले झटारो हान्ने तीर्थराज अधिकारीजीलाई कवि भनाउने अधिकार छ भन्ने मेरो ठहर छ भनेर सारगर्भित दृष्टिकोण प्रस्तुत गरेको देखिन्छ ।

‘तीर्थ गुञ्जिएको बेला’ शीर्षकमा वरिष्ठ साहित्यकार डा. गोविन्दसिंह रावतले अन्तरराष्ट्रिय नेपाली साहित्य समाज क्यानडाले २०१८ जुन ३० तारिखका दिन क्यानडाको विश्वप्रसिद्ध नियाग्रा फल्स अगाडि पहिलोपटक साहित्यकर्मीको उपस्थितिमा कवितावाचन कार्यक्रमको आयोजना गराएको कुरा स्मरण गर्दै क्यानडा र अमेरिकाका साहित्यकारको उपस्थितिमा उत्तर अमेरिका सीमा वारिपारि काव्य काव्य संगमको आयोजना गराएर एउटा नयाँ इतिहास बनाएको कुरा उल्लेख गरेका छन् । रावलले नियग्रा फल्स व्यवस्थापन समितिको स्वीकृतिमा नियाग्रा फल्सको अगाडि सम्पन्न साहित्यिक कार्यक्रम पहिलोपटक भएको नियाग्रा नगरपालिकाले जनाएको कुरा उल्लेख गर्दै नियग्रा फल्सबाट आउने बाछिटाको स्पर्श गर्दै ४६ जना कविले आ–आफ्ना कविता वाचन गरेका र प्रायः कविता नियाग्रा फल्सको प्राकृतिक सौन्दर्यका बारेमा लेखिएका थिए भने धेरै कविताले नियग्रा फल्सलाई नेपालको प्राकृतिक सौन्दर्यसँग तुलना गर्दै दुवैको समानता देखाउने प्रयास गरेको कुरा उल्लेख गर्दै नियग्रा फल्स अगाडि काव्य वाचन गरेर इतिहास रच्ने ४६ कविमा अमेरिकाबाट अन्तरराष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका कार्यकारी सदस्य तीर्थराज अधिकारीको पनि सहभागिता भएको कुरा उल्लेख भएको देखिन्छ । मुक्तकमणि नामबाट परिचित अधिकारीले मुक्तक वाचन गर्नुभएको थियो भन्दै मुक्तकमा कतै मायालुको तारिफका शब्द पाइन्थ्यो भने कतै आजको यथार्थ जीवनमा मानिसका सङ्घर्षका बयानका शब्द सुनिन्थ्यो भनेर मुक्तकमणिका केही मुक्तकहरूको उद्धरण दिइएको पाइन्छ :

न यसमा झार उम्रन्छ, न बोट लाग्छ

बरु झ्याउ पल्हाएर अनेक थरी खोट लाग्छ

टाँकुराको ढुङ्गा सरी भयो जिन्दगी मेरो

अनायसै गुल्टियो भने अरूलाई चोट लाग्छ ।

 

जनअधिकार माथि डोजर गुडाउने

मित्रता र सहिष्णुताको डोरी चुडाउने

अब यस्तो हरकत छा्ड्नु पर्यो हजुर

नैतिकता र मर्यादाको धज्जी उडाउने ।

मानवतावादी साहित्यकार शीर्षकमा नेपाली सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठले कवि तीर्थराजको साहित्यिक प्रवृत्तिका बारेमा प्रकाश पर्दै भनेका छन्— तीर्थराज अधिकारी विशेष मुक्तक लेखनमा सक्रिय हुनुहुन्छ । उहाँ आफ्ना मुक्तकहरूमा देश, काल र मानवीयतालाई उजागर गर्न मन पराउनुहुन्छ । एउटै जीवन बुझ्न पर्याप्त छैन भन्छन् । संसार अथाह छ । जति बुझियो भन्छौं हामी त्यो सागरको एक बूँद पनि हो कि होइन ? हाम्रो प्रयत्न पूर्णतातर्फ उन्मुख भए पनि हामी अपूर्ण छौं । देखे–देखे जस्तो चिने–चिने जस्तो यो जगत्मा कसले कसलाई चिनेर सक्नु छ र ? भन्ने कवि तीर्थराजको विचार उद्धृत गर्दै उनीप्रति आदरभाव व्यक्त गरेको देखिन्छ ।

‘मैले चिनेका तीर्थराज’ शीर्षकमा वरिष्ठ गजलकार डा. घनश्याम न्यौपाने परिश्रमीले स्रष्टा तीर्थराज अधिकारीसँगको प्रभात काव्ययात्रा लगायत विषयलाई जोड्दै यसप्रकार आफ्नो विचार प्रस्तुत गरेको पाइन्छ :

वीरगञ्जमा हामीले आरम्भ गरको प्रभात काव्ययात्रामा तीर्थराज अधिकारीको आबद्धता थियो । उहाँको सक्रिय सहभागिता रहन्न्थ्यो यस अभियानमा । प्रतीक पत्रिकाको कार्यालयबाट सुरु भएको यो यात्रा त्यो बेला वीरगञ्जमा रहेका स्थानीय वा पेशागत रूपमा बाहिरबाट गएका पुराना र नवोदित स्रष्टाका लागि राम्रो चौतारी बन्न पुगेको थियो । हरेक शनिवार बिहानमा तोकिएको स्थानमा भेला हुने र रचना सुन्ने–सुनाउने गरिन्थ्यो । वाचित रचनाका बारेमा टीकाटिप्पणी हुन्थे, कमीकमजोरी पहिचान गर्ने र सुझाव आदानप्रदान गर्ने काम हुन्थ्यो । समसामयिक साहित्यिक विषयमा बहस र छलफल हुन्थे । साँच्चिकै प्रभात काव्य यात्राको बेग्लै पहिचान र महत्त्व थियो । यसले पछिसम्म गति लिएको कुरा उल्लेख गर्दै अधिकारीजीसँग गरिएको सहकार्यको मैले आजीवन नबिर्सने एउटा प्रसङ्ग हो २०५३ सालमा वीरगञ्जमा मनाइएको १८३ औं भानुजयन्ती समारोह भन्दै हामी दुवैजना २०५२ सालमा जागिरकै सिलसिलामा वीरगञ्ज पुगेका थियौं भनेका छन् । उनले विभिन्न साहित्यिक गतिविधिले हामीलाई निकट र आत्मीय बनाएको कुरा उल्लेख गर्दै भानुभक्तको सालिक बसपार्क अगाडि बिच सडकमा भएकाले त्यहाँ भानुको सालिक देख्दा हामीले गर्व गर्दथ्यौं भनेको पाइन्छ ।

नेपाल सरकारका पूर्व उपसचिव टीकाप्रसाद भण्डारीले मेरो दृष्टिमा तीर्थराज अधिकारी शीर्षक दिएर आफ्नो दृष्टिकोण यसप्रकार प्रस्तुत गरेका छन्— साहित्यिक प्रतिभाले युक्त उहाँका झण्डै दर्जन कृति प्रकाशित छन् । नेपाली साहित्यको मुक्तक विधामा उहाँको विशेष स्थान भएकाले उहाँलाई ‘मुक्तकमणि’ भनिन्छ । विभिन्न साहित्यिक संस्थाका संस्थापक, संरक्षक रहनुभएका उहाँले साहित्यिक कृति र सर्जकलाई पुरस्कृत गर्न अक्षयकोषसमेत स्थापना गर्नुभएको छ । साहित्य भनेपछि तन, मन र धनले लागि पर्ने उहाँको निजत्व हो । परासीमा रहँदा अफिसर्स क्लबको अध्यक्षको हैसियतले धेरै सामाजिक काम गर्न उत्साहित हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा अफिसर्स क्लबको मुखपत्र ‘पाल्ही नन्दन’ प्रकाशन, अफिसर्स क्लबको भवन निर्माण, जिल्लास्तरीय खेलकुदको आयोजना, परासी साहित्य समाजको स्थापना र गैंडाकोटमा राष्ट्रिय कवि सम्मेलन गर्न सफल भइएको थियो भन्दै उनले साहित्य समृद्धिका काममा हुरुक्कै हुने उहाँलाई यो क्षेत्रले चीरकालपर्यन्त सम्झना गर्नेछ भन्नेकुरालाई रमाइलो तरिकाले उल्लेख गरेको पाइन्छ ।

कवि तीर्थराज पोखराको पृथ्वीनारायण कलेजमा पढ्दा धु्रव के.सी.सँग राम्रो मित्रता कायम भएको पाइन्छ । के.सी.ले तीर्थराजलाई आफ्नो गाउँ पोल्याङ पुर्याएर पूर्णिमाको दिन महिला र पुरुषहरूलाई मुखियाको ठूलो आँगनमा आयोजित सांस्कृतिक कार्यक्रममा आफ्नो बोल्ने पालोमा गोडा थरथर कामेको तर तीर्थराज अधिकारीको पालामा भने सबैलाई फुरुङ्ग पारेर हाँस्दै र हँसाउँदै मीठो बोल्नुभएको कारण सबैजना गद्गद् भएर पररर ताली बजाएको कुरा रोचक ढङ्गले प्रस्तुत गरेको देखिन्छ ।

‘बालसखा तीर्थराज’ शीर्षकमा पूर्व प्रधानाध्यापक डिल्लीराज अधिकारीले प्रिय साथी तीर्थराज जन्मेको गाउँ प्राकृतिक दृष्टिकोणले ज्यादै सुन्दर भएको कुरा उल्लेख गर्दै सोह्रौं शताब्दीमा लमजुङे राजालाई बोकेर ल्याउने खजे दुराको जन्मस्थल यहीँ भएको कुरा चर्चा गरेका छन् । उनले यो डाँडामा सबैभन्दा पहिले दुराहरू आएर बसेकाले यसको नाम दुराडाँडा रहन गएको कुरा स्मरण गरेका छन् । उनले यसै डाँडाको मध्यभागमा देवतापानी भन्ने सानो गाउँमा एक मेरा हितैषी साथी तीर्थराज अधिकारीको जन्मभएको प्रसङ्ग उल्लेख गर्दै बाल्यकालका घटना, अध्ययनका क्रममा २०२१ सालमा टेष्ट पास गरेर एस.एल.सी. परीक्षा दिने उद्देश्यले पोखरा पुगेका रोचक घटनाहरूलाई रोम्रोसँग प्रस्तुत गरेको देखिन्छ । उनले तीर्थराजका विभिन्न प्रतिभाको कदर गर्दै नेपाल सरकारले प्रबल गोरखा दक्षिण बाहु तथा नेपालका विभिन्न साहित्यिक संस्थाले बेग्लाबेग्लै मान–सम्मान पदक, मुक्तकमणि पदवी आदिले सम्मानित गरेको कुरा वर्णन गर्दै नेपालमा मात्र होइन अन्तर्राष्टिय नेपाली साहित्यिक संघसंस्थाले पनि उहाँका विभिन्न कृति, रचना, भिडियो गीत रचना, मुक्तक रचना, लेख आदिबाट प्रभावित भइ निमन्त्रणा आएकाले धेरै देशमा पुग्नु भइ मान–सम्मानबाट विभूषित भइ आफ्नो छवि उच्च राख्न सफल हुनुभएको प्रसङ्ग पनि जोडेको पाइन्छ ।

प्रतिनिधि सभाका पूर्व सभामुख तारानाथ रानाभाटले ‘साथी तीर्थराज अधिकारीबारे’ शीर्षकमा आफ्नो अनुभव यस्रप्रकार प्रस्तुत गरेको पाइन्छ । उनले लमजुङको दुराडाँडा र कास्कीको कन्धनीडाँडा २००७ सालको राणा शासन विरोधी क्रान्तिको तयारी अभियानसँगै नेपाली काङ्ग्रेसको किल्लाका रूपमा परिचित गाउँ भएको उल्लेख गर्दै त्यतिबेलाको पञ्चायत ३ नं. इलाका भित्रका कास्की, लमजुङ र तनहुँको सदरमुकाम पोखरा भएका कारण काङ्ग्रेसका नेताहरूको महत्त्वपूर्ण गोप्य सल्लाह, भेटघाट, बैठक गर्ने केन्द्र पोखरा नै हुन्थ्यो भनेका छन् । रानाभाटले लमजुङ दुराडाँडाकै तीर्थराज अधिकारी र मेरो परिचयको आधार त्यही काङ्ग्रेसी अग्रजहरूको सामीप्यताले निर्माण भएको र विद्यार्थी अवस्थाको चिनजान घनिष्टतामा बदलिएर राजनीतिमासमेत सहयोद्धा बन्नपुगेको रोचक अनुभव प्रस्तुत गरेको देखिन्छ ।

रानाभाटले २०२५ सालमा वी.पी., गणेशमानजीहरू जेलमुक्त भएको खुसीयालीमा मार्ग ८ गते खुला रूपमा हामीहरूले अर्घौंको डाँडानाक भन्ने ठाउँमा प्रहरीचौकी अगाडि जलपान समारोहको आयोजना गरी नेपाली साङ्ग्रेस कास्कीका सबै नेतागण, तनहुँ र लमजुङका प्रतिनिधि साथीहरू सहभागी भएको कुरा स्मरण गर्दै त्यस समारोहमा तनहुँका धनेश्वर शर्मा र नीलकण्ठ शर्मा, लमजुङका श्रीकान्त अधिकारी र तीर्थराज अधिकारी कास्कीका मसहित ओमकार राज शर्मा, रविमोहन शर्मा, प्रेमबहादुर कुँवर, चूडामणि लामिछानेले मन्तव्य व्यक्त ग¥यौं भन्दै सम्पूर्ण राजबन्दी छाड्नु पर्ने, बहुदलीय व्यवस्था पुनस्र्थापना गर्नुपर्ने, आम माफी दिनुपर्ने, हरण भएको सर्वश्व फिर्ता गर्नुपर्ने जस्ता माग राखिएको कुरालाई पनि रमाइलो तरिकाले प्रस्तुत गरेको पाइन्छ । उनले पछि तीर्थराजजी राजनीतिमा सक्रिय हुन सक्नुभएन र जागिरमा लाग्नुभयो भन्दै राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएका तीर्थराजजीले साहित्यतर्फ कविता, मुक्तक, अन्य रचनाहरू लेखेर धेरै पुस्तक प्रकाशित गर्नुभएको र संसारका धेरै मुलुकको भ्रमण गरेर त्यहाँको सभ्यता, संस्कृति, सुशासनको गहिरो ज्ञान आर्जन गर्नुभएको कुरालाई पनि जोड दिएको देखिन्छ । रानाभाटले अन्त्यमा भनेका छन्— राजनीति, समाजसेवा, साहित्य साधना गरेबापत सम्मान र पुरस्कार धेरै प्राप्त गर्नुभएको र सरकारी कर्मचारी भएर काम गरे बापत उहाँले धेरै तक्मा, सम्मानपत्र, कदरपत्र पाउनु भएको छ । यसरी एउटा सक्रिय, सचेत, सफल र सार्थक जीवन बिताइरहनु भएका मेरा अनन्य मित्र तीर्थराजजीको सु–स्वास्थ्य, दीर्घायु र सुखद पारिवारिक जीवनयापनका लागि शुभकामना दिन चाहन्छु भन्दै आफ्नो धारणा व्यक्त गरेको देखिन्छ ।

वरिष्ठ साहित्यकार तथा संस्कृतिविद तुलसी दिवसले ‘पाँचौं सम्मेलनको भेट’ शीर्षकमा कवि तीर्थराजलाई यसप्रकार स्मरण गरेका छन्— साहित्य सिर्जनशील मानव प्रतिभाको विशिष्ट प्राप्ति हो । कवि शब्दका माध्यमद्वारा काव्यको सिर्जना गर्दछन् । अनुशासित र नम्र स्वभावका कवि तीर्थराज अधिकारी कविता भन्दा बढी मुक्तक लेख्न रुचाउने मुक्तककार हुन् । यिनका मुक्तकहरू श्रुतिमधुर हुनुका साथै चोटिला देखिन्छन् । काव्य चेतनाले सिञ्चित यी कविका मुक्तकमा सामाजिक विकृतिप्रति व्यङ्ग्य, रुढीप्रति कठोर प्रहार र लैङ्गिक असुन्तलन माथिको आक्रमण पाइन्छ । जनजीवनसँग सीधा सम्पर्क राख्ने हुँदा यिनका मुक्तक लोकप्रिय हुँदै गएका भेटिन्छन् भन्दै उनले कवि तीर्थराजले अस्ट्रेलियाको पर्थमा आयोजित अनेसासको सम्मेलनमा वाचन गरेको मुक्तकको उदाहरण दिएको पाइन्छ—

तिम्रा हरेक इच्छामा साझा बनाए हुन्छ

सुकुमार मन भित्रको राजा बनाए हुन्छ

अन्त कतै मिल्दैन भने मलाई प्रिय !

तिमी बस्ने घरको दरबाजा बनाए हुन्छ ।

बेलायतका लागि कान्तिपुर संवाददाता नवीन पोखरेलले ‘बेलायतमा अधिकारीको क्रेज’ शीर्षकमा निजामती सेवामा लामो समय बिताएर अवकाश प्राप्त एकजना कर्तव्यनिष्ठ पूर्व कर्मचारीका रूपमा म उहाँलाई विगतमा चिन्थें, नाता न मेरा भिनाजुसँगको सामीप्यता पारिवारिक बढी थियो न साहित्यकारका रूपमा भनेर उनले नजिकको तीर्थ हेला भन्ने उखान जस्तै सायद मैले उहाँको साहित्यिक पाटो मेसो पाएको रहेनछु भन्दै कृति प्रकाशनपछि थाहा हुन्थ्यो उहाँले उपहारका रूपमा घरैमा पठाइदिनुहुन्थ्यो तर साहित्यकारका रूपमा प्रत्यक्ष उठबस मैले चुकाएको पाटो थियो भनेका छन् । उनले उहाँको नशानशामा साहित्य, भाषा संस्कृति र मातृभूमिप्रतिको लगाव चाल पाएर म अवाक पथिक भएँ भनेर स्रष्टा तीर्थराजको प्रशंसा गरेको देखिन्छ । उनले २०७४ साल फागुन तेस्रो साता मुक्तकमणि तीर्थराज अधिकारी श्रीमती सीता अधिकारीका साथ अमेरिकाबाट लण्डन आइपुग्दा म आश्चर्यचकित भएँ भन्दै साहित्यमा उहाँको लगाव, बेलायतमा उहाँका शुभचिन्तक, वाचनकला, उहाँले बेलायतमा बनाएको सञ्जाल आदि कुराहरू थाहा पाएर मेरो छाती गर्वले बढेको कुरा उल्लेख गरेका छन् ।

पोखरेलले अगाडि भनेका छन्— अमेरिकाबाट साता दिनको बिदा लिएर बेलायत आएका वरिष्ठ साहित्यकार एवम् मुक्तकमणि तीर्थराज अधिकारी स्टेजमा जाने बित्तिकै माहोल खुब तातेको र वाचनमा उनको मिठासले कार्यक्रम सुनमा सुगन्ध थपेको कुरा औंल्याउँदै तुलनात्मक रूपमा साहित्यिक कार्यक्रममा मानिसहरूको अभिरुचि कम हुनेगर्छ, बरु नाचगाानमा सहभागी रमाउने गरेको हामीले अनुभव गर्छौं तर साहित्यकार अधिकारीको वाचनभरि माहोल रोचक बनेको र उहाँका मुक्तकमा सहभागी साहित्यानुरागीहरू आल्हादित बनेको कुरा चर्चा गर्दै मलाई हेक्काछ कार्यक्रमको सुरुआतमै बडो रोमान्टिक मुडमा प्रस्तुत हुनुभएको थियो अधिकारी भनेर त्यस अवसरमा वाचन गरिएको मुक्तक यसप्रकार उद्धरण गरेको पाइन्छ—

मनलाई रोकेँ खारेँ गालेँ

उनलाई पनि मुद्दा हालेँ

आखिर दोषी आँखा रैछन्

व्यर्थै यस्ता कदम चालेँ ।

‘मितदाइ तीर्थराज अधिकारी’ शीर्षकमा लमजुङ दुराडाँडाका गङ्गाप्रसाद खनियाँले प्रारम्भमा मुक्तकमणि तीर्थराज अधिकारीको व्यञ्जनापूर्ण शैलीमा रचिएको एउटा सशक्त शैलीको मुक्तक प्रस्तुत गरेका छन्—

न कसैको थैलीमा न कसैको गोजीमा छु

जीवन्त जीवन आफैँ जिउने रोजीमा छु

खान तलासी लिएर कतै नखोज मलाई

म त एउटा मौलिक मनको खोजीमा छु ।

मितदाइप्रति श्रद्धाभाव राख्दै खनियाँले उहाँको गीतका सिडी र भिसिडी पसल बजारतिर बजिरहेको सुन्न पाइन्छ भन्दै त्यो गीतले लमजुङबासीहरूको मात्र होइन अन्य जिल्लाबासीको पनि मन जितेको कुरा चर्चा गर्दै त्यो गीतमा गाउँ बोलेको र दिदीलाई लिन जाँदा खोलो बढेर थुनिएको कथा ग्रामीण शैलीमा उजागर भएको छ भनेका छन् । उनले सिडीको गीतले जिल्लाको आत्मा बोलेको एउटा नौलो प्रयोगद्वारा हिजोका गाउँ विकास समितिको प्रोफाइल बनाउन सहयोग पुगेको र भौगोलिक स्थिति झल्काएर आफ्नो जन्मभूमिको माया प्रदर्शित गर्नु भइ सबैको माया पाउनुभएको कुरा उल्लेख भएको पाइन्छ ।

जिरी दोलखाका पूर्व प्रधानाध्यापक टेकबहादुर जिरेलले जिरी, झुल्का र तीर्थराज सर शीर्षकमा एउटा रोचक लेख लेखेका छन् । उनले पत्रपत्रिकाको प्रकाशनको इतिहास संझदै भनेका छन्— त्यो समय काठमाडौं राजधानी बाहेक बाहिरकाले पत्रपत्रिका छपाउने काम थोरै ठाउँबाट मात्र सम्भव हुने गथ्र्यो । जनचेतनाको अभाव, शिक्षित जमातको कमी र प्रेस स्वतन्त्रतासमेत कुण्ठित अवस्थामा रहेको जमानामा तीर्थराज सर जिरी स्कुलको मुखपत्र झुल्काको पहिलो र प्रधान सम्पादकका हैसियतमा सक्रिय हुनुभयो । त्यसमा शिक्षक विद्यार्थीका लेख रचना र विद्यालय सम्बन्धी जानकारीमूलक लेख छापिएका थिए भन्दै २०२६ फागुनमा जिरी बहुउद्देश्यीय विद्यालयका नाम प्रकाशित यस पत्रिका एउटा साहित्यप्रधान पत्रिका मात्र नभइ दोलखाली पत्रपत्रिकाको इतिहासमा दोस्रो सबैभन्दा पुरानो पत्रिका मानिन्छ भन्नेकुरा प्रष्ट पारेको देखिन्छ ।

‘अधिकारी सर्जक र प्रेरणका स्रोत’ शीर्षकमा डा. त्रिभुवन शर्माले कवि तीर्थराजलाई यसप्रकार वर्णन गरेका छन्— उहाँका सिर्जनाको सामथ्र्यलाई बुझेर नै विश्वविद्यालयले आफ्नो अनुसन्धानको स्रोत सामग्री बनायो । विद्यार्थीले पनि प्रथम श्रेणीमा स्नातकोत्तर पूरा गरे । यसैले गर्दा उहाँ एउटा कुशल र योग्य सर्जक हुनुहुन्छ । उहाँका मुक्तकहरू पढ्दै गर्दा मनमा नयाँ तरङ्ग पैदा हुन्छ । त्यसैले उहाँलाई ‘मुक्तकमणि’ भनिएको होला भन्दै विनम्रता, लगनशीलता, जीवन जिउने शैली र मैत्रीभाव उहाँसँग सिक्नै पर्ने सर्वश्रेष्ठ गुण हुन् भनेर प्रशंसा गरेका छन् । त्यसैले उहाँ सबैका प्रेरणाका स्रोत हुनुहुन्छ भन्नेकुरा उनले मुक्तकण्ठले उल्लेख गरेको पाइन्छ ।

मुक्तकमणिका साहित्यिक सिर्जनाले पाठकको मन बोलेको आभास हुन्छ । उनका विषयमा अन्य साहित्यकार र शुभचिन्तकहरूबाट प्राप्त भएका विचारहरू पढ्दा उनी धेरै मानिसको मनमा रमाएर बस्न सफल भएको पाइन्छ । सहृदयी स्वभावका अधिकारी जीवनजगतलाई सधैं सकारात्मक तरिकाले ग्रहण गर्ने र अरूलाई पनि असल मार्गमा लाग्न प्रेरणा दिनेगरेको देखिन्छ । दैनिक जीवनमा उनका बोली र व्यवहार अत्यन्त वन्दनीय छन् ।

आफूलाई अनुशासित जीवनशैलीमा ढाल्न मनपराउने तीर्थराज अरूको जीवनशैली पनि त्यस्तै सुमधुर भएको देख्न चाहन्छन् । उनले विश्वका विभिन्न मुलुकमा दृश्यावलोकन भ्रमण गरेर ज्ञान हाँसिल गर्ने अवसर प्राप्त गरेको देखिन्छ । यस ग्रन्थले स्रष्टा तीर्थराज अधिकारीको जीवनी, व्यक्तित्व र कृतित्वलाई आकर्षक तरिकाले प्रकाश पार्न सफलता प्राप्त गरेको देखिन्छ ।

अमेरिकामा शिक्षण पेशामा कार्यरत मीरा कोइराला स्रष्टा तीर्थराज अधिकारीकी सुपुत्री हुन् । उनले ‘अर्गानिक मुक्तकमणि तीर्थराज अधिकारी’ शीर्षकमा आफ्ना पिताजीका बारेमा ग्रामीण परिवेशको जीवनशैली, असल संस्कार, आनीबानी, पारिवारिक सान्निध्यता र व्यवहार, साहित्यिक यात्रा इत्यादि विषयमा राम्रोसँग कलम चलाएको देखिन्छ । उनले लेखेकी छन्— नारायणदत्त र रुक्मिणा अधिकारीको कोखबाट जन्म लिएर मलाई यस धरतीमा पाइला टेकाउने बुबा तीर्थराज अधिकारीको व्यक्तित्व र कृतित्वको वर्णन गर्ने अवसर पाएकामा आफैँलाई भाग्यमानी महसुस गरेकी छु । आजभन्दा ३७÷३८ वर्ष अगाडिको कुरा हो । जब मेरा बुबाले आफ्ना आमा बुबालाई साथी भनेर मलाई हजुरबुबा हजुरमुमाको काखमा राखेर जागिरको सिलसिलामा पोखरा आउनुभएको थियो । त्यस समयदेखि हजुरबुबा मुमामार्फत् मेरा बुबाका धारावाहिक प्रशंसा सुन्ने अवसर पाएकी थिएँ । ती कुरा अहिले पनि मेरा मानसपटलमा गुन्जिरहन्छन् ।

अगाडि उनी लेख्छिन्— मेरो बुबा कान्छो छोरा भएका नाताले हजुरबुबा–आमाले ‘स्यानु’ उपनाम दिनुभएको रहेछ । हजुरबुबा मुमा तिमी तिम्रो बुबाजस्तै हुनुपर्छ भनेर मलाई प्रोत्साहन गर्नुहुन्थ्यो । कुनै कुरामा पनि पछि नहट्ने, कुनै काम भोलिलाई भनेर नराख्ने, के महिला, के पुरुष सबैलाई काममा सघाउ गर्ने स्वभावको थियो स्यानु भन्नुहुन्थ्यो उहाँहरू । ‘फाँटबाट सबैभन्दा ठूलो धानको भारी ल्याउँथे स्यानु । समाजमा जनचेतना जगाउन सन्देशमूलक नाटकमा कलाकार बनेर महिलाको भूमिकासमेत खेल्ने स्यानु’ यो मेरी हजुरआमाको लवज हो । स्कुलमा पनि सबै प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, कविता प्रतियोगितामा भाग लिएर प्राप्त गरेका दर्जनौ प्रमाणपत्र बुबाका कोठाका भित्तामा सजाएर राख्नु भएको थियो । जसले उहाँको सानै उमेरदेखिको साहित्यप्रतिको रुचिलाई प्रष्ट पारेको छ । उनले आफ्ना पिताजी सर्वोदय हाइस्कुलमा अध्ययनरत अवधिमा विद्यार्थी युनियनको अध्यक्ष, कलेज युनियनको सभापति, लमजुङ पुस्तकालय सञ्चालक समितिको सभापति इत्यादि कुराहरूलाई समेट्दै विद्यालय एवम् कलेजस्तरका साहित्यिक कार्यक्रममा सफल भएकालाई पुरस्कारको व्यवस्था गरिदिनुभयो मीराको बुबाले भनेर साथीहरूले गरेका कुरा पनि रोचक देखिन्छ । ‘जूनकीरी’ कवितासङ्ग्रहको ‘लाज नभएको तीर्थे’ कविता मलाई मनपर्छ भन्दै उनले जहाँ सरल भाषामा सहज, सुलभ तर व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ, सामाजिक विसङ्गति, विकृति र बेथिति माथि प्रहार गर्दै कुनै जात, वर्ण, धर्म, भाषालाई असर नपर्ने गरी स्वयम् पात्रका रूपमा उभिएर खरो अभिव्यक्ति प्रस्तुत गर्नु उहाँको महानता हो भनेर पिताजीको एउटा अर्गानिक कविताको उदाहरण यसप्रकार दिएको पाइन्छ :

द्यौता पानीको पानी खाएको रे

आफू दुराडाँडामा जन्मेको भन्दैमा

भुइँमा खुट्टा छैन मुले तीर्थेको

कसलाई थाहा छैन र लमजुङको दुराडाँडा ?

जन्मदैमा ठूलो हुने भए

हिमाल चढ्ने यात्रुका भरियाले

बाटोमा जन्माएको बच्चा

हिमाल जत्तिकै अग्लो हुने थियो ।

उनको जीवनमा ज्यादै रोचक घटनाहरू भएको पाइन्छ । बाल्यकालमा तीक्ष्ण स्वभाव भएका तीर्थराज नराम्रा साथीको संगतले जुवातास पनि खेल्थे । जुवामा सधैं जित्ने भन्ने कुरा हुँदैनथ्यो । उनले धेरैपटक हारे । साथीहरूले भनेजति पैसा नपाए तापनि हिसाब गरेर राख्थे र दशैंको टीका लगाउँदै हिंडेको स्थानमा जुन घरबाट बाहिर निस्कियो त्यही घरको अगाडिको बाटोमा समातेर टीका लगाएर पाएको दक्षिणा खोसेर लिन्थे । एक दिनको कुरा हो उनी गाउँले साथीहरूसँग गोठालो भएर बाख्रा हेर्न जाँदा वन नजिक साथीसँग डन्डीबियो, चप्पल काटेर बनाएको गिरगिरे इत्यादि खेलहरू खेल्न व्यस्त भएको समयमा वनबाट आएको स्यालले उनको घरको सबैभन्दा राम्रो बाख्रालाई मारेर आफ्नो आहारा बनाएछ । केही समयपछि बाख्रा खोज्दै जाँदा राम्रो बाख्रा भेटेनन् । त्यस बाख्रालाई स्यालले आहारा बनाएको कुरा थाहा पाएपछि उनी डरले थुर्कुमान हुनपुग्छन् । सबै बाख्राहरू लिएर घर नगए आफ्नै बाको हातबाट पिटाइ खाने कुरा पक्का थियो । तनहुँ चैनडाँडामा मामाघर भएका तीर्थराजका मामाहरू लमजुङको सदरमुकाम कुन्छामा बस्थे । त्यसकारण उनी बाँकी भएका बाख्राहरू साथीलाई त्यत्तिकै छोडेर उनी त्यतैबाट घरतिर नगइ कुन्छामा हुनुभएका मामाको शरणमा पुगेछन् । मामाले नै भान्जा आफूकहाँ आइपुगेको समाचार दुराडाँडा चन्द्रेश्वरमा पठाएछन् । अवोध बालक तीर्थराज केही समय मामासँगै कुन्छामा बसे । एक दिन मामाले भान्जालाई मामाघरको हजुरआमाको लागि एक किलो चिनी लिएर जाऊ भनेर एउटा झोला दिनुभएछ । भान्जा तीर्थराजलाई बाटोमा के खाउँ, केखाउँ भएछ । उनले बिस्तारै झोलामा भएको चिनी फक्याएर खानथालेछन् । उनलाई चिनीको स्वाद एकदम मनपर्यो । अर्को पटक पनि चिनी झिकेर खाएछन् । मामाघर पुग्नेबेलासम्ममा झोलामा भएको सबै चिनी सखाप पारेछन् । त्यसपछि उनलाई फसाद पर्छ । अब हजुरआमालाई म के चिनी दिउँ ? म कसरी अनुहार देखाउँ ? मामाले मलाई के भन्नुहोला ? उनका मनमा धेरै कुराहरू खेल्नथाल्छन् । जब हजुरआमाले रित्तो झोला देख्नुभयो तब उहाँले कुरा बुझिहाल्नुभयो । तैंचुप मैचुप ! आफ्ना यथार्थपरक कुराहरूलाई नढाँटीकन भन्नुसक्नु नै तीर्थराजमा पाइने अर्को इमानदारीपन भएको पाइन्छ ।

उनी घरको काममा आमालाई धेरै सघाउँथे । हँसिया लिएर बारीमा घाँसदाउरा काट्न होस् अथवा बत्ती कात्न, दुनाटपरी लगाउन पनि खप्पिस तीर्थराज गाउँलेहरू सबैका प्रिय पात्र देखिन्छन् । उनी परिश्रमी भएका कारण जुनसुकै काम गर्न पछि नपर्ने देखिन्छ ।

स्रष्टा तीर्थराजको जीवन विद्यार्थीकालमा अत्यन्त संघर्षशील भएको पाइन्छ । उनले सानै उमेरमा विद्यालय परिवर्तन गरिरहनु पर्यो । कहिले दुराडाँडाको विद्यालय त कहिले कुन्छाको विद्यालय । शैक्षिक र राजनीतिक दृष्टिले नेपालकै प्रसिद्ध गाउँ दुराडाँडाको अधिकारी परिवारमा जन्मेका तीर्थराथ विद्यार्थीकालमा नै राजनीति तर्फ आकर्षित भएको पाइन्छ । पञ्चायती व्यवस्थाको विरोधमा लागेका नेता र अन्य व्यक्तिहरूलाई सहयोग गरेकै कारण उनी २०१८ सालमा छ महिना कारागारमा थुनिनुपर्यो । त्यसकारण उनको अध्ययनमा अवरोधहरू आइरहेका थिए । उनी राजनीतिक दलको भातृ संगठनमा लागेर पदीय दायित्व निर्वाह गरे । उनी २०२० मा सर्वोदय हाइस्कुल विद्यार्थी युनियनको अध्यक्ष बन्न सफल हुन्छन् । त्यसरी नै २०२३ मा लमजुङ कलेज विद्यार्थी युनियनको सभापति र २०२५ सालमा पृथ्वीनारायण कलेज विद्यार्थी युनियनको सदस्य बनेर विद्यार्थीको हकहितका लागि सक्रिय भएर काम गरेको पाइन्छ ।

उनलाई २०२७ सालमा दोलखा जिल्लाको जिरीमा कार्यरत विद्यालयले तलब नदिएको अवस्थामा १२ जना शिक्षकहरूलाई अवकाश दिइयो । उनी बेखर्ची हुनपुगे । आफ्नो घर दुराडाँडा जाउँ भने पक्राउ पर्ने डर थियो । त्यसैले उनी जसोतसो ३–४ महिनाकी छोरी र श्रीमतीलाई लिएर काठमाडौं पुग्छन् । त्यस समयमा सरसापट पाउन पनि त्यति सजिलो थिएन । धन्न उनले मनमनै गरेको प्रार्थना भगवानले सुनेजस्तै भएछ । हुन पनि जीवनको अत्यन्त कठिनतम परिस्थितिमा काठमाडौंको सडकमा हिंडिरहेको अवस्थामा  अकस्मात् आफ्नो सहपाठी घनिष्ट मित्र लक्ष्मीप्रसाद अधिकारीलाई भेट्छन् । तीर्थराजले  भरखर वैवाहिक बन्धनमा बाँधिएका साथीलाई आफ्नो वास्तविक समस्या बताएपछि साथीले पैसाको सट्टा विवाहमा दुलहीले लगाइदिएको औंठी फुकालेर दिँदै भनेछन् ‘यो औंठी बेच अनि आफ्नो गर्जो टार’ । उनी साथीप्रति ज्यादै अनुगृहित भए । मित्र लक्ष्मीप्रसादले जीवनमा कहिल्यै बिर्सन नसकिने ठूलो गुन लगाएका थिए । सहृदय मित्रले आफ्नो घनिष्ट मित्रलाई अप्ठ्यारो अवस्थामा सहयोगको हात दिने मात्र नभएर आफ्नो ज्यानसमेत दिन तयार हुन्छन् भन्नेकुराको यो ज्वलन्त उदाहरण हो । कवि तीर्थराजले त्यस औंठी नबेची बैंकमा धरौटी राखेर पैसा झिके । उनी समस्याको गाँठो फुकाउन सक्षम भए । केही समयपश्चात् अनुकूल समयमा अमूल्य औंठी बैंकबाट झिकेर विनम्रतापूर्वक धन्यवादसहित साथीलाई फिर्ता गरे । मुक्तकमणिलाई त्योभन्दा धेरै ठुलो सहयोग जीवनमा अरू कुनै नभएको अनुभव हुन्छ । उनलाई साथीको औंठी फिर्ता गरे तापनि अमूल्य गुनको ऋण तिर्न नसक्दा अहिलेसम्म पनि अफ्ट्यारो महसुस गर्छन् ।

काठमाडौंको अमृत साइन्स कलेजमा भर्ना भएर अध्ययन सुरु गरेका कवि तीर्थराजले निरन्तरता दिन नसकेका कारण लमजुङ फर्केर कुन्छाको कलेजमा बिहान अध्ययन गरेर दिउँसो शान्ति हाइस्कुलमा अध्यापन गर्नथाले । मेहनती स्वभावका तीर्थराजले आफ्नो छाप छोड्न सफल भएको पाइन्छ । उनले लमजुङबाटै प्रमाण–पत्र तहको अध्ययन पूरा गरेको देखिन्छ ।

त्रिभुवन विश्वविद्यालयका शोधार्थी सुरेश बरालले स्नातकोत्तर तहको सिर्जनात्मक पत्रको प्रयोजनका लागि मेहनतपूर्वक अनुसन्धानको विधिलाई अपनाएर तयार पारेको शोधपत्र पठनीय र संग्रहणीय भएको पाइन्छ । उनी यस स्तुत्य कार्यको लागि धन्यवादको पात्र भएका छन् । मुक्तकमणि तीर्थराज अधिकारीको समग्र व्यक्तित्व र कृतित्वका सम्बन्धमा विविध विषयलाई समेटेर तयार गरेको शोधपत्रलाई त्रिभुवन विश्वविद्यालयले स्वीकृति प्रदान गर्नु अर्को स्वागतयोग्य कार्य भएको छ । यस कार्यले मुक्तकमणि तीर्थराजको विषयमा जान्न चाहने पाठकहरूका लागि राम्रो उपहार हुन सफल भएको देखिन्छ ।

शोधार्थी सुरेश बरालबाट मुक्तकमणिको परिचय, बाल्यकालदेखि वर्तमान परिस्थितिसम्मका विभिन्न अवस्था, अध्ययन, जागिर, पारिवारिक संरचना, समाजसेवा, साहित्यिक यात्राको थालनी, कृति प्रकाशन र सम्मान, अभिनन्दनको साथै पुरस्कारका विषयमासमेत प्रष्ट पार्न सक्षम भएको पाइन्छ । यस ग्रन्थमा मुक्तकमणिको समग्र जीवनीलाई आद्योपान्त समेटिएको भेटिन्छ ।

साहित्यिक क्षेत्रमा प्रवेश र प्रेरणा शीर्षकमा बरालले यसप्रकार व्यख्या गरेको पाइन्छ— साहित्य सिर्जनामा परिवेशको ठूलो भूमिका रहन्छ । तीर्थराज अधिकारीको साहित्यिक जीवन निर्माणमा पारिवारिक वातावरणको सकारात्मक प्रभाव नरहे पनि उनलाई साहित्यले तानिरहेको पाइन्छ । शैक्षिक जागरणका दृष्टिबाट लमजुङ जिल्लाको अग्रणी क्षेत्रका रूपमा रहेको दुराडाँडामा शैक्षिक र बौद्धिक क्रियाकलाप भइरहनु, नेपाली अनुवाद साहित्यमा सफल कवि लोमलनाथ अधिकारी जस्तो कविको काव्य परम्परासमेत रहेकाले पनि यस क्षेत्रमा थुप्रै कविले क्रियाशील हुने अवसर पाए र कवि अधिकारी पनि यसै परिवेशमा अगाडि बढ्दै आएको कुरा उल्लेख गरेको देखिन्छ ।

बरालले मुक्तकमणिको परिचय गराउँदै भनेका छन्— तीर्थराज मध्यमवर्गीय व्यक्ति हुन् । हाल यिनको श्रीमतीका साथमा सुन्दर नगरी पोखरा महानगरपालिका–१० रामघाटमा स्थायी बसोबास छ । बीसको दशकबाट साहित्य यात्रा आरम्भ गरेका अधिकारीको आफ्नै आन्तरिक साहित्यिक उर्जाको प्रेरणाबाट हालसम्म दर्जनको सङ्ख्यामा पुस्तकाकार कृति र दर्जनौं लेख रचना प्रकाशित छन् । अधिकारीको साहित्यिक व्यक्तित्वका अतिरिक्त साहित्येतर व्यक्तित्व उत्तिकै चाखलाग्दो पाइन्छ । यिनी कुशल प्रशासक मात्र नभइ समाजसेवी, सम्पादक र अध्यापक व्यक्तित्व हुन् । सिर्जनामा प्रकृति, समाज र आफ्नै जीवनका उकाली–ओराली र प्राप्त अनुभव, अनुभूति, शिक्षा, मातृभूमिको अघोर माया विकृति र विसङ्गतिप्रतिको विरोध पाइने कुरालाई बरालले उल्लेख गरेको पाइन्छ ।

त्रिभुवन विश्वविद्यालयका प्रा. डा. लक्ष्मणप्रसाद गौतमले यस ग्रन्थलाई आकर्षक र पठनीय बनाउनका लागि सम्पादकहरूलाई सुझाव दिनुका साथै आफूले पनि सारगर्भित अनुसन्धानात्मक लेख लेखेर ग्रन्थलाई अविस्मरणीय गुन लगाएको देखिन्छ । समाजमा यसप्रकारका सदृदयी व्यक्तित्वहरू थोरै मात्रामा भेट्न सकिन्छ । उनले आफ्नो वौद्धिक चिन्तन र विचारलाई यहाँ वाङ्गयी र प्राज्ञिक तरिकाले प्रस्तुत गरेको देखिन्छ । त्यसकारण उनको यो ‘तीर्थराज अधिकारीको कवित्वका आयाम’ शीर्षकको लेख यस ग्रन्थका लागि एउटा महत्त्वपूर्ण प्राप्तिका रूपमा लिनु उपयुक्त हुन्छ । उनका अनुसार नेपाली कविताका क्षेत्रमा र विशेषतः मुक्तकका क्षेत्रमा तीर्थराज अधिकारी (२००३) ख्यातनामा स्रष्टा हुन् । करिब एकदर्जन जति कृतिका स्रष्टा अधिकारीले कविताका लघुतम र लघुरूपमा कलम चलाएर आफ्नो पहिचान बनाएका छन् । मुक्तक, गीत र कविता लेखनमा उनको प्रसिद्धि छ । व्यङ्ग्यपूर्ण, कलात्मक र प्रभावपूर्ण मुक्तक लेखेर उल्लेखनीय योगदान पुर्याएका हुनाले उनले ‘मुक्तकमणि’ उपाधिसमेत प्राप्त गरेका छन् । तीन दशक सरकारी सेवामा र आधादशक शिक्षण सेवामा रहेर काम गरिसकेको परिपक्व व्यक्तित्व तीर्थराज अधिकारीको सामाजिक व्यक्तित्व र योगदान पनि उल्लेखनीय रहेको कुरालाईसमेत गौतमले समेटेको पाइन्छ ।

प्रा. डा. गौतमले कवित्वको प्रवृत्तिगत सन्दर्भका दृष्टिले तीर्थराज अधिकारी समकालीन नेपाली कवितामा समसामयिक परिस्थिति, घटना सन्दर्भ, युगीत यथार्थ  जीवन भोगाइका कविता लेख्ने कवि हुन् भन्दै उनका कवितामा मानवीय संवेदना र प्रणयभाव पनि पाइन्छ भनेका छन् । उनले कविता र मुक्तक दुवैमा सशक्त रूपमा कलम चलाउने उनका कविता समकालीन चेतनाका अभिव्यक्ति हुन् भन्दै तीर्थराजले जेजति कविता र मुक्तक लेखेका छन् ती उनीभित्रका इमान्दार अभिव्यक्ति हुन् र समकालीन चेतनाका दृष्टिले ती उल्लेखनीय भएको कुरा चर्चा गरेको देखिन्छ ।

प्रा. डा. गौतमले तीर्थराज अधिकारीका कवितामा पाइने प्रवृत्तिगत विशेषतालाई यसप्रकार बुँदाबद्ध गर्ने प्रयास गरेको पाइन्छ—

(१) तीर्थराज अधिकारी वर्तमान नेपाली जीवन र समाजका अनेक भोगाइ समाजमा व्याप्त विकृति र विसङ्गति तथा आजका मान्छेले भोगेका जटिल परिस्थिति आदिलाई विषय बनाएर लेख्न रुचाउँछन् ।

(२) उनी सकारात्मक र सुधारात्मक चेतनाका कवि पनि हुन् । उनका कवितामा आत्मालोचना र आत्मव्यङ्ग्य पनि पाइन्छ ।

(३) समाजमा अनेक विकृति र विसङ्गति हुँदाहुँदै पनि समाजलाई सङ्गतितिर लैजाने सन्देश र चेतना उनका कवितामा प्राप्त गर्न सकिन्छ ।

(४) मान्छेको जीवनका कुण्ठा, निराशा, आक्रोश र असन्तुष्टिलाई पनि उनका कविताले व्यक्त गरेका छन् ।

(५) समाजका यावत् विषमताप्रतिको प्रहार उनका कविता र मुक्तकमा पाइन्छ ।

(६) उनको मुक्तकसङ्ग्रहको शीर्षक ‘झटारो’ ले नै व्यङ्ग्यलाई संकेत गर्छ ।

(७) समाजप्रति, राष्ट्रप्रति र स्वयम्प्रति इमान्दार अभिव्यक्ति दिने उनी मानवतावादी र जीवनवादी कवि हुन् ।

(८) उनका कतिपय मुक्तक र कवितामा आधिकाव्यिक चेता पनि पाइन्छ । उनका कतिपय कविता औपदेशिक जस्ता पनि लाग्छन् ।

(९) उनका कविता तथा मुक्तकमा वैयक्तिक जीवन र अनुभूतिका विविध भावबिम्ब, मान्छेका स्वार्थी प्रवृत्ति आडम्बरी चरित्र, मान्छेले आफूलाई सुधार्नुपर्छ भन्ने नैतिक सन्देश आदि पाइन्छ ।

(१०) जातीय, क्षेत्रीय आदि विविध देष्टिले छरिएर रहेका भए पनि राष्ट्रिय एकता सबैभन्दा ठूलो कुरो हो भन्ने आशय उनका कविताले व्यक्त गरेका छन् ।

(११)  उनका केही कवितामा विश्वपरिवेश, अन्तर्राष्ट्रिय सन्दर्भ, अमेरिकाली जीवनशैली आदिको अभिव्यक्ति देखिन्छ भने कतिपय कविता र मुक्तकमा प्रेम वा शृङ्गारिक विषयवस्तु पनि व्यापक रूपमा आएको देखिन्छ ।

(१२) धर्म, संस्कृति, परम्परा, ईश्वरीय चेतना आदि विविध भावका साथै प्राकृतिक तथा सांस्कृतिक परिवेशको चित्रण र मातृशक्ति तथा नारीशक्तिका दृष्टिले पनि उनका कविता उल्लेखनीय छन् ।

(१३) लोकजीवन तथा लोकसंस्कृतिको अभिव्यक्ति उनका कवितामा अलि व्यापक रूपमा पाइन्छ ।

(१४) वर्तमान जीवन र समाजका तात्कालिक परिवेश, स–साना र सूक्ष्म विषयवस्तु क्षणिक परिवेशको घटना सन्दर्भ आदिलाई पनि उनले कविताका विषय बनाएका छन् ।

(१५) मनभित्रको अनेक आरोह, अवरोह र अन्तद्र्वन्द्वको कविता लेख्ने उनी सरल भाषामा वर्णनात्मक किसिमका कविता लेख्न रुचाउँछन् ।

(१६) उनले गद्यकविता, गीतिलयका कविता, शास्त्रीय छन्दका कविता र रुवाइ शैलीका मुक्तक पनि लेखेका छन् ।

प्रा. डा. गौतमले समग्रमा भन्नुपर्दा तीर्थराज अधिकारीलाई जीवनवादी र  प्रणयचेतनाका कवि हुन् भनेका छन् । यसको अतिरिक्त उनले प्रकृति, संस्कृति, भावना, अनुभूति तथा समकालीन यथार्थलाई अभिव्यक्त गर्ने र कृतिलाई बहुविषयक बनाएर सरल भाषामा गहिरो भाव व्यक्त गर्नु उनका कृतिभित्रका रचनाहरूको विशेषताका रूपमा परिचित गराएको देखिन्छ । उनले बाह्य तथा आन्तरिक दुवै दृष्टिकेन्द्रमा रहेर कविता लेख्ने उनी रागात्मक चेतना, युगीन यथार्थ, वर्तमानबोध, जीवनबोध र सामाजिक चेतनाका कवि, व्यङ्ग्यात्मक र अनुभूतिपरक मुक्तक लेख्ने मुक्तककार हुन् भनेको देखिन्छ । उनले युगीन यथार्थपरक गीतकार, प्रणयचेतनाका दृष्टिलेसमेत उल्लेखनीय रचना लेख्ने तीर्थराज अधिकारीका कविता, गीत र मुक्तकहरू अन्तर्वस्तुका बहुआयामिक पक्षको अभिव्यक्ति पाइने कुरालाई प्रष्टसँग वर्णन गरेको पाइन्छ ।

‘शब्दभित्र मुक्तकमणिको छविचित्र’ शीर्षकमा अनेसास गण्डकी प्रदेशका महासचिव असफल गौतमले विभिन्न विषयलाई समेटेर मुक्तकमणि तीर्थराज अधिकारीलाई चिनाउने प्रयास गरेको पाइन्छ । उनले स्रष्टा अधिकारीको समग्र परिचय, अध्ययन, अध्यापन, जागिर र विभिन्न साहित्यिक संघसंस्थाको स्थापना, हौसला लगायत कृतिगत योगदान इत्यादि विषयमा राम्रोसँग कलम चलाएको देखिन्छ ।

गौतमले सेवा निवृत्तपछि धेरै व्यक्ति सुस्ताउँछन् तर अधिकारी सक्रिय साधनामा छन् भन्दै जन्मभूमिप्रति श्रद्धा सिङ्गो लमजुङलाई भिसिडीमा उतारेको कुरालाई स्मरण गरेको पाइन्छ । अधिकारी आफूले स्थापना गरेका संघसंस्थाको विकासमा आर्थिक, भौतिक र नैतिक सहयोग गरिरहेका र आफूप्रति श्रद्धाभाव राख्नेको सम्मान गरिरहनुका साथै अग्रजलाई सम्मान र अनुजको प्रोत्साहनलाई आफूले सङ्गठक र संस्थापकको भूमिका निर्वाह गरेर, कृति प्रकाशन गरेर पनि पद खोजेका छैनन् भनेका छन् । उनले बिर्सनै नहुने त उनी नेपाली मुक्तकको उज्यालोलाई विश्व साहित्यमा पुर्याउने मुक्तकका मणि हुन् तापनि एक थोपा घमण्ड, दम्भ र अहङ्कार छैन भनेर हिजो चकको धुलो र डस्टरसँग मितेरी साइनो लगाएर अगाडि बढेका अधिकारी आज सबैका रहरलाग्दा प्रेरणाका स्रोत बनेको कुरा रोचक तरिकाले वर्णन गरेको पाइन्छ । गौतमले उनलाई एउटा पाठशाला हुन् र पाठशालाबाट सबैले ज्ञानगुनका कुरा सिक्न सक्छन् त्यो आफ्नो ठाउँमा छ तर अधिकारी त्यो भन्दा धेरै एक कुशल साहित्यिक सङ्गठक हुन् भन्दै औंलामा गन्न मिल्ने भए पनि अधिकारी जस्ता सङ्गठकको जन्म निरन्तर होस् भन्ने कामना गरेको पाइन्छ ।

अनेसास गण्डकी प्रदेशका सदस्य कल्याण पन्तले ‘बाल्यावस्थादेखि वर्तमानसम्मः तीर्थराज अधिकारी’ शीर्षकमा स्रष्टाको समग्र जीवनलाई नजिकबाट आद्योपान्त परिचय गराउने प्रयास गरेको देखिन्छ । कवि तीर्थराज अधिकारीको परिवार, ग्रामीण परिवेश, बाल्यकाल, विद्यालयीय शिक्षा, राजनीति, अध्यापन, कलेजको अध्ययन, संघर्षपूर्ण जीवन, मावली परिवेश र परिचय, सहयोग, सरकारी अधिकृत स्तरको जागिरमा प्रवेश, विभिन्न जिल्लामा सरुवा, धेरै जिल्लामा साहित्यिक संघसंस्था स्थापना गर्न, पत्रिका प्रकाशन गर्न, आफू पुगेका ठाउँमा सकारात्मक छाप छोड्न सफल भएका प्रसङ्गहरू, पदीय कार्यसम्पादन, कृतिगत परिचयका साथै विभिन्न साहित्यिक संघसंस्थामा आवद्धता, मान पदवी, सम्मान र अभिनन्दनसहित विभिन्न कुराहरूलाई समेट्न पन्त सफल भएको पाइन्छ । यसका लागि उनी धन्यवादका पात्र भएका छन् ।

यस प्रसङ्गमा कल्याण पन्तले तीर्थराजको मावलीको विषयलाई रोचक तरिकाले वर्णन् गर्दै लेखेका छन्— तीर्थराजका मामली हजुरबुबा कुनै पेशा वा व्यवसायका लागि बर्मा(म्यानमार) पुग्नुभएको रहेछ । त्यहाँ नै उनका ठूलो मामा जन्मेका रहेछन् । तसर्थ उहाँको नाम ब्रह्मदत्त तिवारी राखिएको रहेछ । ब्रह्मदत्त सर्वोच्च अदालतका न्यायाधीश बने । उनी आमा, साना मामा र सानीमा तनहुँको त्यही तिवारी गाउँमा जन्मिएको कुरालाई पन्तले उल्लेख गरेको पाइन्छ । पन्तले गाउँलेको हेराहेर भएको कुरालाईसमेत आकर्षक शैलीमा यसप्रसार प्रस्तुत गरेका छन्— २०३४ सालमा सडक डिभिजन पोखरामा कार्यरत छँदाको कुरा हो । दशैं मनाउन तीर्थराज आफ्ना तीन बालबच्चाहित लमजुङतिर जाँदै थिए । कान्छी छोरी जम्एिकी थिइनन्, हिँडेर जानेपर्ने । तीन बच्चासहित लुगाफाटा बोक्न ४ जना सहयोगी थिए । हिँडेर जाँदा साँझमा सोतीपसलमा बास बस्न पुगे उनीहरू । भोलिपल्ट बिहान बाटो घरतिर उनीहरू जाँदै थिए । बाटोमा गाउँले भेटिए । सबैले बिस्तारै आउँदै गर वस्तुभाउलाई हेर्नुपर्ने छ भनेर गाउँलेहरू अघि बढे । बिस्तारै घर पुग्दा उनीहरू साँझमा गाउँतिर उक्ले । तर त्यहाँ गाउँलेहरू पिँढीमा खचाखच थिए । भरियाहरू ४ वटा डोका पिँडीमा के बिसाएका थिए गाउँले एकापसमा हेराहेर गरे । मूल कुरा के रहेछन् भने ४ जना भरिया ल्याएका तीर्थराजले बाउआमालाई कति रकम राखेर ढोग्दा रहेछन् भन्ने रहेछ भन्ने विषयलाई सरल तरिकाले वर्णन गरेको देखिन्छ ।

लमजुङ जिल्लाको परिचय गराउने तीर्थराजको लोकगीत गाउने दुईजनामध्येका एक पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकालले अधिकारीसँगको संगतका विषयमा लोकशैलीमा यसप्रकार प्रस्तुत गरेको पाइन्छ—

अग्रज स्रष्टा तीर्थराज अधिकारी सरल अति

परिचित भा’को भयो हामी दुई दशक जति

गीताञ्जली साहित्य परिवारको स्थापना पछि

घनिष्टता बढेको हो हाम्रो अझ बढी …..

 

लमजुङ जिल्लाको वर्णन गरी रचिएको गीत

गाएको छु हरिदेवी कोइरालासित….

पेन्सन वापत आएको पैसा वाङ्मयका लागि

खर्च गर्ने गर्नुभा’छ हुनुभा’छ त्यागी…….

पृथ्वीनारायण क्याम्पस, नेपाली विभागका विभागीय प्रमुख प्रा.डा. कुसुमाकर न्यौपानेले ‘अभियन्ता तीर्थराज अधिकारी’ शीर्षकमा मुक्तकमणिसँगको पहिलो भेटघाट, परिचय, संगत र जीवनप्रतिको दृष्टिकोणका बारेमा चर्चा गरेका छन् । उनले तीर्थराज अधिकारीमा राजनीतिशास्त्र र व्यवहारको ज्ञान पनि उत्तिकै सबल छ भन्दै उहाँले राष्ट्रियता, लोकतन्त्र अनि समाजवादको मूल मन्त्रलाई आफ्नो राजनैतिक आदर्श बनाएको भेटें भन्ने प्रशङ्ग उठाउँदै यही लक्ष्य प्राप्तिका निम्ति केही समय जेलजीवन व्यतीत गर्नुभएका अधिकारीले विभिन्न सामाजिक संस्थामा जिम्मेवारी लिएर ती जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको पनि देखें, सुनें र अनुभव पनि गरें भनेर आफ्नो अनुभूति दर्साएको देखिन्छ । उनले सरकारी कर्मचारीबाट निवृत्त भएपछि साहित्य सिर्जना कार्यमा अझ तीव्र गतिमा लागेको विषय उल्लेख गर्दै उर्जाशील समय देशको सरकारी कर्मचारी भएर जीवन व्यतीत गर्नुभएका अधिकारीले त्यस्तो अवस्थामा खुलेर राजनीति गर्ने अवस्था नभएका कारण उहाँले आफ्ना सिर्जनाका माध्यमबाट आफू भित्रको राजनैतिक सोच प्रकट गर्ने गरेको कुरालाई पनि समेटेको पाइन्छ । जीवनमा साथ पाइन्छ भनेर साथी बनायो अनि सानो स्वार्थपूर्ति नहुनासाथ उसैले कपोलकल्पित लाञ्छनाको समाचार बनाएर पत्रिकामा छपाइदिन्छ र यस्तालाई छाडेर अर्कालाई साथी बनायो उसैले हाटबजारमा लगेर खानपिनमा खर्च गराइदिन्छ जस्ता व्यावहारिक र सटिक कुरालाई प्रा.डा. न्यौपानेले स्रष्टा अधिकारीकै साथी सम्बन्धी मुक्तकको दृष्टान्त दिएको देखिन्छ :

एउटाले अखबारमा नानाथरी लेखाइदिन्छ

अर्काले हाटहटियामा लगेर ढाडै सेकाइदिन्छ

मलाई ऐना जस्तै निश्छल दोस्तीको खाँचो छ हजुर

जसले मेरो अनुहार जस्ताको तस्तै देखाइदिन्छ । 

त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. कृष्ण भण्डारी ‘मुमुक्षु’ले ‘अधिकारीका कविताका प्रवृत्ति’ शीर्षक दिएर एउटा अनुसन्धानात्मक लेख प्रस्तुत गरेका छन् । उनले तीर्थराज अधिकारीको सामान्य परिचय दिदै उनका कवितामा समाजचेतना, संस्कृति प्रेम, सामाजिक व्यङ्ग्य, विसङ्गति, प्रकृतिचित्रण, राष्ट्रप्रेमका कुराहरू पाइन्छन् भन्दै नेपाली समाजको वस्तुस्थिति र अन्तर्राष्ट्रिय जीवनको परिवेशलाई कवितामा उतारेको विषयलाई उल्लेख गरेको देखिन्छ । अधिकारी कविताको लघुतम रूप मुक्तक, गीत र फुटकर कविता रचनामा केन्द्रित रहेको पाइन्छ भन्दै यहाँ ‘यो कस्को हात हो?’ नामक कवितासङ्ग्रहमा केन्द्रित भइ उनका कवितामा समकालीन कविताका प्रवृत्तिहरू रहेको कुरा उल्लेख गर्दै सङ्ग्रहमा सांस्कृतिक विचार, राष्ट्रप्रेम, सामाजिक विसङ्गतिप्रति व्यङ्ग्य, प्रकृति चित्रण, सामाजिक सचेतना, सौन्दर्य चेतना र स्वच्छन्दतावादी शिल्पशैलीको प्रयोग गरेको कुरा प्रष्ट पारेको पाइन्छ । उनले राष्ट्रप्रेमको भावना वा देशको समुन्नति चाहने कविमा तीर्थराज अधिकारी पनि पर्दछन् भन्दै आँफू बाँचेको र बुझेको समाज, लोकसंस्कृति र सामाजिक व्यवहारले मातृभूमिको महिमा गान गर्नु हरेक नागरिकको कर्तव्य नै हो र आफ्नो मातृभूमिको मन रुँदा कविको मन पनि रुने र जब देशको मुहार उज्यालो हुन्छ तब कविको मन प्रशन्न हुन्छ भन्ने कवि तीर्थराजको भावनाको कविता प्रस्तुत गरेको पाइन्छ :

गर्छु म देशको सेवा जबसम्म म मर्दिनँ

तहिलेसम्म बाँचेर म पक्षपात गर्दिनँ ।

राष्ट्रवादी बने मात्रै चोखो राष्ट्र सुहाउँछ

उही छ देशको व्वाँसो दूधले जो नुहाउँछ ।।

‘मुक्तक सिद्धान्तका आलोकमा बिरिमफुल’ शीर्षक चयन गरेर विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले मुक्तकमणि तीर्थराज अधिकारीको समग्र परिचय र अनुभव प्रस्तुत गर्दै मुक्तक सम्बन्धी एउटा वौद्धिक चिन्तनका साथ अनुसन्धानात्मक लेख तयार गरेको देखिन्छ । यो लेख मुक्तक सिद्धान्तका दृष्टिले पनि ज्यादै उपलब्धिमूलक देखिन्छ । डा. रेग्मीले मुक्तकमा भाव कत्तिको आवश्यक कुरा हो भन्ने विषयलाई स्पष्टसँग यसप्रकार व्याख्या गरेका छन्— भाव मुक्तकको केन्द्रीय तत्त्व हो । यसमा लेखकले आफ्ना विचार प्रकट गरेको हुन्छ । मितं च सारं च वचो हि वाग्मिता भने झैँ थोरैमा धेरै भाव व्यक्त गर्नु नै मुक्तकको विशेषता हो । भाव जति गहन हुन्छ मुक्तक त्यति नै प्रभावकारी बन्न सक्तछ । बिरिमफुलमा अनेक भावहरू संश्लिष्ट छन् । विशेषतः मानवीय चरित्र, युगीन सन्त्रास जीवन भोगाइका वेदना, व्यथा, राजनीतिक व्यड्ग्य अनि त्यसप्रतिको विद्रोही चेतनाको भावभूमिलाई समेटेर कृति तयार भएको छ । प्रायःजसो मुक्तकमा मान्छेमा मानवीय पन हराएको, राजनीतिक दुर्दशाले देश आकान्छ बनेको, भ्रष्टाचार मौलाएको जनजीवन कष्टकर बन्दै गएको भाव मुखरित भएको पाइन्छ । आफ्नो स्वार्थसिद्धिबाहेक अर्काको भलो नचाहने वर्तमानको मानवीय कुत्सित प्रवृत्तिलाई मुक्तकसङ्ग्रहकै प्रारम्भमा यसरी व्यक्त गरिएको कुरा उदाहरणको रूपमा दिएको देखिन्छ :

कुँडिएको मनलाई खै कसरी सन्तोष दिलाउँछ मान्छे

दिल मिलोस् नमिलोस् तर पनि हात मिलाउँछ मान्छे

कतिसम्म कुटिल मनहरू जन्मेका छन् यो लोकमा

आफू सर्वत खाइ अरूलाई जहर पिलाउँछ मान्छे ।

डा. रेग्मीले लय मुक्तकको विशिष्ट पहिचान हो भन्दै यसले साङ्गीतिक आह्लाद पैदा गरी भावलाई सम्प्रेषणीय बनाउँछ भनेका छन् । उनले बिरिमफुल मुक्तकसङ्ग्रहका मुक्तकहरू रुवाई संरचनाका चतुष्पदी ढाँचामा संरचित छन् भन्नेकुरा चर्चा गर्दै यसमा धेरै मुक्तलय र केही गीतिलयको प्रयोग भएको कुरालाई उल्लेख गरेको पाइन्छ ।

यस प्रसङ्गमा डा. रेग्मीले मुक्तकीय अभिलक्षणका विषयमा पनि उदाहरणसहित साहित्यका पूर्वीय आचार्यहरूको धारणालाई पनि समेटेको देखिन्छ । उनका दृष्टिमा मोचन अर्थमा रहेको मुच् धातुमा क्त प्रत्यय लागेर बनेको मुक्त शब्दमा कन् प्रत्यय जोडिएर मुक्तक शब्दको निष्पत्ति हुन्छ । यसले साहित्यको काव्यप्रभेदअन्तर्गत कविताको लघुतम रूपलाई जनाउँछ । संस्कृत साहित्यमा अग्निपुराणकारदेखि लिएर विश्वनाथसम्मका आचार्यहरूले आ–आफ्ना काव्यशास्त्रीय ग्रन्थहरूमा मुक्तकको चर्चा गरेका छन् । तीमध्य अग्निपुराणकार, दण्डी, वामन, आनन्दवर्धन, अभिनवगुप्त, हेमचन्द्र र विश्वनाथले गरेका परिभाषा विशेष उल्लेख्य छन् भनेको पाइन्छ ।

अग्निपुराणकारले सहृदयलाई चमत्कृत पार्ने रचना मुक्तक हो भन्ने धारणा राखेका छन् । आचार्य दण्डीका अनुसार गद्य, पद्य र मिश्र गरी काव्यका मुख्य तीन भेद हुने र पक्ष्काव्यअन्तर्गत कुलक, कोष, सङ्घात झैँ मुक्तक पनि सर्गबद्ध काव्यकै एक अंश हो । काव्यालङ्कारसूत्रवृत्तिका रचयिता वामनले मुक्तकलाई अनिबद्ध वा सर्गबन्धादि नभएको सामान्य रचनाका रूपमा अथ्र्याउँदै आगाको फिलिङ्गोसँग तुलना गरेका छन् । उनका विचारमा आगाको सूक्ष्म फिलिङ्गो एक्लैले त्यति प्रकाश दिन सत्तैmन जति प्रकाश अग्निपुञ्जले दिन सक्छ । तसर्थ प्रबन्धकाव्यको चारुता मुक्तकमा दुर्लभ हुन्छ भनिएको कुरा उल्लेख भएको पाइन्छ । यसको अतिरिक्त अन्य आचार्यहरूको धारणालाई पनि उनले उदाहरणको रूपमा प्रस्तुत गरेका छन् ।.

डा. रेग्मीले बिरिमफुल मुक्तकसङ्ग्रह अधिकारीको छैटौं कति हो भन्द्र प्रस्तुत कृति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाबाट प्रकाशित भएको कुरा चर्चा गरेका छन् । उनले कृतिमा युगजीवन, मानवीय चरित्र, सामाजिक चिन्तन, देशप्रेम सामयिक परिस्थिति, आत्मचिन्तन जीवन रहस्य समकालीन राजनीतिक वेथिति, नेतृत्वप्रतिको असन्तुष्टि, व्यङ्ग्य विद्रोह नि सचेतनाका मुक्तकहरू समाविष्ट भएको कुरालाईसमेत समेटेको देखिन्छ ।

काठमाडौंका साहित्यकार डा. दोमोदर पुडासैनी ‘किशोर’ले ‘जूनको रोशनीमा घुलिएका जूनका टुक्राहरू’ शीर्षकमा आफ्नो भनाइ राख्दै जूनका टुक्राहरूलाई मुक्तक बनाएर काव्य जगत्मा फैँलिरहनु भएको तीर्थराज अधिकारीका मुक्तकहरू चतुस्पदी छन् र उहाँका मुक्तक वैचारिक चिन्तनका हिसाबले प्रयोगवाद पनि छन् भनेको पाइन्छ । उनले प्रयोगवादी साहित्यमा मूलतः विसङ्गतिवाद, अस्तित्ववाद, प्रतीकवाद, अतियथार्थवाद आदि प्रवृत्ति अँगालेका पाइन्छन् र दोस्रो विश्वयुद्धपछि युद्धको कारण ठूलो मात्रामा जनराशी मारिएको कारण समाजमा नैराश्य मात्र फैँलिएन नवीन चिन्त र नवीन शैलीहरू हरेक क्षेत्रमा फैँलिए भनेका छन् । उनले तीर्थराज अधिकारी समाज सुधारका लागि रचना राच्ने कवि हुन् भन्दै यिनका रचनामा मानवीय मूल्य र अस्मिताको आवाज उचालेको पाइन्छ भनेर उल्लेख गरेका छन् । समाजमा शोषण, दमन, अत्याचार र घमण्डका बिरुद्ध व्यङ्ग्यात्मक ढङ्गले प्रहार गर्न अधिकारी खप्पिस छन् र जूनका टुक्राहरू यसको ज्वलन्त उदाहरण भएको कुरालाईसमेत समेटेको देखिन्छ । जूनका टुक्राहरू विधागत रूपमा मुक्तक विधामा रहेको छ तर यसभित्र अन्तरनिहित आख्यान, काव्य, गीतिभाव जस्ता तत्त्वले यो एक बहुविधाको सुगन्ध दिने कृतिका रूपमा पनि प्रकाशमा आएको कुरालाई उनले जोड दिएको पाइन्छ ।

पूर्व सांसद डा. भीष्म अधिकारीले ‘दुराडाँडादेखि अमेरिकासम्मको यात्रा’ शीर्षकमा स्रष्टा तीर्थराज अधिकारीका सम्बन्धमा प्रकाश पार्ने क्रममा भौगोलिक परिवेशदेखिका कुरालाई यसप्रकार उल्लेख गरेको पाइन्छ :

दुराडाँडा भन्ने बित्तिकै नेपालमा एउटा गहिरो छाप छ । यो शैक्षिक उन्नयन, संस्कृति संरक्षण, सामाजिक कुरीति र कुप्रथा विरुद्ध गम्भीर रूपमा मुक्का प्रहार गर्न सामथ्र्य राख्न सक्ने नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थित एक साहसिक उर्जाशील डाँडो हो । यसको उत्तरमा अन्नपूर्ण र मनास्लुका विशाल हिमशृङ्खला, पूर्वमा मस्र्याङ्दी र पश्चिममा मादी नदी, शिरमा कालिका, वरिपरि मालिका र भगीरथी देवीको निरन्तर रेखदेख छ । त्यति मात्रै नभइ थानसिंनेटा, धुसेनी, कोइराला फाँट, च्यानपाटा, स्वाँरा, खजेगाउँ, तुर्लुङकोट, जलुकेनी, पाँचथरे तिमल्सेना गाउँ र पाउँदी खोलाको वरिपरि रहेका ठाउँको बीचमा रहेको देवतापानी पश्चिमाभिमुख छ भनेर उनले प्राकृतिक चित्रण गरेको पाइन्छ । डा. भीष्म अधिकारी अगाडि लेख्छन्— राष्ट्रसेवक भइ उहाँले सेवा गर्नुभएका अधिकांश स्थानमा गएर केही समय व्यतित गर्न पाउने मध्येको म एकजना हुँ । राजविराज, वीरगञ्ज, पोखरा आदि स्थानमा रहेर सिँचाइ, सडक, कृषि, स्वास्थ्य र कोष नियन्त्रकको कार्यालयमा रहँदा कर्मचारीवृत्तमा उहाँको सेवा, उहाँको सेवा समर्पणको नेतृत्व अत्यन्त महत्त्वपूर्ण रहेको हामी पाउँछौं । त्यसरी नै कर्मचारी मिलन केन्द्र भवन, खेलकुद, कविता, स्वास्थ्य शिविर सञ्चालन गरी अब्बल नेतृत्व प्रदान गर्नुभएको इतिहास हामी तत्–तत् स्थानबाट पाउन सक्छौं । तीर्थराज अधिकारीको जीवनको अर्को महत्त्वपूर्ण पाटो भनेको छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु हो । ठूली छोरी मन्दिरा र माइली छोरी मीराले स्वदेशमै उच्च अध्ययनको अवसर पाए । मीराले अमेरिकाबाट कम्प्युटर साइन्समा मास्टर्स र छोरी सुमिराले अमेरिका जस्तो व्यापक प्रतिस्पर्धा हुने देशबाट चिकित्साशास्त्रको अध्ययन पूरा गरी अनुसन्धान र चिकित्सा क्षेत्रमा डाक्टर भइ सेवा प्रदान गरेकी छन् । हाल उनी अमेरिकामा नै फेमिली मेडिसिन रेसिडेन्सी प्रोग्रामको एसोसियट डाइरेक्टर छिन् । उहाँ जहाँ रहँदा पनि छोराछोीको पढाइप्रति चिन्तित र बढी ख्याल राख्नुहुन्थ्यो । त्यसको फलस्वरूप सबै छोराछोरी अमेरिकाका विभिन्न नाम चलेका अस्पताल, अनुसन्धान केन्द्र र अन्य कार्यालयमा सेवारत छन् । यसरी छोराछोरीको अध्ययन र भविष्य निर्माण गर्न बेलैमा उहाँको ध्यान नगएको भए आजको परिस्थिति निर्माण हुने सम्भावना नै थिएन । यस मानेमा पारिवारिक सन्तुष्टि लिनुपर्ने देखिन्छ भन्ने कुरा उल्लेख भएको देखिन्छ ।

डा. अधिकारीले साहित्यिक कुरालाई अगाडि सार्दै भनेका छन्—

साहित्य पूर्वीय दर्शनको कुरा गर्दा ऋग्वेद एक साहित्य हो । यो करिव ६ हजार इशापूर्वको मानिन्छ । पश्चिमा अङ्ग्रेजी साहित्यमा शेक्सपियर र ग्रीक साहित्यमा इलियड र ओडिसी विश्व प्रसिद्ध छन् । मानव भावनालाई भाषाका माध्यमले गरिने कलात्मक अभिव्यक्ति नै साहित्य हो भन्न सकिन्छ । अझ व्याख्या गर्दा साहित्य जीवन–जगत्को लयात्मक र सुन्दरपूर्ण अभिव्यक्ति हो । गीत, नाटक, उपन्यास, काव्य, कथा, हास्यव्यङ्ग्य, विचार मन्थन, चिन्तन आदि विधामध्ये गीत, मुक्तक विधा मानव जीवनको एक महत्त्वपूण विधा हो । आज मनको विचार भावना अभिव्यक्त गर्न र जीवनका सबै रङ र जगत्का विभिन्न कुरालाई मर्मस्पर्शी ढङ्गले अभिव्यक्त गर्न मुक्तक मानव जीवनको अभिन्न अङ्ग बनेको छ । यहाँ यो महत्त्वपूर्ण विधाको अनुरागी भइ यात्रा गर्नुभएको पाँच दशक भइसकेको छ । यो बीचमा उहाँका धेरै कृति प्रकाशित भएको कुरा चर्चा गर्दै २०२६ सालमा झुल्का पत्रिकामा रचना प्रकाशन गरेर आजसम्म आइपुग्दा झण्डै दर्जन कृति प्रकाशित भएको कुरा उल्लेख गर्दै अर्को महत्त्वपूर्ण साहित्यिक कमर्ममा लमजुङ जिल्लाको चिनारी स्वरूप तत्कालीन ६१ वटै गाउँ विकास समितिलाई समेटेर निर्माण गर्नुभएको भिसीडीले ठूलो मात्रामा आम लमजुङेबीच ध्यानाकर्षण भएको कुरा उल्लेख गर्दै यो गीत लाखौंका बीच कर्णप्रिय आवाजमा रहेको र त्यसैगरी अर्को अमेरिकाबाट २०७४ सालमा माया आधुनिक गीतिएल्बम प्रकाशित भएको कुरालाई पनि राम्रोसँग प्रशंसा गरिएको पाइन्छ । अमेरिकामा रहेको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ट्रस्टीको कार्यकारी सदस्य, गीताञ्जली साहित्य परिवार पोखराका संरक्षक, मुक्तक प्रतिष्ठान काठमाडौंसाहित दर्जनौं संस्थामा आवद्धता रहेको कुरा स्मरण गर्दै कर्मयोगी सपुत पाउनु नेपाल आमाको अहोभाग्य हो । नेपाली साहित्यप्रतिको अनुराग, यात्रा र सिर्जना जीवन पर्यन्तका लागिरहन थप प्रेरणा प्राप्त भइरहोस् भन्दै साधनाको स्वर्ण जयन्तीको अवसरमा सुस्वास्थ्य दीर्घायु जीवन र सिर्जनाका लागि आदरणीय तीर्थराज अधिकारी (स्यानदाइ) लाई डा. अधिकारीले हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

नेपाल सरकारका पूर्व उपसचिव रघुनाथ अधिकारीले तीर्थराजः अविस्मरणीय व्यक्तित्व शीर्षकमा साहित्यकार तीर्थराजलाई यसप्रकार चित्रण गरेको पाइन्छ— मनोरञ्जनका क्षेत्रमा उहाँ निकै अगाडि हुनुहुन्थ्यो । परासीको छोटो बसाइमा पनि उहाँको सत्रियतामा तीन पटक वनभोजका कार्यक्रम आयोजना गरिएका थिए । परासीको वर्दगोरिया क्षेत्रमा आयोजना गरिएको वनभोजमा कथा, कविता, चुट्किलाका प्रहारहरू बिर्सी नसक्नुका थिए भने थारू भिलेज परिसरको वनभोज कार्यक्रममा मनोरञ्जनात्मक तथा प्रतियोगितात्मक खेलहरूले प्रत्येक कर्मचारी साथीलाई आल्हादित बनाइरहेको थियो । मानिस, प्रकृति, वन्यजन्तु र जलचरहरूसँगको अन्तर्सम्बन्धमा मानव मात्रले उनीहरूसँगको आत्मीयमन खिच्न सफल हुन सक्नु यो वनभोजको अर्को विशेषता रहेको थियो । यस्तै प्रकारले दाउन्ने देवी मन्दिर परिसरको वनभोज कार्यक्रम पनि कम रोचक र आल्हादिन नरहेको कुरालाई रोचक तरिकाले व्याख्या गरेको भेटिन्छ । रघुनाथ अधिकारीले अगाडि भनेका छन्— उहाँले सिर्जना गरेका अनेकौं रचना, लेख, पुस्तक र सम्पादन गरेका अनेकौं पत्रपत्रिका हाम्रा लागि धरोहरका रूपमा रहेका छन् । ‘स्वर्ग अन्त कतै छैन तर आत्मज्ञानी पुरुष जहाँ जान्छ त्यहीँ स्वर्ग बनाइदिन्छ’ भन्ने प्रसिद्ध उक्ति अनुरूप तीर्थराजजी जहाँ जानुहुन्छ त्यहाँको वातावरण नै साहित्यिक हुनजान्छ भन्नु अतिशयोक्ति नहोला भन्ने धारण प्रष्ट रूपमा राखेको देखिन्छ ।

गोरखा जिल्लामा जन्मेर अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसनलाई कार्यक्षेत्र बनाइरहेका वरिष्ठ साहित्यकार राजेन्द्रप्रसाद अर्यालले ‘बहुमुखी प्रतिभाः तीर्थराज अधिकारी’ शीर्षकमा कवि तीर्थराजको बारेमा आफ्नो धारणा यसप्रकार राखेको देखिन्छ— तीर्थराजको जीवनको सुगन्धमा अनेकौं बास्नादार फूलहरूको सम्मिश्रण छ तापनि साहित्यिक व्यक्तित्वको रूपमा उहाँको परिचय प्रकाश सर्वथा प्रज्वलित छ । उहाँका कविता, मुक्तक, गीतका पुस्तक तथा भिसिडी प्रकाशित–प्रसारित छन् । कविता विधाभित्रको मुक्तक लेखनमा उहाँको उच्च स्थान छ । उहाँ मुक्तकमणिको पदवीबाट विभूषित हुनुहुन्छ । हामी नेपाली साहित्यका अनगिन्ती पाठकहरूले उहाँका पुस्तक, सिर्जना अध्ययन तथा श्रवण गरेर आनन्दित भएका पाउँछौं भन्दै उहाँका सिर्जनाहरू विशेषतः प्रकृति प्रेम र वर्णन, चेतनाको प्रवाह, माटोको माया, धर्म, संस्कृतिप्रति गर्व, असंगीतप्रति व्यङ्ग्यभावले सिन्चित हुनुका साथै श्रृङ्गारिक, लालित्यमय, सरल र बोधगम्य छन् । रचनाहरू अध्ययन गर्दै जाँदा त्यसले पाठकको हृदयमा स्पर्श गरिहाल्छ र एउटा मिठासपूर्ण आनन्दको स्पन्दन पैदा हुनजान्छ । लामो समयसम्म पाठकको मन मस्तिष्कमा सकारात्मक छाल तरङ्गीत गराइरहने क्षमता राख्ने कुरालाई अर्यालले राम्रोसँग चित्रण गरेको पाइन्छ ।

अनेसास ओहायो च्याप्टर अमेरिकाका अध्यक्ष रोहितचन्द्र भण्डारीले ‘प्रेरणादायी साहित्यिक अभियन्ता’ शीर्षकमा साहित्यकार तीर्थराज अधिकारीप्रति आफ्नो धारण यसप्रकार राखेको पाइन्छ :

साहित्यमा आफ्नो जीवन नै समर्पण गर्नुभएका तीर्थराज अधिकारीको व्यक्तित्व र कृतित्व बारेमा ग्रन्थ प्रकाशन हुन लागेको थाहा पाउँदा अत्यन्त खुसी लागेको कुरा उल्लेख गर्दै मेरो व्यक्तिगत तथा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज नर्थ इस्ट ओहायो च्याप्टरका तर्फबाट उहाँलाई हृदयदेखि बधाइ ज्ञापन गरेका छन् । उनले हाम्रो नेपाली भाषा, संस्कृति र साहित्यमा अनवरत रूपमा गर्नुभएको योगदानको सम्मान पनि गर्दै उहाँले छलफलका क्रममा हामीसँग गरेको कुराकानीले मलाई यो कार्य गर्नुपर्छ भन्ने सोच आएको र उहाँको शिष्टाचार अनि मृदुभाषी व्यक्तित्वले म नतमस्तक भएँ भन्दै सहृदयी भावना, अभिव्यक्तिको सरलता र प्रभावकारिताले नै उहाँलाई अन्तरराष्ट्रिय नेपाली साहित्य समाजमा छिटो परिचित गराएको कुरा उल्लेख भएको पाइन्छ । त्यसैको फलस्वरूप उहाँ यस संस्थाको उपल्लो निकायको कार्यकारी सदस्य हुनुहुन्छ र नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको चिन्ता त उहाँमा पर्याप्त देखिन्थ्यो नै त्यो सँगै हामी जस्ता नयाँ पुस्तालाई कसरी सक्रिय बनाउने भन्ने विषयमा उहाँ निकै सक्रिय व्यक्तित्व हो भन्ने बुझ्न उहाँका रचना र कृतिहरू नै काफी छन् भन्दै उहाँका सरल र सरस मुक्तकहरूको म पारखी नै भैसकेको छु भनेर भण्डारीले व्यक्त गरेको देखिन्छ । लेखन शैलीमा शब्द छनोट र त्यसको सरल अर्थले उहाँका सिर्जनाहरू बुझ्न सामान्य व्यक्तिलाई पनि कुनै कठिनाइ छैन भन्नेकुरा चित्रण गर्दै अर्को महत्त्वपूर्ण कुरा हामी परदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीको मनमा खड्किने कुरा आफ्ना सन्तानमा आफ्नो भाषा, साहित्य र संस्कृतिको पुस्तान्तरण एउटा चुनौतीको रूपमा देखा परेको अवस्थामा तीर्थराज अधिकारी जस्तो साहित्यिक व्यक्तित्व जो ‘मुक्तकमणि’ उपाधिबाट सुशोभित साहित्यकार यसरी परदेशमा सबैलाई प्रेरित गर्ने अभियानमा लाग्नु सबै नेपालीको गौरवको विषय भएको कुरा उल्लेख गर्दै उनले आफूलाई मनपर्ने उहाँको मुक्तक यसप्रकार प्रस्तुत गरेको देखिन्छ :

शब्दको पनि अनौठो जाल हुँदो रहेछ

धेरै शब्दहरू मिलेपछि पर्खाल हुँदो रहेछ

सभ्यता र शब्दहरूको सामन्जस्य मिलाउने

यहाँ शब्दै शब्दहरूको सञ्जाल हुँदोरहेछ ।

‘देश खोज्दा नक्षत्र’ शीर्षक बनाएर पब्लिकेशन कमिटी नासा, अमेरिकाका सभापति डा. चिरञ्जीवी भट्टराईले आफू तनहुँको भएकोले छिमेकी जिल्ला लमजुङमा स्वास्थ्यकर्मीको हैसियतले विभिन्न गाउँमा पुगेर बिरामीहरूको सेवा गर्ने अवसर पाएको र त्यहाँको प्राकृतिक सुन्दरता, भाषिक, साहित्यिक, सांस्कृतिक र ऐतिहासिक कुराबाट ज्यादै मोहित भएको प्रसङ्गलाई मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले प्रवासमा देश खोज्नु फरक हुन्छ । यहाँ देशको जस्तो भूगोल हुँदैन । उनले आफ्नै देशको जस्तो केही हुँदैन आकार, अनुभूति र स्वभावमा भन्दै तापनि हामीले भाव र भावनामा देश खोजिरहेका हुन्छौं । स्रष्टा जसले स्वदेशमा मात्र होइन, प्रवास वा जहाँकहीँ आफू पुगेको ठाउँमा नेपाली भाषा, साहित्य, कला, संस्कृति, स्वभाव र स्नेह बोकेर लगिरहेका हुन्छन् भनेको पाइन्छ । उनले कुनै पनि राष्ट्रको भाषा, साहित्य, कला, संस्कृति यस्तै–यस्तै स्रष्टाका साधनाका कारणले सदा बाँचिरहेको हुन्छ भन्दै यस अर्थमा यस्ता स्रष्टाहरू सधैं सम्मानित हुन्छन् भनेका छन् । अन्ततः कुनै पनि ठाउँ, क्षेत्र र राष्ट्रकै गौरव र चिनारी हुन्छन् भन्नेकुरा प्रस्तुत गर्दैै यस अर्थमा मुक्तकमणि तीर्थराज अधिकारीलाई समग्र लमजुङको गौरव र नक्षत्रका रूपमा लिन सकिन्छ भनेर उनले मलाई लमजुङका स्रष्टाहरूमा राष्ट्रकवि माधव घिमिरेपछि दोस्रो पुस्ताका चम्किला साहित्यकार मुक्तकमणि तीर्थराज अधिकारी नै लाग्दछ भनेको पाइन्छ । डा. भट्टराईले नेपालका मुक्तकमणिका नामले सुपरिचित एक साहित्यकार भन्नेकुरा उहाँका ‘जूनका टुक्राहरू’ मुक्तकसङ्ग्रहमा समावेश भएको एउटा मुक्तकको उदाहरण प्रस्तुत गरेका छन्—

कतै छलिएर अप्सरा नै यो धरतीमा पसे झैँ लाग्छ

पूर्णिमा पछि जूनका टुक्राहरू यतै खसे झैँ लाग्छ

अँधेरी रातमा झिलिमिली जूनकीरी चम्केको देख्दा

तिमी नै मेरो छेउमा नै आएर बसे झैँ लाग्छ ।

प्रा.डा. कृष्णचन्द्र शर्माले ‘अधिकारीको बिरिमफुल’ शीर्षकमा अधिकारी अत्यन्त सामाजिक चेत भएका स्रष्टा हुन् भन्दै उनका रचनामा समाजको धुकधुकी कविता र गीत बनेर पोखिएको कुरालाई समेटेको देखिन्छ । उनले गीत र कविता समसामयिक समाजको इतिहास पनि हो र कुनै पनि युगको सामाजिक जीवन साहित्यमा जति बढी गहिरो गरी आएको हुन्छ त्यो अन्यत्र कतै पाइँदैन भनेर स्पष्ट पारेको देखिन्छ ।

मुक्तकमणि अधिकारीका सहोदर दाजु नेपाल सरकारका पूर्व वन अधिकृत नृपराज अधिकारीले ‘तीर्थरूपी मेरो भाइ तीर्थ’ शीर्षक दिएर आफ्नो एकमात्र प्यारो भाइ तीर्थराजलाई यसप्रकार चित्रण गरेको पाइन्छ— बाल्यावस्थामा दाजुभाइ, बाहिनीसँगै त्यति अनुकूल मिलेन, तथापि आजकाल बेलाबखत भेटघाट भइरहन्छ । तीर्थले आफू पढ्न र यस अवस्थासम्म आउनमा भाउजू विष्णुकुमारी अधिकारीको हात छ भन्ने गर्दछन् । तीर्थ पढाइका साथसाथै व्यवहारिक कार्य जस्तै गाउँमा खेतीको समयमा मेलापात जाने, नाटक प्रदर्शन गर्ने, साहित्यिक क्षेत्रमा अग्रसर हुनुका साथसाथै हर क्षेत्रमा अभिरूचि साथ सरिक रहन्थे भन्दै अति महत्वाकाङ्क्षी र मिहिनेती छन् तीर्थ भनेर वास्तविक कुरालाई रोचक ढङ्गले प्रस्तुत गरेको पाइन्छ । भाइकै जस्तो ठ्याक्कै अनुहार मिल्ने दाजु नृपराजले प्रिय भाइ तीर्थराजलाई महत्वाकाङ्क्षी र मिहिनेती भएकै कारण हर क्षेत्रमा सफलता प्राप्त गरिरहेका छन् भनेर सन्तोष व्यक्त गरेको देखिन्छ । साहित्य क्षेत्रमा बढी अभिरूचि लिने मुक्तकमणि सम्मानबाट विभूषित बहुप्रतिभाशाली व्यक्ति तीथका धेरै कृति प्रकाशित भइसकेको कुरा उनले वर्णन गरेको पाइन्छ ।

‘अभिभावकीय भूमिकामा तीर्थराज अधिकारी’ शीर्षक बनाएर अनेसास केन्द्रीय समितिका अध्यक्ष प्रकाश पौडेल ‘माइला’ले स्रष्टा अधिकारी जापान यात्रामा जाँदा उहाँले आफ्नो जीवनको अनुभव र अभिभावकीय भूमिका निर्वाह गरी सकारात्मक छाप छोड्न सफल हुनुभएको कारण अहिलेसम्म पनि जापानमा बसोबास गरिरहेका नेपाली साहित्यकारहरूको मनमा बस्न उहाँ सफल हुनुभएको कुरा स्मरण गरेको भेटिन्छ । उनले हाल अनेसास बोर्ड अफ ट्रस्टीको कार्यकारी सदस्यका रूपमा रहँदा उहाँको खटाई र सक्रियता लोभलाग्दो देखिन्छ भन्दै सधैं सकारात्मक भाव राखेर केही न केही गरिरहने स्वभावले गर्दा उहाँमा थकान र वितृष्णा भन्नेकुरा भेट्न सकिँदैन भनेका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा धेरै संस्थामा आबद्ध भए पनि पछिल्लो समय अनेसासलाई आफ्नो मूल संस्था मान्नु नै हाम्रो निम्ति सौभाग्य हो भन्दै संस्थालाई स्वच्छ, हराभरा र सबल बनाउने आफ्नो मुख्य अभियान रहेको कुरा उहाँले पटक–पटक सार्वजनिक रूपमा बताउने गर्नुभएको कुरा उल्लेख गरेका छन् । उनले आदरणीय तीर्थ सर, तपाईंको यो सपना हामी सबैको सपना हो र हामी सबै यही सपनाका लागि आफ्ना व्यक्तिगत अप्ठ्यारा सहेर पनि यही कर्ममा लागिरहेका छौं भन्दै तपाईंको आशीर्वाद र निर्देशन यसरी प्राप्त गर्दै जाँदा हामी तपाईंका सपनालाई विपनामा अवश्य परिवर्तन गर्नेछौं भन्ने विचार प्रस्तुत गरेको देखिन्छ ।

प्रकाश पौडेल ‘माइला’ले अगाडि भनेका छन्— उहाँ नेपाली राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक कुराको गहिरो ज्ञान राख्नुहुन्छ भन्दै तीन दशकभन्दा बढी सरकारी सेवामा बिताएका कारण प्रशासनिक दक्षता पनि राम्रोसँग राख्नुभएको कुरा चर्चा गरेको देखिन्छ । उनले उहाँको खास व्क्तित्व र परिचयको माध्यम साहित्य नै हो भन्दै साहित्यमा पनि मुक्तकका माध्यमबाट आफ्ना भावना व्यक्त गर्न रुचाउने हुनाले चार लाइनभित्र उहाँले कुनै एउटा क्षेत्रलाई मार्मिक भेदन गर्न सक्नुहुन्छ र अनुभव, विद्वता र अध्ययनका कारण हुनसक्छ, उहाँले लेखेका चार लाइनमा ठूलो दर्शन देखिने गर्छ भनेका छन् । उनले माहोल र परिस्थिति हेरी फरक–फरक मर्म बोकेका मुक्तक सुनाउन उहाँ माहिर हुनुहुन्छ भन्दै केटौलीदेखि वृद्ध उमेर तहसम्मका सबैलाई मन्त्रमुग्ध पार्ने क्षमता उहाँका मुक्तकमा भेटिन्छन् भनेर एउटा सफल र मार्मिक किसिमको मुक्तक उदाहरणको रूपमा प्रस्तुत गरेका छन्—

पर दबावको प्रमुख पक्ष आपसी छिद्रता रहेछ

अवनतिको मुख्य कारण वैचारिक दरिद्रता रहेछ

वैमनष्यता द्वन्द्व र अशान्तिको कारण हो भने प्रभू

शान्ति र सन्तुष्टिको बाहक समादर र मित्रता रहेछ ।

अनेसासका पूर्व केन्द्रीय अध्यक्ष प्रा. मोहन सिटौलाले ‘तीर्थराज अधिकारी : सिर्जनशील साहित्यकार’ शीर्षक दिएर अधिकारीको आफन्तको जस्तो मित्रभाव, सधैं हलुका स्मित मुहार, निर्धक्क अभिव्यक्ति, सटीक, सिर्जनात्मक एवम् चिन्तनशील छोटा–छोटा अभिव्यक्ति दिने शैलीका साथै स्वाभाविक र विनयशीलताले मलाई उनीसित अनायासै नजिक पुर्याएको कुरा उल्लेख गरेका छन् । औपचारक वक्तव्य वा अनौपचारिक सम्भाषणका बेलामा उनले आफ्ना श्रोतालाई पटक–पटक मिचीमिची हाँस्ने पारेका छन् भन्दै सोद्धेश्योन्मुख कर्तव्यपरायण र कर्तव्यनिष्ठ उनमा लोभ र महत्त्वाकाङ्क्षा मैले कहिल्यै देखेको छैन भन्दै उनी आफ्नै किसिमका समाजप्रेमी र सिर्जनशील साहित्यकार हुन् भनेर प्रा. सिटौलाले साहित्यकार तीर्थराजको प्रशंसा गरेको देखिन्छ ।

प्रा. डा. खेमराज शर्मा आचार्यले ‘लगनशीलताका प्रतीक तीर्थराज’ शीर्षक दिएर विशेष गरी ‘बिर्सेको छैन’ भन्ने लमजुङ सम्बन्धी गीतलाई प्राथमिकता दिएको देखिन्छ ।  उनले लोकगायिका हरीदेवी कोइराला र पद्मराज ढकालको युगल स्वरमा छायाङ्कन गरिएको ‘बिर्सेको छैन…’ गीत तीर्थराज अधिकारीको नेपाली लोकगीतको क्षेत्रमा उत्कृष्ट देन भन्ने ठान्दछु भन्दै यसमा उनले लमजुङ जिल्लाको समष्टिगत प्राकृतिक स्वरूप र विशेषता दिन सफल भएको कुरा उल्लेख गरेको पाइन्छ । समयक्रममा लमजुङबाट पोखराको स्थायी बासिन्दा र अभैm आएर सात समुन्द्रपारिको मुलुक अमेरिकामा बसोबास गरे पनि उनले आफ्नो जिल्ला लमजुङ र त्यसमा पनि जन्मथलो दुराडाँडा, देउतापानीलाई बिर्सेका छैनन् भनेर वर्णन गरेको देखिन्छ ।

‘युवा जोसका ज्येष्ठ कवि’ शीर्षकमा अनेसास केन्द्रीय समितिका निवर्तमान महासचिव गणेश घिमिरेले मुक्तककार अधिकारीलाई यसप्रकार चिनाउने प्रयास गरेका छन्— पुरानै उत्साह, जोस र फरासिला अधिकारी परिवारसँग उमेरको ठूलो ग्यापले कहीँ कतै छेकेन हामीलाई घुलमिल हुन । सुनसुकै उमेर र समूहसँग सजिलै मित्रता गाँस्नसक्ने र लामो समयसम्म त्यो मित्रतालाई कायम राख्ने दाजुकारिता कवि मुक्तककार तीथराज अधिकारीसँग रहेको छ । उहाँहरू पर्थमा रहुञ्जेल एउटा परिवारको सदस्य झैँ नजिकियौं र त्यसपछिका दिनहरू झन् प्रिय बन्दै गएका छन् भनेको पाइन्छ ।

यस क्रममा अनेसास केन्द्रीय समितिका सल्लाहकार एल.बी. क्षत्रीले झुल्किरहेका तीर्थ शीर्षकमा कवि तीर्थराजलाई आदरका साथ लमजुङमा जन्मनु भएका साहित्यकार तीर्थराज अधिकारीलाई म नजिकबाट चिन्दछु भन्दै उहाँ सबैका साहित्यिक उर्जा, सर्जक र सङ्गठक हुनुहुन्छ भनेका छन् । उनले अनेसासको रजतजयन्ती अवसरमा म अमेरिका भ्रमणमा रहँदा उहाँसँग मेरो प्रथम भेट भएको कुरा स्मरण गर्दै मिलनसार, सहृदयी साथै सहयोगी धारणका व्यक्तित्व अधिकारीको साहित्यका विविध विधामा प्रभावकारी र हस्तक्षेपकारी भूमिका रहे तापनि मुक्तक विधा उहाँको विशेष विधा हो भनेर स्पष्ट पारेको देखिन्छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का पूर्व निर्देशक भोजराज न्यौपानेले ‘मुक्तकमणि तीर्थराज र झटारो’ शीर्षकमा एउटा अनुभवयुक्त रोचक लेख प्रस्तुत गरेको पाइन्छ । मुक्तकमणि अधिकारीका बहिनी ज्वाइँसमेत रहेका न्यौपानेले विशेष गरी झटारो मुक्तकसङ्ग्रहमा केन्द्रित भएर प्रारम्भमा स्रष्टा अधिकारीकै एउटा मुक्तक प्रस्तुत गरेको देखिन्छ—

साहित्य पानी जस्तै तरलतामा समेटियोस्

जसले पियो उसैको तिर्खा मेटियोस्

केवल स्पर्श मात्र गर्ने होइन साहित्य

जसले पढ्यो उसैको जीवन भेटियोस् ।

साहित्यिक रचना मार्फत् पाठकहरूको मन जित्नसक्ने क्षमता तीर्थराज अधिकारीमा पाइनु उनको वैशिष्ट्यता हो । लेखक न्यौपानेले साहित्य समाजको ऐना हो भन्ने कथनको यथार्थता उपर्युक्त हरफहरूले बोकाका छन् भन्दै आफ्नो जीवन पढ्न पाइने साहित्य नै उत्कृष्ट साहित्य ठहर्छ भनेको पाइन्छ । आफ्ना कृतिहरूमा यही उद्देश्य हाँसिल गर्न साहित्य साधना गरिरहनु भएको छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ र उहाँको साहित्यिक दूरदृष्टि यही देखिन्छ भनेर स्रष्टा तीर्थराजप्रति स्पष्ट धारणा राखेको देखिन्छ ।

स्रष्टा तीर्थराज अधिकारीको ‘झटारो’ मुक्तकसङ्ग्रह अङ्ग्रेजीमा अनुवाद गरेर नेपाली मुक्तकलाई विश्व रङ्गमञ्चमा पुर्याउने जस भोजराज न्यौपानेले पाएका छन् । उनले नेपालमा सर्वप्रथम मुक्तकको अङ्ग्रेजीमा अनुवाद गर्ने व्यक्तिका रूपमा आफूलाई चिनाएकाले उनी धन्यवाद र बधाईका पात्र भएका छन् । उनले भनेका छन्— सर्वप्रथम मलाई झटारोको अङ्ग्रेजी पर्यायवाची शब्द पत्ता लगाउने चुनौती खडा भयो भन्दै मैले चित्तबुझ्दो शब्द भेटिन भनेको पाइन्छ । उनले हुन त केही साथीभाइले स्लिङ (sling)/ स्लिङशट (slingshot) सुझाए तर यो शब्द ‘गुलेली’ शब्दको नजिक भएकोले मैले झटारोको पर्यायवाचीको रूपमा उक्त शब्द राख्न उचित ठानिन भन्दै त्यसकारण झटारोलाई”Jhataro” कै रूपमा कायम गरें । बरु यसलाई अन्य थप शब्दहरूको मद्दत लिएर यसको अर्थ बुझाउने प्रयास गरेँ भनेर अङ्ग्रेजीको उदाहरण यसप्रकार दिएको देखिन्छ—A local wooden weapon to fell down fruit, vegetables etc. from a tree or creeps. (Jhataro p.25).

झटारो मुक्तकसङ्ग्रहलाई अङ्ग्रेजी भाषामा अनुवाद गर्ने गहनतम बौद्धिक कार्य सम्पन्न गर्न सफल न्यौपानेको भनाइमा आंशिक रूपमा सहमत हुन सकिन्छ । कुनै पनि विदेशी आँखाले किताबको नाम हेर्दा (Jhataro) देख्दा सम्बन्धित व्यक्तिको मनमा कस्तो प्रभाव पर्ला भन्ने कुरा हामीले ख्याल गर्नु उपयुक्त हुन्छ । किताबको नाम अङ्ग्रेजीमा हुनसकेको भए त्यो स्वागतयोग्य हुनेथियो । यसको अतिरिक्त (Jhataro) लाई परिभाषित गर्नका लागि दिइएका अङ्ग्रेजी शब्दहरू पनि प्रष्ट हुनसकेको देखिदैन । स्लिङ (sling) ले झटारोलाई बुझाउँछ भने स्लिङशट (slingshot) ले गुलेली भन्ने बुझाउँछ । (Weapon) को अर्थ नेपालीमा हतियार हुन्छ भने (stick) को अर्थ लट्ठी हुन्छ । झटारो भनेको त काठको लट्ठी होइन र ! त्यसकारण त्यसको सट्टामा किताबको नाम  SLING र त्यसको अर्थको रूपमा (A local wooden stick throw to fell down fruit, vegetables etc. from a tree or creeps) उपयुक्त हुने देखिन्छ ।

न्यौपानेले अधिकारीको झटारोलाई अनुवाद र अध्ययन गर्ने क्रममा मैले कृतिमा समाविष्ट १६० वटा मुक्तकलाई राम्ररी अध्ययन गर्ने अवसर पाएँ भन्दै यसैले उक्त मुक्तकका विषयलाई जवानी वा प्रेमपरक, व्यङ्ग्यपरक, मार्गदर्शनपरक र प्रकृतिपरक उपशीर्षकमा वर्गीकरण गरेर अध्ययन गर्न सहज हुने कुरा प्रष्ट तरिकाले राखेको पाइन्छ ।

प्रकृतिपरक मुक्तकका बारेमा प्रकाश पार्दै भोजराज न्यौपानेले प्रकृतिमा नरमाउने स्रष्टा कमै होलान् भन्दै अधिकारीको मुक्तकमा प्रकृति र मानवजीवनको सम्बन्ध जोड्न खोज्नुभएको र पोखराको माछापुच्छ्रे र फेवातालको संगमलाई लालित्यपूर्वक प्रस्तुत गरिएको उदाहरण दिएको पाइन्छ—

झुल्के घामसँगै त्यहाँ पुग्छ

साँझ पर्नासाथ लुक्छ

माछापुच्छ्रेको फेवासँग राम्रै मन मिलेछ

जति कुरा काटे पनि

न पुच्छ्रे झुक्छ न फेवा सुक्छ ।

न्यौपानेले झटारोको अध्ययनपश्चात् अन्धविश्वास माथि विजयप्राप्त गरी तर्क र प्रयोगको आधारमा उपयुक्त ठहरेको कार्य र प्रणालीको अवलम्बन गर्ने न्याय र नैतिकताको कसीमा शुद्ध ठहरेको आचरणयुक्त व्यक्ति र समाज निर्माणमा साहित्यले योगदान दिनुपर्छ भन्ने पक्षमा मुक्तककार अधिकारी हुनुहुन्छ भनेर स्रष्टा तीर्थराजको व्यक्तित्वलाई अझै उजिल्याउने कार्य गरेको देखिन्छ ।

पृथ्वीनारायण क्याम्पस, पोखराका पूर्व क्याम्पस प्रमुख प्रा.डा. पशुपतिनाथ तिमल्सेनाले ‘तीर्थराजका कवितात्मक प्रवृत्ति’ शीर्षकमा एउटा सिलसिलायुक्त लेख तयार गरेको पाइन्छ । उनले झटारो मुक्तकसङ्ग्रहमा प्रयोग भएका विभिन्न सन्दर्भहरू, मानवप्रेम, मातृत्वप्रेम र संस्कृतिप्रेम इत्यादि कुराहरूलाई समेटेर आफ्नो दृष्टिकोण यसप्रकार प्रस्तुत गरेको देखिन्छ—

झटारो मुक्तकसङ्ग्रहमा तीर्थराज अधिकारीले अनेकौं सन्दर्भ–प्रसङ्गहरूमा आफूमा जागृत मानवप्रेम, मातृत्वप्रेम, भातृत्वप्रेम, प्रकृतिप्रेम, देशप्रेम, संस्कृतिप्रेम जस्ता भावनालाई राम्रोसँग देखाएका छन् । उनले कतिपय सन्दर्भमा युवा जीवनका रोमाञ्चक भावना या उमेरजन्य स्वच्छन्द मायाप्रेम या चोखो नसालु प्रेमलाई देखाएका छन् । उनी अश्लीलता या भद्दा शङ्गृारिकताका सीमासम्म नउठी प्रेमलाई आत्मिक भावनाको रूपमा उठाउँछन् । यसक्रममा तिमल्सेनाले ऐना कवितासङ्ग्रहका कवितामा जस्तै उनी झटारोका मुक्तकहरूमा पनि देश प्रेमको भावना व्यक्त गर्दछन् । देशमा विदेशी हस्तक्षेप बढेको र देश दिनानुदिन परनिर्भरमुखी हुँदै गएकाप्रति उनमा गहिरो चिन्ता देखिन्छ भन्ने कुरालाई राष्ट्रियता मुक्तकले पुष्टि गरेको एउटा उदाहरण प्रस्तुत गर्छन्—

हावा आयो चल्मलियो

हाम्रो मेलो अल्मलियो,

चारै खम्बा हल्लिएर

राष्ट्रियता ढल्मलियो ।

प्रा.डा. तिमल्सेनाले तीर्थराज अधिकारीको वैशिष्ट्यताको विषयवस्तुलाई अगाडि बढाउँदै भनेका छन्— तीर्थराज अधिकारी मूलतः कवि हुन् । उनले कविताका स्फूट रूपहरूको प्रयोगबाट आप्ना अभिव्यक्तिहरू दिँदै आएका छन् । यी सबै रचनामा यथेष्ट मात्रामा काव्यतत्त्वको उपयोग पाइन्छ । उनका ऐना, तीनलय तेह्रगीत तथा झटा।ोलाई मात्र प्रतिनिधि कृति मानी यहाँ चर्चा गरिएको भए पनि यी कृतिहरूले उनको समष्टिगत काव्यात्मक क्षमताको पहिचान गराउँछन् । अधिकारी आफूले देखेको, सुनेको, भोगेको समाजको गहिरोसँग निरीक्षण गर्दछन्, केलाउँछन् । राम्रा पक्षको समर्थन, नराम्रा पक्षमाथि कठोर व्यङग्य प्रहार गर्दै समाजलाई जागरुक हुन र सच्चिन आग्रह गर्दछन् भनेर अधिकारीलाई मिहिन तरिकाले परिचय गराएको देखिन्छ ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चन्द्र खड्काले ‘जूनका टुक्राहरू : वर्तमान देशको तस्बिर’ शीर्षकमा स्रष्टा अधिकारीको परिचय दिदै मुक्तकको सन्दर्भलाई अगाडि प्रस्तुत गरेको देखिन्छ । उनका अनुसार— मुक्तक छैटौं शताब्दीतिर परिभाषित भइ प्रयोगमा आएको विधा हो । हुनतः साहित्यमा मुख्य चार विधा मात्रै छन्– निबन्ध, आख्यान, नाटक र कविता । कविता सर्वप्राचीन विधा हो भन्ने तथ्य लगभग विश्वव्यापी सत्य स्थापित छ । यही कविता विधाको लघुतम रूपमा मुक्तक नेपाली साहित्यमा सर्वस्वीकार्य जस्तै छ । प्रायः चार हरफे हुने र कताकति विस्तारका क्रममा आठ हरफसम्म जानसक्ने भए तापनि चार हरफे मुक्तकका तुलनामा अरू कम देखिन्छ । नेपाली साहित्यको वर्तमानमा अति लोकप्रिय रचनाका रूपमा मुक्तकलाई लिन थालिएको छ । उमेरका हिसाबले सामान्य युवा अवस्थादेखि वृद्ध वयसम्मका सबैजसो मुक्तक विधामा अभ्यस्त भएको पाइन्छ । फुटकर रचनादेखि लिएर बृहत् आकारका पुस्तकसमेत प्रकाशित हुनुका साथै पाठकले पठनमा रुचि देखाएका तथ्य सार्वजनिक भइरहेका छन् । मुक्तकका पुस्तक प्रकाशनका दृष्टिले लेखक अधिकारीको प्रस्तुत कृति जूनका टुक्राहरू तेस्रो मुक्तकसङ्ग्रह हो । नेपाली मुक्तक साहित्यको विकास र विस्तार गरी गुणात्मक प्रवद्र्धन गर्ने मूल उद्देश्यले २०७० सालमा स्थापित ‘नेपाल मुक्तक प्रतिष्ठानले’ यस पुस्तकलाई प्रकाशित गरेको हो भनेका छन् ।

प्राध्यापक खड्काले प्रकृति र मानव जीवन सम्बन्धी कुरालाई यसप्रकार व्यक्त गरेको पाइन्छ— मानव जीवन प्रकृतिको एक अंशमात्र हो । हरेक जीव, प्राणी, वनस्पति वा निर्जीव वस्तु सबै–सबै प्रकृति हाो । उनका मुक्तकमा यही र यहीँको प्रकृति छ । आफू जन्मे हुर्केको समाज र मनोविज्ञान त्यसैसँग जोडिएको छ । मानव–जीवन प्रकृतिको एक अनुपम उपहार हो । कल्पनाशीलता उसको थप विशेषता हो । मानसबिम्बमा अनेकौं कुरा सलबलाइरहन्छन् । मान्छेले चाहोस् वा नचाहोस् भनेर स्रष्टा अधिकारीको मुक्तकको दृष्टान्त यसप्रकार दिएको पाइन्छ—

कतै छलिएर अप्सरा नै यो धरतीमा पसे झैँ लाग्छ

तिनी नै सुटुक्क मेरो छेउमै आएर बसे झैँ लाग्छ

अँधेरी रातमा झिलमिल जूनकीरी चम्किएको देख्दा

पूर्णिमा पछिका जूनका टुक्रा यतै खसे झैँ लाग्छ ।

I feel a nymph entered this earth as she lost her way

I feel she came silently and sat by me

While I glance the twinkling stars in the dark night sky

I feel pieces of the Moon after full phase have fallen here.

 

मलाई झरनाको झरझर मन पर्दैन धाराको पानीले नै नुहाउँछु

झिल्झििलेको फ्रेम चाहिँदैन कतै एउटा सानो खोपीमा सुहाउँछु

जिन्दगीमा के पो गरिस् र अझै ठाडो नाक लगाउँछस् तीर्थे ?

यति भन्दै देब्रे हातले आफैँलाई मज्जाले लोप्पा खुवाउँछु ।

I do not enjoy the flowing sound of the fountain so I prefer to bath on water-tap

I don’t need a room with superfluous mode but I am fit in a narrow cell.

“What thing of importance did you do in life “Teerthe” and yet you’re shameless?”

Saying this, I disgrace myself covering my face with my left hand.

प्राध्यापक खड्काले मुक्तककार तीर्थराज अधिकारी मुक्तक विधामा स्थापित नाम हो भन्दै स्थापित मात्र होइन यही विधामा सक्रिय योगदान दिएकै कारण २०७३ सालमा उनलाई मुक्तकमणिको उपाधिले विभूषित गरिएको कुरा स्मरण गरेका छन् ।

स्रष्टा तीर्थराजकी सहोदर बहिनी समाजसेवी सरला न्यौपानेले समय र समाजले नचिनेका हाम्रा सान्दाइ भनेर मुक्तकण्ठले प्रशंसा गरेकी छन् । उनले सङ्घर्षको अर्को नाम हो तीर्थराज अधिकारी भन्दै उनको विद्यार्थी जीवन सुखद् नभएको कुरा उल्लेख गरेको पाइन्छ । उनले धेरै व्यवधान व्यहोर्दा व्यहोर्दै कक्षा ८ मा अध्ययनरत अवस्थामा २०१८ साले भरतपुर काण्डमा मुछिएको कुरा वर्णन गर्दै उनले विद्रोही काङ्ग्रेसीलाई विविध सहयोग पुर्याएको आरोप लगाएर छ महिना जेलमा तत्कालीन पञ्चायती प्रशासनले राखेको कुरा उल्लेख गरेकी छन् । उनले आमाबाबुको तीनजना सन्तानमा आफू कान्छी भएको र सान्दाइबाट स्नेह र अभिभावकत्व प्राप्त गरेको विषयलाई श्रद्धापूर्वक लेखेकी छन् ।

गिरफ्तार भएर लमजुङ कुन्छाको जेलमा थुनिएका सान्दाइ त्यहाँबाट पोखरा जेल चलान गर्ने बन्दीमा परेका भए बाटामै सिध्याउने थिए होलान् भन्ने त्रास उनमा भएको तर संयोगले किशोरावस्थाका सान्दाइलाई कुन्छामा नै राखिएकाले उनको ज्यान बचेको कुरा उल्लेख गरेको देखिन्छ । सान्दाइलाई यदि केही गरीहालेका भए बुबामुमाको हृदयमा लाग्ने चोट कसरी सहनुहुन्थ्यो होला ? हाम्रो सुन्दर परिवार कति छिया–छिया पर्नेथियो होला ? आज यसप्रकारको वरिष्ठ साहित्यकारको रूपमा देख्नपाइने थियो कि थिएन ? अन्तर्राष्ट्रिय साहित्य समाजले ‘मुक्तकमणि’ पदवी कसलाई प्रदान गर्ने थियो होला ? कहिलेकाहीँ म भावुक बनेर यस्तै सोचमा बहने गरेकी हुन्छु भनेर बहिनीले कारुणिक किसिमले वर्णन गरेको पाइन्छ । उनले यसभन्दा अगाडि सान्दाइलाई कस्तो अवस्थामा फौजी आएर गिरफ्तार गरे भन्नेकुरा चलचित्र जसरी यसप्रकार चित्रण गरेकी छन्– म सानै थिएँ । राम्रोरी बुझ्न सक्ने उमेर पनि होइन । मंसिर वा पुस महिना जस्तो लाग्छ, सान्दाइ बेलुकीको खाना खाँदै हुनुहुन्थ्यो । १०–१२ जना फौजी आए र बन्दुकको नाला सोझ्याउँदै उहाँलाई लिएर गए । कता लगे ? किन लगे ? पछि थाहा भयो ‘अराष्ट्रिय तत्त्व’ अरे मेरा सान्दाइ …..। भोलिपल्ट बाबा सान्दाइको अवस्था बुझ्न कुन्छा (लमजुङको तत्कालीन सदरमुकाम) जानुभयो । सान्दाइलाई दुवै गोडा, हातमा नेल र हतकडी लगाएर चिसो भुइँमा लडाएका छन् भन्ने बुबाको वृतान्त सुनेपछि मेरी आमा र म डाँको छोडेर रोएको हिजै जस्तो लाग्छ भनेर कहालीलाग्दो घटनालाई चित्रण गरेको देखिन्छ ।

शिमला हिमाञ्चल प्रदेश, भारतका अशोक चौहानले हिन्दी भाषामा ‘मुक्तक–शिरोमणि के सुयोग्य पात्र’ शीर्षकमा एउटा छोटो तर बौद्धिक तथा वाङ्मयीय दृष्टिले साहित्यकार तीर्थराजको मुक्तकण्ठले प्रशंसा गरेको देखिन्छ । उनले झटारो सजीवन–दर्शन, मूल्य, विडम्वना तथा दैनिक जीवनमा घट्ने विसङ्गतीको एउटा सफा ऐना भएको कुरा उल्लेख गरेको पाइन्छ । यसक्रममा उनले व्यङ्ग्य, संवेदना, कुटिलता, जीवनको हर हरेक आयामलाई स्पर्श गर्ने अभिनव प्रयास हो भन्दै विचारहीन अनुष्ठानले ग्रसित समाजबाट तपाईं भन्नुहुन्छ कि बलि त पशुभावको हुनुपर्छ न कि निरीह पशुको ! तपाईंको काव्य–शिल्पको अरू विशेषता भनेको संगीतको लयको स्पर्श र लोक परम्परा र लोकसंस्कृतिको माधुर्य हो । तपाईं निश्चय नै मुक्तक–शिरोमणिको सुयोग्य पात्र हुनुहुन्छ भनेर अशोक चौहानले आदरपूर्वक शुभेच्छा प्रदान गरेको देखिन्छ ।

सर्वोदय हाइस्कुलका तत्कालीन अध्यापक युवराज घिमिरेले ‘शिष्य भन्दा गर्व लाग्छ’ शीर्षकमा एउटा आशीर्वचनयुक्त लेख प्रस्तुत गरेका छन् । उनले आफ्नो प्रिय शिष्य तीर्थराजका बारेमा यसप्रसार वर्णन गरेको पाइन्छ— देवतापानी दुराडाँडा लमजुङमा जन्मिएर त्यहीँको  धुलो हिलोसँग खेल्दै, उकाली–ओराली गर्दै तीर्थराजजी हुर्कनुभयो । गाउँमै प्राथमिक शिक्षा पूरा गरी आफ्नो घरबाट केही माथि सर्वोदय हाइस्कुलमा पढ्दादेखि नै उहाँ साहित्य सिर्जनापट्टि आकर्षित हुनथाल्नु भएको हो । विद्यालयमा हुने गरेका शुक्रवारे साहित्यिक कार्यक्रममा सहभागी हुने, त्यही समयमा मुक्तक, कविता सुनाउने, विभिन्न वादविवाद, वक्तृत्वकला जस्ता विषयमा निभिकतापूर्वक आफ्नो अभिव्यक्ति प्रस्तुत गर्ने र विद्यार्थीका समूहमा आफैँ नेतृत्वदायी भूमिका खेल्ने कुरा उहाँका छात्र अवस्थादेखि कै लक्षण हुन् । म विद्यालयमा नेपाली विषय पढाउने शिक्षक भएका नाताले साहित्यिक कार्यक्रममा सहभागी हुने छात्रछात्राका लेख, कविता, अभिव्यक्ति कलालाई नजिकैबाट नियाल्ने मौका पाउथें भनेर मेहनती कवि छात्र तीर्थराजलाई प्रधानाध्यापकबाट आशीर्वचन प्राप्त भएको देखिन्छ ।

लमजुङ जिल्लाका अर्का पूर्व प्रधानाध्यापक विजयराज न्यौपानेले ‘तीर्थराज दाइसँग गाँसिएका सम्झना’ शीर्षकमा कवि अधिकारीलाई संझदै तीर्थराज लोकगीत गाउन, मादल बजाउन, गीत, कविता बनाउन र भाषण दिन पनि नामी थिए भन्नेकुरा उल्लेख गरेको पाइन्छ ।

अनेसास केन्द्रीय समितिका निवर्तमान अध्यक्ष राधेश्याम लेकालीले तीर्थराज अधिकारीले विविध विधामा कलम चलाए तापनि उहाँको मूलविधा मुक्तकै हो भनेका छन् । उनले थोरैमा धेरै भन्नसक्ने समकालीन विश्व परिवेशका यथार्थ जीवनको मूल्य र समाजको चित्रण नै उहाँका मुक्तकका विषयवस्तु हुन् भन्दै यसका साथै अङ्ग्रेजीमा मुक्तक कृति प्रकाशित गरेर नेपाली मुक्तक लेखन परम्परालाई विश्व साहित्यमा पुर्याउने पहिलो प्रयोक्ता अर्थात् नेपाली मुक्तकका मणि हुनुहुन्छ भनेर प्रशंसा गरेको देखिन्छ । उनले सोही कारण उहाँ ‘मुक्तकमणि’ उपाधिद्वारा सम्मानित हुनुभएको कुरा उल्लेख गर्दै यस्ता मणिको व्यक्तित्व र कृतित्वलाई लिएर त्रिभुवन विश्वविद्यालयमा भएको अनुसन्धानलाई परिमार्जन गरी साधनाको स्वर्ण वर्षका सन्दर्भमा व्यक्तित्व र कृतित्व झल्कने कृति प्रकाशित गर्न पाउँदा हामी गौरवान्वित भएको कुरा चर्चा गर्दै अनेसासलाई साधनाको स्वर्ण वर्ष सर्वोक्षणसहितको कृति प्रकाशनको जिम्मा प्रदान गर्नुभएकामा मुक्तकमणि अधिकारीजीप्रति आभारी छौं भनेको पाइन्छ । उनले मुक्तकमणि अधिकारीजीको सुस्वास्थ्य, दीर्घजीवन र थप सुकर्मको कामनासमेत व्यक्त गरेका छन् ।

नेपाल सरकारका पूर्व सचिव विजयराज भट्टराईले कवि तीर्थराजलाई वैद्यले बिरामीको नाडी छामेर रोग पत्ता लगाए जसरी उनको समग्र व्यक्तित्व र मानवीय संवेदनालाई नजिकबाट बुझेर छर्लङ्ग पार्न सफल भएको पाइन्छ । पूर्व सचिव विजयराज भट्टराईले मेरा नजरमा : मुक्तकमणि अधिकारी शीर्षकमा आफ्नो धारण प्रष्टसँग प्रस्तुत गरेको पाइन्छ । उनको भनाइअनुसार आफ्ना मुक्तकका माध्यमबाट मानवीय अन्तर मन, मानवीय सम्बन्ध र संवेदनालाई मुटु छुने गरी अत्यन्त प्रभावकारी रूपमा प्रस्तुत गर्दै आएनु भएको छ । बहुआयामिक व्यक्तित्वका धनी तीर्थराजजीलाई ‘उमेर पुगेर पनि जुरो नआएको प्राणी’ भन्दा अत्युक्ति नहोला । किनभने मैले उहाँलाई नजिकबाट हेर्दा जुनसुकै क्षेत्रमा पनि दत्तचित्त भै लाग्ने, नेतृत्व गर्नसक्ने क्षमता, अरूसँग पेश हुने कला, सामाजिक तथा समसामयिक विषयमा यथेष्ट सुझबुझ, वाकपटुता र सुहाउँदो बुझिँदो योग्यताका धनी यी सरल स्वभावका अधिकारीलाई देशले नचिनेको पक्कै हो भनेर अत्यन्त प्रशंसाकासाथ मुक्तकमणिको महिमा गाएका छन् । पूर्व सचिव विजयराजले अगाडि भनेका छन्— कवि हृदय अति संवेदनशील र भावुक हुन्छ । कल्पनालाई प्रज्वलित गर्ने क्षमता मानव मनलाई स्पर्श गर्नसक्ने शक्ति सबैमा बराबर हुँदैन भन्द तलाउमा फालेको कुनै ठोस वस्तुले पैदा गरेको लहर जस्तै नवलपरासीमा ‘मुक्तकमणि’ कवि अधिकारीले एउटा साहित्यिक लहर पैदा गरेका थिए त्यसबखत भनेर वास्तविकतालाई छर्लङ्ग पारेको देखिन्छ । त्यसको ज्वलन्त उदाहरण ‘परासी साहित्य समाज’ र ‘पाल्हीनन्दन’ पत्रिका हुन् भन्दै तीर्थराजको मुक्तकको उदाहरण दिएको पाइन्छ ।

कुवेलामा घण्टी बज्दा पर निन्द्रा जाग्न सक्छ

            अर्कोलाई गोली ठोक्दा आफैँलाई लाग्न सक्छ

            सोचेर मात्रै कदम अघि बढाउनु है साथी !

            बाजलाई तर्साउँदा परेवा नै भाग्न सक्छ ।

पूर्व प्राध्यापक शरद निरौलाले ‘अधिकारीका जीवन्त मुक्तक’ शीर्षकमा मुक्तकका विषयमा चर्चा गर्दै अधिकारीजी रोमान्स, व्यङ्ग्य अनि राजनीतिक दाउपेचको पर्दाफास मात्र गर्ने होइन कि देशभक्तिपूर्ण उच्छ्वास पनि त्यत्तिकै निकाल्नुहुन्छ भन्दै देशभक्तिसँग सम्बन्धित कैयौँ मुक्तकमध्येको एउटा नमूना प्रस्तुत गर्छन् :

कृष्णले अर्जुनको नेत्र खोसे

            इन्द्रले ऋषि पत्नीको चरित्र खोसे

            खोस्न त यहाँ पनि के–के खोसे–खोसे

            खोस्दा खोस्दै मेरो देशको चित्र खोसे ।

निरौलाले अधिकारीका मुक्तकको जति नै प्रशंसा गरे पनि कमै हुने कुरा चर्चा गर्दै बृद्ध भएर पनि आफ्ना मुक्तकमा तन्नेरी हुनसक्नु र आम व्यवहारमा अति सरल हुँदाहुँदै पनि काव्यमा जटिल रहनु नै उहाँको वैशिष्ट्य हो भनेको पाइन्छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति सरूभक्तले लक्ष्यनिष्ठ मुक्तककार भनेर तीर्थराज अधिकारीलाई मेरा एक अग्रज र मित्र भनेका छन् । उनले तीर्थराज अधिकारी एक सहज कवि, लक्ष्यनिष्ठ मुक्तककार र भावनापूर्ण गीतकार हुनुहुन्छ भनेका छन् । उहाँको यो त्रिवेणी यात्रा देशभित्र रहे पनि चलेको हुन्छ, देश बाहिर रहे पनि चलेको हुन्छ भन्दै उमेरले ७५ वर्ष टेक्नुभएका उहाँ सिर्जना शक्तिले अद्यापि तरूण हुनुहुन्छ भनेर उल्लेख गरेको पाइन्छ । उनले स्वभाव र व्यवहारका तरूण भाव पनि यथावत छन् भन्नेकुरा स्मरण गर्दै नेपाली वाङ्मयका नवसर्जकहरूले उहाँबाट यो अक्षय तरूण भाव ग्रहण गर्न सुक्नुपर्छ भन्ने विचार प्रस्तुत गरेको देखिन्छ । उनले अधिकारीको सुदीर्घ जीवन, सुस्वास्थ्य र निरन्तर सिर्जनयात्राका लागि हार्दिक शुभुच्छा व्यक्त गरेको पाइन्छ ।

गीतकार तीर्थराज अधिकारी जनसम्पर्क गर्न एकदम मनपराउँछन् । ‘विजुली बत्ती बालन आउँला मस्र्याङ्दी थुनेर, म आउँला आफैँ लमजुङेहरू बोलेको सुनेर’ भन्ने प्रसिद्ध गीत विद्युतीय श्रव्यदृश्यका माध्यमद्वारा सुनिरहेका लमजुङ सेवा समाज कतारका नेपालीहरूले सामाजिक सञ्जाल मार्फत्  गीतकार तीर्थराजलाई सम्पर्क गर्न सफल हुन्छन् । सल्लाहअनुसार अधिकारी दम्पती २०१८ मे १६ मा नेपालबाट कतारलाई ट्रान्जिट बनाएर अमेरिका प्रस्थान गर्ने योजना बन्छ ।  कतारमा छोटो बसाइको क्रममा लमजुङ सेवा समाज कतारका पदाधिकारी र सदस्यहरूले हर्षोल्लासपूर्वक स्वागत गर्छन् र आफ्ना मनका उत्सुकताहरू मेट्छन् । लमजुङ सेवा समाजका उपाध्यक्ष विनोदप्रसाद बसौलाले यस प्रसङ्गलाई प्रष्ट पारेको देखिन्छ । विदेशी भूमिमा पाएको आत्मीय सत्कारबाट अधिकारी दम्पती अनुगृहित भएको महसुस गर्छन् । विश्वमा यस किसिमको सहृदयताको उदाहरण विरलै पाइन्छन् ।

अनेसास कतार च्याप्टरका अध्यक्ष सीताराम थापाद्वारा तीर्थराजजी र कतारका क्षणहरू शीर्षकमा रोचक अनुभूति प्रस्तुत गरिएको पाइन्छ । स्रष्टा तीर्थराज दम्पती नेपालबाट कतारलाई ट्रान्जिट बनाएर अमेरिका प्रस्थान गर्ने योजना सम्पे्रषण  भएपश्चात् कतारमा भएका विशेष गरी लमजुङे नेपाली साथीहरू हतार–हतार गर्दै नेपाली रेष्टुरेन्टको सभा हलमा भेला भए । कोही कामको व्यस्तताले उपस्थित हुन नसके तापनि कोही कामकै पोसाक लगाएर उपस्थित भएको क्षण ज्यादै रोचक देखिन्थ्यो । साथीहरू जम्मा हुँदै गरेको अवस्थालाई सदुपयोग गर्दै अधिकारी दम्पतीलाई कतारको मुख्य पर्यटकीयस्थल सुक वाकिफ र कर्नेस क्षेत्रतिर दृश्यावलोकन गराएको कुरा थापाद्वारा जानकारी गराइएको पाइन्छ । यो छोटो समयमा कतारले गरेको प्रगति र नेपाली श्रमजीवी श्रमिकहरूको आँसु, रगत र पसिनाले ठडिएका ती गगनचुम्बी महलहरू देखेर उहाँ अचम्मित भएर ‘यदि विदेशमा बगाएको यो रगत र पसिना आफ्नै देशमा बगाउन पाएको भए सुध्रदो राजनीति परिवेशमा यस्तै झिलिमिली आफ्नै देशमा देख्न पाइन्थ्यो । किताबको स्वर्गभन्दा पनि वास्तविक स्वर्ग देख्न सकिन्थ्यो’ भन्ने धारणा राखेको देखिन्छ । अधिकारी दम्पतीसहित कर्नेश घुमघामपछि साँझको बेला दोहोको नेपाली रेस्टुरेन्टको सभाहलमा जम्मा भएर राम्रोसँग भलाकुसारी गर्ने अवसर मिलेको र लमजुङ सेवा समाज कतारका गतिविधिहरू सुन्ने अवसर मिलेको कुरा पनि वर्णन भएको पाइन्छ । लसेसले थालेको सुर्के थैली अभियानबारे पनि जानकारी गराइएको र आफ्नो वा आफ्ना घर परिवारका सदस्यको जन्मदिन अथवा कुनै तिथिमिति वा कसैप्रति समर्पण गर्न चाहेको रकमलाई दान सम्झेर परम्परागत सुर्के थैलीमा सङ्कलन गरिने रकम कतारमा रहेका र समस्यामा परेका लमजुङे दाजुभाइ तथा दिदीबहिनीहरू र उहाँहरूका परिवारलाई सहयोग गर्ने उद्देश्य रहेको सुर्के थैली अभियानप्रति मुक्तकमणि ज्यादै हर्षित भएर आफ्नो तर्फबाट २०१ अमेरिकी डलर सहयोग गर्नुभएको कुरासमेत उल्लेख भएको पाइन्छ । आफू प्रवासमा रहे तापनि आफ्नो जन्मभूमि र नेपालीहरूप्रति कति चाँडै श्रद्धाले मन पलाउँछ भन्ने उदाहरण यस घटनाले प्रस्तुत गरेको महसुस हुन्छ ।

अनेसास बेलायत च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङले ‘मुक्तकमणि : सम्झनाको आँखिझ्यालबाट’ शीर्षकमा अस्ट्रेलियाको पर्थमा आयोजित अनेसासको पाँचौं सम्मेलनमा स्रष्टा अधिकारीसँग भेटघाट भएको प्रसङ्ग उल्लेख गर्दै शान्त, मिजासिला, नेपाल सरकारका सेवानिवृत्त अधिकृत, धेरै कृतिका स्रष्टा, वरिष्ठ साहित्यकारसँगको पहिलो प्रत्यक्ष भेटमा नै आफ्नत्व र मित्रताको अनुभूतिले मलाई छोयो भन्दै उनले पुख्र्यौली थलो दुराडाँडा लमजुङ भए तापनि पोखरालाई आफ्नो स्थायी थलो बनाउनु भएका अधिकारी दम्पती हाल अमेरिकामा छोराछोरीसँग बस्दै आउनु भएको कुरा चर्चा गरेका छन् । उनले उहाँसँगको भेटबाट मेरी जीवनसाथी बढी खुसी भइन् भन्दै यसरी २–३ दिनको बसाइपछि सम्मेलन समापन भएर हामी छुट्टियौं भन्नेकुरा स्मरण गरेको देखिन्छ । उनले आफू खुसी र अरूलाई पनि खुसी दुख्न चाहने स्वभावका अग्रज साहित्यकार तीर्थराज अधिकारीमा हाँसो र ठट्टा गरेर प्रत्येक पल आनन्दमयी बनाउने राम्रो मानवीय पक्ष रहेको मैले अनुभूति गरेको छु भनेको पाइन्छ । बेलाबेला हँसाउँदै उहाँले बेलायतमा वाचन गरेका केही मुक्तकहरूमध्ये मायालुको गलाको हार बन्न खोजेको मान्छे अहिले आँखाको कसिङ्गर बन्नुपरेको मर्मस्पर्शी एउटा मुक्तक प्रस्तुत गरिएको छ—

कहिले गलाको हार बनेँ

कहिले मुहारको शृङ्गार बनेँ

तिम्रो लागि के मात्र बनिनँ प्रिय?

ऐले आँखाको कसिङ्गर बनेँ ।

सामाजिक अभियन्ता सुरेशकुमार भट्टले ‘मादी मस्र्याङ्दीका मणि : मुक्तकमणि’ शीर्षकमा आफ्नो धारण यसप्रकार राखेको देखिन्छ— माटोले माया दिन्छ, पानीले जीवन । हावाले प्राण दिन्छ, खानाले त्राण । वातावरणले उर्जा दिन्छ, सङ्गतले साहस । यो ब्रह्माण्डमा भएका प्राकृतिक वस्तुको प्रभाव पनि मानिसमा धेरथोर परेकै हुन्छ । हुन त नेपाल पुरै डँडेलीको देश हो, त्यसैले त डँडेलीको संघर्ष परिणाम र प्रभावबाट धेरै मानव मस्तिष्कमा मणि उत्पन्न भएका छन् भनेका छन् । भट्टले मुक्तकमणि सम्मान उपाधिको छनौटलाई साधुवाद दिँदै भनेका छन् किनकि, यसरी आफ्नै बिम्ब उतारी अरूलाई सन्देश दिने आत्मालोचक समीक्षक हिजोआज पाउनै गाह्रो छ भन्दै अधिकारीको चोटिलो मुक्तक अगाडि सारेका छन् । अधिकारीका मुक्तक पढ्दै जाँदा मूलपात्र म नै हुँ भन्ने पाठकको मनमा परिरहेको हुन्छ भन्ने धारणा व्यक्त गरेका छन्—

पर दबाबको प्रमुख पक्ष आपसी छिद्रता रहेछ

            अवन्नतिको मुख्यकारण वैचारिक दरिद्रता रहेछ

            वैमनश्यता र द्वन्द्व अशान्तिको कारक हो भने प्रभु !

शान्ति र सन्तुष्टिको बाहक समादर र मित्रता रहेछ ।

‘शब्दचित्रमा अधिकारी’ शीर्षक बनाएर वरिष्ठ समालोचक हरि अधिकारीले मुक्तकमणि तीर्थराज अधिकारीलाई यसप्रकार व्याख्या गरेको देखिन्छ— मूलतः शब्द र भाव दुवैको राम्रो संयोजन भएका मार्मिक मुक्तकहरूका रचयिताका रूपमा चिनुनु हुने तीर्थराज अधिकारीको व्यक्तित्व र कृतित्व दुवै बहुआयामिक छन् । उहाँको साहित्यिक व्यक्तित्वको चर्चा गर्दा उहाँ मुख्यतः मुक्तक लेखक र काव्यमा आधारित पद्यात्मक साहित्यिक कृतिका सर्जकका रूपमा देखापर्नुहुन्छ । कविता उहाँको पहिलो रोजाइको विधा देखिन्छ । सिर्जनशील सर्जकका रूपमा सक्रिय रहँदा उहाँ एउटा विधामा मात्र सीमित रहेको देखिनुहुन्न । फुटकर कविता र लोकलयमा आधारित काव्यका अतिरिक्त उहाँले साहित्यका विविध विधामा उत्तिकै सशक्त कलम चलाउनुभएको पाइन्छ । अधिकारीजीले लेखेका कथा, गीत, गीतिकाव्य बाहेक साहित्यिक समालोचना र समसामयिक विषयमाथि तयार गरिएका उहाँका लेख रचना पनि त्यत्तिकै महत्त्वपूर्ण छन् ।…उनले अगाडि लेखेका छन् उमेरको प्रवाहसँगै तीर्थराजले जीवन र जगत्को संज्ञान लिन थालेको समयदेखि आफूलाई लोकतन्त्रमा गहिरो आस्था राख्ने सचेत नागरिकका रूपमा प्रस्तुत गर्दै आउनुभएको छ । उहाँ आजीवन लोकतन्त्रको पक्षधर नागरिक हुनुहुन्छ भन्ने कुरालाई पनि प्रष्ट पारिएको देखिन्छ ।

अनुभवी समालोचक अधिकारीले प्रसिद्ध गायक तथा संगीतकार राम विश्वको स्वर र लयमा सजिएका उहाँले लेखेका गीतका एल्बमहरू नेपाली गीत र संगीतका पारखीहरूका माझ निक्कै लोकप्रिय छन् भन्दै तिनले उहाँलाई भावप्रवहण नेपाली गीतकारका रूपमा श्रोताहरू माझ स्थापित गराएको कुरालाईसमेत उनले समेटेको पाइन्छ ।

स्रष्टा तीर्थराजले बिरिमफुल मुक्तकसङ्ग्रहमा आफ्ना बाल्यकालका मिल्ने दौंतरी साथीहरूलाई संझदै यसप्रकार चोटिलो मुक्तक प्रस्तुत गरेका छन्—

बिरिमफुल धानको चामलको

            यात्रामा छुटेको मनपर्ने सामलको

            बारम्बार याद आइरहन्छ मलाई

            बाल्यकालमा सँगै खेल्ने दामलको ।

नुहाउन नमान्ने बालबालिकाहरूका लागि मनपर्ने किसिमको लयात्मक बालगीत सुनाउन अधिकारीले सुझाव दिएको पाइन्छ—

कुखुराको कुखुरी काँ

बिरालीको म्याऊ

कस्ले खान्छ मुडकी चिउरा

कस्ले खान्छ स्याउ

दिदी भाइलाई भट्ट मकै

मलाई चाउचाउ

नुहाउन मन छैन

अब नरुवाऊ ।

कवि अधिकारीले ‘यो कस्को हात हो?’ मा सलाइको काँटी र जूनकीरीको राम्रो बिम्ब प्रयोग गर्दै म सलाइको काँटी जस्तो एकपटक बलेपछि सकिने होइन धेरै समयसम्म अँध्यारोमा उड्ने जूनकीरी भएर सेवा गर्छु भन्ने भाव प्रस्तुत गरेको देखिन्छ—

म सलाइको काँटी त होइन

एक पटक बलेपछि सकिने

म त उड्ने जूनकीरी पो हुँ

जहाँ पुग्यो उहीँ बली दिन्छु ।

स्रष्टा अधिकारीले कपटपूर्ण कसैको हातले अवसर पाउँदा के–केसम्म गर्नसक्छ भन्ने विषयलाई सरल र चोटिलो तरिकाले यस्रप्रकार प्रस्तुत गरेको पाइन्छ—

उचालेर जहाँसुकै पुर्याउने

मौका पर्ने बित्तिकै

पातालमा गिराउने

यो कस्को हात हो ?

तीनलय तेह्रगीत सङ्ग्रहमा कवि तीर्थराजले एकजना विवाहित छोरीको यथार्थगत र मार्मिक वेदनालाई तीजको लयमा यसप्रकार प्रस्तुत गरेको पाइन्छ—

बाबाले दिनुभयो अरिकाको घरमा

अब म त बस्नु पर्यो आफ्नै भरमा

ससुरालाई गुन्द्री काम्लो सासुलाई सुसारी

स्वामी राजा बस्नुहुन्छ जुँगा मुसारी ।

नेपाली महिलालाई शिक्षा, स्वास्थ्य र सीप जस्ता ज्ञान नदिएसम्म पुरुषसरह अगाडि बढ्न सक्दैनन् भन्ने भावलाई समेटेर महिला अधिकारको कुरालाई अधिकारीले प्रष्टसँग राखेको देखिन्छ—

हुन्न त्यसै यो देशमा चारतर्फी विकास

जैलेसम्म समाजमा छैन निकास

के गरेर दिलाउने महिलालाई सीप ज्ञान

अनिवार्य शिक्षातिर दिनु पर्यो ध्यान ।

ग्रामीण जनजीवनमा नारीहरू दुःख, कष्ट, पीडा र विभिन्न किसिमका समस्याहरूसँग निर्भीकतापूर्वक जुधेर परिश्रमपूर्वक पसिना चुहाइरहेका हुन्छन् । उनीहरूमा सधैं सकारात्मक सोच हुन्छ र राम्रो योजना बनाएर स्वाभिमानका साथ कर्ममा दत्तचित्त हुनेगरेको पाइन्छ । ‘तीनलय तेह्रगीत’मा कवि तीर्थराजले सशक्त रूपले लोकलयमा यसप्रकार प्रस्तुत गरेका छन्—

उचाले भारी नहर खने, पर्खाल लगाए

पहिरो रोके यी मेरा हातले अरूलाई सगाए

पहाडको झर्ना सरी यो जीवन झरेको झर्यै छ

जे गरे पनि दुःखले बास गरेको गर्यै छ ।

मुक्तकमणि गद्य कवितामा पनि सशक्त र सफल देखिन्छन् । यहाँ छोटो तर आकर्षक तरिकाले प्रणयभावलाई समेटिएको जूनकीरी सङ्ग्रहमा प्रकाशित एउटा गद्य कविता उदाहरणको लागि प्रस्तुत गरिएको छ—

मलाई पानी तिर्खा होइन

मायालुको प्यासले

झम्के परेलीभित्र

गाजलसँगै लुकायो

मलाई पानीको तिर्खा होइन ।

मानव जीवनको सुन्दर उपहार जवानी अवस्थामा कसैसँग प्रेममा परेपछि बैंसालुलाई कल्पनाशील र एकोहोरो बनाइदिन्छ । प्रेमिल मायालुको अगाडि सबैकुरा सामान्य लाग्छन् । विपनामा देख्नु र सम्झनु मात्र होइन सपनामा पनि झलझली देख्नथालिन्छ । सारा विश्व नै सुन्दर देखिनु कल्पनाशील मन बहकिदा कहिलेकाहीँ बहकिदा मायालुलाई सिन्दूरको सिउँदोभित्र लुकाउन मन लाग्नु स्वभाविक हुन्छ । यस्तै भावनालाई स्रष्टा अधिकारी ‘जूनकीरी’मार्फत् यस्तो विचार अगाडि राख्छन्—

माया बस्यो दिल भित्र

छाया पछि लाग्यो

पटुकीमा लुकाइ दिऊँ कि

परेलीमा राखुँ

सपनीमा देखें मैले

विपनीमा सम्झेँ

कहाँ राखुँ मायालुलाई

रिवनले बाँधु

सिन्दूरको सिउँदो भित्र

लुकाऊँ जस्तो लाग्छ ।

साहित्यकार अधिकारीले ‘जूनकीरी’द्वारा जवानीको उत्कर्षको बेला कल्पनामा तरङ्गिदै आफ्नी प्रिय मायालुलाई हृदयबाट नै यसप्रकार मुक्तकमार्फत् आफ्नो मनमा बस्न आह्वान गरेको देखिन्छ—

छायाँसरि हिँड्नु पर्दैन प्रिय मनमा बसे पनि हुन्छ

हमेसा कल्पनाको न्यानो अँगालोमा कसे पनि हुन्छ

तिम्रै सोचमा कतै शीतल छहारीमा बसेको बेला

पारिजातको फूल बनेर नजिकै खसे पनि हुन्छ ।

स्रष्टा अधिकारी आफूलाई जन्मदिने आमाप्रति अत्यन्त अनुगृहित भएको पाइन्छ । उनले आमा नभएको भए म कहाँ हुन्थें होला भन्दै मन छुने किसिमले ‘झटारो’मा मार्मिक मुक्तक रचना गरेका छन्—

आमा ! तिमी नभए म कहाँ हुन्थेँ होला ?

तिम्रो काख नपाएको भए कति रुन्थें होला ?

आफ्नो गास काटेर मलाई खुवाउन बोलाएको बोली

तिमी नभएको भए मैले कसरी सुन्थें होला ?

उनले ‘झटारो’मै आमाको सेवा गर्नु नै मानवको मुख्य धर्म हो भन्ने कुरालाई सन्देशको रूपमा आह्वान गर्दै सटिक ढङ्गले आफूलाई जन्मदिने आमाको महिमा मुक्तकण्ठले गाएको देखिन्छ—

अवर्णनीय छ मातृत्व महिमा

आमाको सेवा नै मुख्य धर्म हो

उनको पैतालामुनि छ स्वर्ग पनि

आमालाई खुसी राख्नु नै पुण्य कर्म हो ।

साहित्यकार तीर्थराजले झटारोको ‘आमा–१’ मुक्तकमा आफूलाई जन्मदिने आमाप्रति श्रद्धाभावका साथ अनुगृहित भएर अरूको लाख आमाको काख भन्ने लोकोक्तिलाई रोचक तरिकाले प्रस्तुत गरेको पाइन्छ—

बेवास्ता उपेक्षाभन्दा

रुचि र चाख ठूलो

अरूको लाख भन्दा

आमाको काख ठूलो ।

कवि अधिकारीले महिलालाई शिक्षित हुन हौसला र प्रोत्साहन गर्दै शिक्षित भएमा मर्यादा पाइन्छ र नारीको कामको मर्म बुझ्नेले मनमनै नारीलाई देवीको रूपमा पुज्दछ भन्नेकुरालाई सशक्त ढङ्गले प्रस्तुत गरेका छन्—

सिर्जना गर्ने महिलाहरू शिक्षित चाहिन्छ

शिक्षित भए जहाँ गए पनि मर्यादा पाइन्छ

यो समाजमा नारीको काम जसले बुझ्दछ

उसैले नारी देवी हो भनी मनले पुज्दछ ।

मुक्तकमणि अधिकारी ग्राम्य परिवेशलाई आधार बनाएर धेरै गीत, कविता र मुक्तक रचना गर्न मनपराउँछन् । उनले आफू जन्मेको जिल्ला लमजुङको मायामा सुन्दर तथा लोकप्रिय गीत रचना गरेर सवैको मन जित्ने प्रयास गरेको देखिन्छ । लमजुङका ६१ गाउँ विकास समितिकै नाम मिलाएर फूलको माला जसरी बुन्न उनी अत्यन्त दक्ष भएको प्रमाणका केही नमूना यहाँ ‘यो कस्को हात हो ?’बाट हेर्न सकिन्छ—

बिर्सेको छैन पाउँदी दोभान भोटेको ओडार

पश्चिम रम्घा सूर्यपाल अनि तान्द्राङ टक्सार

वर्षाको बेला के गर्दै होलिन् कुन्छाकी सानीमा

तीजमा माइत गएकी होलिन् देउता पानीमा ……

 

असारको मेलो सघाउन आउँला खुर्पेटो भीरेर

भीरको बाटो बनाउन आउँला पहाड चिरेर

बिजुली बत्ती बालन आउँला मस्र्याङ्दी थुनेर

म आउँला आफैँ लमजुङेहरू बोलेको सुनेर ।

किनमेल गर्नजाँदा बजारमा विभिन्न किसिमका नक्कली खाद्यपदार्थहरू देखेर साहित्यकारको मनमा धेरै कोक्याएको हुन्छ । यस्तो विसङ्गतिलाई मुक्तकमणिले समाजमा भइरहेका वास्तविक कुरालाई मुक्तकमा यसप्रकार प्रस्तुत गरेका छन्—

बाँसको तामा भनेर खरिद गरें केतकीको गुदो रहेछ

ताजा देखाउन साहुजीले विषालु पानीले धुँदो रहेछ

के मात्र नक्कली हुँदैन र यहाँको बजारमा साथी

पवित्र कुशको औंठी पनि प्लाष्टिकको हुँदो रहेछ ।

स्रष्टा तीर्थराजलाई राजनीतिले आफ्नो मार्ग फेरेर जनताको मनमा वितृष्णा पैदा गरेको देख्दा बिम्बका माध्यमद्वारा यसप्रकार असन्तुष्टि व्यक्त गर्छन्—

व्यस्त होटलको जुठो थाल जस्तो

बाह्रमासे जुवाडेको खाल जस्तो

सम्झदै वाक्क लाग्न थालेछ राजनीति मलाई

ज्वरो आएको बखत खाएको दालजस्तो ।

मुक्तकमणि अधिकारीले झटारो मार्फत् कस्ता मान्छेलाई सज्जन भन्छन् भन्ने विषयमा एउटा नैतिक शिक्षा रोचक तरिकाले यसप्रकार प्रस्तुत गरेको पाइन्छ—

आस्था हो ठूलो मन हो

परोपकार नै धन हो

सबैको भलो चिताउने त्यो

सभ्य पुरुष नै सज्जन हो ।

कवि अधिकारीले ‘म र मेरो हिमाल’ कवितामा सुन्दर हिमालले आफूलाई मोहित पारेको र आफ्नो घर, मामा घर, ससुराली जाने बाटो र जहाँबाट हेरे तापनि हिमाललाई आफ्नै अगाडि देखेको अनुभूतिलाई आकर्षक तरिकाले प्रस्तुत गरेको देखिन्छ—

मेरो हिमाललाई

मेरै घरबाट हरें

मामा घरबाट हेरें

ससुराली जाने बाटोबाट हेरें

जहाँबाट पनि तिमीलाई

मेरै अगाडि मात्र देखें ।

मुक्तकमणि तीर्थराजका रचनामा समाज र जनजीवनको वास्तविक परिस्थितिलाई विभिन्न बिम्ब, प्रतीक इत्यादिका माध्यमद्वारा छर्लङ्ग पारेको देखिन्छ । कार्य सम्पादनका क्रममा कुनै पनि विषय र समस्या पर्दा छिटो उचित निर्णय गर्नसक्ने क्षमता उनमा भएको पाइन्छ ।

समयको महत्त्व बुझेका स्रष्टा तीर्थराज अधिकारीका उत्कृष्ट मुक्तकका दुई कृतिहरू अनुवाद भएको पाइन्छ । नेपाली साहित्यिक इतिहासमा नेपाली मुक्तकको अङ्ग्रेजी भाषामा अनुवाद हुनु हामी सबैको लागि हर्षको विषय भएको छ । अनूदित ‘जूनका टुक्राहरू’ ९एष्भअभक या तजभ  :ययल०का  मुक्तकलाई नेपालीबाट अङ्ग्रेजी भाषामा अनुवाद गरिएका केही उदाहरण यहाँ हेर्न सकिन्छ—

कतै छलिएर अप्सरा नै यो धरतीमा पसे झैँ लाग्छ

तिनी नै सुटुक्क मेरो छेउमै आएर बसे झैँ लाग्छ

अँधेरी रातमा झिलमिल जूनकीरी चम्किएको देख्दा

पूर्णिमा पछिका जूनका टुक्रा यतै खसे झैँ लाग्छ ।

(I feel a nymph entered this earth as she lost her way

I feel she came silently and sat by me.

While I glance the twinkling stars in the dark night sky

I feel pieces of the Moon after full phase have fallen here.)

 

नील नयनको ज्योति वेश होस्

सुवर्ण बाहुमा हरियो भेष होस्

गुलाबी सपनाको सफेद मन भइ

मुहारमा लाली, कालो केश होस् ।

(Let there be good blue eyes light

Let there be green dress in golden arms.

In the mind with rosy dreams

Let there be redness in the face and blackness in the hair.)

गीताञ्जली साहित्य परिवारको संस्थापकमध्येका एक श्री तारा पाखेले कवि तीर्थराजलाई यसप्रकार वर्णन गरेको पाइन्छ— साहित्य, समाजसेवा र राजनीतिका त्रिवेणी तीर्थराज ह्ष्टपुष्ट खाइलाग्दो जिउडाल, हँसिलो, समुज्वल आभापूर्ण मुखमण्डल, सुमधुर मन्दस्मित, मृदु, अमृतवाणी, सादा, सामान्य तडकभडक रहित, सौम्य, शालीन व्यक्तित्वको रूपमा चित्रण गरेको पाइन्छ । यसको साथै परिचित, अपरिचितसहित सबैका निमित्त आकर्षक छ भने उहाँका सिर्जना त्यत्तिकै मनोहर र प्रेरणाप्रद छन् भनेर उल्लेख गरेको देखिन्छ ।

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका उपाध्यक्ष प्रा.डा. यमबहादुर पौडेल क्षत्रीले मुक्तकमणि तीर्थराज अधिकारीको व्यक्तित्वका विषयमा प्रष्ट पार्दै १५ वर्षको उमेरमा विद्यार्थी राजनीतिक मुद्दामा ६ महिनासम्म जेल सजाय भोगेका कवि तीथराज अधिकारी आफ्नो जीवनको प्रारम्भिक चरणदेखि नै एक सक्रिय व्यक्तित्वका रूपमा पहिचान दिएको कुरा उल्लेख गरेका छन् । उनले सुरु–सुरुका वर्षहरूमा साहित्यिक रचनाहरूको अभाव देखिन्छ तापनि प्रशासनिक जिम्मेवारी, पारिवारिक समस्या र व्यावहारिक बोझका वर्षहरू भएका कारण रचना–प्रकाशनको शून्य अवस्था रहेको हुन सक्दछ भन्दै यस्ता समस्याहरू विस्तार–विस्तार निराकरण हुँदै जाँदा उनको साहित्यिक रचनाले सवलता प्राप्त गर्दै गएको अनुभव हुन्छ भनेका छन् । उनले अधिकारी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज संयुक्त राज्य अमेरिकाका कार्यकारी सदस्य र संरक्षक सदस्यसमेत भइसकेका अधिकारीको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका विभिन्न राष्ट्रका साहित्यिक संघसंस्थासँग सम्बन्ध स्थापित हुँदै जाने र परस्पर सहयोगका साथै साहित्यिक योगदान पुर्याउन सकिने अवसर प्राप्त भएको कुरा उल्लेख गर्दै राजनीतिक व्यक्तित्वको पृष्ठभूमिबाट सरकारी सेवामा प्रवेश गरी राष्ट्रसेवक बन्दै सामाजिक–साहित्यिक सेवामा तल्लिन रहँदै आएका अधिकारी अन्ततः साहित्यिक क्षेत्रमा नेतृत्वसमेत लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने–गराउनेतर्फ सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेको पाइन्छ ।

मुक्तकमणि तीर्थराजका ज्वाइँ पशुपन्छी विज्ञ डा. रमेशचन्द्र खनालले ससुराको बारेमा राम्रो समीक्षा गरेको पाइन्छ । उनले कविद्वारा रचना गरिएको सबैभन्दा मनपर्ने ‘बिर्सेको छैन’ शीर्षकको लमजुङको सम्झनामा लेखिएको असाधारण गीतबारे मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले अधिकारीको लोकलयमा आधारित उक्त गीतलाई राम्रोसँग सुन्नको लागि सबैलाई अनुरोध गरेका छन् । उनले भनेका छन् ‘म पूर्ण विश्वस्तताका साथ भन्नसक्छु तपाईंका नयन रसाउने छन् । हृदय खुशीले भरिनेछ । समग्र अस्तित्व प्रेम र स्नेहले भिज्नेछ । बिर्सेको छैन पाउँदी दोभान भोटेको ओडार…’ लमजुङको ६१ गाउँ विकास समितिमा रहेका प्राकृतिक सुन्दरतालाई वर्णन गरिएको यस गीतलाई डा. खनालले युगकवि सिद्धिचरण श्रेष्ठले रचना गरेको गीत ओखलढुङ्गासँग तुलना गरेको पाइन्छ ।

डा. खनालले अमेरिका विशाल देश हुनुका कारणले पनि अर्कै किसिमको समस्या सिर्जना गर्दोरहेछ सबै परिवारको भेटघाटको लागि भन्दै यतिका वर्षमा हामी सबै एक ठाउँमा जम्मा भएको केबल दुई पटक सन् २०१५ मा क्यान्ससमा प्रविणको छोरा अर्थात् नाति प्रमणको व्रतबन्धमा र २०१८ मा ओहायोमा मुक्तकमणि तीर्थराज दम्पतीको विवाहको पचासौं वार्षिकोत्सवको उपलक्ष्यमा भेटघाट भएको थियो । उनले स्रष्टाको बारेमा भनेका छन्– सबै सन्तान राम्रै भए पनि सबै वरिपरि नहुनुको समस्या, सबै नातिनातिना समय–समयमा भेट्न, देख्न नपाउनुको न्यास्रो, उहाँ जस्तो सक्रिय मान्छेका लागि कतै जान आउन अरू कसैमा भर पर्नुपर्ने बाध्यताले छटपटी अनुभव महसुस गर्छु । खनालले अगाडि भनेका छन् विभिन्न संघसंस्थामा आबद्ध भएर नेतृत्व दिने र अरूलाई घच्घच्याउने मान्छे एउटा सानो परिधि भित्र खुम्चनु पर्दा झण्डै निसासिएको जस्तो अनुभूति हुँदो होला । उनले अनेसास मार्फत उहाँलाई प्राप्त हुने निमन्त्रणा र वैचारिक आदानप्रदान तथा भेटघाटको अवसरले सिर्जनात्मकताका लागि थोरै भए पनि प्रेरणा प्राप्त भै दैनिक छटपटी हुनबाट राहत मिलेको जस्तो लाग्छ । त्यो उकुसमुकुसबाट उम्कने उहाँको अर्को माध्यम फेसबुकमार्फत् आफन्त र साथीभाइसँग निरन्तरको सम्पर्क पनि हो भनेर मार्मिक तरिकाले आफ्नो भनाइ प्रस्तुत गरेको देखिन्छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य लोकप्रिय गायिका हरिदेवी कोइरालाले कवि तीर्थराज अधिकारीलाई लयात्मक तरिकाले यसप्रकार चित्रण गरेको पाइन्छ—

लम्जुङ जिल्ला त्यो दुराडाँडा प्राकृतिक लोकमा

            जन्मियौ कवि रुक्मिणा आमा उज्यालो कोखमा

            नारायण दत्त हुन् बाबा तिम्रा हुर्कियौ मायामा

            खाएर खेल्यौ चन्देश्वर गाउँ वरपिपल छायामा ।

 

            पहिलेदेखि साधना गर्यौ फुलायौ सिर्जना

            राष्ट्रको असल सेवक बनी लागेको तिर्सना

            उर्वर पाटो, लम्जुङे माटो धनी छ साहित्य

            तिमीले पनि उकेरा लायौ थपेर लालित्य ।

अमेरिकालाई आफ्नो कार्यक्षेत्र बनाएका वरिष्ठ साहित्यकार डा. हरिराज भट्टराईले साहित्यकार तीर्थराज अधिकारीलाई यसप्रकार वर्णन गरेको पाइन्छ— समभावको दीक्षा र सहयात्रा तीर्थराजजीमा पाइने अन्यतम विशिष्ट गुण हुन् । हामी अवगुणको भारी बोकेर हिँड्छौं । अभिमान र अकर्मण्यताले किचिएर बाँच्छौं । म मात्र जान्ने र ठूलोको भावले अरूलाई तुच्छ ठान्छौं । यस दिशामा तीर्थराजजीलाई नितान्त फरक पाउँछु । उहाँ स्वभामानको रक्षा गरेर बाँच्नुहुन्छ । अनुज पुस्तालाई आफैँसँग लिएर हिँड्नुहुन्छ । अनुजपुस्तालाई सत्वसम्म नठान्ने समाजमा तीर्थराजजीको उपस्थिति ताराहरूका ीचको चन्द्रमा जस्तै हो । साहित्यिक संसारमा उहाँको छवि त्यस्तै ढङ्गले सम्मानित रहेको छ । उहाँ जहाँ पुग्नुहुन्छ त्यहाँ एउटा लहर जन्मन्छ । माहोल तयार हुन्छ । कार्यक्रमका आयोजना हुन्छन् । स्मरणीय दृश्यहरू उपस्थित हुन्छन् । सार यति नै हो उहाँले अनुजपुस्तालाई बिर्सेर एक्लै हिँड्ने र माथिल्लोलाई पछ्याउने रोगी यात्रा कहिल्यै गर्नुभएन । कलमधारीहरूका बीचमा आदरणीय रहिरहनुको कारण नै आफ्नो वर्ग र आफ्नो युगको नेतृत्व हो भनेर डा. भट्टराईले यथार्थपरक कुराहरूलाई प्रष्ट पारेको देखिन्छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले तीर्थराज अधिकारीको झटारो शीर्षक दिएर मुक्तकमणिलाई यसप्रसाद आफ्नो धारणा राखेको देखिन्छ— विभिन्न सामाजिक संघसंस्थामा विभिन्न भूमिका निर्वाह गरिसकेका अधिकारी हाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ट्रष्टी परिषद्का कार्यकारी सदस्य छन् । राजनीतिशास्त्रको स्नातकोत्तर तहको अध्ययन, नेपाल सरकारको सेवाको अनुभव, साहित्यका अन्य विधाको लेखन र काव्यकृति सिर्जनाको अभ्यासले यी मुक्तकसङग्रहको रूप र सार दुवैलाई सिंगारेको कुरा उल्लेख गरेका छन् । उनले मुक्तक शब्दको अर्थलाई यसप्रकार व्याख्या गरेको पाइन्छ— मुच धातुबाट ‘क्त’ प्रत्यय लगाएर ‘मुक्त’ शब्द निष्पन्न हुन्छ । यसको अर्थ हो स्वतन्त्र । मुक्त शब्दमा ह्रस्व वा लघु वा सानो अर्थ दिने ‘कन’ प्रत्यय लगाएर ‘मुक्तक’ शब्द सिद्ध हुन्छ । यसको अर्थ यो स्वतन्त्र पनि छुट्टै अर्कोसित नगाँसिएको वैयक्तिक प्रकारको व्यक्तित्व हो । कवितामा एउटै कविताले पूर्णता दिने अर्को कविताको आवश्यकता नपर्ने पद्य रचनालाई मुक्तक भन्नुपर्दछ । यसैलाई भनिन्छ ‘मुच्यते इति मुक्तकम् तदेव ह्रश्वं द्रव्य मुक्तकम्’ अरूबाट अलग भएको सबभन्दा सानो एकाइ । पद्याको सन्दर्भमा यौटा ४ पाउको पद्य मात्र हुन्छ । यो कुरालाई अग्निपुराणको यो भनाइले पनि पुष्टि गर्दछ— ‘मुक्तकं श्लोकं एवैकश्चमत्कार क्षमःसताम् । पुराभन्दा पनि साहित्यमा प्रमाण अभिनव गुप्तको नै मानिन्छ । उनले पनि लेखेका छन्ः ‘पूर्वावर निरपेक्षापि हि येन रस चर्वणा क्रियते तदेव मुक्तकम्’ अगाडि पछाडिको सहयोग बिना विभाव अनुभाव सञ्चारी भाव पद्यमा नै हुने रचना मुक्तक हो । निरपेक्ष रूपमा काव्यात्मक पूर्णानन्द दिने पद्य नै मुक्तक हो भनेर व्याख्या गरेको पाइन्छ ।

यसभन्दा अगाडि सुवेदीले मुक्तकको संरचनागत विषयलाई परिभाषित गर्दै मुक्तक जति अक्षरका पनि हुन सक्छन् तर ८ देखि १६ अक्षरका मुक्तक मीठा लाग्छन् भनेका छन् । उनले ती मुक्त छन्दमा पनि हुन सक्छन् र मुक्तकमा ४ हरफ हुन्छन् भनेका छन् । उनले यी चारमध्ये पहिलोले प्रकृति दिन्छ, दोस्रोले भूमिका दिन्छ र तेस्रोले कहाँ के कुरा भन्नुपर्ने हो तथ्य व्यक्त गर्छ, चौथो हरफले त्यस तथ्यको मूल्याङ्कनको परिणामको घोषणा तीव्र व्यङ्ग्य दिएर गर्दछ भन्दै जस्तो कि रुखका फलहरू सबै एकै साथमा झार्न झटारो हानिएको होस्, यो ४ हरफको पद्यमा अर्थको कुरा हो, मुक्तक रूपको पदावलीमा पहिलो दोस्रो र चौथो हरफमा अन्त्यानुप्रास मिलाउनु पर्छ तर तेस्रो हरफमा भने अनुप्रास मिलाउनु पर्दैन भनेका छन् । यस क्रममा उनले यसरी रूप र सार नमिलाएमा मुक्तकको सौन्दर्य रहँदैन र विषयवस्तुका हिसाबले सृष्टि स्थिति र प्रलयसम्म र समसामयिक कथा र व्यथा सूत्रात्मक रूपमा प्रस्तुत गर्न सकिन्छ भन्दै मुक्तकले व्यञ्जनावृत्तिमा उच्चता प्राप्त गर्दछ भनेको देखिन्छ । उनले मुक्तककार अधिकारीको दोस्रो मुक्तकसङ्ग्रह बिरिमफुलका बारेमा मैले विशेष विश्लेषण गरिसकेको छु भन्दै बिरिमफुल मुक्तकसङ्ग्रहका अधिकारी यो कृतिमा यसरी पोखिएका छन् कि यो कृति पढ्दा पुस्तकका पाना पल्टाउने हैन कवि हृदयको पत्र–पत्र पल्टाए जस्तो लाग्छ भनेर प्रशंसा गरेको देखिन्छ । उनले म यहाँ कविको प्रथम मुक्तकसङ्ग्रह ‘झटारो’का बारेमा केही प्रकाश पार्दै यद्यपि यो सिर्जना उहाँको विद्यार्थी जीवनदेखिको सङ्कलन हो, यसमा १६० वटा मुक्तक समेटिएको कुरा उल्लेख गर्दै मुक्तककारको आफ्नै जीवन लक्ष्यको आत्मस्वीकृति यो मुक्तकमा पाइन्छ भनेर एउटा मुक्तक उदाहरण स्वरूप प्रस्तुत गरेको देखिन्छ—

कहिले राजा रिझाएर पगडी लाइयो,

            कहिले यजमानी गरेर खुब खाइयो,

            निर्वाचन सिर्वाचनका बखेडा छोदिेऊ अब

            भाग्यका भरमा इतिहासमा नाम यस्सै लेखाइयो । –भाग्य

सादा जीवन उच्च विचारका धनी कवि श्री तीर्थराज अधिकारी सफल नेपाली साहित्यकारको रूपमा देखापरेका छन् । उनी भावप्रवाहमा रमाएर धेरै समयसम्म आनन्दित हुन दक्ष छन् । उनी साहित्य सिर्जना गर्दा शब्द चयनमा अत्यन्त सजग भएको पाइन्छ । कुनै पनि विषयमा त्यसको गहिराइसम्म पुगेर चिन्तनमननका साथ मणि खोजेर पत्तालगाउन सक्ने ल्याकत भएकै कारण उनी मुक्तकमणि बन्न सफल भएका हुन् । उनका कृतिहरू अंग्रेजी भाषामा अनुवाद हुनु भनेको विदेशी र¨मञ्चमा अर्को महत्त्वपूर्ण छलाङ भएको पाइन्छ । यस कार्यले उनको लोकप्रियतामा झन् बल प्रदान गरेको देखिन्छ । साहित्यिक उन्नयनमा उनको लगनशीलता र निरन्तरता ज्यादै स्तुत्य छ । उनका कृतिहरू पठनीय, मननीय र संग्रहणीय छन् । विभिन्न रचनामा कथानक रोचक तरिकाले प्रस्तुत गर्न उनी खप्पिस छन् । समाजसेवी संस्कार र अग्रसरता उनमा यथेष्ट मात्रामा भएको पाइन्छ । परोपकारी भावनाले ओतप्रोत भएका तीर्थराज अधिकारी विभिन्न क्षेत्रमा हृदय खोलेर सहयोग गर्न सरिक हुन्छन् । उनलाई समाजमा कुशल संगठनकर्ताको रूपमा धेरैले चिनेको पाइन्छ । अमूल्य जीवनलाई वौद्धिक र रचनात्मक कृयाकलापहरूमा आफूलाई सक्रिय बनाइराख्नु उनको अर्को विशिष्ट पक्ष हो ।

उनका रचनामा ग्राम्य जनजीवनमा प्रयोग हुने खुर्पेटो जस्तो शब्द पनि उल्लेख भएको देखिन्छ । यसले नेपालीत्व र मौलिकतालाई ग्रहण गरेको पाइन्छ । ओछ्यानलाई बिस्तारा, आवश्यकलाई जरूरत, पीडालाई दर्द, धेरै अथवा प्रशस्तको ठाउँमा अधिक, बानीको ठाउँमा आदत, पुलको ठाउँमा सेतु जस्ता शब्दहरूले उनका रचनामा स्थान पाएको देखिन्छ ।

स्रष्टा अधिकारी मानव जीवनको यात्रामा भोग्नुपरेका दुःख र समस्यालाई कलात्मक तरिकाले प्रस्तुत गर्न खप्पिस छन् भन्नेकुरा निम्नलिखित केही उद्धरणहरूले प्रष्ट पार्छन् ।

‘खै ! कसले बुझ्छ मेरो दर्द ?

म अचानो सहिरहन्छु ।’ — यो कस्को हात हो ? सङ्ग्रहबाट ।

स्रष्टा अधिकारीले यो कसको हात हो ? लाई बोलीचालीको भाषा प्रयोग गरेर ‘यो कस्को हात हो ?’ भनेर किताबको नाम दिएको भेटिन्छ ।

निर्भीक स्वभावका कवि तीर्थराजमा राजनीतिक चेत प्रशस्त मात्रामा भएको पाइन्छ । उनी सरकारी सेवाको क्रममा सरुवा भएर विभिन्न जिल्लाहरूमा पुगेर आफ्नो कर्तव्यलाई राम्रोसँग सम्पादन गरेका कारण धेरै लोकप्रिय हुन सफल भएका छन् । उनी विशेष गरी कोष तथा लेखा नियन्त्रण कार्यालयहरूमा कार्यरत रहँदा अविस्मरणीय छाप छोड्न सफल भएको पाइन्छ । यसले गर्दा पनि उनलाई गोरखा दक्षिण बाहु तक्मा पाउन सजिलो बनाएको बुझिन्छ । उनी कुशल वक्ता पनि हुन् । विभिन्न किसिमका उदाहरण दिएर श्रोताहरूको मन जित्नसक्नु उनको खुवी हो । वाकपटुता भएका उनी थोरै शब्दमा धेरै कुराहरूलाई समेट्न सक्छन् । मानव मनका भोगाइ र संवेदनाहरूलाई कलम र बोलीका माध्यमद्वारा व्यक्त गर्नसक्ने कला, दक्षता र क्षमता उनमा प्रशस्त मात्रामा भएको पाइन्छ ।

यस ग्रन्थको ‘खण्ड छ’ मा अङ्ग्रेजी साधना राखिएको देखिन्छ । यहाँ प्रयुक्त केही लेखहरूलाई सङ्क्षिप्त रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

INLS Book Award Committee का अध्यक्ष प्राध्यापक गोपी उप्रेतीले  Teertha Raj Adhikari : A well Recognized Quatrain Master शीर्षक दिएर मुक्तकमणि तीर्थराज अधिकारी लमजुङको दुराडाँडामा जन्मिएको कुरा उल्लेख गर्दै दुराडाँडा शैक्षिक र सामाजिक रूपले पनि चेतनायुक्त भएको र त्यहाँका धेरै मान्छेहरूले राष्ट्रिय व्यक्तित्वको रूपमा आफूलाई चिनाउन सफल भएको कुरा उल्लेख गरेको पाइन्छ । प्रा. उप्रेतीले मुक्तकमणिका चार हरफका मुक्तकहरू विभिन्न सामाजिक तथा साहित्यिक भेलामा सुन्नपाउँदा आफूलाई अत्यन्त आनन्द लागेको र उनको मुक्तकबिना कार्यक्रम अपूरो भएको जस्तो महसुस हुने कुरा प्रा. उप्रेतीले अङ्ग्रेजी भाषामा यसप्रकार प्रस्तुत गरेको पाइन्छ—

I very much enjoy his four-line quatrain poems every time he recites them in social and literary gatherings. I feel that without his quatrain recital, the gathering is somewhat incomplete. I found his quatrains very touching, sweet and witty making you feel jovial, romantic and euphoric. Quatrains are becoming very popular in the Nepali literary world. Historically, they were very popular in and are believed to have originated from France, as the above deminition of quatrain makes clear. I cannot help sharing some of the few selected quatrains from his book.

क्षितिज खनालले आफ्ना मावली हजुरबा तीर्थराज अधिकारी लमजुङ जिल्लाको प्रसिद्ध गाउँ दुराडाँडामा जन्मेर नेपाली समाजमा प्रसिद्ध र आदरणीय व्यक्तित्वको रूपमा चिनाउन सफल भएको कुरा उल्लेख गर्दै उहाँले राष्ट्र निर्माणको शिक्षक, राजनीतिक कर्मी, राष्ट्रसेवक र साहित्यकारको रूपमा आफूलाई सक्रिय राखेको कुरा प्रस्तुत गरेको देखिन्छ । अहिलेसम्म पनि सकारात्मक सोचका साथ आफ्नो परिवार र समाजलाई परिवर्तन गर्नका लागि निरन्तर जुटिरहनुभएको कुरा स्मरण गर्दै निवृत्त जीवनमा पनि उहाँ सक्रिय रहेको कुरालाई अङ्ग्रेजी भाषामा यसप्रकार आफ्नो विचार प्रस्तुत गरेका छन्—

Post-retirement, Teertha Raj Adhikari has remained active, taking on prominent roles in various Nepali organizations, including as a trustee in the International Nepali Literature Society. Though he had already published many articles and books before his retirement, including poetic anthologies Junkari (2053), and Aaina (2057), his retirement has allowed his to dedicate added time to his literary endeavors. He has travelled to many countries, such as India, Thailand, Australia, and Japan, to participate in literary conferences, as well as to learn of their literature and culture, and perhaps incorporate that knowledge into his own works. His 2070 work, Jhataro, was the first quatrains to ever be translated from Nepali to English.

विश्व वैंकको लगानीमा सञ्चालित तराई सामुदायिक वन विकास परियोजना अर्थात् Terai Community Forestry Development Project(TCFDP) को कार्यालय हेटौंडामा श्री तीर्थराज अधिकारीसँग सँगै कार्यरत रहेका र एउटै घरमा बस्ने अवसर पाएका प्रा.डा. केशव भट्टराईले तीर्थराज अधिकारीमा आर्थिक पक्षको ज्ञान, नेपाली साहित्य, सांस्कृतिक इतिहास र धेरै संस्कृतका श्लोकहरूका साथै आफ्ना व्यक्तिगत कथाहरू जस्तै कसरी विवाह गरेको? कति सन्तान भएका? र केटाकेटीलाई कसरी हुर्काउने? इत्यादि कुराहरू आफू अविवाहित व्यक्तिले त्यस्ता थाहा नपाएको कुरा ज्ञान हाँसिल गर्नपाएको विषयलाई उल्लेख गरेको पाइन्छ । उनले एकदिन हेटौंडाबाट तीर्थराज अधिकारीको घर पोखरा सँगै जाने कार्यक्रम बनेको र उहाँको घरमा स्वादिलो खाना खाएको, घर पालुवा जनावरहरू खरायो, परेवा र हाँस देख्नपाउँदा आनन्द लागेको कुरालाईसमेत अङ्ग्रेजी भाषामा रोचक तरिकाले प्रस्तुत गरेको देखिन्छ—

One day, Teertha proposed me and other colleagues who were working together at TCFDP to visit Pokhara, his hometown. It was about 5-hour drive one way from Hetauda to Pokhara. On way to Pokhara we discussed various issues, but the major focus was how to change the Nepali educational system and educate children to bring changes in the communication, medical, and social sectors. We left Hetauda early morning and reached Pokhara around noon. After we reached Pokhara, Teertha took us around his home to show his garden and his pets, rabbits, pigeons and ducks. While preparing lunch, Teertha introduced me and other colleagues with his family members. We had a nice meal at Teertha’s home and I still remember it was one of the delicious lunches in the town of Pokhara.   यस लेख अनुसार स्रष्टा अधिकारी प्रकृति प्रेमीमात्र नभएर पशुपन्छी प्रेमी पनि भएको कुरालाई पुष्टि गरेको पाइन्छ ।

Translating Culture: A Case of Jhataro शीर्षकमा पृथ्वीनारायण क्याम्पस, पोखराका सह–प्राध्यापक डा. नवराज न्यौपानेले मेहनतपूर्वक अनुसन्धान गरेको देखिन्छ । उनले Abstract मा अनुवाद अहिले स्वदेश तथा विदेशमा प्राज्ञिक र साहित्यिक गतिविधिको लागि एउटा अभिन्न अङ्ग भएको कुरा उल्लेख गर्दै भनेका छन्— Translation has been an integral part of academic and literary activity home and abroad. In the context of Nepal, random practices of translation require theorizing them. To develop a theory-cum-practice interface, both the theories and practices of translation should go simultaneously. In this scenario, Jhataro (a collection of 160 quatrains) has recently been translated. Therefore, this study aimed to explore the strategies used in translation of cultural references in the selected text. To achieve this goal, survey research design was followed, i which cultural references were envisaged in the source text and their translations in the target text. The findings showed that these four strategies were used for translating the references: (a) literal translation, (b) importation of reference, (e) cultural transference, and (d) manipulation and meaning adaptation. These results imply that the translators should be aware of pitfalls and gaps while translating cultural references.

डा. न्यौपानेले अनुसन्धानको अन्त्यमा Conclusion को रूपमा आफ्नो धारणा निम्नानुसार राखेको देखिन्छ—

Translation of Jhataro is a good example of the use of collaborative method, which calls of the involvement of multiple beads for the ultimate production. The next significant aspect of this translation is that contemporatiness has been observed. The SL version was published in 2013 whereas the translated version in 2015. This kind of contemporary task in translation is praiseworthy.

In the context of Nepal, trend of rendering Nepali texts into English has tremendously been increasing. It is required to recognize Nepali cultural heritage to the global readership. In line with this claim, this translation has made its debut recently.

In its evaluation, I have observed the use of four major strategies like literal translation, cultural transference, importation of reference, and manipulation and meaning adaptation. There are many strengths of this translation. At this juncture, Derria (1974, as cited in Gentzler, 2010) has asserted that noany text is original as the so-called original one has already undergone translation. That is why, different readings may refult in varying translations. In this context, the translation of Jhataro has also got some limitations and therefore it calls for further editing. Yet, this translation can be used as sample text for pedagogical purposes.

कम्प्युटर साइन्सका ज्ञाता अर्थात् मुक्तकमणि तीर्थराज अधिकारीका पुत्र प्रवीणराज अधिकारीले बहुआयामिक व्यक्तित्व अर्थात् Multifaceted Personality शीर्षकमा एउटा रोचक लेख अङ्ग्रेजीमा लेखेको देखिन्छ । उनले आफूलाई कहिले पनि लेख्ने विषयमा धेरै इच्छा नजागेको तर जसले मलाई हुर्काएर हरेक पाइलामा अगाडि बढ्न सिकाउनु भयो त्यस्ता पिताजीको विषयमा केही नलेखीकन बस्न नसकेको कुरा उल्लेख गर्दै पिताको जन्मस्थलको स्मरण गर्दै उहाँको बाल्यकाल सुविधाजनक नभएको कुरा उल्लेख गरेका छन् । उनले आफू सानो छँदा पिताजीले गाडी चलाउँदा उहाँको काखमा बस्नेगरेको रमाइलो क्षणको स्मरणसमेत गरेको देखिन्छ । म अहिले जुन अवस्थामा आइपुगेको छु त्यो सबै कुराको श्रेय पिताजीलाई जान्छ भनेर मुक्तकण्ठले आदर र श्रद्धाभाव व्यक्त गरेको पाइन्छ ।

पिताजीकै अनुहार परेका प्रवीणले नेपाली साहित्यमा यति धेरै सफलता र उपलब्धी हाँसिल गर्न सफल हुनुभएका पिताजीले गौरवको अनुभूति महसुस गर्नुपर्छ भन्ने विचार प्रकट गरेको पाइन्छ । उनले यस प्रसङ्गमा लेखेका छन्—

My father should be very proud of his accomplishments and successes. He is a well-known and much respected personality in Nepali literature, and has published a number of articles and books. In 2017, he was presented with a highly prestigious award in literature field, the Muktak Mani,” a jewel of lyrical poems. Despite all of his struggles in life, my father knew just what to do to make his family, and everyone around him, happy. He worked very hard to fend for his family and made sure that we had all the necessities even though that meant that he had to sacrifice his personal interests and desires. He sent me to one of the most distinguished (and expensive) schools in Nepal to ensure my education was of the greatest quality. He moved out of Lamjung, the village he grew up in, and built a house in Pokhara. Our house was the only one in the neighborhood with fresh green lawn, a flourishing garden, and green trees surrounding the backyard. He has always been known for his scrupulous cleanliness and love for nature. He keeps all of his documents property organized, and expects everything to be done with a purpose and timely manner.

BOAT का पूर्व अध्यक्ष डा. श्याम कार्कीले ‘तीर्थराज अधिकारी एउटा महत्त्वपूर्ण प्रतिनिधि’ अर्थात् An Important Representative: Teertha Raj Adhikari शीर्षकमा छोटो तर सारगर्भित लेख लेखेर स्रष्टा अधिकारीको व्यक्तित्वलाई प्रष्ट पार्ने प्रयास गरेको देखिन्छ । उनले तीर्थराज अधिकारीलाई एउटा मृदुभाषी भलाद्मी व्यक्तिको रूपमा चित्रण गरेका छन् । उनका अनुसार—

He is a very nice friendly gentleman with mild polite manners. I have found him very concerned about different issues in Nepali American Society and organizations. His ideas are very thoughtful, relevant and forward looking.

He has great love and dedication for literature. He has recited his poems at different INLS events. I have found his poems well written and very thoughtful. They reflect his love and concern for Nepal, love of the nature, beauty and contemporary social issues. He is an accomplished author and has written seven books including one in English and one coming soon both in English and Nepali.

Civil Aviation Authority of Nepal, 2072 की निर्देशक लक्ष्मी पराजुलीले  My Memories of My Cousin, Teertha Dai शीर्षकमा एउटा अविस्मरणीय क्षणलाईसमेत समेटेर रमाइलो खालको लेख लेखेको देखिन्छ । उनले बाल्यकालको स्मरण गर्दै आफू ९–१० वर्षको उमेरमा तीज पर्वको लागि दुराडाँडामा हुनुभएको फुपूलाई लिन कुनै नातेदारसँग गएको र अहिलेसम्म आफूले व्यक्तिगत रूपमा साक्षतकार भएर फुपूलाई चिन्ने अवसर नपाए तापनि भेट्ने इच्छा भएका कारण त्यहाँ गएको कुरा उल्लेख गरेकी छन् । उनी जब जेठी फुपूकहाँ पुगिन् त्यहाँ उनले सोच्दैनसोचेको स्नेह र ममता पाइन् । उनले भानिजदाजु तीर्थराजलाई पनि पहिलो पटक भेट्ने अवसर पाइन् । उनलाई फुपूले माया गरेर पकाएर दिएको मीठो खिर र लट्टे अर्थात् चाम्रे खाने अवसर पाउँदा हर्षले गदगद हुन्छिन् । उनलाई फुपूले सुत्नुभन्दा अगाडि जिउमा तेल लगाएर मालिस गरिदिनुभएको अनुभवसमेत लेखमा प्रस्तुत गरेको देखिन्छ । उनी लेख्छिन्—

Teertha Raj Adhikari, in my opinion, is an icon of Nepal as well as a well-known personality of International forum. To begin with, Teerthadai, as I call him, in relation is my elder aunt’s(Phupu) younger son, who was born in Duradanda, Lamjung District, Gandaki zone of Nepal. I met him for the first time in Duradanda, where he used to live with his parents. I went there to visit my aunt for Teej festival. In my memory, I was just a little girl of nine or ten years of age, and studying in Kunchha high school for a couple of months, as there were no good schools in my village Chaindada, Tanahu. From Kunchha, some other relatives had to go to Duradanda to bring their married sisters for the great Hindu festival Teej to their parental home (Maiti). I had heard that my elder aunt’s house is also there, hence I followed them without asking my mother to invite and bring my aunt to Chaindada her maiti.

I don’t know how that inner love arose within me to my aunt, whom I had never met before. When I reached my aunt’s home, she was overwhelmed with pleasure. She loved me so much. She gave me an oil massage before bedtime, fed me rice pudding, and sweet sticky rice (latte).

पराजुलीले जब आफू तीर्थ दाजुको वर्तमान गृहसहर पोखरा पुग्छु तब तीर्थ दाजुहरूलाई भेट्न नपाउँदा एक किसिमको रिक्तता महसुस गरेको कुरालाई यसप्रकार प्रस्तुत गरेको पाइन्छ—

These days, he mostly lives in the U.S. with his children. So whenever I go to Pokhara, I feel a kind of emptiness, but do feel proud that he has become a distinguished person nationally and internationally. I feel proud to be his sister. Wishing him all the best for his creativity and passion to aid in the growth of Nepali literature in the days ahead.

यस ग्रन्थको समीक्षा गर्ने क्रममा सबै लेखकका लेखहरूलाई समेट्न नसक्दा केही मात्रामा मन कोक्याएको महसुस भएको छ । सुरुमा लेख्दै जाँदा यति बिघ्न लामो होला भन्ने कल्पनासम्म गरिएको थिएन । अन्य लेखकहरू जसले आफ्नो गहन, बौद्धिकतापूर्ण, अनुसन्धानात्मक र ज्ञानले भरिपूर्ण लेख लेखेर अमूल्य र बिर्सन नसकिने गुन लगाउनु भएको छ । त्यसको लागि म हार्दिक धन्यवाद अर्पण गर्दछु । सम्मानको लागि छुट्नुभएका विद्वतवर्गको नाम यहाँ उल्लेख गरिएको कुरा जानकारी गराउँछु :

आदरणीय लेखकहरू अनन्तराज लम्साल, किस्मत भण्डारी, डा. दुर्गा दाहाल, माधवशरण उपाध्याय, बालकृष्ण भट्टराई, विजय सागर, सूर्य खड्का बिखर्ची, अनु बराल, कृष्णप्रसाद पौडेल, गीता खत्री, गोविन्द गिरी प्रेरणा, चन्द्रकला अधिकारी भुसाल, दुर्गाबहादुर शाह ‘बाबा’ डा. नम्रता पाण्डे, बद्रीविनोद प्रतीक, मातृका ढुङ्गाना, यादव भट्टराई, रविकिरण अधिकारी, रश्मि भट्ट, डा. राजकुमार राई, रामबाबु नेपाल, राम लामा अविनाशी, डा. रूपक श्रेष्ठ, विजयराज भट्टराई–टेक्सस, विनोदप्रसाद बसौला, विश्वराज अधिकारी, वेदकुमार श्रेष्ठ, शिव लामिछाने, सञ्जीव पौडेल र सूर्यभक्त खनाल भएको कुरा यहाँ स्मरण गरिन्छ ।

यस ग्रन्थमा केही दोष पनि भेटिएका छन् । कतिपय लेखका वाक्यमा अल्पविराम दिनुपर्ने ठाउँमा पूर्णविराम दिएको पनि देखियो । जसले गर्दा वाक्यको अर्थलाई पूर्णता प्रदान गर्न नसकेको महसुस हुन्छ । कतिपय वाक्यमा अप्रासङ्गिक शब्द पनि परेको भेटिन्छ । केही स्थानमा पटक–पटक अलवा शब्द प्रयोग भएको पाइयो । यसको सट्टा अतिरिक्त अथवा बाहेक प्रयोग गर्न सकिन्थ्यो । अलवा नलेखी अलावा लेखिएको भए उत्तम हुन्थ्यो । यस ग्रन्थमा प्रयोग भएका शब्दहरूमा सबै ठाउँमा दीर्घ ‘रू’ प्रयोग भएको देखिन्छ तर ह्रस्व ‘रु’ प्रयोग भएको पाइँदैन । जसले गर्दा पुरुषलाई पनि पुरूष बनाएर उल्लेख भएको भेटिन्छ । ग्रन्थमा समेटिएका प्रायःजसो सबै लेखहरूमा मुक्तकमणिको जन्म मिति, मातापिताको नाम र स्थान उल्लेख भएको पाइन्छ । एकदुईवटा लेखमा मात्र यी कुराहरूलाई उल्लेख गरेर अन्य ठाउँमा भएकालाई हटाउन सकेको भए पाठकहरूप्रति ग्रन्थको आकर्षण झन् बढ्नसक्ने थियो । अङ्ग्रेजी लेखहरूमा पनि केही शब्दहरूमा त्रुटि भेटिएका छन् ।”signIoicant” यसको एउटा उदाहरणको रूपमा लिन सकिन्छ । छायाछवि अर्थात् तस्बिर खण्डमा कतिपय तस्बिरमा केही जानकारी अर्थात् परिचय दिइएको देखिन्छ तर कतिपय तस्बिरमा केही पनि उल्लेख नहुँदा कुन सन्दर्भमा खिचिएको हो भन्ने विषयमा पाठकलाई असजिलो महसुस भएको पाइन्छ । स्रष्टा अधिकारीले १० कक्षासम्म अध्ययन गरेको सर्वोदय माध्यमिक विद्यालयको नाम धेरै ठाउँमा मिलेको तर कतिपय ठाउँमा सर्वेश्वर र सूर्योदय लेखिएको देखिन्छ । एउटा तस्बिरमा डा. ताना शर्मा अर्थात् डा. तारानाथ शर्माद्वारा सम्मान ग्रहण हुनुपर्नेमा ध्रुवचन्द्र गौतमद्वारा सम्मान ग्रहण भनेर उल्लेख भएको पाइन्छ । त्यसकारण यस ग्रन्थलाई प्रकाशन गर्नुभन्दा अगाडि एक पटक राम्रोसँग ध्यान दिएर शुद्धाशुद्धि हेर्न भ्याइएको भए यसको गरिमा र महत्त्व झन् बढ्नेथियो भन्ने कुरामा ढुक्क हुन सकिन्छ ।

धेरै संघसंस्थाले विभिन्न कालखण्डमा स्रष्टा तीर्थराज अधिकारीलाई सम्मान, पुरस्कृत र अभिनन्दनसमेत गरेको देखिन्छ । सरकारी सेवामा कर्तव्यनिष्ठ भएर देश र जनताको उल्लेखनीय सेवा गरे बापत उनलाई सरकारले गोरखा दक्षिण बाहुबाट विभूषित गरेको देखिन्छ ।

साहित्यकार तीर्थराज अधिकारीलाई कतिपयले ‘स्यानु, स्यान्दाइ र सान्दाजु’ भनेर सम्बोधन गर्नेगरेको पाइन्छ । त्यसरी सम्बोधन गर्नु भनेको उनीप्रति सम्मान र आत्मीयता दर्साउनु हो ।

स्रष्टा तीर्थराज अधिकारीले जीवनको उर्जाशील समय विभिन्न क्षेत्रमा रहेर मातृभूमि नेपालका विभिन्न जिल्लामा गएर समाज, नेपाली जनता र साहित्यको सेवामा दत्तचित्त र सकारात्मक सोचकासाथ निष्कलङ्क भएर आफ्नो दायित्व पूरा गरेको देखिन्छ । उनी जीवनको उत्तरार्धको समयमा आफ्नो संपूर्ण परिवारका साथ संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएको देखिन्छ । अहिले उनको परिवारमा श्रीमती सीतादेवीसहित सदस्यको संख्या छोरी, ज्वाइँ, छोरा बुहारी र नातिनातिनाहरूसमेत गरेर १९ जना पुगेको देखिन्छ । एकजना छोरा र तीनजना छोरीका पिता तीर्थराजका सन्तान तीनवटा राज्यमा बस्दै आएको पाइन्छ । जेठी छोरी मन्दिराको परिवार लेनकाष्टर पेन्सिलवेनियामा बस्छन् । छोरा प्रवीणराज आफ्नो परिवारका साथ क्यान्ससमा बसोबास गर्छन् । माहिली छोरी मीरा आफ्नो परिवारका साथ एटलान्टामा बस्छिन् । कान्छी छोरी डा. सुमिरा परिवारका साथ क्यान्डफिल्ड ओहायोमा परिवारसँग बस्छिन् । कवि तीर्थराज दम्पती पनि ओहायोमा बस्दै आएको पाइन्छ । अमेरिकामा बसोबास गरे तापनि स्रष्टा तीर्थराज अधिकारी दम्पतीको मन नेपालमा नै रहेको पाइन्छ । त्यसैले त बेलामौकामा अनुकूल समय मिलाएर मातृभूमि नेपाल जानेआउने क्रम चलिरहेको देखिन्छ ।

मुक्तकमणि तीर्थराज अधिकारीको आवद्धता यसप्रकार रहेको पाइन्छ :

क. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, संयुक्त राज्य अमेरिका (Board Of Trustees) को सल्लाहकार ।

ख. ANA (Association of Nepalis in the Americas) को सल्लाहकार ।

ग. गीताञ्जली साहित्य परिवार, पोखराको संरक्षक ।

घ. नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौंको आजीवन सदस्य ।

ङ. दोलखाको जिरीबाट २०२७ सालमा प्रकाशित ‘झुल्का पत्रिका’ (विद्यालयको मुखपत्र अङ्क १ )को प्रधान सम्पादक ।

च. पोखरा रिभ्यु अङ्क १ (२०३९)को सल्लाहकार ।

छ. पाताले छाँगो अङ्क १ (२०४७)को सम्पादक ।

ज. पाल्हीनन्दन अङ्क १ (२०५१)को सम्पादक ।

झ. पारस पत्रिका, वीरगञ्ज (२०५३)को प्रकाशक ।

ञ. साहित्य समाज, परासीको संस्थापक ।

ट. प्रभात काव्ययात्रा, वीरगञ्जको संस्थापक ।

ठ. धादिङ साहित्य समाज धादिङको संस्थापक सदस्य ।

ड. पोखरेली युवा सांस्कृतिक परिवार पोखराको विभागीय सल्लाहकार ।

ढ. अनेसास उत्तरपूर्वी ओहायो अमेरिका च्याप्टरको सल्लाहकार ।

ण. पूर्व कर्मचारी सेवा परिषद् कास्की (२०६६)को सल्लाहकार ।

त. कर्मचारी मिलन केन्द्र, पोखरा (२०४९)को कार्यकारिणी सदस्य ।

थ. अफिसर्स क्लब, नवलपरासी (२०५०/५२)को अध्यक्ष ।

द. कर्मचारी मिलन केन्द्र, पर्सा (२०५३)को अध्यक्ष ।

ध. कर्मचारी मिलन केन्द्र, धादिङ (२०५४)को अध्यक्ष ।

न. लमजुङ–पोखरा सम्पर्क समिति (२०६१)को अध्यक्ष ।

प. सामीप्य समाज नेपाल (२०६२)को अध्यक्ष ।

माथि उल्लिखित सबै संघसंस्थाहरूमा आवद्ध रहेर स्रष्टा अधिकारीले आफ्नो तर्फबाट मन, बचन र कर्मले सेवा गरेको पाइन्छ । उनले कतिपय स्थानमा छात्रवृत्ति र अक्षयकोषको स्थापना गरेर साहित्यिक र सामाजिक कार्यलाई जीवन्तता प्रदान गर्ने उपाय अवलम्वन गरेको देखिन्छ ।

कवि तीर्थराज अधिकारीका प्रकाशित कृतिहरू निम्नानुसार भएको पाइन्छ :

क. जूनकीरी (कवितासङ्ग्रह, २०५३)

ख. ऐना (कवितासङ्ग्रह, २०५७)

ग. तीन लय तेह्रगीत (गीत, २०६०)

घ. झटारो (मुक्तकसङ्ग्रह, २०७०)

ङ. यो कस्को हात हो ? (मिश्रित, २०७०)

च. झटारो (मुक्तकसङ्ग्रह, अङ्ग्रेजी अनुवाद, २०७२)

छ. बिरिमफूल (मुक्तकसङ्ग्रह, २०७३)

ज. जूनका टुक्राहरू (मुक्तकसङ्ग्रह, नेपाली–अङ्ग्रेजी २०७७)

झ. ‘दोभान’ मुक्तक र कविता संग्रह (संयुक्त) २०७८) प्रकाशित भएको देखिन्छ ।

ञ. ‘यो कस्को हात हो?’ दोस्रो संस्करण २०८० र

ट. ‘सारवत’ मुक्तकसङ्ग्रह प्रकाशोन्मुख रहेको छ ।

यसको अतिरिक्त गीतिचेत भएका साहित्यकार तीर्थराज अधिकारीले विद्युतीय श्रव्यदृश्य अर्थात् भिसिडी बनाउन पनि सफल भएको पाइन्छ । उनका लोक र आधुनिक गीतहरू नेपाली श्रोताहरू समक्ष लोकप्रिय हुन सफल भएको देखिन्छ । तत्कालीन समयमा लमजुङ जिल्लाको ६१ वटै गाउँ विकास समितिका नामहरूलाई समेटेर लयात्मक तरिकाले लोकगीतको सिर्जना गर्नुसक्नु नै उनको लोककलाकारीता र स्रष्टाको नमुनाको रूपमा ग्रहण गर्न सकिन्छ । सुनिरहूँ जस्तो लाग्ने लमजुङको संझनालाई भावकहरूले हृदयदेखि नै मनपराएको पाइन्छ ।

क. सिडी – ‘लमजुङको सम्झना (लोक,  साङ्गीतिक उपहार (२०७१)

ख. सिडी– ‘माया’ (आधुनिक, २०७४) अमेरिकाबाट, सि डी पहिलो चोटि गजल

र सुसेलीले बोलाउँ भन्ने गीति सि डी ।

पुरस्कार/सम्मान/अभिनन्दन :

(क) प्रवल गोरखा दक्षिण बाहु २०५५

(ख) सम्माननीय राष्ट्रपतिज्यूबाट कदर २०६७

(ग) सङ्घर्षमा कलम साहित्य समाज २०७०

(घ) मुक्तकमणि सम्मान २०७३

(ङ) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले ‘साधनाको स्वर्ण वर्ष : मुक्तकमणि तीर्थराज अधिकारी’ प्रकाशन २०७८ ।

गीताञ्जली साहित्य परिवार, राष्ट्रिका साहित्य प्रतिष्ठान, मुक्तकसागर, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर, लमजुङ पोखरा सम्पर्क समिति आदि विभिन्न संघसंस्थाबाट सम्मानित ।

Best Lyricist  2nd Kabya Music Awards-2080.

कवि तीर्थराज अधिकारीले सरकारी सेवामा कार्यरत रहँदा र जागिरबाट निवृत्तभएपश्चात् पनि थुप्रै देशहरूमा भ्रमण गर्ने अवसर पाएको देखिन्छ । उनी प्रायःजसो जीवनसंगिनी सीतादेवीसँग भ्रमण गर्न मनपराउँछन् । उनले भ्रमण गरेका देशहरूमा अस्ट्रेलिया, कतार, क्यानडा, चीन, जापान, थाइल्यान्ड, नेपाल, फ्रान्स, बङ्गलादेश, बर्मा,  बेलायत, भारत, मलेसिया, संयुक्त अरव इमिरेट, संयुक्त राज्य अमेरिका र सिंगापुर रहेको पाइन्छ ।

‘डिसी नेपाल’ का संवाददाता कृष्णराज खनालले मुक्तकमणिसँग गरेको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको पाइन्छ । कुराकानीको क्रममा साहित्य के हो ? भन्ने प्रश्नमा उनले आन्तरिक अनुभूति र संवेदनाको अभिव्यक्तिको रूप साहित्य हो र अर्को प्रकारले भन्दा कुनै लेखन वा पङ्क्तिहरूबाट जिन्दगीको स्पर्श नै साहित्य हो भनेर मुक्तकमणि तीर्थराज अधिकारीले प्रष्ट पारेको देखिन्छ । प्रवासी साहित्य र अन्तरराष्ट्रिय साहित्यमा के फरक देख्नुहुन्छ ? भन्ने प्रश्नमा अधिकारीले प्रवासी साहित्य मूल घरभन्दा टाढा विदेशलाई कर्मघर बनाएर सिर्जना भएको साहित्य हो भन्दै अन्तरराष्ट्रिय नेपाली साहित्य प्रवासी साहित्यकारहरूले नेपाली अस्मितालाई जिउँदो राख्न गरिएको संगठित प्रयास भएको कुरा उल्लेख गरेको देखिन्छ ।

यस क्रममा मुक्तकमणिसँग ‘विश्वदर्पण’का लागि विश्वराज अधिकारीले गरेको कुराकानी पनि पढ्न पाइन्छ । यसमा मुक्तक र मुक्तककारको दायित्वबारे प्रकाश पारिदिनु हुन्छ कि ? भन्ने प्रश्नमा मुक्तकमणिले मुक्तक कविताको एक सूक्ष्म रूप हो जसमा प्रबन्धकीयता हुँदैन भन्दै यो आफैँ स्वतन्त्र रहन्छ अर्थात् मुक्तक काव्यको त्यो विधा हो जसमा कुनै कथानकको पूर्वापर सम्बन्ध रहँदैन, स्वपूर्ण हुन्छ भनेका छन् । उनले भनिन्छ, मानव चेतनाको वाणी नै साहित्य हो । साहित्य विशिष्ट मानसिकताको उपज हो र साहित्यमा नवीनता आउँदा भाषामा विचलन आउँछ । साहित्य मनोरञ्जनको लागि पढिन्छ भने शास्त्र ज्ञानका लागि भन्दै साहित्यले हार्दिकता दिन्छ शास्त्रले बौद्धिकता भनेका छन् । उनले स्रष्टा केवल आफ्नो लडाइँ मात्र लड्दैन, न त आफ्नै मात्र कथा व्यथाको लेखाजोखा गर्दछ, कवि त बिउँझन्छ, हिँड्छ हर घडी हर पल नजिक वा टाढा हर मौसम, हरेक सम्बन्धको भाग र गुणाका साथ, इतिहासको फैँसला र फासलाको साथ हुन्छ भन्दै मुक्तकमणिले साहित्यकार आफ्नो भूमिकाबाट कदापि विचलित हुँदैन भनेर उत्तर दिएको पाइन्छ ।

यस ‘साधनाको स्वर्ण वर्ष : मुक्तकमणि तीर्थराज अधिकारी’ ग्रन्थको ‘खण्ड सात, परिशिष्ट : क’ मा पारिवारिक रेखाचित्र, जन्मकुण्डली, वैयक्तिक शब्दचित्र, योग्यता, अनुभव र सम्मानका प्रतिलिपि दिइएको छ । यसमा उनको शैक्षिक योग्यताको प्रमाण–पत्रसमेत प्रस्तुत भएको देखिन्छ । उनले २०४९ सालमा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तह द्वितीय श्रेणीमा उत्तीर्ण गरेको प्रमाण–पत्र तस्बिरसहित देख्न सकिन्छ । उनले सर्वोदय हाईस्कुलबाट २०२१ साल माघ महिनामा भएको वार्षिक प्रवेशिका परीक्षा अर्थात् एस.एल.सी. परीक्षामा द्वितीय श्रेणीमा उत्तीर्ण गरेको प्रमाण–पत्र पनि हेर्न पाइन्छ । तर प्रमाण–पत्र तह र स्नातक तहको प्रमाण–पत्रको तस्बिर भेटिदैन । तीर्थराज अधिकारीले सरकारी जागिरमा नियुक्तिपत्र पाएर सेवा गरेको, बढुवाको सूचना पाएको र पुनरावेदन अदालत, कास्कीमा उप–सचिब (लेखा)मा कार्यरत रहेको अवस्थामा उमेर हदका कारण अर्थात् ५८ वर्ष पूराभएकोले २०६१।७।३० गतेदेखि अनिवार्य अवकाश पाएको कुरा अर्थ मन्त्रालय महालेखा नियन्त्रक कार्यालयको पत्रद्वारा जानकारी गराइएको देखिन्छ । स्रष्टा अधिकारी जन्मेको गाउँ दुराडाँडा क्षेत्रको तस्बिरसमेत राखेको देखिन्छ । अधिकारीले १० कक्षासम्म पढेको सर्वोदय माध्यमिक विद्यालयको तस्बिर अगाडि तीर्थराज दम्पती उत्सुकताका साथ हिंडिरहेको देखिन्छ ।

‘परिशिष्ट : ख’ मा मुक्तकमणि तीर्थराज अधिकारीको पारिवारिक छायाछवि, उमेरजन्य छायाछवि, साहित्यिक कृति छायाछवि, मुक्तकमणि उपाधि ग्रहणका छायाछवि र अन्त्यमा विभिन्न  साहित्यिक समारोहका छायाछवि अर्थात् तस्बिरहरू दिइएको देखिन्छ । मुक्तकमणि तीर्थराज अधिकारीलाई विभिन्न संघसंस्थाद्वारा सम्मान–पत्र, कदर–पत्र, सम्मान–पत्र, प्रमाण–पत्र इत्यादि देख्न पाइन्छ । तत्कालीन राजा वीरेन्द्रद्वारा प्रवल गोरखा दक्षिण बाहु तक्मा ग्रहण गरेको तस्बिर, विभिन्न संघसंस्थाबाट गरिएको सम्मान र अभिनन्दनका साथै पुरस्कार ग्रहण गरेका तस्बिरहरू पनि हेर्ने अवसर मिल्छ । यसको साथै उनका साहित्यिक कृतिहरू र विद्युतीय श्रव्यदृश्य अर्थात् सी.डी.हरू ‘लमजुङको सम्झना’ र ‘माया’का तस्बिरहरू पनि राम्रोसँग सजाएर राखिएको देखिन्छ । लमजुङको सम्झनामा पाँचजना गायक गायिकाको अतिरिक्त स्रष्टा अधिकारीकी सहयात्री तथा जीवन संगिनी सीतादेवी अधिकारीको स्वरसमेत रहेको पाइन्छ ।

पारिवारिक छायाछविमा तीर्थराज अधिकारीका मातापिता, सीतादेवी अधिकारीका मातापिता, अधिकारीकी बुढी सासुआमा, ठूली सासूआमा, सानोबुबा र सानीआमा, आमा, कान्छीआमा, भाउजू र बुहारी, दसैंको टीकामा अधिकारी दम्पती, दाजु नृपराजका साथमा अधिकारी, सासूआमा रुक्मिणको स्याहारमा सीतादेवी, सीतादेवीकी आमा लगायत तीर्थराजका मावली खलकको तस्बिर पनि समावेश गरिएको देखिन्छ । मातापिताबाट तीर्थराज दम्पतीले दसैंको टीका लगाएको तस्बिर पनि ज्यादै रोचक देखिन्छ ।

राष्ट्रपति डा. रामवरण यादव र राष्ट्रकवि माधव घिमिरेद्वारा फरक–फरक कार्याक्रममा सम्मान ग्रहण गरेका तस्बिरहरू पनि यसको अर्को आकर्षण पक्ष भएको देखिन्छ । स्रष्टा तीर्थराज अधिकारीलाई श्रीमती सीतादेवी जन्मेको माइती घर अर्थात् ससुराली घरको पिढीमा बसेर अनुगृहित भएर हृदयको झङ्कार सुन्दै साहित्यिक रचना सिर्जना गरिरहेको तस्बिर हेरिरहुँ जस्तो ज्यादै रोचक देखिन्छ ।

पृथ्वीनारायण क्याम्पस, पोखराको नेपाली विभागमा २०७८ सालमा पुस्तक हस्तान्तरण कार्यक्रम राखेर तीर्थराज दम्पतीद्वारा पुस्तकहरू हस्तान्तरण गरेको र सीता–तीर्थ छात्रवृति कोष स्थाप्ना गरेको तस्बिरले व्यक्तित्वलाई झन् माथि उठाएको पाइन्छ ।

मेरो धेरै तस्बिर खिच्ने बानी छैन भन्ने साहित्यकार तीर्थराज अधिकारीका तस्बिरहरू हेर्दा उनको जीवनका समग्र गतिविधिलाई समेट्न सफल भएको देखिन्छ । उनलाई आफ्ना परिवारका सदस्यहरू, बन्धुबान्धव, इष्टमित्र, साथीभाइ र संघसंस्थाहरूलेसमेत तस्बिरहरू उपलब्ध गराएको हुनसक्छ । विभिन्न साहित्यिक कार्यक्रममा सहभागी भएका, रचना वाचन गरिएका, स्वदेश तथा विदेशका रमणीय स्थलहरूमा गरिएका दृश्यावलोकन भ्रमणले ताजगी र जीवन्तता प्रदान गरेका तस्बिरहरूको महत्त्व अविस्मरणीय छन् । विभिन्न चाडपर्वमा परिवारका सबै सदस्यहरू जमघट भएर चाड मनाएको, दसैंको टीका–जमरा लगाएर आशीर्वाद लिने र दिने गरेको, मातापिता लगायत अग्रजलाई श्रद्धा र  सम्मान गरेको र कम उमेरकालाई स्नेह प्रदान गरेको, आफ्ना सन्तानहरूसँग रमाउँदै हर्षित भएर हाँसेका तस्बिरहरू पनि हामी देख्न सक्छौं । विशेष अवसरमा आफू र छोराछोरीका सबै सन्तानहरू एकै ठाउँमा जमघट हुँदा १९ जनाको परिवार हेर्नलायक देखिन्छ । उनले आफ्ना सन्तानहरूप्रति दर्साएको स्नेह, ममता, आत्मीयता र कर्तव्यपरायणता अनुसरणयोग्य देखिन्छ । उनका तस्बिरहरू हेर्दा उनी एक सशक्त साहित्यकार, समाजसेवी, राष्ट्रभक्त, दक्ष शिक्षक, कर्तव्यनिष्ठ कर्मचारी, कुशल संगठक र मनकारी तथा उपकारी व्यक्तित्व भएको प्रमाण मिल्छ ।

मुक्तकमणि तीर्थराज अधिकारीको पारिवारिक, साहित्यिक, सामाजिक र जीवनका विभिन्न पक्ष जन्मकुण्डली अर्थात् चिना, पुख्र्यौली अधिकारी परिवारको चिनारीसहित जस्ताको तस्तै यथार्थ रूपमा जानकारी गराउने उद्देश्यले ग्रन्थको अन्तिम भागमा सङ्कलन गरिएका छायाछवि अर्थात् तस्बिरहरूले ग्रन्थलाई झन् पूर्णता प्रदान गरेको देखिन्छ ।

स्रष्टा दम्पतीको नाममा छात्रवृत्ति कोष स्थापना हुनु र पुस्तक हस्तान्तरण कार्यक्रम मार्फत् महत्त्वपूर्ण पुस्तकहरू क्याम्पस, विद्यालय तथा पुस्तकालयहरूमा उपहार स्वरूप दिनु अधिकारी दम्पतीको समाजप्रति केही सेवा वा उपकार गरौं भन्ने सहृदयी भावनाको वास्तविकतालाई उदाहरणको रूपमा लिन सकिन्छ ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिको प्रथम स्थापना दिवस समारोहमा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ संस्कृतिकर्मी चेतन कार्की, गीतकार सुवासचन्द्र ढुङ्गेल, प्रकाश सायमी लगायत अन्य व्यक्तित्वहरूको उपस्थितिमा मुक्तककार तीर्थराज अधिकारीलाई ‘मुक्तकमणि’ उपाधि प्रदान गरिएको तस्बिर पनि यसको अर्को आकर्षशको रूपमा लिनु पर्छ ।

सम्भवत अधिकारी दम्पतीको विवाह बन्धनमा बाँधिएको पचास वर्ष अर्थात् स्वर्ण वर्षको अवसरमा एकआपसमा ठूलो र राम्रो फूलको माला र जरीसहित सजाइएको दुबोको मालाले अधिकारी दम्पततीलाई गौरवान्वित बनाउनुको साथै दीर्घजीवी, स्वस्थ र सुखी हुन हौसला प्रदान गरेको देखिन्छ । यस अवसरमा स्रष्टा तीर्थराजले जीवन संगिनी सीतादेवीलाई औंठी लगाइदिएको तस्बिरले झन् आकर्षण थपेको पाइन्छ ।

साहित्यकार अधिकारीको उमेरजन्य छायाछविले जीवनका बहुआयामिक व्यक्तित्वलाई राम्रोसँग चिनाउने काम गरेको छ । अधिकारीका साथीभाइ, कार्यालयका र साहित्यिक मित्रहरूसँगको सान्निध्यता र घनिष्ठता, भ्रमण, दीक्षान्तको तस्बिर, विभिन्न साहित्यिक कार्यक्रमहरूमा सहभागीता, मुक्तक वाचन र सञ्चार माद्यममा अन्तर्वाता दिएका तस्बिरहरू पनि देख्न सकिन्छ । स्रष्टा अधिकारीको जीवनसंगिनीसँगको प्रेम र सहयात्रा, बालबच्चाको स्याहारसुसार र बात्सल्यप्रेम, भ्रमण आदिका तस्बिरहरूले अधिकारीका जीवनका विभिन्न क्षणहरूको वास्तविकता बोलेको पाइन्छ ।

साहित्यिक छायाछवि (कृति) मा जुन्किरी, ऐना, तीन लय तेह्र गीत, पाल्हो नन्दन, पारस, आँखुको सुसेली, झटारो मुक्तकसङ्ग्रह नेपाली र अङ्ग्रेजी, यो कस्को हात हो ? समेत भएको देखिन्छ । तर स्रष्टा अधिकारीको कृतिगत सूची र तस्बिरमा दिइएको तस्बिरमा तारतम्य मिलेको देखिदैन ।

नेपाली समाजको लोकपरम्परा र जीवनशैलीलाई लोकलयमा सरल तरिकाले वोधगम्य भावमा प्रस्तुत गर्नसक्ने लोकशिल्पीलाई लोककविको रूपमा स्वीकार गर्न सकिने प्रशस्त उदाहरणहरू भेटिन्छन् । उनी लोकसंस्कृतिमा चुर्लुम्म डुब्न सफल भएको पाइन्छ । त्यसैले त उनी लमजुङ जिल्लाको पहिचानको रूपमा रहेको ठाडोभाका गाउन दक्ष देखिन्छन् । उनमा आँसुकवित्व शक्ति सलबलाएको देखिन्छ । यसको अतिरिक्त मानवमनका संवेदना, मनवीय ढुकढुकी, देश काल परिस्थितिका साथै प्रकृति र समग्र विषयलाईसमेत सरल, मार्मिक र प्राज्ञिक तरिकाले बसेकै ठाउँमा तुरुन्त मन छुने कालजयी रचना सिर्जना गर्न सक्षम भएका कारण उनलाई आँसुकविका रूपमा पनि ग्रहण गर्न सकिन्छ । यस्ता अतुलनीय प्रतिभा समाजमा दुर्लभ भेटिन्छन् ।

समग्रमा हेर्दा ‘साधनाको स्वर्ण वर्ष : मुक्तकमणि तीर्थराज अधिकारी’ ग्रन्थ अत्यन्त उच्चस्तरको ग्रन्थ तयार भएको देखिन्छ । यस ग्रन्थले नेपाली परिवेश, समाज र परिस्थितिको प्रतिविम्वको रूपमा देखापरेको पाइन्छ । यसले स्रष्टा तीर्थराज अधिकारीको जीवनी, व्यक्तित्व र कृतित्वलाई राम्रोसँग समेट्न र साहित्यिक गहिराइलाई स्पर्श गर्न सफलता प्राप्त गरेको छ । यस ग्रन्थले उनका जीवनका आरोह–अवरोहहरूलाई एक–एक गरेर साहित्यिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक नाङ्लोमा निफन्न सक्षम भएको देखिन्छ । नेपाली साहित्यको लागि यो ग्रन्थ एउटा महत्त्वपूर्ण प्राप्ति हो । यसले अनन्तकालसम्म आफ्नो अस्तित्व बचाएर पाठकहरूलाई सकारात्मक छाप छोड्न सफल हुने कुरा विश्वास गर्न सकिन्छ । तसर्थ यस समालोचनात्मक ग्रन्थका माध्यमद्वारा मुक्तकमणि तीर्थराज अधिकारीलाई साहित्यिक स्रष्टाको रूपमा अमर बनाइरहेछ ।