आचार्य प्रभा

 

कात्रोभित्र बेर्‍हिएर, सुक्सुकाउँछ लाश
मुर्दाको नि कठैबरा ! बर्बराउँछ आश

जिउँदो छु भन्नु मात्र, मन मरी सक्छ
श्वास चले जस्तो लाग्छ, उठ्या हुन्छ बास

कस्तो आयो कलियुग, जिउँदै मरेजस्तो
जीवित छु भन्नु मात्र, अर्थ हुन्न खास

‘मान्छे हूँ’को आडम्बरमा, फोस्रो हाँसो हाँस्दै
मानवताको देखिँदैछ, संसारभर ह्रास ।

मानवीय संस्कारमा, विकृति नै आयो
यस्तो लाग्न थाल्यो अब, उडिसक्यो सास ।

प्रकृतिमा जन्म लिने, प्राणीहरूमध्ये
मान्छेले नै टेक्नु पर्‍यो, गहिरो यो भास ।

खप्नुपर्छ आँधीहुरी, चट्ट्याङ् पनि उस्तै
मनभित्र पाल्नुपर्छ, मुटु काँप्ने त्रास ।